खाद्य डिपोमा चामलको मूल्य घटेन

जाजरकोट, पुस ८ । बारेकोट गाउँपालिका–९ का गोविन्द पुनः चामलका लागि नायकवाडाको घाट डिपोमा पुगे । हतारमै त्यहाँ रहेका कर्मचारीसँग प्रतिकिलो चामलको मूल्य सोध्दा उनीहरूले रु ५६ पर्ने जनाएकाले उनी स्थानीय बजारतर्फ लागे ।

स्थानीय बजारबाट प्रतिकेजी रु ५४ मा एक क्विन्टल चामल खरीद गरेर घर लगिएको गोविन्दले बताए । अहिले दैनिक घाटमा रहेको डिपोमा चामल लिन आउनेको सङ्ख्या ठूलो भएपनि महङ्गो परेकाले बिक्री हुन सकेको छैन । चामलको मूल्य घटे पनि दुर्गम गाउँमा पुरानै मूल्यमा चामल बिक्री गर्न खोज्दा बिक्री हुन नसकेको हो ।

बजारमा पाइने मोटो चामल प्रतिकेजी रु ५४ मा बिक्री हुँदै आएको छ । सरकारले सहुलियमा उपलब्ध गराउँदै आएको चामल बजारकोभन्दा महङ्गो हुनाले समस्या उत्पन्न भएको स्थानीयवासीको भनाइ छ । घाट डिपोमा मात्र १५० क्विन्टल चामल थन्किएको छ ।

मूल्य नघट्नुको कारण सोध्दा जाजरकोट शाखाका रामप्रसाद पौडेलले केही दिनभित्र समायोजन गरिने बताए । दुर्गमका बासिन्दालाई मूल्य घटेको थाहा नहुने भएकाले डिपोले मनपरी गरेको स्थानीय बुद्धिजीवी नीमबहादुर सिंहले बताए।

त्यस्तै सदरमुकाममा पनि जापानबाट ल्याइएको चामल महङ्गो भएकाले बिक्री हुन सकेको छैन भने चौखा डिपोमा चामल नै पठाइएको छैन । रासस

इपीएलः पोखरा र ललितपुर भिड्दै, हेर्नुस् लाइभ

काठमाडौं, मंसिर २४ । कीर्तिपुर क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियिर लिग (इपीएल) अन्तर्गत आज दोस्रो खेलमा पोखरा राइनोज र ललितपुर प्याट्रियट्सबीच भिडन्त भइरहेको छ । टस जितेर ब्याटिङ रोजेको पोखराले शानदार शुरुवात गरेको छ । अंक तालिकामा पोखरा पाँचौ स्थानमा र ललितपुर तेस्रो स्थानमा रहेको छ । ललितपुरले एक खेलमा हार र एक खेलमा जित निकालेको छ । यस्तै, पोखारले भने पहिलो खेलमा हार बेहोरेको थियो ।

प्रगतिशील समूहले मात्रै इन्जिनियरिङ क्षेत्रका समस्या हल गर्न सक्ने– बञ्जाडे

मंसिर २४, काठमाडौं । नेपाल इन्जिनियर्स एशोसियसनको यहि मंसिर २८ गते हुने निर्वाचनमा प्रगतिशिल समूहबाट प्रदेश नं. ३ का सभापति पदका लागि उम्मेदवार बनेका ई. नन्दलाल बन्जाडेले इन्जिनियरिङ क्षेत्रका मुद्धाहरु सम्बोधन गर्न प्रगतिशिल समूह नै आवश्यक रहेको बताएका छन् । उनले ३ नं. प्रदेशका इन्जिनियर र इन्जिनियरिङ क्षेत्रको विकास गर्न आफूले उम्मेदवारी दिएको पनि बताए । सामूहिक बिमा, स्टाफ कलेज र इन्जिनियरहरुको सेवा तथा सुविधा वृद्धि गर्नमा आफ्नो ध्यान केन्द्रित भएको बताउदै आज काठमाडौंमा यूवा इन्जिनियरहरुसंगको अन्तरक्रियामा ई.बन्जाडेले यस्तो धारणा राखेका हुन् । इन्जिनियरिङ क्षेत्रका मुद्धाहरु सम्बोधन गर्न पनि ३ नं. प्रदेशमा प्रगतिशिल समूहले जित्नु पर्ने उनको दाबी थियो । पुर्व अध्यक्ष महेन्द्र बहादुर गुरुङकै कार्यकालमा एशोसियसनलाई संघीय ढाँचामा लैजान चाहे पनि त्यसपछिका समितिको असयोगले त्यस्तो प्रयास सफल नभएको र हाल आएर मुलुक नै संघीयतामा गएकोले हालको समिति संघीय संरचनामा जान बाध्य भएको ई.बन्जाडेको तर्क छ । ई. नन्दलाल बन्जाडेले नेतृत्व गरेको ३ नं. प्रदेश समितिको उप–सभापतिमा ई. डिल्लिराम भट्ट, सचिव ई. प्रदिप अधिकारी, सह–सचिवमा ई.शरद पण्डित, कोषाध्यक्षमा ई. राजन थापा र सदस्यहरुमा ई. दिनेश भाई अधिकारी, ई. सुरज गौतम, ई. हर्ज उम्रिन तुम्रोक लिम्बु, ई. मौसम भण्डारी, ई. सागर न्यौपाने, ई.मदन खकुरेल, ई. सम्झना ढकाल, ई. कपिल रेग्मी, ई. नबिन काफ्ले र ई. सरोज कार्की छन् । यस्तै, प्रदेश नं. ३ बाट केन्द्रिय सदस्यको लागि श्याम कृष्ण कार्की चुनावी मैदानमा छन् ।

