वर्कसपमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौं । बाराको वर्कसपमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ।

निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगरको मृत्यु भएको हो। उनले सोही नगरपालिका-७ मा वर्कसप सञ्चालन गर्दै आएका थिए। 

सोमबार दिउँसो १२ बजे लेथमा ग्यास वेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किँदा घाइते भएका मगरको वीरगन्ज बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए।

उनका अनुसार ५ जना घाइते भएका छन्। 

सोही नगरपालिका वडा-५ का ४५ वर्षीय सूर्य बहादुर थापा, वीरगञ्ज महानगरपालिका–९ बस्ने ३४ वर्षीय फिरोद देमान, २० वर्षीय रितु रजत, ३५ वर्षीय भारतीय नागरिक राकेश जयसवाल, २० वर्षीय अरविन साह घाइते भएका डिएसपी न्यौपानेले बताए।  उनीहरूमध्ये ४ जनाको अवस्था गम्भीर छ भने एक जना भने सामान्य घाइते छन्। 

सीप र शैक्षिक प्रमाणपत्रलाई धितोको हक सिर्जना गर्ने सम्पत्तिमा राख्न प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सीप र शैक्षिक प्रमाणपत्रलाई धितोको हक सिर्जना गर्ने सम्पत्तिमा समावेश गर्ने प्रस्ताव गरेका छन् । सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन गरेर यो प्रावधान थप गर्नुपर्ने उनले प्रस्ताव गरेका हुन् । ‘धितोको सम्पत्ति भन्नाले धितो हक सिर्जना गर्न सक्ने चल सम्पत्ति सम्झनुपर्छ । साथै मान्यताप्राप्त शैक्षिक संस्थाबाट प्राप्त योग्यताको प्रमाणपत्र एवं सीपको प्रमाणपत्रलाई समेत जनाउँदछ’ सापकोटाको प्रस्तावमा उल्लेख गरिएको छ । शैक्षिक प्रमाणपत्रलाई धितो राखेर ऋण दिने विषय बजेटमार्फत कार्यान्वयनमा समेत आएको तर, त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकिरहेको सन्दर्भमा ऐनमा नै व्यवस्थित  गरेर जानुपर्ने भएकाले संशोधन प्रस्ताव गरेको उनले बताए । यो विषयमा सत्तारुढ दलका सांसदहरूसँग समेत छलफल गरिने र पास गराउँदा सबैको हित हुने उनको विश्वास छ । माओवादी सांसद सापकोटाले संविधानको धारा २५ को उपधारा १ को स्पष्टीकरणमा उल्लेख भए अनुसार सम्पत्तिको परिभाषामा बौद्धिक सम्पत्तिबारे स्पष्ट उल्लेख गरिनुपर्ने प्रस्ताव पनि गरेका छन् । संविधानको धारा २५ मा सम्पत्तिको हक सम्बन्धी व्यवस्था छ । उपधारा १ मा ‘प्रत्येक नागरिकलाई कानुनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुने’ उल्लेख छ । यसै उपधारामा स्पष्टीकरण खण्ड पनि छ । जहाँ भनिएको छ, ‘यस धाराको प्रयोजनका लागि ‘सम्पत्ति‘ भन्नाले चलअचल लगायत सबै प्रकारको सम्पत्ति सम्झनुपर्छ र सो शब्दले बौद्धिक सम्पत्ति समेतलाई जनाउँछ ।’ यो संवैधानिक व्यवस्था अनुसार कारोबार सम्बन्धी विधेयकमा बौद्धिक सम्पत्ति छुट्टै उपदफा नै बनाएर व्यवस्थित गरिनुपर्ने उनको प्रस्ताव छ । ‘संविधानको धारा २५ को उपधारा १ को स्पष्टीकरण खण्डमा उल्लेखित सम्पत्तिको परिभाषामा बौद्धिक सम्पत्तिबारे स्पष्ट उल्लेख गरिएको सन्दर्भलाई ख्याल गर्दै यस ऐनमा बौद्धिक सम्पत्तिबारे उल्लेख गरी दफा थप हुनुपर्ने’ सांसद सापकोटाको प्रस्ताव छ । यी सहित सुरक्षित कारोबार सम्बन्धी विधेयकमा ६ समूहमा सांसदहरूले २८ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । ४ फागुन २०८० राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक राष्ट्रिय सभाबाट २९ जेठ २०८१ मा पारित भएर प्रतिनिधि सभामा आएको छ । प्रतिनिधि सभामा दफावार छलफलमा अगाडि बढाउने क्रममा सांसदहरूले संशोधन प्रस्ताव राखेका हुन् ।

