चितवनमा कोरोनाबाट थप १ जनाको मृत्यु

चितवनः चितवनमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । मृतक मकवानपुरको हेटौडा–३ की ६५ वर्षीया महिला रहेकी छन् ।

भरतपुर मेडिकल कलेज चितवनमा उपचार गराएकी ६५ वर्षीय महिला साउन ३२ गते अस्पताल भर्ना भएकी थिइन् । कलेजो सम्बन्धि समस्या रहेकी ती महिलाको शनिबार साँझ साढे ७ बजे मृत्यु भएको हो ।

भरतपुर मेडिकल कलेजमा बिहीबार पनि हेटौडा–४ का ५६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो ।

 

पहिरोमा आमाको मृत्यु, छोरी वेपत्ता

दार्चुलाः नौगाड गाउँपालिका—६ परिगाउँमा पहिरो जाँदा आमाको मृत्यु भएको छ भने उनकी छोरी वेपत्ता छन् । मृत्यु हुनेमा ३५ वर्षीया मानमती ठगुन्ना रहेकी छन् । उनकी ६ वर्षीया छोरी रेवती ठगुन्ना वेपत्ता छन् । पहिरोले ठूलो भौतिक क्षति पनि गरेको छ । पहिरोले परिगाउँमा मात्रै आबि परिगाउँको विद्यालय भवन, २८ बाख्रासहित बाख्रा फर्म, तीन वटा पानी घट्ट बगाएको छ । स्थानीयका तीन घर पूर्ण रुपमा क्षति हुनुका साथै पाँच परिवारको खेतबारी बगाएको छ । पाँच परिवारको घर पहिरोको उच्च जोखीममा रहेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताए । परिगाउँमा मात्रै नभइ नौगाड गाउँपालिकाको वडा नम्बर १, २ र ३ लगायत विभिन्न बस्तीमा बाढी, पहिरोले ठूलो क्षति गरेको छ ।

नेकपा विवादमा नाटकीय रूपमा ब्रेक !

काठमाडौंः शक्ति र सत्ता–संघर्षको चपेटामा फसेको सत्तारुढ दल नेकपाको विभाजन करिब–करिब टरेको छ । पार्टीभित्रै स्थायी र सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री एवं पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा मागेपछि बढेको विवादले नेकपाको विभाजनको आशंका जन्माएको थियो । तर, बिहीबारसम्म भएका आन्तरिक र बाह्य कोसिसले तत्कालका लागि देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति नेकपाको विभाजन टरेको स्रोतहरुले जनाएका छन् । ‘दुई अध्यक्षबीच कुनै ठोस सहमति त बनेको छैन । तर, पार्टी विभाजनको खतरा टरेको छ । ढिलोचाँडो एउटा निकास निस्कन्छ,’ बिहीबार साँझ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका सचिवालयका एक सदस्यले भने, ‘अब पार्टीचाहिँ फुट्दैन ।’ उनले विभाजन रोकिनुको कारण भने केही खुलाएनन् । १० असारबाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच प्रधानमन्त्रीको राजीनामा लिएर विवाद छ । बुधबार स्थगित स्थायी कमिटी बैठक शुक्रबार बस्दै छ । तर, त्यसअगाडि ओली र प्रचण्डबीच संवादको कार्यसूची छ । बिहीबार दुई अध्यक्षबीच टेलिफोन संवाद भएको एक नेताले बताए । ‘उहाँहरू भोलि बस्नुहुन्छ र बैठकबारे निर्णय लिनुहुन्छ,’ बिहीबार साँझ प्रचण्डसँग भेट गरेका स्थायी कमिटीका एक सदस्यले भने, ‘सहमति बनेको छैन तर पार्टी फुट्दैन ।’ बालुवाटारमा बुधबार भएको ओली र प्रचण्डबीचको छलफल तिक्ततामा रूपान्तरण भएपछि विभाजनको दिशा पक्रिएको आशंका पार्टीभित्रै पैदा भएको थियो । तर, शीर्ष तहमा चुलिएको अन्तरविरोधका कारण ठूलो आन्तरिक संकटको सामना गरिरहेको नेकपामा बिहीबारबाटै ‘नाटकीय रूपमा’ ‘ब्रेक’ लागेको छ । योबीचमा सोमबार, मंगलबार र बुधबारको वार्तामा ओली र प्रचण्डबीच खुलेर मन माझामाझ भएको छ । शुक्रबारको बिहानको भेटवार्ताबाट छलफल सकारात्मक दिशामा अघि बढेको सन्देश दिने ओली र प्रचण्डको तयारी छ । १७ असारयता चारपटक स्थगित स्थायी कमिटी बैठक संवादबाटै निकास खोज्ने उद्देश्यले शुक्रबार बिहान ११ बजे बोलाइएको छ । पार्टी विभाजन हुँदा त्यसको दोष व्यहोनुपर्ने शीर्ष नेतृत्वको बुझाइ, राष्ट्रपति विद्यादेवी भण्डारीको चासो, पार्टीभित्रै विभाजनका विरुद्ध उठेको युवा नेताहरूको आवाज र चिनियाँ राजदूतको दौडधुपले नेकपाको संकट टरेको केही नेताहरूको विश्लेषण छ ।यो समाचार आजको नयाँ पत्रिकामा छ ।

