सिंहदरबारमा खादा र मालाको लर्को छोडेर, उद्धार तथा राहतमा ध्यान दिन सरकारलाई आग्रह

काठमाडौं । सरकारका मन्त्रीहरूलाई कांग्रेस नेता नैनसिंह महरले सिंहदरबारमा खादा, माला र बधाइ थाप्न व्यस्त हुनुभन्दा बाढीपहिरोबाट प्रभावित बनेका जनताको उद्धारमा खट्न आग्रह गरेका छन् ।

काठमाडौंमा सञ्चारकर्मीहरूसंग आफ्नो धारणा राख्दै नेता महरले मन्त्री नियुक्त भएको हप्तौँसम्म खादा र माला थाप्नमै व्यस्त हुनु फजुलमा समय खेर फाल्नु भएको टिप्पणी गरे।

‘सिंहदरबार कामकाजी अड्डा हो । त्यसलाई सोही अनुरूप प्रयोग गर्नुपर्छ । मन्त्रालयमा बसेर जनताको काम गर्नुपर्छ,ु उनले भने, ुसम्मानै थाप्ने रहर भए निजी निवासमा बोलाउँदा हुन्छ । जनता विपद्को सामना गरिरहनुभएको छ । यस्तो अवस्थामा सरकार राहत तथा उद्धारमा सक्रिय हुनुपर्छ ।’

 

नेकपा एकीकृत समाजवादीभित्र कुनै मतभेद छैन : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्र विचारमा कुनै मतभेद नरहेको दाबी गरेका छन् । पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी) ले सोमवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।  अध्यक्ष नेपालले पार्टीले नेता, कार्यकर्ताहरूको सामूहिक बुद्धिबाट नै आगामी महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक लगायतका दस्ताबेजहरू तयार पार्नुले पनि विचारमा कुनै मतभेद नरहेको पुष्टि हुन गएको तर्क गरे । उनले पार्टीले आगामी महाधिवेशनबाट नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रूपमा अगाडि सार्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।   अध्यक्ष नेपालले आफ्नो पार्टीले नै स्थापनाका बेलामा समाजवादी कार्यक्रमलाई अघि सारेको भन्दै आगामी महाधिवेशनले त्यसलाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले पार्टीले महाधिवेशनका लागि तयार पारेका राजनीतिक, सांगठानिकलगायत दस्तावेजहरुको अध्ययन गरेर त्यसलाई अझ समृद्ध बनाउने काममा पनि सबैको भूमिकाको अपेक्षा गरिएको बताए ।  उनले भने, ‘अहिले हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन । किनभने समाजवादी कार्यक्रमलाई झन्डा फहराउँदै अघि सार्ने हाम्रो पार्टीको नाम नै हो नेकपा कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) यो समाजवादी नामले नै के बताउँछ भने हामी समाजवादको यात्रामा अघि बढ्छौँ भनेर पहिलो दिनदेखि नै पाइला त्यतैतिर सारेका छौँ ।’ अध्यक्ष नेपालले मुलुकलाई समाजवादी बाटोमा दृढतापूर्वक अघि बढाउनका लागि आफूहरूले समाजवादी मोर्चा निर्माण गरेर अघि बढेको पनि स्पष्ट पारे । 

यी चार प्रदेशमा वर्षा हुने, यस्तो रहनेछ आज देशभरको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । यस्तै बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको रहेको छ। महाशाखाका अनुसार अहिले बागमती, कोशी, गण्डकी र मधेश प्रदेशमा साधरणतया बदली रही केही भूभागमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेश लगायत बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति कोशी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज सूर्योदय बिहान ५ बजेर ८ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर १ मिनेटमा हुनेछ ।

प्रधानमन्त्री प्रचण्ड पोखरामा

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा आइपुगेका छन्।  प्रधानमन्त्री प्रचण्डलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, नेकपा (माओवादी केन्द्र)का सचिव एवं पार्टीको गण्डकी प्रदेश इञ्चार्ज दिनानाथ शर्मा, सहइञ्चार्ज हरिराज अधिकारी, प्रदेश अध्यक्ष गायत्री गुरुङ, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, यहाँस्थित सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरे। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री प्रचण्ड पार्टीको गण्डकी प्रदेश समितिले बुधबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि पोखरा आइपुगेका हुन् ।

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं। सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । बैठक आज बिहान ११ बजेबाट सुरु भएको हो । प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। त्यसपछि आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।

