मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । बैठक अपरान्ह ४ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को  अध्यक्षतामा बसेको हो ।

आजको बैठक नियमित हो।बैठकमा भोलिदेखि संचालन हुने संसद्को बजेट अधिवेशन, नीति तथा कार्यक्रम र नयाँ दललाई सरकारमा सहभागी गराउने विषयमा छलफल हुने बताइएको छ ।
 

सुनसरीका ५ पालिकामा हट्यो कर्फ्यु, भेला र जुलुसमा भने कडाइ

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँच वटा पालिकामा लगाएको कर्फ्यु हटाएको छ । मङ्गलवार राति १२ बजेबाट कर्फ्यु हटेको हो । दुई समूहबिचको विवादले उग्र रूप लिएपछि प्रशासनले गत शुक्रवारदेखि कर्फ्यु लगाएको थियो । हरिनगर र देवानगञ्ज गाउँपालिकामा पूर्णरुपमा कर्फ्यु र इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा आंशिक रूपमा कर्फ्यु थियो । कर्फ्यु खुकुलो गर्दै गएको प्रशासनले मङ्गलवार रातिबाट पूर्णरुपमा कर्फ्यु हटाएको हो । कर्फ्यु हटे पनि भेला जुलुस गर्न प्रतिबन्ध लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । उनले भने, ‘सबै पालिकाहरूमा धार्मिक सहिष्णुता बिग्रने गरी संघर्ष समिति गठन गर्ने, सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न पोस्टहरू हाल्ने वा सेयर गर्ने, भेला, जुलुस लगायतका शान्ति सुरक्षामा अवरोध गर्ने किसिमका कार्य नगर्न नगराउन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम निषेध गरिएको छ ।’

कांग्रेसको संसद् अवरोधबारे रास्वपाले दलमा गर्‍यो छलफल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गरिरहेको संसद् अवरोधका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकमा छलफल भएको छ । आइतबार सिंहदरबारमा बसेको दलको बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री तथा सो पार्टीका सभापति रवि लामिछानेमाथि प्रश्न उठाउँदै कांग्रेसले संसद् अवरोध गर्दै आएको विषयमा छलफल गरिएको रास्वापका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । प्रमुख सचेतक परियारले प्रमुख प्रतिपक्ष दलले आन्दोलन गरिरहँदा संसद् पेचिलो बन्दै गएका विषयमा बैठकमा छलफल भएको बताए । उनले आफू कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलासँग संवादमा रहेको जानकारी गराए । सभामुख देवराज घिमिरेले सोमबार (भोलि) प्रमुख सचेतक र नेताहरूको बैठकमा बोलाएका छन्। सो बैठकबाट मंगलबारको संसद् निर्बाध सञ्चालन हुने अपेक्षा राखिएको उनले बताए । उनले संसदीय दलको बैठकमा पार्टी सभापति लामिछानेले आफ्ना भनाइ राखेको र रास्वपाका तर्फबाट सरकारमा गएका मन्त्रीहरूले अहिलेसम्मको कार्यप्रगतिबारेमा जानकारी गराएको पनि जानकारी दिए । सरकारले गरेका कामलाई सम्प्रेषण गर्ने, संसद्‌मा प्रभावकारी रूपमा प्रस्तुत हुनेबारेमा पनि छलफल गरिएको उनले जानकारी गराए।  

समाचार हुबहु सार्नेलाई चोरीअन्तर्गत कारबाही

काठमाडौं ।बिनाअनुमति समाचार हुबहु सार्ने विभिन्न १ सय ८३  अनलाइन मिडियालाई प्रेस काउन्सिल नेपालले समाचार चोरीअन्तर्गत कारबाही गरेको छ ।   काउन्सिलले आज एक विज्ञप्ति मार्फत गत आव यता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने (कपि एन्ड पेस्ट गर्ने), अनुमति नलिने १८३ अनलाइन सञ्चारमाध्यम तथा वेब पोर्टललाई कारबाही गरिएको जानकारी दिएको छ ।  कारबाहीमा परेकामध्ये १४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको विज्ञप्तिमा उल्लेख छ ।  काउन्सिलका सह प्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ  ‘स्पष्टीकरण सोधिएका अधिकांश मिडियाबाट आगामी दिनमा त्यस्तो कार्य नगर्ने भनी प्रतिबद्धतासहित जवाफ पेस भएको थियो । मिडियाका रूपमा दर्ता सूचीकरण नभएका २९ वेव पोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भइसकेको छ ।’  बुधवार प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठकसमेत बसेको थियो । बैठकले समाचार हुबहु सार्ने प्रवृत्ति निरुत्साहित गर्न थप कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । काउन्सिल बैठकले ८९ वटा मिडियालाई सचेत गराउने निर्णय समेत गरेको छ ।  काउन्सिलले मूल स्रोतको अनुमति बिना स्रोत उद्धृत नगरी सामग्री हुबहु सम्प्रेषण नगर्न/नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मीलाई आग्रह गरेको छ । यस्तो छ काउन्सिलद्धारा जारी विज्ञप्ति 

