नेपालले आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने

गोदावरी, पौष १७ । नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेको हो ।

‘बड् थ्री’ नामक भू–उपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई रु दुई करोड उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) का प्र्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए । सरकारले सहुलियत मूल्यमा तीनवटा भू–उपग्रह एकैसाथ निर्माण तथा प्रक्षेपणका लागि उक्त रकम पठाएको जानकारी दिँदै उनले आगामी वैशाखसम्ममा प्रक्षेपणको तयारी भइरहेको बताए ।

वैशाखदेखि प्रक्षेपण हुने उक्त भू–उपग्रहबाट दैनिक नेपालको फोटो देशका विभिन्न स्थानको तस्वीर सङ्कलन तथा यहाँका हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना प्रवाह गर्नेछ ।

सङ्काय प्रमुख ढकालले भने, “२०७६ सालको शुरुआतसँगै नाष्टका वैज्ञानिक र विज्ञान तथा प्रविधिमन्त्री जापान पुगेर भू–उपग्रह प्रक्षेपण गर्ने कार्यक्रम छ ।” प्रक्षेपणपछि नेपालको आफ्नै भू–उपग्रह नहुँदा अन्य मुलुकसँग ठूलो रकम खर्चेर सूचना तथा जानकारी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ । सफल प्रक्षेपणपछि नेपालका इञ्जिनीयर अन्य मुलुकभन्दा कम छैनन् भन्ने प्रमाणित पनि हुनेछ ।

उक्त भू–उपग्रहले नेपालको आकाशमा दैनिक पाँचदेखि १० मिनेटसम्म तस्वीर अभिलेखीकरण गर्नेछ । प्राप्त हुने तस्वीर र सूचनालाई नाष्टले आफ्नै कार्यालयको ‘ग्राउन्ड स्टेशन’मा भण्डारण गर्नेछ । नेपालले भाडाका भू–उपग्रहबाट सूचना तथा जानकारी लिँदै आएको छ । रासस

दुई ट्रककाे चपेटामा कार, एकै परिवारका १० जनाकाे मृत्यु

एजेन्सी । भारतको गुजरातमा जीप दुर्घटना हुँदा एकै परिवारका दश जनाको मृत्यु भएको छ । गुजरातको भजाउ तालुकेमा ट्रकको चपेटामा पर्दा जीपमा सवार १५ मध्ये १० जनाको मृत्यु भएको हो । घाइते भएका  बाँकी पाँच जनाको उपचार भइरहेको छ । उनीहरुको अवस्था पनि गम्भीर रहेको छ । दुई ट्रक एकआपसमा ठोक्किएका बेला अचानक जीप ट्रककाे चेपेटामा परेको थियो ।

चिनी विक्री नहुँदा गोदाममा थन्कियो

विराटनगर, पुस १६ । नेपाल सरकारले बाहिरी मुलुकबाट आयात हुने चिनीमा कडाइ गर्न नसक्दा स्वदेशका उद्योगमा उत्पादन हुने चिनी नबिकेर थन्किएको छ। सुनसरीको बर्जु गाउँपालिका–५ स्थित प्रदेश नं १ को एक मात्र इस्टर्न सुगर मिलबाट गएको वर्षमा उत्पादन भएको चिनीमध्ये ३४ हजार मेट्रिकटन चिनी गोदाममा थुप्रिएको छ । मिलमा एक लाख सात हजार मेट्रिकटन चिनी उत्पादन भएको थियो । नेपालमा एक वर्षमा सरदर दुई लाख ३५ हजार मेट्रिकटन चिनी आवश्यक पर्नेमा बाहिरी मुलकबाट दुई लाख ५० हजार मेट्रिकटन चिनी आयात भएका कारण मिलमा उत्पादन भएको चिनी विक्री हुन नसकी बिग्रिने अवस्थामा पुगेको र यसबाट स्वदेशी उद्योग र कृषकलाई समस्या परेको मिलका वित्त प्रबन्धक विएम गुुप्ताले जानकारी दिए । “गोदाममा नबिकेर थन्केका चिनी समयमै विक्री नहुने हो भने यसको गुणस्तरमा कमी आउने, चिनीको रङमा परिवर्तन आउने र पग्लिने समस्याले मिल घाटामा जाने निश्चित छ”, उनले भने । प्रत्येक वर्ष मिल सञ्चालन हुनुभन्दा अघि नै उखु कृषक, उद्योगी, व्यापारीको सहमतिमा उखुको समर्थन मूल्य सरकारले तोक्नुपर्ने भएपनि यसवर्ष अहिलेसम्म उखुको मूल्य सरकारले निर्धारण नगरेको उखु उत्पादक सङ्घका पूर्व अध्यक्ष शैलेन्द्रराज पाण्डेले बताउनुभयो । किसानले अहिले उखुको मूल्य प्रति क्विण्टल रु ५४२ माग गरेका छन् । गएको वर्ष उखुको मूल्य सरकारले प्रति क्विन्टल रु ५३१ निर्धारण गरेको थियो । चिनी मिल पुसको पहिलो सातादेखि दोस्रो सातासम्म चलिसक्नुपर्ने भए पनि यसवर्ष मूल्यकै कारण सञ्चालन हुनसकेका छैनन् । किसानले पनि खेतमा उखु काट्न शुरु गरेका छैनन् । सुनसरी र मोरङमा अहिले दुई हजार २०० कृषकले पाँच हजार बिघा जग्गामा उखु लगाएका छन् । प्रति बिघा ३०० देखि ४०० क्विण्टल उखु उत्पादन हुने भनिए पनि गएको वर्ष प्रति बिघा २५८ क्विण्टल मात्र उखु उत्पादन भएको पाण्डेले जानकारी दिए । इस्टर्न सुगर मिलका प्रबन्धक सुरेश मेहताले स्वदेशमा उत्पादन हुने चिनी र कृषकलाई बढावा दिन सरकाले बाहिरबाट चिनी आयातमा रोक लगाउनुपर्नेमा जोड दिए । उनले सरकाले बाहिरबाट आउने सिमेण्टमा रोक लगाएकै कारण स्वदेशमा सिमेण्ट कारखाना फस्टाएकोले चिनी कारखानालाई पनि बढावा दिन सरकारले गम्भीर हुनुपर्छ भने । सुनसरी अमाही बेलहाका उखु कृषक इस्राइल अन्सारीले दुःख र मेहनत गरेर उत्पादन गरेको उखुको उचित मूल्य नपाउँदा समस्या परेको र यसबाट कृषक पलायन हुने निश्चित रहेको बताए । रासस

