गाउँपालिका अध्यक्षमाथि गाेली प्रहार !

धनराज साउँद, अछाम । रामारोशन गाउँपालिका अध्यक्ष झँकर साउदमाथि आक्रमणको प्रयास भएको छ ।

गाउपालिका कार्यालयसँगै जोडिएको निवासमा रहेका साउदमाथि आक्रमणको प्रयास भएको हो ।

स्थानीयका अनुसार साउँदलाई लक्षित गरि गोली समेत प्रहार भएको थियो ।

अज्ञात समूहले चलाएको गोलीले कुनै पनि मानविय क्षती भने नभएको घटनास्थलमा रहेका डम्वर स्वारले बताए ।

साउदमाथि लक्षीत गरि गोली प्रहार गर्ने समूहको खोजी भईरहेको छ । ३ जनाको समूहले उनीमाथि आक्रमणको प्रयास गरेको काँग्रेस नेता डम्वर स्वारले बताए ।

व्यवसायीको दबाबसामु झुक्यो मन्त्रालय, दूधको मूल्य बढ्ने, कार्यदल गठन

काठमाडौं । व्यवसायीको चर्को दबाबपछि सरकारले दुधको मूल्य बढाउने भएको छ । नेपाल दुग्ध संस्थानका कार्यकारी अध्यक्ष बाबुकाजी पन्तको संयोजकत्वमा दूधको नयाँ मूल्य निर्धारण गर्न कार्यदल गठनसँगै मूल्य बढने निश्चित भएको हो । सरकारले यसविषयमा अध्ययन गरी सिफारिस गर्न ८ सदस्यीय कार्यदल गठन गरेको छ । गठित समितिले मूल्य निर्धारणको आधार विश्लेषण, क्षेत्रगत रुपमा दूधको उत्पादन लागत विश्लेषण, दूध ढुवानी र चिस्यान खर्च तथा दूध उत्पादनमा मौसमी प्रभावलगायतका बिभिन्न नौ वटा क्षेत्रमा सिफारिस गर्ने छ । यसका अलवा दूधको गुणस्तर, आन्तरिक तथा बाह्य बजारसँग प्रतिस्पर्धा, मुद्रास्फीति दर र विगत २ वर्षको बजार मूल्यबृद्धि, विगतका ५ वर्षमा दूधको मूल्यको ट्रेन्ड र दूधको मूल्य समायोजनमा उपभोक्तामा असर विश्लेषणबारे पनि कार्यदलले अध्ययन विश्लेषण गर्नुपर्ने कार्यदेश छ । कतिपयले यो कार्यदलले बहुराष्ट्रिय कम्पनीका पाउडर दूधलाई भित्र्याउने कसरतका रुपमा समेत लिएका छन् । यद्यपी मन्त्री खनालले भने विदेशी कम्पनीको दूध कुनै पनि हालतमा भित्रिन नदिने बताउँदै आएका छन् । कार्यदलमा नेपाल डेरी एसोसिएसन, डेरी उद्योग एसोसिएसन, मन्त्रालयका प्रतिनिधि, दुग्ध विकास सहकारीका प्रतिनिधि, दुग्ध विकास कम्पनीका प्रतिनिधि सहभागी छन् । कार्यदलको समय सीमा नतोकिए पनि भदौ एक गतेदेखि नै लागू हुने गरी प्रतिलिटर ६ देखि ८ रुपैयाँसम्म दूधको मूल्य बढ्न सक्ने देखिन्छ । नेपालमा पर्याप्त सम्भावना हुँदाहुँदै पनि दुग्ध विकास संस्थानको नेतृत्व प्रभावकारी नहुँदा यसले अपेक्षित सफलता प्राप्त गर्न सकेको छैन । बिभिन्न बहुराष्ट्रिय कम्पनीहरु भने नेपालमा दूध उत्पादन र बजार बिस्तारका लागि दबाब दिँदै आएका छन् । अहिले बजारमा दूधको मुल्य बढने र भविष्यमा विदेशी कम्पनीले कम मूल्यमा उत्पादन गर्ने प्रस्ताव ल्याएमा के हुने भन्ने प्रश्न भने अझै अनुत्तरित नै छ ।