महासमिति सदस्यहरु भन्छन् –‘बैठक गठबन्धनमा केन्द्रीत भयो’

ललितपुर, १० फागुन। नेपाली कांग्रेसको महासमिति बैठकको चौँथो तथा अन्तिम दिन विभिन्‍न पाँचवटा प्रतिवेदनहरुमाथि समूहगत रुपमा छलफल भइरहेको छ। बैठकमा धारणा राख्ने महासमिति सदस्यहरुले नै महासमिति बैठक नै गठबन्धन गर्न हुन्छ कि हुँदैन भन्ने कुरामा केन्द्रीत भएको गुनासो गरेका छन् । बोल्ने अधिकांश सदस्यहरुले गठबन्धनमा बढि बैठक केन्द्रीत भएको बताइरहेपनि आफुहरु पनि सोही विषयमा धेरै अल्झिएको देखिएको छ ।  भक्तपुरका पार्टी सभापति दुर्लभ थापाले महासमिति बैठक पूर्ण रुपमा गठबन्धन केन्द्रित भएको बताउनु भयो। उहाँले गठबन्धन हुनु या नहुनुले के फरक पर्छ भन्दै प्रश्न गर्नु भयो। अहिले उहाँले आफू गठबन्धनकै प्रतिनिधि बनेर निर्वाचित भएको बताउँदै पाँच वर्ष गठबन्धन हुनुपर्ने बताउनु भयो।  उहाँले भन्नु भयो, ‘नैतिकताको आधारमा राजीनामा दिएपछिमात्र गठबन्धन छोड्छु । पाँच वर्ष गठबन्धन गर्नुपर्छ । पार्टी पूर्ण रुपमा सभापतिय प्रणालीमा जानुपर्छ । पदाधिकारी कति छन् गन्न पनि सक्दिन । जति पदाधिकारी भए पनि केही हुने रहेनछ । दुईजना महामन्त्री भए पनि केही हुने रहेनछ । यो महासमिति बैठकले कांग्रेसले कांग्रेसलाई मात्र भोट हाल्ने वातावरण बनाओस् ।’ महासमिति सदस्य गोपाल विश्वकर्माले भने गठबन्धन नगर्ने विषय केन्द्रीय समितिबाट अनुमोदन गराउन आग्रह गर्नु भयो। उहाँले भन्नु भयो, ‘गठबन्धन नगर्ने कुरा केन्द्रीय समितिबाट अनुमोदन गराउनुस् । गौतम बुद्ध जन्मेको देशमा हिन्दु राष्ट अभियान चलाउने कि नचलाउने केन्द्रीय समितिबाट निर्णय गराएर आउनुस् ।’ उहाँले पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीको घोषणा पत्र कार्यान्वयन गराउन ध्यानाकर्षण पनि गराउनु भयो। ‘पार्टीले घोषणा गरेको घोषणापत्र किन कार्यान्वयन भएन सभापति ज्यू ? पार्टी पदाधिकारी, मन्त्री र केन्द्रीय सदस्य सबैले जिम्मा लिनुपर्छ,’ उहाँले भन्नु भयो, ‘यदि यो कार्यान्वयन भएको भए व्यवस्था विरोधि आन्दोलन हुने नै थिएन ।’ महासमिति सदस्य भीमसेनदास प्रधानले तल्लो तहमा छलफल गरेर महासमिति बैठक गर्ने वातावरण आगामी बैठकहरूमा मिलाउन आग्रह गर्नु भयो ।  स्याङ्जाका महासमिति सदस्य युवराज पाण्डेले समस्या पहिचान गरेर मात्र नछोड्न आग्रह गर्नु भयो। उहाँले समस्या समाधानको उपाए खोज्न पनि नेतृत्वलाई आग्रह गर्नु भयो । उहाँले भन्नु भयो,  ‘समस्याको पहिचान गरेर हामीले छुट पाउदैनौ समाधान पनि गर्नपर्छ । सरकारमा उपप्रधानमन्त्री हुनुहुन्छ, केके गर्ने केके गरियो खाका खोई ? हामी कहाँ पुग्ने ? दशक पछिको योजना खोई ? हामी पछि पर्नुको कारण गठबन्धन हो । मेरो ठाउँमा मैले संगठन गर्ने चुनाव लड्न नपाउने ? एक्जिक्ट पोलिसी हुनैपर्छ ।’ काठमाडौँकी महासमिति सदस्य गीता दवाडीले गठबन्धनका कारण कांग्रेसीले कांग्रेसकै उम्मेदवारलाई भोट हाल्न नपाएको भन्दै गुनासो गर्नु भयो। ‘हामीले गठबन्धन बनाएर अरु पार्टीलाई भोट हाल्न पर्यो । हाम्रा सन्तानले तपाईहरुले अरु पार्टीलाई भोट हाल्न नपर्ने बनाएर आउनु भनेर पठाउनुभएको छ, उहाँले भन्नु भयो,  ‘७७ जिल्लामा १ जना महिला सभापति खोई ? हामी महिला पुरुषहरुले जे भन्यो त्यसमा सहिछाप गछौं ।’ मकवानपुरकी महासमिति सदस्य पवित्रा विकले समानुपातिक र प्रत्यक्षतर्फ एक एक पटक मात्रै चुनाव लड्ने व्यवस्था मिलाउन आग्रह गर्नु भयो।  काठमाडौँका अर्का महासमिति सदस्य सुशील भट्टले पार्टीको विधान युवाप्रतिनिधित्व कति हुने हो तोक्नुपर्ने बताउनु भयो। उहाँले भन्नु भयो, ‘विधानमा युवा प्रतिनिधित्व कति हुने हो तोकियोस् ।’ सिन्धुलीबाट आउनु भएका गोविन्द पहाडीले गठबन्धन बेकारको विषय भएको बताउनु भयो। उहाँले भन्नु भयो, ‘गठबन्धन बेकारको विषय हो यो आवश्यक छैन । राष्टियता लोकतन्त्र प्रति हाम्रो दृष्टिकोण के हो ? यो स्पष्ट हुनुपर्छ ।’ धादिङका महासमिति सदस्य बालकृष्ण सापकोटाले गठबन्धनको विषयमा तत्कालीन समयमै निर्णय गर्नेबारे ध्यान दिन भन्नु भयो।  त्यस्तै नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्षसमेत रहेका महासमिति सदस्य देवेन्द्रकुमार शेरचनले कांग्रेसले आफ्नो नीतिमा खेलकुदलाई पनि समेट्नुपर्ने बताउनु भएको छ।  शेरचनले अन्य पार्टीहरुले खेलकुदलाई मूल नीतिका रुपमा अबलम्बन गर्नुपर्ने बताउनु भयो।  उहाँले भन्नु भयो, ‘महासमिति बैठकमा खेलकुदको विषयमा जति चर्चा हुनुपर्ने हो त्यति हुन सकेको छैन। नेपालमा फुटबल र क्रिकेटको राम्रो सम्भावना भए पनि कांग्रेसले त्यसलाई आफ्नो प्राथमिकता दिन सकेको छैन। अब यसलाई सच्याएर जानुपर्छ।’  नेपाली विद्यार्थी संघबाट प्रतिनिधित्व गरेका दुजाङ शेर्पाले २०८४ को मिसन भन्दा पनि जनताका मुद्दा सम्बोधनमा कांग्रेस केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले गठबन्धन रणनीतिक विषय भएको पनि बताउनुभयो ।  महासमिति सदस्य भारती जोशीले तीनवटै प्रतिवेदन राम्रो भएको उल्लेख गर्नै गठबन्धनको विषयलाई कूटनीतिक र रणनीतिक रुपमा निर्णय गरेर अघि बढ्नुपर्ने बताउनुभयो । रोल्पाका महासमिति सदस्य मनोजमणि आचार्यले जनताको निराशालाई सम्बोधन गर्ने गरी कांग्रेसले निर्णय गर्नुपर्ने बताउनुभयो । महासमिति सदस्य भानुभक्त ढकाल महासमिति बैठकले जनताका मुद्दालाई सम्बोधन गरी दीर्घकालीन समाधानका लागि पहल गर्नुपर्ने बताउनुभयो ।  