नेपालले अफगानिस्तानलाई दियो १९५ रनको लक्ष्य

काठमाडौं, फागुन २६ । एकदिवशिय विश्वकप छनोट क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई जितका लागि १९५ रनको मध्यम लक्ष्य दिएको छ ।

जिम्बावेको बुलावायो एथलेटिक मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १ बल बाँकी छदा १ सय ९४ रनमा अलआउट भयो।

नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरे। पारस खड्का ७५ रनमा जोडेर लिस्ट एको खेलमा लगातार दोस्रो अर्धशतक प्रहार गरेका हुन्। उनले ८२ बलमा १० चौका र १ छक्का प्रहार गरे। यस्तै ज्ञानेन्द्र मल्ल २३ रनमा आउट भए। पारसले ज्ञानेन्द्र मल्लसँग दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए।

ओपनर ज्ञानेन्द्रले २३ रन जोड्दा अनिलकुमार साह भने ७ रनमा आउट भए। ज्ञानेन्द्रले आउट हुनुअघि ६९ बल खेल्दा २ चौका हिर्काए।

दीपेन्द्रसिंह ऐरीले ३२ रनको योगदान दिए। उनले ४१ बलमा ३ चौका र १ छक्का हिर्काए। आरिफ शेखले ३६ बलमा ३ चौकाको मद्दतमा २३ रन बटुले। सोमपाल कामी ९ र रोहितकुमार पौडेल १ रनको झिनो स्कोरमा आउट भए। करण केसीले १ छक्का प्रहार गर्दै ६ रनमा आउट भए। सन्दीप लामिछाने र ललित राजवंशीले खाता खोल्न सकेनन्। त्यस्तै बसन्त रेग्मी ९ रनमा नटआउट रहें ।

बलिङतर्फ अफगानिस्तानका मोहम्मद नाबीले ४ विकेट लिए। उनले पारस, रोहित, आरिफ र सोमपाललाई आउट गरे। कप्तान रसिद खानले ३ विकेट हात पारे। सापूर जार्डानले २ विकेट लिए। मुजिव उर रहमानले १ विकेट हात पारे।

क्याम्पसको स्तरोन्नतिका लागि श्रीमद् भागवत सप्ताह

सिन्धुपाल्चोक, फागुन २४ । सिन्धुपाल्चोकको चौतारास्थित चौतारा बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि सहयोग संकलन गर्न श्रीमद् भागवत सप्ताह आयोजना गरिएको छ । भागवत धर्म संरक्षण समितिको सहयोगमा मंगलबारबाट सुरु भएको सप्ताहबाट संकलित रकमबाट क्याम्पसमा स्नातकोत्तर तह थप, प्राविधिक शिक्षा, छात्रावासको व्यवस्थालगायतको काम गर्ने बताइएको छ । फागुन ३० गतेसम्म चल्ने सप्ताहबाट संकलित रकमले क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालनको पूर्वाधार बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णराज श्रेष्ठले जानकारी दिए । सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद शेरबहादुर तामाङले चौतारालाई शैक्षिक हबको रुपमा विकास गरिने बताए । क्याम्पसले २०६६ सालमा पनि यस्तै सप्ताह लगाई संकलित रकमबाट जग्गा खरीद गरी आफ्नै भवन बनाइसकेको छ ।

मर्मत संभार र रेखदेख नहुँदा लघु जलविद्युत् आयोजनाहरु धमाधम बन्द

तेह्रथुम, फागुन २३ । मर्मत सम्भार र रेखदेखमा ध्यान नपुग्दा तेह्रथुमका लघु जलविद्युत् आयोजनाहरु धमाधम बन्द हुन थालेका छन् । लघु जलविद्युत् आयोजनाहरु निर्माण गर्दा सरकारी अनुदान पाउने तर मर्मत सम्भार गर्न सहयोग नपाएपछि त्यस्ता आयोजना बन्द हुन थालेका हुन् । त्यसैगरी जिल्लाकै एक मात्र पूर्ण सरकारी लगानीको खोरुङ्गा खोला लघुजलविद्युत् आयोजना समेत पाँच वर्षयता बन्द छ । मेन्छ्यायेम गाउँपालिका–५ स्थित एक सय किलोवाट क्षमताको सो आयोजना मर्मतका लागि सम्बन्धित निकायले ध्यान नपुर्‍याउँदा करोडौं मूल्यका उपकरण कवाडीमा परिणत भएका छन् । जिल्लामा बनेका १६ वटा साना तथा लघु जलविद्युत आयोजना मध्ये १० वटा बढी योजना मर्मत अभावकै कारण बन्द भएका छन् । समुदायमा आधारित जलविद्युत् आयोजनाहरु मर्मत सम्भारमा बजेट अभाव हुनु, सधैं समुदायमा मेल नहुनु, दक्ष जनशक्ति अभाव हुनुलगायत कारणहरुले बन्द भएका हुन् ।

