संघीय सरकारविरुद्ध मधेस प्रदेश सरकारको धर्ना स्थगित

धनुषा । संघीय सरकारविरुद्ध मधेस प्रदेश सरकारले गरेको धर्ना स्थगित भएको छ। प्रदेशमा प्रहरी समायोजनको माग राख्दै जारी धर्ना कार्यक्रम तेस्रो दिनमा स्थगित गरेको मुख्यमन्त्री लालबाबु राउतले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

साउन २९ देखिको धर्नामा मधेस प्रदेशका मुख्यमन्त्री राउतसहित मन्त्री र सांसदहरु समेत सहभागी हुँदै आएका थिए । प्रदेश प्रमुखको कार्यालयअगाडि एक सातासम्म चल्ने भनिएको धर्ना तेस्रो दिनमा स्थगित भएको हो । संविधानमा भएको प्रहरीसम्बन्धी व्यवस्थालाई लिएर संघ र प्रदेश सरकारबीच द्वन्द्वको स्थिति देखा पर्दै आएको छ।

पाँच वर्षसम्म शान्त रहेका प्रदेश सरकारले निर्वाचन नजिकिन थालेसँगै प्रदेश प्रहरी आफू मातहत माग्न थालेका छन् । तर संघीय सरकारले प्रदेश प्रहरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आनाकानी गर्दा स्थिति द्वन्द्वन्मुख देखिएको हो। संविधानप्रदत्त अधिकार उपयोगका लागि प्रदेश सरकारहरूले उत्कट चाहना देखाइरहेका छन्।

यसअघि साउन २२ मा मधेस सरकारले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी समायोजनका लागि ७ दिने अल्टिमेटम ध्यानाकर्षण पत्र नै बुझाएको थियो ।

पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समिति अर्थ मन्त्रालय जाँदै

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा बिचौलियाको प्रयोग गरेको सम्बन्धमा सत्यतथ्य छानबिन गर्न बनेको संसदीय समिति बुधबार अर्थ मन्त्रालय जाँदै छ । ११ सदस्यीय समितिले मंगलबारदेखि आफ्नो कामकारबाही सुरु गरेको हो । बुधबार भने उक्त विषयमा सत्यतथ्य जानकारी लिन समितिका सदस्यहरू अर्थ मन्त्रालयमा जाने भएको समितिका एक सदस्यले जानकारी दिए ।जनार्दन शर्माले बजेट निर्माण गर्दा बिचौलियाको प्रयोग गरेको भन्दै संसदमा पनि चर्को विरोध भएपछि अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । शर्माले राजीनामा दिएपछि त्यसबारे छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन भएको थियो।

आज थप ५० जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ८ सय १४ जनामा गरिएको परीक्षणमा ५० जनामा संत्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १८ जना संक्रमित संक्रमणमुक्त हुँदा १ लाख ७८ हजार ७८६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सोही अवधिमा संक्रमणबा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर २ सय ९७ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बाेलायाे प्रधानमन्त्री देउवालाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको विषयमा छलफल गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिले असार ५ गतेको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको छ । समितिकी सभापति पवित्रा निरौला खरेलले त्यसअघि समितिले परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग छलफल गर्ने निर्णय भएको जानकारी दिए । निकट भविष्यमै हुन लागेको भनिएको प्रधानमन्त्रीको भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले चासो राख्दै आएको छ । यसैबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणबारे संसद्, समिति र नागरिकलाई जानकारी दिनुपर्ने अडान राखेका छन्– ‘विदेश भ्रमणमा कुनै पनि अनुचित कामहरू हुनुहुँदैन।’ अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्नहरू उठेकोले प्रधानमन्त्रीले संसद, समिति र देशलाई जानकारी दिनुपर्ने बताए । परराष्ट्र नीतिको विषयमा कुनै पनि किसिमको दबाब र धम्की स्वीकार्य नहुने बताउँदै उनले परराष्ट्रमन्त्रीले अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा छलफलमा उपस्थिति भएर वर्तमान सरकारको अन्तर्राष्ट्रिय नीतिको विषयमा जानकारी गराउनुपर्ने बताए। अध्यक्ष नेपालले विदेशी सेना नेपालमा आएर बस्नु गम्भीर विषय रहेको भन्दै समितिमा सरकारको ध्यानाकर्षण गर्न माग गरे। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

दैलेखमा बस दुर्घटना मृत्यु हुने चार जनाको सनाखत , ३९ जना घाइते

सुर्खेत । बुधबार राति दैलेखको आठबीस नगरपालिका–२ को सिस्नेमा भएको यात्रुबाहक बस दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको दुल्लू नगरपालिका–९ का ३६ वर्षीय काँशिराम पाण्डे र २ वर्षीय प्रेम सुनार रहेका छन् । यस्तै दुई जना कालिकोटका रहेका छन् । कालिकोटको पलाँता गाउँपालिका–३ का अन्दाजी ४६ वर्षीय ज्ञानबहादुर बम र ५५ वर्षीया धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । सामान्य चोटपटकदेखि लिएर गम्भीर गरि ३९ जना घाइते भएको प्रहरीको भनाई छ । घाइतेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइतेहरू सबैलाई गएराति नै उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । बसमा झण्डै ६२ जना जति रहेको प्रहरीको अनुमान छ । मुगु, कालिकोट हुँदै नेपालगन्ज जाँदै गरेको म १ ख ६६० नम्बरको उक्त बस कर्णाली राजमार्गबाट झण्डै ४३ मिटर तल कर्णाली नदीको छेउमा खसेको थियो ।साहका अनुसार बस चालक भने प्रहरीको नियन्त्रणमा रहेका छन् । यद्यपि बस के कति कारणले दुर्घटना भएको हो । त्यसको एकिन कारण खुल्न सकेको छैन ।

सुकुम्बासी समस्या समाधान गर्ने बुटवलका मेयरको पहिलो निर्णय

काठमाडौं । बुटवल उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै जनप्रतिनिधिले बुटवलको भूमिहीन सुकुम्बासी समस्यालाई समाधान गर्ने निर्णय गरेका हुन् ।   बुटवलका मेयर खेलराज पाण्डेयले बुटवलमा लामो समयदेखि समस्याको रुपमा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्नको लागि लगत संकलन, प्रमाणित निस्सा उपलब्ध गराउने तथा नापजाँच प्रकृया बाँकी रहेकाहरुको लागि काम अगाडि बढाउन राष्ट्रिय भूमि आयोगमा अनुरोध गर्ने निर्णय भएको बताए । यस्तै उपभोक्ता हितको लागि बजार अनुगमनलाई प्राथमिकता दिने निर्णय गरिएको छ । सेवा प्रदायक तथा विक्रेताको नियमित अनुगमन गरी आम उपभोक्ताको हित प्रवद्धन गर्ने कार्यलाई प्राथमिकता दिई बजार अनुगमन तथा नियमन कार्यलाई प्राथमिकता दिने निर्णय गरिएको हो ।

मन्त्रिपरिषद् बैठकका १३ निर्णय यस्ता छन्

काठमाडौं । सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरीका दुई जना डिआइजीको बढुवासँगै विभिन्न १३ निर्णय गरेको छ । आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्नुभएको छ । जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय चुनाव सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै यसमा सहभागी सबैलाई धन्यवाद दिएको छ । बैठकले वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुनः एकीकरण आयोजनाका लागि स्विजरल्यान्डबाट सरकारबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै, विश्व बैङ्कबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिब ३३ अर्ब रुपैयाँ ऋण सहायता लिनेबारे वार्ता टोली गठन गरेको छ । यससँगै सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइज) नारायणदत्त पौडेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । त्यस्तै, नेपाल प्रहरीका नायब महानिरीक्षक वसन्तकुमार लामालाई पनि एआईजीमा बढुवा गरेको छ ।    

बलात्कारका घटनामा हदम्याद खारेजीको माग गर्दै अखिल क्रान्तिकारीले बुझायो ज्ञापनपत्र

काठमाडौं । बलात्कार जस्ता जघन्य अपराधमा हदम्यादकै कारण अपराधीले उन्मुक्ति पाउने भन्दै अखिल क्रान्तिकारीले सरकारको ध्यानाकर्षण गरेको छ । अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा गएको टोलीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । एकजना पीडिताले आफूलाई सन् २०१४ मा सौन्दर्य प्रतियोगिताका आयोजकले बलात्कार गरेको कुरा सार्वजनिक गरेपछि हदम्यादका कारण न्याय नपाउने बहस चलिरहेको बेला अखिल क्रान्तिकारीले सम्बन्धित कानुनमा संशोधनको माग गरेको हो । “जबर्जस्ती करणी जस्तो संवेदनशील जघन्य महिलाविरुद्धको अपराधमा संकुचित हदम्यषदको कारण पीडितले न्यायबाट वञ्चित हुनुपरेको र पीडकको मनोबल बृद्धि हुने अवस्था देखिँदा तुरुन्त हदम्याद खारेजीको लागि सम्बन्धित कानुन संशोधन गर्न जोडदार माग गर्दछौं ।” ज्ञापनपत्रमा भनिएको छ । ज्ञापनपत्रमा यस्ता घटनासँग सम्बन्धित पीडित तथा परिवारमा पर्नसक्ने दबाब र प्रभावलाई समेत मध्यनजगर गर्दै पीडितको सुरक्षाको उचित व्यवस्थापनको समेत माग गरिएको छ ।

नागरिकता विधेयक संसदमा पेस गर्ने तयारी

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । अध्यक्ष प्रचण्डको ललितपुरको खुमलटारस्थित निवासमा बिहीबार बिहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ । भेटमा समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने र सरकारले संसदमा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले जानकारी दिए । ‘समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने र सरकारले संसदमा पेस गर्न लागेका विभिन्न विधेयकबारे भेटमा छलफल भयो,’ गृहमन्त्री खाणले भने । प्रतिनिधि सभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि भेटमा छलफल भएको छ । यसबारे गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरेका छन्। सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसदमा पेस गर्ने तयारी गरेको हो । दलीय सहमति जुटाउन गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले माओवादी अध्यक्ष प्रंचण्डसँग भेटघाट गरेका हुन्।

झन्डै दाेब्बर मतले बालेनकै अग्रता

काठमाडौँ । काठमाडौं महानगरपालिको ताजा मत परिणाम अनुसार मेयरका उम्मेदवार बालेन्द्र साहले ३८३४ मतका साथ अग्रता कायम गरिरहेका छन् । त्यस्तै, केशव स्थापित १९९६ मतसहित दोस्रो स्थानमा रहेका छन् । तेस्रो स्थानमा सिर्जना सिंह रहेकी छन् । उनले हालसम्म १८०२ मत ल्याएकी छन् ।

गोरखामा ९६ वटा वडामध्ये ३६ वडा माओवादीले जित्यो

गोरखा । गोरखाका ९६ वटा वडामध्ये ३६ वटा वडाको नतिजा सार्वजनिक भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचन अन्तर्गत गोरखाका ९६ वटा वडामध्ये ३६ वटा वडाको नतिजा आइतबार सार्वजनिक भएको हो । जसअनुसार सवैभन्दा बढी नेकपा माओवादी केन्द्रले १७, नेपाली काँग्रेसले १२, नेकपा एमालेले ६ र जनता समाजवादी पार्टी जसपाले १ वडामा जित हासिल गरेका छन् ।

अहिलेसम्म ३४ वटा स्थानीय तहको मतपरिणाम, कहाँ कसको अग्रता ?

काठमाडौं । देशभर स्थानीय तह निर्वाचनको मतगणना जारी छ । देशभरको मतपरिणाम हेर्दा मूलतः ठूला दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्म ३४ वटा स्थानीय तहको मतपरिणाम आइसकेको छ । पछिल्लो अपडेट अनुसार एमालेले १४ र कांग्रेसले १० पालिकामा जित हासिल गरेको छ । एमालेले एउटा पालिकाको नेतृत्व निर्विरोध पाएको हो । त्यस्तै, माओवादी केन्द्रले ८ पालिकामा जित हात पारेको छ, भने नेकपा एकीकृत समाजवादीले दुई पालिकाको नेतृत्व पाएको छ । समाजवादीले दुवै पालिकाको नेतृत्व निर्विरोध पाएको हो । यस्तै, देशभर नेपाली कांग्रेसले सबैभन्दा धेरै स्थानमा अग्रता कायम गरेको छ । कांग्रेसले २ सय ६५ स्थानमा अग्रता लिएको छ । भने नेकपा एमालले १ सय ९१ स्थानमा अग्रता बनाएको छ । नेकपा माओवादी केन्द्रले १ सय ०८ स्थानमा अग्रता लिँदा एकीकृत समाजवादीले १२ स्थानमा अग्रता कायम गरेको छ । यसैबीच, काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रतिद्वन्द्वीलाई पछि पार्दै दोब्बर अग्रता लिनुभएको छ । पछिल्लो मतपरिणाम अनुसार बालेनले ३ हजार ५ सय ३२ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइरहेका एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ८ सय ५६ मत प्राप्त गर्नुभएको छ । गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले १ हजार ६ सय ६८ मतसहित पछ्याउनु भएको छ । सर्वत्र चासोका रुपमा हेरिएको काठमाडौं महानगरमा बालेनले हालसम्म सुरुवाती अग्रता कायम राख्नुभएको हो ।

परिचय खुल्ने कागजातबाट पनि मतदान गर्न पाइने

काठमाडौं । निर्वाचन आयोगले परिचय खुल्न कागजातबाट मतदान गर्न पाउने व्यवस्था गरिएको जनाएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै आयोगले स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाना नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने जनाएको हो। आयोगको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी पूर्जाको सक्कल प्रमाढका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकीन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पठाइ सकिएको छ।’

सुनकोशीमा एमाले र माओवादी केन्द्रबीच तालमेल, एमाले उपाध्यक्ष उम्मेदवारले दिइन राजीनामा