रुपन्देहीका महासमिति सदस्य दीपक पौडेलले गठबन्धन रहन नभएर बाध्यता भएको र यो बाध्यता अन्त्य गर्न कांग्रेसले पहल चाल्‍नुपर्ने बताउनुभयो । गुल्मीका महासमिति सदस्य भगवती काफ्लेले गठबनधन रणनीतिक विषय भएको उल्लेख गर्नुभयो । जनसम्पर्क समिति जापानबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य रोशन केसीले गठबन्धनको विषयलाई अहिले हतार गरेर निर्णय गर्न आवश्यक नभएको बताउनुभयो । नवलपारसीका महासमिति सदस्य अनिता शर्माले भ्रष्टाचार अन्त्य गर्न कांग्रेसले काम गर्नुपर्ने बताउनुभयो ।  रुपन्देहीका महासमिति सदस्य सुन्दरराम गहतराजले महासमिति बैठकमा प्रस्तुत भएका प्रतिवेदन राम्रो भए पनि ती प्रतिवेदनलाई कार्यान्वयन गर्नुमा जोड दिनुपर्ने बताउनुभयो । गुल्मीका महासमिति सदस्य पार्वती कुवँरले भातृसंस्थाको नियमानुसार समयमा नै अधिवेशन गरेर संगठनलाई चलायमान गर्नुपर्ने बताउनुभयो ।  महासमिति सदस्य सञ्‍जय शेर्पाले कांग्रेसले गठबन्धन जनतासँग गर्नुपर्नेमा जोड दिँदै पार्टीसँगको गठबन्धनलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । महासमिति सदस्य शशिकुमार केसीले भातृसंस्थाको समयमा नै निर्वाचन हुनुपर्ने सुझाव दिनुभयो । जिल्ला र स्थानीय तहका नेताहरु मात्र नभएर कांग्रेस केन्द्रका नेताहरु मात्र नभएपनि गाँउगाउँ जानुपर्ने बताउनुभयो ।  महासमिति सदस्य शान्ता भण्डारी अर्घाखाँची महामन्त्रीको प्रतिवेदनको प्रशंसा गर्दै यसको पालना गर्नुपर्नेमा जोड दिनुभयो । महासमिति सदस्य राजेन्द्र खत्रीले सांस्कृतिक संघलाई शुभेच्छुक नभई भातृसंस्था बनाउनुपर्ने बताउनुभयो । अर्घाखाँचीका महासमिति सदस्य निर्मला क्षेत्रीले महासमितिले पारित गरेका प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । महासमिति सदस्य एकबहादुर पुनले नेपालीलाई नेपालमै बस्‍ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।  कागेश्वरी मनोहरा नगरपालिकाका मेयरसमेत रहेका महासमिति सदस्य उपेन्द्र कार्कीले गठबन्धनको विषयमा छलफल गर्नु राम्रो भए पनि यसलाई अहिले नै निर्णय गर्नु नहुने बताउनुभयो ।  गोरखाकी महासमिति सदस्य  शोभा अधिकारीले  आर्थिक विकासका लागि बागमती र गण्डकी प्रदेश कृषि, पर्यटन, जडिबुटी, पशुपालन, उद्योग, कलकारखाना, व्यापार व्यवसाय, हाइड्रो आदी सम्भावना भएको क्षेत्र भएको बताउँदै यसमा राज्यले ध्यान दिनुपर्ने बताउनु भयो।   उहाँले विकासका लागि आन्तरिक र बाह्य लगानीको वातावरण सिर्जना गरी नेपाली कांग्रेसले कृषकले उत्पादन गरेका कृषिजन्य सामग्रीलाई सरकार आफैँले खरिद गरेर बजार व्यवस्थापन गर्न पहल गरोस् भन्दै ध्यानाकर्षण गराउनु भयो।  पार्टीमा ३३ प्रतिशत निर्वाचन क्षेत्र महिलालाई मात्रै छुट्याउने र महिला महिलाबीच मात्रै प्रतिस्पर्धा गराउन पनि उहाँले सुझाव दिनु भयो। उहाँले न्यू मिडिया र सञ्चार क्षेत्रमा भएको दुरुपयोगलाई नियन्त्रण गर्न सञ्चार नीति परिमार्जन गर्न पनि आग्रह गर्नु भयो। 

