बागी-टूको पहिलो दिनको कमाइ २५ करोड भारतीय रुपियाँ

टाइगर श्राफ र दिशा पाटनी अभिनित चलचित्र बागी- टूले भारतीय घरेलु बजारमा आक्रामक व्यापार गरेको छ।
रिलिज भएको पहिलो दिन नै २५करोड भारतीय रुपियाँ कमाउन सफल यो चलचित्र सुपर हिट एक्सन फिल्म बागीको सीक्वेल हो ।
शुक्रबार रिलिज यस चलचित्रले पहिलो दिनमै सर्वाधिक कमाउने हिन्दी चलचित्रको सूचीमा १४औं स्थानमा कब्जा जमाएको छ।
कुनै महत्वपूर्ण बिदा बिना नै रिलिज गरिए पनि टाइगरको दमदार एक्सनका कारण चलचित्रले बलियो प्रदर्शन गर्ने आशा गरिएको थियो ।
यो कुनै पनि युवा कलाकारको सर्वाधिक ओपनिंग रहेको बुझिएको छ। यस अघि १९.५ करोडको ओपनिंगका साथ रणबीर कपूरको बेसरम शीर्षमा थियो ।

नेपाललाई पहिलो झट्का, ज्ञानेन्द्र मल्ल ४ रनमा आउट

काठमाडौं, चैत ३ । आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि नेपाल र नेदरल्याण्ड्सबीचको खेल जारी छ । जिम्बावेको क्वेक्वे मैदानमा टस जितेर पहिला व्याटिङ गरेको नेदरल्याण्ड्सले ५० ओभरमा ९ विकेटको क्षतिमा १८९ रन जोड्यो। नेपाललाई जितका लागि १९० रनको लक्ष्य प्रस्तुत गरेको हो । जवाफी व्याटिङ गरेको नेपालका ओपनर ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भएका छन् । उपकप्तानसमेत रहेका मल्ल पछिल्लो समय खराब फर्ममा छन् । उनले पछिल्ला खेलमा राम्रो प्रदर्शन गर्न सकेका छैनन । अहिले क्रिजमा अनिल साह र पारस खडका रहेका छन् ।

‘डोनाल्ड ट्रम्प’का आमा-बुवालाई यस्तो सास्ती !