अफगानिस्तानसँग आयरल्याण्ड १२६ रनले पराजित

काठमाडौं, जेठ । आयरल्याण्ड विरुद्धको दोस्रो एकदिवसीय खेलमा अफगानिस्तान विजयी भएको छ । मंगलबार राति भएको खेलमा आयरल्याण्डलाई १२६ रनले हराउँदै अफगानिस्तान विजयी भएको हो । ३०६ रनको लक्ष्य पछ्याएको घरेलु टिम आयरल्याण्डले ४१.२ ओभरमा सबै विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो । उसका लागि पउल स्टर्लिङले सर्बाधिक ५०, ग्यारी विल्सनले ३४, एन्डी बलर्बिनीले २०, कप्तान विलियम प्रोटरफिल्डले १९, बेरी म्याकरोथीले १८ र केभिन ओब्रायनले १२ रन बनाए ।बलिङमा अफगानिस्तानका कप्तान कुलबिन्दन नाइबले ९.२ ओभरमा ४६ रन दिएर ६ विकेट लिए । यस्तै, रहमत शाह, अफ्ताब आलम र दवाल्ट जर्दानले १–१ विकेट लिए । टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०५ रन बनायो । उसका लागि ओपनर मोहम्मद सजादले १४ चौकाको मद्दतमा ८८ बलमा १०६ रन बनाए । यस्तै, रहमत शाहले ६२, हसमुतुल्लाह साहिदीले ४७, अश्गर अफगानले १४ र नजिबुल्लाह जर्दानले ३ छक्का र ७ चौकाको सहयोगमा नट आउट ६० रनको योगदान दिए । बलिङमा आयरल्याण्डका मार्क अदिरले ३, एन्डी म्याकर्बिनले ३, ब्वोइड र्याकिंन र पउल स्टर्लिङले १–१ विकेट लिए । पहिलो खेलमा अफगानिस्तानका ब्याट्सम्यान नचल्दा आयरल्याण्डले ७२ रनको फराकिलो जीत निकालेको थियो । अफगानिस्तान मे ३० देखि हुने विश्वकप क्रिकेटमा पनि सहभागिता जनाउँदै छ ।   

स्कटल्याण्डद्वारा अफगानिस्तानलाई ३२६ रनको लक्ष्य

काठमाडौं, वैशाख २७ । अफगानिस्तान विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा स्कटल्याण्डले ३२६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको घरेलु टोली स्कटल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३२६ रन बनायो ।  उसका लागि कलुम म्याक्लओडले शतक प्रहार गरे । उनले एक छक्का र १० चौकाको मद्दतमा ८९ बलमा १०० रन बनाए । कप्तान केलिट कोइट्जरले ७९, म्थायु क्रसले ३२, रिची बर्गिन्टनले ३३, जर्जी मुन्सीले २० र क्रेग वाल्सेले २० रन बनाए । बलिङमा अफगानिस्तानका कप्तान गुल्बिन्दन नइबले ३, हमिद हसन र अफब आलमले २–२ विकेट लिए । आजको खेलमा स्टार खेलाडी राशिद खान, मोहम्मद नाबी र मुजिबउर रहमान छैनन् । उनीहरु आइपीएलका कारण टोलीमा नपरेको हुनसक्ने अनुमान गरिएको छ । अफगानिस्तानले ३० मेदेखि इंग्ल्याण्ड र वेल्समा हुने वान डे विश्वकपमा सहभागिता जनाउँदै छ ।  

पेट्रोलियम पाइपलाइन ओछ्याउने काम अन्तिम चरणमा

वीरगञ्ज, वैशाख १४ । दक्षिण एशियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच किलोमिटर क्षेत्रमा मात्र रुखकाटी जमीनमुनि पेट्रोलियम पाइपलाइन बिछ्याउने काम बाँकी रहेको छ । बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ओछ्याउने पेट्रोलियम पाइपलाइन विछ्याउने काम धमाधम भइरहेको परियोजना कार्यालय सिमराले जनाएको छ । नेपालको लाइफलाइनको रुपमा रहेको ७० किलोमिटर लम्बाइको सो पाइपलाईन ६५ किलोमिटर सम्पन्न भइसकेको र अब करीब पाँच किलोमिटर क्षेत्रमा मात्र काम बाँकी रहेको बताइएको छ । पाइपलाइन विछ्याउने क्षेत्रमा करीब नौ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्जपर्ने भएकाले सो क्षेत्रमा ६ हजार ५०० ठूला–साना रुख काटिने काम धमाधम भइरहेको पेट्रोलियम पाइपलाइन विस्तार आयोजना सिमराका इञ्जिनीयर शरद पौडेलले बताए । काटिएका रुखको जरा उखेल्न समस्या भए पनि सो काम तीव्रगतिमा भइरहेको छ । उहाँले निकुञ्जभित्रको नौ किलोमिटर क्षेत्रमध्ये चार किलोमिटर क्षेत्रमा रुख कटान गरी पाइपलाइन बिछ्याउने काम भइसकेको र बाँकी रहेको पाँच किलोमिटर क्षेत्रमा पर्ने रुख कटान गरी चाँडै नै पाइप बिछ्याउने काम सम्पन्न भएपछि असारसम्ममा पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउनेछन् भने । पाइपलाइन विस्तार गर्ने क्रममा निकुञ्ज क्षेत्रभित्र काटिएको रुख भएको ठाउँमा पुनः वृक्षरोपण गर्न नेपाल आयल निगमले निकुञ्जलाई पाँच वर्षसम्मको लागि एक लाख ४७ हजार २०० रुख रोप्न एक करोड ३९ लाख ६७ हजार ५२ रुपैया क्षतिपूर्ति दिएको सहायक संरक्षण अधिकृत अशोककुमार रामले बताए । गत चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्त रुपमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको शिलान्यास गरेपछि यसले गति लिँदै जमीनमुनि पाइप ओछ्याउने काम अन्तिम चरणमा पुगेको छ । भारतको मोतिहारीदेखि बारा जिल्लाको अमलेखगञ्जसम्म ७० किलो मिटर लम्बाइ भएको सो पाइपलाइन भारतीय आयल निगमको रु २७५ करोडको लागतमा निर्माण भइरहेको छ । जसमध्ये भारत सरकारको २०० करोड तथा सङ्घीय सरकारको रु ७५ करोडको लगानी रहेको पेट्रोलियम पाइपलाइन कार्यालय सिमराले जनाएको छ । पाइपलाइन बिछ्याउने काम सम्पन्न भएपछि पेट्रोलियम पदार्थ भण्डारण गर्नका लागि अमलेखगञ्ज आयल निगमको डिपोमा ३९ सय किलोलिटर क्षमता भएको दुई वटा तथा चार हजार १०० किलोलिटर क्षमता भएको दुईवटा गरी चार वटा ट्याङ्कर मर्मतसम्भार दु्रत गतिमा भइरहेको छ । सो पाइपलाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि प्रतिघण्टा दुई लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाईनबाट भित्रिने छन् । जमीनमुनी साढे दुई मिटर तल तथा पौने ११ इञ्चको माइल स्टिल भन्ने कालो रङ्गको पाइप राखिएकोले खिया भने लाग्दैन । यो प्रोजेक्ट सञ्चालमा आएपछि नेपाल भारतको रक्सौल नाकामा देखिने जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास जानकारहरुले लिएका छन् । रासस

