प्रियंका र आयुष्मान रियलमा इन्गेजमेन्ट, रिलमा विवाहको मण्डपमा देखिँदै

काठमाडौं, चैत १४ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुश्मान देशराज जोशीले विवाह गरेका छन् ।

केही समअगाडि इन्जगेजमेन्ट गरेका यो जोडीले अहिले रियल नभएर रिलका लागि विवाह गरेका हुन्। रियल विवाहको मिति भने उनीहरुको अहिले फिक्स भएको छैन ।

रिलका लागि भने उनीहरुले गायक सरोज ओली र मेलिना राईको ‘अर्को जुनी खै कुन्नी…’ गीतको भिडियोका लागि गरेका हुन् । औपचारिक विवाहको टुंगो नलाग्दै प्रियंका र आयुश्मानको चर्चित जोडीको विवाह अहिले पर्दामा उतारिएको छ । भिडियोमा वैवाहिक कार्यका विविध दृश्यहरु समेटिएको छ । मेहन्दी, हल्दीदेखि विवाह मण्डपसम्म प्रियंकालाई डोलीमा चढाएर लगिएका दृष्यसमेत म्यूजिक भिडियोमा समेटिएका छन् ।

दिनेश थपलियाको शब्द र दीपक शर्माको संगीत रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् । कविराज गहतराजको निर्देशन रहेको म्यूजिक भिडियोको छायाँकन सञ्जय लामा, सम्पादन सन्देश शाह, मिक्सिङ श्याम स्वेत रसाइली र कलर संयोजन रेनिस फागोले गरेका हुन् ।

चलचित्रमा प्रयोग हुने प्रविधिबाट पार्क भिलेज रिसोर्ट, काठमाडौं गेष्ट हाउसलगायतका स्थानका आकर्षक लोकेसनमा भिडियो छायाँकन गरिएको छ ।

आइपीएलः १२ वर्षपछि पन्जाबसँग ‘घरेलु मैदान’ मा राजस्थानको हार

काठमाडौं, चैत १२ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स इलेभेन पञ्जावले विजयी शुरुवात गरेको छ । सोमबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १४ रनले हराउँदै आइपीएलमा पन्जाबले विजयी शुरुवात गरेको हो । जयपुरस्थित राजस्थानको ‘होम ग्राउण्ड’ मा भएको खेलमा क्रिश गेलले उत्कृष्ट ब्याटिङ गरेपछि पञ्जावले जित निकाल्न सफल भयो ।  राजस्थानविरुद्ध पन्जाबले उसकै घरेलु मैदानमा १२ वर्षपद्धि जित निकाल्न सफल भएको हो । टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । उसका लागि क्रिश गेलले विस्फोटक ब्याटिङ गरे । उनले ४७ बलमा ८ चौका र ४ छक्काको मद्दतमा ७९ रन बनाए । यस्तै सर्फराज खानले अविजित ४६ रन बनाए । उनले २९ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए । मायांक अग्रवालले २२, निकोलस पुरनले १२, केएल राहुलले ४ र मन्दीप सिंहले नटआउट ५ रन बनाए । बलिङतर्फ राजस्थानका बेन स्टोक्सले २,  कृष्णप्पा गौतम र धवन कुलकर्णीले एकएक विकेट लिए । १८५ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा ९ विकेट गुमाउँदै १७० रन मात्र बनाउन सक्यो । उसका लागि जोस बट्लरले १० चौका र दुई छक्का प्रहार गर्दै ४३ बलमा ६९, अजिन्क्या रहाणेले २७ सन्जु स्यामसनले ३०, स्टेभेन स्मिथले २० रन जोडे । अन्य खेलाडीको प्रदर्शन राम्रो रहन सकेन । राजस्थानलाई हराउनका लागि स्याम कुरान, मुजिब उर रहमान, अंकति राजपूतले दुईदुई र विचन्द्र आश्विनले एक विकेट लिए । आइपीएलमा आज सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स भिड्दै छन् । खेल नेपाली समयअनुसार साँझ ८ः१५ बजे दिल्लीमा हुँदैछ । यी दुई टिमले पहिलो खेलमा जित दर्ता गरिसकेका छन् ।

तीन दिनसम्म वर्षा हुने, उच्च पहाडी भागमा हिमपातको सम्भावना

काठमाडौं, चैत ११ । आजदेखि बुधबारसम्म पानी पर्ने र हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विमागका अनुसार मेडिटेरानियन सीबाट नेपाल आएको जलवाष्पयुत्त हावाका कारण सोमबार पश्चिमी क्षेत्रमा, मंगलबार देशभरी र बुधबार पूर्वी क्षेत्रमा वर्षा हुनेछ । आज देशको पश्चिमी भूभागमा र अन्य पहाडी भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली रहने र पश्चिमी भेगका केही स्थान, अन्य पहाडी भेगका केही स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना रहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् । यस्तै पश्चिमी उच्च पहाडी र हिमाली भेगका केहि स्थानहरुमा र मध्य र पूर्वी उच्च पहाडी र हिमाली भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । निरन्तर झरी पर्ने नभई वर्षा हुने र रोकिने क्रम हुने, हावाहुरी सहित पानी पर्ने संभावना रहेको मौसमविद्को अनुमान छ । आज राती पनि देशको पहाडी भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहने र पश्चिमी भेगका केहि स्थान तथा अन्य पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना रहेको विभागले जनाएको छ । भोलि पनि देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रहि पहाडी भूभागहरूमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ । उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना छ । वर्षा हिमपात

पाकिस्तानले दियो अष्ट्रेलियालाई २८५ रनको लक्ष्य, रिजवानको शतक

काठमाडौं, चैत १० । अष्ट्रेलिया विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा पाकिस्तानले २८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८४ रन बनायो । उसका लागि मोहम्मद रिजवानले शतक प्रहार गरे । उनले ११५, कप्तान सोयव मलिकले ६०, हरिस सोहेलले ३४, शन मसूदले १९, फहिम असरफले १४, उमर अकमलले १६ र अमद वसिमले नटआउट १९ रन बनाए । बलिङमा जय रिचडसन, नाथन कल्टरले २–२, नाथन लायन, एडम जम्पा र आरोन फिन्चले एक–एक विकेट लिए । यो सिरिज यूएईमा भइरहेको छ । पाँच खेलको सिरिजमा अष्ट्रेलियाले १–० ले अग्रता बनाएको छ ।

७० पुगेका झलनाथ भन्छन्, ‘म ५० वर्ष जस्तो देखिन्छु’

काठमाडौं, चैत १० । नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल चैत ५ देखि ७० वर्षमा लागे। उमेर सात दशक पुगेको अवसरमा उनले नयाँ जुक्ति निकाले– एकल शब्द रचनामा दोस्रो गीति एल्बम बजारमा ल्याउने। यसकै अवसर जुरेको थियो, शनिबार। कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको हलमा कार्यक्रम आयोजना गरिएको थियो । प्रमुख अतिथि थिए, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली। पार्टीका शीर्ष नेताको बाक्लो उपस्थितिसँगै खचाखच दर्शकका अगाडि खनाल बोले, ‘म ७० वर्ष पुगें । तपाईंहरूलाई विश्वास लाग्दैन होला तर म अझै ५०–६० तिरै छु जस्तो लाग्दै छ।’ उनी २००६ सालमा इलाममा जन्मिएका हुन् । उनलाई ७० वर्षमा पाइला टेकेको विश्वास लागेको रहेनछ । उनले आफ्ना नौ गीत संग्रहित ‘परिवर्तनका स्वरहरू–२’ लोकार्पण कार्यक्रममा ‘तन्नेरीपन’ देखाउन खोजे। ‘म अझ कम्तीमा १५ वर्ष युवा अवस्थामै रहन्छु जस्तो लाग्छ’, उनले भने । उनले यसो भनिरहँदा हल हाँसोले गुञ्जिएको थियो। खनालपछि बोल्ने पालो आयो प्रधानमन्त्री ओलीको । उनी के कम उनले सुरुमै खनालको युवा मनको प्रशंसा गदै दर्शकलाई हँसाए। ‘गीतकार मात्रै होइनन् जेएन कमरेड, यो कार्यक्रमका पनि रचनाकार हुनुहुन्छ’, उनले भने, ‘युवा मनका, जन्मले जन्तरे, कवि÷गीतकार झलनाथ खनाल नेता त भन्नै परेन । पार्टीका पूर्वअध्यक्ष भइसक्नुभएका, पूर्वप्रधानमन्त्री भइसक्नुभएका र लामो समय पार्टीलाई नेतृत्व गरेका व्यक्ति हुनुहुन्छ।’ यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। खनालले २०६२÷६३ को आन्दोलनपछि ‘अभूतपूर्व अवसर’ आएको उल्लेख गरेका थिए । सरकारको नेतृत्वकर्ताले राजनीतिक र आर्थिक क्रान्तिसँगै सांस्कृतिक क्रान्ति पनि अघि बढाउनुपर्ने सुझाव उनले दिएका थिए । खनालको गीति एल्बम जनसांस्कृतिक महासंघले बजारमा ल्याएको हो । एल्बमका गीतमा मिलन तिमल्सिनाले संगीत भरेका छन । यम बराल, खुमन अधिकारी, पूर्णकला बीसी, मिलन नेवार, धीरेन्द्र लकान्द्री, अञ्जु घिमिरे, दीपक लिम्बूलगायतले स्वर दिएका छन्।