सीजीका गुणस्तर एवं आकर्षक फ्रिजहरुमा ५ वर्षका वारेण्टी बजारमा

काठमाडौं । इलेक्ट्रोनिकस क्षेत्रमा नेपालकै नं.१ ब्राण्ड बन्न सफल सिजीले हालै आएर एकदमै नयाँ मोडलका आकर्षक एवं गुणस्तरयुक्त फ्रिजहरु ल्याएको छ । ग्राहकहरुलाई मध्यनजर गरी अब उक्त फ्रिजहरुमा तपाईंहरुले ५ वर्षसम्मको वारेण्टीसमेत प्राप्त गर्न सक्नुहुने छ । उक्त फ्रिजहरु विभिन्न आकर्षक रंगहरुमा १८१ लि. र १८५ लि. सिंगल डोरमा र २३० लि. र २६० लि. डबल डोरमा उपलब्ध छन् । आकर्षक फूलबुट्टा र बेस स्ट्याडमा ड्रवर सहित भएको उक्त फ्रिजहरुमा अब बत्ति गएको १२ घण्टासम्म यसले खानालाई चिसो बनाई स्वच्छ र ताजा बनाई राख्दछ । विभिन्न आकर्षक रंगहरु जस्तै– खैरो, निलो, रातोमा फुलबुट्टा सहित भएकोले अब तपाईहरुको घरको कोठालाई पनि आकर्षक रुप दिने छ।  

मेस्सीद्वारा ६०० गोल पूरा

काठमाडौं, फागुन २१ । आइतबार राति स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडविरुद्ध गोल गरेसँगै बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेस्सीले ६ सय अन्तराष्ट्रिय गोल गरी कीर्तिमान बनाएका छन् । उनले क्लबका लागि ५३९ गोल गरेका छन् भने देशका लागि ६१ । उनले सबैभन्दा धेरै २९ गोल सेभिल्लाविरुद्ध गरेका छन् । ला लिगाको इतिहासमा सबैभन्दा धेरै ९३६० फरक टिमविरुद्ध गोल गर्ने खेलाडी पनि उनी नै हुन् । उनले गरेका ६०० गोलमध्ये १४८ गोल ७० देखि ९० मिनेटको बीचमा भएको छ । उनलाई धेरै गोल पास दिने ड्यानी अल्भेस हुन्, जो हाल पीएसजीमा छन् । मेस्सीले ला लिगाको ८ उपाधि उचालिसकेका छन् भने च्याम्पियन्स लिगमा चार पटक च्याम्पियन बनेका छन् ।

आगलागीमा परी घाइते भएकी दलित महिलाको मृत्यु

खोटाङ । आफ्नै घरमा भएको आगलागीमा परी गम्भीर घाइते बनेकी रावाबेँसी गाउँपालिका–३ लामिडाँडाकी रत्नमाया सार्कीको एघार दिनपछि मृत्यु भएको छ । गत फागुन ९ गते भएको आगलागीमा परी गम्भीर घाइते भएकी ५० वर्षीया सार्कीलाई तत्कालै काठमाडौँ लगिए पनि उपचार सम्भव नभएपछि घर फर्काउने क्रममा मृत्यु भएको हो । आगलागीमा परी घाँटी र कम्मर मुनिको भाग अत्यधिक जलेपछि सार्कीलाई उपचारका लागि कीर्तिपुर अस्पताल काठमाडौँमा राखिएको थियो । उपचार सम्भव नभएपछि घर फर्कने क्रममा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा गए राति मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । उपचारमा सुधार नआएपछि बिरामी रत्नमायाले हातको इसारामा घर लान आग्रह गरेपछि घर ल्याउने क्रममा बाटैमा ज्यान गएको भतिजा एकराज सार्कीले बताउनुभयो । सार्कीलाई उपचारका लागि स्थानीय जनप्रतिनिधिको अगुवाइमा तत्कालै रु एक लाख ७० हजार जुटाई हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको थियो । काठ चिर्ने मेसिनमा पेट्रोल हाल्ने क्रममा नजिकै केटाकेटीले लाइटर बाल्दा शुरु भएको आगलागीमा सार्कीको घर, गरगहना, नगद, अन्नपात, लत्ताकपडालगायत जल्दा रु १२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । मृत सार्कीको श्रीमान्, पाँच छोरा र दुई छोरी छन् । रासस