बस र ट्रक ठोक्किँदा १९ घाइते

चितवन, पुस १६ । नारायणगढ–मुग्लिन सडक खण्डको दासढुङ्गामा गएराति बस र ट्रक ठोक्किँदा बसमा सवार १९ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना ५ ख ८०४४ नं को बस र भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख ८५७७ नं को ट्रक जुधेका थिए । दुर्घटनामा घाइते भएकाहरुको भरतपुर कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । घाइतेमध्ये छ जनाको अवस्था केही जटिल र अन्य सामान्य रहेको प्रहरीले जनाएको छ । बसमा ३५ जना यात्रु सवार थिए । दुर्घटना राति ११.२५ बजे भएको हो । रासस

कप्तान खड्का भन्छन्, ‘अवसर पाए नेपालमा थुप्रै सन्दीप जन्मने छन्’

अस्ट्रेलिया । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अवसर पाए नेपालबाट थुप्रै सन्दीप लामिछाने जन्मने बताएका छन् । क्रिकेट प्रशिक्षण दिन अस्ट्रेलिया पुगेका कप्तान खड्काले नेपाली क्रिकेट क्षेत्रमा अथाह प्रतिभाहरूले अवसर खोजिरहेको बताए । खड्काले भने, ‘हामीसँग प्रतिभाको कुनै कमी छैन। अवसर पाए थुप्रै सन्दीपहरु अघि आउनेछन्।’ प्रशिक्षणमा खड्कासहित राष्ट्रिय टिमका खेलाडी दीपेन्द्रसिंह ऐरी, यू–१९ राष्ट्रिय टेलीका पूर्व सदस्य सुवास प्रधान, यशवन्त सुवेदी र सुनाम गौतम पनि सहभागी छन् । पारससहितको टोलीले मेलामा सहभागी हुन आएका क्रिकेट प्रेमीहरूलाई प्रशिक्षण दिइरहेका हुन् । उनीहरूले अस्ट्रेलियाका चार सहरमा प्रशिक्षण दिने कार्यक्रम रहेकोमा मेलवर्नमा प्रशिक्षण सकिएको छ। यसैगरी पौष २१ र २२ गते सिड्नीमा, २६ गते ब्रिसवेन र २८ गते एडिलेडमा प्रशिक्षण कार्यक्रम हुँदैछ। ‘नेपाली क्रिकेट प्रवर्द्धनमा सँगसँगै’ नारालाई व्यवहारिक कार्यान्वयनका लागि मेला आयोजना गरेको एक्सपर्ट एजुकेशनका जनसम्पर्क व्यवस्थापक सुनोद श्रेष्ठले बताए।

सडक दुर्घटनामा परी सातको मृत्यु, ४ जना घाइते

नयाँ दिल्ली, सिन्ह्वा । उत्तरी भारतीय राज्य हरियानामा भएको सडक दुर्घटनामा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । तीव्र गतिमा रहेका दुई सवारी साधन एक आपसमा ठोक्किएर शनिबार भएको दुर्घटनामा कम्तीमा सातको मृत्यु हुनुको साथै अन्य चार जना घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । हरियाना राज्यको प्रान्तीय सहर चण्डीगढबाट ४५ किलोमिटर टाढा पर्ने अम्बाला जिल्लामा दुर्घटना भएको प्रहरी स्रोतले प्रष्ट गरेको छ । अम्बालाबाट चण्डीगढसम्मको राजमार्गमा पर्ने ठाउँमा भएको दुर्घटनामा परी घटनास्थलमा नै सात जनाको मृत्यु भयो भने अरु चार जना घाइते भएका स्थानीय एक प्रहरीले जानकारी दिएका थिए । घाइतेलाई उपचारका लागि तत्कालै नजिकैको अस्पताल पु¥याइएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेकाहरु चन्डीगढको छिमेकीमा पर्ने उत्तर प्रदेश राज्यको बृन्द्राबनतर्फ जाँदै थिए ।