२६८ रोजगार संयोजकका लागि १० हजारद्वारा आवेदन

काठमाडौं, चैत १० । रिक्त २६८ रोजगार संयोजकका लागि ९ हजार ८७४ दर्खास्त परेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रत्येक स्थानीय तहअन्तर्गत सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रही कामकाज गर्ने गरी करारमा पदपूर्ति गर्ने प्रयोजनका लागि गत फागुन ३० गतेदेखि आवेदन माग गरेको थियो । शनिबार बेलुका ५ बजेसम्म प्रदेश नं १ बाट दुई हजार २५९, प्रदेश नं २ बाट एक हजार ४२२, प्रदेश नं ३ बाट दुई हजार १२०, गण्डकी प्रदेशबाट ६३२, कर्णाली प्रदेशबाट एक हजार ८९७ र सुदूरपश्चिमबाट एक हजार ५४४ जनाको दर्खास्त परेको प्रधानमन्त्री रोजगार कार्यक्रमले जनाएको छ । श्रम मन्त्रालयले १० दिनभित्र प्राप्त दर्खास्तमध्येबाट स्वचालित कम्प्युटर प्रणालीबाट रिक्त पद सङ्ख्याको तीनगुणा बराबर आवेदकको योग्यताक्रमको प्रारम्भिक सूचि प्रकाशन गरिने जनाएको छ । प्रारम्भिक छनौटमा परेको व्यक्तिबाट कम्प्युटर प्रणालीबाट परीक्षा लिइनेछ । परीक्षा उत्तीर्ण हुने रोजगार संयोजकले स्थानीय तहमा स्थापना गरिएको रोजगार सेवा केन्द्रबाट बेरोजगार व्यक्तिको सूची सङ्कलन गरी उनीहरुलाई रोजगारीको अवसरसँग जोड्ने छन् । रासस

