चाेरविरुद्ध अाक्रामक प्रहरी, काठमाडौंमा १२४ पक्राउ
काठमाडौं, माघ १८ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने १२४ जनालाई पक्राउ गरेको छ ।
परिसर र महाशाखाले यही माघ १५ गतेदेखि सन्चालन गरेको ‘चोरी विशेष अभियान’अन्तर्गत् उनीहरुलाई पक्राउ गरी कारबाही गरिएको हो ।
परिसर र महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी विशेष अभियान सन्चालन गरी चोरी गर्नेलाई रंगेहात पक्राउ गरी कारबाही गरेको जानकारी दिएको हो ।
परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले दिउँसोको समयमा बढी मात्रामा चोरी तथा लुटपाट हुने गरेको जानकारी दिए ।
‘अरु सामग्रीको तुलनामा नगद, सुन, चाँदी बढी चोरी हुने गरेको छ’–उनले भने ।
साथीभाइको संगत, विगतको घरमा बसेर विगतको घरबेटीकाबारेमा सबै जानकारी पाएका, भारतबाट नेपालमा आएर विभिन्न व्यवसाय गर्ने व्यक्ति चोरीमा बढी संलग्न भएको परिसरले जनाएको छ ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले १८ देखि ३० वर्ष उमेरका व्यक्ति बढी चोरीमा संलग्न भएको पाइएको बताए ।
‘प्रहरीले सुरु गरेको ‘प्रहरी–समुदाय साझेदारी’ कार्यक्रमले चोरीमा संलग्न पक्राउ गर्न सजिलो भएको छ’–उनले भने ।
परिसर र महाशाखाको टोलीले बिहीबार र शुक्रबारमात्र बानेश्वरबाट १७, महाराजगन्जबाट १३, न्यूरोडबाट ८, थानकोटबाट ९ जनालाई पक्राउ गरेको छ भने ८३ जनासँग अनुसन्धान गरिरहेको छ ।
दुई महिला र १९ पुरुष धरौटीमा छुटेका छन् । यस्तै, तीन महिला र २१ पुरुषलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । रासस
सुन काण्डमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश भुर्तेल पनि तानिए
काठमाडौँ — सुन तस्करीसम्बन्धी मुद्दा पेशी व्यवस्थापनमा ‘कैफियत’ भेटेपछि न्यायपरिषद्ले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेललाई समेत कारबाही स्वरूप काठमाडौँ तानेको छ । परिषद् बैठकले सोमवार भुर्तेललाई न्यायपरिषद सचिवालयमा ‘काज’ सरुवा गरेको हो । कान्तिपुर दैनिकका अनुसार, साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका आरोपीवारे जिल्ला अदालतले गरेको ‘थुनछेक आदेश’ विरुद्धको निवेदन व्यवस्थापन क्रममा भुर्तेलको भूमिका शंकास्पद देखिएको स्रोतको भनाइ छ । ‘यस्ता निवेदनहरू उहाँले सुरुमा एकसाथ राख्नुभयो, पछि अलग अलग गरेर इजलास बाँडेको भेटियो’ परिषद् स्रोतले भन्यो, ‘पेशी व्यवस्थापन लगायत कतिपय कार्यविधिका विषयवस्तुमा गम्भीर प्रश्न उठेपछि झिकाइएको हो ।’ न्यायपरिषदले उच्च अदालत विराटनगरको घटनाबारे छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई जिम्मेवारी दिएको छ । उनले १५ दिनभित्र छानबिन प्रतिवेदन बुझाउनेछन् । यसअघि विराटनगर उच्च अदालतका न्यायाधीशहरू नागेन्द्रलाभ कर्ण, थीरबहादुर कार्की, सारंगा सुवेदी, उमेशकुमार सिंह र उमेशराज पौडेल काठमाडौँ झिकाइएका थिए । जिल्ला अदालत ललितपुरका न्यायाधीश विश्वमंगल आत्रेयका बारेमा छानबिन गर्न पनि परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईलाई जिम्मेवारी दिएको छ । भिसा प्रोसेसिङ र स्वास्थ्य परीक्षणका नाममा मलेसिया जाने नेपाली कामदारलाई ठगी गर्दै आएका भीएलएनका सञ्चालक रामकुमार श्रेष्ठलाई सफाइ दिएकोलगायत आत्रेयका फैसलामा गम्भीर प्रश्न उठाउँदै उजुरी परेकाले परिषद्ले सचिवालयमा तानेको हो । परिषद्ले सोमवारै सर्वोच्चका मुख्य रजिस्ट्रार राजनकुमार भट्टराईलाई उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको छ । उनी सरकारी वकिल समूहबाट सचिव भई सर्वोच्चको मुख्य रजिस्ट्रारसम्म बनेका थिए । राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सर्वोच्चका पूर्व न्यायाधीश तपबहादुर मगरको नाम सिफारिस भएको छ । सेवा अवधि पुगेका कारण प्रतिष्ठानको कार्यकारी निर्देशकबाट केशरीराज पण्डितले अवकाश पाएका थिए ।
देउवाको आरोप– सरकारले निर्मला पन्तको घटनामा भेटिएका सबै प्रमाण नष्ट गर्यो
लमजुङ, माघ ७ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले हत्या, हिंसा, बलात्कारजस्ता अपराधिक घटना नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा लमजुङको छैटौं जिल्ला अधिवेशनमा बोल्दै सभापति देउवाले भने, ‘सरकारले निर्मला पन्तको हत्यारालाई बचाउन घटनामा भेटिएका सबै प्रमाण नष्ट गरेको छ, देशमा हत्या हिंसाका घट्नामा वृद्धि हुँदासमेत सरकार मूकदर्शक बनेको छ ।’ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले हावादारी गफ लगाउँदै हिँडेर विकास निर्माणका क्षेत्रमा केही काम नगरेको आरोप लगाए । “नब्बे प्रतिशत राष्ट्रिय योजना काङ्ग्रेस सरकारकै पालामा सुरुआत भएका हुन्”, उनले भने, “कम्युनिष्टहरू हावादारी कुरा मात्र गर्छन, काम केही गर्दैनन्, काम केही नगर्ने र अरुले गरेका राम्रा काम पनि आफैँले गरेको भन्दै हिँड्ने प्रवृत्ति कम्युनिष्टमा हावी भएकाले विकासले गति लिन सकेको छैन ।” नेपाली काङ्ग्रेसका अर्का केन्द्रीय सदस्य दिलबहादुर घर्तीले कम्युनिष्ट सरकारले प्रेसदेखि अदालतसम्म हस्तक्षेप गरी संसदीय शासन व्यवस्थामाथि नै हस्तक्षेप गरेको आरोप लगाए । कम्युनिष्ट सरकारले ल्याउन खोजेको अधिनायकवादका विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले प्रेस युनियन एक भएपछि काङ्ग्रेस पार्टी एकजुट हुने अपेक्षा गर्दै सबै जिल्लामा प्रेस युनियनलाई एकढिक्का बनाउने अभियानमा लागेको बताए ।
रवि लामिछानेले गरे अर्को विवाह !
