सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरू भएको हो।

नयाँ सत्तासमिकरण बनेसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिएपछिको यो पहिलो बैठक हो ।

 आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकार सञ्चालन, विश्वासको मत लिने लगायतको विषयमा केन्द्रीत हुने बताइएको छ ।

आयोगहरूको संयुक्त परामर्श बैठक जारी

काठमाडौ। नेकपा माओवादी केन्द्रको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको आजदेखि सुरु भएको संयुक्त परामर्श बैठक पेरिसडाँडामा जारी छ। केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्तावेज लेख्नुअघि विभिन्न तहका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो। बैठकमा केन्द्रीय पदाधिकारीसहित तीनवटै आयोगका प्रमुख र सदस्यहरुको सहभागिता रहेको छ । अहिलेसम्म माओवादी केन्द्रले बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा परामर्श बैठक सम्पन्न गरिसकेको छ।  बैठकको सुरुमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेर सम्बन्धित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको रायसुझाव लिने गर्नुभएको छन् । बैठकमा उपमहासचिवसम्मका केन्द्रीय पदाधिकारीले पनि सम्बोधन गर्ने गर्नुभएको छ ।  प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर संगठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रले जनाएको छ ।

काठमाडौंका यी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध

काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा आज विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।  बलम्बु सहायक वितरणक केन्द्रको थानकोट फिडर अन्तर्गतका क्षेत्रमा बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत् सेवा अवरूद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।  थानकोट फिडर अन्तर्गत बलम्बु विद्युत् कार्यालय, गुर्जुधारा, दाउराडीपो, राधाकृष्ण टोल, हाइभिजन कोलोनी, सिर्जना चोक, खहरे बसपार्क, इन्द्रथान, श्रीकृष्ण स्कुललगायत क्षेत्रमा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।  

रास्वपाको दुई दिने बन्द कार्यशाला जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई दिने बन्द कार्यशाला जारी छ। केन्द्रीय कार्यालय वनस्थलीमा आजमा सुरु भएको कार्यशाला भोलिसम्म चल्नेछ ।   कार्याशालाले पार्टीको रणनीति तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको पार्टीका कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभाग सदस्यसहित ५० जना सहभागी हुनेछन्। साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरूलाई रणनीतिक रूपमा क्षमता अभिवृृद्धि गर्न सघन प्रशिक्षण र आगामी अभियानका लागि दुई दिने बन्द कार्यशाला सञ्चालन गर्ने निर्णय गरेको थियो । 

रास्वपा सांसद चौधरीले सरकारको आलोचना गरेपछि सभामुख भने-'खास विषयमा धारणा राख्नस्'

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले सरकारको आलोचना गर्न थालेपछि रुलिङ गरेका छन् ।  मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोलेका चौधरीले कुनै खास विषयमा आफ्नो भनाई नराखी सरकारका कामहरूको आलोचना गरेपछि सभामुख घिमिरेले विषय केन्द्रित भएर बोल्न निर्देशन दिए।  सांसद चौधरीले सरकारको आलोचना गर्दै भने, ‘सरकार रेमिट्यान्सको लोभमा फसेको छ, कन्सल्टेन्सीहरुलाई पैसा कमाउनु परेको छ । ३० जना श्रमिक मजदुरहरू साउदी अरबमा बन्दी भएर बस्नुपरेको छ, ती नेपालीलाई नेपाल फिर्ता ल्याउन र दोषीलाई कारबाही गर्न माग गर्दछु । यो सरकार संविधान विरोधी सरकार बन्न पुगेको छ । यसको सुरुवात मन्त्रीपरिषद् गठनदेखि सुरु भएको थियो । अहिले मन्त्रीपरिषद् गठनपछि पछिल्लो निर्णय गर्दा १८ देशमा राजदूत सिफारिस गर्दा र ३ वटा प्रदेशमा प्रदेश प्रमुख फेरिँदा र मन्त्रालयमा २२ सचिवको सरुवा हुँदा एउटा पनि मधेसी, थारु, दलित, मुस्लिम र पिछडिएका क्षेत्रका नहुनु दुर्भाग्यपूर्ण छ ।’ सांसद चौधरीले यति बोलेपछि सभामुख घिमिरेले आकस्मिक समयमा के बोल्न चाहेको हो विषयमा केन्द्रित रहन गम्भीरतापूर्वक ध्यानाकर्षण गराएको बताए।

प्रधानमन्त्रीले बिचौलियाको प्रभावमा परेर विद्युत् लाइन जोड्न निर्देशन दिनुभयो : सांसद दाहाल

काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले उद्योगहरूको बिजुली प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले झुटो बोलेको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा सांसद दाहालले यस्तो आरोप लगाएका हुन्। सांसद दाहालले विद्युत् महसुल नतिर्ने तर अकुत मुनाफा कमाउने ६१ वटा उद्योगले २२ अर्ब २६ करोड तिर्नुपर्ने भएपनि प्रधानमन्त्रीले बिचौलियाको प्रभावमा परेर विद्युत् लाइन जोड्न निर्देशन दिएको बताए। पहिलो अवधि र पछिल्लो अवधिको १४ अर्ब रुपैयाँ महसुलबारे अदालतमा मुद्दा विचारधीन रहेको उनले बताए। बाँकी ८ अर्ब २६ करोडको मुद्दामा जिल्ला अदालत र उच्च अदालतले असुलउपर गर्ने आदेश दिइसकेको उनले बताए। दाहालले संसद्को सार्वजनिक लेखा समितिले पनि असुलउपर गर्न आदेश दिएको बताए। ‘महालेखाको प्रतिवेदन, लाल आयोगको प्रतिवेदनको आधारमा तत्कालीन मन्त्रिपरिषद्ले ८ अर्ब २६ करोड उठाउने निर्णय गरिसकेको छ’, उनले भने, ‘यसैको जगमा विद्युत् प्राधिकरणले लिखित पत्र पटक(पटक दिँदा पनि विद्युत् महसुल तिर्न अस्वीकार गरेपछि लाइन काटिएको छ।’ सांसद दाहालले बिचौलियाको प्रभावमा विद्युत् लाइन जोड्ने र मिनाहा गर्ने प्रधानमन्त्रीले घोषणा गरेकोमा आपत्ति जनाए।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा महासेठ

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई तोकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्नु अघि प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्यका लागि उपप्रधानमन्त्री महासेठलाई जिम्मेवारी तोकिएको हो। राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री महासेठले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  

कार्यादेशमा सहमति जुटाउने प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेशमा सहमति जुटाउन प्रयासरत छन् । पूर्वनिर्धारित मन्त्रिपरिषद्को बैठक स्थगित गरी प्रधानमन्त्री प्रचण्डले भोलि(जेठ १५ गते) सार्वजनिक हुने आगामी आर्थिक वर्षको बजेट भाषण अगाडि नै दलदहरुबीच सहमति बनाउने प्रयासमा जुटेका हुन् । सोमबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन भएपछि सत्तारूढ दलबाट प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री एंव रास्वपा सभापति रबि लामिछानेबीच बालुवाटारमा छलफल गरेका थिए ।  भने कांग्रेसले पनि हालका पदाधिकारी र पूर्व पदाधिकारीहरूबीच बूढानीलकण्ठमा छलफल गरेको थियो । त्यस लगत्तै प्रधानमन्त्री प्रचण्ड संसदीय समितिको कार्यादेश (टीओआर) तय गर्न बनेको समतिसँग गृहमन्त्री सहित छलफलमा छन् । स्रोतका अनुसार आजै सहमति गर्ने गरी छलफल अगाडि बढेको छ ।

संघीय सरकारद्वारा साढे ५ वर्षमा ३५ सय किलोमिटर सडक कालोपत्रे

काठमाडौं । संघीय सरकारले साढे पाँच वर्ष बढी समयमा ३५ सय किलोमिटर सडक कालोपत्रे गरेको छ। आइतबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार सरकारले २०७६ असारदेखि २०८० फागुनसम्म ३ हजार ५४६ किलोमिटर सडक कालोपत्रे गरेको हो । सर्वेक्षणअनुसार २०८० फागुनसम्म संघीय सरकारले ७६९७ किलोमिटर खण्डास्मित र ८३२९ किलोमिटर सडक निर्माण गरेको छ । तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षको फागुन महिनासम्म जम्मा १८९ किलोमिटर सडक कालोपत्रे गरेको छ । 

बालुवाटारको छलफल सकारात्मक

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा छलफल सकारात्मक भएपनि भने भएन।  शुक्रबार टीओआरमा सहमति खोज्न बसेको बैठकमा सकारात्मक छलफल भएको नेताहरुले बताएका हुन्।यद्यपि बैठक सकारात्मक भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए।   उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्नको लागि संसदीय समितिको टीओआर बनाउने विषयमा छलफल गरेर कांग्रेसका नेताहरू बाहिरिए भने सत्तापक्षका शीर्ष नेताहरू अहिले पनि छलफलमै छन्।  

