मुटुरोगी बिरामीहरुले यी कुराहरुमा ध्यान दिन जरुरी

काठमाडौं, माघ २० । जाडो मौसमको बेला मुटुरोगको समस्या हुने बिरामीले विशेष ध्यान दिनु जरुरी छ । तल दिएका निम्न बुँदाहरुलाई ध्यान दिनुपर्दछ ।

१. बिहानको चिसोमा मर्निङ वाक नगरौँः

हिजो आज बिहानको मौसम अत्यधिक चिसो हुने भएकोले मर्निङ वाकमा सकभर कोही पनि ननिस्किएको राम्रो । अझ मुटुका बिरामी त चिसोमा निस्कनै हुँदैन । किनकी चिसोको कारणले मुटुका रक्तनलीहरु खुम्चिन गई रगत प्रवाहमा असर पर्छ । जसले गर्दा हृदयघात हुने सम्भावना हुन्छ ।

२. उच्चरक्तचापलाई निगरानी गरौँ: 

उच्च रक्तचापका विरामीहरु चिसो मौसममा थप सर्तक हुनुपर्छ । चिसो मौसममा स्वभावैले रक्तचाप बढ्ने हुनाले हृदयघातको खतरा पनि बढ्छ । तसर्थ यस्ता विरामीहरुले नियमित रुपमा रक्तचाप परीक्षण गरी रक्तचाप नियन्त्रणमा राख्नुपर्छ । यदि रक्तचाप बढेको खण्डमा तत्काल चिकित्सकको परामर्स लिइ औषधिद्धारा नियन्त्रण गर्नुपर्छ ।

३. कोलेष्ट्रेरोल नियन्त्रण गरौंः

उच्च कोलेष्ट्रेरोल पनि हृदयघात गराउने प्रमुख कारक हो । जाडोको बेलामा रगतमा कोलेस्ट्रेरोलको मात्रा बढी देखिने हुँनाले यसलाई घटाउने वा नियन्त्रणको आवश्यकता अनिवार्य छ । त्यसका लागि फाइबरयुक्त खानाको साथै शारीरिक व्यायममा ध्यान दिनुपर्छ ।

४.सुगर नियन्त्रणमै राखौंः

मुटुरोग र सुगरबीच अन्योन्यास्रित सम्वन्ध हुन्छ । मुटुरोगीलाई जस्तै सुगरका बिरामीलाई पनि हृदयघातको सम्भावना उत्तिकै हुन्छ । गर्मीमा भन्दा जाडो मौसममा धेरै खान रुची हुने र कसै–कसैले यसैको फाइदा उठाउदै अनियन्त्रितरुपमा भोजन गर्ने प्रचलनले सुगरको मात्रा ह्वात्तै बढ्छ । यसको असर मुटुमै गई ठोक्किन्छ । त्यसैले मुटुरोगीहरु सुगरको पनि परीक्षण गरि राख्नुपर्छ ।

५. चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग त्यागौंः

कतिपयले जाडो छल्ने बहानामा चिसो मौसममा झनै बढी चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइन्छ । तर त्यो सर्बथा गलत हो । किनकी त्यसै खुम्चिएको रक्तनलीहरुलाई यसको सेवनले थप साँघुरो बनाउछ जसले गर्दा हृदयघातको सम्भावना बढी हुन्छ । त्यसैले मुटुरोगबाट बच्नका लागि सकेसम्म कहिल्यै चुरोट तथा सूर्तीजन्य पदार्थको प्रयोग नगरेको राम्रो ।

६. मदिराको सेवनमा नियन्त्रण आवश्यकः

कतिपयले जाडो मौसममा शरीर तताउन भन्दै अत्यधिक मदिराको सेवन गर्ने गरेको पाइन्छ । त्यो पनि स्वास्थ्यका लागि हानिकारक छ । अत्यधिक मदिराले कोलेष्ट्रेरोल बढ्न जान्छ । अझ अधिकांशले मदिरासंगै अत्यधिक मासु तथा चिल्लो पदार्थको सेवन गर्ने गर्दछन यसले थप असर पार्दछ ।