महासमितिमा पेश गर्ने प्रस्तावमा जनसम्पर्क समितिको आपत्ति

काठमाडौं ।  नेपालको जेठो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको सोमबारदेखि सुरु हुन लागेको  महासमिति बैठक प्रति धेरैले चासो देखाएका छन् । १४ औं महाधिवेशनका बेला नीतिगत वहस नगरेको नेपाली कांग्रेसले अहिले नीतिका विषयमा छलफल गर्नका लागि महासमिति बैठकलाई नीति अधिवेशनको संज्ञा पनि दिएको छ । देश विदेशबाट गरेर झण्डै २५ सय महासमितिको बैठकमा सहभागी हुँदै छन् । नेपाली कांग्रेस प्रवाशमा गठन भएको पार्टी हो । २००३ साल माघ १२ गते बीपी कोइरालाले भारतको कोलकत्तामा नेपाली कांग्रेसको पार्टी स्थापना गरेका थिए । नेपालमा राणा शासनविरुद्ध संघर्ष गर्न स्थापना भएको पार्टीले नेपालका सबै आन्दोलनहरुमा निर्णायक र नेतृत्वदायी भूमिका पनि निर्वाह गरेको छ । प्रवासबाट स्थापना भएर देशको जेठो र लोकतान्त्रिक तथा तीन तहमै पहिलो शक्तिको रुपमा रहेको नेपाली कांग्रेसले विधि र विधानका साथै नीति र नियम बनाउने संघारमा उभिएको छ । नेपाली कांग्रेसलाई युग र जनमुखी बनाउन तथा सबैलाई अटाउने अभियान लिएको बताए पनि यसले अहिले आएर फेरि प्रवाशमा रहेका कार्यकर्ताको चित्त भने दुखाएको छ । पार्टीका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्ताव गरेको दस्तावेजलाई आधार मान्ने हो भने प्रवाशमा बस्ने नेपाली कांग्रेसका कार्यकर्ताहरुको चित्त बुझेको छैन । नेपाली कांग्रेसले प्रवाशमा संगठनविस्तार गर्दा जनसम्पर्क समिति बनाएको छ । अहिले विदेशमा जनसम्पर्कसमितिहरु ३८ वटा रहेका छन् । महासमितिमा पेश गर्ने प्रस्तावमा जनसम्पर्कसमिति नभएका देशहरुमा विस्तार गर्ने कुरा गरिएको छ ।  यसैगरी अन्तर्राष्ट्रिय महासंघको पनि परिकल्पना गरिएको छ । तर, महाधिवेशन र महासमितिमा जनसम्पर्क समितिबाट प्रतिनिधित्व गराउने कुरा र अधिकार दिने विषयमा अनुदार बनेको जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले बताए । उनले भने ‘अहिलेको अवस्थामा विदेशमा रहेका नेपालीहरुलाई संगठित गर्नका लागि उदार हुनुको साटो अनुदार भएको पाइयो, यस्तो भयो भने कांग्रेसको संगठन गर्न निकै अप्ठेरो छ ।’ यसैगरी विगतमा जनसम्पर्क समितिका सभापतिहरु विधान अनुसार आमन्त्रित केन्द्रीय सदस्य हुन्थे । तर अहिले त्यो प्रावधान पनि हटाउने गरी प्रस्ताव आएको छ । जनसम्पर्क समिति अमेरिकाका सभापति तथा पूर्व आमन्त्रिक केन्द्रीय सदस्य आनन्द विष्टले यस्तै तरिका हो भने किन र केका लागि कांग्रेसको संगठन गर्ने भन्ने प्रश्न उब्जिएको बताए । यसैगरी जनसम्पर्क समितिका बेल्जियमका पूर्व सभापति गंगाधर गौतमले अन्य पार्टीहरुले प्रवास ९विदेश०मा संगठन विस्तारका लागि आक्रामक रणनीति बनाइरहेका बेला नेपाली कांग्रेसले बाहिर खुला जस्तो देखाए पनि व्यवहारिकरुपमा गलत प्रस्ताव ल्याएको बताए । जनसम्पर्क समिति जापानका पूर्व सभापति नारायण सुवेदीले पनि महाधिवेशनमा विगतमा ५ सय सदस्य बराबर ७ जना विदेशबाट महाधिवेशन प्रतिनिधि सहभागी हुने व्यवस्था रहेकोमा अहिलेको प्रस्ताव पारित भए यो संख्या पनि घट्ने र यसले झनै संगठन विस्तार गर्ने योजना सफल नहुने बताए । जनसम्पर्क समितिका सभापतिहरु अहिले काठमाडौंमा आन्तरिक छलफलमा रहेका छन् । उनीहरुले महासमितिको बैठकमा संयुक्तरुपमा प्रस्ताव पेश गर्ने तयारी गरिएको पनि जानकारी दिएका छन् । आफूहरु पार्टीको सिपाई भएकाले अधिकार खुम्च्याएर भन्दा पनि बढी दिएर क्रियाशील गराउनुपर्छ भन्ने पक्षमा रहेको पनि जनसम्पर्क समितिका सभापतिहरुको एकमत रहेको छ ।

