ढोकाबाटै राउण्ड लिन्छन् चिकित्सक !

बाँकेः भेरी अस्पतालमा सेवा लिन आउने अधिकांश बिरामी अस्पतालको सेवासुविधा, चिकित्सकको व्यवहार र सरसफाइप्रति सन्तुष्ट देखिएका छैनन् । प्रदेशको एकमात्र सङ्घीय अस्पतालको सेवाबाट सन्तुष्ट हुनेभन्दा असन्तुष्ट हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको जनाइएकोछ ।

दैनिक एक हजारको हाराहारीमा बिरामी सेवा लिन अस्पताल आउने गरेको अस्पतालले जनाएको छ । सेवा लिन भेटिएका अधिकांश बिरामी र उहाँका आफन्तले अस्पतालको उपचार सेवा, चिकित्सकको व्यवहार राम्रो नभएको गुनासो गरेका छन् । बिरामीले प्रश्न गर्दा चिकित्सक र नर्सले उत्तर दिन झर्को मान्ने गुनासो अस्पतालमा सुनिँदै आइएको छ ।

अस्पतालद्वारा सञ्चालित औषधि पसलमा बिरामीले चोहेका औषधि पाइँदैन । यसैगरी प्रयोगशाला परीक्षण गर्न निजी प्रयोगशाला जानुपर्ने बाध्यता बिरामीमा रहेको छ । शौचालयको दुर्गन्धले अस्पतालमा बसिसक्नु छैन ।

अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा रुपानन्द अधिकारीले भने, ‘अस्पतालको सेवा प्रभावकारी बनाउन कर्मचारीको अनुशासन, सरसफाइ र व्यवहारमा विशेष ध्यान दिइएको छ ।’ अस्पतालमा प्रायः सबै रोगका विशेषज्ञ चिकित्सक कार्यरत रहेका छन् । चिकित्सकले अस्पतालमा भन्दा बाहिरका निजी क्लिनिकमा बढी समय दिँदै आएका छन् । अस्पतालमा कार्यरत चिकित्सकले बिरामी भएको श्ययामा नपुगेरै ढोका बाहिरैबाट अवलोकन (राउण्ड) गर्ने गरेको बिरामीको गुनासो छ ।

प्रयोग विहीन छन् उपकरण
अस्पतालमा रहेको सिकलसेल एनिमिया जाँच गराउने इलेक्ट्रोफोरसिस नामक उपकरण बिग्रिएपछि यसका बिरामीले १० महिनादेखि जाँच गराउन पाएका छैनन् । बिरामी अहिले निजी क्लिनकमा जाँच गराउन बाध्य रहेका छन् ।

अस्पताल प्रशासनले बिग्रिएको उपकरण मरमतमा ध्यान दिएको छैन । मेसु डा अधिकारी र सम्बन्धित रोगका विशेषज्ञ डा राजन पाण्डेले अहिलेसम्म उपकरण मर्मत गर्नेतर्फ चासो नदेखाएका बिरामीको गुनासो छ ।

निजी स्वास्थ्य सस्थामा एक हजार पाँच सय देखि दुई हजार रुपैयाँसम्म शुल्क तिरेर जाँच गराउन बाध्य भएको सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभुराम थारुले बताए । उपकरण बिग्रिएकाले सो रोग परीक्षण गराउन निःशुल्क सेवाबाट बिरामी वञ्चित भएका छन् ।

अस्पतालमा हप्तामा ६०–७० जना सिकलसेल जाँचका लागि आउने जनाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले अस्पताललाई प्रदान गरेको सो नामको दुईवटा उपकरण प्रयोगमा नआउँदै थन्किएको छ । रासस