बस र ट्रक ठोक्किँदा २१ घाइते, ४ जनाको अवस्था गम्भीर

कपिलवस्तु, चैत ९ । कपिलवस्तु र दाङको सीमा क्षेत्र धानखोलामा बस र ट्रक आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन्। दुर्घटनामा बसका चालक बर्दिया बारबर्दिया ४ बस्ने २६ वर्षीय खिमराज बिकसहित ४ जनाको अवस्था गम्भीर रहेको छ । शनिबार दिउँसो कपिलवस्तुको शिवराज नगरपालिका १, धानखोला क्षेत्रमा बुटवलबाट नेपालगंजतर्फ जाँदै गरेको ना ७ ख ६७४ नम्बरको बस र ना ४ ख ८३८५ नम्बरको ट्रक आपसमा ठोक्किएका थिए । दुर्घटनामा शिवराज नगरपालिका ५ का ५८ वर्षीय राम तुल्लाह मुसलमान, २५ वर्षीया कल्पना सुनार, १५ वर्षीय भीम सुनार घाइते भएका छन्। दुर्घटनामा दाङ घोराही उपमहानगरपालिकाका २५ वर्षीया सपना सुनार, प्युठान गौमुखी नगरपालिकाका ७५ वर्षीय खडकबहादुर वि।क, हुमे सुनार, २५ वर्षीया रतकुमारी, देवी चौधरी लगायत २१ जना घाइते भएका छन्। दुर्घटनामा परेका १७ जनालाई बुटवलका विभिन्न अस्पतालमा उपचारका लागि रिफर गरिएको प्रहरी नायव उपरीक्षक रवी रावलले जानकारी दिए । घटनास्थलबाट बस र ट्रकलाई क्रेनमार्फत हटाउने प्रयास भइरहेको छ ।

निर्मला हत्या प्रकरणः थुनछेक बहस सकियो, आइतबार फैसला

कञ्चनपुर, चैत ८ । बलात्कारपछि हत्या गरिएकी जिल्लाको भीमदत्त नगरपालिका १३ की बालिका निर्मला पन्तको हत्या प्रकरणमा बर्खास्तमा परेका तत्कालीन नेपाल प्रहरीका एसपी डिल्लीराज विष्टको जिल्ला अदालत कञ्चनपुरमा शुक्रबार थुनछेक बहस सकिएको छ। मंगलबार अदालतमा निवेदनसहित आफैँ उपस्थित भएका विष्टसँग यातनासम्बन्धी मुद्दा र प्रमाण नष्ट गरेको मुद्दामा बयान लिने कार्य गरिएपछि बुधबारदेखि थुनछेक बहस शुरु गरिएको थियो। बयान लिने कार्य सकिएपछि दुवै मुद्दाबारे बुधबार थुनछेक बहस नसकिएपछि शुक्रबार पुनः वादी र प्रतिवादी वकिलले कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आर्चायको एकल इजलासमा थुनछेक बहस गरेका थिए। थुनछेक बहसको कार्य सकिए पनि समय अभावले आदेश आउन नसकेको अदालतका श्रेष्तेदार हरिकृष्ण अबस्थीले बताए। उनका अनुसार बर्खास्त प्रहरी उपरीक्षक विष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाएको छ। बर्खास्त प्रहरी उपरीक्षक विष्टसहित आठ जनाविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर र दिलीप सिंह विष्टका दाजु खडक विष्टले यातानाविरुद्धको कसुरमा मुद्दा दायर गरेका थिए।

साफ फुटबल च्याम्पियनसिपः उपाधिका लागि नेपाल र भारत भिड्दै [LIVE]

काठमाडौं, चैत ८ । पाँचौ साफ महिला फुटबल च्याम्पियनसिपको फाइनल खेलमा अहिले नेपार र भारत भिड्दै छन् । खेल विराटनगरको शहीद रंगशालामा भइरहेको हो । नेपालले सेमिफाइनलमा श्रीलंका र भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गर्न सफल भएका हुन् । आज नेपालको टिममा फरवार्ड लाईनमा सावित्रा भण्डारी र कप्तान दिपा राईले सम्हाल्दा मिडफिल्डमा मञ्जलीकुमारी योञ्जन, रेनुका नगरकोटी, दिपा राई र अनिता बस्नेत हुनेछन् । यस्तै डिफेन्समा हिरा कुमारी भुजेल, गीता राना, मनमायाँ लिम्बु र पुनम जर्घामगर छन् । यस्तै नेपालको गोलकिपिङ एन्जिला तुम्बाप्पोले सम्हालेने छिन् । नेपाल पाँच संस्करण मध्य चौथो पटक फाइनलमा पुगेको छ भने भारतले लगातार पाँचौं फाइनल खेलेको छ । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले पुरानै प्रतिद्वन्द्वी पाएको छ । यो नौलो कुरा होइन, दक्षिण एसियाली महिला फुटबलमा भारत र नेपाल शीर्ष दुई टिम हुन् । तर, साफ च्याम्पियनसिपमा नेपालमाथि भारतको दबदबा कायम छ । प्रतियोगिताको चार संस्करण सकिँदा भारत नै नेपालको सफलताको बाटोमा तगारो बन्दै आएको छ । तर, समय फेरिएको छ । अहिलेको प्रतियोगिता नेपाली मैदानमा हुँदैछ । नेपाली दर्शकका बीचमा । प्रशिक्षक हरि खड्का भन्छन्, ‘यो हाम्रो गृहमैदान हो । हाम्रो मतृभूमि हो ।’ ‘हामी भारतको दबदबा तोड्नका लागि तयार छौं । अवश्य पनि हामी उपाधि उचाल्नेछौं । भोलिको दिन हाम्रो हुनेछ’, प्रशिक्षक खड्काले थपे ।