सरकार बिचौलियाको स्वार्थमा काम गर्न तल्लिन छ : पूर्वअर्थमन्त्री पुन

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले केपी ओली नेतृत्वको सरकारले यो तीन महिनामा आशा जगाउने काम गर्नुको साटो बिचौलिया तत्वहरुकै स्वार्थमा काम गर्नमै तल्लिन रहेको टिपप्णी पुनले गरेका गरेका छन् ।  गृहजिल्ला रोल्पाको राङसीमा शहीद स्मृति युवा क्लबको १५औं वार्षिकोत्सवमा बोल्दै उनले सरकार जनआकाङ्क्षा र भावनाअनुसार नभई बिचौलियाको स्वार्थ अनुसार चलेको बताएका हुन्।  उनले गठन भएको तीन महिना बितिसक्दा पनि वर्तमान काँग्रेस–एमाले गठबन्धन सरकारले लय समात्न नसकेको बताए। पूर्ववर्ती पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासन कायम गर्न भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्नलाई भटाभट कारबाही गर्न थालेपछी अत्तालिएका बिचौलिया तत्वले प्रतिनिधिसभाका दुई प्रमुख दल काँग्रेस र एमालेलाई रातारात मिलाएर केपी ओली नेतृत्वमा वर्तमान सरकार गठन गरेको आरोप उनको थियो ।  ‘विचौलिया तत्वहरुले प्रमुख दुई दललाई प्रभावमा पारेर आफ्नो स्वार्थमा सरकार बदल्ने काम गरे’, पुनले भने, ‘नयाँ सरकार बनेको तीन महिना भयो । सरकारले कुनै नयाँ उत्साह जगाउन, नयाँ कार्यक्रम ल्याउन र सकारात्मक बाटो लिएको छैन ।’  सरकारले जनतामा आशा जगाउन नसकेको र मुलुकका निराशा बढ्दै गएको उनको भनाइ छ । सरकारमा रहका दलहरुलाई जनताका आकांक्षा र भावनाअनुसार काम गर्न सुझाउँदै उनले प्रमुख प्रतिपक्षीको हैसियतमा आफ्नो दलले राम्रो कामका लागि सहयोग गर्ने र खराब काम गर्दा विरोध गर्ने स्पष्ट गरे । फरक प्रसंगमा पुनले पञ्चायतको ३० वर्ष र ०४६ पछिको बहुदलीय संसदीय व्यवस्थाको १५ वर्षमा भन्दा गणतन्त्र स्थापनापछिको १५ वर्षमा भौतिक पूर्वाधार निर्माण र विकासका काम धेरै भएको औंल्याए ।  आफूले अर्थमन्त्रीका रुपमा चालु आर्थिक वर्ष २०८१(०८२ को बजेट प्रस्तुत गर्दा तथ्यांक नै पेश गरेको उल्लेख गर्दै उनले ३० वर्षको पञ्चालयतकालमा ७ हजार मिलोमिट, संसदीय व्यवस्थाको अवधिमा १८ हजार किलोमिटर र गणतन्त्र स्थापनापछिको पछिल्लो १५ वर्षमा देशभर १ लाख किलोमिटर सडक निर्माण भएको बताए । त्यसलाई उनले गणतान्त्रिक व्यवस्थाको सकारात्मक सूचकका रुपमा व्याख्या गरे । यद्यपि अहिले भएकै विकासबाट सन्तुष्ट भएर बस्न नमिल्ने र धेरै गर्न बाँकी रहेको उनले औंल्याए । शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र खानेपानीका पूर्वाधारमा धेरै काम गर्न बाँकी रहेको पुनले बताए ।  बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनपछि सरकारले शिक्षा र  स्वास्थ्यलाई निजीकरण गर्ने नीति अख्तियार गरेका कारण ती सेवा हुनेले लिने र नहुने अवसरबाट वञ्चित हुनेजस्तो अवस्था रहेको भन्दै उनले दोश्रो चरणको अर्थिक सुधारमार्फत विद्यमान अवस्थामा परिवर्तन गर्नुपर्ने औंल्याए ।  आफूले चालु आर्थिक वर्षको बजेटमा दोश्रो चरणको आर्थिक सुधारको नीति अघि सारेको चर्चा गर्दै उनले वर्तमान अर्थमन्त्री विष्णु पौडेलले त्यसका लागि आयोग गठन गरेको उल्लेख गरे ।  मुलुकको आर्थिक विकासका लागि नयाँ आर्थिक केन्द्रहरुको निर्माण जरुरी रहेको व्याख्या गर्दै पुनले आफूले चालु आर्थिक वर्षको बजेटमा एकीकृत विकासको अवधारणाअनुसार नमूना विकास अभियान सञ्चालन गर्न भरतपुर, बुटवल र पोखरालाई तीन वटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना प्रस्ताव गरेको बताए ।

कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचिसहित)

काठमाडौं । वर्षासँगै आएको बाढी पहिरोका कारण विभिन्न राजमार्गहरू अझै अवरुद्ध छन् । साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध रहेको नेपाल प्रहरीले जानकारी दिएको छ। नेपाल प्रहरीले सार्वजनिक सूची अनुसार पृथ्वी राजमार्ग, सिस्नेरी सडकखण्ड, मध्य पहाडी लोकमार्गलगायत पूर्ण रूपमा अवरुद्ध छ ।

पश्चगामी सोचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैनन्: अध्यक्ष दाहाल

