आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ २७ पैसा र बिक्री दर १३१ रुपैयाँ ८७ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ४८ पैसा र बिक्री दर १४४ रुपैयाँ १३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ७९ पैसा र बिक्री दर १६३ रुपैयाँ ५४ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९८ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
आजको मौसम पूर्वानुमान : तीनवटा प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश र गण्डकी प्रदेशमा आँशिक देखि सामान्य बदली र बांकी भु–भागहरुमा आंशिक बदली देखी सामान्यतया सफा अवस्था रहेको छ। महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने छ। कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ । राती भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
एकदिवसीय अभ्यास खेलमा ओमानमाथि नेपालको सानदार जित
काठमाडौं । नेपालले अभ्यास खेलमा ओमानमाथि सानदार जित हात पारेको छ । एसीसी प्रिमियर कप अघि भएको अभ्यास खेलमा नेपालले ओमानलाई ५ विकेटले पराजित गरेको हो । ओमानले दिएको २ सय ४७ रनको लक्ष्य नेपालले ४४ दशमलब ४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा अर्जुन साउद, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । ओपनर साउदले ६७ तथा कप्तान रोहित पौडेलले ५८ रन बनाए । कप्तान रोहित रिटायर्ट हर्ट भएका थिए । दीपेन्द्रसिंह ऐरी ५९ रनमा आउट भए । कप्तान रोहितले ५८ रनमा रिटायर्ट हर्ट हुँदै कुशल मल्ललाई मौका दिएका थिए । तर, मल्लले ८ रन भन्दा जोड्न सकेनन् । नेपालका लागि ओपनरका रुपमा मैदान प्रवेश गरेका देव खनाल १० रनमा आउट भएका थिए । ओमानका लागि कप्तान जिशान मकसुदले २ विकेट लिए । त्यसअघि टियु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको थियो । ओमानका लागि शोएब खानले १ सय १० रनको अविजित शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन्। ओपनर जतिन्दरसिंह ४२ रनमा आउट भए । अर्का ओपनर कश्याप प्रजापति ३६ बलमा २ चौकासहित १६ रनमा आउट भए । मोहम्मद नदिमले २४ रन बनाए । नेपालका लागि किशोर महतोले ३ तथा प्रतिश जी।सी र सूर्य तामाङले समान २–२ विकेट लिए । एसीसी प्रिमियर कपमा नेपाल र ओमान एकै समूहमा छन् । एसीसी प्रिमियर कप आगामी मंगलबारदेखि सुरु हुनेछ ।
करोडौ मागेको अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठ निलम्बित
काठाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आर्थिक लेनदेनको फोन टेप बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा.ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ । श्रेष्ठलाई निलम्बन गरेर उनीमाथि छानिबिन अगाडि बढाउने निर्णय गरेको हो । उनलाई सांसद वा पार्टी सदस्यका रूपमा कुनै पनि काम गर्न नमिल्ने गरी निलम्बन गरिएको छ । समानुपातिक पद्धतिबाट सांसद बनेका श्रेष्ठले स्वास्थ्य मन्त्री बन्ने चर्चा चलेको थियो । उनले व्यवसायी प्रसाईंसँग आफू मन्त्री भएपछि सहयोग गर्छु भन्दै दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।
धौलागिरि आधारशिविरमा हेलिकप्टर दुर्घटना, पाइलटलाई काठमाडौं ल्याइदै
काठमाडौं । धौलागिरि हिमालको बेसक्याम्पमा हेलिकप्टर दुर्घटना भएको छ। धौलागिरि आधारशिविरमा अवतरण गर्ने क्रममा फोर्स्ड ल्यान्डिङको क्रममा हेली एभरेष्टको (एन–एएनबी एएस–३५०) हेलिकप्टर दुर्घटना भएको हो। हेलिकप्टरमा सो अवस्थामा एक मात्र पाइलट रहेको र उनी सकुशल रहेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। ‘उनलाई अर्को हेलिकप्टरद्वारा उद्धार गरी काठमाडौं ल्याइँदै छ’, प्राधिकरणले भनेको छ, ‘उनको अवस्था सामान्य छ।’ धौलागिरि आरोहणमा गएकाहरुको उद्धार गर्न जाने क्रममा सो दुर्घटना भएको हो। आज धौलागिरि क्षेत्रको मौसम राम्रो नभएको बताइएको छ। आरोहणमा गएकाहरु पनि मौसम सुधार हुने आशामा बसिरहेका छन्। हेलिकोप्टर क्याप्टेन प्रिया अधिकारीले उडाएकी थिइन्।