१२ओभरमा जिम्बावेले बनायो सय रन

काठमाडौं, फागुन २० । आइसीसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा नेपाल र घरेलु टोली जिम्बावेबीच खेल जारी छ । पहिला टस जितेर व्याटिङ रोजेको जिम्बावेले १२ ओभरमा एक विकेटको क्षतिमा एक सय रन बनाएको छ । सुरुवातमै जिम्बावेका ब्याट्सम्यान नेपाली बलरमाथि हावी भएका छन् । ओपनर बलरका रुपमा सोमपाल कामीले बलिङ गरे । उनले पहिलो ओभरमा ५ बल डट फाले पनि एक बलमा भने जुवाओले छक्का प्रहार गरे । त्यस्तै दोस्रो ओभर कप्तान पारस खड्का आफै बलिङ गर्न आए तर यो ओभर नेपालका लागि निकै महंगो सावित भयो । पारसले एकै ओभरमा १६ रन दिए । त्यस्तै तेस्रो ओभर सोमपालले १८ रन खर्चिए । चार ओभरको समाप्तिमा जिम्बावेले ५१ रन बनाएको छ । समूह बीमा रहेको नेपालले अन्य खेलहरु फागुन २४ गते स्कटल्याण्डसँग, २६ गते अफगानिस्तानसँग र २८ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रचण्ड साझा प्रकाशनमा, फोटोफिचर

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा लेखक दिनानाथ शर्माद्वारा लिखित तथा साझा प्रकाशनद्वारा प्रकाशित निबन्ध सङ्ग्रहको लोकार्पण समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गर्दै प्रचण्ड । साझा प्रकाशनको नवनिर्मित भवन र छापाखाना अवलोकन गर्दै प्रचण्ड ।  

झापा गोल्डकप : उद्घाटन खेलमा झापा–११ र सुदूरपश्चिम–११ भिड्दै

झापा, फागुन १९ । झापा गोल्डकपको तेस्रो संस्करण शनिबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम झापा–११ फुटबल क्लब र सुदूरपश्चिम–११ फुटबल क्लब कैलालीबीच भिड्दैछन्। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट हुने आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिए। जिल्लाको व्यवसायिक फुटबलको विकास तथा फुटबल गतिविधिलाई विस्तार गर्न प्रतियोगतालाई निरन्तरता दिँदै आएको आयोजकले बताएको छ। फागुन २८ सम्म सञ्चालन हुने प्रतियोगितामा १० टिम सहभागी छन्। सहभागी टिममा आयोजक झापा–११, थ्री स्टार क्बल, मनाङ मस्र्यादी क्बल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्बल, सशस्त्र प्रहरीका एपीएफ क्लब, सहारा क्लब, रुपन्देही– ११, सुदूरपश्चिम–११ र भारतका सिक्किमको युनाइटेड फुटबल क्लब रहेको आजोयकले जनाएको छ। प्रतियोगिताको विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, प्रत्येक खेलको म्यान अफ दि म्याचलाई घोषितले २५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताका उत्कृष्ट हुने खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन्। यस्तै, लाइफटाइम एचिभेमण्ट अवार्ड स्वरुप झापा–११ का एक जना खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ।