बहिनी जान्ह्वीको प्रेमका बारेमा रहस्य खोल्दै दाजु अर्जुन

बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीकी छोरी जान्ह्वी कपुर आफ्नो सौतेनी भाई अर्जुन कपुरसँग करन जौहर च्याट शोमा धेरै समयपछि करन पुगेका थिए । यहाँ करन जौहरले भाईबहिनीसँग यस्तै यस्तै प्रश्न सोधेपछि दुवैजना हैरान भएका थिए । करनले दुवैको प्रेमजीवनको बारेमा प्रश्न सोधेका थिए । इशान खट्टरसँग डेटको बारेमा करनले जान्ह्वीसँग सोधेका छन् । तर, जान्ह्वीले भनिन्– छैन, मेरो कुनै प्रेमी छैन । यसपछि करनले यही प्रश्न अर्जुनसँग सोधे र भने जान्ह्वी सधैं इशानको साथ नै हुने गर्दथिन् । यसपछि फर्केर अर्जुनलाई सोधिन् के तिम्रो कसैसँग अफेयर छ भन्ने कुरा सुन्ने बित्तिकै अर्जुनको बोली बन्द भएका थिए । एजेन्सीको सहयोगबाट

नेविसंघको कार्यकाल दुई महिना थप

काठमाडौं, मंसिर ४ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको कार्यकाल दुई महिना थपिएको छ। केन्द्रीय कार्यालय सानेपामा आइतबार साँझ बसेको पार्टीे केन्द्रीय समिति बैठकले संघको कार्यकाल दुई महिना बढाउने निर्णय लिएको हो। पार्टीका शीर्ष नेताको असहमतिका बीच बैठकले संघको विधानलाई संशोधन गरी नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिको आयु दुई महिना बढाएको छ। संघको विधानको धारा २६ ले केन्द्रीय समितिको कार्यकाल दुई वर्ष तोकेको छ। उक्त अवधिमा महाधिवेशन गर्न नसके थप ३ महिना समय लिनसक्ने व्यवस्था छ । ३ महिना अतिरिक्त समय लिनसक्ने संघको विधानको व्यवस्थालाई बैठकले संशोधन गरेर ५ महिना बनाएको केन्द्रीय सदस्य गुररुराज घिमिरेले जानकारी दिए । उनका अनुसार पार्टी केन्द्रीय समितिले संघको नयाँ संविधान पनि पारित गरेको छ। ‘पार्टीले यसअघि नै नेवि संघमा ३२ वर्षे लागु गरिसकेको छ,’ घिमिरेले भने, ‘संघको पुरै विधान पारित गर्दै पार्टी केन्द्रीय समितिले दुई महिना कार्यकाल पनि थप गरेको छ।’ थपिएको दुई महिनामा पनि संघको महाधिवेशन सम्भव नरहेको जिकिर गर्दै नेता रामचन्द्र पौडेलले विधानको व्यवस्था अनुसारै अघि बढ्नुपर्ने तर्क गरेका थिए । विधान अनुसार सोमबारदेखि नेवि संघको वर्तमान कार्यसमिति स्वतः विघटन हुने व्यवस्था छ । त्यस्तै अर्का केन्द्रीय सदस्य गगन थापाले वर्तमान नेतृत्वले महाधिवेशन गराउन नसक्ने तर्क गर्दै महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने तर्क गरेका थिए। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरु महाधिवेशन सुनिश्चित गर्नेगरी संघको म्याद थप गर्नुपर्ने तर्क गरेका थिए । उनले महाधिवेशनका लागि वर्तमान समितिलाई थप ६ महिना समय दिन प्रस्ताव गरेका थिए । तर, त्यसविपरित संस्थापन पक्षले २ महिना समय थपको प्रस्ताव बैठकले पारित गरेको छ । त्यसप्रति नेता पौडेल र अर्जुननरसिंह केसीसहितले असहमति व्यक्त गरेका छन् । सभापति देउवा सहितका नेताहरुले पार्टी आसन्न महासमिति बैठकलाई केन्द्रमा राख्दै संघको कार्यकाल २ महिना थप गर्ने प्रस्ताव गरेका थिए । वर्तमान समिति विघटन हुँदा महासमिति बैठकमा नेतृत्वको आलोचना हुने भएपछि संस्थापन पक्ष समय बढाउने निष्कर्षमा पुगेको असन्तुष्टहरुको आरोप छ। अनलाइनपानाबाट