एकै दिन विप्लवका २१ कार्यक्रता पक्राउ

काठमाडौं, चैत १३ । प्रहरीले चन्द समूहका थप २१ जनालाई पक्राउ गरेको छ । चितवन, अछाम, तनहुँ, नवलपरासी, नवलपुर, संखुवासभा, मकवानपुर, इलाम, पाँचथर, सप्तरी, सुनसरी, कास्की र भोजपुरबाट सोमबार राति र मंगलबार उनीहरू पक्राउ परेका हुन् । चन्द समूहको गतिविधिमा प्रतिबन्ध घोषणा गरेयता प्रहरीले पाँच दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको छ । चन्द समूहको ‘तमुवान जनपरिषद् संयोजक’ किसानसिंह गुरुङ मंगलबार पोखरा–२७ रिठेपानीबाट पक्राउ परेका छन् । दमौली संवाददाताका अनुसार मंगलबारै तनहुँ, व्यास–६ का अखिल नेपाल क्रान्तिकारी लमजुङ अध्यक्ष सुनील कुमाल, बन्दीपुर–५ का जिल्ला सदस्य अम्मरराज बुढामगर र व्यास १४ का दलित मोर्चा जिल्ला अध्यक्ष भेषबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर उनीहरूमाथि अनुसन्धान सुरु गरिएको जानकारी दिए । यस्तै, पूर्वी नवलपरासीबाट चन्द समूहका नवलपरासी इन्चार्ज सुमन ज्ञवाली र जिल्ला सदस्य धनबहादुर मर्दर्निया पनि पक्राउ परेका छन् । दुवैलाई प्रहरीले सोमबार राति घरबाटै पक्राउ गरेको हो । अर्घाखाँचीको जिल्ला इन्चार्ज भएर काम गरेका ज्ञवाली नवलपरासी इन्चार्ज भएपछि खैरनीमा बस्दै आएका थिए । स्थानीयका अनुसार मर्दनियालाई उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । दुवैलाई कावासोतीस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । यस्तै, चन्द समूहका नवलपुर जनपरिषद् प्रमुख दानबहादुर आचार्य पनि मंगलबार पक्राउ परेका छन् । विनयी त्रिवेणी गाउँपालिका ४, सर्दीस्थित उनको घर नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ४ नागीका सञ्जय राई, पौवादुम्मा गाउँपालिका ३ च्यांगेका विकास राई र साल्पासिलोछो गाउँपालिका २ कुलुङका महेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सञ्जय र महेन्द्र चन्द समूहका जिल्ला सदस्य हुन् भने विकास विद्यार्थी संगठनको जिल्ला अध्यक्ष भएको प्रहरीले जनाएको छ । राजविराज संवाददाताका अनुसार सप्तरीमा चन्द समूहका जिल्ला सदस्य कञ्चनपुर नगरपालिका ६ का नुन्नु राम, शम्भुनाथ नगरपालिका ६ का गणपति साह र छिन्नमस्ता गाउँपालिका १ का तेजनारायण यादव सोमबार पक्राउ परेका छन् । विराटनगर संवाददाताका अनुसार प्रहरीले इलामको सूर्योदय नगरपालिकाबाट नेकपाका कार्यकर्ता मोहन बराल र रोङ १ का राजकुमार खत्रीलाई पक्राउ गरेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाबाट भूपेन्द्र चेम्जोङ पक्राउ परेका छन् । संखुवासभाको पाँचखाल नगर कमिटी इन्चार्ज भीम राई पनि पक्राउ परेका छन् । सुनसरीको इटहरी हलगडाबाट चन्द समूहका कार्यकर्ता रमेश खडकालाई प्रहरीले पक्राउ गरेको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

भारतीय अनलाइनले सन्दीपलाई रोहित बनाएपछि….

