भारतीय विदेशमन्त्री जयशंकर भोलि काठमाडौं आउने, कम्तीमा दुई वटा सम्झौतापत्रमा हस्ताक्षर हुने

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार काठमाडौं आउने भएका छन् ।परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको औपचारिक घोषणा गरेको हो ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी काठमाडौं आउन लागेका हुन् । बैठक पुस १९ र २० गते काठमाडौंमा बस्नेछ ।

परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेश मन्त्री जयशंकरले बैठकमा आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।
काठमाडौंमा बिहीबार हुने नेपाल–भारत संयुक्त आयोगको बैठकपछि दुई देशका विदेशमन्त्रीको उपस्थितिमा ती सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
हस्ताक्षरको लागि तयारी गरिएको सम्झौतामा नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् आयात गर्नेसम्बन्धी सम्झौता र उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी)को बजेट सीमा पाँच करोडबाट २४ करोड रुपैयाँ पुर्‍याउनेसम्बन्धी सम्झौता छन् ।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय स्रोतका अनुसार बिहीबार नै तीन वटा अन्तरदेशीय विद्युत् प्रसारण लाइनको पनि उद्घाटन गरिने छ ।

रक्सौल–परवानीपुर, कुशहा कटैया र नौतनुवा– मैनिया विद्युत् प्रसारण लाइनको उद्घाटन परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ ।

नेपाल भ्रमणका क्रममा भारतका विदेशमन्त्रीले जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गर्नेछन् । भारतका विदेशमन्त्री जयशंकर शुक्रबार भारत फर्कनेछन् ।

