सावधान ! सडकमा कार्यक्रम गरे तीन बर्ष जेल
काठमाडौं, फागुन २६ । सडक ढाकेर जुलुस, र्याली वा अन्य कार्यक्रम गर्दै हुनुहुन्छ? सावधान, जेल पर्नुहोला !
सरकारले सडक आवागमन अवरोध पुर्याउनेलाई कारबाहीका लागि ऐन निर्माण तयारी अघि बढाएको छ । व्यवस्थापिका संसद्ले तयार पारेको ‘फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७१’ मा सडक अवरोध वा आवागमन बाधा पुर्याउनेलाई तीन वर्षसम्म कैद, ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
विधायन समिति सदस्य रेवतीरमण भण्डारीका अनुसार उक्त विधेयक संसदको विधायन उपसमितिबाट पास भइ समितिमा आइसकेको छ।
विधेयक २०७१ को दफा ६४ मा सार्वजनिक सडक अवरोध गर्न नपाइने व्यवस्था उल्लेख छ । यो व्यवस्था संसदबाट पारित भएसँगै पैदल यात्रु, सवारीसाधन र पशुको आवागमन नै बाधा पुर्याउन पाइँदैन ।
यो खबर आजको नागरिकमा छ ।
अमेरिकाद्धारा उत्तर कोरियाको खतराविरुद्ध रक्षा गर्न मिसाइल दक्षिण कोरिया पठाउन सुरु
वासिङ्टन, फागुन २५ । अमेरिकाले एक विवादास्पद मिसाइल प्रतिरक्षा प्रणालीको पहिलो भाग दक्षिण कोरिया पठाउन सुरु गरेको जनाएको छ । उत्तर कोरियाको खतराविरुद्ध रक्षा गर्न डिजाइन गरिएको दि टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स सिस्टम (थाड) को पहिलो भाग दक्षिण कोरियामा पठाइएको हो । उत्तर कोरियाले एकै दिन चार ब्यालिस्टिक मिसाइल परीक्षण गरेको भोलिपल्टैबाट उक्त प्रणाली लगाउन सुरु गरेको हो । यो प्रणालीले आफ्नो उडानमै छोटो र मध्यम दूरीको मिसाईललाई नष्ट गर्ने क्षमता राख्छ । यो खबर आजको कान्तिपुरमा छ ।
राष्ट्रपतिद्धारा शाश्वत धाम उद्घाटन, पूर्वराजा ज्ञानेन्द्रले गरे पुजा
काठमाडौं, फागुन २५। राष्ट्रपति विद्यादेवी भण्डारीले नवलपरासीमा मंगलबार शाश्वत धाम उद्घाटन गरिन् । लगत्तै पूर्वराजा ज्ञानेन्द्रले त्यही मन्दिरमा पूजा गरे । एउटै कार्यक्रममा फरकफरक समयमा उपस्थित भएर उनीहरूले आ–आफ्नो भूमिका पूरा गरे । नवलपरासीको देवचुली नगरपालिका– २ दुम्कौलीस्थित चौधरी उद्योग परिसरमा निर्माण गरिएको धाम उद्घाटन गर्न राष्ट्रपति भण्डारी बिहान १० बजे पुग्ने कार्यक्रम थियो । तर, उनको हेलिकोप्टर निर्धारित समयभन्दा करिब एक घन्टापछि मात्र अवतरण गर्यो । धाम उद्घाटन गरेर शान्त शैलीमा राष्ट्रपति बाहिरिएलगत्तै जयजयकारका साथ पूर्वराजा प्रवेश गरे । हिन्दू धर्म र राजतन्त्रका समर्थकले कार्यक्रमस्थल वरपर ज्ञानेन्द्रको स्वागतमा तुल–ब्यानर पनि टाँसेका थिए । ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्ने नारा लगाउँदै समर्थकहरूले उनलाई मञ्चसम्म पुर्याएका थिए । पूर्वराजाका लागि शाश्वत धाममा पूजा गर्ने भूमिका छुट्याइएको थियो जो उनले पूरा गरे । उनलाई बिदाइ गर्दा पनि नारा लगाउने र सेल्फी खिच्नेको प्रतिस्पर्धा थियो । पूजा गरेपछि कार्यक्रमस्थलबाट केहीबेर बाहिरिएका पूर्वराजा धर्मसभाका रूपमा आयोजित दोस्रो सभामा प्रमुख अतिथि थिए । पहिलो कार्यक्रममा राष्ट्रपति बसेकै सिटमा दोस्रो सभामा पूर्वराजा ज्ञानेन्द्र बसे । अरू अतिथिले बोलेपछि प्रमुख अतिथि बोल्छन् कि भनेर धेरैले अनुमान गरेका थिए । तर, त्यसबीचमा केही मिनेट ज्ञानेन्द्रले आयोजक उद्यमी विनोद चौधरीसँग संवाद गरे । तर, कार्यक्रमलाई उनले सम्बोधन गरेनन् । राष्ट्रपति भण्डारीले भने ऋषिमुनिले तपस्या गरेको देशमा धर्मसंस्कृतिलाई बचाउनुपर्ने बताइन् । सो कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापा र भूमिसुधारमन्त्री विक्रम पाण्डेले पनि सम्बोधन गरेका थिए । आर्ट अफ लिभिङ फाउन्डेसनका संस्थापक श्री श्री रवि शंकरले नेपाल सुन्दर भूमि रहेको र नेपालीहरू पनि शान्तिप्रेमी रहेको भन्दै सनातन धर्मलाई अगाडि बढाउन आग्रह गरे । यो खबर आजको नयाँ पत्रिकामा छ ।