७. औषधि बन्द नगर्नुसः

कतिपयले प्रेसर र सुगरका औषधिहरु अनियमित रुपमा लिने गरेको पाइन्छ । तर यस्तो गर्नु आफैलाई खतरामा धकेल्नु हो । मुटु, सुगर तथा दमका विरामीका लागि जाडोको समय प्रतिकुल नै हुने भएकोले यस्तो बेलामा औषधिहरुको नियमीत सेवन गरौँ ।

प्रकृतिमुखी जीवनशैली अपनाउँन राष्ट्रपतिको आह्वान

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मानिसले प्राकृतिक स्रोतको अधिक दोहन गरेका कारण पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएको बताउँदै प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवर्धन गर्न सबैमा आह्वान गरेका छन् ।  विश्व वातावरण दिवस २०२४ को शुभकामना सन्देश दिँदै  विकास र वातावरण एकआपसका प्रतिद्वन्द्वी नभई परिपूरक रहेको उनले बताएका हुन् ।राष्ट्रपति पौडेलले प्लास्टिकजन्य फोहोर प्रमुख वातावरणीय चुनौती बन्न पुगेको बताए । उनले सन्देशमा यस दिवसलाई सबैले आफ्नो घर वरिपरिको वातावरण सुधार गर्दै वन, जल, वनस्पति तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई संविधान प्रदत्त स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन प्रण गर्ने दिनका रूपमा लिनुपर्ने उल्लेख गरे। वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्न यस दिवसले थप उत्साह प्रदान गर्ने उनको भनाइ छ । वातावरण संरक्षण तथा सुधारका लागि नेपालले अवलम्बन गरेको नीति तथा कार्यक्रमबाट वातावरणको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको शुभकामना सन्देशमा उल्लेख छ ।  यसैबिच उपराष्ट्रपति रामसहायप्रसाद यादवले दिनुभएको शुभकामना सन्देशमा अव्यवस्थित र अवैज्ञानिक भौतिक पूर्वाधार निर्माण तथा सहरीकरणका नाममा वनजङ्गलको फँडानीले वातावरणलाई सबभन्दा बढी बिगारेको बताउँदै यसतर्फ समयमै सचेत हुन सबैसँग आग्रह गरेका छन् । सन्देशमा उल्लेख छ, “बोटबिरुवा नै नासेर निम्तिने सङ्कट सबैभन्दा भयावह छ । हामीले यो सङ्कट जसोतसो झेलिरहेकै छौँ तर हाम्रा भावीपिढीहरूका लागि यो थप गम्भीर हुन सक्छ ।  यो सङ्कटबाट बच्न गम्भीर, सचेत, सतर्क र सावधान हुन अति आवश्यक छ ।” वृक्षरोपण, वनजङ्गल क्षेत्रको विस्तार, हरितगृह ग्यासहरूको प्रयोगमाथि नियन्त्रण, वातावरणमैत्री उपकरणको उपयोग, जैविक इन्धनहरूको साटो सौर्यरविद्युतीय साधनहरूको प्रयोग गर्दै वातावरणलाई जीवजन्तुमैत्री बनाउन सकिने उनले सुझाव दिएका छन् ।

एमालेले भन्यो-'कांग्रेसले समितिका नाममा सरकार माग्यो'

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसले संसदीय समितिका नाममा सरकार मागेको टिप्पणी गरेका छन्। आइतबार सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकबीचको बैठकपछि उनले कांग्रेसको माग सम्बोधन नहुने बताए। “उहाँहरूले समिति माग गर्नुभएको होइन, सरकार माग गर्नुभएको हो । त्यो सम्भव छैन,” उनले भने । कांग्रेसले उठाएको विषय कानुनसम्मत नरहेको उनले जिकिर गरे । हरेक विषयमा छानबिन समिति बनाउँदै जाँदा सांसद समितिमा मात्र रहनुपर्ने अवस्था आउने उनको भनाइ छ । बर्तौलाले समितिका नाममा कानुन निर्माणको दायित्वबाट सांसद च्युत हुन नसक्ने बताए । उनले कांग्रेसले संसद्लाई बेकामे बनाउन खोजेको आरोप समेत लगाए ।