१२ वर्षको उमेरमा गर्भवती अस्पताल भर्ना, प्रधानमन्त्रीले नै लिएका थिए विशेष चासो

हेटौँडा, मङ्सिर ४ गते । गङ्गामाया चेपाङ १२ वर्षको उमेरमा आमा बन्दै गरेको सञ्चार माध्यममा सार्वजनिक भएपछि उपचारार्थ अस्पताल लगिएको छ । प्रधानमन्त्री कार्यालयले गङ्गामायाको उद्धार तथा उपचार गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई निर्देशन दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्याक्ष निर्मला हिम्डुङ्गको समन्वयमा सोमबार साँझ हेटौँडा अस्पताल ल्याइएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र राक्सिराङ गाउपालिकाका अध्यक्ष मल्ल गंगामायाको उद्धार गरी उपचारका ल्याउन आफै लाग्नु भएको थियो । राक्सिराङ गाउँपालिकाको ३ स्थित माइतीघरमा बस्दै आउनुभएकी चेपाङलाई उपचारका लागि ल्याउन अन्यले गरेको प्रयास उनीहरुको डरका कारण असफल भएको थियो । गाउँपालिका उपाध्यक्ष हिम्डुङ्गले केही हुँदैन डर मान्नु पर्दैन भन्दै सम्झाइबुझाई गरेपछि उपाध्यक्षको साथ लागेर अस्पताल आमा राममायासँगै गङ्गामाया आउनुभएको हो । अस्पतालमा गङ्गामायाको प्रारम्भिक जाँच गरिएको छ । उपचारमा संलग्म हेटौँडा अस्पतालका डाक्टर निशा राईले बाल अवस्थामा गर्भवती भएकोले जोखिम रहेको भन्दै अस्पतालमा निगरानीमा राखेर शिशुको जन्म दिनुपर्ने बताउनुभयो । प्रारम्भिक जाँचबाट पेटमा रहेको बच्चा ३४ हप्ता पुगेको जस्तो देखिन्छ, डाक्टर राईले भन्नुभयो, थप जाँच गरेर आमा र शिशुलाई सुरक्षित गर्ने उपाय अपनाउनु पर्छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी र राक्सिराङ गाउपालिकाका अध्यक्ष राजकुमार मल्लमार्फत् प्रजाको उपचार र उद्धारका लागि सरकारले पहल थालेको हो । गङ्गामाया कलिलो उमेरमै आमा बन्दै गरेको समाचार गोरखापत्र दैनिकले गत कात्तिक २६ गते प्रकाशित गरेको थियो । सञ्चारमाध्यममा सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयको निर्देशन लगत्तै गंगामायाको उद्धारको पहल सुरु भएको हो । उपचार र उद्धारका लागि पहल गर्न आफूलाई प्रधानमन्त्री कार्यालयबाट पटक पटक टेलिफोन सम्पर्क गरिएको गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिनुभयो । अध्यक्ष मल्लले गङ्गामायाको उपचार र जीवन रक्षाका लागि सबै सहयोग गर्न तयार छौँ भन्नुभयो । प्रमुख जिल्ला अधिकारी तामाङले गङ्गामायाको उपचारको जिम्मा अब राज्यले लिएको बताउँदै मङ्गलबार थप परीक्षण गरी कहाँ उपचार गरिने तय गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ’यहाँ उपचार नहुने अवस्था आए तुरुन्त काठमाडौँ पठाउँछौँ ।’ गङ्गामायालाई गाउँपालिकाको पहलमा हेटौँडा अस्पतालमा भर्ना गरिएको छ । उपचारमा संलग्न डाक्टर राईले भन्नुभयो, चेपाङको उमेर कम भएको र शारीरिक बनावट परिपक्क नभएकोले जोखिम बढी छ, शल्यक्रिया गरेर शिशुलाई जन्मदिनुको विकल्प छैन । अस्पतालमा गंगामायालाई गाउँपालिकाको समन्वयमा ल्याइएपछि अवस्था बुझ्न मकवानपुरका प्रमुख जिल्ला अधिकारी तामाङ र मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङ पुग्नु भएको थियो । गङ्गामायाका पति रञ्जित चेपाङ पछिल्लो समय सम्पर्कमा रहेको आमा राममायाले जानकारी दिनुभयो । कैलाश गाउँपालिका ७ घर भएका पति रञ्जित घरको आर्थिक अवस्था कमजोर भएकाले अधिकांश समय दैनिक ज्यालादारीका लागि गाउँभन्दा बाहिर जाने गर्नु भएको छ ।

नेपाली कप्तानलाई अर्को सफलता, चर्चित क्रिकेटरलाई पछि पारे !