गाउँपालिका अध्यक्ष दम्पती अपहरणः श्रीमती भेटिइन्, श्रीमान अझै वेपत्ता

दैलेखः जिल्लाको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीसहित अपहरणमा परेकी उनको धर्मपत्नी इला मल्ल शाही दैलेख र कालिकोट जिल्लाको सिमानामा पर्ने बर्ता लेकमा भेटिएकी छन् । अपहरणको सूचना पाए लगत्तै स्थानीयले खोजी गर्न हिडेको टोलीले दैलेख र कालिकोट पर्ने भर्तालेकमा बिहान ९ बजे फेला पारेको सूचना आफूलाई प्राप्त भएको गाउँपालिका वडा १ का वडा अध्यक्ष नर्तमबहादुर बुढाले बताए । उनी फेला परे पनि अपहरमा परेका अध्यक्ष शाहीको अवस्था अज्ञात रहेको  वडाध्क्ष बुढाले बताए । विप्लव नेतृत्वको नेकपा समूहले शनिबार अध्यक्ष शाही र उनकी श्रीमतीलाई घरबाटै अपहरण गरेको प्रहरीले आशंका गरेको छ । ठाटिकाँध गाउँपालिका वडा २ श्रीपाटामा रहेको घरबाट राति १२ बजे अध्यक्ष शाही र उनकी श्रीमती अपहरण परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले अपहरणमा परेको खबर आएको र त्यसको लागि प्रहरीले अनुसन्धान गरिरहेको बताए । गाउँपालिका उपाध्यक्ष सुस्मीता शाहीका अनुसार आफू जिल्लामा आएको र अध्यक्ष र उनकी धर्मपत्नीलाई अपहरण गरेको सूचना आफूलाई ठाँटिकाँध प्रहरीले दिए । गाउँपालिकामा त्यस्तो केही थिएन कसरी एक्कासी अपहरण भयो उनले बताए । वडा नम्वर १ का वडा अध्यक्ष नर्तमबहादुर बुढाका अनुसार राती १५ जनाको टोली आएर अपहरण गरेको भन्ने सुनेर स्थानीय आफन्त र अन्य टोली खोजी कार्यमा लागको बताए ।

सिन्धु विकास बैंकले १२.९ % लाभांश दिने

काठमाडौं: सिन्धु विकास बैंकले गत आववको मुनाफाबाट शेयरधनीलाई १२ दशमलव शून्य ९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंगलवार सम्पन्न २६८ औं बैठकले ११ दशमलव ५१३ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव ५७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावि लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

धनकुटामा ट्रक र अटो एकआपसमा ठोक्किँदा २ जनाको ज्यान गयो

धनकुटाः छथर जोरपाटी गाउँपालिका २ को फलैचामा आइतबार ट्रक र अटो एकआपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । ज्यान गुमाउनेमा धनकुटा नगरपालिका २ का अटोचालक २४ वर्षीय दशरथ पाख्रिन र छथर जोरपाटी गाउँपालिका १ का ४० वर्षीय साङ्गे शेर्पा रहेको सिधुवा प्रहरी चौकीका ट्राफिक प्रहरी जवान रामचन्द्र कटुवालले बताए । दुर्घटनामा घाइते भएका दुई जनाको धनकुटा अस्पतालमा उपचार भइरहेको छ । वसन्तपुरबाट धरानतर्फ जाँदै गरेको ट्रकले र हिलेबाट जोरपाटी बजारतर्फ आउँदै गरेको को २ ह ६६११ नम्बरको अटोलाई आइतबार दिउँसो १२ ठक्कर दिएको थियो । घटनालगत्तै ट्रक र ट्रक चालकलाई सिधुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि मृतकका आफन्त, स्थानीयवासी र अटो चालकहरुले जक्का जाम गरेका थिए ।

ए डिभिजन लिगः उद्घाटन खेलमा दुई पूर्व कप्तान मैदान उत्रदै

काठमाडौंः शहीद स्मारक ए डिभिजन लिग फुटबल आजबाट शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालका दुई पूर्व कप्तानको टिम भिड्दैछ । सातदोबाटोमा हुने उद्घाटन खेल नै मच्छिन्द्र र बिग्रेडबीच हुनेछ । पूर्व कप्तान अनिल गुरुङले ब्रिगेड ब्वाइजको कप्तानी गर्दैछन् भने विराज महर्जनले मच्छिन्द्राको कप्तानी गर्दैछन् । गत वर्ष रेलिगेसन बिना खेलाइएको भन्दै आलोचना भए पछि यसपटक भने रेलिगेसन सहित खेल हुने भएको छ । दिउँसो तीन बजे उद्घाटन हुने लिगमा ९१ खेल हुनेछ । १४ क्लबको प्रतिश्पर्धा रहने लिग विजेतालाई ५० लाख पुरस्कार राखिएको छ । उपविजेतालाई ३५, तेस्रोलाई २५, चौथोलाई १५, पाँचौंलाई सात र छैटौं हुनेलाई ५ लाख पुरस्कारको राशी तोकिएको छ ।