कांग्रेस सांसद छन्त्यालको निधन

काठमाडौंः नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । मुट सम्बन्धी समस्याबाट पीडित ६६ वर्षीया सांसद छन्त्यालको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको हो । हाल प्रतिनिधिसभामा समानुपातिक सांसद रहेकी छन्त्याल २०७० सालको संविधानसभामा पनि सभासद थिइन् । बाग्लुङको तमानखोला गाउँपालिका वडा नं. ५ खुंखानीमा जन्मिएकी उनी बाग्लुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङमा बसोबास बसोबास गर्दै आएकी थिइन् । उनको बुधबार दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जनाएको छ ।

भीमदत्त नगरपालिकाको नीति कार्यक्रम र बजेट बिहीबार आउँदै

महेन्द्रनगरः कञ्चनपुरको भीमदत्त नगरपालिकामा बिहीबार आगामी आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउने तयारी गरिएको छ । स्थानीय सरकारले असार १० गतेसम्म नीति, कार्यक्रम तथा बजेट ल्याउनु पर्ने कानुनी प्रावधान अनुसार भीमदत्तले असार ४ गते नगर सभा गरी बजेट ल्याउन लागेको हो । स्थानीय तह निर्वाचनपछि भीमदत्तको यो सातौँ नगर सभा हो । यो नगर सभाबाट आगामी आव २०७७/०७८ को नीति, कार्यक्रम तथा बजेट पारित गरिनेछ । यस ३ नगर सभाबाट बजेट सहितको नीति कार्यक्रम पारित गरिएको थियो । कोरोना भाइरस संक्रमण महामारीलाई सम्बोधन हुने गरी नीति तथा कार्यक्रम तयार गरिएको छ । भीमदत्त नगरपालिका गत माघदेखि कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि संघर्षरत छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले कोरोना महामारीका कारण उत्पन्न संकटलाई मध्यनजर गरी नीति, कार्यक्रम र बजेट तयार गरिएको बताए । ‘यो वर्ष कोरोना महामारीका बिच सकिएको छ, कोरोना महामारीका असर दिर्घकालिन छन्, शिक्षा, स्वास्थ्य, कृषि लगायतलाई प्राथमिकता दिइएको छ’ उनले भने, ‘समग्रमा कोरोना महामारी नियन्त्रण, रोकथामलाई नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिइएको छ ।’ नगर प्रमुख विष्टले कोरोना महामारीका कारण उत्पन्न संकट हटाउनका लागि उत्पादनलाई बजेटमा प्राथमिकता दिइएको बताए । नीति तथा कार्यक्रममा केही नयाँ कार्यक्रम समेट समावेश गरिएका छन् । एक सहकारी एक उत्पादनको कार्यक्रमलाई नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिएको छ । भीमदत्तका नगर प्रमुख विष्टले नीति, कार्यक्रम र बजेट सम्बन्धि राजनीतिक दल, पूर्व जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख लगायतका विभिन्न क्षेत्रका सरोकारवालासित छलफल गरी सुझाव लिएका छन् । सबै क्षेत्रका सुझावका आधारमा नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिइएको छ । भीमदत्तको आगामी वर्षको बजेटको आकार पनि बढ्ने भएको छ । चालू आर्थिक वर्षका लागि गत वर्ष पाँचौ नगर सभाबाट १ अर्ब ३० करोड बजेट विनियोजन गरिएको थियो । स्थानीय तह निर्वाचनपछि नगर प्रमुख विष्टले पहिलो वर्षमै बजेटको आकार वृद्धि गरेका थिए । झण्डै पाँच करोडको बजेटलाई पहिलो वर्षमा १३ करोड पुगाइएको थियो । त्यसपछि २ वर्षमा निरन्तर बजेटको आकार बढेको छ । बिहीबार विहान सुरु हुने नगर नगर सभामा संघीय र प्रदेश सरकारका सांसदहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि नगर सभाका अन्य कामकाज सुरु गरिने नगर प्रवक्ता हिमाल चन्दले जानकारी दिए ।