काठमाडौँ, माघ ७ । चर्चित संचारकर्मी रवि लामिछानेले उनकाबारेमा चलिराखेको हल्लालाई पुष्टि गर्दै चलचित्र बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका छन् । रवि र निकिताले सोमबार काठमाडौँ जिल्ला अदालतबाट कोर्ट म्यारिज गरेका हुन् । केही समययता यी दुई प्रेम सम्बन्धमा रहेको र चाँडै विवाह गर्ने चर्चा व्याप्त थियो । रवि र निकिता दुवैले आफ्ना पूर्व जीवनसाथीलाई पारपाचुके गरेका हुन् । रविले केही महिना पूर्व पत्नी इशा लामिछानेसँग २५ वर्षे वैवाहिक सम्बन्ध औपचारिक रूपमै भंग गरेका थिए । पहिलो श्रीमतीबाट उनका दुई छोरी छन्। यसका अतिरिक्त अमेरिका बसोबासका क्रममा कुनै विदेशी महिलासँग लिभिङ टुगेदरमा बसेको र ती महिलाबाट एक सन्तान पनि जन्मेको रविले यसअघि नै बताईसकेका छन्। निकिताले पनि सात वर्ष अघि आफ्ना पूर्व पतिसँग सम्बन्ध विच्छेद गरेकी हुन् । कोर्ट म्यारिजपछि रविले सामाजिक सन्जालमा स्ट्याटसमार्फत यो कुरा सार्वजनिक गरेका छन् । रविले लेखेका छन्। ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ।एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जिल्ला आदालतमा विवाह दर्ता गरेका छौ। यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुराचाहन्छौ, आशिर्वाद। परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।’
सुरु भयो स्वस्थानी व्रत, उपत्यकाका विभिन्नस्थानमा भक्तजनको घुइंचो
काठमाडौं, माघ ७ । पौषशुक्ल पूर्णिमा अर्थात् आजदेखि एक महिनासम्म सम्पूर्ण हिन्दू नेपालीहरूले स्वस्थानी व्रत प्रारम्भ गरेका छन्का । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ’ भनी बालुवाको शिवलिङ्ग बनाई श्री स्वस्थानीको व्रत बसेको र मनोकांक्षा पूर्ण भएपछि उनकै आज्ञानुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि श्री स्वस्थानीको व्रत प्रारम्भ गरिएको धार्मिक विश्वास छ । यस पर्वमा विशेषगरी महिलाहरू बिहान सबेरै उठी स्नान गरेर नित्य मध्याह्न महादेवको पूजा आराधना गर्नुका साथै कतिपयले एक महिने व्रत समेत बस्ने गर्छन् । १ महिनासम्म विशेष पौराणिक कथा सुनेर ब्रत बसिने श्री स्वस्थानीप्रति नेपाली नारीहरुको अहिले पनि उत्तिकै लगाव र विश्वास रहेको छ । खास गरेर श्री स्वस्थानी एउटा प्रेममुलक पौराणिक धर्मग्रन्थ पनि हो । श्री स्वस्थानी परमेश्वरीको व्रत बस्नाले यस लोकमा सुख, समृद्धि प्राप्त भई मृत्युपछि कैलाशमा पनि वास हुने विश्वास गरिन्छ । काठमाडौँ उपत्यकाबाट करिब चार कोस पूर्व शालीनदीमा महिनाभर विशेष मेला लाग्छ भने कतिपय महिला त्यहीं बसेर एक महिनासम्म नै विशेष विधिपूर्वक श्री स्वस्थानीको व्रत बस्छन् । हिन्दूहरूको व्रत भएपनि नेपालबाहिर भने स्वस्थानी व्रतको प्रचलन रहेको पाइंदैन । यस व्रतकथामा वर्णित अधिकांश स्थानहरू काठमाडौँ उपत्या नजिकै रहेकाले नेपाली हिन्दू परम्परामा यसलाई विशेष महत्वका साथ हेरिने गरिन्छ ।
कोठामै बोलाएर बालिकामाथि बलात्कार, चारजना पक्राउ
भक्तपुर, पुष २६ । उदयपुर त्रियुगा घर भई हाल काठमाडौं बस्ने १५ वर्षीया एक बालिकालाई मध्यपुरथिमि–३ गट्ठाघरस्थित आफ्नै कोठामा बोलाई चार जनाले सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले आरोपित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर जिल्ला घर भई हाल गट्ठाघर डेरा गरी बस्ने २५ वर्षीय शिवजी भन्ने रिपुमर्दन बस्नेत, १८ वर्षीय सुशान्त खड्का, १८ वर्षीय सुशील कार्की, रौतहट चन्द्रपुर–१ घर भई हाल लोकन्थली बस्ने १८ वर्षीय प्रवेश बस्नेत रहेका छन् । यही पुस २४ गते दिउँसो बालिकालाई आफ्नै कोठामा बोलाएर चारै जनाले सामूहिक बलात्कार गरेको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त थिमिले चारै जनालाई पक्राउ गरी अनुसन्धान गरी आजै भक्तपुर जिल्ला अदालतमा पेश गरी जबर्जस्ती करणी उद्योगमा मुद्दा चलाएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । रासस