काठमाडौं, कार्तिक २८ । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टीट्वेन्टी खेलाडी वरीयताको अलराउन्डरतर्फ ४१ औं स्थानमा उक्लिएका छन्। नेपाली खेलाडीले आईसीसीको वरीयतामा प्राप्त गरेको यो नै अहिलेसम्मको उच्च वरीयता हो। आईसीसीले हालै सार्वजनिक गरेको वरीयतामा पारस अन्तर्राष्ट्रिय क्रिकेटका एकसेएक राम्रा खेलाडीलाई पछि पार्दै शीर्ष ५० भित्र परेका हुन्। इङ्ल्यान्डका जोय रुट, बेन स्टोक्स, वेस्ट इन्डिजका काइरन पोलार्ड, जिम्बावेका सिकन्दर राजाजस्ता खेलाडी पारसभन्दा पछाडि परेका छन्। रुट ४३ औं, पोलार्ड ४६ औं, स्टोक्स ४८औं र राजा ५३ औं स्थानमा छन्। पारस टीट्वेन्टी क्रिकेटको ब्याटिङतर्फको वरीयतामा पनि समावेश छन्। उनी ब्याटिङतर्फ समावेश एक सय खेलाडीमध्ये ९३ औं स्थानमा छन्। टीट्वेन्टी खेलाडीको ब्याटिङतर्फ नेपाली खेलाडीमा उनी मात्र परेका छन्। अलराउन्डरतर्फ भने पारससँगै सोमपाल कामीले पनि स्थान पाएका छन्। अलराउन्डरतर्फ सोमपाल ६४औं स्थानमा छन्। उनीभन्दा पछाडि न्युजिल्यान्डका मार्क चापम्यान, दक्षिण अफ्रिकाका क्रिस मोरिस, अस्टे«लियाका मिचेल मार्सलगायतका खेलाडी छन्। सोमपाल टीट्वेन्टी क्रिकेटको बलरतर्फको वरीयतामा पनि समावेश छन्। सोमपाल टीट्वेन्टीतर्फ बलरको वरीयतामा ९४ औं स्थानमा छन्। बलरतर्फ उनीभन्दा अगाडि नेपाली खेलाडी वसन्त रेग्मी ७५औं स्थानमा छन्। बलरतर्फ पनि नेपाली खेलाडीमा वसन्त र सोमपाल मात्र परेका छन्। नेपाली खेलाडीले अहिलेसम्म एकदिवसीय क्रिकेटको वरीयतामा भने अवसर पाएका छैनन्। त्यसका लागि नेपाली खेलाडी अझै पनि मापदण्ड ‘क्राइटेरिया’ बाहिर छन्। आईसीसीको नियमअनुसार एकदिवसीय क्रिकेटको खेलाडी वरीयतामा समावेश हुन नौदेखि १२ महिना एकदिवसीय मान्यता प्राप्त खेल खेलेको हुनुपर्ने प्रावधान छ। यद्यपि नेपालले एकदिवसीय टोलीको मान्यता प्राप्त गरेको आठ महिना मात्रै भएकाले नेपाली खेलाडी वरीयता प्रणालीमा प्रवेश गर्न नपाएका हुन्। अन्नपूर्ण पोस्टबाट

भीरबाट खसेर किशोरीको मृत्यु

अछाम, कात्तिक २५ । अछाममा भीरबाट खसेर शनिबार एक किशोरीको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानमा भीरबाट खसेर स्थानीय मीनबहादुर चलाउनेकी १६ वर्षीया छोरी चेतना चलाउनेको मृत्यु भएको हो । घरबाट खर काट्न गएकी चेतनाको दिउँसो १ बजेतिर वडाको भन्डारखोला माझबाटे भन्ने भीरबाट खसेर घटनास्थलमै ज्यान गएको परिवारले जनाएको छ । भीरबाट करीब २० मिटर तल खसेकी चलाउनेको टाउकोमा गम्भीर चोट लागेको र घटनास्थलमै ज्यान गएको बताइएको छ । उनीसँगै उनकी आमा र भाउजु पनि घाँस काट्न गएका थिए । मृतक चलाउने विद्या मन्दिर मावि विनायकमा कक्षा ९ मा अध्ययनरत रहेको उनका बुबा मीनबहादुर चलाउनेले बताए । रासस