संवैधानिक परिषद्को निर्णयमा प्रधानमन्त्री सहमत हुनुपर्ने

काठमाडौं । संवैधानिक परिषद्‌को कुनै पनि निर्णयमा प्रधानमन्त्रीको सहमति अनिवार्य हुनुपर्ने भएको छ । संसदको राज्य व्यवस्था समितिको बिहीबार बसेको बैठकले संवैधानिक परिषद्सम्बन्धी विधेयक सर्वसम्मतले पास गर्दै यस्तो व्यवस्था गरेको हो ।  विधेयकममा सर्वसम्मतिबाट निर्णय हुन नसकेमा संबैधानिक परिषदको अध्यक्ष (प्रधानमन्त्री) र तत्काल बहाल रहेका मध्ये कम्तिमा ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गरिने उल्लेख छ । विधेयकमा सरकारले ल्याएको प्रस्ताव सर्बसम्मत पारित भएको हो । यसअघि समितिमा भएको छलफलमा नेकपा एमालेले अध्यक्ष (प्रधानमन्त्री) को सहमति अनिवार्य गर्न नहुने मत राखेको थियो । लामो समयसम्म यही अडान लिएको एमालेले बिहीबार आफ्नो अडान छाडेपछि सहमति भएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा हुने संवैधानिक परिषमा प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने व्यवस्था छ ।  यस्तै, नेपाल सरकारको मुख्य सचिवले संवैधानिक परिषद्को सचिव भई काम गर्ने व्यवस्था छ ।

नेप्सेले नयाँ बजेटलाई सामान्य अंकको वृद्धिले स्वागत

काठमाडौं ।आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुभन्दा अघिको अन्तिम कारोबार दिन नेप्से सामान्य अंक बढेर बन्द भएको छ। गत साता उच्च दरमा बजार बढेपछि हिजो अर्थात आइतबार अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा नेप्सेमा करेक्सन भएको थियो।तर आज भने केही बढेर अब आउने बजेटलाई सेयर बजार नेप्सेले स्वागत गरेको हो । तर, आइतबारको करेक्सनपछि यस दिन पुनः नेप्सेले बढ्ने क्रमलाई निरन्तरता दिएको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.८९ अंक बढेर २११३.२४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन फ्लोट इण्डेक्स ०.०७ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ४४ करोडको शेयर खरिदबिक्री भएको बजारमा, यस दिन ३१७ स्टकको ५८ हजार ४८३ पटकको कारोबारमा ३ अर्ब ८९ करोड ३७ लाख रुपैयाँ बराबरको ९३ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्से सामान्य अंक बढेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजीङ्ग कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन कालिञ्चोक दर्शनको शेयरमूल्य ९।७९ प्रतिशत बढेको छ भने पोखरा फाइनान्सको शेयरमूल्यक करिब साढे ८ प्रतिशत बढेको छ। यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्राक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साढे १८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने पोखरा फाइनान्सको करिब साढे १८ करोडको शेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.८० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक १.४१ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको छ।

सम्पर्कविहीन १९ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं । नेपाल प्रहरीले गैरहाजिर रहेका आफ्ना १९ कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गरी दुई महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका नेपाल प्रहरीका विभिन्न दर्जाका प्रहरीहरूलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको हो। खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएको भन्दै कार्यालयले उनीहरूलाई बाटोको म्यादबाहेक गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र हाजिर हुन आउन सूचनामा भनिएको छ । नभए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने  चेतावनी पनि कार्यालयले दिएको छ।

प्रधानमन्त्री, सभामुख र ओलीबीचको छलफल

काठमाडौं । कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका  सभामुख देवराज घिमिरे र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ ।  सो छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाइएको छ । अहिले गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेको उनको सचिवालयको भनाइ छ ।  आजको बैठक संसद्को अवरोध हटाउनका लागि निर्णयक बैठक हुनसक्ने बताइएको छ । प्रधानमन्त्रीले पनि भोलिसम्ममा संसद्को अवरोध हटाउन सहमति जुट्ने बताइरहेका छन् ।  शनिबार बिहान सदनको गतिरोध हटाउन कांग्रेस नेताहरूसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए। प्रचण्ड समिति बनाउन सकारात्मक रहेको कांग्रेसको दाबी छ ।

