अनुमति नै नलिइ धमाधम कर्मचारी छनौट गर्दै कुवेत एयरवेज

काठमाडौं । कुवेतबाट नेपालमा सिधा उडान हाल एउटा एयरलाइन्सले गरिरहेको छ। अर्को एक एयरलाइन्स उडान गर्ने क्रममा छ। हाल भैरहवा र काठमाडौंमा कुवेतको जजिरा एयरवेजले उडान गरिरहेको छ।

तर कुवेतको राष्ट्रिय ध्वजाबाहक कुवेत एयरवेजले नेपालमा उडान गर्नका लागि कुनै पनि कानूनी प्रक्रिया भने अघि बढाएको छैन। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कुवेत एयरवेजले नेपालमा स्लट पनि पाएको छैन र त्यसका लागि प्रक्रिया पनि अघि बढेको छैन।

उडान अनुमतिका लागि औपचारिक प्रक्रिया नै अघि नबढाएको कवेतले नेपालमै आएर उड्डयन कर्मचारीको भर्नाका लागि छनौट गरिरहेको छ। काठमाडौंको सोल्टी होटलमा कुवेत एयरवेजले कर्मचारी छनौटका लागि अन्तर्वार्ता गरिरहेको छ।

नेपाल उडानका लागि वा नेपालमै अफिस राखेर नेपाली कर्मचारीको भर्ना गर्नका लागि पहिला अनुमति लिनुपर्ने हुन्छ । तर वैदेशिक रोजगारीका प्रायोजनका लागि भए आफूहरूलाई जानकारी नहुने भूलको भनाइ छ ।

काठमाडौंको पाँचतारे होटल सोल्टीमा जारी अन्तर्वार्तामा सहभागीहरूले भने एयरलाइन्समा काम गर्ने र कुवेत एयरवेज भन्नेबाहेक अरु जानकारी खुलाउन चाहेनन्। उनीहरू विभिन्न सम्पर्कसुत्रबाट त्यो अन्तर्वार्तामा सहभागी हुन गएका हुन्।

उडानदल सदस्यका लागि उनीहरु अन्तर्वार्ता दिन पुगेका छन्।

यसअघि गएको वर्ष नेपाल उडान गर्ने भन्दै कुवेतले आफ्नो वेबसाइटमा घोषणा गरेको थियो। तर त्यसपछि उक्त एयरलाइन्सले प्रक्रिया अघि बढाएको छैन।

गिरिको योगदान स्मरणीय रहने छ : सभामुख सापकोटा

काठमाडौं । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा सदस्य एवं प्रखर समाजवादी चिन्तक प्रदिप गिरिको योगदान सदा स्मरणीय रहने बताएका छन् । आज दिउँसो सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पुगेर दिवंगत गिरिप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका सभामुख सापकोटाले ट्वीट गर्दै सादा जीवन उच्च विचारको आदर्शलाई व्यवहारमा चरितार्थ गर्न सफल गिरिको योगदान सदा स्मरणीय रहने बताएका हुन् । सभामुख सापकोटाको ट्वीटमा भनिएको छ ‘सादा जीवन उच्च विचारको आदर्शलाई व्यवहारमा चरितार्थ गर्न सफल माननीय सदस्य एवं प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ। दिवंगत गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवार एवं आफन्तमा गहिरो समवेदना । नेपाली समाजमा उहाँको योगदान सदा स्मरणीय रहने छ । ’

अस्ताएका निष्ठाका सतिसाल स्मरणमा सधै जीवन्त छन् , अलबिदा प्रदीप गिरी (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि कांग्रेस मुख्यालय सानेपा राखिएको छ । गिरीलाई श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता, आफन्त तथा शुभचिन्तक अहिले कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका छन् ।     नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतका नेता । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन हुनुभएका नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीर अस्पताल परिसरमा । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुण । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धान्जली अर्पण गर्न ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेका पूर्वराष्ट्रपति रामवरण यादव र नेका नेता शेखर कोइराला ।

नेकपा एसबाट उम्मेदवार बन्न यस्तो छ प्रक्रिया र मापदण्ड तय (विज्ञप्तिसहित)

