त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा टोकराज पाण्डे

काठमाडौं । अर्थमन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ ।

एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले सहसचिव पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको हो ।

यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको हो । पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।

प्रमुखको जिम्मेवारीमा भएपनि पोखरेल २ महिना बिदामा बसेका थिए । १० पुस, २०७९ मा विद्युतीय चुरोट (भेप) मा राखेर विमानस्थलबाट साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि पोखरेल बिदामा बसेका थिए ।

पोखरेल विदामा रहेको बेला २ साउनमा विमानस्थल पार गरेर करिब एक क्विन्टल सुन त्रिभुवन विमानस्थलबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

कामिरिताले तोडे २७औँ पटक सगरमाथा चढेर आफ्नै विश्व रेकर्ड

काठमाडौं । कामिरिता शेर्पाले सगरमाथा आरोहणमा आफ्नै विश्व रेकर्ड तोडेका छन्। उनले बुधबार बिहान साढे ८ बजे २७औं पटक सगरमाथा आरोहण गरी नयाँ विश्व रेकर्ड बनाएका हुन्। सोलुखुम्बुका शेर्पाले अघिल्लो वर्ष २६औं पटक हिमाल आरोहण गरी विश्व कीर्तिमान राखेका थिए। सन् १९७० मा जन्मिएका शेर्पा सेभेन समिट ट्रेकका सिनियर गाइड हुन्। उनी सन् १९९२ मा सहयोगीका रुपमा सगरमाथा आरोहणमा जोडिएका थिए। उनले केटु, चोयु, लोत्से र मनास्लु हिमाल पनि आरोहण गरिसकेका छन्।

सरकार ढल्छ भन्नू भ्रम हो : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढल्छ भन्नू भ्रम भएको बताएका छन् । प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले अहिले सरकार विघटन नहुने स्पष्ट पारे । उनले रास्वपाले सरकार माथिको समर्थन फिर्ता नलिने बताउँदै उहाँहरूलाई सरकारमा ल्याउने तयारी भैरहेको बताए । रास्वपाले पुरानै मन्त्रालय पाउने सम्बन्धमा माग गरे पनि सरकारमा ल्याउने क्रममा छलफलवाट सहमतिमा पुग्न सकिने प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

पाँचथरमा पिकअप दुर्घटना : एकको मृत्यु, पाँच घाइते

फिदिम । पाँचथरमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । आइतबार बिहान ८ बजे फालेलुङ–८ लुवाफुबाट फिदिम आउँदै गरेको मे १ ज २९५८ नम्बरको पिकअप फिदिम–११ चम्पेटारमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका फालेलुङ ८ का साजन केरुङको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुर्घटनामा चालक छवि अधिकारीसहित पाँच जना घाइते भएका छन् । पाँचथरका प्रहरी प्रमुख हरि खतिवडाले घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जानकारी दिए । घाइते तीन जनालाई झापातर्फ रेफर उजले बताए । बाँकी दुई जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । चालक छवि अधिकारी फालेलुङ गाउँपालिकाका– ८का वडा सदस्य पनि हुन्। प्रहरी प्रमुख खतिवडाले दुर्घटनाको कारण खुल्न नसकेको बताए ।

आजको मौसम : यस्तो छ देशभरको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू–भागहरूमा तुवाँलोको सम्भावना रहेको छ । राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