लागूऔषध सहित १२ जना पक्राउ

काठमाडौं । अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ परेका छन् । देशका विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । बर्दिया, गुलरिया नगरपालिका ११ वाईपास रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लौकाही बजार घर भई बाँसगढी नगरपालिका ८ लक्ष्मणा बस्ने २२ वर्षीय अवराज जागा र बाँसगढी नगरपालिका ५ बस्ने २८ वर्षीय सिजन पौडेल रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका १५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दर हरैंचा नगरपालिका ४ बस्ने ३१ वर्षीय नबिन कार्की  र ३२ वर्षीय बिष्णु चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  रूपन्देही, बुटवल उपमहानगरपालिका ११ मझुवा बस्ने ४६ वर्षीय राजु सारू मगर र निजको श्रीमती ४१ वर्षीया सुमित्रा शाहीलाई अवैध लागूऔषध गाँजा ८ सय १० ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  उदयपुर, कटारी नगरपालिका ७ रिस्कुबाट अवैध लागूऔषध गाँजा करिब ४९ किलोग्राम सहित ताप्ली गाउँपालिका १ बस्ने ३१ वर्षीय शम्भु राई समेत ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट  खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । रोल्पा, माडी गाउँपालिका २ पिपलबोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २२ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा माडी गाउँपालिका ६ पन्तिवाङ बस्ने २२ वर्षीय सगुन पुन मगर र २० वर्षीय युवान घर्ती रहेका छन् । इलाका प्रहरी कार्यालय घर्तीनगरबाट खटिएको प्रहरीले घर्तिगाउँबाट कोर्चावाङतर्फ जाँदै गरेको रा।६ प ४९०२ नम्बरको मोटरसाइकलाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  काठमाडौं, दक्षिणकाली नगरपालिका ५ फर्पिङबाट नियन्त्रित लागूऔषध डाईजेपाम २२ एम्पुल, फेनारगन २२ एम्पुल, नुर्फिन २० एम्पुल सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका १२ घर भई कलंकी बस्ने २७ वर्षीय दिपक लामालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना.१ ज ४१०४ नम्बरको टाटा सुमो गाडीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

एकीकृत समाजवादीको बैठकले पारित गर्यो १८ बुँदे प्रस्ताव

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले इजरायलमा अध्ययन गर्न गएका विपीन जोशीलाई सकुशल फिर्ताको पहल गर्न सरकारसँग माग गरेको छ। आठौँ केन्द्रीय कमिटी बैठकले प्रस्ताव पारित गर्दै लामो समयदेखि हमासको कब्जामा रहेको भन्ने सार्वजनिक भएको उल्लेख गर्दै फिर्ताको पहल गर्न माग गरेको हो।  त्यस्तै, बैठकले रुसी सेनामा भर्ती भएका युवालाई स्वदेश फिर्ता गर्न पनि माग गरेको छ । “यो बैठक नेपाली युवालाई रूसी सेनामा भर्ती गरिने कार्य रोक्न, युद्धमा मारिएका र घाइतेहरूलाई क्षतिपूर्ति दिलाउन, रूसी सेनामा फसेका युवालाई स्वदेश फिर्ता गर्न, बेपत्ता भएकाहरूको खोजी गर्न र गैरकानुनी रूपमा रूसी सेनामा भर्ती गराउने दलालहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारसमक्ष माग गर्दछ,” बैठकले पारित गरेको १८ बुँदे प्रस्तावमा उल्लेख छ ।  यस्ता छन् बैठकले पारित गरेको प्रस्ताव