निर्मला हत्याकाण्ड विरुद्ध चलेको संघर्ष समितिको आन्दोलन स्थगित

काठमाडौं, पुष १३ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको न्यायिक आन्दोलनमा होमिएको नागरिक संघर्ष समितिले आन्दोलन स्थगित गरेको छ  । पुर्व घोषित कार्यक्रम अनुसार दुई दिन आन्दोलन स्थगित गरिएको नागरिक संघर्ष समितिले जनाएको छ । शुक्रबार नागरिक संघर्ष समितिको बैठकले भीमदत्त नगरपालिकाले गर्न लागेको जैविक म्याराथुन दौड प्रतियोगिता सफल पार्न आन्दोलन स्थगित गरेको हो । नागरिक संघर्ष समिति कञ्चनपुरका प्रवक्ता नरबहादुर साउदले भीमदत्त नगरपालिकाले जैविक मार्गमा १५ पुसमा आयोजना गर्न लागेको म्याराथुन दौड प्रतियोगिता २०७५ लाई मध्य नजुर गर्दै (पुष १४ र १५ गते) आन्दोलन रोकिएको बताए । ‘हामीले आन्दोलन पूर्ण स्थगित गरेका होईनौँ, ‘उनले भने, ‘केबल जैविक मार्गको कार्यक्रमलाई हेरेर दुई दिनको लागि मात्रै रोकेका हौँ ।’ प्रवक्ता साउदका अनुसार भीमदत्त नगरको सम्बृद्धि र दिगो विकासका लागि आयोजना हुन लागेको कार्यक्रम सफल पार्नका लागि आन्दोलन स्थगित गरिएको छ  । संघर्ष समितिको पुर्व घोषित कार्यक्रम अनुसार १४ पुसमा कञ्चनपुर बन्द र १५ पुसमा महेन्द्रनगर बजारमा बृहद र्‍याली थियो । अब उक्त कार्यक्रम पुर्व निर्धारित समयमा नभई १६ र १७ गते हुने तय भएको छ । नागरिक संघर्ष समितिका सदस्य एवं अधिकारकर्मी शारदा चन्दले भीमदत्त नगरकै गौरबको योजना जैविक मार्ग भएकाले नगरको विकासका लागि कोही बाधक बन्न नहुने बताएन् । नागरिक संघर्ष समिति कञ्चनपुरका संयोजक मिना भण्डारीले आन्दोलनले मात्रै न्याय नपाइने भएकाले पुनः १८ पुसमा बैठक राखेर थप आन्दोलनका कार्यक्रम घोषणा गरिने बताइन् । यो समाचार नयाँ पत्रिका डेली डट कमबाट साभार गरिएको हो ।

चितवनमा ट्रकको ठक्करबाट सञ्चारकर्मी पौडेलको निधन

चितवन, पुस १३ । ट्रकको ठक्करबाट चितवनका सन्चारकर्मी प्रवीण पौडेलको शुक्रबार दिउँसो मृत्यु भएको छ । स्कुटीमा सवार रहेका पौडेललाई बिहान ११ बजेतिर रत्ननगरस्थित निपनीचोकमा एक मालवाहक ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका पौडेलको उपचारकाक्रममा भरतपुर अस्पतालमा दिउँसो मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । पौडेल ‘एपी वान’ टेलिभिजनका क्यामरा पर्सन थिए । बा१प ९२१ नम्बरको स्कुटरमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेका पौडेललाई ना२ख २१६६ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । पौडेललाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको मेचीनगरमा भिषण आगलागी, दर्जन घर जले

झापा, पुष १२ । जिल्लाको मेचीनगर–६ स्थित साठी बिघा भन्ने ठाउँमा भिषण आगलागी भएको छ । आगलागी हुँदा दर्जन घर जलेका छन् । राति करिब ८ बजेदेखि लागेको आगो अहिलेसम्म निभाउन सकेको छैन । ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन्। आगो नियन्त्रणका लागि मेची नगरपालिकाको दमकलसहित स्थानीय र सुरक्षाकर्मी लागीपरेका छन्। अगालागीबाट मानवीय क्षति भने भएको छैन। एक मात्र दमकल भएकाले आगो निभाउन कठिनाई भएको प्रहरीले जनाएको छ।