काठमाडौं। नेकपा एकीकृत समाजवादीले आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्ड तय गरेको छ। बुधबार बसेको सचिवालय बैठकले उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्डबारे निर्णय गरेर मातहतका निकायलाई सर्कुलर गरेको हो। बैठकले गरेको निर्णयअनुसार प्रतिनिधि सभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवार बनाउनका लागि पार्टीको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तिमा एक महिलासहित बढीमा चारजनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्नुपर्नेछ। त्यस्तै जिल्ला कमिटीले क्षेत्रीय समन्वय कमिटीले गरेको सिफारिस गरेका चार जनामध्येबाट कम्तिमा एक महिलासहित बढीमा तीनजनाको नाम प्रदेश कमिटीमा पठाउनुपर्नेछ। प्रदेश कमिटीले तीन जनाप्रति आफ्नो धारणासहित केन्द्रमा पठाउने र केन्द्रीय कमिटीले तल्लो कमिटीबाट सिफारिस भएका मध्येबाट प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बनाउन निर्णय गर्नेछ। यस्तै,प्रदेश सभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार बनाउनका लागि पार्टीको प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तिमा एक महिलासहित बढीमा चारजनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्नुपर्नेछ । जिल्ला कमिटीले उक्त चार जनामध्येबाट कम्तिमा एक महिलासहित बढीमा तीनजनाको नाम प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले उक्त तीन जनाप्रतिको आफ्नो धारणासहित केन्द्रमा पठाउने र केन्द्रीय कमिटीले सिफारिस भएर आएका तीन मध्येबाट प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बनाउन निर्णय गर्नेछ। एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कमिटीले नै प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको काम गर्ने छ। यदि कुनै जिल्लामा निर्वाचन क्षेत्रीय समन्वय कमिटी नबनेको भए एक हप्ताभित्र उक्त कमिटी गठन गरी सिफारिससम्बन्धी काम गर्नपनि सो पार्टीले निर्देशन दिएको छ। पार्टीका विशेष प्रदेश र विशेष जिल्ला कमिटीले पनि समानुपातिक उम्मेदवारका लागि एक महिला र एक पुरुषको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरेको महासचिव डा।बेदुराम भुसालले जानकारी दिए। केन्द्रीय कमिटीले मातहत कमिटीबाट सिफारिस भएर आएका र केन्द्रको अभिलेखमा रहेका नामबाट छनोट गरी बन्द सूची तयार गर्नेछ उम्मेदवारसम्बन्धी निर्णय सकेसम्म कमिटीको पूर्ण बैठकबाट गर्ने, पूर्ण बैठक बस्न सम्भव नभएमा सचिवालयको बैठकबाट गरिने उल्लेख छ। कुनै निर्णय विवादित भए एक तह माथिल्लो कमिटीले छानविन गरी फैसला गर्ने अधिकार प्रत्यायोजन गरिएको सो पार्टीले जनाएको छ। साथै नेकपा एकीकृत समाजवादीले उम्मेदवार सिफारिसका लागि समय तालिका समेत सार्वजनिक गरेको छ। समय तालिका अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र तथा प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले २०७९ भदौ १० गतेभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्नुपर्नेछ भने जिल्ला कमिटीले २०७९ भदौ १२ गतेभित्र प्रदेश कमिटीमा सिफारिस गरिसक्नुपर्ने र प्रदेश कमिटीले २०७९ भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस गरिसक्नुपर्नेछ। केन्द्रीय कमिटीले २०७९ भदौ २० गतेभित्र उम्मेदवार छनोटको निर्णय गरिसक्नेछ। सो पार्टीले उम्मेदवारका ८ मापदण्ड तोकेको छ।

राप्रपाको युवा संघका जिल्ला उपाध्यक्ष सहित दजनौं युवा माओवादी प्रवेश

भरतपुर । चितवनमा दजनौं युवाहरु माओवादी केन्द्र प्रवेश गरेका छन् । राप्रपा नेपाल निकट राष्टिय प्रजातान्त्रिक युवा सघंको जिल्ला उपाध्यक्ष शंकर विश्वकर्माको नेतृत्व ५० जना राप्रपामा संगठित नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका हुन् । नवप्रवेशी नेताकार्यकर्तालाई माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले खादा माला र अविर लगाएर स्वागत गरेका थिए । पार्टी प्रवेश गर्दै शंकर विश्वकर्माले देशको विकास गर्ने,युवाहरुको भावना बुझेर युवालाई स्थान दिने र देशको आवश्यकता पुरा गर्ने पार्टी माओवादी केन्द्र र नेतृत्व प्रचण्डको पार्टी भएको बताए । उनले युवाहरुलाई माओवादी केन्द्र र प्रचण्डको नेतृत्वमा गोलबन्ध हुन आग्रह समेत गरे । चितवनको विकास र समृद्धि माओवादी केन्द्रको नेतृत्वमा मात्रै सम्भव भएको भन्दै पछिल्लो समय माओवादी केन्द्रप्रति युवाहरुको आर्कषण बढेको अध्यक्ष अधिकारीले बताए ।