गणतन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौं । गणतन्त्र दिवस मूल समारोह समिति, २०८१ गठन गरिएको छ । आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सदस्य सचिव गृहमन्त्रालयका सचिव रहनेगरी गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको हो । जेठ १५, २०६५ देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसको रुपमा मनाइँदै आएको सन्दर्भमा जेठ १५, २०८१ मा गणतन्त्र दिवस भव्यतासाथ मनाउन गणतन्त्र दिवस मूल समारोह समिति, २०८१ गठन गरिएको हो । बैठकले जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपाल भित्र र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा दीपावलीलगायतका कार्यक्रमहरु गर्ने तथा जेठ १५ गते गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ ।  बैठकले गणतन्त्र दिवस मूल समारोह समितिसँगै विभिन्न पाँच उपसमितिहरु गठन समेत गरेको छ । साथै, अहिलेको गणतन्त्र दिवसमा नागरिकहरु पनि सहभागी गराउने गरी तयारी गरिएको छ । गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते शैनिक मञ्चमा हुने कार्यक्रमको अध्यक्षता गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एंव प्रधानमन्त्री प्रचण्डले गर्नेछन् भने प्रमुख अतिथिको रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् ।

सुनकोसी मरिण डाइभर्सनको सुरुङ ब्रेक थ्रू २६ गते

काठमाडौं । सुनकोसी मरिण डाइभर्सन परियोजनामा सुरुङ खन्न एकाध सेन्टिमिटर मात्र बाँकी छ । २६ वैशाखमा विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङ ब्रेक थ्रु गर्नेछन् । सुरुङ ब्रेक थ्रू गर्ने अन्तिम तयारी भइरहेको सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले बताए । कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये एकाध सेन्टिमिटर मात्रै खन्न बाँकी छ । सुरुङ निर्माणको कूल अवधि दुई वर्षको भए पनि त्यसभन्दा धेरै अगाडि झन्डै १९ महिनामा सम्पन्न भएको हो । भौगोलिक जटिलताका कारण केही समय मेसिन नरोकिएको भए अझै चाँडो सुरुङ छिचोलिने थियो । सुरुङ छिचोलिए पनि अन्य आवश्यक काम पूरा गर्न थप एक वर्ष लाग्ने आयोजना प्रमुख बरालले जानकारी दिए । सुरुङ निर्माणका क्रममा सामान्य भौगोलिक जटिलता उत्पन्न भएपछि त्यसलाई समाधान गरेर अगाडि बढेको जानकारी दिँदै आयोजना प्रमुख बरालले भने, ‘ग्राउटिङलगायत विधि प्रयोग गरेर समस्याको समाधान गरिएको छ । सुरुङ निर्माण निरन्तररुपमा अगाडि बढिरहेको छ ।’ सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम)प्रयोग गरिएको छ । भेरी बबई डाइभर्सन आयोजनापछि सुनकोसी मरिणमा पनि टिबिएम मेसिन प्रयोग गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना प्रमुखलगायत अधिकारीलाई आयोजना स्थल नछाड्न, स्थानीयस्तरमा नै समस्या समाधान गर्न तथा आयोजनाको काममा कुनै पनि अवरोध आउन नदिन निर्देशन दिए । सुरुङ निर्माणसँगै बाँध निर्माणको कामलाई समेत गति दिइएको छ । आयोजना निर्माणको काम २०७९ असोज २८ गते सुरु भएको थियो । नेपालका विद्युत् तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेसिन ९टिबिएम० प्रयोग गरेर खनिएको भने दोस्रो पटक हो । यसअघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो । सुनकोसी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने काम भएको छैन । बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकेका छैनन् । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन सुधार गर्न पटक पटक निर्देशन दिइएको छ । विद्युत् गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ । प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेको छ । सुनकोसी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर ‘डाइभर्सन’ गर्नुपर्ने हुन्छ । बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इन्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ । राष्ट्रिय गौरवका आयोजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री र ऊर्जामन्त्रीको प्रतिबद्धता भएकाले आफूहरुलाई काम गर्न सहज भएको आयोजना प्रमुख बरालको भनाइ छ । यसअघि सुरुङ निर्माणमा भौगर्भिकरुपमा रहेको जटिलताका कारण पटक पटक समस्या देखिएको थियो । सुनकोसी गाउँपालिका–७ कानढुङ्गीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोसी नदीलाई मरिण खोलामा पथान्तरण गरिनेछ । सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि बाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य छ । त्यस्तै सो आयोजनाबाट ३१ दशमलव शून्य सात मेगावाट बिजुली उत्पादन हुनेछ । आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले गरेको हो । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । विसं २०८४ असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भेरी बबई डाइभर्सन आयोजनामा सुरुङ निर्माण सम्पन्न भएको लामो समय भए पनि बाँध र विद्युत् गृह निर्माणले गति नलिँदा देखिएको व्यवधान सुनकोसी मरिणमा आउन नदिन सरकार चनाखो देखिएको छ । सो आयोजना सम्पन्न भएपछि अन्न भण्डारका रुपमा रहेको मध्यतराईका पाँच जिल्लामा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध हुनेछ ।