इनर्जी बैकिङ गर्न भारत सहमत

काठमाडौँ, पुस १२ । वर्षाको समयमा नेपालमा बढी हुने विद्युत् उपयोग गर्ने गरी ‘इनर्जी बैंकिङ’ गर्न भारत सहमत भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत् आदानप्रदान समिति (पावर एक्सचेञ्ज कमिटी (पिइसी) को १३औँ बैठकले नेपाल र भारतबीच इनर्जी बैकिङ गर्ने निर्णय गरेको हो । नेपालले लामो समयदेखि बर्खायाममा उत्पादित बिजुली भारत निर्यात गर्ने र हिउँदमा उताबाट लिने गरी भारतसँग इनर्जी बैकिङ गर्ने प्रस्ताव अगाडि बढाएको थियो । आगामी वर्षदेखि माथिल्लो तामाकोशीलगायत केही आयोजना निर्माण सम्पन्न हुने र बर्खायामको विद्युत् नेपाललाई बढी हुने भएकाले त्यसको विकल्पका रुपमा भारत पठाएर इनर्जी बैंकिङ गर्न सकिने विषयमा छलफल हुँदै आएको थियो । नेपालतबाट बैठकको नेतृत्व गर्नुभएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई मुलुकका विद्युत् खरीद–बिक्रीकर्तामार्फत इनर्जी बैकिङ गर्ने सहमति भएको जानकारी दिए । पिइसीको बैठकले इनर्जी बैकिङको विधि र प्रारुप समेटिएको निर्देशिकाको मस्यौदामा सहमति जुटाई अन्तिम रुप दिइएको हो । इनर्जी बैकिङको विधि र प्रारुप समेटिएको निर्देशिकालाई आगामी जनवरीमा बस्ने दुई मुलुकका सहसचिवस्तरीय ‘ज्वाइन्ट वर्किङ ग्रुप’ र सचिवस्तरीय ‘ज्वाइन्ट स्टेरिङ कमिटी’को बैठकले अनुमोदन गर्नेछ । यसअघि ‘ज्वाइन्ट स्टेरिङ कमिटी’ले इनर्जी बैकिङको विधि र प्रारुप तयार गर्न दुई मुलुकबीचको प्राविधिक कमिटीलाई निर्देशन दिएको थियो । “इनर्जी बैकिङका लागि तयार पारिएको निर्देशिकमा सहमति जुटेको छ, यसलाई दुई मुलुकबीचको विद्युत् व्यापार सम्झौताअन्तर्गतका सहसचिव र सचिवस्तरीय कमिटीले स्वीकृत गरेपछि कार्यान्वयनमा आउने छ”, कार्यकारी निर्देशक घिसिङले भने, “इनर्जी बैकिङमा नेपाललाई ठूलो सफलता हासिल भएको छ, यो नेपालको ऊर्जा क्षेत्रको कोशेढुङ्गा हो ।” पिइसी बैठकले नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण अगाडि बढाउने निर्णय गरेको छ । बैठकमा सहभागी प्राधिकरणका प्रवक्ता एवं विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले नेपालले शुरुका पाँच-सात वर्ष ‘इनर्जी बुक’ गर्न प्रस्ताव गरेको र त्यसमा भारत सकारात्मक रहेको बताउनुभयो । “लाइन निर्माण गर्न करीब चार वर्ष लाग्ने भएकाले शुरुका पाँच÷सात वर्ष नेपालले इनर्जी बुक गर्ने र त्यसपछि नेपालले उक्त लाइन विद्युत् निर्यातका लागि प्रयोग गर्ने भएकाले सोही अनुसार लगानीको प्रारुप तयार हुनेछ”, उहाँले भन्नुभयो, “हामीले इनर्जी बुक गरेको पाँच-सात वर्षमा पनि भारततर्फ विद्युत् लैजाँदा सम्बन्धित विद्युत् निर्यातकर्ताबाट प्रसारण शुुल्क असुल गर्न सक्ने विषयमा सहमति जुटेको छ ।” दुई मुलुकबीच विद्युत् आदानप्रदान गर्न निर्माण गरिएको पहिलो ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनलाई लगानीयोग्य बनाउन नेपालले २५ वर्षसम्म इनर्जी बुक गरेको छ । तर नेपालले दोस्रो अन्तरदेशीय प्रसारण लाइनमा पाँच÷सात वर्षमात्रै बुकिङ गर्ने भएको हो । “आयोजना निर्माण तथा सञ्चालन गर्न भारततर्फ स्थापना हुने कम्पनीमा नेपाललाई ५० प्रतिशतसम्म शेयर लगानी गर्न दिन भारतीय पक्ष सकारात्मक देखिएको छ”, प्रवक्ता अधिकारीले भन्नुभयो । पहिलो अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा सञ्चालनका लागि भारततर्फ निर्माण भएको कम्पनीमा प्राधिकरणको दश प्रतिशत मात्रै शेयर छ । बैठकमा प्राधिकरणले उत्तर विहार विद्युत् वितरण कम्पनीमार्फत आयात गरिरहेको विद्युत्को खरीद दरका विषयमा पनि छलफल भएको थियो । प्राधिकरणले पिइसीले तय गरेको मूल्यका आधारमा प्राधिकरणले विहार, उत्तरप्रदेश र उत्तराखण्डबाट आवश्यक परेको बेला मात्रै ‘लिने र तिर्ने’ आधारमा विद्युत् आयात गरिरहेको छ । भारतले केही दिनअघि मात्रै छिमेकी मुलुकसँगको विद्युत् आयातनिर्यातका लागि निर्देशिका जारी गरेकाले त्यसको अन्तरवस्तुमाथि छलफल गरेर मात्रै खरीद दरका बारेमा आवश्यक निर्णय गर्ने सहमति भएको प्रवक्ता अधिकारीले जानकारी दिए । नयाँ निर्देशिका आएको सन्दर्भमा पिइसीको सान्दर्भिकता हुने÷नहुने लगायतका विषयमा सम्बन्धित निकायहरुसँग थप छलफल गरी आवश्यक निर्णय गर्ने सहमति भएको छ । बैठकको निर्णयअनुसार प्राधिकरणले अहिले ३३ र १३२ केभी प्रसारण लाइनमार्फत प्रतियुनिट ६ र पाँच रुपैयाँ ५५ पैसा भारुमा विद्युत् खरीद गरी आयात गरिरहेको छ । बढी विद्युत् माग हुने समय अप्ठ्यारो परेको बेला मात्रै विहारबाट पिइसीले तय गरेको दरमा भारतबाट विद्युत् आयात गरिएको प्राधिकरणले जनाएको छ । विहारबाट सिराहा, जलेश्वर, वीरगञ्ज, विराटनगरमा ३३ केभी र कुशाहा–१, कुशाहा–२, गण्डक र परवानीपुरबाट १३२ केभी प्रसारण लाइनमार्फत विद्युत् आयात भइरहेको छ । उत्तरप्रदेशबाट ३३ केभीमार्फत नेपालगञ्जमा र उत्तराखण्डबाट ११ केभीमार्फत विद्युत् आयात गरी दार्चुला र बैतडीमा उपलब्ध गराइएको छ । प्राधिकरणले ५ जुलाई २०१८ मा सम्पन्न पिइसीको १२औँ बैठकमा आयात भइरहेको दरमा कति पनि भाउ बढाउन नसकिने अडान लिएपछि तीन महीनापछि पुनः बैठक बसेर दर तय गर्ने निर्णय भएको थियो । रासस