आईपीएल : चेन्नाईको सानदार दोस्रो जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किङ्सले मुम्बई इन्डियन्सविरुद्ध सात विकेटको जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा चेन्नाईले मुम्बई इन्डियन्समाथि ७ विकेटको सानदार जित हात पारेको हो । मुम्बईको यो लगातार दोस्रो हार हो । वान्खडे रंगशालामा घरेलु टिम मुम्बईले प्रस्तुत गरेको १५८ रनको लक्ष्य चेन्नाईले १८ दशमलव १ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । जितसँगै तीन खेलबाट चार अंक जोडेको चेन्नाई तालिकाको चौथो स्थानमा उक्लिएको छ। अंकविहीन मुम्बई तालिकाको आठौँ स्थानमा छ ।
माधव नेपाल भन्छन् : मिटरब्याज पीडितको अवस्था विकराल छ
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिटरब्याज पीडितहरुको अवस्था विकराल रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । समाजवादी सहकारी सङ्गठन नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रममा समेत मिटरब्याजलाई सम्बोधन गरिएको बताए । नेता नेपालले सहकारीले आममानिसको हितमा काम गर्नुपर्ने उल्लेख गर्दै यसले मिश्रित अर्थतन्त्रका मान्यताअनुरुप सहकारी निजी र राज्य सम्मिलित तीन खम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडी सारेको बताए । उनले समाजमा छरिएका स–साना पँुजीलाई एकीकृत गरी ठूलो लगानीका लागि सहकारीले वातावरण निर्माण गर्नुेपर्नेमा जोड दिए ।
चैत २३ पछि निर्वाचन आचारसंहिता
काठमाडौं। आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि चैत अन्तिम सातादेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ। चितवन, तनहुँ र बाराका गरी तीन प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार उपनिर्वाचनलाई लक्षित गरी चैत २३ पछि आचारसंहिता लागू हुनेछ। निर्वाचन आचारसंहिता, २०७९ मा आचारसंहिता आयोगले तोकेको मितिदेखि तोकेको क्षेत्रमा लागू हुने व्यवस्था छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको पदाधिकारी बैठकले निर्णय गरेपछि आचारसंहिता लागू हुने जानकारी दिए । आचारसंहितामा राजनीतिक दल, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहका पदाधिकारी तथा सरकारी तथा अर्धसरकारी निकायले गर्न हुने र नहुने व्यवस्था गरिएका छन्। आचारसंहिता लागू भएपछि तीनै तहका सरकारले उपनिर्वाचन हुने क्षेत्रमा नयाँ विकासका योजना घोषणा, योजना शिलान्यासलगायतका गतिविधि गर्न पाउने छैनन्।
निगगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम छिट्टै अघि बढाउँछौँ : प्रधानमन्त्री प्रचण्ड
पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्। आइतबार दिउँसो उप्रप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, नेपाल सरकारका मुख्यसचिव दामोदर वैरागीसहित पोखरा पुगेका प्रधानमन्त्रीले सो विमानस्थल उद्घाटन गरेका हुन्। समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले विमानस्थल निर्माण गर्ने पोखरेली जनताको जागरण र संकल्प्रति सम्मान व्यक्त गरे। उनले भने,‘पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनाउन तपाईहरूले जुन संकल्प गर्नुभयो, जुन जागरण ल्याउनुभयो। प्रधानमन्त्री भएको एक हप्तामा नै यो विमानस्थल उद्घाटन गर्न पाउनु मेरा लागि गौरवको विषय हो।’ ‘आजको जमाना कनेक्टिभिटिको जमाना हो। त्यसमध्ये पनि हवाइमार्गको नेटवर्क सबैभन्दा मुख्य हो। यस विमानस्थलले पोखरा र गण्डकीका लागि मात्र नभएर देशकै विकास र समृद्धिको सपनामा महत्वपूर्ण योगदान गर्दछ’ उनले भने। ‘सामाजिक न्याय, समृद्धि र सुशासनको संकल्प गरेको छु। मेरो तेस्रो कार्यकाल यसकै निम्ति खर्चिनेछु प्रधानमन्त्रीले भने, ‘यो तेस्रो अन्तरार्ष्ट्रिय विमानस्थल हो। काठमाडौं र भैरहवापछि पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनेको छ। हामी छिट्टै निजगढ विमानस्थलको काम अगाडि बढाउँछौं। हामी विकासलाई तीव्रता दिएर अघि बढ्छौं।’ ‘चीनका नाकाहरू खुल्न थालेका छन्, यसका निम्ति चीन सरकारलाई धन्यवाद दिन चाहन्छु, प्रधानमन्त्रीले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सहयोग गर्ने सबै सबैप्रति विशेष आभार व्यक्त गर्दछु।’ अन्तराष्ट्रिय विमानस्थल उद्घाटन समारोहमा उपप्रधान एवं अर्थमन्त्री पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, पोखरा महानगरका मेयर धनराज आचार्य, विमानस्थल निर्माणकर्ता चिनियाँ कम्पनिका अधिकारीहरूले सम्बोधन गरेका थिए। पर्यटकीय शहर पोखराको चौतर्फी विकास गर्ने हेतुले २०३२ सालमा परिकल्पना गरिएको विमानस्थल झण्डै साँढे पाँच दशकपछि पूरा भएको छ। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि पोखराबासीमा खुसीयाली छाएको छ।
नामिबियामा जितविहीन नेपाल : स्कटल्यान्डसँग ८ विकेटले पराजित
काठमाडौं । अन्तिम खेलमा बिहीबार स्कटल्यान्डसँग ८ विकेटले पराजित भएसँगै आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि नामिबिया भ्रमणमा गएको नेपाल जितविहीन बनेको छ । नामिबियाको विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १२० रनको सामान्य लक्ष्य स्कटल्यान्डले १७ ओभरमै दुई विकेट गुमाएर पूरा गर्यो । स्कटल्यान्डको जितमा क्रिस्टोपर म्याकब्रिडले ४६ रन बनाए । यस्तै, आक्रामक रूपमा प्रस्तुत भएका जर्ज मुन्सीले २८ बलमा सात चौका र दुई छक्कासहित ४५ रन जोडे । किल कोएट्जरले १६ रन बनाउँदा कप्तान रिची बेरिंगटनले १२ रन जोडे । नेपालका गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले ३५।३ ओभरमा सबै विकेट गुमाउनुअघि ११९ रनको योगफल खडा गरेको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४७ रन बनाएका थिए । सोमपाल कामीले १६, दीपेन्द्रसिंह ऐरीले १४ र ललित राजवंशीले ११ रन जोड्नुबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् । नेपालका ओपनर अर्जुन साउद ‘डक’ आउट हुँदा अर्का ओपनर आसिफ शेख एक रनमा पभेलियन फर्किएका थिए । यस्तै, ज्ञानेन्द्र मल्ल नौ, आरिफ शेख ६, हरिशंकर साह एक, गुल्सन झा पाँच रनमा आउट हुँदा सागर ढकाल एक रनमा अविजित रहेका थिए । नेपाललाई सस्तैमा समेट्न स्कटल्यान्डका ब्रान्डन म्याकमुलन, सफ्यान सरिफ र मार्क वाटले दुई–दुई विकेट लिएका थिए । क्रिस सोल, क्रिस्टोफर म्याकब्रिड र क्रिस ग्रेभसले समान एक विकेट हात पारे । यो हारसँगै नेपाल शृंखलामा जितविहीन बन्यो । शृंखलाको पहिलो खेल वर्षाले बिथोलेपछि नेपाल र नामिबियाबीचको खेल रद्द भएको थियो । दोस्रो खेलमा स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा नामिबियासँग ८६ रनले पराजित भएको थियो । लिग–२ मा २४ खेलबाट १८ अंक जोडेको नेपाल अंकतालिकाको छैटौँ स्थानमा छ । ३२ खेलबाट ४६ अंक जोडेको स्कटल्यान्ड शीर्ष स्थानमा छ । ३० खेलबाट ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा छ ।