शिक्षा मन्त्री पोखरेल अस्पताल भर्ना

काठमाडौं, चैत ७ । स्वास्थ्यमा समस्या देखिएपछि शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन् । उनी बिहीबार अपराह्न पाटन अस्पताल भर्ना भएका हुन् । गण्डकी मेडिकल कलेजको विवाद सम्बन्धी छलफल सकेलगत्तै उनी स्वास्थ्य जाँचका लागि भरोसा अस्पताल गएका थिए । त्यहाँ केहीबेर परीक्षण गरेपछि भर्ना हुन चिकित्सकले सल्लाह दिएका थिए । ‘भर्ना हुनैपर्छ भनेपछि पाटन अस्पतालमा भर्ना हुनु भएको छ,’ मन्त्री पोखरेलका प्रमुख सल्लाहकार जीवन गौतमले भने, ‘स्वास्थ्य अवस्था सामान्य छ ।’ मन्त्री पोखरेलले सुगरको औषधि सेवन गर्दै आएका थिए । तर पछिल्लो तीन(चार दिनदेखि फुड प्वाइजनको समस्या देखिएको थियो । पाटन अस्पतालमा बिहीबार भर्ना भएका मन्त्री पोखरेललाई शुक्रबार बिहान डिस्चार्ज गर्ने तयारी थियो । तर, बिहीबार रातिदेखि थप समस्या देखिएपछि तत्काल डिस्चार्ज नगर्ने निष्कर्षमा चिकित्सकहरु पुगेका छन् ।

बुद्धभूमि नेपालमा अब अशान्ति र हिंसा होइन शान्तिको खाँचो छः सञ्चारमन्त्री

काठमाडौं, चैत ७ । सरकारले हतियार बिसाएर वार्ताको टेबलमा आउन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आह्वान गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संवादका निम्ति सरकार सधैँ तयार रहेको बताए । विप्लब समूह भनेर चिनिने नेकपालाई दबाउने सरकारको नीति हो भन्ने सञ्चारकर्मीको जिज्ञासाको जवाफमा उनले बमबारुदसँगै सम्पूर्ण हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण ढङ्गले राजनीतिक असन्तुष्टि समाधानका निम्ति वार्तामा आउन आग्रह गरे । ‘हतियार कुनै समस्याको समाधान होइन, बुद्धभूमि नेपालमा अब अशान्ति र हिंसा होइन शान्तिको खाँचो छ’ दशवर्षे द्वन्द्वको पीडा भोगेका शान्तिप्रेमी नेपालीले देशलाई प्रगतिपथमा अग्रसर गराउन चाहेको यथार्थ सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भने । कुनै पनि नेपालीले देशलाई पुनः द्वन्द्वतर्फ फर्केको हेर्न नचाहेको, राजनीतिक अभीष्ट पूरा गर्न बलको प्रयोगलाई अस्वीकार गरेको र निर्दोष व्यक्तिको हत्या तथा गैरकानुनी चन्दा असूली सधैँसधैँका निम्ति अन्त्य हुनुपर्ने जनअभिमतप्रति उनको लक्ष्य थियो । राष्ट्रिय सुरक्षा नीति, २०७५ बारेको प्रश्नको प्रत्युत्तरमा मन्त्री बाँस्कोटाले देशको राष्ट्रिय आवश्यकता, परिस्थितिको विश्लेषण, देशको राष्ट्रियता सुदृढ तुल्याउनेलगायत विषय नै उक्त नीतिमा समेटिएको बताए । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र विदेशी पर्यटकलाई नेपालमा धेरैभन्दा धेरै समय बिताउने तथा अधिक खर्च गराउने लक्ष्य एवम् उद्देश्य हासिल गर्न सम्बद्ध सबै पक्षबाट सक्रिय सहभागिता हुने विश्वास उनले व्यक्त गरे ।