प्रचण्डद्वारा ईदुल फित्रको शुभकामना व्यक्त

काठमाडौंः नेकपा अध्यक्ष प्रचण्डले मुस्लिम समुदायको महान् चाड ईदुल फित्रको अवसरमा शुभकामना दिएका छन् । प्रचण्डद्वारा शुभकामना सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुक रहेको र विविधता भित्रको एकता नै मौलिक विशेषता र पहिचान रहेको उल्लेख गरिएको छ । बहुधर्म र संस्कृतिले नै समाजलाई पारस्पारिक सम्मान, सहिष्णुता र सद्भावसहित अगाडि बढ्न अभिप्रेरित गर्ने प्रचण्डले बताएका छन् । सबैलाई कोरोनाविरुद्धको संघर्षमा एकतावद्ध प्रतिरोधका लागि सबैमा आग्रह गर्दै प्रचण्डले ईदुल फित्र चाडको अवसरमा मुस्लिम समुदायमा सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन् ।

भारतले सत्य स्वीकार्नैपर्छ, सीमा विवादमा चीनलाई मुछ्नु अनावश्यकः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौंः परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारत सीमा विवादमा चीनलाई घिसार्नु अनावश्यक भएको बताएका छन् । रिपब्लिका दैनिकलाई दिएको एक अन्तर्वार्तामा मन्त्री ज्ञवालीले सीमा विवादलाई बिना आग्रह, पूर्वाग्रह संवाद र विश्वासयोग्य वातावरणमा हल गर्नु जरुरी छ । उत्तेजना या आवेगमा आएर सीमा समस्या समाधान हुन नसक्ने उनले बताए । नेपाल र भारतीबीचको सीमा विवाद नयाँ नभएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले यो विषयलाई चाँडै हल गर्ने समेत जनाए । “हामी इतिहासको बोझ हटाउन चाहन्छौं ।” मन्त्री ज्ञवालीले भने, “भारतले पनि यो कुरा बुझ्नु जरुरी छ ।” नयाँ नक्सा प्रकाशित गरेपछि भारतसँग औपचारिक वार्ता या कुराकानी नभएपनि बिभिन्न च्यानलमार्फत कुराकानी भइरहेको उनले बताए । भारतीय मिडियाहरुले यो विषयलाई अतिरञ्जित गरेको उनको टिप्पणी थियो । भारतसँग बारमबार सीमा विवाद हल गर्न वार्ताका लागि अनुरोध गरिएपनि त्यो दिशामा भारत सरकारले खासै उत्साह नदेखाएको उनको आरोप छ । २०१५ मा चीन र भारतले व्यापारिक नाका खोल्दा र नोभेम्बर २, २०१९ मा भारतले नयाँ नक्सा जारी गर्दा समेत नेपालले औपचारिकरुपमा भारतसँग बिरोध व्यक्त गरेको उनले स्मरण गरे । “हामीले दुबै देशहरूलाई बारम्बार भन्यौं कि भूमि हाम्रो हो। यो भावनाबाट उत्पन्न भएको थिएन, ऐतिहासिक तथ्य र प्रमाणमा आधारित थियो। ” अन्तर्वार्तामा उनले भनेका छन्, “हामीले धेरै पटक वार्ताको लागि अनुरोध गरेका थियौं। हामीले नयाँ दिल्लीमा वार्ताको