नयाँ सरकार निर्माणमा जनमत पार्टी र कांग्रेसबीच सहकार्य हुने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ। बिहीबार बालुवाटारस्थित निवासमा अध्यक्ष राउत र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो। भेटमा सत्ता गठबन्धनमा जनमत पार्टी पनि संलग्न हुने सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले ट्वीटरमार्फत् जानकारी दिएका छन्। ‘गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुबैमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ,’ निधिले लेखेका छन्। निधि र राउतबीच बुधबार भेटवार्ता भएको थियो। त्यहाँ राउतले मधेस प्रदेशमा सरकारको नेतृत्व पाउनुपर्ने प्रस्ताव राखेका थिए।
मतपरिणाम आउनेक्रम अन्तिम चरणमा ,यसरी हुँदैछ नयाँ सरकार गठन र संसद सञ्चालन
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । निर्वाचन परिणामसँगै नयाँ सरकार गठन र संसद् सञ्चालनको चर्चा सुरु भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ मध्ये एक सय ६१ स्थानको नतिजा आइसकेको छ । प्राप्त मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५४ स्थानमा जित हासिल गरी एक स्थानमा अग्रता कायम गरेको छ । यस्तै नेकपा (एमाले) ले ४४, नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकीकृत समाजावदी)ले १०, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सात÷सात स्थानमा जित हासिल गरेका छन् । निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल चार, नगारिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक÷एक स्थान तथा स्वतन्त्र पाँच जनाले प्रत्यक्षतर्फ जित हासिल गरेका छन् । यसैगरी प्रतिनिधिसभाको समानुपातिकतर्फ बुधबार दिउँसोसम्म एक करोड ४२ हजार पाँच सय १४ सदर मतमध्ये एमालेले २७ लाख नौ सय चार, कांग्रेसले २५ लाख ५९ हजार ४२, माओवादी केन्द्रले ११ लाख ४५ हजार तीन सय ९१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार छ सय ४७, राप्रपाले पाँच लाख ७१ हजार एक सय ६९, जसपाले तीन लाख ९६ हजार आठ सय ३९, जनमत पार्टीले तीन लाख ६० हजार छ सय ६९ र एकीकृत समाजवादीले दुई लाख ८२ हजार आठ सय ८९ मत प्राप्त गरेका छन् । सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा एक सय ६५ सांसद प्रत्यक्ष र एक सय १० सांसद् समानुपातिक प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय हुनेछ भने सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा ५९ सदस्यीय हुने संविधानमा उल्लेख छ । निर्वाचन आयोगले यसअघि यही मङ्सिर २२ गतेसम्म निर्वाचनको अन्तिम मतपरिणाम आइसक्ने र त्यसको सम्पूर्ण विवरण राष्ट्रपतिलाई बुझाउने समय निर्धारण गरेको थियो । बाजुरा, स्याङ्जा र दोलखामा निर्वाचन एवं मतगणनामा भएको ढिलाइले अन्तिम मतपरिणाम निर्धारित समयमै आउनेमा आशङ्का छ । निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा दलहरुले नयाँ सरकार गठनका लागि प्रयास थालेका छन् भने सङ्घीय संसद् सचिवालयले पनि नयाँ संसद् सञ्चालनका लागि आवश्यक तयारी थालेको छ । यसैबीच, प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेट गरी पाँचदलीय सत्ता गठबन्धनकै नयाँ सरकार बनाउने सम्बन्धमा आपसी छलफल सुरु गरेका छन्। के छ नयाँ सरकार गठनको संवैधानिक व्यवस्था नेपालको संविधानको धारा ७६ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने प्रावधान छ ।