सरकारले देउवाको पालामा नियुक्त तीन राजदूतलाई फिर्ता बोलायो

काठमाडौँ — सरकारले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा नियुक्त तीन राजदूतलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजदूतहरू डा. चोपलाल भुसाल (बंगलादेश), अर्जुनजंगबहादुर सिंह (दक्षिण कोरिया) र भरतबहादुर रायमाझी (स्पेन) लाई फिर्ता गर्ने निर्णय गरेको प्रधानमन्त्री केपी ओलीका एक सल्लाहकारले बताए । उनका अनुसार ती राजदूतलाई नेपाल फिर्ता हुन तीन साताको समय दिइएको छ । भुसाल र सिंह कांग्रेस तथा रायमाझी राप्रपाको कोटामा राजदूत भएका हुन् । सरकारले देउवाका पालामा नियुक्त चार राजदूत विश्वम्भर प्याकुरेल (श्रीलंका), प्रतिभा राणा (जापान), रमेश कोइराला (कतार), भीम उदास (म्यानमार) र ओलीकै अघिल्लो कार्यकालमा तत्कालीन फोरम लोकतान्त्रिकको कोटामा नियुक्त शर्मिला पराजुली ढकाल (ओमन) लाई भने फिर्ता गरेको छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । कांग्रेस कोटामा नियुक्त बाँकी चार राजदूतलाई समेत फिर्ता बोलाउने गृहकार्य भइरहेको स्रोतले जनाएको छ । तत्कालीन फोरम लोकतान्त्रिकको सिफारिसमा राजदूत भए पनि नेकपानिकट भएका कारण पराजुली भने फिर्ता हुने सूचीमा छैनन् । सरकारले राप्रपा कोटामा देउवाकै पालामा नियुक्त इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फर्काई त्यहाँ अञ्जान शाक्यलाई नियुक्त गरी एग्रिमोका लागि नाम पठाइसकेको छ । देउवाकै पालामा तत्कालीन माओवादी कोटामा नियुक्त तीन राजदूतमध्ये लक्की शेर्पा (अस्ट्रेलिया) विवादमा परेकी छन् भने पदम सुन्दास (बहराइन) र यमुनाथ लम्साल (डेनमार्क) लाई यथावत् राख्ने तयारी सरकारको छ । मन्त्रिपरिषद्ले ‘मानव तस्करी’ आरोपमा परराष्ट्र मन्त्रालयको आन्तरिक छानबिनमा परेकी राजदूत शेर्पाका बारेमा कुनै निर्णय नगरेकोसमेत स्रोतले जनाएको छ । परराष्ट्र मन्त्रालयद्वारा गठित छानबिन समितिले शेर्पालाई काठमाडौंं बोलाएर बयान लिइसकेको छ । समितिबाट छानबिन प्रतिवेदन आइनसकेकाले शेर्पालाई फिर्तागर्ने/नगर्नेबारे मन्त्रिपरिषद्ले निर्णय नलिएको हो । राजदूत शेर्पाकै चालक वाङछु शेर्पाले उनीमाथि १० लाख रुपैयाँ लिएर आफूलाई अस्ट्रेलिया लगेको र श्रीमतीलाई लैजान थप पैसा मागेको आरोप लगाएका छन् । राजदूत शेर्पासित विवादपछि आफूलाई खतरा रहेको भन्दै वाङछु दूतावास छाडी अस्ट्रेलियामा ‘शरण’ मागेर बसेका छन् । उनी अहिले अस्ट्रेलिया सरकारको निगरानीमा छन् । नेपाल प्रहरीले वाङछु मानव तस्करीमा संलग्न पाइएको भन्दै उनलाई इन्टरपोलमार्फत नेपाल फिर्ता गर्न अस्ट्रेलिया प्रहरीलाई आग्रह गरिसकेको छ । वाङछुकी श्रीमती मानव तस्करीकै आरोपमा पुर्पक्ष थुनामा छिन् । अस्ट्रेलियास्थित नेपाली दूतावासले एक महिनाअघि विज्ञप्ति जारी गरी वाङछु राजदूतको निवासबाट चोरी गरेर भागेको र उनले लगाएको आरोपमा सत्य नरहेको दाबी गरेको छ ।

गर्भवती बेहुली जग्गेमा, मेरी प्रेमिका भन्दै युवकले गरे लफडा, टाउकोमा चिर्पट प्रहार