पहिलो पटक दीपेन्द्रलाई मौका
काठमाडौं, फाल्गुन २३ । दीपेन्द्रसिंह ऐरीलाई समेट्दै नेपालले केन्यासँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि आइतबार १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ । पारस खड्काको कप्तानीमा नेपालले केन्यासँग आउने शनिबार र सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल्दैछ । छनोट भएका खेलाडीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, आरिफ शेख, महबुब आलम, करण केसी, आसिफ शेख, सागर पुन, शरद भेषावकर, शक्ति गौचन, अविनाश कर्ण, सोमपाल कामी, सुनील धमला, दीपेन्द्र, वसन्त रेग्मी, विनोद भण्डारी र सन्दीप लामिछाने छन् । दिलीप नाथ, भुवन कार्की, अविनाश कर्ण र राजेश पुलामीलाई वैकल्पिकमा राखिएको छ । तेस्रो चरणको छनोटमा १९ खेलाडीमा समेटिएका आशिफ शेख वैकल्पिकमा पनि छैनन् । नेपालले अगस्टमा नेदरल्यान्ड्ससँग च्याम्पियनसिपमा पछिल्लो पटक खेलेको थियो । त्यसयता नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । नेदरल्यान्ड्स गएको टोलीका राजु रिजाल, राजेश पुलामी, विक्रम सोब र अनिल मण्डल यसपटक अन्तिम टोलीमा परेका छैनन् । राजु ३५ सदस्यीय टोलीमै थिएनन् । विक्रम र अनिल ३५ पछि अटाएनन् । महबुब र आरिफले राष्ट्रिय टोलीमा फर्किने मौका पाएका हुन् । २०१५ को नोभेम्बरमा पपुवा न्युगिनीसँगको च्याम्पियनसिप खेलपछि भेट्रान महबुब राष्ट्रिय टोलीमा फर्किएका हुन् । दीपेन्द्र र आरिफ दुवैले गत वर्ष बंगलादेशमा भएको आईसीसी यू–१९ विश्वकपमा राम्रो प्रभाव पारेका थिए । चार महिनाअघि दीपेन्द्रले श्रीलंकामा भएको एसीसी यू–१९ एसिया कपमा पनि राम्रो प्रभाव पारेका थिए । आरिफले २०१५ को जनवरीमा नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ मा ‘डेब्यु’ गरेका थिए । त्यसयता उनी पहिलो पटक राष्ट्रिय टोलीमा समेटिएका हुन् । दीपेन्द्र र आरिफसँगै गतवर्ष यू–१९ विश्वकप खेलेका सुनील धमलाले राष्ट्रिय टोलीबाट डेब्यु गर्ने प्रबल सम्भावना छ । उनले उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर ओपनिङमा ब्याटिङ गर्ने लगभग निश्चित जस्तै देखिएको छ । केन्यासँगको खेलको अन्तिम तयारीका लागि नेपालले दिल्लीमा अभ्यास खेल खेलेको थियो । त्यहीं गरेको प्रदर्शनका आधारमा नेपाली टोलीको अन्तिम छनोट गरिएको हो । नेपालले दिल्लीमा ३ अभ्यास खेल खेलेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नियुक्त गरेको छनोट समितिले खेलाडी छनोट गरेको नेपाली क्रिकेटका टेक्निकल एनालिस्ट रमन सिवाकोटीले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । छनोट समितिमा आईसीसी प्रतिनिधि वैंकटपति राजु, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारस छन् । कप्तान पारस अस्वस्थ भएकाले भारत गएका थिएनन् ।
तस्करलाई सोधेर मात्र बिदामा बस्थे भन्सारका कर्मचारी