उपेन्द्र यादवकाे वरीयता विवादले राेकियाे मन्त्रिपरिषद विस्तार

काठमाडौं, फागुन १९ । एमाले अध्यक्ष केपी ओली र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच मंसिरको अन्तिम साता सुरु भएको सत्ता बाँडफाँडको छलफलले आइतबारसम्ममा निकास पाउने भएको छ । दुई पार्टीबीच बाँडफाँडको टुंगो लागेपछि प्रधानमन्त्री ओली आइतबार नै सरकारलाई पूर्णता दिने तयारीमा छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । फोरमले मन्त्रिपरिषदमा दोस्रो वरीयतासहित तीन मन्त्री र एक राज्यमन्त्री अथवा दुई मन्त्री, एक राज्यमन्त्री र उपसभामुख मागेपछि वार्ता लम्बिएको हो । यादवले मन्त्रिपरिषदमा आफ्नो मर्यादाक्रमबारे विगतकै बैठकमा दाबी राखे पनि ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले स्पष्ट जवाफ दिएका छैनन् । ‘म दुई–दुईपटक उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री भइसकेकाले प्रधानमन्त्रीपछिको मर्यादाक्रम हुनुपर्छ’, यादवले भनेका छन् । एमाले सचिव प्रदीप ज्ञवालीले १५, १६ र १७ गते तीन दिन फोरमसँग तीव्र रूपमा परामर्श भएको र शनिबारसमेत हुने छलफलले आइतबारसम्म सरकारले पूर्णता पाउने बताए । ‘संविधान संशोधनमा एमाले ओपन छ’, ज्ञवालीले भने। फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विकासनिर्माण र जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयबारे कार्यदलस्तरमा छलफल भएको जानकारी दिए।

‘सुश्रीको सम्पति’ को शुभ मुर्हत, अाजबाट छायाँकन सुरु (हेर्नुहोस् भिडियो)

पोखरा । रङ पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार हुने ‘सुश्री सम्पति’को मंगलबार शुभ मुर्हत गरिएको छ । पोखरास्थित विन्ध्यावासिनी मन्दिरमा विविध पुजा गरी चलचित्रको छायांकन सुरु गरेको हो। सलोन बस्नेत, सारा सेर्पाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल लगाएतले अभिनय गर्ने उक्त चलचित्रमा प्रियंका कार्की अतिथिको विशेष भूमिकामा देखिने छ। नेपाली चलचित्र ‘अर्धकट्टी’ बाट निर्देशनमा डेब्यु गरेका पत्रकार सुव्रत आचार्यको यो दोश्रो चलचित्र हो । पुजा लगत्तै पत्रकारहरुसँग कुरा गर्दै फ़िल्म कमेडी फ्लेवरको रहेको र एक सम्पन्न युवतीको कथालाई मुख्य विषयवस्तु बनाएको निर्देशक आचार्यले बताए । अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद र अभिमन्यूकै पटकथामा बन्न लागेको चलचित्रको कथा निर्देशक आफैंले लेखेका हुन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको सुश्री सम्पत्ति’लाई विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारले संयुक्त रुपमा निर्माण गदैैछन् । चलचित्रमा सुरेश अधिकारीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन र भरत रेग्मीको सम्पादन रहनेछ । भिडियो हेर्नुस्