मन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटना लगत्तै उद्धारमा खट्ने प्रहरी पुरस्कृत

काठमाडौं, चैत ६ । गत फागुन १५ गते तत्कालिन मन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनाको उद्धारमा खटिने ३ प्रहरी पुरस्कृत भएका छन् । पाथीभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा भएको उक्त हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो । सोही घटनामा उद्धार कार्यमा जुटेका ताप्लेजुङका तीन प्रहरी पुरस्कृत भएका हुन् । पुरस्कृत हुनेमा प्रहरी हवल्दार वेद कुमार अर्याल, प्रहरी जवान उपेन्द्र राई र प्रहरी जवान मनोज कुमार चौधरी छन्। उनीहरु तीनै जना ताप्लेजुङको अस्थायी प्रहरी चौकी माथिल्लो फेदीमा कार्यरत रहेका थिए । ३ प्रहरीलाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आएको छ। उद्धार तथा खोजतलास एवम् शव संकलन गर्ने कार्यमा खटिई देश र नागरिकसमक्ष नेपाल प्रहरीको छवि उच्च बनाएको भन्दै उनीहरुलाई पुरस्कृत गरिएको हो । मन्त्री अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित सिस्ने भिरमा दुर्घटनामा परेको थियो ।

भारत विरुद्धकाे पहिलो खेलमा नेपाल ६२ रनले विजयी

काठमाडौं, चैत ६ । आउँदो यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटको तयारीका लागि भारतमा रहेको नेपाली टोलीले पहिलो खेलमा विजयी भएको छ । भारतको आन्ध्र प्रदेश क्रिकेट टिमसँग भएको पहिलो खेलमा नेपाल ६२ रनले विजयी भएको हो । नेपालले दिएको २७७ रनको लक्ष्य पछ्याएको आन्द्र प्रदेशले ४५.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २१४ रन मात्र बनाउन सक्यो । भारतका हर्षभर्धनले ४६, हेमन्थ रेडीले ३८, पी तेजसवाईले ४३ रनको योगदान दिए । बलिङमा नेपालका कुशल मल्लले ४, कमलसिंह ऐरीले ३, पवन श्राफले २ र सागर ढकालले १ विकेट लिन सफल भए । यसअघि, पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै २७६ रन बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८१, सन्दीप जोराले ६९, कमलसिंह ऐरीले २५ बलमा ४४ रन प्रहार गरे । उनले ४८औं ओभरमा ५ बलमा ५ छक्का प्रहार गरे । यस्तै, कुशल मल्लले १७ रन जोड्दा अन्य खेलाडीले भने दोहोरो अंकसमेत बटुल्न सकेनन् । बलिङमा भारतका लागि पी तेजसवाईले एक्लैले ४ विकेट लिए । भारतको आन्द्र प्रदेश क्रिकेट टिमसँग हुने ४ अभ्यास खेलका लागि नेपाली टोली केही दिनअघि त्यसतर्फ प्रस्थान गरेको थियो ।