कोप-२८ सम्मेलन सम्पन्न : जीवाष्म इन्धन युग अन्त्यको सुरुवात गर्ने सहमति

काठमाडौं । जीवाष्म इन्धनको युग अन्त्यको सुरुवात गर्ने सहमति गर्दै संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप– २८) आज सम्पन्न भएको छ । उत्सर्जन कटौती गरी न्यायपूर्ण विश्व निर्माणको आधार तयार गर्ने सहमति सम्मेलनबाट जुटेको हो । कोप– २८ सम्मेलन संयुक्त अरब इमिरेट्सको दुबईमा दुई साताअघि सुरु भएको थियो । सम्मेलनका दुई सय पक्ष राष्ट्रका वार्ताकारले ‘पहिलो विश्वव्यापी समीक्षा’को निर्णय विश्वव्यापी तापमान वृद्धिलाई १।५ डिग्री सेल्सियसमा सीमित राख्न जलवायु कार्यलाई तीव्र पार्ने उद्देश्यमा सहमति जनाएका छन् । ‘हामीले दुबईमा जीवाष्म इन्धनको युग पल्टाउन सकेनौँ, यो नतिजा अन्त्यको सुरुवात हो,’ संयुक्त राष्ट्रसंघ, जलवायु परिवर्तनका कार्यकारी सचिव साइमन स्टिलले आफ्नो समापन भाषणमा भने, ‘अब सबै सरकार र व्यवसायीले ढिलाइ नगरी यी वाचालाई वास्तविकतामा परिणत गर्न आवश्यक छ ।’ ‘जलवायुको विश्वव्यापी समीक्षा’लाई कोप– २८ को केन्द्रीय नतिजा मानिन्छ । यसमा वार्तामा भएका सबै तत्त्वहरू समावेश छन् । अब सन् २०२५ सम्ममा हुने जलवायु कार्ययोजना विकास गर्न देशहरूले यी नतिजा प्रयोग गर्न सक्छन् । ‘जलवायुको विश्वव्यापी समीक्षा’ले तापमान वृद्धिलाई १।५ डिग्री सेल्सियसमा सीमित राख्न विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनलाई सन् २०१९ स्तरको तुलनामा सन् २०३० सम्ममा ४३ प्रतिशत घटाउनुपर्ने विज्ञानलाई मान्यता दिएको छ । तर, यसले पेरिस सम्झौताका लक्ष्यहरू पूरा गर्ने कुरामा पक्ष राष्ट्रहरू प्रतिबद्धता पालनाबाट टाढा रहेका उल्लेख गरेको छ । उक्त समीक्षाले पक्ष राष्ट्रहरूलाई विश्वव्यापीस्तरमा नवीकरणीय ऊर्जा क्षमताको तीन गुणा वृद्धि र सन् २०३० सम्ममा ऊर्जा दक्षता सुधारलाई दोब्बर बनाउने कार्यहरू गर्न आह्वान गरेको छ । समीक्षाको सूचीमा कोइला ऊर्जाको प्रयोग चरणबद्ध रूपमा घटाउन प्रयास गर्ने, जीवाष्म इन्धनको अनुदानलाई चरणबद्ध रूपमा हटाउनेलगायत समावेश छन् । यसैगरी, ऊर्जा प्रणालीमा जीवाष्म इन्धनबाट संक्रमणलाई अन्त्य गर्न न्यायसंगत, व्यवस्थित र समतामूलक ढंगमा विकसित देशहरूले नेतृत्व लिनुपर्नेमा जोड दिइएको छ । छोटो अवधिमा अर्थतन्त्रव्यापी उत्सर्जन घटाउने लक्ष्यहरू सबै हरितगृह ग्यास, क्षेत्र र वर्गलाई समेट्ने र सन् २०२५ सम्ममा तिनीहरूलाई जलवायु कार्ययोजनाको अर्को चरणमा तापक्रम १।५ डिग्री सेल्सियसमा सीमित राख्न पक्ष राष्ट्रहरूलाई महत्वाकांक्षी योजनाका साथ अगाडि आउन प्रोत्साहित गरिएको छ । प्रभावितको उत्थानका लागि सहयोग दुई साता लामो कोप– २८ सम्मेलन यही डिसेम्बर १ र २ तारिखमा ‘विश्व जलवायु कार्य शिखर सम्मेलन’को साथ सुरु भएको थियो । जसमा एक सय ५४ राष्ट्र–सरकारप्रमुख सहभागी भएका थिए । यस सम्मेलनमा जलवायुजन्य हानिनोक्सानी कोषको परिचालन र कोषको व्यवस्था गर्ने सम्बन्धमा पक्षराष्ट्र ठोस निर्णय गरेर ऐतिहासिक सहमतिमा पुगेका छन् । कोष स्थापनासँगै विभिन्न मुलुकले कोषमा सात सय मिलियन अमेरिकी डलरभन्दा बढीको प्रतिबद्धतासमेत जनाएका थिए । विपत् जोखिम न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघको कार्यालय र हानिनोक्सानीका लागि स्यान्टियागो नेटवर्कको सचिवालयको आयोजना गर्नेछ भन्ने सहमतिसँगै हानिनोक्सानीको एजेन्डामा थप प्रगति भएको छ । यस मञ्चले विशेषगरी जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट जोखिममा रहेका विकासोन्मुख देशहरूलाई प्राविधिक सहयोगलाई उत्प्रेरित गर्नेछ । पक्षराष्ट्र ‘अनुकूलनमा विश्वव्यापी लक्ष्य’ ९जिजिए० र यसको ढाँचाका लागि लक्ष्यमा सहमत भएका छन्, जसले परिवर्तनशील जलवायुको प्रभावसँग लचिलो हुन र देशहरूको प्रयासको मूल्यांकन गर्न विश्वलाई कहाँ पुग्न आवश्यक छ भनेर पहिचान गर्नेछ । जिजिए ढाँचाले अनुकूलन लक्ष्यहरू र तिनीहरूलाई प्राप्त गर्नका लागि वित्त, प्रविधि र क्षमता–निर्माण समर्थनको आवश्यकतामा विश्वव्यापी सहमति झल्काउँछ । जलवायु वित्तमा वृद्धि सम्मेलनमा जलवायु वित्तमाथिको छलफल केन्द्रमा थियो । तसर्थ हरित जलवायु कोषले आफ्नो दोस्रो पुनः पूर्तिका लागि प्राथमिकता प्राप्त गरेको छ । यसमा ६ देशले कोप– २८ मा नयाँ कोषको प्रतिबद्धता गरेका छन् । कोषमा कुल ३१ देशबाट १२।८ विलियन अमेरिकी डलर सहयोगको प्रतिबद्धता प्राप्त भएको छ । आठ दाता राष्ट्रले अतिकम विकसित देश कोष र विशेष जलवायु परिवर्तन कोषमा कुल एक सय ७४ मिलियन अमेरिकीभन्दा बढीको नयाँ प्रतिबद्धता घोषणा गरेका छन् । साथै कोप– २८ मा अनुकूलन कोषमा हालसम्म कूुल एक सय ८८ मिलियन अमेरिकी डलरको नयाँ प्रतिबद्धता गरिएको छ । यद्यपि, विश्वव्यापी समीक्षामा देखाइएअनुसार यी वित्तीय प्रतिबद्धता स्वच्छ ऊर्जा संक्रमण, उनीहरूको राष्ट्रिय जलवायु योजना र अनुकूलन प्रयास कार्यान्वयन गर्नका लागि विकासशील देशलाई सहयोग गर्न पर्याप्त छैन । कोप– २८ मा विश्व नेताहरू, नागरिक समाज, व्यवसायी, आदिवासी–जनजाति, युवा, परोपकारी र अन्तर्राष्ट्रिय संस्था सन् २०३० मा अन्तरहरू हटाउने साझा संकल्पका भावनाका साथ सहभागी भएका थिए । सम्मेलनमा लगभग ८५ हजार सहभागीले भाग लिएर विचार, समाधान र साझेदारी निर्माण गर्न साझेदारी र गठबन्धन गरेका थिए । सम्मेलनका निर्णयले जलवायु कार्यमा संलग्न हुन सबै सरोकारवालालाई विशेष गरी जलवायु सशक्तीकरणका लागि कार्य र लैंगिक कार्ययोजनामार्फत सशक्त बनाउने महत्वलाई पनि जोड दिएको छ । कोप– २९ अजरबैजान र कोप– ३० ब्राजिलमा हुने औपचारिक वार्ताको समानान्तरमा, कोप– २८ मा ग्लोबल क्लाइमेट एक्सन स्पेसले सरकार, व्यवसाय र नागरिक समाजलाई उनीहरूको वास्तविक–विश्व जलवायु समाधान सहकार्य गर्न र प्रदर्शन गर्न मञ्च प्रदान गरेको थियो । सम्मेलनले खाद्य र जनस्वास्थ्य प्रणालीको उत्थानशील बढाउन र कृषि र मिथेनसँग सम्बन्धित उत्सर्जन कम गर्ने उल्लेख गरेको छ । कोप– २८ मा ‘परिष्कृत पारदर्शिता ढाँचा’ मा भएको वार्ताले पेरिस सम्झौता कार्यान्वयनको नयाँ युगका लागि आधार तयार गरेको छ । संयुक्त राष्ट्र जलवायु परिवर्तनले पारदर्शिता रिपोर्टिङ र पक्षहरूद्वारा प्रयोगका लागि समीक्षा उपकरणहरू विकास गर्नेछ । यस सम्मेलनले ११–२२ नोभेम्बर २०२४ सम्म कोप– २९ को आयोजकको रूपमा अजरबैजानलाई र १०–२१ नोभेम्बर २०२५ सम्म कोप– ३० को आयोजकको रूपमा ब्राजिललाई स्वीकार गर्ने निर्णय गरेको छ । कोप– २९ मा सरकारले जलवायु चुनौतीको मात्रा र जरुरी झल्काउँदै नयाँ जलवायु वित्त लक्ष्य स्थापना गर्नुपर्नेछ । कोप– ३० मा तिनीहरू नयाँ राष्ट्रिय रूपमा निर्धारित योगदानका साथ तयार हुनुपर्नेछ ।नयाँपत्रिकाबाट ।