टिम भित्रको कमजोरी थाहा भयो,अब सुधारको आवश्यक छ : प्रभाकर

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली टोलीको कमजोर पक्ष आफूले पत्ता लगाइसकेको बताएका छन् । उनले आफूले उक्त कमजोरीलाई सुधार गर्ने पहिलो प्राथमिकतामा राखेको बताए । प्रभाकर भर्खरै मात्र राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका हुन् । क्यानले उनीसँग एक वर्षको सम्झौता गरेको छ । प्रभाकरले सोमबारदेखि टिममा प्रशिक्षण दिइरहेका छन् । उक्त प्रशिक्षणको क्रममा टिमको कमजोरीको विषयमा आफूले भिडियोमार्फत पहिले नै थाहा पाएको र अहिले त्यसको सुधारका लागि लागिरहेको बताए । ‘टिमको कमजोरीको विषयमा पहिले नै थाहा पाएको थिए । अहिले त्यसको सुधारको विषय खोजिरहेको छु । सानो कमजोरी छन् त्यसलाई सुधार गर्न धेरै समय लाग्दैन,’ प्रभाकरले अभ्यासका क्रममा पत्रकारसँग कुरा गर्दै भने । प्रभाकरले आफूले टिमको ब्याटिङको विषयमा पहिले समाधानको उपाय निकालिरहेको बताए । नेपालको टिममा अहिलेको मुख्य समस्या नै ब्याटिङ भएकाले त्यसलाई सुधारका लागि आफूले काम गरिरहेको र त्यो चाडै सुधार हुने बताए । ‘टिममा अहिले ब्याटिङको समस्या छ । अहिले त्यसैमा फोकस गरिरहेका छौं,’ प्रभाकरले भने । नेपाली राष्ट्रिय क्रिकेट टोलीले भदौ ९ देखि २० सम्म केन्यासँग पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज र तीन एकदिवसीय सिरिज खेल्दैछ ।

बञ्चरे डाँडामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीको हवाई फायर

  काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बञ्चरे डाँडामा गएका ट्रकलाई स्थानीयले रोकेका छन् । स्थानीयले फोहोरका ट्रकलाई रोकेर ढंगामुढा गर्नथालेपछि प्रहरीले हवाइ फायर गर्नुपरेको छ ।फोहोर बोकेर गएका ट्रकलाई अघि स्थानीयले अघि बढ्न नदिएपछि त्यहाँ प्रहरी र स्थानीयबीच झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन ५ राउण्ड हवाइ फायर गर्नुपरेको प्रहरी परिसर काठमाडौले जनाएको छ । तनाव भएसँगै फोहोर बिसर्जनको काम रोकिएको छ । बञ्चरे डाँडामा काठमाडौं र नुवाकोटबाट प्रहरी परिचालन गरिएको छ । प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारीलाई लखेटेपछि डाँडामा रहेका स्थानीयले ढुंगामुढा गरेका थिए । त्यसपछि रीले हवाई फायर गरेको हो ।

संघीय सरकारविरुद्ध मधेस प्रदेश सरकारको धर्ना स्थगित

धनुषा । संघीय सरकारविरुद्ध मधेस प्रदेश सरकारले गरेको धर्ना स्थगित भएको छ। प्रदेशमा प्रहरी समायोजनको माग राख्दै जारी धर्ना कार्यक्रम तेस्रो दिनमा स्थगित गरेको मुख्यमन्त्री लालबाबु राउतले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । साउन २९ देखिको धर्नामा मधेस प्रदेशका मुख्यमन्त्री राउतसहित मन्त्री र सांसदहरु समेत सहभागी हुँदै आएका थिए । प्रदेश प्रमुखको कार्यालयअगाडि एक सातासम्म चल्ने भनिएको धर्ना तेस्रो दिनमा स्थगित भएको हो । संविधानमा भएको प्रहरीसम्बन्धी व्यवस्थालाई लिएर संघ र प्रदेश सरकारबीच द्वन्द्वको स्थिति देखा पर्दै आएको छ। पाँच वर्षसम्म शान्त रहेका प्रदेश सरकारले निर्वाचन नजिकिन थालेसँगै प्रदेश प्रहरी आफू मातहत माग्न थालेका छन् । तर संघीय सरकारले प्रदेश प्रहरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आनाकानी गर्दा स्थिति द्वन्द्वन्मुख देखिएको हो। संविधानप्रदत्त अधिकार उपयोगका लागि प्रदेश सरकारहरूले उत्कट चाहना देखाइरहेका छन्। यसअघि साउन २२ मा मधेस सरकारले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी समायोजनका लागि ७ दिने अल्टिमेटम ध्यानाकर्षण पत्र नै बुझाएको थियो ।