कालोसूचीमा राख्न २७ ठेकेदार कम्पनीसँग स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन चित्तबुझ्दो नभएका २७ ठेकदार कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ। सार्वजनिक निकायहरुले कालो सूचीमा राख्न सिफारिस गरेका कम्पनी तथा आपूर्तिकर्तालाई यसअघि ३० दिनको म्याद दिएर स्पष्टीकरण मागिएको थियो। तर, उक्त अवधिभित्र स्पष्टीकरण नबुझाएपछि पुनः ७ दिनको म्याद दिएर लिखित स्पष्टीकरण मागिएको कार्यालयले जनाएको छ। यस्तो छ सूचना

चीनमा आँधीका कारण ११ जना बेपत्ता

बेइजिङ । दक्षिणी चीनमा आँधीबेहरीका कारणले एघार जना बेपत्ता भएका छन् । दशौँ हजारलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको राज्य मिडियाले सोमबार जनाएको छ ।   पछिल्लो समयमा गुआङ्गडोङको दक्षिणी प्रान्तमा भारी वर्षा भएकाले नदीहरूको सतह बढ्दा गम्भीर बाढीको डर बढेको छ । यस्तो ‘शताब्दीमा एक पटक मात्र’ हुने राज्य मिडियाले बताएको छ । गुआङ्गडोङका धेरै भागमा लगातारको भारी वर्षाले ११ जना बेपत्ता भएको स्थानीय आपत्कालीन व्यवस्थापन विभागलाई उद्धृत गर्दै राज्य समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । बाढीको जोखिमबाट बचाउन ५३ हजारभन्दा बढी मानिसलाई स्थानान्तरण गरिएको एजेन्सीले जनाएको छ ।  तीमध्ये ४५ हजारभन्दा बढीलाई उत्तरी गुआङ्गडोङ सहर किङयुआनबाट विस्थापित गरिएको थियो । उक्त सहर फराकिलो नदी डेल्टामा सहायक नदी बेई नदीको किनारमा फैलिएको छ ।  सोमबार पनि भारी वर्षा जारी रहने अनुमान गरिएको छ । मौसम विज्ञान अधिकारीहरूले ‘गुआङ्गडोङको तटीय पानीमा आँधीबेहरी र तीव्र हावा’ हङकङ र शेन्जेनलगायत प्रमुख सहरहरूको सिमानामा रहेको समुद्री क्षेत्रमा रहेको पूर्वानुमान गरेका छन् । फुजियान, गुइझोउ र गुआङ्सीलगायत छिमेकी प्रान्तहरू पनि ‘अल्पकालीन भारी वर्षा’ बाट प्रभावित हुने राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ । गुआङडोङ चीनको सघन जनसङ्ख्या भएको प्रान्त हो । यहाँ करिब १२ करोड ७० लाख मानिस बस्छन् ।  जियाङवान सहरमा भारी वर्षाका कारण भूस्खलनमा छ जना घाइते भएका छन् भने धेरैजना प्रभावित भएका छन् । राज्य प्रसारणकर्ता सिसिटिभीको तस्बिरहरूमा खैरो माटोको पर्खालले घरहरू ध्वस्त पार्दा मानिसहरू प्रभावित भई सार्वजनिक खेलकुद कोर्टमा शरण लिइरहेको देखाइएको छ । पर्ल नदीको सहायक नदीहरूमा सोमबार बिहान चेतावनी सीमाभन्दा पाँच दशमलव आठमाथि बाढी आउने सिसिटिभीले रिपोर्ट गरेको छ ।

पूर्वराष्ट्रपति भण्डारी ‘गणतन्त्र गौरव’ बाट सम्मानित

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ‘गणतन्त्र गौरव’ बाट सम्मानित भएकी छन् ।  नेकपा एमालेले भण्डारीलाई ‘गणतन्त्र गौरखबाट सम्मान गरेको हो । नेकपा स्थापनाको ७५ औं वर्ष पुगेको अवसरमा ललितपुरको गोदावरीमा नेकपा एमालेले सोमबार गरेको विशेष समारोहमा उनलाई सम्मान गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई सम्मान गरे । भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति हुन् । नेकपा एमालेको पूर्वउपाध्यक्षसमेत रहेकी उनी २०७२ साल कात्तिक १२ गतेदेखि २०७४ साल फागुन २९ गतेसम्म पहिलो कार्यकाल र २०७४ फागुन ३० देखि २०७९ फागुन २९ गतेसम्म दोस्रो कार्यकाल राष्ट्रपति बनेकी थिइन् ।