प्रतिनिधिसभाका प्रत्यक्ष एक सय ६५ र समानुपातिक एक सय १० सिटको हालसम्मको मतपरिणाम हेर्दा कुनै पनि दलको बहुमत नआउने स्पष्ट छ । प्रतिनिधिसभाको कूल दुई सय ७५ सिटमध्ये बहुमत पु¥याउन एक सय ३८ सिट ल्याउनुपर्छ । सोही धाराको उपधारा (२) मा कुनै पनि दलको स्पष्ट बहुमत नरहेका अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाका सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । त्यस्तै उपधारा (३) मा प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुनसक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । उपधारा (४) मा उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ । उपधारा (५)मा उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । उपधारा (६)मा उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नुपर्नेछ । त्यस्तै उपाधारा (७)मा उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने संविधानको व्यवस्था छ । उपधारा (८)मा संविधानबमोजिम भएको प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्ने प्रावधान छ । नयाँ संसद् सञ्चालनको तयारी संविधानको ९३ मा राष्ट्रपतिले प्रतिनिधिसभाका लागि निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ । निर्वाचनको अन्तिम मतपरिणाम प्राप्त हुने समय नजिकिएसँगै सङ्घीय संसद् सचिवालयले संसद् बैठक सञ्चालनका लागि आवश्यक तयारी प्रारम्भ गरेको छ । प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम आएसँगै दलहरुले नयाँ सरकार गठनको पहल गर्ने र नयाँ सरकार गठनपछि उक्त सरकारले संसद् बैठकको अधिवेशन आह्वान गर्नेछ । संसद् बैठक बस्नु अगावै प्रतिनिधिसभाका नवनिर्वाचित सांसदमध्ये ज्येष्ठ सांसदले राष्ट्रपतिबाट शपथ लिनुहुने संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले राससलाई जानकारी दिनुभयो । ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराएपछि संसद् बैठक प्रारम्भ हुनेछ । निर्वाचनपछिको पहिलो संसद् बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुहुनेछ । संविधानको धारा ९५ को उपधारा (२)मा राष्ट्रिपतिले प्रतिनिधिसभाको निर्वाचन पछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने उल्लेख छ । प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्नेछ । सभामुख र उपसभामुखमध्ये एकजना महिला हुने गरी निर्वाचन गर्नुपर्ने तथा सभामुख र उपसभामुख फरक दलबाट प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै संसद् बैठक यसअघि सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद्को नयाँ भवनमा नयाँ संसद् बैठक बस्ने भनिए पनि निर्धारित समयमै निर्माण सम्पन्न नहुँदा अबको संसद् बैठक हालको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नै बस्नेछ । उक्त नयाँ भवन सम्पन्न हुन अझै केही वर्ष लाग्ने देखिएको छ । प्रतिनिधिसभाको यस निर्वाचनबाट दलहरु र स्वतन्त्र सांसदको सङ्ख्या बढ्ने देखिएपछि त्यसको व्यवस्थापनको तयारीमा सचिवालय जुटेको छ । थपिने दलहरु र सांसदका लागि सिंहदरबार परिसरमै संसदीय दलको कार्यालय, नेता र सचेतकको कार्यकक्ष र बैठककक्ष, सवारी साधन र कर्मचारीलगायत आवश्यक व्यवस्थापनको तयारी थालिसकिएको सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए । उनले भने, “निर्वाचनबाट आउने दल र सांसदका लागि संसदीय दलको कार्यालयलगायत व्यवस्थापन गर्नुपर्ने भयो, सिंहदरबारभित्र उपयुक्त स्थानमा कार्यालय उपलब्ध गराउने गरी तयारी थालेका छौँ ।” २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पाँचवटा राष्ट्रिय दल बनेका थिए भने एमालेबाट विभाजन भएको एकीकृत समाजवादीलाई पनि सचिवालयले दलको कार्यालय उपलब्ध गराएको थियो । यसबाहेक दुई वा दुईभन्दा बढी सांसद भएका दललाई सचिवालयले संसदीय दलको कार्यालय, नेता र सचेतकको कार्यकक्ष, बैठक कक्ष उपलब्ध गराउनुपर्नेछ । यस निर्वाचनबाट प्रतिनिधिसभामा १२ दलको प्रतिनिधित्व भएको छ भने पाँच स्वतन्त्र सांसद निर्वाचित भएका छन् ।
नेपाल र युएईको दोस्रो एक दिवसिय खेल आज हुँदै