भिजिट भिसामा रोजगारीमा हिँडेकालाई फर्काउने क्रम बढ्दै

काठमाडौँ । भिजिट भिसामा वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काउने क्रम बढिरहेको छ । मानव तस्करी तथा नक्कली श्रम स्वीकृतिका सन्दर्भमा शंकाको घेरामा परेकालाई दैनिकजसो फर्काउने गरिएको छ । विमानस्थलमा खटिएको मानव बेचबिखन अनुसन्धान ब्युरोले चैत २७ सम्म २ हजार ४ सय २९ वटा राहदानी नियन्त्रणमा लिएर फर्काएको छ । चैत २७ गते मात्र विभिन्न मुलुकमा भिजिट भिसामा जान लागेका ८३ महिला र चार पुरुषलाई ब्युरोले परामर्श दिएर फर्काएको छ । माघमा महिला र पुरुष गरी २ सय ५०, फागुनमा महिला ५ सय ५७ र चैत २७ सम्म महिला पुरुष गरी ६ सय १२ जनालाई भिजिट भिसामा विदेश जान रोकिएको ब्युरोले जनाएको छ । वैदेशिक रोजगारीमा जान विमानस्थल पुगेकालाई नै आफू कुन देश जान लागेको, नै गएर के काममा गर्नुपर्ने हो भन्ने विषयमा थाहा नभएको पाइएको ब्युरोले जनाएको छ । ब्युरोका अनुसार उनीहरूमा आफू जान लागेको देशको भाषासम्बन्धी ज्ञान र सीपको पनि अभाव रहेको देखिएको छ । बैंक स्टेटमेन्ट, श्रम स्वीकृति, भिजिट भिसा र शैक्षिक प्रमाणपत्र नक्कली भएकालाई फर्काउने गरिएको ब्युरोको भनाइ छ । यो नागरिक दैनिकमा प्रकासित समाचार हो ।

ओली र प्रचण्ड छलफलमा

काठमाडौं । सत्ता गठबन्धनका दुई नेता प्रधानमन्त्री प्रचण्ड र एमाले नेता केपी शर्मा ओलीबीच सिंहदरबारमा भेट भएको छ । उच्चस्तरीय समयन्त्रको बैठक बालुवाटारमा बोलाइएकोमा सो बैठक सारेर दुई नेता छलफलमा जुटेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल भइरहेको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार विश्वासको मत नदिए सरकार ढल्ने खतरा छ । सत्ता घटक नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने अगाडि लिएपछि ओली र प्रचण्ड छलफलमा जुटेका हुन् । नाउपाका संरक्षक रेशम चौधरीसहितको मुद्दा फिर्ता लिनुपर्ने माग राखेको छ । नाउपामा सांसद यतिबेला काठमाडौंमा छन् ।

प्रधानमन्त्री प्रचण्ड भेट्न काठमाडौंका मेयर बालेन बालुवाटारमा

काठमाडौं । काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न बालुवाटार पुगेका छन् । आज (सोमबार) बिहान मेयर बालेन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन् ।

सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ। आजको प्रतिनिधि सभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना प्रदान गरिने कार्यक्रम रहेको छ । त्यस्तै राष्ट्रिय सभाको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रश्ताव सभा समक्ष पेस हुने, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

माघ १२ गते बोलाइयो माओवादीको स्थायी समिति बैठक

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले स्थायी समिति बैठक बोलाएको छ। यही माघ १२ गते पेरिसडाँडामा बस्ने गरी माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको हो। बैठकमा राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन तथा पार्टी संगठन र भावी कार्य योजना मुख्य एजेन्डा रहेका छन्। त्यसैगरी यो बैठकमाा पछिल्लो राजनीतिक अवस्था, अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको भूमिका, नेपाल समाजवादी पार्टीसँग एकतासहितका विषयमा पनि छलफल हुने एक नेताले बताए। माओवादीले राष्ट्रपति निर्वाचनबारे केन्द्रीय समिति बैठकमै छलफल हुन सक्ने बताइएको छ। त्यहाँ पनि राष्ट्रपति निर्वाचनबारे कुरा हुने बताइएको छ। राष्ट्रपतिमा अध्यक्ष प्रचण्डलेसबै दलहरुबीच सहमति खोज्ने बताइरहेका छन्।

यू–१९ क्रिकेट विश्वकपको एशिया छनोटका लागि टिमको घोषणा

काठमाडौं । यू–१९ क्रिकेट विश्वकपको एशियाली छनोटका लागि नेपाली टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले आउँदो महिना यूएईमा हुने छनोट प्रतियोगिताका लागि ४ बैकल्पिकसहित १८ खेलाडी छनोट गरेको हो । टिममा आकाश त्रिपाठी, हेमन्त धामी, अर्जुन कुमाल, दुर्गेश गुप्ता, दीपक बोहरा, गुल्सन झा छन् । यस्तै देव खनाल उत्तम थापा मगर सुबास भण्डारी, दीपक डुम्म्रे, बिशाल केसी, दीपेश कँडेल र मिलन बोहरा पनि टिममा छन् । प्रज्वल थापा, निर्मल थापा, तुलबहादुर थापा र राजेश यादव भने बैकल्पिकको सूचिमा परेका छन् ।