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क स्वीकार्य हुन नसक्ने बताउनु भएको छ। संविधान दिवसको सन्दर्भमा आयोजित संविधान कार्यान्वयनको वर्तमान अवस्था विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधानको कार्यान्वयन गर्दै अघि बढ्ने बेला पछि फर्किने सोच र तर्कलाई संविधान निर्माणकर्ता र संविधानले नै स्वीकार नगर्ने बताउनु भएको हो। "संविधानप्रतिको स्वामित्व र अपनत्व वृद्धि गर्दै समयानुकूल सुधार, परिमार्जन स्वभाविक प्रकृया हो। तर ती प्रक्रियाहरु प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातिर हुनु जरुरी छ", अध्यक्ष दाहालले भन्नुभयो, "पछि फर्कने वा पश्चागामी सोचका साथ आउने तर्कहरु अग्रगामी संविधान निर्माण गर्नेहरु र यो संविधान स्वयंका लागि मान्य हुनै सक्दैनन्।" संविधान कार्यान्वयनका लागि बनाउनु पर्ने थुप्रै कानुनहरू अझैं बन्न नसकेको उल्लेख गर्दै अध्यक्ष दाहालले समयमा कानुन नबन्दा आएका समस्याले संविधान र संघीयता कार्यान्वयनका चुनौती थपिएको बताउनु भयो। संघीयताका कारणले जनताले पाउनु पर्ने सेवा सुविधा नपाउँदा देखिने असन्तुष्टिको सम्बोधन गर्न ढिलाइ गर्न नहुने उल्लेख गर्दै अध्यक्ष दाहालले सरकार, संसद र सबै तहका जनप्रतिनिधिहरू संविधान कार्यान्वयनका काममा गम्भीर भएर लाग्नुपर्ने बताउनु भयो। संविधान कार्यान्वयनका आठ वर्षमा दुई/दुई पटक संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमार्फत् जनादेश लिएर राज्य सञ्चालन भइरहेको बताउँदै अध्यक्ष दाहालले देशलाई संघीयकरण गर्ने, सामाजिक संरचनाहरुलाई गणतान्त्रिकरण गर्ने कामले संविधान कार्यान्वयनलाई सफल बनाउँदै लगेको बताउनु भयो। पछि पारिएका वर्ग, लिङ्ग, जाति र समुदायले राज्यका हरेक संरचनामा सहभागी हुन पाउने अधिकार स्थापित गर्नु संविधानको मुख्य उपलब्धि भएको अध्यक्ष दाहालले बताउनु भयो।   "स्थानीय तहमा ४० प्रतिशत र प्रदेश एवं संघमा एक तिहाई महिलाको प्रतिनिधित्वसहित दलित आदिवासी जनजाति, मधेश, पिछडिएको क्षेत्र, मुश्लिम लगायतका अल्पसंख्यक समुदायको समुचित प्रतिनिधित्व र राज्यका हरेक संरचनामा सहभागी हुने हक प्राप्त हुनु हाम्रो संविधानको मुख्य उपलब्धि हो", अध्यक्ष दाहालले भन्नुभयो, "विगतमा प्रतिनिधित्व नभएका वर्ग, क्षेत्र, समुदायको सकारात्मक विभेदसहितको विशेषाधिकारलाई संस्थागत गर्ने काम पनि यही संविधानले गरेको हो। विगतको राज्य संरचनाका कारणले हेपिएका, चेपिएका र पिछडिएका वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको शासन सञ्चालनमा सकारात्मक हस्तक्षेप हाम्रो संविधानको महत्त्वपूर्ण उपलब्धि हो।" संविधान सभाबाट संघीयता र गणतन्त्रसहितको संविधान, समावेशी र धर्मनिरपेक्षता राष्ट्र निर्माण नेपाली जनताको चाहनाको प्रतिफल भएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधान दिवस मनाइरहँदा संविधानको सफल कार्यान्वयनका लागि गर्ने कार्यले विगतको आन्दोलनको सार्थकता र बलिदानप्रति सम्मान हुने बताउनु भयो। कार्यक्रम संघीय संसद सचिवालयसँगको सहकार्यमा नेपाल लेजिस्लेटिभ एकेडेमीले आयोजना गरेको थियो।

कुलमानलाई हटाउनुपर्ने कुनै कारण छैनः उर्जामन्त्री खड्का

सिन्धुपाल्चोक । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले नेपाल प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनुपर्ने कुनै कारण नभएको बताउनुभएको छ । बुधबार निर्माणाधीन  मध्य भोटेकोशी जलविद्युत र सवस्टेशन निरीक्षण गर्न यहाँ आइपुगेका मन्त्री खड्काले यस्तो बताउनुभएको हो । ‘राम्रो मान्छे जुनसुकै दलको होस्, राम्रो भन्न सक्नुपर्छ, कुलमानले राम्रो काम गर्नुभएको छ। उँहालाई सरकारले हटाउनुपर्ने कुनै कारण छैन’– मनत्री खड्काले भन्नुभयो । सडक र संसद्‌मा अनेकन कुरा उठेको उल्लेख गर्दै उहाँले कुलमानलाई हटाउन नहुने बताउनुभयो ।

राज्य व्यवस्थासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत आज चारवटा समितिको बैठक बस्दैछ । आज राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) र संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक बस्दैछ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदन पेस तथा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ । यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिका सभापति पदको निर्वाचनका विषयमा छलफल हुनेछ । यस समितिमा नेकपा एमाले र कांग्रेसले एमालेका नेता एवं समिति सदस्य ठाकुरप्रसाद गैरेको उम्मेदवार बनाएका छन् । उनको प्रस्तावकमा सरस्वती सुब्बा र समर्थकमा दीलेन्द्रप्रसाद बडू रहेका छन्। संसदीय सुनुवाइ समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको सभापति पदको निर्वाचन  हुनेछ । भागबन्डाका आधारमा यस समितिको सभापतिमा नेपाली कांग्रेसकी नेत्री एवं समिति सदस्य ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेदवार बनाइएको छ । उनको मनोनयन प्रस्तावकमा श्यामकुमार घिमिरे र समर्थकमा सुनिता बराल रहेका छन्।