धमाधम ‘छुईगोठ मुक्त’ हुँदै जुम्लाका गाउँ

खलङ्गाः जुम्लामा सामाजिक विकृतिको रुपमा गडिएको छुई प्रथा न्यूनीकरण गर्ने अभियान अहिले धमाधम भइरहेको छ । अहिले स्थानीय तह र सामाजिक संघ संस्थाको अभियानमा जुम्लाका २६ गाउँबस्ती छुईगोठ मुक्त घोषणा गरिएका छन् । महिनावारीको समयमा भिन्नै गोठमा बस्ने चलन अब भने धमाधम मानसिक रुपमै भत्किन थालेका छन् । धमाधम छुईगोठ मुक्त अभियान चलिरहेको समयमा पछिल्लो समयमा यहाँका २६ गाउँलाई स्थानीय सरकार र साझेदार गैरसरकारी संस्थाको समन्वयनमा छुईगोठ मुक्त घोषणा गर्दै अभियान तीब्र पारिएको छ । पछिल्लो समयमा तिला गाउँपालिका वडा नं. ३ दानीवाडा र कठायतवाडा गाउँ र पातारासी गाउँपालिकाको वडा नं ४ लुम र भोडगाउँ छुईगोठमुक्त गाउँ घोषणा गरिएका छन् । तिला गाउँपालिकाकाले आयोजना गरेको छुईगोठमुक्त गाउँ कार्यक्रममा तिलाका दानीवाडा कठायतवाडाका १७२ घरधुरीका ८६० र पातारासी ४ लुमगाउँपालिका लुमगाउँको ३७४ घरधुरीका एक हजार ८७० स्थानीयवासीहरु सहभागी भई छातीमा हात राखेर हामी महिलाहरुलाई महिनावारीको समयमा गोठमा बसाल्दैनौ र बस्दैनौं भन्दै प्रतिवद्धता समेत गरेका छन् । यसैगरी जिल्लाको तिला गाउँपालिकाको पुरु, ढिमकोट, रावतवाडा, जोगिवाडा, पोख्री, चुलाकोट, डुग्री, खोलीगाउँ छुईगोठमुक्त घोषणा गरिएका छन् । यसैगरी तातोपानी गाउँपालिकाको वाईराका, जैतपुर , हियाखोला, लाम्रा, श्रीनगर, हिमा गाउँपालिकाको कोइरेली, महावै पाथरखोला र पातारासीको माथि लोर्पा, तलि लोर्पगाउँ छाउगोठ मुक्त गाउँ घोषणा भएका छन् । जिल्लामा सो अभियानका वारेमा काम गर्दै आएको संस्था सर्वोदय नेपालले पत्रकार सम्मेलन गरेर २१ गाउँबस्ती अन्तर्गतका एक हजार ७४० घरधुरी र आठ हजार ७८९ जनसंख्याले छुईगोठ मुक्त भएको निर्देशक कमल खत्रीले जानकारी दिए । उनका अनुसार महिनावारी भएको समयमा खाना पकाउने छतमा जाने, पानी ल्याउने लगायतका केही सूचांकहरु रहेका छन् । घोषणा गर्नुपूर्व विभिन्न जनचेतना कार्यक्रमहरु, घरदैलो, वैठक गरेर घोषणा गरिने उनले बताए ।