यी ‘डोनाल्ड ट्रम्प’ आमाको पेटमै असाधारण रूपले संवेदनशील थिए । कुनै रात उनकी आमा उदास भइन् भने उनी आमाको गर्भमै बेचैन हुन्थे, चल्मलाउने र गोडा चलाउने गर्दथे । एउटा झरी परिरहेको शरद ऋतुको दिउँसो माटोको गारोले बनेका दुई सय जति घरहरू भएको एउटा गाऊँमा उनी जन्मिए । त्यहाँ कुनै नर्स या सुँडेनी उपलब्ध थिएनन् त्यसैले छिमेकी महिलाहरू उनको आमालाई मद्दत गर्न आए । नवजात शिशु शांत थियो । उसका कपाल सुनौलो रंगका थिए र उसका हातगोडा सामान्य थिए । नाम ‘डोनाल्ड ट्रम्प’ भएका यी शिशु हाल अमेरिका राष्ट्रपति रहेका ‘डोनाल्ड जे. ट्रम्प’ भने होइनन् । यी त मध्य अफगानिस्तानको दायकुण्डी प्रान्तको सहरिस्तान जिल्लामा जमिला र सैयद अस्सदुलाहको तेस्रो संतानका रूपमा जन्मेका ‘डोनाल्ड ट्रम्प’ हुन् । २०१६ को सेप्टेम्बर ३ तारेखमा उनी जन्मिएका बेला उनकै जस्तो नाम भएका ‘डोनाल्ड जे. ट्रम्प’ रिपब्लिकन पार्टीबाट नामांकन जितिसकेपछि पहिलो राष्ट्रपतीय बहसको तयारी गर्दै थिए । बालक ‘डोनाल्ड ट्रम्प’का सुपर फ्यान बुवाले अमेरिकी अरबपतिको नामबाट छोराको नाम राखेका थिए । गरिब किसान परिवारमा जन्मिएका अस्सदुलाहको गाउँमा बदाम(अल्मंड्स)को  खेती हुने गर्दथ्यो र यसकै उब्जनीको भरमा वर्षभरि खान पाइने या भोकमरीको सिकार हुने भन्ने निर्धारण हुने गर्दथ्यो । यति हुँदाहुँदै पनि उनले कलेजको डिग्री हासिल गरे । उनले  डोनाल्ड ट्रम्पका बारेमा पढे, दातृसंस्थाहरूको अनुदानमा प्राप्त सोलार पाताबाट निकालिएको बिजुलीबाट चल्ने टेलिभिजनमा उनका कुरा सुने र उनका प्रशंसक बने । उनलाई के लाग्यो भने विश्वविख्यात रियल एस्टेट व्यापारी र टेलिभिजन स्टारका नामबाट छोराको नाम राखेमा उसको भाग्य सप्रिने छ । तर त्यो शिशुकोका कारण परिवारको भाग्योदय हुनु त् कहाँ हो नामकै कारण उनीहरूले पैत्रिक थलो छाडेर राजधानी काबुलमा एउटा भाडाको घरमा गुजारा गर्नुपर्ने भएको छ । खासमा नवजात शिशुको गैर मुस्लिम नाम राखेकोमा अस्सदुलाहका छिमेकी र नातेदारहरू क्रुद्ध मात्रै बनेका छैनन् उनीहरूले असदुल्लाह र तिनको परिवारलाई गाउँ छाडेर जान बाध्य पारेका छन् । “मैले ट्रम्पका पुस्तकहरू पढेको छु, ” सैयद अस्स्दुलाहले काबुलमा एउटा अन्तर्वाताको क्रममा यसो भनिरहँदा साना डोनाल्ड ट्रम्प आफ्नो बुवाको काखमा बसेर साना-साना औंलाहरूले फोनसँग खेलिरहेका थिए, “मैले उनको ‘हाउ टु गेट रिच’ भन्ने पुस्तक पढें । त्यसपछि मैले उनको पृष्ठभूमिबारे पनि पढें । उनले कसरी ट्रम्प टावरको निर्माण गरे र कसरी उनी पार्टीनेता बन्न सफल भए  भन्नेबारे । मैएल के बुझे भने उनी असाध्यै परिश्रमी व्यक्ति हुन् र मलाई लग्यो यस्तो व्यक्तित्वको झैँ नाम भए त्यसको केही न केही प्रभाव मेरो छोराको व्यवहारमा पनि पर्नेछ ।” अस्सदुलाहको भनाइमा छोराको शारीरिक बनावटले पनि उनको विश्वास अझै गहिरिएको थियो । उनले भने, ” मेरो छोरो जन्मिँदा उसको कपाल ट्रम्पको झैँ सुनौलो थियो । उसको कपाल देखेर नै मलाई उसको नाम डोनाल्ड ट्रम्प राख्नु पर्दछ भन्ने लाग्यो ।” बच्चा जन्मेको १० दिनसम्म पनि उनले कुनै नाम सोच्न सकेका थिएनन् । अफगानी परम्परा अनुसार सबैभन्दा पहिले हजुर बुवा-हजुर आमाले बच्चाको नाम भन्ने गर्दछन् । त्यसपछि आमा-बुवाले पनि त्यसै नाममा समर्थन जनाउनु पर्ने हुन्छ । तर उनी यो परम्परा मान्न चाहन्नथे । तर परम्परा तोड्ने उनको यो कदम अफगानी समाजको लागि यति ठुलो थियो कि उनले यो कुरा आफ्ना आमा-बुवालाई बताउन सकेनन् । अन्त्यमा उनकी श्रीमती जमिलाले सहमति जनाए पछि बच्चाको नाम राखियो । बच्चाको नाम डोनाल्ड ट्रम्प राखेको कुरालाई पहिले त उनको परिवारले हाँसोमा उडायो तर केही समय पछि यो हाँसो क्रोधमा परिणत हुन पुग्यो । “मैले छोराको नाम डोनाल्ड ट्रम्प राखेको कुरामा उनीहरू खुसी थिएनन् ।” सैयद अस्सदुलाहले अगाडि भने, “उनीहरूले मलाई छोराको नाम एउटा ‘विधर्मी’को नामबाट राखेको भन्दै मेरो उछितो काढे ।” “त्यसपछि परिवारसँग मेरो  खासै सम्बन्ध छैन, ” उनले भने, ” मेरो बुवा साह्रै रिसालु स्वभावको हुनुहुन्छ । वहाँले मलाई भन्नु भएको छ कि वहाँ मैले छोरालाई ‘डोनाल्ड ट्रम्प’ भनेर बोलाएको सहन सक्नु हुन्न । त्यसबेला देखि म आफ्नो परिवार सहित एभरेष्टदैनिककका लागि अनुवादित काबुलमा बस्दै आइरहेको छु ।” अब लगभग  अठार महिनाका भैसकेका डोनाल्ड ट्रम्पको कथालाई  परिवारले काबुल सरेको लामो समयसम्मपनि गोप्य नै राखेको थियो । तर हालका दिनहरूमा भने बालकको राष्ट्रिय परिचय पत्रको तस्विर सामाजिक संजालमा चासोको विषय बनिरहेको छ । अस्सदुलाहका अनुसार जनसंख्या पंजीकरण विभागका कर्मचारीहरूले उनको अनुमति बिना नै यो तस्बिर लिएका थिए । अन्य प्रान्तबाट आएका नागरिकहरूको परिचयपत्र सत्यापन गर्ने जिम्मेवारी पाएका काबुलस्थित सरकारी कार्यालयका कर्मचारीहरूले बच्चाको नामकै कारण आफूसँग दुर्व्यवहार गरेको आरोप समेत उनले लगाएका छन् । उनका अनुसार कर्मचारीहरूले उनलाई धम्क्याएको र छोराको नाम डोनाल्ड ट्रम्प राखेकोमा उनलाई सोधपुछका लागि अफगानी खुफिया विभागमा पठाइने धम्की समेत दिएका थिए । “मैले विभागमा गएर छोराको नाम भन्ने बित्तिकै त्यहाँका कर्मचारीहरू अचम्म परे, उनीहरूले मलाई हेर्दै भने-‘डोनाल्ड ट्रम्प रे! के हो यो ?’ उनीहरू गिल्ला गर्दै भने- ‘हेर, यसले आफ्नो छोराको नाम डोनाल्ड ट्रम्प राखेको छ- कस्ता संस्कार विहीन मान्छे ।’  त्यसपछि मैले उनीहरुको काम परिचयपत्र सत्यापन गर्नु मात्र रहेको भन्नु पऱ्यो ।” आलोचकहरूका भनाइमा अस्सदुलाहले आफ्नो छोराको नाम डोनाल्ड ट्रम्प राख्नुका पछाडि मान्छेहरूको ध्यान आफूतिर आकृष्ट गरेर विदेशमा शरण खोज्नु हो । तर उनी यो कुरालाई नकार्दै आफूले कहिल्यै पनि बच्चाको परिचय यसरी सार्वजनिक होस् भन्ने नचाहेको बताउँछन् । फुच्चे डोनाल्ड ट्रम्पको समाचार सार्वजनिक भएपछि एउटा अर्को परिवारको मामिला सार्वजनिक भएको छ । सहरिस्तान जिल्लाकै निवासी गुलाम अली पैमानले आफ्ना दुई वर्ष अघि जन्मेका जुम्ल्याहा छोराहरू मध्ये एकको नाम ‘भ्लादिमिर पुटिन’ र अर्कोको नाम ‘बाराक हुसेन ओबामा’ राखेको बताएका छन् । उनकी श्रीमती भने दोस्रो बच्चाको नाम ‘डोनाल्ड ट्रम्प’ राख्ने इच्छा व्यक्त गरेकी थिइन् । मुजिब मशाल र फहीम आबेद न्यूयोर्क टाइम्सबाट साभार र अनुवाद गरिएको  