गुडिरहेको ट्रकमा आगो लाग्यो, ट्रक जलेर नष्ट

घोराही। दाङमा गुडिरहेको एक ट्रकमा आगो सल्किएपछि जलेर नष्ट भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रकमा आफैँ आगलागी भएर जलेर नष्ट भएको हो।  आइतवार बिहान लमही नगरपालिका –९ चाउखोलानजिक जङ्गल क्षेत्रमा गुडिरहेको समयमा करिव ४ः२५ बजेको समयमा ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।   प्रारम्भिक अनुसन्धान अनुसार गाडीमा आफैं आगो लागेको देखिएको भन्दै प्रहरी उपरीक्षक केसीले भने, ‘वायरिङ सर्ट भएर आगो लागेको भन्ने छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।’  ट्रकमा लागेको आगो बिहान सवा ५ बजेतिर लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ। प्रहरी उपरीक्षक केसीका अनुसार ट्रकमा चालकसहित तीन जना सवार थिए। आगो निभाउन प्रयास गर्दा कञ्चनपुर जिल्ला कृष्णनगर नगरपालिका –२ निवासी ३८ वर्षीय रमेशदत्त जोशी सामान्य घाइते भए।   ट्रकमा आगो लागेको खबर पाउनासाथ राजमार्ग अन्तर्गत पर्ने अस्थायी पोष्ट रिहार दाङबाट प्रहरी नायब निरीक्षक माधव रावतको कमाण्डमा पाँच जनाको टोली घटनास्थल खटिएको थियो। आगलागीबाट ट्रकको इञ्जिनको भाग, बम्परको भाग र ६ वटा टायर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार खाली ट्रक लमहीस्थित सिमेन्ट उद्योगबाट सिमेन्ट लिन आइरहेको थियो। चालक प्रहरी नियन्त्रणमा रहेको बताइएको छ। 

हामीले अनुसन्धान गर्दै गरेका व्यक्तिहरूलाई मन्त्री पुरस्कृत गरियो : रवि लामिछाने

काठमाडौं। रास्वपाका सभापति रवि लामिछानेले आफूहरुले अनुसन्धान जारी राखेको व्यक्तिले बालकोटमा बसेर गीत गाएपछि आफूहरुलाई झस्काएको बताएका छन् । उनले विश्वासको मत दिन मन भए पनि प्रधानमन्त्रीको सुरुवातकै संकेतले झस्क्याएको बताए । उनले नेपाली कांग्रेसका नेता विनोद चौधरीप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । साथै, उनले अहिले प्रधानमन्त्रीले मन्त्रीहरु छनोट गर्दा आफुहरुले अनुसन्धानको दायरामा ल्याका व्यक्तिहरुलाई जोगाउँदै मन्त्री उपहार दिएर पुरस्कृत गरिएको उनले बताए ।   

सिंहदरबारमा खादा र मालाको लर्को छोडेर, उद्धार तथा राहतमा ध्यान दिन सरकारलाई आग्रह

काठमाडौं । सरकारका मन्त्रीहरूलाई कांग्रेस नेता नैनसिंह महरले सिंहदरबारमा खादा, माला र बधाइ थाप्न व्यस्त हुनुभन्दा बाढीपहिरोबाट प्रभावित बनेका जनताको उद्धारमा खट्न आग्रह गरेका छन् । काठमाडौंमा सञ्चारकर्मीहरूसंग आफ्नो धारणा राख्दै नेता महरले मन्त्री नियुक्त भएको हप्तौँसम्म खादा र माला थाप्नमै व्यस्त हुनु फजुलमा समय खेर फाल्नु भएको टिप्पणी गरे। ‘सिंहदरबार कामकाजी अड्डा हो । त्यसलाई सोही अनुरूप प्रयोग गर्नुपर्छ । मन्त्रालयमा बसेर जनताको काम गर्नुपर्छ,ु उनले भने, ुसम्मानै थाप्ने रहर भए निजी निवासमा बोलाउँदा हुन्छ । जनता विपद्को सामना गरिरहनुभएको छ । यस्तो अवस्थामा सरकार राहत तथा उद्धारमा सक्रिय हुनुपर्छ ।’  

बस दुर्घटना हुँदा १७ जना घाइते

बारा । बारामा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। मंगलबार बिहान करिब १० बजे जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ भुलहीमा बस पल्टिँदा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । भैरहवादेखि वीरगन्ज जाँदै गरेको ना ७ ख ६०७६ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर पल्टिएको हो । उक्त बसमा २२ जना सवार थिए। जसमध्ये तीन जनाको अवस्था गम्भीर छ । ७ जनाको अवस्था मध्यम र ७ जना सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूको उपचारको लागि बयोधा अस्पताल वीरगन्‍ज पठाइएको छ। बसका चालक चितवनका ३० वर्षीय सागर न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सहमतिबाटै नेतृत्व चयन हुन्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने बताएका छन् । बिहीबार काठमाडौंमा पार्टीका शीर्ष तहका नेताहरूसँग छलफल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।  पार्टीको महाधिवेशनमा महासचिव घनश्याम भुसालले अध्यक्षमा दाबी गरेका थिए । वार्तापछि सहमतिबाटै नेतृत्व टुंगो लाग्ने निष्कर्षमा पुगेको पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष नेपालले बताए ।  “छलफल चलिरहेको छ । सर्वसम्मत नेतृत्व चयन हुन्छ । पहिलो महाधिवेशन हुँदै छ, दोहोरिने होइन,” अध्यक्ष नेपालले भने ।  अध्यक्ष नेपालले महाधिवेशन पार्टीको पहिलो भएकाले अध्यक्षमा दोहोरिने नभई नयाँ नेतृत्व चयन हुने उल्लेख गरे ।