विराटनगर – विवाह मण्डपमै कुटपिट हुँदा अचेत भएकी बेहुली तेह्रथुम फेदाप गाँउपालिका–३ जलजलेकी २३ वर्षीया प्रतीक्षा सम्बाहाम्फे र उनको पेटमा रहेको अढाई महिनाको शिशुको स्वस्थ्य अवस्था सुरक्षित र सामान्य रहेको अस्पतालले जनाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । आक्रमणबारे सोधपुछ गर्दा पक्राउ परेकामध्ये एकले ‘बेहुली मेरी प्रेमिका हुन्’ भने पनि प्रतीक्षाले आफू र उनका बीचमा कुनै सम्बन्ध नरहेको दाबी गरिन् । ‘उनीहरुलाई म चिन्छु, आधा घण्टा पैदल परको गाउँका हुन्, तर मैले कसैसँग प्रेम गरेकी छैन ।’ उनले भनिन् । दाइहरुले सम्झाइबुझाइ पठाए पनि उनीहरु पुनः आएर झगडा गर्न थालेपछि बेहुली प्रतीक्षा नै बाहिर निस्किएर सम्झाउने प्रयास गरेकी थिइन् । त्यसैक्रममा उनीमाथि नै चिर्पट प्रहार भयो । कुटपिटबाट बेहुली सम्बाहाम्फेको टाउकोमा गहिरो चोट लागेको छ। युवाहरुको सामूहिक कुटपिटबाट गम्भीर घाइते बेहुलीको उपचारका लागि गए राति नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तर्फ लगिएकोमा त्यहाँ उपचार हुन नकसेपछि थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ। सम्बाहाम्फेको पाँचथरको फाल्गुनन्द गाउँपालिका १ नबमीका २२ वर्षीय सचिन आङदेम्बेसँग विवाह भइरहेको थियो। बेहुला आङदेम्बे भने सकुशल छन्। युवाहरुको कुटपिटबाट बेहुलीका दाजु देउमान सम्बाहाम्फे, स्थानीय सुमन खापुङ र टिकादेवी सम्बाहाम्फे घाइते भएका छन्। घाइते बेहुलीका दाजु सम्बाहाम्फेलाई पनि थप उपचारका लागि विराटनगर तर्फ लगिएको र अन्य दुईजनाको जिल्ला अस्पताल तेह्रथुममा उपचार भैरहेको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न वर्ष १९ का सरोज लिम्बु, १४ वर्षका ओमन लिम्बु, २१ वर्षका दिनेश लिम्बु, १९ वर्षका सुदी लिम्बु र १७ वर्षका मन्दिप लिम्बुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए। कुटपिटमा संलग्न अन्यको खोजी भैरहेको प्रहरीले जनाएको छ। बेहुलीको स्थानीय युवासँग यस अघि सम्पर्क रहेको र अर्कै केटासँग विवाह गरेपछि आक्रोसित युवा र उनको समुहले बेहुली माथी विवाह मण्डपमै आएर आक्रमण गरेको हुनसक्ने प्रहरीले जनाएको छ। घटना बारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक गौतामले जानकारी दिए।

मुख्यमन्त्री शाही भन्छन्, ‘कर्णालीलाई विश्वकै नमूना प्रदेश बनाउँछौं’

रुकुम, पुष १० । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई विश्वकै नमूना प्रदेश बनाउने गरि काम भइरहेको बताएका छन् । जिल्ला क्रिकेट संघ रुकुमले रुकुम पश्चिमको चौरजहारीमा आयोजना गरेको कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको उदघाटन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । प्रचुर सम्भावना हुँदाहुँदै पनि कर्णाली प्रदेश विकासमा पछाडि परेको अवस्थामा समृद्धिका लागि प्रदेश सरकार योजनाका साथ अगाडि बढिरहेको उनको भनाइ छ । ‘कर्णालीमा विकासको कति सम्भावना छ भनेर सबैलाई थाहा नै छ, उनले भने यहाँको सम्भावनालाई उपयोग गर्दै कर्णालीलाई विश्वकै नमुना बनाउँनका लागि हामी लागि परेका छौं ।’ यसै अनुसार बजेट तथा योजना निर्माण भइरहेको पनि उनले जानकारी गराए । साथै उनले नेपालको भाषा अनि संस्कृतिको इतिहास कर्णालीसँग जोडिएको बताए ।