लागि दुईवटा सम्भावित मितिहरू पनि पठायौं, तर कुनै प्रतिक्रिया आएको छैन।” “ऐतिहासिक तथ्यहरूले उक्त क्षेत्र नेपालको भएको प्रमाणित गरेको बताउँदै ज्ञवालीले नेपालको बिरोधपछि भारतबाट उक्त क्षेत्रमा कुनै गतिविधि नगर्ने आशा राखेका बताए । “हामीले यस क्षेत्रमा यथास्थिति आशा गरेका थियौं। यस महामारीको बिचमा लगभग सडक परियोजनाको उद्घाटन हुनेछ भनेर कसैले पनि आशा गरेका थिएनन्।” उनले भनेका छन्, “अहिले हामीले सडकको वैधतामाथि प्रश्न उठाएका छौं र त्यो बमोजिम विरोध गरेका छौं, र यसैले नेपालको स्थिति स्पष्ट छ।” भारतीय मिडियाको विकृत विचार भारतका कतिपय मिडियाले चीनले उक्साएर नेपालले बिरोध गरेको कुरा गर्नु विकृत मानसिकता भएको ज्ञवालीले बताएका छन् । नेपालको तुलनामा भारतसँग चीनको लामो सीमा रहेको तथा भारत र चीनको वार्षिक व्यापार ८० बिलियन भन्दा बढी भएको तथ्य भारतीय मिडियाले नहेरेको उनले बताए । भारत र चीनले नाथुला पासमा व्यापारिक नाका खोल्ने निर्णय गरेको तथ्य मिडियाले बिर्सेको उनले टिप्पणी गरे । नेपाल चीन सम्बन्धमा भारतीय मिडियाले उठाएका प्रश्नहरु पूर्वाग्रह र पागलपन मात्रै भएको उनको जिकिर छ । नेपालका निकट दुई छिमेकी चीन र भारतसँग समानस्तरमा सम्बन्ध विकास गर्न मन्त्री ज्ञवालीले जोड दिएका छन् । “हामीसँग दुई छिमेकीहरू छन्, र हामीले अर्को ढोका खोल्नको लागि ढोका बन्द गर्न गर्न सक्दैनौं।” उनले भनेका छन्, “हाम्रो लागि दुबै छिमेकीहरू समान महत्वका छन्। तिनीहरूको फरक गतिशीलता छ, तर एक अर्को द्वारा प्रतिस्थापन गर्न सकिदैन।” नेपाली भूमि छिमेकीविरुछ प्रयोग गर्न नदिने नीतिमा नेपाल सधै दृढ रहेको समेत उनले बताए । चीनलाई घिसार्नु अनावश्यक “म नेपाल र भारत बीचको सीमा विवादमा अरु देशहरुलाई घिसार्ने विचारलाई पूर्णरुपले अस्वीकार गर्छु” मन्त्री ज्ञवालीले भनेका छन् “त्रिदेशीय बिन्दु निक्र्यौल गर्ने बेला चीनसँग वार्ता हुन्छ तर त्यो पछिको कुरा हो ।” भारत र चीन दुबैलाई यस मुद्दामा आफ्नो स्थिति स्पष्ट रुपमा भनेका उनले बताए । छौं। चीन र भारतले व्यापारिक नाका खोल्ने निर्णय गर्दा त्रिदेशीय बिन्दुमा नेपालको उपस्थिति र अनुमतिबिना हामी यस्ता सम्झौताहरू स्वीकार गर्दैनौं भन्ने तथ्य दुब दुबै छिमेकीहरूलाई बुझ्न अनुरोध गरेको र यो मुद्दा अझै हल नभएको उनले बताए ।  तर भारत र नेपाल सीमा विवादको विषय भने द्विपक्षीय मुद्दा भएको उनको ठहर छ ।