२४ वर्षीय युवाद्वारा २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न एक युवकलाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो ।  वानएक्स बेट, जुवा३६५ जस्ता अनलाइन बेटिङ वेबसाइटहरुको प्रयोग गरी उनले २ अर्ब १ करोड भन्दा बढीको कारोबार गरेको खुलेको कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।  उनले ५५ वटा बैंक खातामार्फत उक्त कारोबार गरेको पाइएको छ । पक्राउ परेका ढुंगाना काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ८ घर भइ हाल भक्तपुरको सूर्यबिनायकमा बस्दै आएको प्रहरीले जनाएको छ ।

आयोजनाको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्  : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । आज आयोजनास्थलमा अनुगमनका क्रममा सुनकोसी गाउँ पालिकामा बृफिङ लिएपछि  प्रधानमन्त्री प्रचण्डले आयोजनाका आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै सल्टाउन निर्देशन दिए ।  “बहुउद्देश्यीय आयोजना ठूलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “समयमा नै समस्याको पहिचान गरी समाधान गर्दै जाने सोंच, कार्ययोजना र पूर्वतयारीको व्यवस्था गर्नुहोला ।” उनले आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्नेगरी काम गर्न निर्देशन दिए। प्रधानमन्त्री प्रचण्डले आयोजनामा राम्रो काम गर्ने कर्मचारीहरूको अभिलेख व्यवस्थित गरी दण्ड र पुरस्कारको ठोस कार्ययोजना निर्माण गर्नसमेत आयोजना प्रमुखलाई निर्देन दिए ।  सुरुङमार्ग बाहेक अन्य निर्माण कार्यहरू ब्यारेज, पावर हाउस, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइन, नदी नियन्त्रण र सामाजिक विकासको कार्यहरू पनि उच्च प्राथमिकताका साथ समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले कार्ययोजना एवं खरिद गुरूयोजनाले निर्दिष्ट गरेअनुरूपका सम्पूर्ण कार्यहरू निर्धारित समयभित्रै पूरा गर्नुहोला भने । मरिन डाइभर्सन राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले बजेटको अभाव हुन नदिने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले आयोजनाको निर्माण कार्यका निम्ति सरकारको तर्फबाट सम्पूर्ण रूपले सहजीकरण गर्ने जानकारी गराए ।  