गण्डकीमा आज सार्वजनिक बिदा

कास्की। गण्डकी प्रदेश सरकारले यही वैशाख ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।  चैत्र शुक्ल अष्टमी ९चैते दसैँ० का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो । मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेको बिदाको निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले जानकारी दिए। 

भारतले उपहार दियो ३५ एम्बुलेन्स र ६६ स्कुल बस

काठमाडौं । भारतले उपहारस्वरूप नेपालका विभिन्न जिल्लालाई ३५ एम्बुलेन्स र ६६ स्कुल बस दिएको छ । काठमाडौंस्थित भारतीय दूतावासले आइतबार एक कार्यक्रमको आयोजना गरी ती एम्बुलेन्स र स्कुल बस सम्बन्धित संघ–संस्थालाई हस्तान्तरण गरेको हो । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरे । उपहारस्वरूप कुल १०१ सवारीसाधन हस्तान्तरण गरिएको हो । तीमध्ये दुई एम्बुलेन्स भारतीय दूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामै पुगेर जिल्ला प्रमुख अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए । भारतले तीन दशकदेखि आफ्नो स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा एम्बुलेन्स र स्कुल बस उपहारस्वरूप प्रदान गर्दै आएको दूतावासले जनाएको छ । “यो सहयोग स्वास्थ्य तथा शिक्षा सुविधालाई सुदृढ बनाउन नेपालले गरेको प्रयासमा बल पुर्‍याउन र यस्ता सेवामा सहज भौतिक पहुँचलाई सहजीकरण गर्न भारत सरकारले नेपाललाई गर्दै आएको निरन्तर सहयोगको एक हिस्साको रूपमा रहेको छ,” दूतावासले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भारतको नैनीताल दुर्घटना : शव आज नेपाल ल्याइँदै

कञ्चनपुर। भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाटमा सोमबार राति सवारी दुर्घटनामा परी मृत्यु भएका सात नेपालीको शव आज नेपाल ल्याइँदै छ ।  दुर्घटनाको खबरपछि बुवाको शव बुझ्न नैनीताल पुगेका बाँके बैजनाथ गाउँपालिका–८ का प्रमोद थारुले मृतक सबैको शव परीक्षण अस्पतालले गरिसकेको जानकारी दिए । दुर्घटनामा मृत्यु भएका विश्राम थारुका छोरा प्रमोदले मृतकका केही आफन्तहरू शव लिन नैनीताल पुगेका बताए ।  “अस्पतालमा परीक्षणको सबै काम सकेर शव गाडीमा हाल्दैँ छौँ”, नैनीतालबाट प्रमोदले भने, “शवका लागि बरफको व्यवस्था नहुँदा हल्द्धानी पुगेर हाल्ने सल्लाह भएको छ ।”  सवारी दुर्घटनामा परी मृत्यु हुनेमा बाँकेको बैजनाथ–८ का धिरज थारु, उदयराम थारु, विश्राम थारु, तिलकराम थारु, अन्तराम थारु र विनोद थारु र बर्दियाको बाँसगढी नगरपालिका–१, चेपाङका टोपबहादुर बस्नेत रहेका छन् । त्यसैगरी बैजनाथ गाउँपालिका–८ का वडाध्यक्ष भगन थारुले मृतकको शव ल्याउने विषयमा समस्या परे वडा कार्यालयले विपद् व्यवस्थापन कोषबाट रकम खर्च गर्ने व्यवस्था गरिने बताए । “मृतकका आफन्तहरू नैनीताल पुगेर हामीसँग नियमित सम्पर्क गरिरहनुभएको छ”, उनले भने, “नयाँ वर्ष मनाउन घर फर्किरहेका उनीहरू दुर्घटनामा परेपछि सिंगो वडा नै शोकमा छ ।” वडाध्यक्ष थारुका अनुसार दुर्घटनामा परी सोही वडाका स्थानीय दशरथ थारु र शान्ति थारु घाइते भएका छन् । उनीहरूको भारतमै उपचार भइरहेको छ । सो दुर्घटनामा परी सात नेपाली नागरिकसहित जीप चालक भारतीय नागरिकसहित आठजनाको मृत्यु भएको थियो । घटनास्थल वरपर नै उनीहरू सडक छेउमा खानेपानीको पाइप विछ्याउने काम गर्दथे । सोमबार काम सकिएपछि जीप भाडामा लिएर टकनपुर आउने तयारीमा रहेका उनीहरू चढेको केही बेरमै दुर्घटना भएको थियो । रासस