मेयरलार्इ गोली हानेको शंकामा विप्लवका ३ कार्यकर्ता पक्राउ

कैलाली, फागुन २९ । कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि सोमबार राति गोली र खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार प्रहरीले सोमबार राति नै सुखड क्षेत्रबाट नेकपा माओवादी विप्लव नेतृत्वको नेकपाका ३ जनालाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको जानकारी दिए । अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरुको नाम खुलाउन नमिल्ने घिमिरेले बताए । घोडाघोडीको ‘बोक्सी काण्ड’मा मिलापत्र गराउन खोजेको भन्दै विप्लव समूहका एक नेताले चौधरीलाई एमालेले कारवाही नगरे आफूहरुले ‘जनकारवाही’ गर्ने धम्की दिएका थिए । सोमबार राति करिब सवा ८ बजेतिर सुखड बजार नजिकै रहेको आफ्नो घरभित्र बसिरहेका नगर प्रमुख चौधरीलाई नचिनेका मान्छेको समूहले काम छ भन्दै घर बाहिर बोलाएर गोली र खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । चौधरीको कम्मरमुनि गोली लागेको र टाउको तथा दायाँ हातमा खुकुरीको चोट लागेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिएका छन् । थप उपचारका लागि काठमाडौं लैजाने तयारी उनलाई पहिले खुकुरी र पछि गोली हानिएको थियो । घटनालगत्तै नगर प्रमुख चौधरीलाई सुखडस्थित घोडाघोडी अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि उनलाई राति नै नेपालगञ्ज मेडिकल कलेज लगिएको हो । चौधरीलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ । नगर प्रमुख चौधरीको अवस्था खतरामुक्त रहेको जानकारी उपचारमा संलग्न चिकित्सकले आफूलाई गराएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक घिमिरेले बताएका छन् । ३ वटा मोटरसाइकलमा आएको समूहले घर बाहिर बोलाएर चौधरीलाई आक्रमण गरेको बुझिएको उनले बताए । घटनास्थलबाट प्रहरीले से २ प ३६७१ नम्बरको मोटरसाइकल बरामद गरेको छ । उक्त मोटरसाइकल कसको हो भन्ने खुलिनसकेको प्रहरी अधिकारीहरुले बताएका छन् । चौधरीका छिमेकी बिशाल पाण्डेयले घटनालगत्तै स्कुटीमा राखेर मेयर चौधरीलाई अस्पताल पुर्‍याइएका थिए । घरभित्र बसेका बेला बाहिर बन्दुक पडि्कएको आवाज सुनेपछि बाहिर आउँदा आक्रमण भएको आफूले थाहा पाएको उनले बताए । ‘घरमा पुगेकै बेला मेयरमाथि आक्रमण भएको देखेपछि दुवै जनाले आक्रमणकारीलाई रोक्न खोजे, तर पेस्तोल देखाएर तर्साए,’ पाण्डेयले भने, ‘मेयरकी भाउजूले पनि रोक्न खोज्नु भएछ । आक्रमणकारीले पेस्तोल देखाउँदै मार्ने धम्की दिएर भागे ।’

निदाहास ट्रफी: भारतले लियो श्रीलंकासँग बदला

काठमाडौं । कोलम्बोको प्रेमदासा स्टेडियममा जारी रहेको निदाहास टि-२० अन्तर्राष्ट्रिय क्रिकेटको चौथो खेलमा भारतसँग श्रीलंका ६ विकेटले पराजित हुन पुगेको छ । १५३ रनको लक्ष्य पूरा गर्न मैदान झरेको भारतका लागि मनीष पाण्डेले ४२र दिनेश कार्तिकले ३९ रन जोडे । उसले १७.४ ओभरमै ४ विकेट गुमाएर लक्ष्य प्राप्त गऱ्यो । श्रीलंकाका अकिला धनंजयले २ तथा नुवान प्रदीप र जीवन मेंडिसले समान १-१ विकेट लिए । टस हारेर ब्याटिंगको निम्ता पाएको श्रीलंकाको प्रदर्शन औसत रह्यो । उसले ९ विकेट गुमाएर १५२ रन जोड्यो । यसमा कुसल मेंडिसको अर्धशतक सामेल थियो । भारतीय बलिंग तर्फ एस एन ठाकुरले ४ र वासिंगटन सुंदरले २ विकेट झारे । त्यस्तै उदनकट, चहल र विजय शंकरलाई पनि एक एक सफलता मिल्यो । भारतले पहिलो म्याचमा श्रीलंका सितको हारको बदला लिएको छ ।  