विद्युतीय सञ्चारमाध्यम बर्गीकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं, पुष १० । विद्युतीय सञ्चारमाध्यमको वर्गीकरण मापदण्डसम्बन्धी अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको सभाहलमा भएको सो कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव, सूचना तथा प्रशारण विभागका महानिर्देशक तथा काउन्सिलका सदस्य–सचिव बालकृष्ण घिमिरे र निर्देशक, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्यहरु सुभेच्छा विन्दु तुलाधर, गोपाल बुढाथोकि र चेतनाथ धमला, काउन्सिलका मुख्य अधिकृत झविनद्र भुसाल, सामुदायिक रेडियो प्रशारक संघ अकोरावका अध्यक्ष र महासचिव, पत्रकार महासंघको सदस्य, प्रेस चौतारीका अध्यक्ष, स्वतन्त्र पत्रकारलगायत रेडियो, टेलिभिजन र अनलाइनका प्रतिनिधि तथा सरोकारवाला पक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रममा काउन्सिलका उप–प्रशासकीय अधिकृत तथा विद्युतीय सञ्चार÷डिजिटल माध्यम उपसमितिका सचिव रामशरण बोहराले विद्युतीय सञ्चारमाध्यमको वर्गीकरण मापदण्ड (प्रस्तावित मस्यौदा) २०७५ को २६ बुँदे मस्यौदा प्रस्तुत गरे । मस्यौदा प्रस्तुत गर्दै उनले विद्युतीय संचारमाध्यमको वर्ग विभाजन, वर्गीकरणमा पर्न आवश्यक न्यूनतम आधार, अंक विभाजन, मूल्यांकन लगायतका बिषयमाथि प्रकाश पारे । छलफलमा वरिष्ठ पत्रकार डा. सुरेश आचार्यले रेडियोको हकमा ३६५ दिन नै प्रशारण गर्नुपर्ने प्रावधान राख्नुपर्ने सुझाव दिए । उनले छापामाध्यम र डिजिटल माध्यम फरक÷फरक भएकाले सोहीअनुरुपकै प्रावधान ल्याउनुपर्ने धारणा राखे । पत्रकार अजय बाबु शिवाकोटीले विद्युतीय सञ्चारमाध्यम वर्गीकरण सम्बन्धी मस्यौदामा आचारसंहितासम्बन्धी अंकभार २५ लाई घटाएर ५ मा झानुपर्ने तर्क गरे । उनले हुवहुको प्रावधान कतिको उपयोगी हो भन्दै राससलगायत एजेन्सीका समाचार राख्दा हुवहुमा पर्ने कि नपर्ने भन्दै प्रश्न गरे । नेपाल प्रेस सोसाइटीका उपाध्यक्ष केशवराज अर्यालले अनलाइन बर्गीकरणसम्बन्धी ल्याइएको मापदण्ड नियन्त्रणमूखी भएको धारणा राखे । उनले साना मिडियाहरुले सबै ठाउँमा संवाददाता राख्न नसक्ने भन्दै मूल्याङ्कन र त्यसको अंकभारमा हेरफेर गर्नुपर्ने बताए । अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्यालले अनलाइन बर्गीकरण किन र केका लागि गर्नुपर्ने भन्दै प्रश्न राखे । अनलाइनका पनि विभिन्न विधा हुने भन्दै बर्गीकरण गर्दा कुन विधालाई के आधारमा विभाजन गर्ने हो त्यसमा स्पष्टता आउनुपर्नेमा जोड दिए । उनले समाचार संख्याको आधारमा भन्दा पनि मौलिकतामा अंकभार राख्नुपर्ने बताए । क्रान्तिकारी पत्रकार संगठनका महासचिव हिम विष्टले रेडियोको हकमा अनुमति लिँदा कुन–कुन क्षेत्रसम्म प्रशारण पुर्याउने भनेर लिइएको हो, त्यसलाई आधार मान्नुपर्ने बताए । उनले रेडियोले प्रशारण गरेको सामग्री र नेटवर्कले तयार पारेको सामग्री केलाई आधारमान्ने भन्ने कुरा स्पष्ट हुन नसककेको बताए । पत्रकार महासंघका सदस्य लेखनाथ न्यौपानेले अनलाइन बर्गीकरणको मापदण्ड नियन्त्रणमूखी नभएर सुहाँउदो हुनुपर्नेमा जोड दिए । हुवहुको प्रावधान नै त्रुटिपूर्ण भएको भन्दै उनले डेटलाइनको परिभाषा अनलाइनको हकमा स्पष्ट नभएको बताए । सामुदायिक सूचना नेटवर्क अकोरावका महासचिव गोविन्द देवकोटाले रेडियोलाई बर्गीकरण गर्नुको उद्देश्यमा स्पष्ट हुन नसकेको धारणा राखे । उनले दुर्गम तथा भौगोलिक हिसाबले पछि परेका स्थानबाट सञ्चालन भएका र सुगम स्थानबाट सञ्चालन भएका रेडियोहरुलाई बर्गिकरण गर्दा दुर्गम भेगबाट सञ्चालनमा आएकालाई प्रोत्साहन गर्नसक्नुपर्ने बताए । क्रन्तिकारी पत्रकार संघका अध्यक्ष इन्द्र राउतले विद्युतीय सञ्चारमाध्यम बर्गीकरण गर्दा साना मिडियालाई निचोर्ने तथा ठुलालाई संरक्षण गर्ने खालको आउन नहुने तर्फ सजग रहनुपर्ने बताए। प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले अनलाइनहरु धेरै हुनु सकारात्मक पक्ष भएता पनि सबै अनलाइनहरुलाई एउटै खाडलमा राखेर हेर्न नहुनेमा जोड दिए । उनले बर्गीकरणको सिद्धान्त मुख्यतः २ वटा हुने भन्दै भ्युअर बढाउने नाममा अतिरञ्जित गरेर लेख्नु गलत प्रवृति भएको स्पष्ट पारे । बानका अध्यक्ष गोपाल झाले अनलाइनहरुको बर्गीकरण गर्दा होसियार हुनुपर्ने अन्यथा एकै ब्यक्तीले २ वटा अनलाइन संञ्चालन गरेर लोककल्याणकारी विज्ञापनबाट मात्रै गुजरा चलाइरहने तर्फ सचेत हुनुपर्ने आवश्यकता औल्याए । उनले राज्यले लोकल्याणकारी विज्ञापनबाट माछा दिएपनि आफै मारेर खान सक्ने नबनाएको गुनासो गरे । नेपाल मिडिया सोसाइटिका सिइओ उज्वल राज गौतमले टेलिभिजनको बर्गीकरणमा पनि विषयगत टेलिभिजनहरु बढ्दै गएकाले प्रस्तावित मस्यौदामा पुनर्विचार गर्नुपर्ने तर्फ सुझाए । रेडियो नेपालका अनलाइन प्रमुख रमेश पौडेलले जिम्मेवार र व्यवसायिक पत्रकारिता फरक भएकाले सबैलाई एउटै डालोमा राखेर भन्दा पनि फरक किसिमले प्रावधान ल्याउनुपर्ने बताए । कार्यक्रममा संञ्चार मन्त्रालयका उपसचिव मुकुन्द शर्माले विद्युतीय सञ्चारमाध्यम वर्गीकरणको उद्देश्यबारे भनाई राखे । सूचना तथा प्रशारण विभागका महानिर्देशक बालकृष्ण घिमिरेले विद्युतीय सञ्चारमाध्यमको बर्गीकरण मापदण्डसम्बन्धी उठेका प्रश्नको जवाफ दिए । त्यस्तै प्रेस काउन्सिलका सदस्य तथा विद्युतीय सञ्चार÷डिजिटल माध्यम उपसमितिका सदस्य गोपाल बुढाथोकीले छलफलमा उठेका प्रश्नहरु निकै उपयोगी भएको भन्दै लोककल्याणकारी विज्ञापन काउन्सिलले दिने नभएर मन्त्रालयले नै दिने गरेको स्पष्ट पारे । उनले यो छलफल काउन्सिलको लागि निकै उपयोगी भएको र यसकै आधारमा मापदण्ड थप परिस्कृत गरिने बताए ।