सीमा बन्द गरेको ५ दिनमा गड्डाचौकी नाकाबाट २ हजार नेपालीकाे आवागमन

महेन्द्रनगरः कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले नेपाल–भारत आवागमन रोकेपनि पश्चिमी सिमानाका गड्डाचौकी भएर भित्रिने मानिसको संख्या रोकिन सकेको छैन् । आवागमन बन्द पश्चात पाँच दिनको अवधिमा गड्डाचौकी नाकाबाट एक हजार ८ सय ४२ जना भित्रिएका छन् । सुदूरपश्चिम प्रदेश र भीमदत्त नगरपालिकाले कोरोना भाइरसको स्क्रिनिङका लागि स्थापना गरेको हेल्थ डेस्कका अनुसार नाका भएर स्वदेश फर्किने क्रम रोकिएको छैन् । तथ्याङक अनुसार आवागमन प्रतिबन्धको पहिलो दिन चैत्र १० गते ९ सय ८५, चैत्र ११ गते ५ सय १९, चैत्र १२ गते एक सय २५, चैत्र १३ गते एक सय ९६ र चैत्र १४ गते १७ जनाको चेकजाँच गरिएको छ। गड्डाचौकी नाका भएर भित्रिनेहरुको क्रम नरोकिएको हेल्थ डेस्ककी अनमी निर्मला जोशीले बताइन् । गत सोमबारदेखि सरकारले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै भारत र चीनसँग जोडिएका सबै नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको थियो।

महावीर पुनले कोरोनाको उपचार गर्ने चिकित्सकका लागि पीपीई बनाउने

काठमाडौंः राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले कोरोना भाइरस (कोभिड–१९) को जाँच र उपचार गर्दा चिकित्सकले लगाउनुपर्ने सुरक्षाका सामान अर्थात् पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) बनाउने भएका छन् । त्रिवि शिक्षण अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पीपीई बनाउन आग्रह गरेपछि तत्काललाई ४ सय थान पीपीई बनाउने पुनले बताए । उनले सामान उपलब्ध भइसकेकाले अब त्यसलाई सिलाउने व्यक्ति खोजेर सिलाइने जानकारी दिए । कोरोनाको जाँच र उपचारमा चिकित्सकले लगाउने पीपीईको अभाव रहेको समाचार सार्वजनिक भएपछि पीपीई बनाउन अग्रसर भएको उनले बताएका छन् ।

कोरोनाका कारण स्थगित भएका महत्वपूर्ण क्रिकेट प्रतियोगिता (सूचीसहित)

काठमाडौंः  गत डिसेम्बरबाट चीनको वहानबाट फैलिएको कोरोना भाइरसले अहिले विश्व नै तनावमा छ । व्यापकरुपमा फैलिरहेको यो भाइरसका कारण विभिन्न क्षेत्रमा ठूलो असर परिसकेको छ । कोरोनाको प्रभाव विश्व क्रिकेटका महत्वपूर्ण प्रतियोगितामा पनि परेको छ । यसको जोखिमलाई मध्यनजगर गर्दै केही पछिल्लो दिनमा लगातार महत्वपूर्ण क्रिकेट प्रगियोगिता स्थगित भइरहेका छन् । नेपालको एभरेष्ट प्रिमियर लिग (इपीएल) देखि विभिन्न देशबीचका सिरिज रद्द भइसकेका छन् । कोरोनाको कारण २९ मार्चदेखि सुरु हुने विश्व क्रिकेटको लोकप्रिय इन्डियन प्रिमियर लिग (आइपीएल) १५ अप्रिलसम्म स्थगित गरिएको छ । कोरोनाको असरका कारण अष्ट्रेलिया र न्यूजिल्याण्ड तीन खेलको सिरिज दर्शकबिनाको मैदानमा खेलिरहेका छन् । उता पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पीएसएल) खेलिरहेका केही विदेशी खेलाडी कोरोनाको जोखिमले स्वदेश फिर्ता भइसकेका छन् । बिहीबारसम्म कोरोनाका कारण स्थगित भएका महत्वपूर्ण क्रिकेट प्रतियोगिता– १. इन्डियन प्रिमियर लिग (आइपीएल) २. एभरेष्ट प्रिमियर लिग (इपीएल) ३. रोड सेफ्टी वर्ल्ड टी–२० सिरिज ४. इंग्ल्याण्ड र श्रीलंकाबीचको टेष्ट सिरिज ५. भारत र दक्षिण अफ्रिकाबीचको वानडे श्रृंखला ६. अष्ट्रेलिया र दक्षिण अफ्रिका महिलाबीचको सिरिज ७. आइसीसी विश्व क्रिकेट लिग–२ वानडे सिरिज