ओएसिस कलेजमा क्रान्तिकारीको तालाबन्दी

भरतपुर । चितवन जिल्लाको भरतपुरमा रहेको ओएसिस मेडिकल कलेजमा आइतबार अखिल क्रान्तिकारीले तालाबन्दी गरेका थिए । उक्त कलेजमा बिगत चार बर्ष देखि बिएसि नर्सिङ्ग अध्यन गरेका बिधार्थीहरुले पुर्बान्चल विश्वविद्यालयले लिएको अन्तिम परिक्षामा सहभागी भई उत्तीर्ण भएका तापनि फागुन २६ गते नेपाल नर्सिङ परिषद्ले लिएको लाइसेन्स परीक्षामा सहभागी हुन पाएका थिएनन् । परीक्षामा सहभागी हुन नपाएपछि पीडित विद्यार्थीले अखिल क्रान्तिकारीको केन्द्रिय कार्यालय बागबजारमा पुगी अध्यक्ष रन्जित तामाङ र चितवन जिल्ला कार्यालयसमेत लिखितरुपमा आफ्नो भविष्यको बारेमा सोची दिन अनुरोध गरेका थिए । विद्यार्थीहरुको आग्रह पश्चात क्रान्तिकारीको केन्द्रीय कार्यालयले मातहतका कमिटीहरुलाई यथार्थ बुझी तत्कालै आन्दोलन अगाडि बढाउन निर्देशन गरेको थियो । आइतबार बिहान अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सुरजसिह ठुकुरीको नेतृत्वमा पुगेको टोलिले कलेजमा अनिश्चितकलिन तालाबन्दी गरेका थिए । “कलेजले न्युनतम मापदण्ड समेत पूरा नगरी संचालन गर्ने र नर्सिगं काउन्सिलको निर्देशन अवज्ञा गरी पठनपाठन संचालन गरी विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको तालाबन्दीका क्रममा जिल्ला अध्यक्ष बसन्त आचार्यले दाबी गरे । विद्यार्थीहरुको संक्षिप्त सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य सुरजसिंह ठकुरीले अब क्रान्तिकारी संगठन मुखदर्शक भएर नबस्ने र आन्दोलनलाई निष्कर्षमा पुर्याई पीडित विद्यार्थीहरुलाई न्याय र दोषी कलेज संचालकलाई कारबाहीको दायरामा ल्यार्इ छाड्ने बताए । यसबारेमा कलेज संचालक हेमकुमारी चौधरीसँग सम्पर्क गर्न खोज्दा आइतबारै आफु यो विषयमा छलफल गर्न काठमाडौं जाँदै गरेको र आफ्नो संस्थालाई नर्सिंग काउन्सिलले अन्याय गरेको दाबि गरिन् । चौधरीले यसो भने तापनि कलेजका विद्यार्थीहरु आफुहरुले नर्सिंग काउन्सिलको सूचना थाहा पाएर कलेज प्रशासनसँग कुरा गर्दा बेवास्ता गरिएको भन्दै आफूहरुको लाखौ रुपैयाँ लगानी र समय बर्बाद हुन लागेको भन्दै सहयोगका लागी सबै सरोकारवाला आग्रह गरेका छन् । आजै क्रियाशील ती विद्यार्थी संगठनहरु नेविसंघका अध्यक्ष नेनसिहं महर, अखिल अध्यक्ष नबिना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामाले संयुक्त बिज्ञप्ति जारी गर्दै समस्या सामाधानको माग गरेका छन् ।

हरिवंशको यो खुबीलाई कुन शब्दले बयान गर्ने ? हेर्नुहोस् भिडियो यसरी हँसाएरै दर्शक ढलाए

यही आगामी चैत ९ गतेदेखि देशव्यापीरुपमा प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘शत्रु गते’ को निर्माण समूह देश दौडाहामा लागेको छ । चलचित्रको प्रसारप्रसार गर्ने उद्देश्यले चलचित्रको निर्माण टिम तथा कलाकारको टोली देश दोडाहामा निस्किएको हो। निर्माण टिमले फागुन २३ गते हेटौडा, २४ गते नारायणघाट, २५ गते बुटवलमा कार्यकम सम्पन्न गरीसकेको छ। यसैक्रममा २६ गते पोखरामा आफ्नो प्रचार सहितको कार्यकम सम्पन्न गरेको छ। पोखरामा कलाकारहरु किरण केसी, शिवहरि पौडेल, पल शाह, आँचल शर्मा, दिपाश्री निरौलालगायतका कलाकारको उपस्थिति सहित प्रस्तुति पनि राखेका थिए । यसै कार्यकममा दिपाश्री निरौला र हरिवंश आचार्यको रमाइलो हास्य प्रस्तुतमा धेरै दर्शक पेट मिचीमिची हाँसेका थिए हेरौं यो भिडियो–  

एम्बुलेन्स कुर्दाकुर्दै बिरामीको मृत्यु !

धनकुटा, फागुन २७ । पातारासी गाउँपालिका-४ का धनबहादुर बुढालाई शनिबार दिउँसो उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भयो। ४२ वर्षीय उनलाई दमको व्यथाले च्यापेपछि बिहान घरबाट स्ट्रेचरमा बोकेर ल्याउँदै गर्दा ज्यान गएको हो। घरबाट साढे दुई घन्टा बोकेर ल्याएपछि उर्थुचौतारामा एम्बुलेन्सको प्रतीक्षा गर्दागर्दै उनको निधन भएको हो। यसअघि पनि पातारासीकै विभिन्न बस्तीबाट उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा धेरै बिरामीको अकालमा ज्यान गएको छ। अकस्मात् चोटपटक लाग्दा होस् वा प्रसूति व्यथा लाग्दा, बिरामी अस्पतालसम्म पुग्नै भ्याउँदैनन्। ‘घरसम्म एम्बुलेन्स पुगेको भए बाबाले ज्यान गुमाउनुपर्ने थिएन’, मृतकका छोरा लालु बुढाले भने, ‘गाउँपालिकाको एम्बुलेन्स खोज्दा भेटिएन। प्रतिष्ठानको एम्बुलेन्स बोलाउन र पुग्न ढिलाइ हुँदा बाबाको मृत्यु भयो। सामान्य अक्सिजन नपाएरै बुबाले ज्यान गुमाउनुपरेको उनले गुनासो गरे। उनका अनुसार बुबाको मृत्युपछि बल्लतल्ल पुगेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एम्बुलेन्सले आतेजाते १२ सय भाडा पनि असुल्यो। पातारासी गाउँपालिकाका धेरैजसो आपतकालीन बिरामीलाई घरायसी तथा प्राथमिक उपचारपछि स्टे«चरमा बोकेर थप उपचार गर्न प्रतिष्ठान लैजाँदै गर्दा ढिलो भएका कारण बाटोमै ज्यान गुमाउनुपरेको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका मैया महताराले बताइन्।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