नेपाल र युएईबीच एक दिवसीय क्रिकेट हुने

काठमाडौं, पुष १० । नेपालले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता युएईसँग खेल्ने भएको छ । नेपालले युएईसँग तीन एक दिवसीय र तीन टी–२० प्रतियोगिता खेल्ने तय भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का नेपाल प्रतिनिधि तथा क्यानका पूर्वप्रमुख कार्यकारी भावना घिमिरेले सिरिज आगामी माघ ९ देखि २१ गतेसम्म हुने गरी तयारी भइरहेको बताइन् । “आइसिसीले खेलतालिका सार्वजनिक गर्न बाँकी छ तर आगामी माघ ९ देखि २१ गतेसम्म प्रतियोगिता गर्ने निश्चित भयसक्यो”, उनले भनिन् । नेपाल र युएईबीचको सिरिजकै कारण धनगढीमा आयोजना हुने तेस्रो संस्कारण धनगढी प्रिमियर लिग प्रतियोगितासमेत एक साता पर सारिएको छ । युएईविरुद्धको सिरिज नेपालका लागि दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज हुनेछ । आइसिसीबाट एक दिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्डसँग गत साउनमा पहिलो एक दिवसीय सिरिज खेलेको थियो । जुन सिरिज बराबरी भएको थियो । दुवै देश आइसिसीबाट अन्तर्राष्ट्रिय एक दिवसीय पाउने कान्छा मुलुक हुन् । दुवै मुलुकले गत वर्ष जिम्बाबेमा भएको विश्वकप छनोटबाट एक दिवसीय मान्यता पाएका थिए । रासस

कम्युनिस्ट सरकारलाई हरहालतमा सफल बनाउँछौंः प्रवक्ता श्रेष्ठ

कास्की, पुष १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले अहिलेको सरकारलाई हरहालतमा सफल बनाइने दाबी गरेका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीले मंगलबार पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘इतिहासकै शक्तिशाली सरकारसँग जनताको ठूलो अपेक्षा छ । यो सरकार असफल भए प्रधानमन्त्री र मन्त्री मात्र असफल हुँदैनन् । देश र पार्टीको भविष्यलाई समेत असर गर्दछ ।” साथै, प्रवक्ता श्रेष्ठले पार्टीको जारी स्थायी कमिटी बैठकपछि तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता पूरा गरिने बताए । उनले पार्टी एकताको तीन महिनाभित्र सबै तहको एकीकरण सक्ने बताइए पनि विभिन्न कारणले सात महिनासम्म पनि एकता पूरा नभएकाले स्थायी कमिटी बैठक लगत्तै साङ्गठनिक एकता पूरा गरेर पार्टी एकताको उद्देश्य सफल बनाउने बताए । जारी बैठकले सचिवालयबाट घोषणा गरिएको प्रदेश कमिटी अनुमोदन गर्ने, पार्टीको जिल्ला कमिटी, महानगरलगायत तल्ला कमिटी तथा जनवर्गीय सङ्गठनको एकीकरणको आधार तयार गर्ने, केन्द्रीय सदस्यको जिम्मेवारी निश्चित गरी शक्तिशाली र क्रान्तिकारी पार्टी निर्माण गर्न बैठक प्रश्थान विन्दु हुने नेता श्रेष्ठले जानकारी दिए । पार्टी गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द नेपालीले साङ्गठनिक एकता सम्पन्न नहुँदा पार्टी गतिविधि सञ्चालन गर्न अप्ठ्यारो भएको बताए ।