काठमाडौं , फागुन २३ । रमेश : गुडमर्निङ सर। राजकुमार : गुडमनिङ। केही छैन भने म छुट्टि लिन्छु ? रमेश : एक छिनमा। राजकुमार : छुट्टि बस्दा हुन्छ ? रमेश : हुँदैन। एक छिनमा कन्र्फम हुन्छ। राजकुमार : ओके रमेश : ओके कन्फर्म छ है भोली सर। राजकुमार : ओके फेसबुकको म्यासेन्जरमा भएका यी सूचना आदानप्रदान नेपालमा बसेर साढे ३३ किलो सुन रिसिभ गर्ने मुख्य व्यक्ति दिलबन्धु भन्ने रमेश थापा र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयस्थित एक्स–रे मेसिनमा स्क्रिन पास गराउने कर्मचारी राजकुमार ढकालबीचको हो। पुस नौ गते थापा र ढकालबीच लामो गफ भयो। थापाले लगेज र लगेर लिएर आउने व्यक्तिसम्मको फोटो ढकालको म्यासेन्जरमा पठाउँथे। ढकालले ढुक्क हुन्न थापालाई सम्झाउँथे। अन्तराष्ट्रिय विमानस्थलको भन्सार जस्तो संवेदनशील स्थानमा मुख्य जिम्मेवारी सम्हालेका सरकारी कर्मचारी र सुन तस्करबीचको अवैद्य साँठगाँठले मुलुकको सुरक्षा र गोपनियता उदांगिएको छ। साढे ३३ किलो सुन तस्करीमा संलग्न संगठीत गिरोहले विमानस्थलमा खटिएका भन्सारका कर्मचारीलाई पूर्ण सूचना दिएर मात्रै सुन पास गराउँदै आएको यो नमुना घटना हो। तस्करले फेसबुक म्यासेन्जरमा च्याट गर्दै सुन ल्याउने व्यक्ति र लगेजसम्मको सूचना आदानप्रदान गर्दै आएका थिए। सुन बरामद घटनाको दुई महिनापछि आईतबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले पत्रकार सम्मेलन गर्दै आधिकारीक जानकारी गराएको हो। ‘ दुवई देखि विमानस्थलसम्मको सेटिङ ज्यादै संगठीत देखियो, जबकी दुवईका गिरोहसँग विमानस्थलको भन्सारमा खटिएका कमचारी र सुन रिसिभ गर्न आउने व्यक्तिबीच पटकपटक सूचना आदानप्रदान भएको देखिन्छ,’ सीआइबी प्रमुख डीआइजी नवराज सिलवालले भने,‘ मुख्य व्यक्ति युएईको दुवईमै छन्, हामी रेडकर्नर नोटिस जारी गरेर भएपनि कानुनी दायरामा ल्याउँछौं।’ सुनका तस्कर र भन्सारका कर्मचारीबीच लगातार म्यासेन्जरमा च्याट हुने गरेको र भन्सारका कर्मचारीले विदामा बस्दा समेत तस्करलाई मात्रै सोधेर बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। बढी सुन तस्करी एयर अरेबियाको शारजाहँबाट काठमाडौं आउने उडानमा हुने गरेको जानकारी सिलवालले दिए। मुख्य तस्कर हरिशरण खड्काको कनेक्सन युएईकै अर्का कारोबारी सन्तोष काफ्ले (हाल पक्राउ) सँग र काफ्लेको रिसिभर दिलबन्धु थापा र थापाको भन्सारका कर्मचारी श्रीनारायण यादवसँग हुँदै आएको सीआइबीले जनाएको छ। ‘ यी चार जनाबीच पटकपटक फोनमा र म्यासेन्जरमा कुराकानी भएको देखिन्छ,’ डीआइजी सिलवालले भने,‘ यादवको विमानस्थल भित्रै सिधासम्पर्क भने राजकुमार ढकाल, ढकालको श्यामकुमार श्रेष्ठसँग हुन्थ्यो, एसएसपी श्याम खत्रीसँग यादवसँग मात्रै सम्पर्क देखियो।’ दुवईमा बसेका मुख्य कारोबारीहरु हरिशरण खड्का, राजन प्रसाद पन्त, अर्जुन प्रसाद खरेल, रोशन गुप्तलाला भुसाल, कृष्ण गोपाल अग्रवाल, चुडामणी उप्रेती, गोरो भन्ने सिताराम खरेल, केशव चापागाइँ, सञ्जय भन्ने दुर्ग प्रसाद खरेल र गोपाल भुसालसमक्ष भने प्रहरी पुग्न सकेको छैन। नेपालका मुख्य रिसिभरहरु दरबार रोधी क्लबका काभ्रेका रामहरि कार्की, रुविन भन्ने राम प्रताप खड्का र मोरङका प्रकाश खरेल र बुद्धिमान खरेल हुन्। सीआइबीका अनुसार सुन मगाउनेहरुमा चर्चित सुन पसल आरके ज्वलर्सका सञ्चालक राजेन्द्र