२ लाख घुससहित नासु पक्राउ

सप्तरीः सप्तरीको राजविराजस्थित तैतरीगाछीबाट सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले मङ्गलबार साँझ एक नायब सुब्वा (नासु)लाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सप्तरीको महदेवा गाउँपालिका–६ का वडा सचिव तथा नासु नवोनाथ मिश्रलाई सेवाग्राहीबाट रु दुई लाख घुस लिएको आरोपमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी ज्ञानेन्द्रप्रसाद ढकालले जानकारी दिए । उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले राजविराजस्थित तैतरीगाछीको एउटा चिया पसलमा जन्मदर्ता प्रमाणपत्रसम्बन्धी कागजात बनाइदिने भन्दै सेवाग्राहीसँग नासु मिश्रलाई घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ । पक्राउ परेका मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी ल्याएर आवश्यक अनुसन्धानको कार्य अगाडि बढाइएको सुचना अधिकारी ढकालले जानकारी दिए ।

रुपन्देहीमा धारिलो हतियार प्रहार गरी छोराद्धारा आफ्नै आमाबुवाको हत्या

बुटवलः रुपन्देहीको ओमसतियामा छोराले आफ्नै आमाबुवाको हत्या गरेको प्रहरीले जनाएको छ । ओमसतिया गाउँपालिका, ४ का गोरखबहादुरले ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, एसपी हेम थापाका अनुसार हतियार प्रहारबाट रामनारायणको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते थगनाको युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो । गोरखबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

समृद्धिका लागि पाँच आधार तय गरिएको छः उपप्रम पोखरेल

ललितपुरः उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कृषिमा आधुनिकीकरण, उद्योगको विकास, ऊर्जा, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकास गरेर अघि बढ्न सरकार क्रियाशील रहेको बताएका छन् । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही नमूना उच्च मावि भवनको हस्तान्तरण कार्यक्रममा उनले सरकारले समृद्धिका लागि यी पाँच आधार तय गरेको बताए । सरकारी स्वामित्वका उद्योगहरु धराशायी हुनाका कारण खोजी गरिने बताउँदै उनले भने, ‘ती उद्योग कसरी धराशायी भए र आगामी दिनमा कसरी अघि बढ्ने भनी आत्मसमीक्षा हुनेछ ।’ राजनीतिक विचारका आधारमा फरक धारणा राख्नेहरु पनि विकासका लागि एकजुट भएर लाग्नुपर्नेमा उपप्रधानमन्त्री पोखरेलको जोड छ । ‘‘देशमा ७० प्राविधिक शिक्षा र ३० प्रतिशत सामाजिक शिक्षा हुने गरी योजना बनाइएको छ’, उनले भने, ‘एक्काइसौँ शताब्दीमा व्यावसायिक र व्यावहारिक शिक्षाको आवश्यकता छ ।’ उपप्रधानमन्त्री पोखरेलले विद्यालय शिक्षा सुधारका लागि स्थानीय तह, जनप्रतिनिधि र स्थानीयवासी मिलेर लाग्नुपर्ने औँल्याए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले भूकम्पका समयमा क्षतिग्रस्त भएका झण्डै सात हजार पाँच सय विद्यालयको पुनर्निर्माण भएको बताए । तीमध्ये पाँच हजार ३०० विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने अरू विद्यालयका भवन निर्माण भइरहेका छन् । सांसद् नवराज सिलवालर प्रदेशसभाका सदस्य चेतनाथ सञ्जेलले मुलुकको समृद्धिका लागि सरकारले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्दर्ने बताए । गोदावरी नगरपालिकाका उपप्रमुख मुना कुँवरले विसं २०१२ मा स्थापना भएको यस विद्यालय समुदायिक विद्यालयतर्फ जिल्लाको पहिलो नमूना विद्यालय भएको उल्लेख गरे । भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एशियाली विकास बैंकको लगानीमा विद्यालयको भवन निर्माण भएको हो । भवन निर्माणको लागत नौ करोड ७० लाख रहेको छ ।