काठमाडौं, चैत १० । भारतीय चर्चित अनलाइन ‘नवभारत टाइम्स’ ले नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेको फोटो नै बिर्सिएको छ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली क्यापिटल्समा आवद्ध सन्दीपको फोटोमा रोहित कुमार पौडेलको तस्विर राखिएको छ । नवभारतको साइटमा राखिएको दिल्लीको टिममा सन्दीपको फोटो हुनुपर्नेमा रोहितको फोटो राखिएको हाे । विश्वका चर्चित क्रिकेट लिग खेलिसकेका सन्दीपको फोटो नै नचिन्ने कस्तो अनलाइन हो भन्दै ‘नवभारत टाइम्स’को सामाजिक सञ्जालमा आलोचनासमेत भइरहेको छ । टिमका अन्य खेलाडीको नाम र फोटो भने सहि छ-

पार्टीभित्र गुट हुनु स्वाभाविक होः नेता कोइराला

चितवन, चैत १० । नेपाली का‌ग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताएका छन् । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, ‘गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ ।’ नेता कोइरालाले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बताउँदै गुटले नेतृत्वलाई पार्टी बनाउन सघाउँछ भने । गणतन्त्र र सङ्घीयता काङ्ग्रेसको एजेण्डा रहेको उल्लेख गर्दै उहाँले कम्युनिष्टहरु जनवादी केन्द्रीयतामा विश्वास गर्ने बताए । नेता कोइरालाले सरकारले चौतर्फी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा गरेको हस्तक्षेप मान्य नहुने बताउनुभयो । काङ्ग्रेसकी नेत्रीद्वय सीता गुरुङ र डा. डिला सङ्ग्रौलाले काङ्ग्रेस हारे पनि सिद्धान्त र आदर्शको विजय भएको बताए । काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेता देवराज चालिसे, जिल्ला उपसभापति कैलाश कोइराला लगायतले पार्टीको संस्थागत विकासमा जोड दिनुपर्ने बताए ।

आइपीएलः धोनी र विराटको टिम भिड्दै, चेन्नईले टस जित्यो

काठमाडौं, चैत ९ । इन्डियन प्रिमियर लिग (आइपीएल) १२औं संस्करणको पहिलो खेलमा रोयल च्यालेन्जर्स ब्यंग्लोर विरुद्ध चेन्नई सुपर किंग्सले टस जितेर बलिङ रोजेको छ । खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि चेन्नईमा शुरु हुँदै छ । ब्यंग्लोरको नेतृत्व विराट कोहलीले र चेन्नईको कप्तानी महेन्द्रसिंह धोनीले गरेका छन् । आईपीएल इतिहासमै सबैभन्दा सफल टिम चेन्नई हो । उसले अहिलेसम्म ३ पटक उपाधि जितेको छ भने ४ पटक उपविजेता बनेको छ । विराटले नेतृत्व गरेको बेंगलोर भने आईपीएलको अभागी टोलीको रुपमा गनिन्छ । किनभने स्टार खेलाडीले भरिएर पनि उसले अहिलेसम्म उपाधि जित्न सकेको छैन । सीएसके र आरसीबी अहिलेसम्म आईपीएलमा २२ पटक आमनेसामने भएका छन् । जसमध्ये १४ खेलमा सीएसकेले जित हात पारेको छ भने ७ खेलमा आरसीबीले जित हात पारेको छ । एक खेल भने नतिजाविहीन भएको छ । दुवै टिम स्टार खेलाडीले भरिपूर्ण भएकाले पनि आईपीएल २०१९ को पहिलो खेल नै रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ । यसपटक आईपीएलमा ८ टिमको सहभागिता छ । चेन्नई र बेंगलोरका अलावा मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र किंग्स इलाभेन पन्जाब आईपीएलमा सहभागी टिम हुन् । नेपाली युवा स्टार सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट खेल्दैछन् । यसअघिको सिजनमा अन्तिम तीन खेलमा मात्र अवसर पाएका सन्दीप यसपटक सुरुवातदेखि नै पहिलो रोजाइमा पर्ने अपेक्षा गरिएको छ ।

चलचित्र ‘कालो वर्ष’को फस्टलुक सार्वजनिक, आगामी वैशाख १३ गतेदेखि प्रदर्शनमा आउने

काठमाडौँ, चैत ८ । नेपाली कथानक चलचित्र ‘कालो वर्ष’को फस्टलुक शुक्रबार बिहीबार सार्वजनिक भएको छ । निर्देशक लक्षु गौतमको निर्देशन रहेको चलचित्र ‘कालो बर्ष’ आगामी वैशाख १३ गतेबाट देशभरिका चलचित्र घरहरुमा एकसाथ प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रको मूख्य भूमिकामा ओकेस पनेरु, अनुपा खड्का, पवन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेलको रहेको छ। योगीराम फिलिम्स्को प्रस्तुति रहेको यस चलचित्रको योगेन्द्रप्रसाद पनेरु र राम खड्काको सयुक्त लगानीमा निर्माण गरिएको हो । सुवास देवकोटाको सम्पादन रहेको यस चलचित्रलाई रिच इन्टरटेनमेन्ट ‘करन श्रेष्ट’ले चलचित्र वितरकको जिम्मा लिएका छन् ।

नेपालमा वार्षिक २१ करोडको कण्डम बिक्री !