यस्तो छ आजको मौसम

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका थोरै स्थानमा हुस्स र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आइतबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।

यस्तो छ आजको मौसम विश्लेषण

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै देशको पुर्वी भू -भागमा बंगालको खाडीको मध्य पश्चिम क्षेत्र आसपास विकसित ‘माइकाउङ’ नामक शक्तिशाली सामुद्रिक आँधी (गम्भीर चक्रवाती आँधी) को समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र लुम्बिनी प्रदेशको साथै देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंसिर १७ गते) आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २७ पैसा र बिक्री दर १६९ रुपैयाँ ०३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

भारतविरुद्ध अष्ट्रेलियाको रोमाञ्चक जित, म्याक्सवेलको शतक

काठमाडौं । टि–२० सिरिज अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलियाले भारतविरुद्ध रोमाञ्चक जित हात पारेको छ । ग्लेन म्याक्सवेलको शतकको मदतमा अष्ट्रेलियाले भारतलाई पाँच विकेटले हराएको हो । दुई सय २३ रनको विशाल लक्ष्य अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४८ बलमा ८ चौका र ८ छक्कासहित अविजित १ सय ४ रन बनाए । त्यस्तै ओपनर ट्रविस हेडले ३५, आरोन हार्डीले १६, जोश इंग्लिसले १०, मार्कस स्टोइनिसले १७ र टिम डेविडले १७ रन बनाए । बलिङतर्फ भारतका रवि विश्रोईले २ विकेट तथा आवेश खान, अक्षर पटेल र अर्शदीप सिंहले समान एक–एक विकेट लिए । त्यसअघि गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो ।भारतका लागि ओपनर रितुराज गायकवाडले शानदार शतक हाने । उनले नटआउट १ सय २३ रन बनाए । ५७ बल खेलेका गायकवाडले १३ चौका र ७ छक्का प्रहार गरे । तिलक बर्माले नटआउट ३१ रन बनाए । एसुबी जयसवाल ६ रनमा आउट हुँदा इसन किसन शुन्य रनमा पभेलियन फर्किए । कप्तान सूर्यकुमार यादव ३९ रनमा आउट भए । अष्ट्रेलियाका केन रिचार्डसनल, जसोन बिहेन्डरोफ र आरोन हार्डइले समान एक–एक विकेट लिए ।

आयुर्वेदलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले आयुर्वेद, ध्यान र योगलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्ने बताएकी छिन् । आयुर्वेद मेडिकल विकास तथा अनुसन्धान फाउण्डेशनले आयोजा गरेको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य एक्सोको उद्घाटन गर्दै उनले आयुर्वेद क्षेत्रको आवश्यक विकासमा जोड दिइन्। पूर्वीय सभ्यतामा आधारित नेपालको मौलिक चिकित्सा पद्धति आयुर्वेदको जुन महत्व र इतिहास छ, यसको तुलनामा आज हामीले यसलाई कति विकास गर्न सक्यौं भन्ने मूल प्रश्नमा बहस हुन आवश्यक रहेको पनि उनले बताए। मन्त्री शर्माले भने– ‘हामीले प्राकृतिकरुपमा हिमाल, पहाड र तराइमा पाइने सबै प्रकारको हावापानी पाएका छौं । जटीबुटीका हिसाबले धनि छौं । हाम्रो सभ्यता र संस्कृतिका हिसाबले पनि नेपालमा मानव सभ्यताको विकास भएपछिको अधिकांश समय हाम्रा पूर्खाहरुले यही जटीबुटीकै भरमा रोगब्याधिसँग लडेर स्वस्थ जीवन बाँच्न सके । यस्तो अनुकूल धरातलका बिचमा रहेर पनि हामीले आयुर्वेद स्वास्थ्यको क्षेत्रमा किन विकास गर्न सकेनौं ? हाम्रा बहुमूल्य जडीबुटी बिदेशीहरुलाई कौडीको मोलमा बेचेर त्यसबाट उत्पादित औषधि वा अन्य वस्तु महंगोमा किनेर प्रयोग गर्नुपर्ने अवस्था किन आयो ? यसको गहिरो समीक्षा हुन जरुरी छ । पूर्वीय सभ्यताको अंग र पुस्ताको नासोको रुपमा रहेको आयुर्वेदको यो गौरवपूर्ण विरासतलाई अब आधुनिक प्रविधिसँग जोडेर लैजानुपर्नेमा उनले जोड दिइन् । उनले भनिन्– ‘हामीले केही प्रयास त पक्कै गरेका छौं तर पर्याप्त छैन । आयुर्वेदको संस्थागत सेवा र औषधि उत्पादनमा नेपालको जुन गौरवशाली इतिहास छ, यसलाई अब विविधिसँग जोडेर विश्वब्यापीरुपमा यसको पहुँच विस्तार गर्नुपर्छ ।’ आयुर्वेदको विकासका लागि ब्यापक अनुसन्धानमा जोड दिने र यसलाई नेपाली समाजको जीवनशैली बनाउनतिर ध्यान दिनैपर्ने मन्त्री शर्माको जोड छ । नेपालको संविधानले स्वास्थ्यलाई जनताको मौलिक हकका रुपमा स्थापित गरेको र राष्ट्रिय नीतिमा आयुर्वेदलाई महत्व दिइएको उल्लेख गर्दै उनले नीति र कानुनको अभाव नभए पनि यसको कार्यान्वयन पक्ष भने कमजोरी नै रहेको सबैले स्वीकार गर्नुपर्ने बताइन् । सरकारले चालु आर्थिक वर्षमा आयुर्वेदिक, होमियोप्याथिक, युनानी, अकुपञ्चर, आम्ची र प्राकृतिक चिकित्साजस्ता वैकल्पिक उपचार पद्धतिलाई प्रोत्साहन गर्ने नीति अघि सारेको जानकारी दिंद नागरिकलाई शारीरिक ब्यायाम, योग र आरोग्य सेवाको विस्तार तथा सन्तुलित आहारमा जोड दिई स्वछ जीवनशैली अपनाउन अभिप्रेरित गर्ने र खुला योग तथा ब्यायामशाला निर्माण, जडीबुटी उत्पादन र प्रशोधनलाई प्रोत्साहन गर्ने पनि सरकारको नीति रहेको स्पष्ट गरिन् । योबाहेक राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपालमा आयुर्वेदको विकासका लागि हुने लगानीको सरकारले सँधै स्वागत गर्ने उल्लेख गर्दै मन्त्री शर्माले भनिन्– ‘आयुर्वेद तथा जडीबुटी उत्पादन र प्रशोधनको क्षेत्रमा हुने लगानीको स्वागत गर्दै नेपाल सरकार त्यस्ता निकायसँग साझेदारी गर्न तयार छ । आजको यो अन्तर्राष्ट्रिय सम्मेलनबाट पनि नेपाललाई आयुर्वेद क्षेत्रको हब बनाउन उल्लेख्य सहयोग पुग्ने अपेक्षा राखेको छु ।’