दुई वर्षभित्र भूमीसम्बन्धी सम्पूर्ण समस्या अन्त्य गरिन्छ : मन्त्री श्रेष्ठ

भूमि सम्बन्धि समस्या देखाएर राज्य दोहोन गर्ने प्रवृतिको अन्त्य गरिन्छ काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले दुई वर्षभित्र भूमीसम्बन्धी सम्पूर्ण समस्या अन्त्य गरिने बताएकी छन् । धनकुटा जिल्ला अन्तरर्गत साँगुरीगढि गाउँपालीका–५ (साविक डाँडाबजार गाविस वडा नम्बर ३ र ४) का २८ घरपरिवारलाई लालपुजा वितरण गर्ने कार्यक्रमका बोल्दै उनले अब भूमिसम्बन्धि समस्या छन् भन्ने दिनको अन्य गरिने बताइन् । वषौंदेखि भूमि सम्बन्धि समस्या देखाएर विभिन्न आयोग र संयन्त्र बनाएर राज्य दोहोन गर्ने स्थिति रहेको भन्दै उक्त प्रवृतिको छिट्टै अन्त्य गरिने उनको भनाइ थियो ।कार्यक्रममा उनले सिन्धुली जिल्लाको दुधौली नगरपालीकाका भूमिहिन दलितहरुलाई पहिलो पटक पुर्जा वितरण गरेर भूमि आयोगको कार्य शुरु गरेको स्मरण गरिन् । गैर सुकुम्बासीलाई भुमि उपलब्ध नगराउने तर्फ सरकार सचेत रहेको बताउँदै उनले आयोगका पदाधिकारीहरुलाई कुनै प्रभाव र दबाब बिना काम गर्न निर्देशन दिइन् । कोहि कसैले गैर सुकुम्वासीलाई पुर्जा दिने र लिने सोचेको भए तेस्तो सपना सम्भव नहुने बताइन् । मन्त्री श्रेष्ठले २०२१ सालमा भूमी सुधार कार्यक्रम अन्तरर्गत जग्गाको हदबन्दी लागु भएपछि जग्गा नापजाँचको थालनी भएको बताउँदै उनले भनिन्, “ २०२१ सालमा भूमी सुधार कार्यक्रम अन्तरर्गत जग्गाको हदबन्दी लागु भएपछि त्यसबेलाको सिमित स्रोत, साधन र जनशक्तिका कारण सबै ठाउँमा जग्गा नापजाँच गर्ने स्थिति बनेन र त्यसलाई साना साना कित्ताहरुलाई एकै ठाउँमा राखेर ब्लकको रुपमा छुट्टयाइएको थियो । पछि जग्गा नाप्ने क्रममा घनकुटामा २०२९ साल माघ १५ गतेबाट शुरु भयो ।” धनकुटामा जग्गाको एकसरो नापी २०३२ सालमा छुट्टयाइएको बताइन् । धनकुटामा २०७७ साल देखि पुःन नापजाँच गरेर आफ्नो कार्यकालमा जग्गा नापीको सम्पूर्ण कार्य सकिएको मन्त्री श्रेष्ठले जानकारी दिइन् । मन्त्री श्रेष्ठले जग्गाको नाँपजाच कार्य लक्ष्य निर्धारण गरेर हुने गरेको भएतापनि पुर्जा वितरण गर्ने कार्य प्राथमिकतामा पर्ने गरेको थिएन । त्यसमा चलखेलको गुनासो समेत आउने गरेको उनले बताइन् । तेस्ता गुनासा सत्य नहुन भन्दै भूमिको नापी र लालपुर्जा वितरण गर्ने कार्यलाई प्राथमिकतामा राखेर आफुले काम गरेको उनको भनाई थियो । आफु मन्त्री भएपछि तल्लो तहका जनतालाई आफ्नो जग्गाको मालिक आफु नै बनाउन लागिपरेको बताइन् । उनले गाउँब्लकको समस्या पहिलो प्राथिमकतामा राखेर तेस्ता समस्या निराकरण गर्न दिन रात र बिदा समेत नभनेर लागिपरेको बताइन् । आफु मन्त्री भएको एकमहिना नबित्दै लालपुर्जा वितरण गरेको स्मरण गर्दै उनले भनिन् , “म मन्त्री भएपछि करिब ४९ हजार लालपुर्जा वितरण भएको छ । गाउँब्लको सम्पूर्ण नापी सकेर यही वर्षभित्र पुर्जा वितरण सक्ने कार्यमा लागेका छौं । यो कार्य मन्त्रालयका कर्मचारीले गर्नुभएको मिहनेतले सम्भव भएको हो।” त्यसक्रममा नापी विभागका