काठमाडौं, फागुन १६ । पसलमा महिला छिन् कि पुरुष हेर्छन्। महिला भए पुरुष ग्राहक आउन्नन्, पुरुष भए महिला। वरपर अरु ग्राहक छन् भने नजिकै आएर चुपचाप उभिन्छन्। जब पसलमा ग्राहक पातलिन्छन्, सुस्तरी माग्छन्, ‘ऊ दिनुस न।’ अधिकांश मेडिकल सञ्चालकले ग्राहकको हाउभाउका आधारमा भाषा बुझ्छन्, प्याकेट सिधै हातमा लिन पनि हच्किन्छन्। पत्रिकाले बेरेर, लुकाएर दिनुपर्छ। स्वाट्ट लिन्छन्, फटाफट हिँडिहाल्छन्। यस्तो व्यवहार देख्दा लाग्छ, ती व्यक्तिले जे किने त्यसको पोल खुल्यो भने बर्बादै हुन्छ। तर किनेका हुन्छन् कण्डम। शहरी दृष्य नै हो यो। समाज बदलिँदैछ तर शहर होस् या ग्रामीण भेग परिवार नियोजनको साधन कण्डमबारेको धारण उस्तै देखिन्छ। नेपाली बजारमा १५ रुपैयाँदेखि एक हजार रुपैयाँ मूल्यसम्मका कण्डम पाइन्छन्। नेपालमा प्रयोग हुने सबैजसो कण्डम विदेशबाट आयात गरिन्छ। नेपालमा वार्षीक २१ करोड रुपैयाँ बराबरको कण्डम खपत हुन्छ। यो समाचार शुक्रबार साप्ताहिकबाट लिइएको हो ।

फेरी विवादः आइसीसीले शनिवार पठाएको दुई वर्षको तलब स्वीकार नगर्ने,

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले शनिवार पठाएको दुई वर्षको तलब स्वीकार नगर्ने बताएका छन्। खेलाडीहरूको वर्गीकरणका बेला तीन वर्षअघि नेपाल क्रिकेट संघ क्यान र प्रशिक्षक टमाटाबीच तलबबारे सम्झौता हुन लागेको थियो। प्रशिक्षक टमाटाका अनुसार मासिक ५० देखि ७० हजार रुपैयाँमा सम्झौता हुन लागेकै बेला क्यान भङ्ग भएको थियो। उनले भने, “मौखिक कुराकानी भइरहेकै बेला क्यान निलम्बनमा पर्‍यो । जसका कारण मैले तलब सम्झौतामा हस्ताक्षर गरेको छैन।” अहिले आइसीसीले उनलाई मासिक १५ हजारको दरले तलब पठाइदिएको बताइएको छ। जुन ग वर्गका खेलाडीहरूलाई दिने पारिश्रमिक हो। जसमा उनले असन्तुष्टि व्यक्त गरेका हुन्। खेलाडीबाहेक क्यानका व्यवस्थापक तथा प्राविधिक विश्लेषक रमण शिवाकोटीले पनि मासिक १५ हजार रुपैयाँको दरले दुई वर्षको तलब पाउनेछन्। पारसलाई एकमुष्ठ साढे आठ लाख राष्ट्रिय टोलीका कप्तान पारस खड्काले रोकिएको दुई वर्षको तलबका रूपमा एकमुष्ठ आठ लाख ४० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले शनिवार मात्र रकम पठाएपछि उनीसहित क वर्गमा परेका सात खेलाडीले मासिक ३५ हजारको रूपमा २४ महिनाको तलब पाउने भएका हुन्। क वर्गमा उनीसहित उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी छन्। दुई वर्षदेखि तलब नपाएका खेलाडीहरूको रकम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले शनिवार राष्ट्रिय खेलकुद परिषद्लाई पठाएको परिषद्ले जनाएको छ। विगत २ वर्षदेखि रोक्का राख्दै आएको खेलाडीहरुको मासिक तलब युएई भ्रमणमा पाएको सफलता लगत्तै पठाइदिएको हो। क, ख र ग गरी तीन श्रेणीमा राष्ट्रिय खेलाडीहरूलाई वर्गीकरण गरिएको छ। प्रत्येक समूहमा सात सात गरी २१ खेलाडीहरूले तलब पाउनेछन्। जसमा क वर्गमा परेका खेलाडीले मासिक ३५ हजार, समूह बी का खेलाडीले २५ हजार र समूह सीका खेलाडीले १५ हजार पाउने व्यवस्था छ। समूह बी मा शक्ति गौचन, करण केसी, रोहित पौडेल, आरिफ शेख, ललितनारायण राजवंशी, अनिल शाह र ललित भण्डारी छन्। त्यस्तै समूह सी मा विनोद भण्डारी, सागर पुन, सुनिल धमला, प्रदिप ऐरी, सुवास खकुरेल, दिलिप नाथ र सुशन भारी छन्। पहल क्यान निलम्बन भएको अवस्थामा राष्ट्रिय खेलकुद परिषद्को पहलमा उक्त रकम निकासा भएको परिषद्का प्रेस सल्लाहकार रोहित दाहालले बताए। उनले भने,”दुई वर्ष बित्न लाग्दा समेत आइसीसीले तलब नपठाएपछि सदस्यसचिवले आइसीसीलाई बारम्बार ताकेता गरिरहनुभएको थियो। बल्ल पठाइदियो। अब बाँडिन्छ। ” युवा खेलाडीहरू वर्गीकरणको सूचीमा पर्ने प्रतीक्षामा छन्। पठाइएको रकम एक करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ रहेको छ। यो वर्ष २०१७ र २०१८ को तलब हो। नयाँ वर्गीकरण आइसीसीले क्यानले गरेको वर्गीकरण अनुसार तलब पठाएको हो। अब वर्ष २०१९ का लागि खेलाडीहरूको नयाँ वर्गीकरण हुने बताइएको छ। जसमा पुराना केही खेलाडीहरू सूचीबाट बाहिरिने छन् भने नयाँ खेलाडीहरू थपिने छन्। सन्न्यास लिइसकेका खेलाडी शक्ति गौचन, सुभाष खकुरेल, सुशन भारी जस्ता खेलाडी बाहिरिने तथा अविनाश बोहोरा, सन्दीप जोरा, पवन सर्राफ, भीम सार्की जस्ता खेलाडी वर्गीकरणमा समावेश हुने प्रशिक्षक टमाटाले बताए। बिबिसीबाट