सत्ता समीकरण वामपन्थीबीच एकताका गर्न बनाइएको होइन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थीबीच तत्काल एकताको सम्भावना नभएको बताएका छन्। आइतबार कैलालीको धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै तत्काल वाम एकताको सम्भावना नभएको बताएका हुन्।  ‘अहिले वाम एकता भन्नु सही पनि छैन किनभने वाम, गैरवाम सबै छन्। त्यसैले सत्ता समीकरणका रूपमा लिएका छौं। राम्रो काम हुँदै गयो, छलफल राम्रो हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्नेहरू एक ठाउँमा हुने सम्भावना पनि बढ्दै जान्छ’, उनले भने, ‘त्यस्तो भएन भने अप्ठ्यारो स्थिति पनि हुन सक्छ । जे भए पनि अहिले वामपन्थी एकता होइन, राजनीतिक सत्ता समीकरणका रूपमा मात्र यसलाई हेरिएको छ।’ यस्तै, उनले सरकारको नीति तथा कार्यक्रम, बजेट परम्परागत भन्दा फरक तरिकाले ल्याउने प्रयास गरिरहेको बताए । बजेटलाई विगतको भन्दा वैज्ञानिक, वस्तुवादी बनाउने, जनवादी बनाउने किसिमले तयारी भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

पोखरामा जिप र माइक्रोबस ठोक्कियो, ८ चिनियाँ नागरिक घाइते

पोखरा । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । शहीदचोकबाट मुस्ताङचोक तर्फ जाँदै गरेको बा १३ च ५१३७ नम्बरको स्कार्पियो जिप र ड्याम साइडबाट रत्नचोक तर्फ जाँदै गरेको हाइस माइक्रोबस आज बिहान ४ः४० बजे राष्ट्र बैंक चोकमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा माइक्रोबसमा सवार १३ जना चिनियाँ नागरिकहरुमध्ये ८ जना घाइते भएका हुन् ।घाइतेहरुको अवस्था मध्यम रहेको र उनीहरुलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ  स्कार्पियो चालक धादिङको नेत्रावती–१ बोराङ बस्ने ४३ वर्षीय राज कुमार अधिकारी र माइक्रो बस चालक पोखरा–९ पृथ्वीचोक बस्ने ४१ वर्षीय तुल बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार स्कार्पियोमा चालकमात्र थिए। दुर्घटनामा पार्किङमा रोकिराखेको बा २१ प ११५२ नम्बरको स्कुटर र श्याम सुन्दर बरालको घरमा रहेको मनि चेन्जरको सटर र वालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