पाँच वर्षभित्रै वैदेशिक रोजगारीको बाध्यता अन्त्य हुन्छः मन्त्री विष्ट
पोखरा, पुस पुष २६ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पाँच वर्षभित्रै वैदेशिक रोजगारीको बाध्यता अन्त्य हुने बताएका छन् । आज (बिहीबार) गण्डकी प्रदेशको पोखरामा श्रम तथा रोजगार कार्यालयको आज शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत लाखौं युवालाई रोजगार दिने लक्ष्यका साथ कार्यक्रम ल्याउन लागिएकाले पाँच वर्षभित्रै वैदेशिक रोजगारमा जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास प्रकट गरे । उनले नेपालको जनशक्तिलाई सदुपयोग गर्न सरकार दत्तचित रहेको भन्दै कृषिजन्य उद्योगको विकासका लागि मात्रै लाखौं जनशक्ति चाहिएकाले विभिन्न क्षेत्रमा रोजगार सिर्जना गर्न सरकार प्रतिबद्ध भएर कार्य गरिरहेको बताए । मन्त्री बिष्टले सङ्घीय सरकारले वैदेशिक रोजगारमा जानेको सुलभताका लागि सातवटै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना गर्न लागेको बताउँदै ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्न लागेको जानकारी गराए । उनले आर्थिक, सामाजिक र सांस्कृतिक पक्षका साथै शिक्षण, आवास र रोजगारलाई संविधानको मौलिक हकमा राखिएकाले यस विषयमा सरकार सजग रहेको र मुलुकको विकास निर्माणमा जनताको मिहेनत आवश्यक रहेको स्पष्ट पारे ।
थाहा पाइराखौं यस्ता छन् एटिएमबारे तथ्य
एटिएम अर्थात् अटोमेटेड टेलर मेसिन बैंकिङ कारोबारको भरपर्दो र छरितो सेवा हो । बैंक धाउन नपर्ने र सुरक्षित पनि भएकाले एटिएम प्रयोग गर्नेको संख्या आजभोलि बढ्दो छ । अब एटिएमबारे केही तथ्यहरु थाहा पाइराखौं– – जोन सेफर्ड बारोनले एटिएम बनाएका थिए । जो बेलायती सेनामा जागिरे पनि थिए। –सन् १९६७ मा पहिलोपटक एटिएम मेसिन लन्डनको एक बैंकमा राखिएको थियो। – सुरुमा एटिएम कार्डलाई ‘होल इन द वाल’ नाम दिइएको थियो । – प्लास्टिकको कार्ड प्रयोगमा आउनुभन्दा अघि मेसिनमा चेकको प्रयोग गरिन्थ्यो । चेकमा १४ वटा कार्बन लगाइने गरिन्थ्यो । – सुरुसुरुमा एटिएम मेसिनबाट एकपटकमा बढीमा १० पाउन्ड मात्र निकाल्न सकिन्थ्यो । – आविष्कारक सेफर्डले एटिएमको पिन नम्बर ६ अंकको राख्न चाहन्थे । तर, उनकी श्रीमती क्यारोलिनले चार अंक मात्र याद हुने भनेपछि त्यति नै अंकको पिन नम्बर राख्न थालियो । – नेपालमा सर्वप्रथम सन् १९९५ मा हिमालयन बैंकले एटिएम प्रयोगमा ल्याएको थियो । त्यो न्युरोडस्थित कार्यालयमा थियो । एजेन्सीको सहयोगबाट
सात सय विदेशी निष्कासित, सबैभन्दा बढी चिनियाँ
काठमाडौं, पुष २६ । गृह मन्त्रालयले अध्यागमन कानुन उल्लंघन गर्ने ७ सय १ जना विदेशी नागरिकलाई निष्कासन गरेको छ। भिसा अवधिभन्दा बढी बसेका र फरकफरक कसुरमा पक्राउ परेका ६२ मुलुकका नागरिकलाई गृहले निष्कासन गरेको हो। यो सन २०१८ को तथ्यांक हो। उनीहरूमाथि धर्म परिवर्तनमा संलग्न, विभिन्न कसुरमा कैद भुक्तान गरेका, जाली राहदानी तथा भिसा प्रयोगकर्ता र भिसाबिना बसेको अभियोग छ। निष्कासित हुनेमा चिनियाँ नागरिक सबैभन्दा बढी छन्। गृह मन्त्रालयका अनुसार सन् २०१८ मा ३ सय ७३ जना चिनियाँ नागरिकलाई निस्कासन गरिएको छ। उनीहरू धर्म परिवर्तनमा भने संलग्न छैनन्। एक वर्षको अवधिमा अध्यागमन विभागले धर्म परिवर्तनमा संलग्न ५ जना विदेशीलाई निष्कासन गरेको छ, जसमा दुई जापानी महिला, एक अस्ट्रेलियन युवती र एक फिलिपिन्सका दम्पती थिए। पर्यटक भिसामा नेपाल आई धर्म परिवर्तनमा संलग्न भएको पाइएपछि गृह मन्त्रालयले उनीहरूलाई पाँच वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरेको थियो। अन्य निस्कासित हुनेहरूमा अधिकांश विदेशी भिसाबिना बसेका, जाली राहदानी तथा भिसा प्रयोगकर्ता र कैद भुक्तान गरेका छन्। सरकारले विदेशीहरूको उपस्थितिलाई निगरानी नगर्दा अवैध रूपमा नेपाल बस्ने विदेशीको संख्या बढ्दै गएको छ। यो समाचार अन्नपूर्ण पोस्ट्बाट लिइएको हो ।
एक दिवसीय र टी–ट्वान्टी सिरिजः बन्द प्रशिक्षण शुरु, को–को खेलाडी प्रशिक्षणमा ?
काठमाडौं, पुष २५ । संयुक्त अरब इमिरेट्स (युएई) सँग एक दिवसीय र टी ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको बन्द प्रशिक्षणमा २० खेलाडी छन् । बन्द प्रशिक्षणमा कप्तान पारस खड्कासहित वसन्त रेग्मी, भीम सार्की, अविनाश बोहरा, विक्रम सोब, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल र करण केसी छन् । त्यसैगरी ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी, सन्दीप जोरा र सुशन भारी छन् । बुधबार पहिलो दिनको बन्द प्रशिक्षणमा भने १६ खेलाडीले मात्र सहभागिता जनाएको राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक जगत टमाटाले जानकारी दिए । उनले केही खेलाडी बाहिर जिल्लामा र केही विदेश भएकाले सबै खेलाडीको उपस्थिति हुन नसकेका बताए । कप्तान पारस खड्का र दीपेन्द्र सिंह ऐरी भने अष्ट्रेलियामा छन् । केही दिनपछि सबै खेलाडी बन्द प्रशिक्षण सहभागी हुने प्रशिक्षक टमाटाको भनाइ छ । युएईमा नै हुने उक्त प्रतियोगिता आगामी माघ ११ देखि २० गतेसम्म हुनेछ । युएइसँगको पहिलो एक दिवसीय खेल आगामी माघ ११ गते हुनेछ । दोस्रो खेल माघ १२ र तेस्रो खेल माघ १४ गतेका लागि तय भएको छ । यस्तै टी ट्वान्टीतर्फ पहिलो खेल माघ १७, दोस्रो माघ १८ र तेस्रो खेल माघ २० गते हुनेछ । नेपालले गत वर्ष जिम्बाबेमा भएको विश्वकप छनोटबाट एक दिवसीय मान्यता पाएको थियो ।
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
भक्तपुर, पुस २५ । सूर्यविनायक नगरपालिका–५ सल्लाघारी चोकस्थित सिर्जनानगरबाट दुवाकोटतर्फ जाँदै गरेको बा.९४.प ७१७४ नं को मोटरसाइकल अनियन्त्रित भई बुधबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बस्ने २९ वर्षीय शहीद तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना घाइते भएको र तामाङको उपचारको क्रममा इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको र अर्का घाइते चाँगुनारायण नपा ४ बस्ने २७ वर्षीय सेरवबहादुर तामाङको सोही अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
सन्दीपले क्यामरुन डेलपर्टलाई रन आउट गरे
काठमाडौं, पुष २५ । बंगलादेश प्रिमियर लिगको आजको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानले फिल्डीङमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । पहिलो ओभरमा विकेट लिन नसके पनि अफिप होसेनले गरेको बलिङमा क्यामरुन डेलपर्टलाई रन आउट गरे । आज सन्दीपको टोली सिल्हेट सिक्सर्सले चिट्टागोंग भिकिङ्ग्स खेलिरहेको छ ।
राष्ट्रियसभा बैठकमा कमल वलीको प्रश्नः बमजनलाई प्रहरीले किन पक्रेको छैन ?