कुमार शाक्य, मल्लिका बज्राचार्य शाक्य, सालिमार ज्वलर्सका सञ्चालक राम कृष्ण गोयल, कुसुम गोयल र राहुल गोयल हुन्। सालिमारकै अनमोल बज्राचार्य र बैभव लक्ष्मी ज्वलर्सका सञ्चालक प्रमोद श्रेष्ठ समेत सुन माग गर्ने व्यापारी रहेको सीआइबीले जनाएको छ। यी व्यापारीहरुसँग शेयर होल्डर्सको रुपमा कैलालीका रवि राजेश बोगटी, काठमाडौं क्षेत्रपाटीका शनि श्रेष्ठ, वैभव ज्वलर्सकै मनोज श्रेष्ठ, सुनिल श्रेष्ठ, राजेश शाक्य र सपन श्रेष्ठ समेत रहको प्रहरी दावी छ। सीआइबीका अनुसार विमानस्थल भन्सार कार्यालयमा विगत पाँच वर्षको अवधिमा तीन सय १४ वटा सुन तस्करीसम्बन्धी मुद्दा दर्ता भएको र सबै प्रतिवादीहरु धरौटीमा छुटेका थिए। राजश्व अनुसन्धान विभागमा भने विगत पाँच वर्षमा ४५ वटा मुद्दा दर्ता भएकोमा सबै प्रतिवादीहरु धरौटीमा छुटेका थिए। सीआइबीले गत पुस २१ गते बिमानस्थलबाट बाहिरिएको ३३ किलो ५७७.४० ग्राम सुनसहित गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्लेलाई पिंगलास्थानबाट पक्राउ गरेको थियो। उनीहरुमाथि थप अनुसन्धान गर्दा हाल पक्राउ परेका १२ जना र फरार २१ जनाको संलग्नता खुलेको हो। तस्करले विमास्थल सेटिङका लागि प्रतिकिलो ५० हजार देखि ८० हजार रुपैंया छुट्याउने गरेको तर तलका कर्मचारीको हकमा सामान्यतया एक पटक सुन पास गराएबापत दुई देखि तीन लाख रुपैंया दिने गरेको सीआइबी प्रमुख सिलवालले दिए। प्रहरीका लागि छुट्याईएको एक लाख भने एसएसपी श्याम खत्रीले पाउँदै आएको सिआइबीको दावी छ। यसैबीच सिआइबीले सुन तस्करीमा संलग्न ३३ जनाविरुद्ध दुई वटा मुद्दामा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। १५ करोड ४० लाख चा हजार आठ सय ८ रुपैंया २६ पैसा र तिर्नुपर्ने भन्सार महशुल एक करोड ४२ लाख ८३ हजार आठ सय ९२ रुपैंया ४० पैसा गरि कूल १६ करोड ८२ लाख ८८ हजार सात सय रुपैंया ६६ पैसा बराबरको विगो बमोजिम जरिवाना र विगो जफतको दावीसहित प्रहरीले मुद्दा दायर गरेको हो। सीआइबीले भन्सार ऐन अन्तर्गत पाँच वर्ष कैदको माग गरेको छ। संगठीत अपराध नियन्त्रण ऐन २०७० दफा ९(क) र (ग) सँजाय माग गरिएको छ। दफा ९ (क) मा गम्भीर अपराधमा हुने सँजायको अतिरिक्त थप ५० प्रतिशत (साढे दुई वर्ष कैद) सँजाय माग गरिएको छ। ९(ग)मा थप पाँच कैदको व्यवस्था छ। सबै गरेर यी प्रतिवादी विरुच प्रहरीले १२ वर्ष ६ महिना कैद माग गरेको छ। सुनमा कर्मचारीको हकमा थप छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानविनका लागि पठाउने र गैर कर्मचारीको हकमा सम्पत्ति छानविनका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाउन आदेशको समेत माग गरिएको छ। कस्को के जिम्मेवारी ? गोपालबहादुर शाही : भरिया दिलबन्धु थापा : नेपालमा रिसिभ गर्ने सन्तोष काफ्ले : दुवाईबाट पठाउने रामहरी काफ्ले : मुख्य वितरक र रकम संकलक श्रीनारायाण यादव : विमानस्थलमा सेटिङ मिलाउने राजकुमार ढकाल : विमानस्थलको स्क्रिन पास गराउने श्यामकृष्ण श्रेष्ठ : विमानस्थलको स्क्रिन पास गराउने श्यामबहादुर खत्री : विमानस्थलको सुरक्षा सेटिङ मिलाउने राजेश शाक्य : अवैध सुन खरिद गर्ने मनोज श्रेष्ठ : अवैध सुन खरिद गर्ने सपना श्रेष्ठ : अवैध सुन खरिद गर्ने सुनिल श्रेष्ठ : अवैध सुन खरिद गर्ने यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