आईसीसी एकदिवसीय विश्वकप उपाधिका लागि भिड्दै भारत र अस्ट्रेलिया

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनल आज हुँदै छ । उपाधिका निम्ति आज (आइतबार) घरेलु टिम भारत र अस्ट्रेलिया भिड्ने भएका छन् । विश्वकपको १३औँ संस्करण चलिरहँदा भारत चौथो पटक फाइनलमा प्रवेश गरेको हो । भारतले यसअघि सन् १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो । २००३ मा भने भारत फाइनलमा अस्ट्रेलियासँग पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो । अस्ट्रेलिया आठौँ पटक एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको सर्वाधिक सफल टिमसमेत रहेको अस्ट्रेलियाले हालसम्म पाँच पटक उपाधि जितेको छ । अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकपको उपाधि जितेको थियो । फाइनलअघि अस्ट्रेलियाका कप्तान प्याट कुमिन्सले आफ्नो टिम भारतको ठूलो दर्शकलाई घरमै मौन बनाउने लक्ष्यमा रहेका बताएका थिए । यस्तै, भारतका कप्तान रोहित शर्माले फाइनललाई लिएर आफ्नो टिम धेरै उत्साहित र ठूलो दबाबमा नरहेको बताए ।फाइनल प्रवेशका क्रममा सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएका थिए । भारत जारी प्रतियोगिताको एकमात्र अपराजित टिम हो । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ ।