काठमाडौं, पुष २५ । राष्ट्रियसभाको आजको बैठकमा सांसद कोमल वलीले तपस्वी भनिने रामबहादुर बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा आपत्ति प्रकट गरिन् । सांसद वलीले शून्य समयमा बोल्दै सानो बुद्ध भनेर बसेका तपस्वी बम्जनले महिलामाथि हिंसा गरेको र महिला बेपत्ता पारेका भनी पीडित पक्ष स्वयम् आउँदासमेत पक्राउ नपरेकोमा सरकारको ध्यानाकर्षण गराइन् । उनले सञ्चारमाध्यममा करीब एक हप्ताभन्दा अगाडिदेखि नै सो घटना सार्वजनिक भएको हुँदा पनि त्यसबारेमा अहिलेसम्म अनुसन्धान गरी पक्राउ नहुनुप्रति उनले आपत्ति प्रकट गरिन् । बैठकमा सांसद उदया शर्मा पौडेलले सार्वजनिक सवारी साधनमा चढ्ने यात्रुलाई धेरै टाढाटाढा पुर्याएर रोक्दा यात्रुलाई मर्का परेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । यात्रुको अलि बढी आवतजावत हुने भृकुटीमण्डप, लैनचौरजस्ता ठाउँमा सवारी नरोक्दा यात्रुलाई आफ्नो गन्तव्यमा पुग्न निकै असहज भएको हुँदा कम्तीमा झार्ने र चढाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद चक्रप्रसाद स्नेहीले डडेल्धुरामा साना ठूला गरी १६ पसलमा आगजनी भएको र अहिलेसम्म सरकारले राहत तथा क्षतिपूर्ति नदिएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले आगलागीका कारण डेढ करोडभन्दा बढी धनमालको क्षति भएको र सुरक्षाकर्मीको पनि अभावले बढी धनको क्षति भएको हुँदा सरकारले तत्काल क्षतिपूर्ति दिन आग्रह गरे । रासस
यो वर्षको आइपीएल मार्च २३ देखि, प्रतियोगिता भारतमै हुने
दिल्ली, पुष २४ । इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी संस्करण मार्च २३ तारिखबाट भारतमै हुने भएको छ । इन्डीयन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले मंगलबार प्रेस विज्ञप्तिमार्फत आईपीएलको मिति सार्वजनिक गरेको हो । बीसीसीआईले आईपीएल भारतमै आयोजना गर्ने पनि निश्चित गरेको छ । यसअघि पूर्वघोषित आम निर्वाचनको मितीसँग जुध्ने भएका कारण आईपीएल फेरि भारत बाहिर हुने सम्भावना बढेको थियो । भारतमा आगामी अप्रिल र मेमा आम निर्वाचन हुने जनाइएको छ । यस अघि सन् २००९ र २०१४ मा आम निर्वाचनसँग मिती जुध्दा आइपीएल क्रमसः दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना गरिएको थियो । बीसीसीआईले राज्य र संघिय सरकारका अधिकारीसँग छलफल गरी प्रतियोगिता मार्चमा भारतमै आयोजना गर्ने निर्णय गरिएको जनाएको छ। बीसीसीआईले आईपीएलको नयाँ मिती र हुने स्थानको बारेमा प्रतियोगितामा सहभागी हुने सबै टोलीहरूबाट मञ्जुरी समेत प्राप्त भईसकेको जनाएको छ । आईपीएलको यो संस्करणमा पनि नेपाली स्पिन स्टार सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सबाट खेल्दै छन् ।