विश्वकप क्रिकेट छनोट : अाज नेपाल र अफगानिस्तान भिड्ने

काठमाडौं, फागुन २६ । आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा अाज चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्देछ । जिम्बावेमा जारी उक्त प्रतियोगितामा नेपालले बुलावायोस्थित एथ्लेटिक क्लबमा नेपाली समयअनुसार दिउँसो १:१५ बजे अफगानिस्तानको सामना गर्नेछ । एक दिवसीय खेलमा नेपाल र अफगानिस्तान अहिलेसम्म सात पटक भिडेका छन् । अफगानिस्तान ६ खेलमा र नेपाल एउटा खेलमा विजयी भएको छ । सुपर सिक्समा आफनो स्थान सुरक्षित गर्नका लागि नेपाललाई उक्त खेल जित्नैपर्ने दबाब छ । लगातार दुई खेलमा नेपालले हार बेहोरेको छ । नेपालले एक दिवसीय मान्यता पाउनका लागि बाँकी दुबै खेल जित्नैपर्ने हुन्छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ११६ रन तथा दोस्रो खेलमा स्कटल्याण्डसँग चार विकेटको हारेको थियो । टेष्ट मान्यता पाइसकेको अफगानिस्तान स्कटल्याण्ड, जिम्बावे र हङकङसँग पराजित भइसकेको छ । अफगानिस्तानको सुपर सिक्समा पुग्ने गणितीय आधार मात्र बाँकी छ । नेपालले अफगानिस्तानसँगै हङ्कङसँग खेल्न बाँकी छ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीन स्थान हात पार्ने टोली सुपर सिक्समा पुग्नेछन् र त्यसबाट शीर्ष दुई टोली छनोट भई विश्वकप क्रिकेट प्रतियोगिताको लागि छनोट हुनेछन् ।

अभिनेता इरफान खानलाई क्यान्सरको भएको आशंका

किन होला आजभोलि बलिउड क्षेत्रमा एकपछि अर्काे दुःखको सुन्नुपरेको छ ? चर्चित अभिनेत्री श्रीदेवीको निधनको शोक सेलाउन नपाउँदै मंगलबार अर्की अभिनेत्री नेगरिसको निधन हुन पुग्यो । फेरि अर्काे अभिनेता इरफान खानको स्वास्थ्यमा क्यान्सरको आशंका गरिएको छ । इरफानले एक ट्विट गर्दै आफू हाल स्वास्थ्य परीक्षणमा लागेको र दस दिनपछि सबै कुरा बताउने उल्लेख गरेपछि बलिउडमा विभिन्न अड्कलबाजी सुरु भएको छ । उनको स्वास्थ्य परीक्षण गर्दा इरफान ग्लिब्लास्टोमा मल्टिफर्मबाट पीडित भएको पुष्टि भएको छ । यसलाई चिकित्सा विज्ञानमा क्यान्सर भनेर चिनिन्छ । इरफानले आफू गम्भीर रोगबाट जुधिरहेको उल्लेख गर्दै अहिले सबैको आशीर्वाद आवश्यक रहेको बताएका छन् । धेरैले इरफानलाई ब्रेन ट्युमर भएको आशंका गरेका छन् । इरफानले सो ट्विट गरेलगत्तै दर्जनौं बलिउड स्टारले उनलाई स्वास्थ्यलाभको कामना गरेका छन् । विशाल भारद्वाजले इरफान र दीपिका पादुकोणे अभिनित फिल्मको सुटिङ गर्न ढिलाइ गरेपछि इरफान गम्भीर रोगबाट पीडित भएको तथ्य खुलेको हो । निर्देशक भारद्वाजले इरफानलाई पहेंलो रोग लागेको र दीपिका ढाड दुख्ने समस्याबाट पीडित भएको स्टेटमेन्ट जारी गरेका थिए । अभिषेक बच्चन, सुनिल सेठ्ठी, कोमल नाहटालगायतले इरफानको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै ट्विट गरेका छन् । इरफानले अभिनय गरेको ‘ब्ल्याकमेल’ अर्को महिना रिलिज हुँदैछ । इरफान बलिउडका साथै हलिउड फिल्मका पनि चर्चित कलाकार हुन् । एजेन्सीको सहयोगबाट  

नक्सापास नै नगरी भवन बनाउँदै त्रिवि

काठमाडौं, फागुन २३ । त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माणाधीन उपकुलपति, रेक्टर, डीन कार्यालयलगायतका निकायले भवन बनाउँदा नक्सापास नगरिएको भेटिएपछि कीर्तिपुर नगारपालिकाले तत्काल नक्सापास गर्नुपर्ने जनाउँदै पत्र पठाएको छ । त्रिविले हालसम्म निर्माण गरेका कुनै पनि भवनको नक्सा पास गरेको छैन । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा खबर छापिएको छ । नक्सापास नगरी धमाधम भवन निर्माण गर्न थालेपछि कीर्तिपुर नगरपालिकाले कारबाही प्रक्रिया अघि बढाउन लागेको हो । त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले त्रिविमा हालसम्म निर्माण गरिएको कुनै पनि भवनको नक्सापास नगरेको स्पष्ट पारे । उनले भने, बल्ल जानकारी भयो, अब प्रक्रियामा जानेछौं ।