नेपाली क्रिकेट : छोटो तयारी, ठूलो सपना

काठमाडौं, फागुन १२ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुई प्रतियोगितामा उपविजेता बनेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोली साता दिन पनि नबित्दै अर्को महत्र्वपूर्ण प्रतियोगिता खेल्न विदेश जाँदै छ। नेपाली टोली सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने क्रिकेट विश्वकपको अन्तिम छनोट प्रतियोगिताका लागि शनिबार जिम्बावेतर्फ प्रस्थान गर्दै छ। त्यसका लागि नेपाली टोली प्रधानमन्त्री केपी शर्मा ओलीबाट शुक्रबार नै बिदाइसमेत भइसकेको छ। फागुन २० गतेदेखि सुरु हुने प्रतियोगिता नेपाली टोलीका लागि निक्कै महत्र्वपूर्ण रहेको छ। यो प्रतियोगिताले नेपाललाई पहिलो पटक ५० ओभर क्रिकेटको विश्वकपमा पुर्‍याउने मात्रै हैन, आगामी चार वर्षका लागि एक दिवसीय टोलीको मान्यता पनि दिलाउनेछ। यद्यपि त्यसका लागि नेपाललाई प्रतियोगिताको फाइनलमा पुग्नु पर्नेछ। आईसीसीको अहिलेसम्मको निर्णयअनुसार प्रतियोगिताको शीर्ष दुई टोली अर्काे वर्ष हुने विश्वकपका लागि छनोट हुनेछन् भने एसोसिएटमध्ये (नेदरल्यान्ड्सबाहेक) शीर्ष तीनमा रहने टोलीले सन् २०२२ सम्मका लागि एक दिवसीय टोलीको मान्यता पाउनेछन्। नेपालका लागि ५० ओभर क्रिकेटको विश्वकप छनोट तथा एकदिवसीय टोलीको मान्यता दुवै पहिलो उपलब्धि हुनेछन्। नेपाली क्रिकेटले अहिलेसम्म चाहेको अवसर पनि यही हो। आईसीसीबाट प्राप्त हुने फन्ड र खेलाडीको क्षमता अभिवृद्धिका लागि महत्र्वपूर्ण मानिने ५० ओभर क्रिकेटको सफलताले मात्रै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा अझ सशक्त बनाउनेछ। नेपालका लागि यो अवसर सहज भने छैन। यसअघि दुई पटक विश्वकप जितिसकेको वेस्ट इन्डिजसहित टेस्ट टोलीहरू जिम्बावे, अफगानिस्तान, आयरल्यान्डसहित पछिल्लो चार वर्षयता डिभिजन एकमा रहेर उच्चस्तरको प्रतियोगिता खेल्दै आइरहेका हङकङ, पपुवान्युगिनी, नेदरल्यान्ड्स, स्कटल्यान्ड्स र डिभिजन दुईको विजेता टोली संयुक्त अरब इमिरेट्स (यूएई) ले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपालका लागि त्यो अवसर निक्कै चुनौतीपूर्ण रहेको छ। पछिल्लो केही समययता नेपाली टोलीले पनि माथिल्लो स्तरको क्रिकेट खेल्दै आइरहेको छ। हालैमात्र डिभिजन दुई प्रतियोगिता खेलेर आइरहेको नेपाली टोली लयमै छ। तर, अहिलेसम्मको महत्र्वपूर्ण र ठूलो प्रतियोगिता खेल्न लागेको नेपाली टोलीले विशेष तयारी भने गर्न पाएन। डिभिजन दुई खेलेर नामिबियाबाट फर्केपछि नेपाली टोलीले शुक्रबार आधा दिन अभ्यास गरेको थियो। यसबीचमा नेपालले कुनै पनि तयारी गर्न पाएन। नेपाली टोलीले प्रतियोगिता अघि जिम्बावेमै फागुन १५ गते यूएई तथा फागुन १७ गते हङकङसँग वार्म अप खेल खेल्दै छ। त्यसको दुई दिनपछि नै नेपालले बलियो प्रतिद्वन्द्वी आयोजक जिम्बावेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाली टोलीसँग प्रतियोगिताको तयारीका लागि अब मात्रै त्यही दुई वार्म अप म्याच र मुस्किलले साता दिनको समय रहनेछ। पहिलो पटक जिम्बावेमा खेल्न लागेको नेपाली टोलीलाई पिच कन्डिसन बुझ्न पनि थोरै अवसर हुनेछ। अहिलेसम्मकै ठूलो र महत्र्वपूर्ण प्रतियोगिता खेल्न लागेको टोलीलाई छोटो समयको तयारीले मुस्किल हुन सक्नेछ। चुनौतीका बाबजुद नेपाली टोलीका कप्तान पारस खड्काले नेपालले विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यताकै लागि खेल्ने प्रतिक्रिया दिए। यद्यपि उनले पहिलो लक्ष्य सुपर सिक्समा पुग्ने हुने बताए। ‘हामी पछिल्लो केही समययता निरन्तर खेलिरहेका छौं। यही टोली सेट भइरहेको छ’, कप्तान पारस भन्छन्, ‘प्रतियोगितामा सहभागी टोलीहरू साँच्चिकै हामीभन्दा बलिया छन्। सबैको तयारी राम्रो छ। केहीले त वर्ष दिनअघिबाटै यही प्रतियोगिताबाट तयारी गरेका थिए। हामी विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यताकै लागि खेल्नेछौं। अहिलेलाई हाम्रो उद्देश्य सुपर सिक्स प्रवेश गर्नै हुनेछ।’ प्रशिक्षक टमाटा पनि पारसको कुरामा सहमत छन्। ‘हाम्रो टोली पनि नराम्रो छैन। खेलाडीहरूले क्षमताअनुसारको प्रदर्शन गर्न सकेको अवस्थामा उद्देश्य पूरा गर्ने छौं’, प्रशिक्षक टमाटा भन्छन्, ‘हामी विश्वकप छनोट र एक दिवसीय टोलीको मान्यता प्राप्त गर्नकै लागि खेल्नेछौं।’ नेपाल लगातार दोस्रो पटक विश्वकप छनोट प्रतियोगिता खेल्दै छ। सन् २०१५ मा न्युजिल्यान्डमा भएको विश्वकप छनोट प्रतियोगितामा निक्कै कमजोर प्रदर्शन गरेको थियो। प्रायः खेलाडी बिरामी र चोटग्रस्त हुँदा नेपाल त्यसबेला सहभागी १० टोलीमध्ये नवौं स्थानमा रहन पुगेको थियो। सोही प्रतियोगिताको कमजोर प्रदर्शनले गुमाएको विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यता प्राप्तका लागि पनि नेपालले यस पटक सशक्त प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। -अन्नपूर्ण पोष्टमा खबर छ ।