लुटिएको ४ तोला सुनसहित एक जना पक्राउ

मकवानपुरः मकवानपुर प्रहरीले लुटिएको सुनसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरको भिमफेदी गाउँपालिका–८ बस्ने १८ वर्षिय सुरज ओलीलाई पक्राउ गरेको हो । हेटौंडा–१० भुटनदेवी रोड बस्ने राहुल सुनारको बासुमार्ग स्थित केदारनाथ सुनचाँदी पसलबाट तीन तोला ११ लालको सुनको सिक्री र एक तोला सात लालको सुनको ब्रासलेट गरी चार तोला ११ दशमलव सात लालको सुनका गरगहना लुटी भाग्न खोज्दा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सुन लुटेर ना ४३ प ८२६४ नम्बरको मोटरसाइकलमा भाग्न खोज्दा ओलीलाई सुन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । निज उपर चोरी कसुरमा आवश्यक अनुसन्धान कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

लिम्पियाधुरा नेपालकै होः भारतीय राजपत्र

काठमाडौंः भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ । सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ । स्थानीय सौका भाषामा काली नदीलाई कुटीयाङ्दी भनिन्छ । सन् १९६२ को भारत–चीन युद्धपछि भारतले कालापानीछेउमा नक्कली कुलो बनाएर त्यसलाई काली नदी भन्दै आएको छ । सुगौली सन्धिमा भने नेपालको पश्चिम सीमा काली नदी उल्लेख भएको हुँदा नक्कली कुलोलाई नै काली मानेर भारतले नेपाली भूमि अतिक्रमण गरेको छ । राजपत्रमा भनिएको छ, ‘काली नदीको उद्गमस्थल लिम्पियाधुरा क्षेत्रको कुटीयाङ्दी हो ।’ भारतले सन् १८५६ पछिका नक्सामा काली नदीलाई सारेर लिपुखोला काली नदी भनेको छ भने वास्तविक काली नदीलाई कुटीयाङ्दी भनेको छ । सीमा अभियन्ता श्याम श्रेष्ठले सिंहदरबारमा बुधबार भएको छलफलमा राजपत्रमा काली नदीको शिर लिम्पियाधुरा स्पष्ट उल्लेख रहेको बताए । उनले तथ्य, प्रमाण, नक्सा र ऐतिहासिक पृष्ठभूमिले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग भएको स्पष्ट रहेकाले सबै प्रमाण संकलन गरेर भारतसँग वार्तामा बस्न सरकारलाई सुझाव दिए । श्रेष्ठले महाकाली सन्धिताका पदमरत्न तुलाधरको संयोजकत्वमा सीमा अतिक्रमण प्रतिकार समिति गठन गरेर आफूहरूले एक वर्ष ३ महिना लगाएर तथ्य संकलन गरेको जानकारी गराए । उनका अनुसार नापनक्सा खोजबिन उपसमिति र ऐतिहासिक तथ्य खोजबिन समितिले बेलायतसम्म पुगेर तथ्य ल्याएको थियो । 27-Nov-2019apm01.indd श्रेष्ठले सन् १८१६ को सुगौली सन्धिभन्दा २ महिनाअघिको नक्सा र सन्धिलगत्तैको नक्सा आफूसँग रहेको बताए। उनले भने, ‘सन् १८२७ र १८५६ नक्सामा लिम्पियाधुरासम्म समेटेको नेपालको नक्सा मसँग छ।’ उनले तत्कालीन इस्ट इन्डिया कम्पनीका सर्भेयर जनरल अफ इन्डियाले जारी गरेका ४ र अरूले जारी गरेका ५ वटा नक्सा बेलायतबाट ल्याएको जानकारी दिए । ‘बेलायतको पुस्तकालयबाट ९ वटा नक्सा तथा ऐतिहासिक तथ्य ल्याएका थियौं। सबै नक्सामा लिम्पियाधुरासम्मको भूमि नेपाली भएको स्पष्ट छ।’ इस्ट इन्डिया कम्पनीका कामु मुख्य सचिव जेएमस एडम्सले नेपालस्थित रेजिडेन्स ९राजदूत० लाई चिठी लेखेर व्यास गर्खा नेपाललाई छोडिदिनु भनेको प्रमाण पनि संकलन गरेको उनले बताए। चिठीमा उल्लेख छ, ‘सुगौली सन्धिअघि व्यास गर्खा भारतीय भूमि थियो। अहिले नेपाल भएको छ। अब त्यहाँका बासिन्दाले नेपालमै तिरो तिर्नू ।’ जेएमस एडम्सले कुमाउँ गढवालका कमिसनरलाई लेखेको चिठीमा उल्लेख छ, ‘भोटिया ९त्यहाँका बासिन्दा० भारतमा आउन खोजेका छन् । सुगौली सन्धिअनुसार व्यास गर्खा नेपाल भयो । अब त्यहीं बस्नू, तिरो तिरन त्यहीं गर्न भन्नू।’ श्रेष्ठले लिम्पियाधुरा क्षेत्रका नाबी, कुटी, गुन्जी र छाङरुका जनताले भारत–चीन युद्धअघिका नेपालको निर्वाचन सहभागिता जनाएको बताए। ‘१५ सालको निर्वाचनमा त्यहाँका बासिन्दाले नेपालमै भोट हालेका थिए। भारत–चीन युद्धअघिसम्म त्यतै भोटिङ गरेका थिए,’ उनले भने। यो क्षेत्रमा २०१८ सालसम्मको जनगणना नेपालबाटै भएको छ। ‘भारतीय गजेट भखरै भेटिएको छ,’ श्रेष्ठले भने, ‘चिठी, जनगणना, तिरोतिरन, निर्वाचन सहभागी अकाट्य प्रमाण हुन् ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