पूर्वमन्त्री खान सवार गाडि दुर्घटना, उपचार हुँदै

काठमाडौँ । पूर्व खानेपानी मन्त्री एवं उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान सवारी दुर्घटनामा परी घाइते भएका छन् । जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्षसमेत रहेका खान काठमाडौँदेखि बर्दिया जाने क्रममा आज बिहान धादिङको रोराङ गाउँपालिका ७ स्थित कृष्णभिरमा दुर्घटनामा परेको स्वकीय सचिव ई अतिउल्लाह मुसलमानले बताए। खानलाई दुर्घटना स्थलबाट उद्धार गरी काठमाडौँ ल्याइएको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ ।

राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा तीन तहबीच राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन गर्न राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले कार्य प्रारम्भ गरेको जानकारी गराएका छन् ।  राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि राष्ट्रियसभाका सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले तीन तहबीच राजस्व बाँडफाँटका सम्बन्धमा उठेका विभिन्न सवालका विषयमा काम सुरु भएको बताए।  “वित्त आयोगले सरकारलाई पाँच वर्षका लागि राजस्व बाँडफाँटसम्बन्धी सिफारिस गरेबमोजिम काम भइरहेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसबीचमा तीन तहबीच राजस्व बाँडफाँटका सम्बन्धमा उठेका विभिन्न सवाल र अनुभवसमेत समेटेर विद्यमान मापदण्डलाई थप वस्तुनिष्ठ, व्यवहारिक एवं वैज्ञानिक बनाई राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग ऐन २०७४ को दफा १५ बमोजिम आगामी आर्थिक वर्षमा बाँडफाँटका सूचकहरू पुनरावलोकन गर्न आयोगले कार्य प्रारम्भ गरिसकेको छ ।”  आगामी दिनमा तीन तहबीच श्रोतको न्यायोचित वितरण सुनिश्चित हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तहगत सरकारबीच प्राकृतिक श्रोतको बाँडफाँट तथा उपयोगका सन्दर्भमा देखिएका विवादहरू समाधान गर्न प्राकृतिक स्रोत परिचालनसम्बन्धी एकीकृत कानुनको मस्यौदा कार्य अगाडि बढाइएको बताए । वित्तीय सङ्घीयतालाई थप सुदृढ गर्न सरकारले गम्भीरतापूर्वक कार्य अघि बढाएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसै साता वित्तीय सङ्घीयताका क्षेत्रमा अवलम्बन गरिएका अभ्यासलाई संविधानको मर्मअनुरूप सुदृढ गर्न राष्ट्रिय समन्वय समिति एवं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा छलफल गरिएको जानकारी गराए । “प्रदेश र स्थानीय तहमा गरिने वित्तीय हस्तान्तरणसम्बन्धी कार्य थप प्रभावकारी समन्यायिक र सन्तुलित बनाउँदै लगिनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “हाल प्रदान गरिँदै आएका चार प्रकारका अनुदानहरूमध्ये समानीकरण अनुदानलाई क्रमशः वृद्धि गर्ने, सशर्त अनुदानलाई घटाउँदै जाने नीति  सरकारले लिनेछ । समपूरक र विशेष अनुदानलाई समेत थप प्रभावकारी बनाउँदै लगिनेछ ।” उहाँले तीन तहबीच राजस्वको अधिकारका सम्बन्धमा सङ्घीयता कार्यान्वयनका लागि गठन भएका विभिन्न उच्चस्तरीय संरचनाहरूको नियमित बैठकमा आएका सुझाव समेत ध्यानमा राखेर वित्तीय सङ्घीयतालाई प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पहल भइरहेको बताए ।  प्रधानमन्त्री प्रचण्डले भने “हाल प्रचलित अन्तरसरकारी वित्त व्यवस्थापन ऐनलाई समसामयिक बनाउन संशोधनको प्रक्रियासमेत अघि बढेको छ । यसले तीन तहबीच राजस्व बाँडफाँटमा देखिएका विद्यमान समस्या समाधान गर्नेछ ।”