श्रीदेवीको निधनको शोक सेलाउन नपाउँदै अर्की अभिनेत्री नरगिसको निधन

मुम्बई । बलिउड क्षेत्रमा फेरि अर्काे अभिनेत्रीको निधनको शोक परेको छ । बलिउडका चर्चित अभिनेत्री श्रीदेवीको निधनको पीडा सेलाउन नपाउदै बलिउडमा अर्की एक अभिनेत्रीको पनि निधन भएको छ । अभिनेत्री नरगिस रबाडीको निधन भएको हो । ‘देख भाइ देख’ जस्ता केही चर्चित सोमा काम गरेकी अभिनेत्री नरगिस बलिउडमा शम्मी आन्टीको नामले परिचिति थिइन् । ८९ वर्षकी नरगिस पछिल्लो समय फराहा खान र बोमन इरानीको चलचित्र ‘शीरी फरहाद की तो निकल पडी’मा देखिएकी थिइन्। अभिनेता अमिताभ बच्चनले एक ट्वीट गर्दै अभिनेत्री नरगिसको निधनमा दुःख ब्यक्त गरेका छन् । ‘शम्मी आन्टी एकदमै राम्रो अभिनेत्री थिइन्’ बच्चनले अगाडि लेखेका छन् ‘बलिउडमा उनले ठुलो योगदान गरेर बिदा भइन् ।’ नरगिस केही बर्ष देखि बिमारी समेत रहेकी थिइन् । नरगिसले २०० बढी चलचित्र, सिरियल र रियालटी सोमा समेत काम गरेकी छन् । मल्हार’ चलचित्रमा शम्मी आन्टीको भुमिका निर्बाह गरेपछि बलिउडमा उनलाई यो नामले बोलाउन थालिएको थियो । एजेन्सीको सहयोगबाट

नेपाली क्रिकेट : छोटो तयारी, ठूलो सपना

काठमाडौं, फागुन १२ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुई प्रतियोगितामा उपविजेता बनेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोली साता दिन पनि नबित्दै अर्को महत्र्वपूर्ण प्रतियोगिता खेल्न विदेश जाँदै छ। नेपाली टोली सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने क्रिकेट विश्वकपको अन्तिम छनोट प्रतियोगिताका लागि शनिबार जिम्बावेतर्फ प्रस्थान गर्दै छ। त्यसका लागि नेपाली टोली प्रधानमन्त्री केपी शर्मा ओलीबाट शुक्रबार नै बिदाइसमेत भइसकेको छ। फागुन २० गतेदेखि सुरु हुने प्रतियोगिता नेपाली टोलीका लागि निक्कै महत्र्वपूर्ण रहेको छ। यो प्रतियोगिताले नेपाललाई पहिलो पटक ५० ओभर क्रिकेटको विश्वकपमा पुर्‍याउने मात्रै हैन, आगामी चार वर्षका लागि एक दिवसीय टोलीको मान्यता पनि दिलाउनेछ। यद्यपि त्यसका लागि नेपाललाई प्रतियोगिताको फाइनलमा पुग्नु पर्नेछ। आईसीसीको अहिलेसम्मको निर्णयअनुसार प्रतियोगिताको शीर्ष दुई टोली अर्काे वर्ष हुने विश्वकपका लागि छनोट हुनेछन् भने एसोसिएटमध्ये (नेदरल्यान्ड्सबाहेक) शीर्ष तीनमा रहने टोलीले सन् २०२२ सम्मका लागि एक दिवसीय टोलीको मान्यता पाउनेछन्। नेपालका लागि ५० ओभर क्रिकेटको विश्वकप छनोट तथा एकदिवसीय टोलीको मान्यता दुवै पहिलो उपलब्धि हुनेछन्। नेपाली क्रिकेटले अहिलेसम्म चाहेको अवसर पनि यही हो। आईसीसीबाट प्राप्त हुने फन्ड र खेलाडीको क्षमता अभिवृद्धिका लागि महत्र्वपूर्ण मानिने ५० ओभर क्रिकेटको सफलताले मात्रै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा अझ सशक्त बनाउनेछ। नेपालका लागि यो अवसर सहज भने छैन। यसअघि दुई पटक विश्वकप जितिसकेको वेस्ट इन्डिजसहित टेस्ट टोलीहरू जिम्बावे, अफगानिस्तान, आयरल्यान्डसहित पछिल्लो चार वर्षयता डिभिजन एकमा रहेर उच्चस्तरको प्रतियोगिता खेल्दै आइरहेका हङकङ, पपुवान्युगिनी, नेदरल्यान्ड्स, स्कटल्यान्ड्स र डिभिजन दुईको विजेता टोली संयुक्त अरब इमिरेट्स (यूएई) ले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपालका लागि त्यो अवसर निक्कै चुनौतीपूर्ण रहेको छ। पछिल्लो केही समययता नेपाली टोलीले पनि माथिल्लो स्तरको क्रिकेट खेल्दै आइरहेको छ। हालैमात्र डिभिजन दुई प्रतियोगिता खेलेर आइरहेको नेपाली टोली लयमै छ। तर, अहिलेसम्मको महत्र्वपूर्ण र ठूलो प्रतियोगिता खेल्न लागेको नेपाली टोलीले विशेष तयारी भने गर्न पाएन। डिभिजन दुई खेलेर नामिबियाबाट फर्केपछि नेपाली टोलीले शुक्रबार आधा दिन अभ्यास गरेको थियो। यसबीचमा नेपालले कुनै पनि तयारी गर्न पाएन। नेपाली टोलीले प्रतियोगिता अघि जिम्बावेमै फागुन १५ गते यूएई तथा फागुन १७ गते हङकङसँग वार्म अप खेल खेल्दै छ। त्यसको दुई दिनपछि नै नेपालले बलियो प्रतिद्वन्द्वी आयोजक जिम्बावेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाली टोलीसँग प्रतियोगिताको तयारीका लागि अब मात्रै त्यही दुई वार्म अप म्याच र मुस्किलले साता दिनको समय रहनेछ। पहिलो पटक जिम्बावेमा खेल्न लागेको नेपाली टोलीलाई पिच कन्डिसन बुझ्न पनि थोरै अवसर हुनेछ। अहिलेसम्मकै ठूलो र महत्र्वपूर्ण प्रतियोगिता खेल्न लागेको टोलीलाई छोटो समयको तयारीले मुस्किल हुन सक्नेछ। चुनौतीका बाबजुद नेपाली टोलीका कप्तान पारस खड्काले नेपालले विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यताकै लागि खेल्ने प्रतिक्रिया दिए। यद्यपि उनले पहिलो लक्ष्य सुपर सिक्समा पुग्ने हुने बताए। ‘हामी पछिल्लो केही समययता निरन्तर खेलिरहेका छौं। यही टोली सेट भइरहेको छ’, कप्तान पारस भन्छन्, ‘प्रतियोगितामा सहभागी टोलीहरू साँच्चिकै हामीभन्दा बलिया छन्। सबैको तयारी राम्रो छ। केहीले त वर्ष दिनअघिबाटै यही प्रतियोगिताबाट तयारी गरेका थिए। हामी विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यताकै लागि खेल्नेछौं। अहिलेलाई हाम्रो उद्देश्य सुपर सिक्स प्रवेश गर्नै हुनेछ।’ प्रशिक्षक टमाटा पनि पारसको कुरामा सहमत छन्। ‘हाम्रो टोली पनि नराम्रो छैन। खेलाडीहरूले क्षमताअनुसारको प्रदर्शन गर्न सकेको अवस्थामा उद्देश्य पूरा गर्ने छौं’, प्रशिक्षक टमाटा भन्छन्, ‘हामी विश्वकप छनोट र एक दिवसीय टोलीको मान्यता प्राप्त गर्नकै लागि खेल्नेछौं।’ नेपाल लगातार दोस्रो पटक विश्वकप छनोट प्रतियोगिता खेल्दै छ। सन् २०१५ मा न्युजिल्यान्डमा भएको विश्वकप छनोट प्रतियोगितामा निक्कै कमजोर प्रदर्शन गरेको थियो। प्रायः खेलाडी बिरामी र चोटग्रस्त हुँदा नेपाल त्यसबेला सहभागी १० टोलीमध्ये नवौं स्थानमा रहन पुगेको थियो। सोही प्रतियोगिताको कमजोर प्रदर्शनले गुमाएको विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यता प्राप्तका लागि पनि नेपालले यस पटक सशक्त प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। -अन्नपूर्ण पोष्टमा खबर छ ।

जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर

नुवाकोट, फागुन ११ । यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् । पञ्चकन्या गाउँपालिका–५ साविक भदु्रटार–३ का नौले भनिने सानुवीरे तामाङ जन्मनु भन्दा तीनवर्ष अघि नुवाकोट जिल्ला अदालतबाट चोरी मुद्दामा दोषी ठहर भई कारागार चलान भएको छ । चिरञ्जीवी भन्ने व्यक्तिको जाहेरीले सरकारवादी भएको चोरी मुद्दामा विसं २०१८ साल चैत ६ गते जन्मनुभएका तामाङ विरुद्ध नुवाकोट जिल्ला अदालतको विसं २०१५ साल जेठ १८ को फैसलाले ६ महिना कैद र रु दुई हजार ४२३.५० जरिवाना सुनाएको भन्दै फैसला कार्यान्वयनको क्रममा उनलाई बुधबार जेल चलान गरिएको छ । अदालतको फैसलाले दोषी ठहर भएका व्यक्ति खोजी गर्ने क्रममा तामाङलाई बुधबार प्रहरीले भदु्रटारस्थित घरबाट पक्राउ गरी सोही दिन अदालतमा उपस्थित गराएको थियो । उहाँसँग जरिवानाबापतको रकम असुल गरी कैद भुक्तानीका लागि नुवाकोट कारागार चलान गरेको अदालतका श्रेष्तेदार महिमानसिंह विष्टले जानकारी दिनुभयो । “दोषी ठहर भएका व्यक्ति यहीँ हो भनेर प्रहरीले उपस्थित गरायो” विष्टले भन्नुभयो “उहाँले पनि गल्ती स्वीकार गरेकाले कारागार पठाएका हौं ।” जन्मनु भन्दा तीन वर्ष अघिको मुद्दामा दोषी ठहरिएर जेल गएका सानुवीरेका छोरा प्रेमबहादुर तामाङले निर्दोष बुबालाई जेल पठाएको भन्दै प्रहरी र अदालतमा पुगे पनि न्यायिक प्रक्रियबाट अघि बढ्न सुझाव दिएका छन् । “राउतवँेशी गाविस–८ मा जन्मिएका बुबाले विसं २०४४ मा गाउँखर्क गाविस–३ बाट नागरिकता बनाउनुभएको छ ।” प्रेमबहादुरले भन्नुभयो “२०४६ देखि भदु्रटार आएर बसेका हौं । यता नयाँ मान्छे देखेर ‘नौले’ भन्ने गरेका थिए, अहिले नाम मिल्यो भनेर प्रहरीले जेल पठायो ।” निर्दोष व्यक्ति जेलमा जानु परेको भन्दै परिवारले रिहा गर्न आग्रह गरेपनि प्रहरी र अदालतले बन्दीप्रत्यक्षीकरण रिटमार्फत उच्च अदालतमा जान सुझाव दिएका छन् । कमजोर आर्थिक अवस्था र शिक्षाको ज्ञान नभएको तामाङ परिवार अहिले अन्यौलमा परेका छन् । न्यायिक निकायबाट दोषी ठहर भएका तथा अभियुक्त रहेर फरार भएकालाई पक्राउ गर्न नुवाकोट प्रहरीले माघ २८ देखि ‘विशेष अभियान’ चलाइरहेको छ । जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले फरार दोषी तथा अभियुक्तले समातिएपछि बच्न विभिन्न हर्कत अपनाउने गरेको बताउनुभयो ।