कतारमा पानी निर्यातको अवसर

काठमाडौं। नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरूले बताएका छन्। नेपालको खानेपानीले अन्तर्राष्ट्रिय बजारमा व्यापारिक सम्भावना खोजिरहेको बेलामा कतार पनि मुख्य गन्तव्य हुनसक्ने उनहरूको भनाइ छ । पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण विश्वमा पानीको स्रोत सुक्दै गइरहेको भन्दै यसबारे विश्वव्यापी छलफल सुरु भइसकेको छ । कतारलगायतका खाडीमुलुक पनि पानीको सङ्कटग्रस्त क्षेत्र मानिन्छ। कतारमा पानी निर्यातक्रम बढिरहेको अध्ययनले देखाएको छ । विभिन्न देशमा स्वच्छ खानेपानीको अभाव बढ्दो रहेको अवस्थामा हिमालको पानीको माग उच्च हुनसक्ने उनीहरूको आकलन छ । एक प्रतिवेदनअनुसार कतारमा हाल वार्षिक चार करोड डलरभन्दा बढी बोतलको पानीको व्यवसाय छ। यो प्रत्येक वर्ष बढ्दो छ। यस्तो अवस्थामा नेपालले हिमालको पानी कतारमा पुर्‍याएर आम्दानी गर्न सक्ने सरोकारवालाको भनाइ छ। नेपालबाट पनि बोतल बन्द पानी कतारमा निर्यात गर्न सके त्यसबाट राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ। लगानी सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल भ्रमणमा आउनुभएको छ। कतारी अमिरको भ्रमणले नेपालको स्वदेशी वस्तुहरूको निर्यात प्रवर्द्धनका लागि पहल गर्ने सुनौलो अवसरका रूपमा लिन सकिने उनीहरूको बुझाइ छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैतसम्म विश्वका दुई वटा मुलुकमा नेपालको पानी निर्यात भएको छ। तथ्याङ्कअनुसार यस अवधिमा रु १५ लाख २१ मूल्य बराबरको पानी भारत निर्यात भएको छ भने रु २० लाख ९० हजार बराबरको पानी जापान निर्यात भएको छ । भन्सार विभागका अनुसार आव २०७८/७९ मा नेपालले १८ हजार चार सय तीन लिटर पानी कतार निर्यात गरेको थियो । जसबाट नेपालले रु २५ लाख ४४ हजार आम्दानी गरेको थियो । तर त्यसपछिका वर्षमा कतारमा पानी निर्यात हुन सकेको छैन। अब त्यसलाई निरन्तरता दिन सके कतार पानी निर्यातको राम्रो गन्तव्य बन्न सक्ने देखिएको छ । केन्द्रकाअनुसार अघिल्लो वर्ष जर्मनी, जापान, भारत, अस्ट्रेलियामा खानेपानी निर्यात भएको थियो । केन्द्रका शाखा अधिकृत कृष्णराज बज्राचार्यले पानी व्यापार पनि मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार भएको भन्दै पानी निर्यात प्रवर्द्धनलाई जोड दिनुपर्ने बताए । खानेपानी मन्त्रालयका सहसचिव माधव अधिकारीले कतारमा खानेपानी निर्यातको राम्रो सम्भावना रहेको बताए। “हाम्रो हिमाली क्षेत्रको स्वच्छ खानेपानीको विज्ञापन गर्नसकेमा कतार पनि पानी निर्यातको राम्रो सम्भावना भएको मुलुक बन्न सक्छ”, उनले भने, “अहिलेसम्म केही निजी क्षेत्रहरूले पिउने पानी निर्यात गर्न थालेका छन् । अव यसलाई अझै व्यापक प्रचार प्रसार गर्दै कतारलगायतका खाडी मुलुकमा पनि व्यापारको गन्तव्य खोजिनुपर्छ ।” लगानी सम्मेलन र कतारी राजाको भ्रमणका अवसरमा नेपालको पानीको निर्यात प्रवर्द्धनका लागि पहल गरिर्नुपर्नेमा उनले जोड दिए । उनका अनुसार पानी निर्यातसम्बन्धी ऐन नभएको भन्दै ऐन बनाउन पहल पनि थालिनुपर्नेमा जोड दिए । “अहिले उद्योग विभागले निर्यातका लागि केही काम गरिरहेको छ । अब अन्तरसरकारी निकायबिच समन्वय बढाएर पानी निर्यातको नीतिगत व्यवस्था गर्न जरुरी छ”, अधिकारीले भने, “स्वदेशी पानी विश्वबजारमा बेच्नसकेमा स्वदेशी वस्तुको निर्यात प्रवर्द्धन हुने र मुलुकको आर्थिक समृद्धि सम्भव छ ।” बिना मगर  खानेपानी मन्त्री भएको समयमा नेपालको पानी विदेश निर्यात गर्ने विषयमा छलफल सुरु गरेकी थिइन् । खानेपानी मन्त्रालयले यसैको निरन्तरता दिँदै छलफल चलाइरहेको छ । कतार वातावरण तथा ऊर्जा अनुसन्धान संस्थानले गरेको एक सर्वेक्षणअनुसार कतारको ३० प्रतिशत जनसङ्ख्याले मात्र दैनिक धाराको पानी पिउँछन् । अधिकांशको रोजाइ बोतलको पानीमा छ। खानेपानीको बढ्दो मागबिच ती क्षेत्रमा बोतलको पानीको उद्यम वार्षिक आठ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ। बढ्दो जनसङ्ख्या, उच्च खपत उपभोग्य आय, सहज बजार पहुँच, स्वास्थ्यमा बढ्दो जनचेतनालगायतका कारण त्यहाँका जनता धाराको पानीको साटो ‘मिनिरल वाटर’को खपत बढेको अध्ययनले देखाएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष भवन भट्टले पनि लगानी सम्मेलनको पूर्वसन्धामा कतारी राजा नेपाल भ्रमणमा आएको मौकामा खानेपानी निर्यातका लागि पहल गरेमा मुलुकको अर्थतन्त्र सुधार हुने बताए। “कतारको समृद्धिका लागि हाम्रा नेपाली कामदारहरूले गर्नुभएको योगदान महत्त्वपूर्ण छ”, उनले भने, “अब कतारले पनि हाम्रो मुलुकको समृद्धिका लागि खानेपानीलगायत स्वदेशी वस्तु आयात गरिदिन कतारलाई आग्रह गर्नुपर्छ ।” नेपालको पैठारी व्यापारमा प्रमुख मुलुकमा भारत, चीन, युएई, युक्रेन, मलेसिया, संयुक्तराज्य अमेरिका, फ्रान्स, अस्ट्रेलिया, इण्डोनेसिया, अर्जेन्टिना, थाल्याण्ड, संयुक्त अधिराज्य, साउदी अरेयिबा र ओमान प्रमुखरुपमा रहेको उद्योग मन्त्रालयको भनाइ छ । चालु आर्थिक वर्ष २०८०/८१ प्रथम आठ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटामा दुई दशमलव पाँच प्रतिशतले ह्रास आई कूल व्यापार घाटा रु नौ खर्ब २९ अर्ब ६१ करोडमा सीमित भएको मन्त्रालयको तथ्याङ्क छ ।  कतारमा पानी निर्यातको गन्तव्य बनाउनसकेमा मुलुकको व्यापार घाटा कम गर्न सकिने विज्ञहरूको भनाइ छ । नेपाल खानेपानी सरसफाइ तथा स्वच्छता नीति २०८० अनुसार पनि खानेपानी निर्यात मुलुकको अवसर रहेको छ । “विदेशमा समेत खानेपानी निर्यात गर्न यस क्षेत्रका अवसरका रूपमा रहेको छ”, नीतिमा उल्लेख छ । समुदायस्तरमा आयोजना पहिचान, तर्जुमा र कार्यान्वयनबाट उत्तरदायित्व वृद्धि हुने, जीवनशैलीमा आएको सुधारसँगै गुणस्तरयुक्त खानेपानी र सरसफाइ सेवाको बढ्दो माग, नदीनाला, तालतलैया तथा जलाशयलगायत अन्य वातावरणीय स्वच्छताका विषयमा जनचेतनामा आएको नकारात्मक अभिवृद्धि, सामुदायिक, गैरसरकारी तथा विकास साझेदारको सहयोग र सहभागिता, पर्यटकीय क्रियाकलापको अभिवृद्धि तथा पर्यटकलाई आकर्षण गर्न सकिने नीतिमा उल्लेख छ । नीति निर्माणको आवश्यकता पहिचान संविधान प्रदत्त स्वच्छ खानेपानी सेवामा पहुँच तथा स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकको परिपूर्ति, संरक्षण, संवर्द्धन गरी दिगोरूपमा उपभोग गर्नका लागि दिशानिर्देश गर्न, विद्यमान ग्रामीण खानेपानी तथा सरसफाइ नीति र सहरी खानेपानी तथा सरसफाइ नीतिलाई एकीकृत गरी सङ्घीय संरचना अनुकूल बृहत्तर राष्ट्रिय नीति निर्माण गर्न, यस क्षेत्रमा रहेका वर्तमान समस्या तथा चुनौतीलाई सम्बोधन गर्न र भविष्यमा उत्पन्न हुनसक्ने समस्याहरूलाई न्यूनीकरण गर्न आवश्यक रहेको पनि नीतिमा उल्लेख छ । रासस