प्रधानमन्त्री ओलीद्वारा भुटानका प्रधानमन्त्रीलाई शुभकामना

काठमाडौं, कार्तिक २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. लोते छिरिङलाई उनले भुटानको प्रधानमन्त्रीको उच्च पद सम्हालेकोमा शुभकामना व्यक्त गरेका छन् । परराष्ट्र मन्त्रालयद्वारा बुधबार प्रकाशित विज्ञप्तीअनुसार प्रधानमन्त्री ओलीले पठाएको सन्देशमा प्रधानमन्त्री छिरिङको सफल कार्यकालको कामना पनि गरेका छन् । प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध अझ बढी मजबुत बनाउन निकटमा रहेर कार्य गर्ने तथा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मन्चहरुमा साझा सवाललाई अघि बढाउने चाहना पनि व्यक्त गरेका छन् ।

काठमाडौंका सडक २ वर्षमा कालोपत्रे, उकालोमा ढलान हुन्छः नेता नेपाल

भक्तपुर, कार्तिक २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ‘सुखी नेपाली र समृद्धि नेपाल’ को अभियान सफल हुने बताएका छन् ।   सूर्यविनायक नगरपालिका–५ स्थित सूर्यनगर टोल विकास समाजले आयोजना गरेको दीपावली, नेपाल संवत् ११३९ तथा छठको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै उनले नेपालको समृद्धिको शुरुवात भइसकेको बताएका हुन् ।   नेता नेपालले शङ्करापुर नगरपालिका, कोटेश्वर, कागेश्वरी मनोहरालगायत काठमाडौं उपत्यकाका सबै सडक आगामी दुई वर्षभित्रमा कालोपत्रे हुने र उकालोमा ढलान हुने बताए ।   विगतमा निर्माण व्यवसायीको ढिलाइले निर्माण कार्यले गति लिन नसके पनि अब त्यो ढिलाइ नदोहरिने नेता नेपालको भनाइ थियो । देशमा सबै जातजाति, भाषाभाषी, धर्म, सम्प्रदाय सबैलाई न्याय गर्दै सामाजिक न्यायसहितको लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको बताउँदै उनले नेकपाको दुई तिहाइको सरकार निर्माण भएकाले देशको विकास र समृद्धि नरोकिने चर्चा गरे।   कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकासलाई रोक्न खोज्नेलाई परास्त गर्दै आगामी चार वर्षभित्र भक्तपुरको विकासले मुहार फेर्ने बताए ।  त्यस अवसरमा ३ नं प्रदेश सांसद शशीजङ्ग थापाले अब जनताले विकास नहोला कि भनेर चिन्ता गर्नुपर्ने बेलाको अन्त्य भएको बताए । -रासस

संसद सचिवालयमैं बेथितिः ‘कण्डिसनका गाडी ग्यारेजमा, नयाँ किन्न रकम माग’