वन तथा वातावरण राज्यमन्त्रीमा दीपक कार्कीले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जसपाका सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले आज दिउँसो ३ बजे कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदवारमा राज्यमन्त्रीको शपथ खुवाए । जसपाले यसअघि नै धनुषा १ बाट निर्वाचित कार्कीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।  

कमेडी च्याम्पियनका निर्देशक भण्डारी रिहा

काठमाडौं । मदिरा सेवन गरी कार चलाएर दुर्घटना गराएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका ‘कमेडी च्याम्पियन’ का निर्देशक विशाल भण्डारी रिहा भएका छन् । टेलिभिजन रियालिटी शो ‘कमेटी च्याम्पियन’ का निर्देशक भण्डारी शनिबार साँझ घाइतेका परिवारसँग कागज गराएपछि हाजिरी जमानीमा हिरासतमुक्त भएका हुन् ।  जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद विष्टले घाइतेका परिवारसँग राखेर छलफल गरी सम्पूर्ण उपचार खर्च बेहोर्ने गरी कागज भएपछि भण्डारी हाजिर जमानीमा छुटेको जानकारी दिए ।  दुर्घटनामा कारमा सवार कमेडियन सुशान्त बस्याल गम्भीर घाइते भएका छन् । उनको टाउकाको अपरेसन गरिएको र अहिले पनि आईसीयुमै रहेका छन् । एसपी विष्टले दुर्घटनाका घाइतेको अवस्था सुधारोन्मुख देखिएकाले छाडिएको र भोलि तलमाथि भएको अवस्थामा सवारी ज्यानको मुद्दा समेत चल्न सक्ने बताए । बिहीबार निर्देशक भण्डारीले चलाएको बा १ २६ ३५९ नम्बरको कार नगरकोटबाट फर्किंदै गर्दा भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो ।  कारमा निर्देशक भण्डारीसँगै पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई सवार रहेकोमा बाँकी सबैको अवस्था सामान्य भएर डिस्चार्ज भए पनि सुशान्तको अवस्था अझै गम्भीर रहेको छ । 

कोसी र मधेस प्रदेशमा बिहानैदेखि वर्षा, यस्तो छ अन्य क्षेत्रको मौसम

काठमाडौं ।देशका केही भू–भागमा आज सामान्य वर्षाको सम्भावना रहको छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहँदा केही भू–भागमा वर्षाको सम्भावना रहेको हो।  जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोसी र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ । विभागले दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, मधेस र वाग्मती प्रदेशको थोरै स्थानमा साथै बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।  कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।  कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।  कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सिंहदरबार बाहिर प्रदर्शन गर्ने नेविसंघ कार्यकर्ता नियन्त्रणमा

काठमाडौं । नेपाली कांग्रेसनिकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका १५ जना कार्यकर्ताहरु पक्राउ परेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेपछि नेविसंघका कार्यकर्ताहरु काठमाडौंको सिंहदरबार बाहिरबाट पक्राउ परेका हुन् । नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्री लामिछानेको नैतिकता खै ? दुलोभित्र पसेको हो ?, सहकारी पीडितलाई न्याय खै ? लगायतका व्यानर बोकेर सिंहदरबार बाहिर प्रदर्शन गरेका थिए । प्रदर्शनकै क्रममा उनीहरु पक्राउ परेका हुन् । सिंहदरबार वरपर निषेधित क्षेत्र घोषणा गरिएकाले प्रदर्शन गर्न निषेध छ ।

उदयपुरका माओवादी नेता अनिलको निधन

विराटनगर । नेकपा माओवादी केन्द्रका जनयुद्धकालिन पुराना नेता भीमबहादुर अधिकारी अनिलको निधन भएको छ ।  लामो समयदेखि उपचाररत उनको क्यानसर रोगका कारण निधन भएको माओवादी उदयपुरका नेता विवश कटुवालले जानकारी दिए ।