आइपीएल खेल्न सन्दीप दिल्ली प्रस्थान, यी हुन् उनका टिमका स्टार खेलाडी

काठमाडौं, चैत ६ । इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्नका लागि नेपाली लेग स्पिनर सन्दीप लामिछाने नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनी आज बिहान ८ः१५ बजे आइपीएल खेल्न दिल्ली प्रस्थान गरेका हुन् । आउँदो शनिवारदेखि आइपीएलको १२औं सिजन सुरु हुँदैंछ। सन्दीप आबद्ध दिल्ली क्यापिटल्सले आउँदो आइतबार लिगको पहिलो खेल मुम्बई इन्डीयन्ससंग खेल्नेछ। अघिल्लो वर्ष आइपीएलमा आबद्ध भएका सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए। अघिल्लो वर्षको प्रदर्शनका आधारमा दिल्लीले उनलाई सन् २०१९ को सिजनका लागि रिटेन गरेको थियो। आइपीएलपछि बिग ब्यास लिग, बङ्गलादेश प्रिमियर लिग, क्यारेवियन लिग, पाकिस्तान सुपर लिग लगायतमा पनि उनले सहभागिता जनाइसकेका छन् । को–को छन् दिल्ली क्यापिटल्समा? श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, शिखर धवन, ट्रेन्ट बोल्ट, कोलिन इन्ग्राम, अमित मिश्रा, क्रिस मोरिस, कोलिन मुनरो, अक्षर पटेल, अर्षल पटेल, कागिसो रबाडा, सन्दीप लामिछाने, इशान्त शर्मा, पृथ्वी शा, अनुमा बिहारी, शेफरन रदरफोर्ड, जयन्त यादव, राहुल तेवटिया, नथु सिंह, केमो पल, जलाज सक्सेना, मन्जोट कल्रा, अंकुश बानिस, बन्दारु आयाप्पा र अवेश खान

अक्षयकुमार हिरोइनसँग हारेपछि मुख फोरेरै फर्काए यस्तो जवाफ

मुम्बइ, चैत ५ । अभिनेत्री पूजा हेगडेले बलिउडका सुपरस्टार खेलाडी अक्षयकुमारलाई एक खेलमा दुई पटकसम्म हराइदिएको बताएकी छिन् । अक्षयलाई खेलमा नराम्ररी हराएपछि खुशी व्यक्त गर्दै पूजाले उक्त जानकारी आफ्नो सामाजिक सञ्जालमा शेयर गर्दै रितेश देशमुखलाई ट्याग गरेकी छिन् । अभिनेत्री पूजाले यसरी खुलेआम अक्षयको हारबारे उल्लेख गर्दा अक्षय रिसाएको बताइन्छ  ।  उनले आफ्नो तरिकाले पूजालाई कडा जवाफ दिएका छन् । अक्षयकुमार चलचित्र सुटिङको क्रममा को-स्टार्ससँग रमाउने गर्दछन् । उनी रमाइलोको लागि विभिन्न खेल खेल्ने र ‘प्र्यांक’ समेत गर्ने गर्दछन् । यसो गर्दा उनी सम्मिलित सुटिङस्थलको वातावरण निकै रमाइलो हुने गर्दछ । यसै क्रममा हालैमात्र सम्पन्न भएको ‘हाउसफुल ४’को सुटिङको क्रममा उनलाई भिनेत्री पुजा हेगडेले एक पटकमात्र होइन, दुई–दुई पटक लुडो खेलमा हराइदिएकी थिइन् । पूजाले अक्षयको हारबारे जानकारी सामाजिक संजालमा सार्वजनिक गरेपछि उनका प्रशंसकहरूले निकै रमाइलो मानेका थिए । रितेश देशमुखले पूजासँग के भने? पूजा हेगडेले आफ्नो ट्विटमा लेखिन्, ‘त्यो दिन धेरै नै सुन्दर थियो, जहाँ मैले अक्षय कुमार सरलाई एक पटक होइन, दुई-दुई पटक लुडोमा हराइदिएकी थिएँ  यो मेरो सबैभन्दा महान् उपलब्धिमध्ये एक !’ यो लेखेर पूजा हेगडेले आफ्नो पोष्टमा अक्षय कुमार र रितेश देशमुखलाई ट्याग गरेकी थिइन् । यसको जवाफ दिँदै रितेश देशमुखले लेखे– ‘डियर मिस उनले एक सामान्य खेल गुमाइदिएका छन् । हाउसफुल ४ प्रमोशनको क्रममा बेटमनी हुनेछ, यसलाई जित्ने कोशिश गरौं ।’ अक्षयकुमारले पूजालाई दिए यस्तो जवाफ पूजाको यो ट्वीटपछि अक्षय कुमारले पनि आफ्नो सामाजिक सञ्जालमा ट्वीट गरे । अक्षयले लेखे– ‘यस रेकर्डलाई कायम राख्दै, हाउसफुल ४ को प्रमोशन चाँडै नै सुरु हुन गइरहेको छ ।’ यसै तरिकाले अक्षय कुमारले पूजा हेगडेलाई च्यालेन्ज गरे । हाउसफुल ४ हाउसफुल फ्रेचाइजी को चौथो चलचित्र हो । यस चलचित्रमा रितेश देशमुख, बबी देओल, कृति सैनन, कृति खरबंदा, राणा दग्गुबाती र पूजा हेगडे जस्ता कलाकारहरुले मुख्य भूमिकामा देखिँदै छन् । चलचित्रलाई फरहाद सामजीले निर्देशन गरेका हुन् र यसको निर्माण साजिद नाडियाडवालाले गरेका छन् । एजेन्सीबाट