कर्मचारीले शनिबार समेत नभनेर काम गरेर भूमि व्यवस्था मन्त्रायलमा सकारात्मक रिजल्ट निकालेको भन्दै प्रसंसा समेत गरिन् । उनले बजेटको अभावकाबीच अनिवार्य रुपमा यस किसिमको समस्या समाधान गर्न लागिपरेको बताइन् । आफ्नो शब्दकोषमा असम्भव भन्ने शब्द नरहेको भन्दै राम्रो काम गर्न स्वच्छ र दृढ इक्षाशक्ति मन भए असम्भव नहुने बताइन् । उनले भूमिहिन दलितहरुको समस्या पनि छिट्टै निराकरण गरिने जानकारी दिइन् । राम्रो काम गर्नेलाई घेराबन्दि गर्ने प्रवृतीले देश बन्दैन मन्त्री श्रेष्ठले आफु राष्ट्रहित र जनहितलाई प्रमुख ठानेर राजनीतिमा लागेको व्यक्ति भएको बताएकी छन् ।उनले शनिबार धनकुटा जिल्लाको साँगुरीगढि गाउँपालीकामा दशकौं देखि कानुनी रुपले जमिनको मालिक बन्न बन्चित नागरिकहरुलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यक्रममा जाँदा गरिएको अवरोधप्रति खेद व्यक्त गरिन् ।केहि मान्छेले डुल्न हिडेको भनेर कुप्रचार गर्दै गाडि रोकेर अवरोध गरेको प्रति लक्षित गर्दै उनले भनिन् , “बिदाको दिन नभनी दिनरात मिहनेत गरेर जनताको लागि सर्मपित भएर लागिपर्नेविरुद्ध गलत प्रचार गरेर हतोत्साहित गर्ने संस्कृति र कुप्रचारमा रमाउने प्रवृतीले देश बन्दैन । यस्ता गतिविधिले झन् राज्य असफल पार्ने प्रवृती हावी हुन्छ । त्यसमा सबै नागरिक सचेत बन्नुपर्ने हुन्छ ।” राज्यको स्रोत र साधन जोगाउने अभियानमा सबै लाग्नुपर्ने बताउँदै उनले मन्त्री परिषदको बैठकमा इन्धन बचाउने पस्ताव राखेको बताईन् ।एउटै रुट पर्ने कर्मचारीहरुले सवारी साधन सेयर गर्नुपर्ने, शनिबार सरकारी सम्पतीमा दुरुपयोग गरेर घुमफिर गर्ने कुरा रोक्ने लगायतका विषय मन्त्री परिषदको बैठकमा राखेको समेत जानकारी दिइन् । संघ,प्रदेश र स्थानीय तहले आफ्नो अधिकार क्षेत्र अनुरुप आफ्नो काम सहि ढङ्गले अघि बढाउनुपर्ने बताउँदै मन्त्री श्रेष्ठले संघियता सहि ढङ्गले कार्यान्वयन हुन नसकेको बताइन् ।नेपालको संघियता संघियताको अन्तराष्ट्रिय अभ्यास  अनुरुप नभएको भएपनि यसलाई अधिक्तम रुपमा कार्यान्वयनमा लैजान सबैले ध्यान दिनुपर्ने उनको भनाई छ । धनुकटा जिल्लामा गाउँ ब्लक क्षेत्रको विवरण वि.सं.२०२९–१०–१५ सालबाट एकसरो नापी शुरु भै २०३२–१२–१५ सालमा सम्पन्न भएको थियो । एकसरो नापीको समयमा घना बस्ती भएको र सा–साना कित्ता जग्गाहरु भएको स्थानको जग्गाहरुलाई घेरी एउटै कित्ता नं दिई फिल्ड वुकमा ब्लक लेखि छोडिएको गाउँ व्लकको नापनक्सा कार्यलाई २०७७ सालमा नाप नक्सा शुरु गरिएको थियो। यस जिल्ला अन्तरगत साविक डाँडाबजार गा।वि।स वडा नं ३ र ९ हाल साँगुरीगढी गाउँपालिका वडा नं ५ को २८ जग्गधानी प्रमाणपुर्जा तयार त्यस्तै चैबिसे गाउँपालिका जम्मा ५५ जग्गाधनी प्रमाणपुर्जा तयार गरी करिब २ हेक्टर क्षेत्रफल रहेको गाउँब्लक क्षेत्रको नाप नक्सा कार्य सम्पन्न भएको छ । जग्गा धनि दर्ता प्रमाण पुर्जा वितरण गर्न बाँकी रहेको जग्गाहरुको छिट्टै सम्पन्न गर्ने लक्ष्य राखिएको मन्त्री श्रेष्ठले जानकारी दिइन् ।