काठमाडौँ, कात्तिक २० गते । सङघीय संसद्का विषयगत समिति सभापति निर्वाचित भइसकेपछि धेरै सभापतिको गुनासो उस्तै थियो,‘सचिवालयले सुविधावापत दिएका गाडी पुराना भए ।’ सभापति मात्र हैन केही पदाधिकारीले पनि सचिवालयले उपलब्ध गराएको सवारीमा चित्त बुझाउनुभएन । पदाधिकारी र सभापतिको गुनासो बढेपछि सवारी खरिदको ‘एजेण्डा’ नै बन्यो । र, त्यो एजेण्डा पुग्यो व्यवस्थापन समिति बैठकसम्म । सङ्ख्याका हिसाबले हेर्ने हो भने सङघीय संसद् सचिवालयसँग सयभन्दा बढी गाडी छन् । प्रचलनमा रहेका ठूला गाडी कर्मचारीको आवातजावातका लागि प्रयोग गरिए पनि अन्य सवारी पदाधिकारी र सचिवालयका उच्च अधिकारीले प्रयोग गर्दै आएका छन् । कूल गाडीमध्ये दुई वर्ष यता भित्र्याइएका सवारी नै २५ वटाभन्दा बढी छन् । तर, दुई वर्षयता खरिद भई प्रचलनमा ल्याइएका सवारीलाई समेत पदाधिकारी र सभापतिले कन्डिसनमा नरहेको भन्दै नयाँ गाडी खरिद प्रक्रिया अघि बढाउन बाध्य बनाएका हुन् । व्यवस्थापन समितिमा प्रतिनिधिसभाका सभामुख, उपसभामुख तथा राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष लगायतका पदाधिकारी रहने व्यवस्था छ । पदाधिकारी र सभापतिको दबाब परेपछि सचिवालय व्यवस्थापन समितिले दसैँअघि २३ नयाँ गाडी खरिदको निर्णय गरेको छ । निर्णयअनुसार बजेटका लागि अर्थ मन्त्रालयसँग सहमति माग भएको छ । अर्थ मन्त्रालयले अहिलेसम्म सवारी खरिदका लागि रकम दिने वा नदिने जवाफ दिइसकेको छैन । प्रति सवारी ७० लाख रुपियाँका दरले पर्ने गरी रकम माग भएको हो । खरिदका लागि निर्णय भएका सवारी राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष तथा समितिका सभापति र दलका प्रमुख सचेतकलाई दिने योजना छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सवारी खरिदको निर्णय भई अर्थ मन्त्रालयको सहमतिका लागि पठाइए पनि कुनै जवाफ नआएको बताउनुभयो । योगीले भन्नुभयो ‘सवारी खरिदको निर्णय भई सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको छ । कुनै पनि जवाफ प्राप्त भइसकेको छैन ।’ कति छन् संसद्सँग गाडी? सचिवालयको सवारी शाखाका अनुसार हाल ९३ वटा गाडी प्रचलनमा नै छन् । जसमा चारवटा ठूला बस छन् । ती बसहरू बिहान तथा दिउँसो कर्मचारी ल्याउन तथा पु¥याउनका लागि प्रयोग हुन्छन् । अन्य सवारी भने उच्च अधिकारीकै लागि प्रयोगमा छन् । सरकारका अन्य निकायमा जस्तै संसदका कतिपय पदाधिकारीले एकमात्र सवारीमा चित्त बुझाएका छैनन् । सचिवालयका अनुसार हाल सचिवालयसँग ४२ वटा स्कार्पियो गाडी छन् । जसमध्ये नौवटा मर्मतका क्रममा छन् । मर्मत बाहेकका ३३ स्कार्पियो सञ्चालनमा छन् । सञ्चालनमा रहेका यी गाडी समिति सभापतिहरूले प्रयोग गरिरहनुभएको छ । पछिल्लो पटक संसद् सचिवालयले २०७४ जेठमा १८ वटा नयाँ गाडी किनेको थियो । जसमा १२ वटा स्कार्पियो र छ वटा टाटाका कार थिए । कारहरू सहसचिव स्तरका कर्मचारीलाई दिनेगरी खरिद भएका थिए । तोकिएको मापदण्ड विपरीत सवारी ल्याइएको भन्दै केही सहसचिवले उक्त सवारी प्रयोग गरेका थिएनन् । दोस्रो संविधानसभा रुपान्तरित संसद्मा परिणत भएपछि मात्र संसद्लाई चीनले नौ वटा कार उपलब्ध गराएको थियो । कियाका नौ वटा कार तत्कालीन दलका संसदीय दलका प्रमुख सचेतकहरूले प्रयोग गर्नुभएको थियो । हाल ती गाडी संसद्का सचिवहरुले प्रयोग गरिरहनुभएको छ । सङघीय संसद्ले पहिलो संविधानसभा लगत्तै ४० वटा गाडी युएनडीपीको सहायताबाट पनि प्राप्त गरेको थियो । साभारः नारायण काफ्ले/गोरखापत्र दैनिक

एआर रहमानद्वारा आत्महत्या गर्न खोजेको खुलासा

मुम्बई । ओस्कार अवार्ड विजेता प्रख्यात संगीतकार ए आर रहमानले आफूले कुनैबेला आत्महत्या गर्न खोजेको बताए । एउटा अन्तर्वार्तामा रहमानले २५ वर्षको उमेरसम्म आफू निकै निराशावादी भएको बताएका हुन । बुवाको मृत्युपछि निकै घटनाहरु घटिरहने र सधैंजसो मर्न चाहेको उनले बताए । तर यही आत्महत्या गर्ने विचारले नै आफूलाई झन निडर बनाएको उनले बनाए । मैले मृत्यु साश्वत सत्य हो र शरीरले मर्नु नै छ भने कुनै कुरासँग किन डराउने भन्ने सोचेर संघर्ष गर्न शुरु गरेको उनले खुलासा गरे । “ब्वाको मृत्युपछि मानिसहरुले मलाई अब कसरी गुजारा चलाउँछस् भन्थे” उनले भने, “जताबाट पनि निराशा देखेपछि मभित्र आत्महत्या गर्ने सोच आउँथ्यो ।” बलिउड संगीतको परम्परागत धारलाई ब्रेक गरेको क्रेडिट पाएका रहमानको जीवनमा यही संघर्षले परिवर्तन पनि ल्यायो । उनले आफ्नै घरको पछाडि पन्चथन रेकर्ड स्थापना गरे । बुवाको मृत्युपछि उनलाई केही सामान्य काम नपाइएको होइन । उनले ३५ वटा फिल्ममा काम पाएपछ २ वटामा मात्रै काम गरे । यसरी काम छोडेको देखेपछि मानिसहरुले उनलाई कसरी बाँच्छस भन्न थालेका थिए । सबै कुरा हुँदाहुँदै पनि किन लय पक्रिन सक्दैनस भनेर मानिसहरुले भन्ने गरेको उनले बताए । रहमानका बुवा आर के शेखको मुत्यु हुँदा उनी ९ वर्षका थिए । यसपछि निकै कम उमेरमा नै उनले संगीत सिके । मणिरत्नमको रोजाबाट भने उनले नयाँपन दिए बलिउड संगीतमा । यही बीचमा उनले दिलिप कुमारबाट एआर रहमान नाम परिवर्तन गरे । धर्म परिवर्तन गरे । एआर रहमानको बायोग्राफी– नोटस अफ ए ड्रीमः द अथोराइज्ड बायोग्राफी शनिबार सार्वजनिक भएको छ ।