सुन काण्डमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश भुर्तेल पनि तानिए

काठमाडौँ — सुन तस्करीसम्बन्धी मुद्दा पेशी व्यवस्थापनमा ‘कैफियत’ भेटेपछि न्यायपरिषद्ले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेललाई समेत कारबाही स्वरूप काठमाडौँ तानेको छ । परिषद् बैठकले सोमवार भुर्तेललाई न्यायपरिषद सचिवालयमा ‘काज’ सरुवा गरेको हो । कान्तिपुर दैनिकका अनुसार, साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका आरोपीवारे जिल्ला अदालतले गरेको ‘थुनछेक आदेश’ विरुद्धको निवेदन व्यवस्थापन क्रममा भुर्तेलको भूमिका शंकास्पद देखिएको स्रोतको भनाइ छ । ‘यस्ता निवेदनहरू उहाँले सुरुमा एकसाथ राख्नुभयो, पछि अलग अलग गरेर इजलास बाँडेको भेटियो’ परिषद् स्रोतले भन्यो, ‘पेशी व्यवस्थापन लगायत कतिपय कार्यविधिका विषयवस्तुमा गम्भीर प्रश्न उठेपछि झिकाइएको हो ।’ न्यायपरिषदले उच्च अदालत विराटनगरको घटनाबारे छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई जिम्मेवारी दिएको छ । उनले १५ दिनभित्र छानबिन प्रतिवेदन बुझाउनेछन् । यसअघि विराटनगर उच्च अदालतका न्यायाधीशहरू नागेन्द्रलाभ कर्ण, थीरबहादुर कार्की, सारंगा सुवेदी, उमेशकुमार सिंह र उमेशराज पौडेल काठमाडौँ झिकाइएका थिए । जिल्ला अदालत ललितपुरका न्यायाधीश विश्वमंगल आत्रेयका बारेमा छानबिन गर्न पनि परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईलाई जिम्मेवारी दिएको छ । भिसा प्रोसेसिङ र स्वास्थ्य परीक्षणका नाममा मलेसिया जाने नेपाली कामदारलाई ठगी गर्दै आएका भीएलएनका सञ्चालक रामकुमार श्रेष्ठलाई सफाइ दिएकोलगायत आत्रेयका फैसलामा गम्भीर प्रश्न उठाउँदै उजुरी परेकाले परिषद्ले सचिवालयमा तानेको हो । परिषद्ले सोमवारै सर्वोच्चका मुख्य रजिस्ट्रार राजनकुमार भट्टराईलाई उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको छ । उनी सरकारी वकिल समूहबाट सचिव भई सर्वोच्चको मुख्य रजिस्ट्रारसम्म बनेका थिए । राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सर्वोच्चका पूर्व न्यायाधीश तपबहादुर मगरको नाम सिफारिस भएको छ । सेवा अवधि पुगेका कारण प्रतिष्ठानको कार्यकारी निर्देशकबाट केशरीराज पण्डितले अवकाश पाएका थिए ।

एक दिवसीय र टी–ट्वान्टी सिरिजः बन्द प्रशिक्षण शुरु, को–को खेलाडी प्रशिक्षणमा ?

काठमाडौं, पुष २५ । संयुक्त अरब इमिरेट्स (युएई) सँग एक दिवसीय र टी ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको बन्द प्रशिक्षणमा २० खेलाडी छन् । बन्द प्रशिक्षणमा कप्तान पारस खड्कासहित वसन्त रेग्मी, भीम सार्की, अविनाश बोहरा, विक्रम सोब, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल र करण केसी छन् । त्यसैगरी ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी, सन्दीप जोरा र सुशन भारी छन् । बुधबार पहिलो दिनको बन्द प्रशिक्षणमा भने १६ खेलाडीले मात्र सहभागिता जनाएको राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक जगत टमाटाले जानकारी दिए । उनले केही खेलाडी बाहिर जिल्लामा र केही विदेश भएकाले सबै खेलाडीको उपस्थिति हुन नसकेका बताए । कप्तान पारस खड्का र दीपेन्द्र सिंह ऐरी भने अष्ट्रेलियामा छन् । केही दिनपछि सबै खेलाडी बन्द प्रशिक्षण सहभागी हुने प्रशिक्षक टमाटाको भनाइ छ । युएईमा नै हुने उक्त प्रतियोगिता आगामी माघ ११ देखि २० गतेसम्म हुनेछ । युएइसँगको पहिलो एक दिवसीय खेल आगामी माघ ११ गते हुनेछ । दोस्रो खेल माघ १२ र तेस्रो खेल माघ १४ गतेका लागि तय भएको छ । यस्तै टी ट्वान्टीतर्फ पहिलो खेल माघ १७, दोस्रो माघ १८ र तेस्रो खेल माघ २० गते हुनेछ । नेपालले गत वर्ष जिम्बाबेमा भएको विश्वकप छनोटबाट एक दिवसीय मान्यता पाएको थियो ।

बीबीएलः सन्दीप नहुँदा मेलबर्न स्टार्सलाई जित निकाल्न कति कठिन ?

काठमाडौं, पुष २२ । अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) मा आज नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार्सले पाँचौ खेल खेल्दै छ । खेल नेपाली समयअनुसार १ बजे शुरु हुँदैछ । आज मेलबर्न स्टार्सले टस हारेर बलिङको निम्तो पाएको छ । यो खेलमा सन्दीप भने छैनन् । उनी आजदेखि शुरु भएको बंगलादेश प्रिमियर लिग (बीपीएल) मा छन् । उनको खेल भोलि (आइतबार) हुँदैछ । बिग ब्यास लिगमा चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आठ विकेट लिएका सन्दीप बिनाको खेल आज मेलबर्नले जित्न सक्छ या सक्दैन हेर्न लायक हुनेछ । आज बेलर्बनले सेन वाट्सनको कप्तानीमा रहेको सिड्नी थन्डरसँग खेल्दैछ । सन्दीपको टिमले पहिलो खेल सिड्नीसँग खेलेको थियो । उक्त खेलमा सन्दीपले २ विकेट लिए पनि टिमले भने जित्न सकेको थिएन । त्यो खेलमा लामिछानेले सिड्नीका कप्तान वाट्सनको विकेट लिएका थिए । मेलबर्न स्टार्स अंक तालिकामा पाँचौ र सिड्नी चौथो स्थानमा छन् ।