नेपाल वायूसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान प्राप्त

काठमाडौं । नेपाल वायूसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानवाट सम्मानित गरिएको छ भारतमा ट्राभल टुरिजम क्षेत्रमा लामो समयदेखि टुरिजम ब्राण्डिङ्ग तथा प्रचार प्रसार गर्दै आएको मुसाफिर मिडिया हवले भारतमा उडान भर्ने एयरलाइन्सहरुमध्ये सन् २०२३ को लागि नेपाल वायूसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानको लागि छनौट गरेको हो । १६ नोभेम्वर, २०२३ मा दिल्लीमा आयोजित एक कार्यक्रममा उक्त सम्मान घोषणा गरिएको थियो । यस सम्बन्धमा निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले सम्मान प्राप्त हुंदा खुशी लागेको र अझै जिम्वेवारीपुर्वक काम गर्न प्रेरणा मिलेको बताए । निगमले हाल अन्तर्राष्ट्रिय तर्फ चारवटा जहाजबाट दिल्ली, मुम्वई, वैंलोर, दुवई, दोहा, दमाम, वैंकक, हङ्गकङ्ग, मलेसिया, जापान लगायत दश गन्तव्यमा उडान भरिरहेको छ । त्यसैगरी आन्तरिक तर्फ दुइवटा ट्वीनअटर जहाजबाट ताप्लेजुङ्ग, ईलाम, भोजपुर, फाप्लु, थामखर्क, खानिडाँडा, रुकुम, नेपालगञ्ज, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा ताल्चा, दाङ्ग, रेसुङ्गा लगाएयत पन्ध्र गन्तव्यमा उडान भरिरहेको छ । दशैं तिहारजस्ता चाडवाडमा यात्रुको चाप र आवश्यकतालाइ हेरी निगमले एउटा जहाज नेपालगञ्जमा राखि त्यहांवाट रुकुम, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा ताल्चा जस्ता दुर्गम क्षेत्रका यात्रुलाई सेवा दिइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमको सेवा तथा गुणस्तर अन्तर्राष्ट्रिय स्तरको भएको र यसको बृद्धिमा लगातार प्रयास भइरहेकोे कुरा यस्ता अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त हुनुले पुष्टि गरेको निगमका प्रवक्ता पौडेलको भनाई छ ।

आज राति खण्डग्रास चन्द्रग्रहण

काठमाडौं। शनिबार राति खण्डग्रास चन्द्रग्रहण लाग्ने छ । शनिबार राति ११ः४७ बजे विरल छायाले ढाक्न सुरु गर्ने र सघन छायाले आइतबार बिहान १ः२० बजे ढाक्ने छ । ग्रहणको मध्य आइतबार बिहान १ः५९ बजे हुने छ भने आइतबार बिहान २ः३८ बजे ढाक्न छोड्ने छ । बिहान ४ः१२ बजे विरल छायाले ढाक्न छोड्ने छ । खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भागबाट देखिने छ । बिपी कोइराला मेमोरियल प्लानिटोरियम, अब्जरभेटरी तथा विज्ञान सङ्ग्रहालयका अनुसार नेपालका साथसाथै युरोप, अफ्रिका र एसियाको पूरै भागबाट तथा अस्ट्रेलिया र उत्तर एवं दक्षिण अमेरिकाका केही भागबाट देखिने छ । सङ्ग्रहालयका कार्यकारी निर्देशक डा.सनतकुमार शर्माका अनुसार सघन छायाले ढाक्ने अवधि एक घण्टा १८ मिनेटको र विरल छायाले ढाक्ने अवधि चार घण्टा २६ मिनेट हुने छ । उनले चन्द्रग्रहणलाई नाङ्गो आँखाले हेर्न सकिने र यसले कुनै नकारात्मक असर नगर्ने बताए । पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई घुम्ने क्रममा सूर्य, पृथ्वी तथा चन्द्रमा एउटै सरल रेखामा रहँदा पृथ्वी बिचमा परेका बेला पृथ्वीको छाया चन्द्रमामा परी पृथ्वीबाट चन्द्रग्रहण देखिन्छ । यो पूर्णिमाको राति पर्दछ ।