‘जीरो’ भएका शाहरुखले ट्रेलरबाटै तोडे रेकर्ड

शाहरुख खानले शुक्रबार आफ्नो जन्मदिन मनाए र साथै महत्वाकांक्षी चलचित्र ‘जीरो’को ट्रेलर पनि सार्वजनिक गरे । यस चलचित्रको ट्रेलरमा आएका प्रतिक्रियाबाट उनी निकै उत्साहित बनेका छन् र उनले आफा फ्यानहरूलाई ट्वीटमार्फत् धन्यवाद पनि भनेका छन् । यस फिल्मको ट्रेलरलाई युट्युबमा दुई दिनभित्र ६ करोड ७५ लाख जनाले हेरिसकेका छन् । यस अर्थमा यो चलचित्र ब्लकबस्टर हुने निश्चित छ । युट्युब भ्युकै कुरा गर्ने हो भने २०१८ को सर्वाधिक कमाइ गर्ने चलचित्र ‘संजु’को हालसम्मको भ्युजलाई समेत ‘जीरो’ले उछिनेको छ । त्यस्तै आमिर खान र अमिताभ बच्चन अभीनित चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ र रजनीकान्त र अक्षय कुमारको अभिनय रहेको साइ-फाइ सिक्वेल २.० समेतलाई जीरोले पछारिसकेको छ । ट्रेलर भ्युकै करा गर्ने हो भने जीरोभन्दा अगाडि ‘बाहुबली- २’, ‘बागी-२’ र ‘टाइगर जिन्दा है’ मात्र रहेका छन् तर यी चलचित्रका ट्रेलर युट्युबमा अपलोड भएको वर्ष दिनभन्दा बढी भैसकेको छ भने ‘जीरो’ दुई दिन अघि मात्र अपलोड भएकोहो । यस हिसाबले यसले सजिलै ती आँकडाहरू पनि पार गर्ने आकलन गरिएको छ । युट्युबमा हाल शनिबार ट्रेन्डिङ भिडियोको सूचीमा दोस्रो नम्बरमा रहेको यो ट्रेलर आइतबार एक नम्बरमा उक्लिएको छ । निर्माता कम्पनी रेड चिल्लीजका अनुसार रिलिज भएको २४ घण्टाभित्रै युट्युबमा ४ करोड भन्दा बढीले यो ट्रेलर हेरिसकेका थिए । त्यस्तै यो सबैभन्दा छिटो फेसबुकमा १० लाख भ्युज र युट्युबमा १० लाख लाइक पाउने भिडियोमा समेत परेको बताइएको छ । उता फेसबुकमा समेत ‘जीरो’को ट्रेलरले एक करोडभन्दा बढी भ्यु प्राप्त गरिसकेको छ । शाहरुखले यो कुरा थाहा पाउनासाथ आफ्ना प्रशंसकहरूप्रति धन्यवाद ज्ञापन गरेका छन् । उनले ट्वीट गर्दै ‘सानो मान्छेलाई यति ठुलो बनाइदिएको’ भन्दै प्रशंसकहरूप्रति यो प्रेमका लागि आभार व्यक्त गरेका छन् । ‘जीरो’ २१ डिसेम्बरमा रिलिज हुँदैछ र यसमा शाहरुख खानसँगै क्याटरिना कैफ र अनुष्का शर्माको अभिनय रहेको छ । यस फिल्ममा शाहरुखले बाउन्ने पात्र बउआ सिंहको भूमिका निर्वाह गर्दैछ्न् भने अनुष्काले अपांग केटीको र क्याटरिना सेलिब्रिटीको भूमिकामा देखिने भएकी छिन् ।

ग्यास पड्केर आगलागी हुँदा ३ जना घाइते

भक्तपु, कार्तिक १८ । मध्यपुरथिमि नगरपालिका–७ धुञ्चेपाखामा आइतबार बिहान शुकदेव बडालको घरमा आगोलागी हुँदा ३ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा शुकदेवको श्रीमती ५० वर्षीया हरिमाया, उनको भाइ ४५ वर्षीय पदमनाथ र ३१ वर्षीया छोरी रुपा रहेका छन् । घाइतेको काठमाडौंको सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए । बिहान ग्यास बाल्ने क्रममा आगलागी भएको बताइएको छ ।

पीपीएलः फाइन प्रवेशका लागि पारसको चितवन र ज्ञानेन्द्रको काठमाडौं भिड्दै [LIVE]