स्थायी कमिटि बैठकबाट नेकपामा पर्ने ३ मुख्य प्रभाव

विष्णु पाेखरेल (बिबिसी), सरकार र पार्टी नेतृत्वको व्यापक आलोचना भएको भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुक्रवार सकिएपछि त्यसले पार्ने प्रभावबारे आकलन गर्न थालिएको छ। गत मंसिर २९ गते बैठक सुरु भएदेखि नै अधिकांश सदस्यहरूले सरकार र पार्टी नेतृत्वप्रति कडा प्रश्नहरू तेर्स्याएका थिए। र, खासगरी निशानामा परेका थिए प्रधानमन्त्री एवम् पार्टीका एकजना अध्यक्ष केपी ओली। बैठकमा सहभागी नेताहरूका भनाइमा धेरै सदस्यहरूको आलोचनाकै कारण अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले पेश गरेको राजनीतिक प्रतिवेदन जस्ताको त्यस्तै पारित हुन नसकेको हो। बिहीवार नै पारित गर्ने लक्ष्य राखिएको उक्त प्रतिवेदनमा वामदेव गौतम, भीम रावललगायतका नेताहरूले आपत्ति जनाएपछि शुक्रबार पनि बैठक बसेको थियो। बैठकले प्रतिवेदनका कमजोरी र सदस्यहरूबाट आएका सुझाव समेटेर पारित गर्ने निर्णय गरेको बैठकमा सहभागी नेताहरूले बताएका छन्। उनीहरूका अनुसार त्यसका लागि समयसीमा भने तोकिएको छैन। बैठकमा शुरूदेखि अन्त्यसम्म सहभागी नेकपाका केही नेताहरूका बुझाइमा यो बैठकले पार्टीभित्र निक्कै हलचल मच्चाएको छ भने नेतृत्वलाई भविष्यमा निर्णयहरू गर्दा ‘दुर्इपटक सोच्नुपर्ने’ अवस्थामा पुर्‍याएको छ। कतिपय नेताहरूका बुझाइमा यसअघि ‘बेलगाम आफ्नै मनोमानी ढंगले सरकार र पार्टी चलाइरहेका’ अध्यक्षद्वयले अब त्यस्तो गर्ने छैनन्। अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनलाई चुनौती दिने गरि नेता वामदेव गौतमले १६ पृष्ठको प्रतिवेदन ल्याएका थिए। त्यसमा उनले नेताहरूलाई दोहोरो जिम्मेवारी दिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। अर्का नेता भीम रावलले पनि १४ पृष्ठ लामो लिखित धारणा राख्दै नेतृत्वको कार्यशैलीप्रति आलोचना गरे। बैठकमा बोल्ने नेताहरूले पार्टीमा शक्ति केन्द्रीकरण भएको आरोप लगाएका थिए। आलोचना गर्नेमा वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल पनि थिए। ‘आफूले जवाफ दिने क्रममा एकजना अध्यक्ष प्रचण्डले विगतमा नेतृत्वबाट त्यस्ता कतिपय कमजोरी भएकाले अब भने सुधार गरेर जाने’ प्रतिबद्धता जनाएको बताउँदै नेताहरूले त्यसैले पहिले जस्तो नेतृत्व ‘बेलगाम नहुने’ ठानेका छन्। जबरजस्ती अध्यक्षहरूको राजनीतिक प्रतिवेदन पारित गर्न नखोजी कमीकमजोरी सच्याउने र सदस्यका सुझाव समेट्ने निर्णय हुनुले पनि नेतृत्वप्रति पार्टीको लगाम लागेको भन्नेहरू पनि छन्। सरकार सञ्चालनमा सल्लाह नेकपाकै कतिपय नेताहरू यो बैठकमा अधिकांश सदस्यले सरकारको कार्यशैलीप्रति आलोचना गरेकाले अब भने कतिपय विषयहरूमा सरकारमा रहेका नेताहरूले पार्टीमा पनि छलफल गर्ने आशा गरेका छन्। यसपटकको बैठकमा झन्डै दुई तिहाई मत पाएर पनि यो सरकारले काम गर्न नसकेको, कतिपय विवादित कार्यक्रममा सरकार सहभागी भएको, अनियमितताको आरोप लागेका व्यक्तिलाई राजनीतिक नियुक्ति दिएको, भ्रष्टाचार बढेको भन्दै सरकारको आलोचाना भएको थियो। त्यसको उदाहरणको रूपमा नेताहरूले विवादित बन्न पुगेको एसिया प्यासिफिक समिटमा सरकारको सहभागिता र नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा विवादित भनिएका दिगम्बर झाको नियुक्तिलाई प्रस्तुत गरेका थिए। स्थायी कमिटी बैठकमा झाको नामै लिएर एकजना सदस्य लेखराज भट्टले उनलाई किन नियुक्ति दिइयो? भन्ने प्रश्न नै गरेका थिए। नेकपाका केही केन्द्रीय सदस्यले उनलाई हटाउन माग गर्दै हस्ताक्षर समेत बुझाएका थिए। झाले गत बुधवार राजिनामा दिइसकेका छन्। यसैगरी नेपाल वायु सेवा निगमले दुईवटा ठूला जहाज खरिद गर्दा अनियमितता भएको भन्दै बैठकमा सदस्यहरूले कुरा उठाएका थिए। बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा एकजना अध्यक्ष प्रचण्डले ‘पार्टीले सरकारलाई चलाउनु पर्ने’ संकेत गरेकाले आगामी दिनमा सरकारमा रहेकाहरूले कतिपय विषयमा पार्टीसँग छलफल गर्ने आशा नेताहरूमा पलाएको हो। आन्तरिक लोकतन्त्र सुधार नेकपाका कतिपय नेताहरूले भने यसपटकको बैठकमा सबैजसो सदस्यहरूले खुलेर आफ्ना कुराहरू राख्ने मौका पाएकाले पार्टी भित्रको लोकतन्त्र बलियो बनेको बताएका छन्। कम्युनिस्ट ‘दीक्षा’बाट आएका पार्टीहरू मिलेर बनेको भएपनि नेपालमा लोकतान्त्रिक व्यवस्थालाई अपनाएको पार्टी भएकाले आन्तरिक लोकतन्त्र पनि सुदृढ हुनुपर्ने उनीहरूको बुझाइ छ। हुन त बैठकमा भएका छलफलका विषयहरू सार्वजनिक भएको प्रति केही नेताहरूले आपत्ति समेत जनाएका थिए। एकजना नेताले भनेका छन्, अध्यक्षहरूले समेत बैठकमा खुलेर आफ्ना कुराहरू राख्न आग्रह गरेकाले एकता प्रकृया पूरा नभइसके पनि पार्टीभित्र दरिलो लोकतन्त्रको अभ्यास भएको छ। ‘सल्लाह अनुसार नै अघि बढ्छ’ नेकपा स्थायी कमिटीका एक सदस्य गणेश शाह अहिलेको बैठकपछि नेतृत्वले पार्टीसँग छलफल गरेर अघि बढ्ने वातावरण बनेको बताउँछन्। उनले भने, “यो बैठकपछि सरकार सञ्चालनका लागि पार्टीको निर्देशन र घोषणापत्र अनुसार सरसल्लाह गरेर नेतृत्व अघि बढ्छ भन्नेमा म विश्वस्त छु।” उक्त बैठकमा पार्टी र सरकार नेतृत्वप्रति कडा रूपमा प्रस्तुत भएका अर्का स्थायी कमिटी सदस्य भीम रावल पनि सदस्यहरूले राखेका कुराहरूलाई ध्यान दिएर नै नेतृत्व अघि बढ्ने ठान्छन्। उनले भने, “यो बैठकमा जसरी कुरा उठेका छन् त्यस आधारमा पार्टीको शीर्षस्थ नेतृत्वबाट त्यसमा ध्यान जान्छ भन्ने लाग्छ।” साचार:Bbcnepali.com