धादिङमा सवारी दुर्घटना हुँदा १७ जना घाइते

धादिङ । धादिङमा आज मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिक तीन सवारी साधन एकापसमा ठोक्किएर भएको दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालका अनुसार धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बा३ख ८३९५ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ४८६९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल काठमाडौँतर्फ नै जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ९३३६ नंको कारमा समेत ठोकिन पुगेको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक धादिङ गल्छी गाउँपालिका–६ का २६ वर्षीय जितेन्द्र पाठक र उनका श्रीमती २४ वर्षीय ज्योति पाठकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ ‘रिफर’ गरिएको प्रनाउ जैसवारले जानकारी दिए। बसमा सवार काठमाडौं चन्द्रागिरि नगरपालिका–१४ का ३० वर्षीय सुनीता कार्की, उनकी छोरी ३ वर्षकी कृतिका कार्की, धादिङ नीलकण्ठ नगरपालिका–११ का ७३ वर्षीय जीवप्रसाद धमला, ७० वर्षीय धनिमाया धमला घाइते भएका छन्। त्यस्तै, धादिङ सिद्धलेक गाउँपालिका–१ का ५५ वर्षीय खुसकुमारी तिमिल्सेना, ९ वर्षीय सन्ध्या तिमिल्सेना, नीलकण्ठ–११ का ४४ वर्षीय राजकुमारी श्रेष्ठ, ४३ वर्षीय सोमबहादुर गुरुङ घाइते भएका हुन् । थाक्रे गाउँपालिका–२ का ४५ वर्षीय नवराज रिजाल र उहाँकी छोरी २१ वर्षीया सम्झना रिजाल पनि घाइते भएका छन् । तीव्र गतिमा रहेको बस एक्कासि दुर्घटनामा पर्दा बसमा सवार अघिकांशको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ । सामान्य घाइतेहरुको गल्छीस्थित अम्वी भरोसा अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमा सवार दुई र बसमा सवार तीन जनालाई काठमाडौँ पठाइएको छ । तीनवटै सवारीसहित बस चालक र कारका चालक प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङमा सवारी दुर्घटनाको घटना आज मात्रै यो चौथोे हो । यसअघि गजुरी गाउँपालिका– ६ बन्छेटारमा काठमाडौँतर्फ जाँदै गरेको बा४ख ४१७७ नंको माइक्रोबस र काठमाडौँबाट गजुरीतर्फ आउँदै गरेको बा२१प ६०९० नंको कार आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजना घाइते भएका थिए । त्यस्तै, बेनीघाट रोराङ–३ शीतलबजारमा दुई मोटरसाइकल एकापसमा ठोकिँदा तीनजना घाइते भएका थिए भने त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा मोटरसाइकल दुर्घटनामा एकजना घाइते भएका थिए । रासस

नेपालले जित्यो एसिसी यू १९ प्रिमियर कपको उपाधी

काठमाडौं । नेपालले एसिसी यू १९प्रिमियर कपको उपाधी जितेको छ । मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले कप चुमेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको यूएईले ११ ओभरमा दुई विकेटको क्षतिमा ५० रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । वर्षा रोकिएपछि डकवर्थ लेविस नियमका आधारमा यूएईले २७ ओभरमा एक सय ९८ रनको लक्ष्य प्राप्त गरेको थियो । तर यूएई २६ दशमलव पाँच ओभर एक सय ७८ रन बनाउँदा अलआउट भयो । नेपालका लागि देव खनालले सर्वाधिक एकसय रनको महत्वपूर्ण योगदान दिनुभयो । उहाँले ९२ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गर्नुभयो । त्यस्तै उत्तम थापा मगरले ५७ रन जोडनुभयो भने अर्जुन कुमालले ५५ रन बनाउनुभयो । अर्जुन र देवले तेस्रो विकेटका लागि एक सय २५ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । दीपक डुम्रेले २८ रन बनाए भने दीपेश कँडेलले १०, दीपक बोहराले पाँच, हेमन्त धामीले सात तथा विशाल विक्रम केसी तीन रनमा आउट भए । यूएईका लागि हरित सेठ्ठीले पाँच विकेट लिएका थिए भने कप्तान आयन खानले दुई विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको यूएईले सन्तोषजनक सुरुआत गरे पनि जित हासिल गर्न सकेन । उसका लागि ध्रुव परेशारलले सर्वाधिक ५९ रन बनाए भने कप्तान आयन खानले ३०, अर्यान्श शर्माले ३२ रन बनाए । नेपालका लागि आकाश त्रिपाठीले चार विकेट लिनुभयो भने सुवास भण्डारीले तीन, आकाश चन्दले दुई र हेमन्त धामीले एक विकेट लिनुभएको थियो । रासस

प्रधानमन्त्री प्रचण्डद्धारा दसैंको शुभकामना -‘सामाजिक न्यायसहितको समृद्धिका लागि क्रियाशील छौं’