यस्तो छ राष्ट्रियसभा उपाध्यक्षमा घिमिरेको राजनीतिक यात्रा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा (एमाले)की सांसद विमला घिमिरे निर्वाचित भएकी छन् । बुधबारको राष्ट्रियसभा बैठकमा भएको मतविभाजनबाट उनी निर्वाचित भएकी हुन् । उपाध्यक्षमा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत पर्‍यो । विपक्षमा १६ मत खसेको थियो । बैठकमा ५५ सांसद उपस्थित रहेका थिए ।  यस्तो छ राजनीतिक यात्रा  घिमिरेले ०४७ देखि राजनीतिक यात्रा आरम्भ गरेकी हुन् । अखिल नेपाल महिला संघमा आबद्ध हुँदै ०५९ सालमा एमाले कपिलवस्तु जिल्ला कमिटी सदस्य भएकी थिइन् । ०७५ मा एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकता भइ बनेको नेकपाको केन्द्रीय सदस्य थिइन् । ०७८ मा भएको एमालेको १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । उनी ०७६ मा लुम्बिनी प्रदेशबाट महिलातर्फ राष्ट्रियसभाको सदस्य निर्वाचित भएकी थिइन् । सभामा दुई वर्ष कार्यकाल बाँकी रहँदा उनी राष्ट्रियसभाको उपाध्यक्ष बनेकी हुन् ।

लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएका छौँः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवद्धताअनुरूप लगानी भित्राउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन् । लगानी बोर्डको ५७ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको पूर्वाधार तथा सेवा क्षेत्रमा स्वदेशी र विदेशी लगानी परिचालनका लागि कानुन संशोधनलाई प्राथमिकता दिएको बताए । उनले लगानीकर्ताले थाहा पाउनेगरी नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश प्रवाह हुनुपर्नेमा जोड दिए ।  “लगानी सम्मेलनको पूर्वसन्ध्यामा यो बैठक गरिरहेका छौँ, यो बेलामा हाम्रा संयन्त्रहरूले नेपालमा लगानीको अनुकूल अवस्था रहेको सन्देश दिन आवश्यक छ,” प्रधानमन्त्री प्रचण्डले भने, “हाम्रो सेवा प्रवाह स्पष्ट, छिटो–छरितो हुन आवश्यक छ । मन्त्रालयरविभागरकार्यालयहरू परिणाममुखी हुनुपर्‍यो । सरकारी निकायहरूको काम परिणाममुखी छन् भन्ने विषय लगानीकर्ताले थाहा पाउनुपर्‍यो ।” बोर्डले परम्परागत र सामान्य उपलब्धि दिनेगरी कार्य गरेर नपुग्ने स्पष्ट पार्दै प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष प्रचण्डले बदलिँदो परिस्थितिमा व्यापक मात्रामा निजी लगानी परिचालन गर्नुपर्नेमा जोड दिए ।  “छोटो समयमा देशको द्रूततर आर्थिक बृद्धि तथा रूपान्तरणकारी पूर्वाधार निर्माण गरेर जनतामा आशाको सञ्चार हुनेगरी परिणाम दिनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “बोर्डबाट पास भैसकेपछि निर्णयहरू परिणाममुखी बनाउन सदस्यज्यूहरूको स्वामित्व आवश्यक हुन्छ, यसका लागि अतिरिक्त पहलकदमी लिनुहुनेछ ।” देशभित्र सार्वजनिक–निजी साझेदारीको वातावरण विकास गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले सबै निकायहरूले पिपिपी परियोजनालाई प्रभाव पार्न सक्ने बोर्डका निर्णयलाई ध्यान दिन निर्देशन पनि दिए । “सार्वजनिक–निजी साझेदारीका परियोजना फरक प्रकृतिका हुन्छन् । परियोजना विकास सम्झौतामा सरकारले पनि विभिन्न प्रतिबद्धता जाहेर गरेका हुन्छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “परियोजनालाई प्रभाव पार्नसक्ने निर्णयहरू तथा कार्यान्वयनको पक्ष ढिलो भयो भने क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ, त्यसबाट देशलाई क्षति पुग्छ । त्यसैले यी विषयहरूमा अतिरिक्त जिम्मेवारी बोध गर्नुहोस् ।” उनले सार्वजनिक–निजी साझेदारीका परियोजनामा परिणाममा आधारित ढाँचामा कसरी काम गर्ने भन्ने विषयमा सरकारका अन्य निकाय तथा प्रदेश र स्थानीय तहलाई समेत विशेषज्ञता प्रदान गर्नुपर्ने बताए ।

कोभिड उपकरण खरिद भ्रष्टाचार विशाल पण्डितसहित ६ विरुद्ध विशेषमा मुद्दा दायर

कोभिड १९ को महामारीमा स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।  हस्पिटेक इन्टरप्राइजेज प्रालि र त्यसका सञ्चालक विशाल पण्डितसहितलाई प्रतिवादी कायम गरेर अख्तियारले मुद्दा दायर गरेको हो। कोशी अस्पतालमा उपकरण खरिदमा भ्रष्टाचार भएको अख्तियारको दावी छ। अनियमिततामा संलग्न भएको आरोपमा अख्तियारले कुशल दाहाल, चन्द्रदेव मेहता, डम्बरसिंह विश्वकर्मा, उदेशकुमार श्रेष्ठ र मनोजकुमार आचार्य प्रतिवादी छन्।

वर्कसपमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौं । बाराको वर्कसपमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ। निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगरको मृत्यु भएको हो। उनले सोही नगरपालिका-७ मा वर्कसप सञ्चालन गर्दै आएका थिए।  सोमबार दिउँसो १२ बजे लेथमा ग्यास वेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किँदा घाइते भएका मगरको वीरगन्ज बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए। उनका अनुसार ५ जना घाइते भएका छन्।  सोही नगरपालिका वडा-५ का ४५ वर्षीय सूर्य बहादुर थापा, वीरगञ्ज महानगरपालिका–९ बस्ने ३४ वर्षीय फिरोद देमान, २० वर्षीय रितु रजत, ३५ वर्षीय भारतीय नागरिक राकेश जयसवाल, २० वर्षीय अरविन साह घाइते भएका डिएसपी न्यौपानेले बताए।  उनीहरूमध्ये ४ जनाको अवस्था गम्भीर छ भने एक जना भने सामान्य घाइते छन्।