दोलखाबाट घुस लिएर काठमाडौं आउँदै गरेकी वन अधिकृत पक्राउ

काठमाडौंः डिभिजन वन कार्यालय दोलखामा कार्यरत डिभिजन वन अधिकृत (दशौं तह) सन्तमाया श्रेष्ठ घुससहित पक्राउ परेकी छन् । उनी काठ व्यापार गर्ने व्यापारीहरुसँग घुस रकम उठाएर सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउदैं गरेको अवस्थामा दुई लाख तीन हजार पाँच सय रुपैयाँसहित पक्राउ परेकी हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले श्रेष्ठकोलाई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर चोकबाट पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

कोरोना त्रासः ‘भारत भ्रमणमा नेपाली नागरिकलाई कुनै रोक छैन’

काठमाडौंः भारतले कोरोना भाइरस (कोभिड–१९) को बढ्दो प्रकोपलाई बिचार गरी सबै खाले भ्रमण भिसामा रोक लगाए पनि नेपाली नागरिकका लागि रहिआएको यात्रा प्रबन्धलाई यसले कुनै प्रभाव नपार्ने भएको छ । शुक्रबार भारतीय राजदूतावासले भारत सरकार स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलाइ उदृत गर्दै जारी गरेको विज्ञप्तीमा नेपाली नागरिकका लागि रहिआएको यात्रा प्रबन्धलाई यसले कुनै प्रभाव पार्ने छैन भनिएको छ । भारत सरकार स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयद्वारा जारी ‘रिभाइज्ड ट्राभफल एडभाइजरी’ र अध्यागमन विभागद्वारा जारी ‘भिसा रेस्ट्रिक्सन रिलेटेड टु कोभिड–१९’ का सम्बन्धमा यी उपायहरु नितान्त जनस्वास्थ्य तथा सुरक्षासँग सम्बन्धित छन् । हाललाई यी उपायहरुले हवाई तथा स्थल मार्गद्वारा भारततर्फ यात्रा गर्ने नेपाली नागरिकलाई कुनै असर गर्ने छैन । अर्को शब्दमा नेपाली नागरिकका लागि रहिआएको यात्रा प्रबन्धलाई यसले कुनै प्रभाव पार्ने छैन, उल्लेख छ । पछिल्लो समय विश्वव्यापी रुपमा फैलिदै गएको कोभिड–१९ ले जनस्वास्थ्य तथा सुरक्षामा निम्त्याएको जटिलतालाई ध्यानमा राख्दै, विदेशी एवम् भारतीय नागरिकहरु भारत प्रवेश गर्दा र भारतबाट बाहिरिदा अपनाउनु पर्ने केही स्वास्थ्य सुरक्षा उपायहरु लागू गरिएका छन् । भारतीय तथा विदेशी नागरिकको यात्रा तथा आवतजावतमा न्यूनतम असुविधा कायम गरी उनीहरुको स्वास्थ्य तथा सुरक्षा सुनिश्चित गर्नु नै सो स्वास्थ्य सुरक्षा कदमको मुख्य अभिप्राय हो । समयक्रमसँगै प्रकोपको अवस्था हेरी यी उपायहरुको निरन्तर समीक्षा गरिने विज्ञप्तिमा उल्लेख छ । तर सबै नाकाहरुमा स्वास्थ्य परीक्षणलाई थप प्रबल बनाइनेछ र भारतीय, नेपाली वा तेस्रो मुलुकका यात्रुमा कोभिड–१९ को लक्षण देखिएमा वा माथि परिपत्रमा उल्लिखित कोभिड–१९ प्रभावित ७ राष्ट्रहरुमध्ये कुनै एकको हालै भ्रमण गरेको पाइएमा त्यस्तो व्यक्तिलाई क्वारेन्टाइनमा राख्न सकिनेछ, शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाक भाइरसको संक्रमण विश्वव्यापी भएको घोषणा गरेसँगै भारतको सो निर्णय बिहिबार आएको थियो । भारतको सो निर्णयको कार्यान्वयन शुक्रबारबाट हुने त्यो अप्रिल १५ तारिक सम्म कायम रहने छ ।