प्रतितोला २०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार १०० रुपैयाँ छ । जुन, असार ३१ गते छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ थियो । सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार असार ३१ गतेको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ पुगेको छ । जुन, असार ३१ गते प्रतितोला ११ सय ४५ रुपैयाँ थियो ।

टिचिङमा राष्ट्रपतिको भ्रमण: आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न उर्दी

काठमाडौँ, राष्ट्र्रपति विद्यादेवी भण्डारी सार्वजनिक कार्यक्रममा जाने बेला सर्वसाधारणले दु:ख पाउने विषय बेलाबखत चर्चामा आइरहने बेला यसपटक भने अस्पतालकै सेवा प्रभावित हुनेगरी भ्रमणकाे तयारी भएकाे छ । यसपटक उनी शिक्षण अस्पताल जाने कार्यक्रममा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले आइतबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्न उर्दी जारी गरेको छ । यससम्बन्धमा कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा आईओएमकी डिन दिव्या सिंह शाहले शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रलाई पत्र काट्दै सेवा बन्द गरी कार्यक्रममा सहभागी हुन निर्देशन दिएको एक प्राध्यापकले बताएकाे उल्लेख छ । समाचार अनुसार आईओएमको ५० औं वार्षिकोत्सव समारोह आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा हुँदै छ । राष्ट्रपति आउने कार्यक्रमका कारण सेवा बन्द गर्ने निर्णयलाई लिएर अस्पतालकै चिकित्सकले नै असन्तुष्टि जनाएका छन् । दैनिक २ हजारभन्दा बढी बिरामीले सेवा लिने अस्पताल वार्षिकोत्सवको बहानामा बन्द गर्न नहुने उनीहरूको भनाइ छ । ‘वार्षिकोत्सव सार्वजनिक बिदा होइन, अस्पतालको सेवा किन बन्द गर्ने ?,’ एक कर्मचारीले भने । त्रिवि शिक्षण अस्पतालको ४० औं वार्षिकोत्सव भने शुक्रबार त्रिवि उपकुलपतिसहित पदाधिकारीको उपस्थितिमा मनाइएको छ । आईओएमको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आइतबार राष्ट्रपतिको उपस्थितिमा कार्यक्रम गर्न लागिएको हो । अस्पतालजस्तो संवेदनशील संस्था बन्द गर्न डिन शाहले आफूखुसी निर्णय लिएको प्राध्यापकहरू बताउँछन् । ‘मेची–महाकालीदेखि आउने बिरामी अस्पताल बन्द हुँदा मर्कामा पर्छन्, यसमा ध्यान पुग्न सकेन,’ एक चिकित्सकले भने । अस्पतालमा सातामा ६ दिन ओपीडी सेवा सञ्चालन हुन्छ । सार्वजनिक बिदाको दिनमा समेत बिहान ओपीडी चल्दै आएको छ । बिहान र दिउँसो दुई सिफ्टमा सेवा दिने गरिएको छ । कान्तिपुर दैनिककाे समाचारमा अगाडि उल्लेख गरिएकाे छ: त्रिविका पूर्वउपकुपति केदारभक्त माथेमाले कुनै पनि बहानामा शिक्षण संस्था, स्वास्थ्य संस्थालगायत संवेदनशील क्षेत्रका सेवा बन्द गर्न नहुने बताए । ‘बिरामी छाडेर डाक्टर औपचारिक कार्यक्रममा जानु हुँदैन,’ उनले भने, ‘प्रशासनिक पदका मान्छे गए हुन्छ, सेवा बन्द गर्ने कुरा ठीक होइन ।’ सेवा बन्द गर्ने आईओएमको निर्णय अनुचित भएको माथेमाले बताए । ‘नेपाल वायु सेवा निगमको कार्यक्रम भयो भने पाइलटलाई उडान बन्द गरेर आउनु भन्न मिल्छ ?’ उनले भने, ‘पाइलटहरूको मुख्य काम यात्रुलाई गन्तव्यमा पुर्‍याउनु हो । कसैलाई पनि आफ्नो प्रमुख ड्युटी छाडेर, सभा/समारोहमा जानु पदीय जिम्मेवारीले दिँदैन ।’ आईओएमका पूर्वप्राध्यापक डा. गोविन्द केसीले वार्षिकोत्सव मनाउने नाममा उपचार सेवा नै बन्द गर्नु गलत गरेको टिप्पणी गरे । ‘यो त राष्ट्रपतिले पनि बुझ्नुपर्ने हो, अस्पताल बन्द भए बिरामीले दुःख पाउँछन्,’ उनले भने, ‘निर्णय सच्याउन त्रिवि पदाधिकारीलाई म आग्रह गर्छु ।’ २/३ घण्टा हुने कार्यक्रमका लागि सेवा नै बन्द गर्नु उचित नभएको उनले बताए । शिक्षण अस्पतालकै एक वरिष्ठ चिकित्सकले राष्ट्रपति, प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा अस्पताल, शिक्षण संस्था बन्द गर्ने गलत संस्कार परिवर्तन हुन नसक्दा पटकपटक बिदा दिने घोषणा दोहोरिने गरेको बताए । ‘लोकतान्त्रिक गणतन्त्र आए पनि संस्कार परिवर्तन हुन सकेन, पहिले राष्ट्रपति सडकमा निस्कनासाथ गाडी बन्द गरिन्थ्यो, अहिले यो हट्दै गएको छ,’ उनले थपे, ‘नागरिकले पाउने सेवा अवरुद्ध हुनुलाई सकारात्मक रूपमा लिन सकिन्न, यस्तो मानसिकता रूपान्तरण हुन आवश्यक छ ।’ आकस्मिक सेवामा आएका बिरामीलाई कतिपय अवस्थामा ओपीडीमा लैजानुपर्ने हुन सक्ने उनले सुनाए । डिन शाहले भने उक्त दिन बिहानको सिफ्टमा सेवा सञ्चालन गर्न अस्पतालका निर्देशकहरूलाई निर्देशन दिइसकेको बताइन् । ‘पत्र तयार पार्दा राष्ट्रपतिको समय कुन बेला भन्ने मिलिसकेको थिएन, अब दिउँसोमा कार्यक्रम हुने भयो, बिहान ओपीडी चल्छ, दिउँसो मात्रै बन्द हुन्छ,’ उनले भनिन् । अस्पतालका प्रशासकीय प्रमुख वैकुण्ठ थपलियाले आधा सेवा मात्रै बन्द हुने दाबी गरे । ‘सबै सेवा बन्द हुँदैन, पत्र बनाउँदा अलिकति गल्ती भएछ, साढे १२ बजेसम्म सेवा सञ्चालन हुन्छ, त्यसपछि बन्द गरिन्छ,’ उनले भने, ‘बिरामीलाई डाक्टरले भेट्ने समय दिएको हुन्छ, जाँच गर्न समय लिएर बसेका बिरामी हुन्छन्, एक्कासि सबै सेवा बन्द गर्न हुँदैन भनेर निर्णय पुनर्विचार गरिएको हो ।’

पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समिति अर्थ मन्त्रालय जाँदै

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा बिचौलियाको प्रयोग गरेको सम्बन्धमा सत्यतथ्य छानबिन गर्न बनेको संसदीय समिति बुधबार अर्थ मन्त्रालय जाँदै छ । ११ सदस्यीय समितिले मंगलबारदेखि आफ्नो कामकारबाही सुरु गरेको हो । बुधबार भने उक्त विषयमा सत्यतथ्य जानकारी लिन समितिका सदस्यहरू अर्थ मन्त्रालयमा जाने भएको समितिका एक सदस्यले जानकारी दिए ।जनार्दन शर्माले बजेट निर्माण गर्दा बिचौलियाको प्रयोग गरेको भन्दै संसदमा पनि चर्को विरोध भएपछि अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । शर्माले राजीनामा दिएपछि त्यसबारे छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन भएको थियो।