राष्ट्रपति निर्वाचनका बेला सबै प्रदेश मन्त्री र सांसदविहीन हुने

काठमाडौं । भर्खरै प्रदेश सरकार गठन भएर काम सञ्चालन हुन थालेको बेला आगामी एक महिनाभित्र सबै प्रदेशहरू कम्तीमा दुई दिन मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यविहीन हुने भएका छन्। निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन राजधानी काठमाण्डूमा नै गर्ने निर्णय गरेकाले यस्तो अवस्था आउन लागेको हो। संघीय संसद् र सबै प्रदेशसभाका सदस्यहरू भिन्न मितिमा गरिने राष्ट्रपति र उपराष्ट्रपतिका निर्वाचनमा मतदाता हुन्छन्। राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ। संवैधानिक प्रावधानअनुसार राष्ट्रपतिको निर्वाचनको परिणाम घोषणा भएको सात दिनभित्र उपराष्ट्रपतिको निर्वाचनको मिति तोकिनुपर्छ। उपराष्ट्रपतिको निर्वाचनमा पनि मतदान गर्न सात वटै प्रदेशसभाका सदस्यहरू पुनस् राजधानी आउनेछन्। असन्तुष्टि ती दुई पदका लागि काठमाण्ड‍ूमै मतदान गराउने आयोगको निर्णयप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। छोटो समयमै दुई पटक मतदान गर्न काठमाण्डू जाँदा सांसदहरूलाई आर्थिक भार पनि पर्ने बताउँदै प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्र शाहीले भने, ‘प्रदेशको व्यवस्थापनका लागि रातदिन काम गर्नुपर्ने बेला सबैले प्रदेश नै छोडेर जानु राम्रो होइन।’ उनका अनुसार प्रदेशमै मतदान गरेर केन्द्रमा पठाउने व्यवस्था गरिनु उपयुक्त हुन्छ। शाहीको जस्तै धारणा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको पनि छ। उनले भने, ‘कुनै निर्वाचनका कारण प्रदेश खाली हुने अवस्था आउनु राम्रो होइन। अझै समय छ, निर्वाचन आयोगले प्रदेशमै निर्वाचन गर्ने व्यवस्था गर्नु राम्रो हुन्छ।’ राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रदेशमै गरेको निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको हालको योजनामा परिवर्तनको सम्भावना नरहेको जनाएको छ। आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘प्रदेशमै निर्वाचन गर्ने बारेमा छलफल भएको हो। तर मतदाताको संख्या न्यून भएका कारण सुरक्षा र प्रविधिका हिसाबले प्रदेशमा निर्वाचन गर्नु अव्यावहारिक हुने भएकाले केन्द्रमै गर्न लागिएको हो।’ फागुन २९ गतेका लागि राष्ट्रपतिको निर्वाचनको मिति तोकिएको छ भने त्यसको एक सातामै उपराष्ट्रपतिको पनि निर्वाचन हुने बताइएको छ।बीबीसी

चिनियाँ र भारतीय राजदूत बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भने ‘ह्यापी बर्थ डे’