आइसिसीका लागि नेपाली क्रिकेट टोली घोषणा
काठमाडौँ, फागुन २२ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । यही फागुन २८ र ३० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेलका लागि पारस खड्काको कप्तानीमा अन्तिम खेलाडी छनोट भएको हो । यसअघि भारत भ्रमणमा भने १९ खेलाडी समावेश थिए । उपकप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् । त्यसैगरी छनोट हुने अन्य खेलाडीमा शरद भेषवाकर, शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, महबुब आलम, अरिफ शेख, सुनिल धमला र दीपेन्द्रसिंह ऐरी छन् । वैकल्पिकतर्फ भने राजेश पुलामी मगर, अविनाश कर्ण, भुवन कार्की तथा दिलीपनाथ छन् । आइसिसीको एसिया क्षेत्रका लागि क्रिकेट विकास कमिटीका अधिकारी वेन्कटपति राजु (क्रिकेट विकास अधिकृत, आइसिसी–एसिया) मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान खड्का रहेको छनोट समितिले उक्त खेलाडी छनोट गरेको हो ।
अोली ज्यू, भोट चाहिने बेला जनता, नत्र बिहारी !
एमालेले मधेसमा सुरु गरेको मेची–महाकाली अभियानलाई एक जना मधेसी महिलाले यस्तो प्ले कार्ड बोकेर टिप्पणी गरेकी छिन् । भोट चाहिने बेला जनता नत्र विहारी ? एमालेको फागुन २१ गतेदेखि सुरु भएको अभियान तराईका जिल्लामा संगठन सुधार गर्न भएको नेताहरुले बताइरहँदा मधेसी महिलाले टिप्पणी गरेकी हुन् । तस्वीरःविद्यादेव जोशीको फेसबुकबाट
महान्यायधिवक्ताको बचाउमा उत्रीय राष्ट्रपति ट्रम्प
अमेरिका, फागुन २१ । अमेरिकी महान्यायधिवक्ता जेफ सेसन्सलाई हटाउन दवाव बढिरहेको बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको बचाउ गर्दै ‘इन्मान्दार मान्छे’ भएको दावी गरेका छन् । सेसन्सले आफ्नो जिम्मेवारी सही रुपमा गरेको समेत राष्ट्रपति ट्रम्पले बताएका छन् । विपक्षी डेमोक्रयाट नेताहरुले सेसन्सले अमेरिकी राष्ट्रपतिय निर्वाचनको बेला रुसी अधिकारीलाई भेटेको भन्दै पद त्याग गर्न दवाव दिँदै आएका छन् । सेसन्सले निर्वाचनको विषयमा रुसी अधिकारीसँग कुनै भेट नगरेको दावी गर्दै आएका छन् । यो खबर आजको कान्तिपुरमा छ ।
स्कुल अगाडि सकेट बम फेला, विद्यार्थी र स्थानियवासी आतंकित
राजविराज, फागुन १९ । सदरमुकाम राजविराजमा बुधबार पुन अर्को सकेट बम फेला परेको छ । राजविराज ५ स्थित लक्ष्मी इङ्लिस बोर्डिङ स्कुल अगाडि बिहान सकेट बम फेला परेपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । स्कुल अगाडि अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) को रातो पर्चासहित सकेट बम फेला परेपछि पढ्न गएका विद्यार्थी र स्थानियवासी आतंकित भएका थिए । बिहान उठेका स्कुलका कर्मचारीले पर्चासँगै कालो बट्टा देखिेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त स्थानबाट जयकृष्ण गोइत नेतृत्वको मोर्चाको पर्चा बरामद गरेको प्रहरीले बताएको छ । श्रीकृष्ण दल गणबाट पुगेको सेनाको बम डिस्फोजल टोलीले बम निष्क्रिय पारेको हो । मंगलबार पनि यहाँ बम फेला परेको थियो । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
नेहाले आपत्ति जनाउँदै मुख खोलिन्– ‘चलचित्रमा नआएपनि म बेरोजगार भने भएकी छैन