काठमाडौं, कार्तिक १८ । सर्वाधिक धनराशिको घरेलु क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिगको फाइनल प्रवेशका लागि अहिले पारस खड्काको कप्तानिमा रहेको चितवन राईनोज र ज्ञानेन्द्र मल्लको कप्तानिमा रहेको काठमाडौं गोल्डेन्स ईलिमिनेटरमा प्रतिस्पर्धा गर्दैछ्न् । आज काठमाडौंले टस जितेर ब्याटिङ रोजेको छ ।   पोखरा रंगशालामा हुने खेल केही बेरमा सुरु हुदैछ । आज हुने खेलमा विजेता टोली फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टोलि प्रतियोगिता बाट बाहिरिने छ । विजेता टोलिले अगामी मंगलबार फाईनलमा पोखरा पल्टन्सको सामना गर्नेछ ।   समुह चरणमा काठमाडौं गोल्डेन्स माथि १३ रनको जित निकालेको चितवन आजको खेलमा उच्च मनोबल सहित उत्रेको छ भने काठमाडौं दबाबमा रहेको छ ।यस अघि प्रतियोगितामा सहभागिता ६ टोलि मध्ये धनगढी ब्लुज , बुटवल बलास्टर र विराटनगर टाईटन्स भने समूह चरण बाटै बाहिरिएका थिए । प्रतियोगिताको विजेता टोलिले २७ लाख र उप-विजेता टोलिले १० लाख पुरस्कार पाउनेछ्न ।

अम्पायरसँग विवाद गर्दा सन्दिपलाई कारवाही

काठमाडौं, कार्तिक १८ । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत बिराटनगर टाईटन्सका कप्तान सन्दीप लामिछानेलाई अम्पायरले कारवाहीसहित डि-मेरिट अंक दिएका छन्।   शनिबार लिग अन्तर्गतको अन्तिम खेलमा चितवन राइनोजसँगको खेलमा अम्पायरले दिएको निर्णयको अनादर गर्दा सन्दीपलाई म्याच रेफ्री सत्यजित सरकारले उक्त कारवाही गरेका हुन्।   खेलको दोश्रो इनिङको चौंथो ओभरको अन्तिम बलमा किशोर महतोको बललाई नोबल घोषणा गरेपछि सन्दीपले त्यसको बिरोधमा अन्फिल्ड अम्पायर सञ्जय सिग्देलसँग विवाद गरेका थिए।   अम्पायरसँग विवादपछि सन्दीपको विपक्षमा मैदानमा उपस्थित दर्शकहरुले सन्दीप घमण्डी भन्दै नाराबाजी गरेका थिए। केहि बेर नाराको प्रतिबाद नगरेका उनले केहि बेरपछि दर्शकले त्यसो भन्दै गर्दा दर्शकपट्टि फर्केर हात उचाल्दै उकासेका थिए र तालीसमेत बजाएका थिए।   सन्दीपसँगै सोहि खेलमा किशोर महतो, सन्नी पटेललाई पनि अम्पायरको निर्णयको अनादर गरेको र निर्णयबारे अनावस्यक विवाद गरेको आरोपमा म्याच रेफ्रीले स्पस्टिकरण लिएका छन् र चेतावनी समेत पाएका छन्।   यस्तै शनिबारको पहिलो खेलमा काठमाडौं रोयल्सको खेलाडी अमर सिंह रौटेलालाई पनि अम्पायरको निर्णयको अनादर गरेको आरोपमा म्याच रेफ्रीले डी-मेरिट अंक दिएका छन्। आरोप लागेका सम्पूर्ण खेलाडीहरुले म्याच रेफ्रीसंग आफ्नो गल्ति स्वीकार गरिसकेको कारण अन्य कारवाही गरिएको छैन।   के हो डी-मेरिट अंक ? अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१६ बाट प्रयोगमा आएको डी-मेरिट अंक खेलाडीको अनुसासन कायम गर्न प्रयोग गरिने मापदण्ड हो। अन्तर्राष्ट्रिय क्रिकेटमा २४ महिनाको समयमा कुनै खेलाडीले ४ डी-मेरिट अंक बटुलेमा १ टेस्ट वा २ सिमित ओभर क्रिकेट खेलबाट निलम्बन गर्ने नियम छ।   खेलपछि म्याच रेफी सत्यजित सरकारले बताए अनुसार नेपाली घरेलु क्रिकेटमा भने डी-मेरिट अंक १२ महिनासम्मको समयका लागि रहने छ। पीपीएल क्रिकेटका क्रममा सन्दीपले पाएको डी-मेरिट अंक नेपालमा आयोजना हुने सबै घरेलु क्रिकेट प्रतियोगिताका लागि १२ महिनासम्म रहने जानकारी समेत सत्यजित सरकारले जानकारी दिए । विकेट नेपालबाट