शेरबहादुरजी ठाडै झुट बोल्न छोड्नुस्, इतिहासमा पनि खोज्न गाह्रो पर्लाः प्रचण्ड (भिडियोसहित)

पोखरा: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गैर राजनीतिक चरित्र प्रदर्शन गरेको बताएका छन् । पोखराको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले सभापति देउबाले भ्रम छर्ने र उटपट्याङ कुरा गरेको बताए । ‘शेरबहादुरजी पोखरा आएर झुठो बोल्नुभयो। घाम लागेको बेला हत्केलाले सूर्य छेक्ने काम गर्नुभयो,’ उनले भने, ‘उहाँको बोलीले कास्की २ मा विद्या भट्टराईको जित सुनिश्चित भएको छ।’ देउवाको कुरा के…गर्नेलाई भन्दा हेर्नेलाई लाज भनेजस्तो भएको प्रचण्डको भनाइ थियो। उनले गिरिजाप्रसाद कोइरालाको पार्टी झुठ बोल्ने र बेइमानी पार्टी भएकोमा चिन्ता लागेको बताए। ‘गिरिजाप्रसादको पार्टी झुठो बोल्ने, बेइमानी गर्न छोड्नुस् भन्ने मेरो सुझाव छ,’ उनले भने, ‘झुठो बोलेर दिउँसै रात पार्नेरु शेरबहादुरजीले यस्तो उट्पट्याङ गर्ने ?’ उनले प्रतिपक्षी दल राम्रो होस् भन्ने आफूले चाहेको पनि बताए। ‘तपाईंहरू ओरालो लाग्नुभएको छ, कांग्रेस इतिहास होला ? के कांग्रेस इतिहासको कथा बन्न चाहेको हो ?,’ प्रचण्डले भने,‘सल्लाहले नक्सा छापेको हो भन्दा लाजमर्दो कुरा हो। म कांग्रेसका साथीहरूलाई सुझाव दिन चाहन्छु, तपाईंहरू एकचोटी गहिरो गरी आत्मसमीक्षा गर्नुस्।’ उनले कांग्रेस संविधान निर्माणको सहयात्री भएकाले साह्रै तल खसेको आफूले हेर्न नसक्ने भए। ‘गिरिजाप्रसाद कोइरालासँग शान्ति सम्झौतामा मैले हस्ताक्षर गरेको छु। त्यही गिरिजाप्रसाद कोइरालाको पार्टी यति झुठो बोल्ने बेइमानी कुरा गर्दा कताकता चिन्ता लागेको छ,’ प्रचण्डले भने,‘झुठो बोल्न बेइमानी गर्न छोड्नुस्। होइन भने तपाईंहरू जसरी ओरालो लाग्नुभएको छ यही बुद्धि हो भने इतिहासमा नेपाली कांग्रेस थियो भन्ने ठाउँमा पुग्न बेर छैन।’ पराजित मानसिकताका कारण सभापति देउवाले यस्तो अभिव्यक्ति दिएको उनको भनाइ थियो । ‘शान्ति प्रक्रिया र संविधान निर्माणसँग जोडिएको कांग्रेस इतिहासमा किम्बदन्ती बन्ने चिन्ता भयो’ दाहालले भने, ‘कांग्रेस भन्ने पार्टी पनि थियो भन्ने अवस्था नआओस् ।’  ‘गिरिजाबाबुले ल है नेपाल तपाईंको जिम्मा लगाएर जाँदैछु भनेको झलझली सम्झेको छु। अहिले शेरबहादुरजीले यस्तो उट्पट्याङ कुरा गरेर नेपाली जनतालाई उल्लु बनाउन खोजेको देखेर टिठ लागेको छ,’ प्रचण्डले भने।   ‘दुई ठूला कम्युनिष्ट पार्टीले ठूलो जोखिम लिएर पार्टी एकता नगरेको भए मुलुकमा राजनीतिक स्थिरता आउने थिएन,’ उनले भने, ‘दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएकै कारण मुलुकमा ७० वर्षपछि राजनीतिक स्थायित्व संभव भएको हो।’ पार्टी एकता भएपनि पाँच वर्षसम्म यो सरकार चल्छ की चल्दैन भन्ने आशंका कायम रहेको अवस्थामा नेकपा सचिवालय बैठकले त्यो अन्योलतालाई अन्त्य गरेको प्रचण्डको भनाइ थियो। नेकपा सचिवालय बैठकले पाँच वर्षसम्म वर्तमान प्रधानमन्त्री ओलीले नै सरकारको नेतृत्व गर्ने र कार्यकारी अध्यक्ष प्रचण्डलाई बनाउने निर्णय गरेको थियो। उनले कम्युनिष्ट पार्टीले नै मुलुकमा पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख बनाएको उल्लेख गर्दै केही समयपछि मुलुकमा महिला प्रधानमन्त्री बन्यो भने त्यो पनि कम्युनिष्ट पार्टीले नै बनाउने दाबी गरे।