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ। एमालेले अध्यक्ष लिने र माओवादीलाई उपाध्यक्ष छाड्ने गरी चुनावी तालमेल भएपछि एमालेभित्र विरोध भएको छ। एमाले र माओवादीका तर्फबाट अध्यक्ष र उपाध्यक्षमा भिन्नाभिन्नै उम्मेदवारी दर्ता भइसकेपछि चुनावी तालमेल भएको थियो। माओवादीलाई उपाध्यक्ष दिने गरी तालमेल गरिएपछि एमालेबाट गाउँपालिका उपाध्यक्ष उम्मेदवार रहेकी मञ्जु नेपाल भण्डारीले पार्टी नै परित्याग गरेकी छन्। यहाँ एमालेबाट टपिन्द्रप्रसाद तिमिल्सिना र उपाध्यक्षमा भण्डारीले उम्मेदवारी दिएका थिए। तर पार्टीले भण्डारीलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो। यस्तै माओवादीबाट अध्यक्षमा कृष्णकुमारी कुँवर र उपाध्यक्षमा दुर्गा थापाले उम्मेदवारी दर्ता गरेका थिए। एमालेसँग चुनावी तालमेलपछि माओवादीबाट अध्यक्ष उठेकी कुँवरले उम्मेदवारी फिर्ता लिएकी छन्। ‘२४ वर्ष मेहनत गरेको पार्टी एमालेको सबै जिम्मेवारी र साधारण सदस्यबाट अलग भएको छु,’ भण्डारीले निकालेको विज्ञप्तिमा उल्लेख छ, ‘मेरो सल्लाह र सहमतिबेगर उम्मदेवारी खारेज भएको छ। गठबन्धनको तानाबाना बुनेर मलाई अन्यायमा पारिएको छ।’

सात दिनमा प्रतितोला ११ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । यो साता सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म सुनको भाउ ११ सय रुपैयाँले घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख १५०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । जुन, शुक्रबारसम्म १५ सयले घटेर छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४०० रुपैयाँ छ । साताको आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार बढेको थियो । यस्तै, मंगलबार ओरालो लागेर तोलामा १ लाख २ हजार १०० रुपैयाँ तथा बुधबार १ लाख ६०० रुपैयाँ तोकिएको थियो । जुन, बिहीबार प्रतितोला १ लाख ९०० रुपैयाँ कायम हुँदा शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यसैगरी, यो साता चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेको छ । गत साताको शुक्रबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यो साताको शुक्रबार १३ सय ६० रुपैयाँमा आइपुगेको महासंघले जानकारी दिएको छ ।

प्रतिगमनलाई परास्त गर्न संकल्प गर्नुपर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुभव र ठक्करका बीच माओवादी आन्दोलनमा नयाँ ध्रुवीकरण सुरु भएको बताएका छन् । शुक्रबार कम्युनिस्ट स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सवै माओवादी क्रान्तिकारीहरु एकता प्रक्रियामा लागिसकेको पनि बताए ।   माओवादीहरू एकढिक्का भएर आगामी निर्वाचनमा लाग्न सके मात्रै प्रतिक्रियावादी र प्रतिगमनकारीहरूलाई परास्त गर्न सकिने भएकाले सबै क्रान्तिकारीहरुले सोच्ने बेला भएको प्रचण्डको भनाइ छ । ‘हामीले हार्दा प्रतिक्रियावादीले जित्ने, प्रतिगमनले जित्ने खतरा हुन्छ’, अध्यक्ष प्रचण्डले भने, ‘त्यसकारण पनि आजको दिन प्रतिगमनका विरुद्ध एउटा नयाँ संकल्प लिने दिनको रुपमा सबै सच्चा कम्युनिस्ट क्रान्तिकारी, परिवर्तन र न्यायका पक्षधर जनताको ऐतिहासिक जिम्मेवारी हो भन्ने हामी ठान्छौ ।’ अध्यक्ष प्रचण्डले विभिन्न अनुभव र ठक्कर बीचबाट फेरि एकचोटी माओवादी आन्दोलनमा नयाँ र उत्साहपूर्ण ध्रुवीकरणको प्रक्रिया सुरु भएको पनि बताए । ‘दिनदिनै जसो एकाध वयाक्तिका रुपमा मात्रै होइन, संस्थागत रुपमा मुल नेतृत्वमा जोडिने निकै ठुलो प्रक्रिया सुरु भएको छ’, अध्यक्ष प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले यसअघि आफुले नै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ भनेर एकता प्रस्ताव गरेर नेकपा बनाइएपनि नेतृत्वमा देखिएको वैचारिक र सांस्कृतिक विचलनका कारण पार्टी एकता टिक्न नसकेको बताए । ‘उन्माद र गैर कम्युनिस्ट चिन्तनका कारण पार्टी एकता टिक्न सकेन’, प्रचण्डको भनाइ छ । उनले नेकपा फुटाउन कम्युनिस्ट आन्दोलनका दक्षिणपन्थी र अवसरवादी मात्रै नभई देश बाहिरका शक्तिहरु पनि लागेको बताए ।