नाउपा सुदूरपश्चिम संसदीय दलका नेता चौधरी ३ महिनाका लागि पार्टीबाट निलम्बित

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी ३ महिनाका लागि निलम्बनमा परेका छन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले यसअघि पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई ३ महिनाका लागि निलम्बन गरेकी हुन् ।  अध्यक्ष श्रेष्ठले शुक्रबार सभामुख भीम भण्डारीलाई चौधरीलाई निलम्बन गरिएको जानकारीसहितको पत्र पठाएको नाउपाका नेता तथा टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराले जानकारी दिए। यसअघि अध्यक्ष श्रेष्ठले चौधरीलाई दलको नेताबाट हटाएर कैलाश चौधरीलाई जिम्मेवारी तोकेकी थिइन् ।  त्यस्तै,नाउपा अध्यक्ष श्रेष्ठले आफ्नै पति रेशमलाल चौधरी पक्ष मानिने प्रदेश सरकारका काम चलाउ मन्त्रीहरुलाई पनि कारबाही गर्न लागिएको बताइएको छ । यसअघि उनले समानुपातिक सांसद समेत रहेकी राज्यमन्त्री इन्दिरा गिरीलाई पदमुक्त गरिसकेकी छन् ।

एपीएफको स्टोरमा लागेको आगो राति २ बजे मात्रै नियन्त्रणमा

काठमाडौँ। सशस्त्र प्रहरी बल (एपीएफ) को सतुंगलस्थित स्टोरमा भएको आगलागी राति २ बजे मात्रै नियन्त्रणमा आएको छ । सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापा आगलागी नियन्त्रणका लागि ७ वटा दमकलका साथै स्काभेटर, ट्याङ्करसहित एक हजार बढी सुरक्षाफौज परिचालन गरिएको थियो ।आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । उक्त स्टोरमा लत्ताकपडाका सामानहरु राखिएको बताइएको छ । यसअघि सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको महत्वपूर्ण कागजात राखिएको स्टोरमा समेत आगलागी भएको थियो । स्टोरमा सोमबार राति आगलागी भएको थियो । उक्त विषयमा अध्ययन गर्न छानबिन समिति गठन गरिएको छ ।सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालको अध्यक्षतामा ९ सदस्यिय छानबिन समिति गठन गरिएको हो ।

उपनिर्वाचन : आज दिनभर उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाडौं । आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेश–१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध उजुरी भए आज दिन सकिने छ ।  उम्मेदवारी  बदर गर्नुपर्ने कारणसहित बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगले आजै अपराह्न ५ बजे उम्मेदवारविरुद्ध परेका उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ । उपनिर्वाचनका लागि इलाम –२ मा १२ राजनीतिक दलका १२ र ८ स्वतन्त्र गरी २० जनाले उम्मेदवारी दिएका छन् । उता, बझाङ प्रदेशसभा– मा १२ राजनीतिक दलबाट १२ जनाको उम्मेदवारी परेको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ। चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ । आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

गण्डकीका मुख्यमन्त्रीद्धारा राजीनामा

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री पाण्डेले आज प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा पत्र बुझाएका हुन् । उनले संविधानको धारा १६९ को उपधारा १ बमोजिम मुख्यमन्त्रीले पदबाट राजीनामा दिएका हुन् । गत फागुन २३ मा नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका सुरेन्द्रराज नेतृत्वको सरकार अल्पमतमा परेको थियो। सरकार अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधानअनुसार पाण्डेले चैत २२ भित्र विश्वासको मत लिनुपर्ने थियो । तर मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिइ पदबाट राजीनामा दिएका हुन्।पाण्डे २०८० वैशाख १५ मा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