फागुन १८ । बलिउड क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री नेहा धूपिया अहिले वर्षाै भयो कुनै हिन्दी चलचित्रमा देखिएकी छैन । बलिउड चलचित्रमा नदेखिएपछि हरेक संचारमाध्यममा उनी बेरोजगार भएको भन्दै समाचारहरु प्रकाशित भएका छन् । ती समाचारप्रति आपत्ति जनाउँदै नेहाले मुख खोलिन्— ‘म चलचित्रमा छैन भन्दैमा बेरोजगार भएँ भन्नु सरासर गलत हो ।’ ३६ वर्षीया नेहाका अनुसार यदि कुनै कलाकार व्यवसायिक चलचित्रमा काम गरिरहेको छैन भने त्यसको अर्थ ऊसँग कुनै काम छैन भन्ने होइन । ‘मैले पनि चलचित्रमा नआउन चाहेकी होइन,’ नेहा भन्छिन्— ‘कहिलेकाहीं राम्रा चलचित्रको पर्खाइमा वर्षौं बित्छ । यद्यपि चलचित्रमा सक्रिय नभएपनि म खाली बसेकी छैन । कुनै न कुनै रूपमा अभिनय कर्ममै सक्रिय छु ।’
१३ वर्षीया बालिका बलात्कारको आरोपमा एक पक्राउ
दमौली, फागुन १८ । तनहुँको थप्रेक–८ भ्यागुतेकी एक १३ वर्षीया सुस्तःमनस्थिति भएकी बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले एक व्यक्तिलाई मङ्गलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्याम्घा–१ निवासी ५२ वर्षीय अली महम्मद मिया रहेको जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका प्रहरीनायब निरीक्षक मनोज पाण्डेले बताउनुभयो । पाहुना बनेर आएका मियाले ती बालिकालाई ललाईफकाई गरी सोमबार राति साढे १ बजे बलात्कार गरेको प्रहरीले जनाएको छ । राति एक्कासि बालिका चिच्याएपछि ठूली आमाले देखेर हल्लाखल्ला गरेकी थिइन् । स्थानीयवासीको सहयोगमा तत्कालै घटनास्थल पुगेको प्रहरीको टोलीले थप्रेकबाटै मियालाई नियन्त्रणमा लिएको प्रनानि पाण्डेले बताउनुभयो । बालिकाको स्वास्थ्य परीक्षणका लागि दमौली अस्पताल पठाइएको छ । मियाविरुद्ध मङ्गलबार नै जवर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गराएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रासस
निर्वाचन आचारसंहिता आजदेखि लागु हुने
काठमाडौं, फागुन १८ । निर्वाचन आयोगले बुधबारबाट निर्वाचन आचारसंहिता लागू हुने निर्णय गरेको छ । मंगलबार बसेको आयोग बैठकले निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ बुधबारदेखि लागू गर्ने निर्णय गरेको हो । आयोग प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार आचारसंहिताबारे बुधबार प्रधानमन्त्रीसँग छलफल हुँदै छ । स्थानीय तहमा उम्मेदवारी दिएका व्यक्तिलाई पनि निर्वाचन आचारसंहिता लाग्नेछ । आयोगका अनुसार उम्मेदवारका लागि मनोनयन दर्ता गरेको दिनबाट आचारसंहिता लागू हुनेछ । १६ वैशाख ०७४ मा उम्मेदवारी मनोनयन हुने छ । बैठकमा गृह मन्त्रालयले तयार गरेको स्थानीय तहको निर्वाचन सुरक्षा योजनाबारे प्रारम्भिक छलफल भएको थियो । सुरक्षा योजना प्रस्तुत गर्दै गृहसचिव लोकदर्शन रेग्मीले केन्द्र, क्षेत्र, जिल्ला (स्थानीय तह)मा सुरक्षा निकायको भूमिका प्रस्ट पारी समन्वय गराउने जानकारी गराएका थिए । छलफलमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहमा कार्यरत सुरक्षा संयन्त्रलाई साधन–स्रोत सम्पन्न बनाउन, निर्वाचन आचारसंहिता पालना गराउन निर्देशन पठाउन र स्थानीय तहको निर्वाचनमा महिला सहभागिता बढ्ने भएकाले त्यसैअनुसार सुरक्षा योजना बनाउन निर्देशन दिएका थिए । कुन–कुन सवारी चलाउन पाइने ? महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि बढीमा दुईवटा चारपांग्रे हलुका सवारीसाधन र दुईवटा मोटरसाइकल चलाउन पाउनेछन् । वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारले एउटा चारपांग्रे हलुका सवारीसाधन र एउटा मोटरसाइकल प्रयोग गर्न पाउने गरी आयोगले आचारसंहिता बनाएको छ । त्यसैगरी, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष तथा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि बढीमा एउटा चारपांग्रे हलुका सवारीसाधन र दुईवटा मोटरसाइकल प्रयोग गर्न सक्नेछन् । तर, त्यस्ता सवारीसाधन नचल्ने ठाउँमा बढीमा दुईवटा घोडा प्रयोग गर्न सकिनेछ । एउटा उम्मेदवारको नाममा स्वीकृत वा प्रयोग भएको सवारीसाधन अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने आचारसंहितामा उल्लेख छ । कसलाई लाग्छ आचारसंहिता ? -नेपाल सरकार र सरकारका मन्त्री -स्थानीय निकाय/तह -स्थानीय निकाय/तहका कर्मचारी -सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी -सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी -नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग तथा ती निकायमा कार्यरत सुरक्षाकर्मी -निर्वाचनको काममा संलग्न कर्मचारी -राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन -उम्मेदवार तथा सम्बन्धित व्यक्ति -सार्वजनिक पद धारण गरेको व्यक्ति -पर्यवेक्षक -सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम -निजी तथा गैरसरकारी संस्था -आयोगले तोकेका अन्य निकाय वा व्यक्ति -नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारी, सार्वजनिक पदधारण गरेको व्यक्ति निर्वाचनको जिम्मा सिडिओबाट न्यायाधीशलाई : सरकारले यसअघिका स्थानीय निर्वाचन गराउन प्रमुख निर्वाचन अधिकृतका रूपमा प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई अधिकार दिँदै आएको थियो । तर, आगामी स्थानीय तहको निर्वाचनमा भने प्रमुख निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हुने व्यवस्था गरिएको छ । गृह मन्त्रालयले प्रमुख मतदान अधिकृत सिडिओलाई बनाउन माग गरे पनि आयोगले ऐनमै संशोधन गरी प्रमुख निर्वाचन अधिकृत न्यायाधीश रहने व्यवस्था गरेको छ । गृहप्रवक्ता बालकृष्ण पन्थीले स्थानीय तहको निर्वाचनमा न्यायाधीशलाई प्रमुख निर्वाचन अधिकृत बनाइएकाले सिडिओलाई सुरक्षा व्यवस्था मजबुत बनाउन सहज हुने बताए । यो खबर आजको नयाँ पत्रिकामा छ ।
प्रधानमन्त्री प्रचण्डको राष्ट्रका नाममा सम्बोधन (हेर्नुस् लाइभ भिडियो)
काठमाडौं,फागुन १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीका नाममा सम्बोधन सुरु गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सुरु भएको सम्बोधनको हेर्नुस् लाइभ भिडियो ।
बसको ठक्करबाट एकजनाको घट्नास्थलमै मृत्यु
लमजुङ, फागुन १७ । लमजुङको राइननास नगरपालिका वडा ६ स्थित तिनपिप्लेमा बसले किच्दा एक जनाको आज घट्नास्थलमै मृत्यु भएको छ । नारायणगढबाट लमजुङ बोराङखोला तर्फ जादैँ गरेको ना ४ ख ९६ नम्बरको बसले किच्दा राइनास नगरपालिका ११ वस्ने वर्ष ६९ का गंगाबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो । नारायणगढबाट सोही बसमा आएका गुरुङ बसबाट झरेर बाटोक्रस गर्ने क्रममा सोहि बसले चेपिएर दिउँसो करिब २ बजे गुरुङको मृत्यु भएको तिनपिप्ले प्रहरी चौकीका असई दिपक रानाले बताउनुभयो । बस र बसचालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
रविन्द्र मिश्र बीबीसी छाड्दै, राजनीतिमा आउने तयारी !