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताएका छन् । विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उनले सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायले व्यक्त गरेको ऐक्यबद्धता समुन्नत राष्ट्र निर्माणका निम्ति अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन् । जात, वर्ग, धर्म लिङ्ग, वर्ण, भूगोल, आस्था र सम्प्रदायको सोचबाट माथि उठेर ‘गरे हुन्छ, परिवर्तन सम्भव छ’ भन्ने सामूहिक र सकारात्मक चिन्तनको विकास अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा परेको दबाब, विकास निर्माणमा देखा पर्ने परम्परागत शैली, संरचना र प्रणालीको अवरोधलाई दृढ अठोटका साथ राष्ट्र, राष्ट्रियता र जनताको हितलाई केन्द्रमा राखेर छिचोल्न सकिने बताए । “नेपाली जनताले युगौँदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न ढृढतापूर्वक अघि बढ्नैपर्छ । यसका लागि जस्तोसुकै कठिनाइ आए पनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी छ”, शुभकामना सन्देशमा उनले भनेका छन् उहाँले मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र विद्यमान् रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिवर्तन आवश्यक रहेकामा जोड दिनुभएको छ । प्रधानमन्त्री दाहालले राष्ट्रसामु विद्यमान चुनौतीको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्यको निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाउन आह्वान गरे उनले नेपाली समाजलाई समुन्नत बनाउन सबैको साथ, सहयोग र ऐक्यबद्धतासहित सामाजिक सहिष्णुता र सदभाव अझै अभिवृद्धि हुने अपेक्षा गर्दै विजयादशमीको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले विजयादशमीको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं निरन्तर प्रगतिको कामना गरेका छन् ।

आजबाट दसैंलाई नयाँ नोट साट्न पाइने

काठमाडौँ । आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न थालेको हो । काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरूमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था छ । एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

इरानविरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं । कप्तान देव खनालको विष्फोटक ब्याटिङसहित कीर्तिमानी शतकमा नेपाली युवा टोलीले एसिसी यू–१९ प्रिमियर कपमा सानदार सुरुआत गरेको छ। मलेसियामा बिहीबारदेखि सुरु प्रिमियर कपमा इरानलाई २ सय ७४ को फराकिलो रनले पराजित गर्दै विजय सुरुआत गरेको हो। नेपालले दिएको ३ सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इरान जम्मा ३०.५ ओभरमा अल आउट हुँदै मात्र ७९ रन बनाउँदा अलआउट भयो। इरानलाई कम स्कोरमा रोक्न नेपालका दिपेश कँडेल र सुवास भण्डारीले समान ३ विकेट लिए। घातक बलिङ गरेका सुवास भण्डारीले ८।५ ओभरमा ४ मेडन राख्दै ६ रन खर्चेर ३ विकेट लिए। दिपेश कँडेलले ७ ओभरमा ३ मेडन राख्दै ४ रन दिएर ३ विकेट लिए। आकाश चन्दले र हेमन्त धामीले समान २ विकेट लिए। विकेट किपर अमेर खोर्सान्दले बनाएको ३७ रन नै इरानका लागि सर्वाधिक रह्यो। सावेर इब्राहिमिपोउर ११ रनमा नटआउट रहे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। त्यसअघि मलेसियाको वाइएसडी युकेएम ओभल बाँगीमा इरानले टस जितेर फिल्डिङ गरेपछि ब्याटिङ गरेको नेपाल ४०ं१ ओभरमा ३ सय ५३ रन बनाउँदा अलआउट भयो। इरानविरुद्ध कप्तान देव खनालले कीर्तिमानी शतक प्रहार गरे। देवले ६० बलमा १२ चौका र ४ छक्का प्रहार गरे। यू–१९ टोलीबाट दुई शतक हान्ने देव पहिलो खेलाड हुन्। यसअघि उनले गत फागुनमा आईसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय २५ रनको शतकीय पारी खेलेका थिए। तेस्रो विकेटका लागि कप्तान देव खनाल र दिपक बोहोराले १ सय ६६ रनको शतकिय साझेदारी गरेपछि नेपाल विशाल योगफल बनाउन सहयोग गरे। बोहोरा र खनालले ९८ बलमा १ सय १६६ साझेदारी गरे। दीपक ५९ बलमा ५ चौका र २ छक्कासहित ६५ रनमा आउट भए। विकेटकिपर दीपक प्रसाद डुम्रे ६९ रनमा आउट भए। दीपेश कंडेल २९, आकाश चन्द १९, हेमन्त धामी २३, सुवास भण्डारीले १८ रन थपे। समूह चरणको दोस्रो खेलमा नेपालले आइतबार बहराइनविरुद्ध खेल्नेछ।

वाग्मतीसहितका यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज बिहान वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ । विभागले दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताएको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । हाल नेपालको पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।