मन्त्रिपरिषद् बैठकः गुप्तचर विभागका प्रमुख रेग्मी बर्खास्त, नयाँ प्रमुखमा अधिकारी
काठमाडौं, पुष २३ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई बर्खास्त गरिएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई गुप्तचर विभागको प्रमुखबाट बर्खास्त गर्ने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को प्रस्तावमा सरकारले रेग्मीलाई बर्खास्त गरेपछि नयाँ प्रमुखमा वरिष्ठ एआईजी गणेशराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरिएको छ । नवनियुक्त प्रमुख अधिकारीले सोमबार साँझै बरफबागस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् । रेग्मी २०७२ जेठ १४ गतेको मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रिय अनुसन्धान विभागको प्रमुख बनेका थिए । बर्खास्त भएका रेग्मीको कार्यकाल अझै ५ महिना बाँकी थियो । यसअघि केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा पनि अधिकारीलाई गुप्तचर प्रमुख बनाउन खोजेका थिए । तर २०४४ सालमा सेवा प्रवेश गरेका वरिष्ठ एआईजी देवराज भट्टलाई पछि पार्दै २०४६ का ‘बेसिक’ रेग्मी प्रमुखमा बढुवा भएका थिए । यता नयाँ प्रमुख बनेका अधिकारीले एआईजीबाट अवकाश पाउन एक महिना मात्रै बाँकी थियो । सरकारले राष्ट्रिय अनुसन्धान विभागको तीन वर्षे सांगठानिक तथा व्यवस्थापन प्रतिवेदन पनि सोमबारकै मन्त्रिपरिषद्बाट पास गरेको छ ।
७१ वर्षमा भारतले उल्ट्यायो इतिहास, अष्ट्रेलियामा पहिलोपटक जित्यो सिरिज
सिड्नी । भारत र अष्ट्रेलियाबीच भएको चार खेलको सिरिज भारतले जितेको छ । भारतले ७१ वर्षको इतिहासमा अष्ट्रेलियामा पहिलोपटक टेष्ट सिरिज जितेको हो । भारतले २–१ ले सिरिज जितेको हो । अन्तिम खेल रद्द भएको थियो । यसअघि इङ्ल्याण्ड, दक्षिण अफ्रिका र न्यूजिल्याण्डका टीमले अष्ट्रेलियामा सिरिज जितिसकेका छन् । यसअघि वर्षाका कारण गावस्कर ट्रफीको चौथो र अन्तिम टेष्टको अन्तिम दिनको खेल रद्द भएको थियो । खराब मौसमका कारण चौथो दिन ६४÷४ ओभरको खेल रोकिएको थियो । उज्यालो नभएको भए तेश्रो दिन पनि १६।÷३ ओभर कम खेलिएको थियो । यो टेष्टमा भारतले टस जितेर ब्याटिङ फैसला लिएको थियो । भारतले सात विकेटमा ६२२ रन बनाएर आफ्नो पहिलो पारी सकेको थियो । अष्ट्रेलिया पहिलो पारी ३ सय रनमा नै अलआउट भएको थियो । भारतले फलोअन देखिएपनि दोश्रो पारीमा बिना विकेट ५ रन मात्रै बनाउन सक्यो । त्यही बेला पर्याप्त उज्यालो नहुँदा तेश्रो सत्रको खेल रद्द भएको थियो । चौथो दिन भने पानी परेपछि पहिलो सत्रका खेल हुन सकेनन । पाँचौ दिन पनि पानी परिरहेको थियो ।