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती, कोशी गण्डकी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।त्यस्तै आज राती देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। आज सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५१ मिनेटमा हुनेछ ।

सहकारी प्रकरणमा समिति बनाउन कांग्रेस तयार भएन :  गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा समिति बनाउन कार्यदल नै बनाइसकेको अवस्थामा अहिले कांग्रेस नै तयार नदेखिएको बताएका छन् । सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रतिनिधि सभामा बोल्ने क्रममा उनले सो कुरा बताएका हुन् ।  सहकारी पीडितलाई न्याय दिने गरि सरकारले काम गर्ने बताउँदै उनले संसदमा सम्बोधन गर्ने क्रममा आफूले कसैलाई धम्की नदिएको बताए। उनले आफूले सहकारीमा आफूजस्तै अरु प्रकरणमा अरुको नाम पनि सञ्चारमाध्यममा आएको दृष्टान्त दिएको प्रष्टीकरण दिए।समाचारमा आएकै भरमा आफूमाथि छानबिन गर्ने हो भने अरुमाथि पनि छानबिन गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको उनको भनाइ छ । लामिछानेले गिरीबन्धु प्रकरणमा छानबिन गरी दोषीलाई कारबाही गर्न आफू तयार रहेको बताए ।गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा कांग्रेसले गरेको अवरोध लोकतन्त्रको भद्दा मजाक भएको टिप्पणी गरे । विश्वासको मत कहिले लिने अधिकार प्रधानमन्त्रीको भएको उनले बताए ।

राष्ट्रपतिद्वारा खाद्य गुणस्तरसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए। सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि सो विधेयक राष्ट्रपति कार्यालयमा पेश भएको थियो ।

सुप्रिम सहकारी ठगी प्रकरण : दिपेश पुनसहित ६ जनासँग धरौटीमा रिहा

बुटवल । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले ६ जनासँग धरौटी माग गरेको छ । रुपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।  न्यायाधीश डा दीपक उप्रेतीको इजलासले दीपेश कुमार पुनसँग ४ लाख धरौटी माग गरेको छ। यस्तै नविन अछामीसँग १० लाख, दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग पनि २ लाख धरौटी माग गरेको छ। उक्त धरौटी रकम बुझाएपछि उनीहरु रिहा हुनेछन्।  त्यसैगरी,ओम प्रकाश गुरुङलाई भने थुनामा पठाउन अदालतले आदेश दिएको छ । यस्तै कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाउने आदेश हुँदा जीबीराईसहितका अन्य प्रतिवादीहरुविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छ ।

विष्णुदेवीलाई राष्ट्रियसभा उपाध्यक्षको उमेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्ष उमेदवार बनाउने भएको छ । आज बसेको संसदीय दलको बैठकले पुडासैनीलाई निर्णय गरेको हो । माघमा भएको राष्ट्रियसभा निर्वाचन महिला क्लस्टरका सात जनामध्ये वाग्मती प्रदेशबाट पुडासैनी निर्वाचित भएकी हुन् । २०३३ सालमा पद्मकन्या क्याम्पसमा पढ्दादेखि नै उनी राजनीतिमा सक्रिय भएकी थिइन् । २०४९ सालमा काठमाडौंको तत्कालीन भद्रबास गाविसको अध्यक्षमा पनि निर्वाचित भएकी  उनी ७३ वर्षकी भइन् ।  

संसदका तीन समितिको बैठक बस्दै, यस्तो छ कार्यतालिका

काठमाडौँ । सङ्घीय संसद् अन्तरगत तीन समितिको बैठक आज बस्ने भएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र दुवै सभाको संयुक्त समिति संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ ।  बिहान १० बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित महालेखापरीक्षक तोयम रायाका विषयमा संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने तयारी छ । संवैधानिक परिषद्बाट सिफारिस भएका रायाका विषयमा आजको बैठकले संसदीय सुनुवाइ अघि बढाउने छ । यस्तै, नेपाल वायु सेवा निगमबाट हालसम्म भएका कामकारबाहीका सम्बन्धमा छलफलका लागि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक पनि आज बिहानका लागि बोलाइएको छ । बैठक ८ बजे सुरु भएको छ ।  यस्तै, राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा शिक्षा सम्बन्धी विषयमा मन्त्रालयबाट भएका काम कारबाही, समस्या र भावी कार्ययोजनाबारे छलफल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।