अमेरिकी राजदूत डिन थम्प्सनले नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई बालुवाटर पुगेर दिए बधाई

काठमाडौं । अमेरिकी राजदूत डिन थम्प्सनले बिहीबार साँझ बालुवाटार पुगेर नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन् । उक्त अवसरमा दुई पक्षबीच दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको ट्विटरमा उल्लेख गरिएको छ । अमेरिकी राजदूतावासले भने प्रधानमन्त्री प्रचण्डलाई यसअघि नै बधाई दिइसकेको छ ।

भन्सारबाट पास भएको वस्तु प्रहरीले रोक्यो

भैरहवा । भैरहवा भन्सार कार्यालयले पास गरेको वस्तु रुपन्देही प्रहरीले रोकेको छ। मङ्सिर १८ मा भैरहवा भन्सार कार्यालयले ‘जिप्सम ग्रयानुअल्स’ भन्दै पास गरेको वस्तु प्रहरीले पहिचान नभएको भन्दै नियन्त्रणमा लिएको हो। रुपन्देही प्रहरीले भैरहवा बसपार्क नजिकै जाँचका क्रममा शङ्का आधारमा भन्सारबाट पास भएर आएको भारतीय नम्बर प्लेटको ट्रक ‘यूपी ५६ टि २७८५’लाई रोकेको थियो। ट्रकमा कुनै पनि प्रकारको लेबल नरहेको पाँच सय सेतो बोरामा पहिचान नभएको वस्तु ९डीएपी मलजस्तै देखिने० वस्तु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी बेद पौडेलले जानकारी दिए। ट्रकमा‘भूमि शक्ति’ लेखेको चार सय ५० थान खाली नयाँ बोरा पनि बरामद भएको उनको भनाइ छ। मल अभाव भइरहेको अवस्थामा भैरहवा तथा यसआसपासमा भारतीय बोरामा नक्कली मल बिक्री(वितरण भइरहेको रुपन्देही प्रहरीलाई उजुरी आएको थियो। ‘कमसल खालकोमल बिक्रेताले उच्च मूल्य लिइ बिक्री गर्दै आएको सूचना आएको थियो’, पौडेलले भने, ‘बरामद सामान शङ्कास्पद मल जस्तै देखिएको छ।’ उनले बरामद भएको वस्तुको नमुना कृषि ज्ञानकेन्द्र भैरहवाको सहयोगमा प्रदेशस्तरीय कृषि प्रयोगशालामा पठाइएको जानकारी दिए। ‘हामी अहिले यसबारे अनुसन्धानकै क्रममा छौँ’, उनले भने, ‘प्रयोगशालाबाट आएको प्रतिवेदनका आधारमा प्रक्रिया अघि बढ्छ।’ केही नलेखिएका सेतो रङका बोरा र त्यसभित्र भेटिएको खैरो र कालो रङ्गको पहिचान नभएको वस्तु रहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए। ‘जिप्सम ग्रयानुअल्स’ भनेको मल हो भने कृषि मन्त्रालयले सोको आयात गर्न स्वीकृति दिएको वा नदिएको खुल्न सकेको छैन’, उनले भने, ‘आयातकर्ताले कहिले घर बनाउने जिप्सन बोर्डको कच्चा पदार्थ त कहिले रासायनिक मल भनेपछि बरामद गरिएको हो।’ प्रज्ञापन नम्बर एम ११५७८९ बाट भन्सार पास भएको उक्त वस्तु भारत नौतनवाको श्रीवास्तव ट्रान्सपोर्टले पठाएको हो। नेपालमा ओम गङ्गा ट्रेडर्स एन्ड सप्लायर्स बेलहियामार्फत आयात भएको समानको क्लियरिङ सञ्जय क्लियरिङ एजेन्टबाट भएको छ। प्रतिबोरा रु एक सय ५० मूल्याङ्कन गरी भैरहवा भन्सार कार्यालयले पाँच प्रतिशत भन्सार शुल्क र मूल्य अभिवृद्धि करसहित रु २५ हजार पाँच सय ३८ राजस्व असुल गरेको छ। भैरहवा भन्सार कार्यालयले उक्त वस्तु ‘जिप्सम ग्रयानुअल्स’ भन्दै ग्रिन च्यानलबाट जाँचपास गरेको छ। भन्सारमा ग्रीन च्यानल, एल्लो च्यानल र रेड च्यानलबाट समान जाँचपास हुन्छ। ग्रिन च्यानलको अर्थ आयात गरिने सामान र त्यससँग सम्बन्धित कागजात पनि हेर्न आवश्यक नरहेको भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत लक्ष्मण ढुङ्गानाले बताए। ‘ग्राहकको स्वघोषणाका आधारमा राजस्व लिइन्छ’, ढुङ्गानाले भने, ‘यस्तो अवस्थामा ट्रकमा के सामग्री छ रु र लेबल छ वा छैन भन्नेबारे जाँच गर्नु पर्दैन।’ भन्सारबाट पास भएको सामानलाई प्रहरीले रोक्ने अधिकार नरहेको भन्सार अधिकृत ढुङ्गानाको दाबी छ। उनले प्रहरीले रोके पनि त्यसलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान वा भन्सार कार्यालयमा बुझाउनुपर्ने प्रावधान रहे पनि प्रहरी आफैँ अनुसन्धान गरेको जिकिर गरे। रासस