चैत्र ७ गतेसम्मका लागि संसद बैठक स्थगित

काठमाडौंः संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी चैत्र ७ गते बस्नेगरि स्थगित भएको छ । आजको संसद बैठकमा सांसदहरुले संसददेखि विद्यालय बन्द गर्न आग्रह गरेका थिए । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना भाइरस विश्वभर प्रकोपका रूपमा फैलिरहेको भन्दै संसद बैठक रोक्न माग गरेका थिए । उनले संसद र स्कुलहरू बन्द गर्नुपर्ने दोहोर्याए । उनले भने, ‘संसद चलाइराख्नुको तुक छैन । स्कुल बन्द गर्नुपर्छ । कोरोना भाइरस संक्रमण फैलियो भने नेपालले रोक्न सक्दैन ।’ सरकारले उच्च सतर्कता अपनाउन नसकेको उनले बताए । उनले भने, ‘सरकारको एक्सन आउनुर्पयो । भीडभाड हुने संसद र स्कुल बन्द गर्नुर्पयो ।’

शनिबारसम्म हुरीबतास, चट्याङ र असिना पानी पर्ने सम्भावना

काठमाडौंः आज पश्चिमसहित मध्य र पूर्वका पहाडी भेगमा हुरीबतास, चट्याङ र असिना पानी पर्ने सम्भावना रहेको छ । मौसमविदका अनुसार पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बिहीबार पश्चिमका केही र मध्य तथा पूर्वका थोरै पहाडी भेगमा हुरीबतास, चट्याङ र असिनापानी पर्ने सम्भावना रहेको छ । मध्य र पूर्वमा भने एक ठाउँमा पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्न सक्ने मौसमविद् मीनकुमार अर्यालले बताए । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले आउँदो शनिबारसम्म नै केही ठाउँमा हुरीबतास, चट्याङ र असिनापानी पर्ने सम्भावना रहेको उनले बताए । प्रि–मनसुन सुरु भइसकेकाले अब बिहान मौसम खुले पनि दिउँसोपछि बदली भएर बेलुकाको समयमा हुरीबतास, चट्याङ र असिना पानी पर्नु स्वभाविक भएको मौसमविद्ले बताएका छन् ।

प्रहरी नायब निरीक्षककै प्रमाणपत्र नक्कली

काठमाडौंः नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्कीको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र फेला परेको छ । उनले मगध विश्वविद्यालय बोधगया भारतबाट बी.कम. उत्तीर्ण गरेको प्रमाणपत्र पेश गरी बढुवा नियुक्ति लिएको र उक्त शैक्षिक प्रमाणपत्र प्रमाणीकरण विवरणबाट झुठ्ठा भन्ने पुष्टि भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रसेवक ओहोदामा बहाल रहने र सो हैसियतले लाभ वा सुविधा पाउने उद्देश्यले उक्त झुठ्ठा योग्यताको प्रमाणपत्र पेश गरेको देखिएपछि सई कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदावीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ । शान्ति विद्यागृह मावि लैनचौर काठमाडौंमा कार्यरत माध्यमिक शिक्षक तृतीय (शिक्षक) दिपकबाबु अर्यालविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी स्थायी शिक्षक सेवामा रहेको भन्दै मुद्दा दायर गरेको हो । यो खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

हुम्लामा कोरोनाको आशंका, चिकित्सक टोली खटाइयोे

खलङ्गाः कोरोना संक्रमणको बिषय बाहिर आएपछि जुम्लाबाट चिकित्सकको टोली हुम्लाका लागि खटाईएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले हुम्लाको अवस्थाको वारेमा वुझ्नका टोली खटाएको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले जानकारी दिए । हुम्लामा चीनको सिमा नजिकैबाट आएका एक जनालाई कोरोनाको संक्रमण भएको हुन सक्ने सूचना पाएपछि चिकित्सकीय टोली खटाईएको निर्देशक रावलले बताए । उनका अनुसार प्रतिष्ठानका डा. अशोक गौतम सहितको तीन जनाको टोली खटाईएको छ । चीनमा रहेका एक नेपाली कोरोनाको डरको त्रासले भागेर नेपाल आएका हुम्ला सिमकोट गाउँपालिका ३ लिमाटाङ्का एक लामा थरका व्यक्तिलाई कोरोनाको आशंकामा अहिले स्वास्थ्य चौकीमै निगरानी गरि राखिएको भन्ने खबर पछि प्रतिष्ठानले त्यहाँ चिकित्सक टोली खटाएको हो । यसैगरी कर्णाली प्रदेश सरकारले भिन्नै कोरोना रोगथाम डेक्स राख्न निर्देशन दिएको छ ।