नारायणगढ–मुग्लिन सडक सम्पन्न गर्न थप तीन वर्ष समय माग

चितवन। दुई वर्षमा सक्नुपर्ने आयोजना तीन वर्ष बित्नै लाग्दा पनि ठेकेदार कम्पनीले थप तीन वर्ष मिति मागेको छ, भन्ने सुन्दा धेरैलाई अचम्म लाग्नसक्छ । देशकै लाइफलाईन मानिने नारायणगढ–मुग्लिन सडक खण्डको विस्तारको कामलाई ठेकेदार कम्पनीले एक हजार ४९ दिन थप गर्न माग गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मितिमा काम नसकिएपछि तीन पटक गरेर १० महिना यसअघि नै म्याद थप गरिएको थियो । तीन खण्डमा विभाजन गरी ठेक्का दिइएको उक्त सडक खण्डको तेस्रो पटक थपिएको मिति पहिलो खण्डको बुधबार सकिएको छ, भने अन्य दुई खण्डको यही फागुन ८ गते सकिँदैछ । हालसम्म ७४ प्रतिशत काम मात्रै सकिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाको परामर्शदाता कम्पनीका सहायक आवासीय इञ्जिनियर ज्ञानेन्द्र घिमिरेकाअनुसार तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको सुप्रिम–रौताहा जेभीले १२ दशमलव १ किलोमिटर सडक विस्तार गर्न थप समय माग गरेको हो । सो कम्पनीले यसअघि नै १० महिना थप समय पाइसकेको छ । कम्पनीले भूकम्पका कारण काम हुननसकेको भन्दै आठ दिन, मौसम खराब भएकाले १९६ दिन, तराई बन्दका कारण ४४ दिन, इन्धन अभावका कारण ४९ दिन, पहिरोले सडक अवरोध गरेका कारण ६० दिन, पूरा दिन काम गर्न नपाएको भन्दै ४३८ दिन, सडकमा सवारी जामका कारण १७ दिन, निर्वाचनका कारण ३० दिन र चाडपर्वका कारण ४९ दिन समय माग गरेको छ । त्यसैगरी पुलका कारण १० दिन, माघे संक्रान्तिको तीन दिन, बिजुलीको पोल समयमा नहटेका कारण ७७ दिन, जलबिरेमा सडक साँघुरो भएको भन्दै १९ दिन तथा काम थपिएको भन्दै १०९ दिन माग गरिएको घिमिरेले बताए । यसैगरी दोस्रो खण्ड निर्माणको जिम्मा लिएको उड हिल–लामा जेभीले १० दशमलव ७ किलोमिटर सडक निर्माण गर्न ३३६ दिन थप समय माग गरेको छ भने पहिलो खण्ड निर्माण जिम्मा लिएको बिएलए–श्रेष्ठ जेभीले १० दशमलव ४ किलोमिटर सडक विस्तार गर्न थप ६८४ दिन समय माग गरेको छ । आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मीले एक हजार ४९ दिन समय माग गर्ने तेस्रो खण्डलाई ९९ दिन, ३३६ दिन मागेको दोस्रो खण्डलाई ८९ दिन र ६८४ दिन थप समय मागेको पहिलो खण्डलाई ८५ दिन उपयुक्त भएको भन्दै प्रस्ताव गरिएको बताए । पहिलो खण्डका लागि १० मे २०१८, दोस्रो खण्डका लागि २० मे २०१८ र तेस्रो खण्डका लागि ३० मे २०१८ सम्मको समय थप गर्न सिफारिस गरिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले समय थपको सिफारिस विभागमा पठाइएको बताए । उपयुक्त कारण रहेका र काम गर्न नसकिएको समयलाई मात्रै समय थपको सिफारिस गरिएको उनले बताए । हालसम्म विभागले समय थपको निर्णय गरिसकेको छैन । सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको थियो । विसं २०७४ शुरु भएयताको दुई पटकको निर्वाचन, वर्षातको समय, चाडपर्वको समय र थपिएको कामका कारण काम गर्ने समय थप्न लागिएको छ । (रासस)

बिहानै दुखद खबर – सिंचाई सचिव यादव चढेको जिप त्रिशूलीमा बेपत्ता

धादिङ, माघ २७ । धादिङको बेनीघाट गाउँपालिका–४ सलाङघाटबाट एउटा जिप त्रिशूली नदीमा खस्दा सिंचाई मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवसहित तीन जना बेपत्ता भएका छन् । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बा २ झ ३१४० नम्बरको जिप आज बिहान अनियन्त्रित भएर त्रिशूली नदीमा खसेको हो । जिपमा सवार सिंचाई मन्त्रालयका सचिव यादवसहित उनका छोरा सञ्जय र एक जना आफन्त बेपत्ता भएका छन् । गाडी चालक निराजन यादवलाई भने उद्दार गरेर काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले जानकारी दिए । बेपत्ता भएकाहरुको खोजी भइरहेको छ ।