तीन प्रदेश प्रमुखद्धारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेश प्रमुख नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले मधेस प्रदेशको प्रमुखमा झापाकी सुमित्रा सुवेदी, भण्डारी गण्डकी प्रदेशको प्रमुखमा कैलालीका डिल्लिराज भट्ट र सुदूरपश्चिम प्रदेशको प्रमुखमा अर्घाखाँचीका नाजिर मियालाई नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्को फागुन २८ को निर्णयबाट सिफारिस भएका तीनै जनालाई नियुक्तिसँगै राष्ट्रपति पौडेलले शपथ गराएका छन् । नेपाली कांग्रेस सरकारमा हुँदा नियुक्त भएका मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई हटाएर सरकारले नयाँ नियुक्ति सिफारिस गरेको थियो ।

त्रिकोणात्मक टी–२० : नेपाल र  नेदरल्यान्ड्सबीच खेल जारी (प्रत्यक्ष प्रसारण)

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गतको खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा नेपाल र नेदरल्यान्ड्सबीच जारी छ ।  नेपाल फिल्डमा नेदरल्यान्ड्सले दिएको १ सय २१ रनको लक्ष्य प्राप्त गर्ने लक्ष्यमा छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनाएको हो ।

उपनिर्वाचनको कार्यतालिका प्रकाशित, चैत २४ गते उमेदवारी दर्ता (कार्यतालिकासहित)

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आउँदो वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभातर्फ बझाङ–१ ‘क’मा हुने निर्वाचनका निम्ति कार्यतालिका स्वीकृत गरिएको हो । कार्यतालिका अनुसार, यही फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिनेछ । आउँदो चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । दल दर्ताका निम्ति फागुन २४ देखि ३० गतेसम्मको म्याद दिई सूचना प्रकाशन गरिने सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए । चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने उनले जानकारी दिए । चैत २४ देखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिनेछ । चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । चैत २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ ।

कांग्रेस महासमिति बैठकको तयारी पूरा

काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसले महासमितिका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको बताएको छ । कांग्रेस प्रचार—प्रसार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार गोदावरी सनराइज सम्मेलन केन्द्रमा पत्रकार सम्मेलन गर्दै महासमिति बैठकको तयारी पुरा भएको जानकारी दिए । प्रजातन्त्र दिवसको अवसर पारेर भोलि (सोमबार) देखि कांग्रेसको महासमिति बैठक सुरु हुँदै छ । फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमितिको मुख्य कार्य पार्टीको नीति निर्माण गर्नु रहेको विश्वकर्माले बताए ।  उनका अनुसार आइतबार दिउँसो १ बजे महासमितिको बैठकको उद्घाटन कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन् । विश्वकर्माले महासमिति बैठकमा फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदित नीति, सांगठनिक, समसामयिक राजनीतिक, नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा परीक्षण प्रतिवेदन पेस हुने जानकारी दिए । ती प्रतिवेदनहरू समूहगत रूपमा छलफल हुनेछ तराई, मधेस, हिमाल, पहाड सबै क्षेत्रबाट प्रतिनिधित्व रहने गरी समूह विभाजन गरिनेछ । चार वटा हलमा छुटा छुटै रूपमा प्रतिवेदनहरू माथि छलफल हुनेछ ,’ विश्वकर्माले भने । नीति अधिवेशनको रूपमा सम्पन्न हुने यो महासमितिको बैठकमा प्रस्तुत हुने यी प्रतिवेदनले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्दै कांग्रेसले जनताको अवस्था परिवर्तनका लागि विश्वासिलो र भरपर्दो गरी काम गर्छ भन्ने विश्वास दिलाउने उनको भनाइ छ । महासमितिमा १ सय ६५ केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, १ हजार ७ सय ८० महासमिति सदस्यहरू जना सहभागी हुने छन् । यस्तै नेपाली जनसम्पर्क समितिबाट  ८९ जना, भातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ जना, महासमितिका सदस्य नरहेका प्रदेश सभापति, जिल्ला  सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमितिमा सहभागी गराइएको विश्वकर्माले बताए ।