सुनकाण्डको थुनछेक आदेशमाथि अनुसन्धान गर्न समिति गठन

काठमाडौं चैत ५ । न्यायपरिषद्ले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा भएको थुनछेक आदेशमाथि विस्तृत अनुसन्धान गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको छ । न्यायपरिषद्को सोमबारको बैठकले दुई समितिले बुझाएको प्रतिवेदन बुझ्दै विस्तृत अनुसन्धानका लागि समिति गठन गरेको हो । घटनाको प्रारम्भिक अनुसन्धानको जिम्मेवारी पाएका सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आफ्नो प्रतिवेदन बुझाएका छन्। आदेशका क्रममा प्रचलित कानुन र न्यायका मान्य सिद्धान्तको पालनामा गम्भीर प्रश्न उठेपछि जाँचबुझ समिति गठन भएको हो। खतिवडा संयोजकत्वको समितिले ४५ दिनको समयसीमा पाएको थियो। परिषद् स्रोतका अनुसार, समितिमा केदारप्रसाद चालिसे संयोजक छन् भने मीरा खड्का र विश्वम्भर श्रेष्ठ सदस्य छन्। उनीहरुले पनि डेढ महिनाको समयसीमा पाएका छन्। सुन प्रकरणमा भएको शंकास्पदआदेशका कारण उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल सहित न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशराज पौडेल, उमेशकुमार सिंह, जनक पाण्डे र साधुराम सापकोटा न्याय परिषद् तानिएका छन्। उनीहरुले सुन प्रकरणमा प्रभावशाली ठानिएका व्यक्तिहरुलाई सामान्य तारेख वा नाम मात्रैको धरौटीमा छाडेका थिए। अब कसरी कारवाही हुन्छ ? यसअघि न्यायपरिषद् ऐनको दफा १८ अनुसार न्यायाधीशहरुमाथि प्रारम्भिक छानबिन भएको थियो। उक्त दफामा न्याय परिषद्मा प्राप्त उजुरी वा अनुगमन वा निरीक्षण प्रतिवेदनको आधारमा वा न्याय परिषद् आफैले उच्च अदालत वा जिल्ला अदालतको कुनै न्यायाधीशको विरुद्धमा छानबिन गर्न आवश्यक देखेमा न्याय परिषद्ले कुनै सदस्य वा सर्वोच्च अदालतको कुनै न्यायाधीशलाई त्यसको प्रारम्भिक छानबिन गर्नको लागि तोक्न सक्नेछु भन्ने व्यवस्था छ। छानबिनपछि समितिले प्रतिवेदन बुझाउने व्यवस्था छ। प्रतिवेदन प्राप्त भएपछि न्यायपरिषद्ले दफा १९ अनुसार, जाँचबुझ समिति गठन गरेको हो। समितिले प्रतिवेदन दिएपछि न्यायपरिषद्ले सम्बन्धित जिल्ला वा उच्च अदालतका न्यायाधीशलाई प्रशासनिक तहको कारवाहीदेखि बर्खास्तको सिफारिस सम्म गर्न सक्नेछ। भ्रष्टाचारको प्रमाण भेटेमा भ्रष्टाचारको आरोपमा मुद्दा चलाउने अधिकार समेत परिषद्लाई छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।