काठमाडौं । नेपाल र युएईबिचको एक दिवसिय क्रिकेट श्रृंखलाको दोस्रो खेल आज बुधबार हुँदैछ । किर्तीपूर मैदानमा बिहान ९ बजे सुरू हुने खेल जित्दै नेपाल श्रृंखलामा फर्किन चाहन्छ । युएई भने लगातार दुई खेल जित्दै श्रृंखला आफ्नो पक्षमा पार्ने योजनामा रहेको छ । यसअघि सोमबार भएको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । तिन खेलको एक दिवसिय श्रृंखलाको अन्तिम खेल शुक्रवार हुनेछ । नामिबियाविरुद्ध विश्व क्रिकेट लिग दुईको तयारीमा रहेको नेपालले अभ्यासस्वरुप युएईसँग मैत्रिपूर्ण क्रिकेट श्रृंखला खेलेको हो ।
प्रचण्ड र देउवा कर्णालीका दुई जिल्लामा आयोजित चुनावी सभामा सहभागी हुँदै
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज कर्णालीका दुई चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। सुरुमा सुर्खेतको गुर्भाकोट नगरपालिकाको खैरेनी भेरी किनारमा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् । त्यहाँ दिउँसो १२ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ। यस्तै, दिउँसो १ बजेदेखि २ बजेसम्म दैलेखको दुल्लुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
ओनसरीलाई भोट माग्दै प्रकाशमानले भने : सक्षम महिलालाई अगाडि बढाउनुस्
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर २ मा स्थापित महिला उम्मेदवारलाई सबैले साथ दिनुपर्ने बताएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक–वाम गठबन्धनबाट उम्मेदवार माओवादी नेता तथा पूर्वसभामुख ओनसरी घर्तीको पक्षमा मत माग्न साँखु पुगेका सिंहले सक्षम महिलालाई अगाडि बढाउन मतदातालाई आग्रह गरे । साँखुमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्व महामन्त्री सिंहले काठमाडौं २ मा मतदाताले सोचेभन्दा बढी विकास गर्नसक्ने क्षमताको उम्मेदवार ओनसरी घर्ती भएको बताए । ‘पूर्वसभामुख यहाँबाट प्रतिनिधिसभाको लागि उम्मेदवार हुनुहुन्छ । उहाँलाई मैले संविधानसभाकै क्रममा सदस्यका नाताले नजिकबाट चिन्ने मौका पाएको हो । सभामुख हुँदाखेरि संसदमा उहाँले खेलेको सकरात्मक भूमिका, उहाँको क्षमता देखेको कारणले समर्थन गर्न आग्रह गर्दछु ।’ उनले थपे, ‘१६५ वटै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने सांसद नै हुन्छन् । तर सबैको मन्त्री, उपप्रधानमन्त्री, सभामुख र उपसभामुख हुने हैसियत हुँदैन, उनले भने, ‘उपसभामुखबाट सभामुख भइसकेको संसद्मा उहाँको क्षमता राम्रोसँग देखिएकाले गर्दाखेरि भरोसा र विश्वास छ ।’ त्यस्तै, नेता सिंहले संविधान कार्यान्वयन गर्नका लागि लोकतान्त्रिक–वाम गठबन्धन बनेको बताए । उनले संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभाले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन निर्माण गर्न नसकेको, स्थानीय तह र प्रदेशहरूलाई संविधानमा सुनिश्चित अधिकार प्राप्त नभएको बताए ।
एमालेमाथि कांग्रेसले लगायो आचारसंहिता उल्लघंन आरोप
काठमाडौं । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले खुलेआम निर्वाचन आचारसंहिता उलंघन गरेको आरोप लगाएको छ।कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार पत्रकार सम्मेलन गर्दै एमालेमाथि कारबाही गर्न निर्वाचन आयोगसँग माग गरेका हुन्। महतले निर्वाचन आचारसंहिताविरूद्ध एमालेले खुलेआम प्रलोभन र सामाजिक संघसंस्था दुरुपयोग गर्ने काम गर्दा पनि आयोगले कारबाही नगरेको भन्दै आक्रोश पोखे। ‘म निर्वाचन आयोगलाई पनि अनुरोध गर्न चाहन्छु, आचारसंहिताको हामीले अक्षरशः पालना गरेका छौं। तर संस्थाहरुको दुरुपयोग एमालेले गरेको जगजाहेर छ’ उनले भने, आचारसंहिताविरुद्ध प्रलोभन दिने, विभिन्न संस्था दूरुपयोग गर्ने प्रवृत्तिलाई निर्वाचन आयोगले तत्काल निगरानी गरोस्। हामी त्यसलाई कारबाही गरोस् भनेर आयोगसँग आग्रह गर्छौँ।’