काठामाडौं । चिनियाँ राजदूत यु होङले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिँएकी छन् । शुक्रबार बिहान चिनियाँ राजदूत होङ फूलको बुके लिएर बालुवाटार पुगी प्रधानमन्त्री ओलीलार्ई ६७ औं जन्मदिनको शुभकामना दिएकी छिन्। त्यसैगरी भारतीय राजदूत मञ्जिवसिंह पुरी पनि बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाइ जन्मदिनको शुभकामना दिएका छन्।

सेंचुरियनमा टी-२० खेल जारी, भारतले दक्षिण अफ्रिकासामु राख्यो १८९ रनको चुनौती

काठमाडौं । दक्षिण अफ्रिका र भारतबीच सेंचुरियनमा जारी दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा भारतले घरेलु टोलीसामु १८९ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरको खेलमा टस जितेर दक्षिण अफ्रिकाले फील्डिंग रोजेको थियो । जुनियर डालाले सुरुदेखि नै आक्रामक बलिंग गर्न थालेपछि भारत रक्षात्मक अवस्थामा पुगेको बेला उसको यो निर्णय सही लागेको थियो । भारतका ओपनिंग ब्याट्सम्यान रोहित शर्मा दोस्रो ओभरको पहिलो बलमै एलबिडब्ल्यू आउट भएका थिए । उनको विकेट जुनियर डालाको खातामा गएको थियो । त्यसपछि पाँचौं ओभरमा अर्का ब्याट्सम्यान शिखर धवन १४ बल खेलेर २४ रन बनाएर आउट भए । उनी ड्युमिनीको बलमा बहराडीनद्वारा क्याच गरिए । उनीपछि आएका क्याप्टेन विराट कोहलीले तेस्रो क्रममा आएका ब्याट्सम्यान सुरेश रैनालाई साथ दिन सकेनन र जुनियर डालाका पाँच बलमा मात्र एक रन बनाएर क्लासेनद्वारा क्याच गरिए । रैनाले २४ बलमै ३० रन बनाएर फेह्लुक्वायोको बलमा एलबिडब्ल्यू भए । तर त्यसपछि आएका मनीष पाण्डेयले ४८ बलमै ६ चौका र ३ छक्काका मद्दतले ७९ रन र विकेट कीपर महेंद्रसिंह धोनीले २८ बलमा ४ चौका र ३ छक्काका मद्दतले ५२ रनको आक्रामक पारी खेलेपछि भारत फेरि लयमा फर्किएको थियो । धोनी र पाण्डेय खेलमा नट आउट रहेका छन् ।

एकता संयोजन समितिको बैठक बालुवाटारमा बस्दै

काठमाडौं, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता प्रक्रिया टुंगोमा पुर्याउन गठित एकता संयोजन समितिको बैठक बालुवाटारमा साँझ साढे सात बजे बस्ने तय भएको छ । यसअघि आइतबारका दिन दुबै पार्टीका अध्यक्षबीच पाँच घण्टा लामो छलफल चलेको थियो । आइतबारका दिन भएको छलफलका आधारमा एकता संयोजन समितिको आजको बैठकमा एकता प्रक्रियामा छलफल र सहमतिका लागि बाँकी विषयमा सझदारी बनाउने कार्यतालिका रहेको छ । आजको छलफलले एकीकृत पार्टीको वैचारिक कार्यदिशा निर्माण गर्ने प्रक्रिया, सरकार गठनलाई पूर्णता दिने, राष्ट्रपति, सभामुखलगायत अन्य नियुक्तिलगायतका विषयमा सहमति जुटाउने बताइन्छ । आजको बैठकमा सहमति भएमा पार्टी एकता प्रक्रिया टुंगोमा पुग्ने र सोही अनुसार, पार्टी एकताको औपचारिक घोषणाका लागि आवश्यक थप प्रक्रियाका बारेमा निर्णय हुने छ । यसअघि भएको सहमति अनुसार, नेतृत्व, कार्यदिशा र संगठनात्मक एकताका बारेमा सहमति जुटेपछि संगठनात्मक एकता प्रक्रिया र कार्यदिशा निर्माणका लागि दुई कार्यदल गठन गर्ने मोटोमोटी सहमति भएको थियो ।