माओवादी बैठक जारी : चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा बसिरहेको छ।आइतवार दिउँसो अढाई बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा मंसिर ४ को चुनावी समीक्षा, नयाँ सरकार निर्माण र समसामयिक विषयमा छलफल हुने भएको छ। माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार बैठकमा चुनावी समीक्षा र समसामयिक राजनीतिबारे छलफल हुँदैछ। शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकार गठनबारे सबै विकल्प खुला गरेको थियो। माओवादीले सरकार बनाउन एमालेसँग पनि मिल्नुपर्ने नेताहरुले धारण राखेका थिए । निर्वाचनका क्रममा ४७ स्थानमा उम्मेदवारी दिएको माओवादी १७ सिटमा खुम्चिएको छ । कांग्रेससँको गठबन्धनले क्षति पुगेको माओवादीका कतिपय नेताहरुले बताउने गरेका छन् । माओवादी बृत्तमा कांग्रेससँग भन्दा कम्युष्टिहरु मिलेर अघि बढ्नुपर्ने धारणा पनि उत्तिकै रहेको छ । त्यही अनुरुप माओवादीले शनिबारको बैठकबाट एमालेसँग पनि मिलेर सरकारमा जानुपर्ने विकल्पमा नेताहरुले धारणा राखे । बैठकले निर्वाचनको समग्र विषयमा समीक्षा गरेर अघि बढ्ने निर्णय लिने पार्टीका महासचिव देवप्रसाद गुरुङले बताएका छन्। शनिबारको बैठकमा नेताहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको टिप्पणी गरेका थिए।

माओवादी पदाधिकारी बैठक : चुनावी समिक्षा साथै शक्ति बाँडफाँटबारे छलफल हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। सत्ता गठबन्धनमा शक्ति बाँडफाँटको प्रस्ताव लैजान र चुनावको समीक्षाका लागि शनिबार पदाधिकारी बैठक बस्न लागेको सचिव गणेश साहले बताए। दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो। ‘गठबन्धन सरकारमा माओवादीले दाबी गर्ने पदको खाकामा छलफल तथा चुनावी समीक्षा बैठकको प्रमुख एजेण्डा छ,’ साहले भने। २०७४ सालको प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादीले यसपटक १७ सिट जितेको छ। प्रतिनिधिसभा निर्वाचनमा माओवादी मधेस प्रदेश सुदूरपश्चिम पश्चिम प्रदेशमा कुनै सिट जित्न सकेन। बैठकमा चुनावी हारका कारणबारे पनि छलफल हुने साहले जानकारी दिए।

नयाँ सरकार निर्माणमा जनमत पार्टी र कांग्रेसबीच सहकार्य हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ। बिहीबार बालुवाटारस्थित निवासमा अध्यक्ष राउत र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो। भेटमा सत्ता गठबन्धनमा जनमत पार्टी पनि संलग्न हुने सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले ट्वीटरमार्फत् जानकारी दिएका छन्। ‘गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुबैमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ,’ निधिले लेखेका छन्। निधि र राउतबीच बुधबार भेटवार्ता भएको थियो। त्यहाँ राउतले मधेस प्रदेशमा सरकारको नेतृत्व पाउनुपर्ने प्रस्ताव राखेका थिए।