काठमाडौं, फागुन १७ । चर्चित पत्रकार रविन्द्र मिश्रले बीबीसी नेपाली सेवा छाड्ने भएका छन् । राजनीतिमा लाग्न उनले बीबीसी नेपाली सेवाको मासिक ६ लाखको जागिर छाड्न लगेका हुन् । मिश्र नयाँ स्थापना गर्न लागेका हुन । राजनीतिमै लाग्न उनले यसअघि हेल्प नेपाल नामक संस्थामार्फत् समाजसेवा गर्दै आएका छन् । सोही संस्थाका पदाधिकारीहरुलाई समेत समेटेर उनले राजनीति सुरु गर्न लागेक हुन् । २ वर्ष पहिलेदेखि नै उनी राजनीतिमा लाग्ने चर्चा चल्दै आएको थियो । डा. बावुराम भट्टाराईसँग मिलेर नयाँ पार्टी गठन गर्ने चर्चा चलेको थियो । तर मिश्रलगाएत केही ब्यक्ति उक्त पार्टीमा लागेनन् । मिश्र, पूर्वमुख्यसचिव लिलामणि पौडेल तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले लगाएत मिलेर नयाँ पार्टी गठनको तयारी गरेका थिए । तर, पौडेल चीनको राजदुत भएपछि उनीहरुको योजनामा धक्का लागेको थियो । अन्य विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाई समेटेर मिश्रले पार्टी गठन गर्न लागेको स्रोत बताउँछ । जसका लागि डा. गोविन्द केसीदेखि नायक राजेश हमाल समेत उनले छलफल गरेका छन् । पूर्वप्रशासक तथा साहित्यकारहरुलाई समेटेर मिश्रले पार्टी घोषणा गरी राजनीतिमा लाग्न लागेका हुन् । सुशासन र देश विकासको भिजनसहितको घोषणापत्रहरु समेत तयार भइसकेको बातइन्छ । यो खबर दृष्टि साप्ताहिकमा छ ।
लमजुङको घेर्मुमा सेनाले चलायो स्वास्थ्य शिविर, ६ सय बढि लाभान्वित
लमजुङ (बेसीसहर), फागुन १७। नेपाली सेनाको स्वास्थ्य शिविरबाट दुर्गमका ६०० भन्दा बढी नागरिकले सेवा लिएका छन् । उत्तरी लमजुङको विकट गाउँ घेर्मुमा नेपाली सेनाको पशुपतिप्रसाद गणद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट नागरिक लाभान्वित भएका हुन् । नागरिकसँगको सम्बन्धलाई नजिक बनाउनका लागि नेपाली सेनाले स्वास्थ्य शिविरको आयोजना गरेको हो । शिविरमा हाडजोर्नी, स्त्रीरोग, छाला, नाक, कान, दाँत एवम् आँखासम्बन्धी जाँच तथा उपचार सेवा प्रदान गरिएको थियो । शिविरमा विशेषज्ञ डाक्टरसहित नौ जना चिकित्सकले स्वास्थ्य सेवा दिएका थिए र आवश्यकताअनुसार औषधि पनि प्रदान गरिएको थियो । नियमित स्वास्थ्य सेवाबाट वञ्चित दुर्गम गाउँका बासिन्दा आफ्नै गाउँमा नेपाली सेनाको टोली आएर सेवा दिएपछि निकै खुसी भएका थिए । “सेनाले बन्दुक मात्रै बोक्छ भन्ने लागेको थियो, हामी जस्ता विकट गाउँमा सेवा पनि गर्दो रहेछ ।” सेवा लिन आउनुभएकी ५० वर्षीया दुर्गादेवी गुरुङले भन्नुभयो । जिल्लाका दुर्गम भेगका स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्ने तथा नागरिक र सेनाबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरेको नेपाली सेनाको पशुपतिप्रसाद गणका गणपति सुभाङ्गद कटुवालले बताउनुभयो । घेर्मु स्वास्थ्य चौकीमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा घेर्मुसहित बाहुनडाँडा र ताघ्रिङका सर्वसाधारणले सेवा लिएका थिए । शिविरका लागि रोटरी क्लब अफ नारायणी मिड टाउन, चितवनस्थित मौलाकालिका अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङले सहयोग गरेका थिए । रासस