आज थप ५० जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ८ सय १४ जनामा गरिएको परीक्षणमा ५० जनामा संत्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १८ जना संक्रमित संक्रमणमुक्त हुँदा १ लाख ७८ हजार ७८६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सोही अवधिमा संक्रमणबा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर २ सय ९७ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बाेलायाे प्रधानमन्त्री देउवालाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको विषयमा छलफल गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिले असार ५ गतेको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको छ । समितिकी सभापति पवित्रा निरौला खरेलले त्यसअघि समितिले परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग छलफल गर्ने निर्णय भएको जानकारी दिए । निकट भविष्यमै हुन लागेको भनिएको प्रधानमन्त्रीको भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले चासो राख्दै आएको छ । यसैबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणबारे संसद्, समिति र नागरिकलाई जानकारी दिनुपर्ने अडान राखेका छन्– ‘विदेश भ्रमणमा कुनै पनि अनुचित कामहरू हुनुहुँदैन।’ अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्नहरू उठेकोले प्रधानमन्त्रीले संसद, समिति र देशलाई जानकारी दिनुपर्ने बताए । परराष्ट्र नीतिको विषयमा कुनै पनि किसिमको दबाब र धम्की स्वीकार्य नहुने बताउँदै उनले परराष्ट्रमन्त्रीले अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा छलफलमा उपस्थिति भएर वर्तमान सरकारको अन्तर्राष्ट्रिय नीतिको विषयमा जानकारी गराउनुपर्ने बताए। अध्यक्ष नेपालले विदेशी सेना नेपालमा आएर बस्नु गम्भीर विषय रहेको भन्दै समितिमा सरकारको ध्यानाकर्षण गर्न माग गरे। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

दैलेखमा बस दुर्घटना मृत्यु हुने चार जनाको सनाखत , ३९ जना घाइते

सुर्खेत । बुधबार राति दैलेखको आठबीस नगरपालिका–२ को सिस्नेमा भएको यात्रुबाहक बस दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको दुल्लू नगरपालिका–९ का ३६ वर्षीय काँशिराम पाण्डे र २ वर्षीय प्रेम सुनार रहेका छन् । यस्तै दुई जना कालिकोटका रहेका छन् । कालिकोटको पलाँता गाउँपालिका–३ का अन्दाजी ४६ वर्षीय ज्ञानबहादुर बम र ५५ वर्षीया धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । सामान्य चोटपटकदेखि लिएर गम्भीर गरि ३९ जना घाइते भएको प्रहरीको भनाई छ । घाइतेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइतेहरू सबैलाई गएराति नै उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । बसमा झण्डै ६२ जना जति रहेको प्रहरीको अनुमान छ । मुगु, कालिकोट हुँदै नेपालगन्ज जाँदै गरेको म १ ख ६६० नम्बरको उक्त बस कर्णाली राजमार्गबाट झण्डै ४३ मिटर तल कर्णाली नदीको छेउमा खसेको थियो ।साहका अनुसार बस चालक भने प्रहरीको नियन्त्रणमा रहेका छन् । यद्यपि बस के कति कारणले दुर्घटना भएको हो । त्यसको एकिन कारण खुल्न सकेको छैन ।

सुकुम्बासी समस्या समाधान गर्ने बुटवलका मेयरको पहिलो निर्णय

काठमाडौं । बुटवल उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै जनप्रतिनिधिले बुटवलको भूमिहीन सुकुम्बासी समस्यालाई समाधान गर्ने निर्णय गरेका हुन् ।   बुटवलका मेयर खेलराज पाण्डेयले बुटवलमा लामो समयदेखि समस्याको रुपमा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्नको लागि लगत संकलन, प्रमाणित निस्सा उपलब्ध गराउने तथा नापजाँच प्रकृया बाँकी रहेकाहरुको लागि काम अगाडि बढाउन राष्ट्रिय भूमि आयोगमा अनुरोध गर्ने निर्णय भएको बताए । यस्तै उपभोक्ता हितको लागि बजार अनुगमनलाई प्राथमिकता दिने निर्णय गरिएको छ । सेवा प्रदायक तथा विक्रेताको नियमित अनुगमन गरी आम उपभोक्ताको हित प्रवद्धन गर्ने कार्यलाई प्राथमिकता दिई बजार अनुगमन तथा नियमन कार्यलाई प्राथमिकता दिने निर्णय गरिएको हो ।