सिंहदरबारमा दिगो विकास स्रोत केन्द्र स्थापना

काठमाडौंः सिंहदरवारस्थित संसद सचिवालयमा दिगो विकास स्रोत केन्द्रको स्थापना गरिएको छ । सिंहदरवारमा आज स्रोत केन्द्रको उद्घाटन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तीनै तहका सरकारले एकीकृत ढंगबाट योजना बनाएर दिगो विकास लक्ष्य प्राप्तिका लागि काम गर्न सके समयमा नै लक्ष्य हासिल गर्न सकिने बताए । अध्यक्ष दिमिल्सिनाले दिगो विकासको लक्ष्य हासिल गर्ने जिम्मेवारी राज्यको मात्रै नभएर सबैको भएको भन्दै संसद सचिवालयमा स्थापना गरिएको दिगो विकास स्रोत केन्द्रबाट सूचना लिएर लक्ष्य कार्यान्वयन हुने गरी अघि बढ्न सांसदलगायत सम्वद्ध पक्षलाई मद्दत पुग्ने बताए । बैठकमा महालेखा परीक्षक टंकमणी शर्माले दिगो विकासका लक्ष्य प्राप्ती सम्वन्धी कामहरुलाई प्राथमिकतामा राखेर अघि बढिरहेको र स्रोत केन्द्रले लक्ष्य पुरा गर्न थप बल पुग्ने बताए । राष्ट्रिय योजना आयोगका सदस्य मिन बहादुर शाहीले दिगो बिकासका लक्ष्य पुरा गर्ने आयोजनाहरुमा सहयोग गर्न आयोग तयार रहेको भन्दै पन्ध्रौँ योजनाले दिगोविकासका कार्यक्रमहरुलाई विशेष प्राथमिकतामा राखेर अघि बढेको बताए । दिगो विकास स्रोत केन्द्रमा दिगो विकासका १७ वटै क्षेत्रहरुको अवस्था, लक्ष्य प्राप्तीका लागि भइरहेका काम, त्यसको प्रगतीको अवस्थालगायत सम्पूर्ण विषयको जानकारी एकै ठाउँबाट प्राप्त गर्न सकिने तथा त्यस विषयमा त्यही बसेर छलफलसमेत गर्न सकिने व्यवस्था मिलाइएको दिगो विकास तथा सुशासन समितिले जनाएको छ ।

खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

भद्रपुरः झापाको दमक–१ स्थित रतुवा खोलामा निर्माणाधीन पूलका लागि खनेको खाल्डोमा जमेको पानीमा पौडी खेल्दा शनिबार दुई बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खाल्डोमा पौडी खेल्नेक्रममा दमक–१ निवासी ९ वर्षीय आयुष उपरकोटी र पाँचथरको फाल्गुगन्दमा घर भई दमक–१ मा डेरा गरी बस्ने १२ वर्षीय भिषण चेम्जोङको डुबेर मृत्यु भएको हो । विद्यालय विदा भएकोले शनिबार दिउँसो दुबैजना पौडी खेल्न भनी रतुवा खोलातर्फ गएको र खाल्डोमा मृत अवस्थामा दुबैलाई भेटिएको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

इङ्लिस प्रिमियर लिगः सिटीको चेल्सीमाथि रोचक जित

एजेन्सी । साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा चेल्सीमाथि रोचक जित निकालेको छ । शनिबार राति भएका प्रतिस्पर्धात्मक खेलमा सिटीले चेल्सीलाई २–१ गोलले हरायो । घरेलु मैदानमा सिटीलाई जिताउन केभिन डि ब्रुयन र रियाद महारेजले गोल गरे । चेल्सीका एन्गोलो कान्टेले गोल गरे । सिटीले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको थियो । खेलमा सुरुवाती अग्रता चेल्सीले लिएका थियो । २१औं मिनेटमा कान्टेले माटियो कोभासिसको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । तर, चेल्सीको अग्रता लामो समय टिकेन । २९औं मिनेटमा केभिन डि ब्रुयनले बराबरी गोल फर्काए । ३७औं मिनेटमा रियाद महारेजले गोल गर्दै घरेलु टोली सिटीलाई अग्रता दिलाए । त्यही गोलनै सिटीको लागि निर्णायक बन्यो । दोस्रो हाफमा दुवै टोलीले मौका पाएपनि गोल गर्न सकेनन् । जितसँगै सिटी लिगको तेस्रो स्थानमा उक्लिएको छ । सिटीको १३ खेलबाट २८ अंक बनाएको छ । २६ अंक बनाएको चेल्सी चौथो स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ३७ अंक पुगेको छ । प्रिमियर लिगमा शनिबार राति भएको अन्य खेलमा वल्भ्सले बर्नमाउथलाई २–१, नर्विच सिटीले एभर्टनलाई २–० र बर्नलीले वाटफोर्डलाई ३–० गोलले हराएको छ । अर्को खेलमा आर्सनल र साउथह्याम्पटन २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

गाउँपालिकाका सबै वडा सचिवविहीन

बैतडीः सिगास गाउँपालिकाका नौवटै वडा कार्यालय सचिवविहीन छन्। वडा कार्यालयमा सचिव नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ। सचिवविहीन रहेका वडाहरुमा प्राविधिक सहायकहरुलाई सचिवको जिम्मेवारी दिएर काम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए। साविकको छवटा गाविसका छजना प्राविधिक सहायकलाई नौवटा वडा कार्यालय हेर्ने गरी जिम्मेवारी दिइएको छ अवस्थीले बताए। तीनजनाले दुई वडा र अन्य तीन जनाले एक/एक वडाको जिनम्मेवारी दिइएको छ। वडा कार्यालयहरुमा कर्मचारीको अभावले कार्यसम्पादनमा समस्या हुने गरेको र यसले सेवाग्राहीलाई समस्या भएको गाउँपालिकाकी उपाध्यक्ष द्रोपती चन्दले बताइन्। गाउँपालिकामा समेत दुईजना मात्रै कर्मचारी भएको प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताए।