पर्यटन मन्त्री हितबहादुर तामाङद्धारा पदभार ग्रहण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पदभार ग्रहण गरेका छन् ।

सिंहदरवारस्थित मन्त्रालयमा पुगेर मन्त्री तामाङले पदभार ग्रहण गरेका छन् । 

पदभार ग्रहण गर्ने क्रममा उनले हवाई नीति २०६३ संशोधन गर्न सुझाव दिनका लागि सम्बन्धित महाशाखा प्रमुख एवम् सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

काठमाडौँतराई द्रुतमार्ग : ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’

निजगढ, फागुन ५ गते । राष्ट्रिय गौरव एवम् रणनीतिक महत्वको काठमाडौँ–तराई(मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको छ ।  मुआब्जा वितरण तथा जग्गा अधिग्रहण हुन बाँकी खोकना क्षेत्र र अदालतमा मुद्दा परेका ठेक्का प्रक्रियामा बाहेक कामको प्रगति सन्तोषजनक रहेको नेपाली सेनाका प्राविधिक सहायक रथी तथा आयोजना प्रमुख विकास पोखरेलले जानकारी दिए। “ठेक्का लागिसकेका काममा प्रगति राम्रो छ । केही खरिद प्रक्रिया टुङ्गिन बाँकी छन् । मुद्दा मामिलामा पनि गएका छन् । तर हामीले तोकिएको समय २०८३ चैतसम्ममा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखेका छौँ”, उनले भने । खरिद प्रक्रियालाई लिएर पाटन उच्च अदालतमा दायर भएको मुद्दाको चाँडो निरूपण भएर काम अघि बढ्न सके तोकिएको समयभित्रै काम सम्पन्न हुने उनको भनाइ छ । राष्ट्रिय गौरवको आयोजनामा आइपर्ने कानुनी, प्रशासनिक तथा अरू कठिनाइलाई प्राथमिकताका साथ चाँडो टुङ्ग्याउन सक्नुपर्ने पोखरेल बताउँछन् । करिब ७१ किलोमिटर लम्बाइ रहेको सो आयोजना काठमाडौँमा चार दशमलव छ, ललितपुरमा ९, मकवानपुरमा ४९ दशमलव ७० र बारामा सात दशमलव छ किलोमिटर पर्दछ । आयोजनाको कूल १३ निर्माण प्याकेज रहेकामा प्याकेज नम्बर १ देखि ७ र १० को  खरिद प्रक्रिया सम्पन्न भई कार्यान्वयनको चरणमा छ । प्याकेज नम्बर ८ (क), ८ (ख), ९ (क) र ९ (ख) को भने खरिद प्रक्रिया नै विवादित छ । पटक–पटक ठेक्का आह्वान गर्दा पनि यी चार प्याकेजको खरिद प्रक्रिया टुङ्गिन सकेको छैन । अहिले यसको मुद्दा पाटन अदालतमा विचाराधीन छ ।  त्यसैगरी, प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना क्षेत्रमा द्रुतमार्गको सुरु विन्दु निर्धारण, सो क्षेत्रको सवारी आवागमन व्यवस्थापन र जग्गा अधिग्रहण विवाद समाधान गर्न बाँकी छ । यही कारणले सो क्षेत्रमा आयोजनाको खरिद प्रक्रिया सुरु हुन सकेको छैन । अहिले आयोजनाको करिब ९५ प्रतिशत प्याकेज कार्यान्वयन तथा खरिद प्रक्रियामा गइसकेको आयोजनाको अपरेसन तथा कार्यान्वयन महाशाखा प्रमुख इन्दिवर गुरुङ बताए ।  खरिद प्रक्रियामा गइसकेका काममा मुख्यगरी सुरुङमार्ग र पुल निर्माणको काम धमाधम भइरहेका छन् । अहिले निर्माणाधीन तीन सुरुङमार्गको कुल लम्बाइ ६ दशमलव ४१५ किलोमिटरमध्ये चार दशमलव ३२५ किलोमिटर अर्थात् ६७ दशमलव ४३ प्रतिशत खन्ने काम सकिएको छ । लेनडाँडा सुरुङमार्ग आगामी वर्ष वैशाखभित्र, धेद्रे सुरुङमार्ग जेठभित्र र महादेवटार सुरुङमार्ग आगामी वर्ष असोज तथा कात्तिकभित्र ‘ब्रेक थ्रु’ गरिसक्ने गरी काम भइरहेको आयोजनाका इन्जिनियर विनायक शर्माले जानकारी दिए । एउटा सुरुङमार्गमा हरेक दिन औसत तीन मिटर हाराहारी खन्ने काम भइरहेको उनको भनाइ छ । महादेवटार सुरुङमार्गको लम्बाइ तीन दशमलव ३५५ किलोमिटरमध्ये हालसम्म एक दशमलव ९४८ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ । त्यसैगरी, धेद्रे सुरुङमार्गको कुल लम्बाइ एक दशमलव ६३ किलोमिटरमध्ये हालसम्म एक दशमलव १७३ किलोमिटर सुरुङ खनिसकेको छ । लेनडाँडा सुरुङमार्गको स्वीकृत विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) बमोजिम कुल लम्बाइ एक दशमलव ४३ किलोमिटर रहेकामा हालसम्म एक दशमलव २०४ किलोमिटर सुरुङ खनिएको छ । आयोजनाको ६ स्थानमा सुरुङमार्ग छन् । सबै सुरुङमार्गको कुल लम्बाई १० दशमलव ५५ किलोमिटर छ । यसमा देवीचौरी सुरुङ एक किलोमिटर, सिसौँटार सुरुङ शून्य दशमलव ३९, चन्द्राम भीर सुरुङ दुई दशमलव २५, महादेवडाँडा सुरुङ तीन दशमलव ३५५, धेद्रे सुरुङ एक दशमलव ६३० तथा लेनडाँडा सुरुङ एक दशमलव ४३० किलोमिटर छ । त्यसैगरी, आयोजनामा कुल ८९ पुल बन्नेछन् । यसको कुल लम्बाइ १२ दशमलव ८८५ किलोमिटर हुनेछ । बुदुनेमा दुई विश्रामस्थल बन्नेछन् भने खोकना, बुदुने र निजगढमा इन्टरचेञ्ज बन्नेछन् । त्यस्तै, टोलप्लाजा पनि खोकना, बुदुने र निजगढमा बन्नेछन् । हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज नम्बर १ देखि ७ सम्मका पुलअन्तर्गत रहेका कुल दुई दशमलव ८०२ पाउन्डेसन फाइलमध्ये एक दशमलव ६६५ पाइल निर्माण कार्य सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । द्रुतमार्गको सडकको चौडाइ पहाडी भू–भागमा २५ मिटर र तराई भू–भागमा २७ मिटर रहेको छ । आयोजना निर्माणका लागि अधिग्रहण गर्नुपर्ने कुल १५ हजार चार सय १६ रोपनी जग्गामध्ये सरकारी जग्गा १० हजार दुई ४४ र व्यक्तिगत जग्गा पाँच हजार एक सय ७२ रोपनी रहेको छ । अधिग्रहणको सूचनामा प्रकाशित व्यक्तिगत जग्गा पाँच हजार एक सय ७२ रोपनीमध्ये हालसम्म चार हजार सात सय ७७ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । तीन सय ९५ रोपनी जग्गा अधिग्रहण हुन बाँकी रहेको नेपाली सेनाले जनाएको छ । खोकना–बुङ्गमती क्षेत्रमा दुई सय १४ रोपनी जग्गाको मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी छ भने एक सय ६५ रोपनी जग्गाको मूल्य निर्धारण हुन सकेको छैन । यो क्षेत्रमा कुल तीन सय ७९ रोपनी जग्गा अधिग्रहण हुन बाँकी छ । आयोजनाका लागि हालसम्म कटान गरिएका रुखको बदलामा एक अनुपात २५ का दरले वृक्षारोपण गरिएको  सेनाले जनाएको छ । आयोजनाका लागि कूल सात लाख चार हजार चार सय ४० बिरुवा रोप्नुपर्नेमा हालसम्म जम्मा सात लाख पाँच हजार पाँच सय ५२ बिरुवा रोप्ने कार्य सकिएको छ । मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयअनुसार राष्ट्रिय गौरव एवं रणनीतिक महत्त्व बोकेको यो आयोजनाको निर्माण व्यवस्थापनको जिम्मेवारी सेनाले पाएको थियो । आयोजनाको २०७४ जेठ १४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा शिलान्यास गर्नुभएको थियो । विसं २०७४ साउन २७ गते सडक विभागबाट नेपाली सेनालाई आयोजना हस्तान्तरण भएको थियो । सोही वर्ष मङ्सिरदेखि नेपाली सेनाको जनशक्ति तथा राष्ट्रियस्तरका निर्माण व्यवसायीमार्फत द्रुतमार्गको ट्र्याक निर्माणको काम थालिएको थियो । गत वैशाखमा आयोजना सम्पन्न हुने समयावधि बढाएर २०८३ चैत मसान्तसम्म पुर्‍याइएको थियो । त्यस्तै, गत साउनमा आयोजनाको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन स्वीकृत भएको थियो । यसबाट लागत घट्ने अनुमान गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट २०८० साउन ३० गते स्वीकृत भएको आयोजनाको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बमोजिम आयोजनाको कुल लम्बाइ ७० दशमलव ९७७ किलोमिटर छ । यो आयोजनाको प्रस्थान विन्दु खोकना हो भने अन्तिम विन्दु निजगढ हो । विसं २०७८ वैशाख ३१ गते प्याकेज नम्बर १ र २ को निर्माण व्यवसायीसँग पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सम्झौता भई जेठ ३१ गतेदेखि निर्माण सुरु भएको हो ।गोरखापत्रबाट ।   

काठमाडौं–सुर्खेत हवाई उडानको भाडा निर्धारण

काठमाडौं, चैत्र २५ । काठमाडौं–सुर्खेत सिधा हवाई सेवाका लागि भाडादर तोकिएको छ । लामो समयदेखि अवरुद्ध काठमाडौं–सुर्खेत हवाई सेवा केही दिनअघिदेखि सुचारु भएको हो । कर्णाली प्रदेशलाई हवाइमार्गबाट काठमाडौंसँग जोड्न केही समय पहिलो मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पहल गरेका थिए । नयाँ भाडादर अनुसार काठमाडौंबाट सुर्खेत सात हजार पाचँ सय र सुर्खेतबाट काठमाडौं सात हजार चार सय भाडादर कायम गरिएको छ। यसअघि सुर्खेत काठमाडौं सिधा हवाई सेवा नहुँदा सेवाग्राहीले सास्ती भोग्दै आएका थिए । सुर्खेतबात काठमाडौ जादाँ वा काठमाडौंबाट सुर्खेत जादा यात्रुले नेपालगञ्जसम्म हवाई सेवा उपयोग गर्दथ्ये । तर सिधा हवाई सेवा शुरु भएपछि यात्रा सहज र छिटो भएपनि यात्रुले मंहगो भाडा तिर्नु पर्ने भएको छ । अहिले बुद्ध एयरले र नेपाल एयरलाइन्सले काठमाडौं–सुर्खेत सिधा हवाई सेवा शुरु गरेका छन् ।

नेपालमा वैदेशिक लगानी बढाएर सहयोग गर्न स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार शिष्टाचार भेटका लागि आज प्रधानमन्त्री निवास बालुवाटारमा आएकी नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेसँग प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि वैदेशिक सहयोग उत्प्रेरक हुने बताए। उनले समावेशी लोकतान्त्रिक संरचनाको विकासका लागि स्वीट्जरल्याण्डको अभ्यास स्थापित भएको उल्लेख गर्दै नेपाल सरकारले लोकतन्त्रको सबलीकरण गर्दै राज्यका संरचनालाई भुइँतहका जनताप्रति उत्तरदायी बनाउने प्रयत्न गरिरहेको बताए।  प्रधानमन्त्री ओलीले प्रत्यक्ष वैदेशिक लगानी बढाउन सरकारले आवश्यक सुधारात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै हालै सम्पन्न नेपाल लगानी सम्मेलनमा ५० मुलुकबाट उत्साहजनक सहभागिता भएको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ। नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएकाले विकास साझेदारबाट सहयोग अभिवृद्धिको अपेक्षा व्यक्त गरे।  प्रधानमन्त्री ओलीले नेपालको विकासमा निरन्तर सहयोग, कोभिड—१९ को रोकथाममा सहयोग तथा शान्ति प्रक्रियामा सहयोग र सद्भावका लागि स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद दिए। प्रधानमन्त्री ओलीले गत जुलाइमा राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्याण्ड भ्रमण र सन् २०१९ मा आफू प्रधानमन्त्री हुँदा डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चमा सहभागिताको स्मरण गर्दै यस्ता उच्चस्तरीय भ्रमण र बैठक आदानप्रदानबाट आपसी सम्बन्धमा नयाँ आयाम थपिने बताए।  राजदूत डानियलले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको लागि बधाई र शुभकामना दिँदै दुईपक्षीय पारस्परिक हित तथा सहयोग र सहकार्यलाई निरन्तरता दिने विश्वास दिलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका अवसरमा प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी थिए ।  

तीनवटा संसदीय समितिको बैठक बस्दै,यस्तो कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसीय समितिको बैठक बस्दै छ ।  विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।  विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको आर्थिक वर्ष २०८१र०८२ को वार्षिक कार्ययोजनाका विषयमा छलफल हुनेछ।  विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ। बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल गर्ने कार्यसूची छ।  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको वार्षिक कार्ययोजनामाथि छलफल हुनेछ । बैठक  बिहान ११ः३० मा सुरु हुनेछ। 

प्रचण्डको ब्रिफिङ– 'गठबन्धन लामै समय जान्छ'

काठमाडौं । प्रधानमन्त्री पुष्पकल दाहाल ‘प्रचण्ड’ले समीकरण फेरिन हल्ला यथार्थ नभएको ब्रिफिङ गरेका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकमा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता सकारात्मक भएको बताएका छन्।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीले यो गठबन्धन लामै समय जाने बताएको जानकारी दिइन् । “बाहिर असझदारी भए भन्ने चर्चा परिचर्चा, हल्ला छन् । ती सबै कुरा असत्य हुन् । त्यस्तो छैन । हाम्रो छलफल अत्यन्तै सकारात्मक ढंगले अघि बढिरहेको छ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भनिन्, “यो गठबन्धन लामै समय जाने स्थिति बनेको छ भनेर प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएको छ ।”  उनले सरकार यसरी नजाओस् भन्नेहरूले गलत सूचना फैलाएको दाबी गरिन् । उनले अहिले राष्ट्रिय सरकारको कुरा नभएको जिकिर गरिन् ।

सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १६०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ४२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार छापावाल सुन तोलामा एक लाख ४१ हजार २०० रुपैयाँ र  तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर तोलाको १८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आजको प्रतिनिधि सभा बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले मंगलबार पत्रकार सम्मेलन गर्ने भएको छ।संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा मंगलबार अपराह्न पत्रकार सम्मेलन हुनेछ। बजेट पेस गर्ने संयुक्त बैठक (प्रतिनिधि सभा र राष्ट्रिय)पछि प्रतिनिधि सभा बैठक बस्नेछ।उक्त बैठक सकिएपछि कांग्रेसले संसद भवन परिसरमै पत्रकार सम्मेलन गर्ने भएको हो। संघीय संसद भवन परिसरमा मंगलबार अपराह्न प्रमुख सचेतक रमेश लेखकले पत्रकार सम्मेलन गर्ने

पारित भयो मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम

काठमाडौं। राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ। आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको हो। बजेटसँगै संसदमा टेवुल हुने भएकाले हरेक वर्ष वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालिन खर्च संरचना बनाएर राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गर्ने गरेको छ।  आयोगका अनुसार सरकारले ल्याउने बजेटमा वित्तीय अनुशासन कायम हुने, विनयोजन दक्षता पूर्ण रुपले पालना हुने, संस्थाहरूले गर्ने खर्चको क्षमता अनुसार नै बजेट विनियोजन गर्ने गरी सुनिश्चित गरिएको छ।  बैठकममा प्रधानमन्त्री प्रचण्डले हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेटबीच तादम्यता नमिलेको गुनासो आउने गरेको भन्दै यस वर्ष त्यस्तो नहुने बताउनु भयो । कसरी हुन्छ नीति तथा कार्यक्रममा मिल्ने गरी जनमुखी बजेट निर्माणका लागि आफूले भनेको र सोही स्प्रिटमा अर्थमन्त्री वर्षमान पुनले बजेट तयार गरेको प्रधानमन्त्री प्रचण्डले बताए।  बैठकमा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसहित, आयोगका उपाध्यक्ष डा।मीनबहादुर श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, मूख्यसचिव बैकुण्ठ अर्याल, तथा आयोगका सदस्य र सदस्य सचिव लगायतको उपस्थिति रहेको थियो ।

स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन पूर्व अर्थमन्त्री जनार्दन शर्माको आग्रह

काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व मन्त्री जनार्दन शर्माले ‘सिधा कुरा’ अनलाइनले प्रसारण भएको स्टिङ अप्रेशनको सत्य तथ्य छानबिन गर्न आग्रह गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा उनले स्टिङ अपरेशनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी रहेको बताएका छन् ।  छानबिन बिना नै कुनै संस्था र व्यक्तिको मान मर्दन गर्न नहुने र अन्य प्रमुख समाचार गृहले पनि यस्ता विषयमा पाठ सिक्नुपर्ने बताएका छन् ।  उनले भनेका छन्–‘सिधा कुरा डटकम अनलाइनमा प्रसारणमा आयका 'डार्क फाइल' समाचारले निकै चर्चा पायो। यस्ता खालका स्टिङ अपरेशनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी छ। छानबिन विना नै कुनै संस्था र व्यक्तिको मानमर्दन गर्नु हुँदैन। यस विषयमा अन्य प्रमुख समाचार गृहले पाठ सिक्दा राम्रो होला कि ?’

रामेछाप उडेको सिता एयरको जहाज काठमाडौं फिर्ता

काठमाडौं । काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नु परेको छ । सोमबार बिहान यस्तो घटना भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उनले अनुसार हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या हुने बताए । सीता एयरको ९०६ उडान नम्बरको जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ ।  अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्‍याइएको छ । यो जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा रहेको थियो ।

यस्ता छन् कतार र नेपालबीचका समझदारी र सम्झौता

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ६ वटा क्षेत्रमा समझदारी भएको छ । दुवै देशका सरकारी तहका विभिन्न मन्त्रालय अन्तर्गतका ६ वटा र निजी क्षेत्रका थप २ सहित ८ विषयमा सम्झौता भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारको तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो । यस्ता छन् समझदारी र सम्झौता १. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतार राज्यको संस्कृति मन्त्रालयबीच संस्कृति र कलाको क्षेत्रमा सहकार्यका लागि समझदारीपत्र २. राष्ट्रिय समाचार एजेन्सी, नेपाल (RSS) र कतार समाचार एजेन्सी (QNA) बीच सहयोग र समाचार आदानप्रदान सम्बन्धी सम्झौता ३. नेपाल सरकार र कतार राज्य सरकार बीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र (MoU) ४. नेपाल सरकार र कतार राज्य सरकार बीच युवा र खेलकुदको क्षेत्रमा सहयोग सम्बन्धी समझदारी पत्र ५. नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतार राज्यको सार्वजनिक अभियोजन पक्षबीच सहकार्यका लागि समझदारी पत्र ६. नेपाल सरकारको परराष्ट्र मामिला संस्थान (IFA) र कतार राज्यको परराष्ट्र मन्त्रालयको कूटनीतिक संस्थान बीच कूटनीतिक तालिम र शिक्षाको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र ७. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) बीच संयुक्त व्यापार परिषद (JBC) स्थापना गर्ने सम्झौता ८. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) बीचको समझदारी ज्ञापन (MoU) को नवीकरण

मानव समुदायको सेवा सबैको साझा उद्धेश्य हुनुपर्दछ : अध्यक्ष दाहाल

चितवन । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सबैको साझा लक्ष्य उद्धेश्य मानव समुदायको सेवा गर्नु रहेको बताएका छन्। चितवनको भरतपुरमा आज (शनिबार) लायन्स क्लव ३२५ आरको दोस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष दाहालले सामाजिक, साँस्कृतिक अभियान होस् वा राजनीतिक आन्दोलन सबैको साझा लक्ष्य उद्धेश्य मानव सेवा हुनुपर्ने बताएका हुन्। “राजनीतिक आन्दोलन होस् वा सामाजिक, साँस्कृतिक आन्दोलनको लक्ष्य उन्नत, सभ्य, मानवीय सेवा भाव र विभेदरहित समुन्नत समाज निर्माण गर्नु नै हो,” अध्यक्ष दाहालले भने, “नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी व्यवस्था लगायतका राजनीतिक परिवर्तन र उपलब्धिको मूल उद्धेश्य समाज रुपान्तरण र मानवसेवा नै हो।” लायन्स क्लवले राजनीति, भूगोल र सम्प्रदायभन्दा माथि उठेर समाजसेवा गरिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले प्राकृतिक प्रकोप, भूकम्प, विपद् र महामारीका बेला अग्रपंक्तिमा रहेर सक्रिय रहने लायन्सको कार्यप्रति खुसी व्यक्त गरे।  “प्राकृतिक प्रकोप भूकम्प, बाढीपहिरो, कोरोना महामारी लगायतका कठिन अवस्थामा उद्धार, राहत र औषधी उपचार लगायतका मानव सेवाका काममा लायन्सहरुको सक्रियता प्रशंसनीय छ,” अध्यक्ष दाहालले भने, “व्यक्तिगत, राजनीतिक, भूगोल र सम्प्रदायबाट माथि उठेर सामाजिक क्षेत्रमा लायन्सले गरेको योगदान र एकताबद्ध कार्य प्रशंसनीय छ।” राज्यको सेवा सुविधा पुग्न नसकेका दूरदराजसम्म लायन्स क्लवको तर्फबाट मानव सेवा गर्न आग्रह गर्दै अध्यक्ष दाहालले समाजसेवा र मानवीय कार्यमा लाग्दा कानुनी व्यवधान र समस्याहरु आए कानुन निर्माण गरेर वा विद्यमान कानुन संशोधन गरेर पनि सहजीकरण गर्न संसद तयार रहेको बताए।उनले मानवीय सेवा, परोपकार र समाजसेवालाई अगाडि बढाउँदा आउने कानुनी समस्या समाधानका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।

माओवादीसँग एकता गर्ने सहमतिबाट बाबुराम पछाडि हट्नुभयो : गंगानारायण श्रेष्ठ

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का सहअध्यक्ष गंगानारायण श्रेष्ठले गत चुनावका बेला नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सहमति गरेका अध्यक्ष डा.बाबुराम भट्टराईले अहिले कुरा फेरेको बताएका छन्।   शनिबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले एकीकृत पार्टीको नाममा समेत सहमति भइसकेको कुरामा डा.भट्टराईले अहिले आएर एकाएक हुँदैन भनेको बताए।  ‘त्यतिखेर पार्टी एकताको निम्ति पार्टीको नामको बारेमा समेत छलफल गरेर एउटा सहमति भएको अवस्था थियो। त्यो भनेको नेकपा समाजवादी केन्द्र वा नेकपा समाजवादी राख्ने भन्ने त्यतिखेर हामीबीच अन्डरस्ट्यान्डिङ थियो दुई पक्षका बीचमा’, उनले भने, ‘अहिले डा. साबले होइन भन्नुहुन्छ  यहाँहरूले भेट्दा सोध्नुभए हुन्छ– हो कि होइन भनेर।’  उनले थपे-' निर्णय गर्ने अधिकार भएको निकाय भनेको निर्वाचन आयोग मात्रै हो। चैत्रको ५ गते बाबुराम भट्टराईले केन्द्रीय समितिको बैठक आह्वान गर्नु भो। उहाँले एउटा नेसापको केन्द्रीय समितिको बैठक गर्नु भो। हामीले ६ गते नेसपाको अर्को केन्द्रीय समितिको बैठक गर्‍यौँ। पार्टी विधिवत् रूपमा दुइटा त भए नि। र, यो दुइटा पार्टीको अहिलेसम्म सर्सती हेर्दाखेरि निर्वाचन आयोगमा कोही पनि गएन अर्थात् दुवै पक्ष गएर मसँग बहुमत छ, म आधिकारिक नेसपा हुँ भनेर दाबी गरेको छैन। हामीले पनि गरेका छैनौँ, डा.सापले पनि गर्नुभा छैन। अहिलेसम्म हामी पनि नेसपा नै हौँ, डा. साबले पनि आफूलाई नेसपै भनिराख्नुभएको छ।' 'भोलि आवश्यकता पर्दाखेरि हामी निर्वाचन आयोगमा जान पनि सक्छौँ। दोस्रो कुरा–पार्टी दुइटा किन भएको  यसमा हाम्रो कुराचाहिँ के हो भने पार्टी एकातिर जाऊँ भन्ने हाम्रो कुरा हो। लाइनमा फरक कहाँ पर्‍यो भने, पार्टी खण्डित हुन त लाइनले गर्छ। यसमा निर्वाचनभन्दा अगाडि पार्टी एकता गरेर निर्वाचनमा जाने भन्ने थियो। तर त्यो बेला हाम्रो प्राविधिक, समय चापका कारण पनि रहे। सँगसँगै हामीबीच बुझाइमै एकरूपता हुन सकेन।' श्रेष्ठले भने -'जसले गर्दा त्यतिबेला पार्टी एकता सम्पन्न गर्न सकेनौँ। प्रचण्डजी तयार हुनुहुन्थ्यो, बाबुरामजी तयार हुनुहुन्थ्यो। हामी सबै तयार थियौँ। पार्टी एकताको प्रस्ताव राख्ने मान्छे नै म हुँ। त्यो प्रस्ताव एक्सेप्ट गरेको अवस्था पनि हो। तर हाम्रा अहिलेका अध्यक्ष महीन्द्र राय यादवजीले अहिले पार्टी एकता नगरौँ, पछि गरौँ भनेपछि हामी एकल चुनाव चिह्नमा गएको। त्यतिखेर पार्टी एकताको निम्ति पार्टीको नामको बारेमा समेत छलफल गरेर एउटा सहमति भएको अवस्था थियो। त्यो भनेको नेकपा समाजवादी केन्द्र वा नेकपा समाजवादी राख्ने भन्ने त्यतिखेर हामीबीच अन्डरस्ट्यान्डिङ थियो दुई पक्षका बीचमा। र, अहिले डा.साबले होइन भन्नुहुन्छ  यहाँहरूले भेट्दा सोध्नुभए हुन्छ– हो कि होइन भनेर। अर्थात् भेरिभाई गर्नु छ भने, हामी त दुइटा झगडिया भयौँ। तेस्रो पक्ष पनि छ नि त। उहाँहरूलाई सोध्दा पनि हुन्छ। नेकपा समाजवादी केन्द्र या नेकपा समाजवादी नाम राखेर जाने भन्ने कुरामा सहमति भएकै हो। हामी एउटै चुनाव चिह्नमा चुनाव लड्यौँ। डा. साबले निसर्त गोरखामा गएर उहाँले आफ्नो निर्वाचन क्षेत्रमा प्रचण्डजीलाई चुनाव जिताउनका निम्ति महत्त्वपूर्ण भूमिका र निर्णय पनि उहाँले निर्वाह गर्नुभो। तर बिस्तारै बिस्तारै यहाँसम्म आइपुग्दाखेरि प्रचण्डजी र बाबुरामजी व्यक्तिगत सम्बन्ध त नराम्रो छ भनेर त भन्दिनँ। तर घटनाहरूलाई हेर्ने दृष्टिकोणमा चाहिँ उहाँहरूको आनका तानचाहिँ फरक परेको देख्छु। अस्तिको दिन मात्रै गोरखामा लगेर उहाँले प्रचण्डजीले त राजीनामा दिनुपर्छ, यो अनैतिक भो भन्नु भो। उहाँले यो बीचमा तपाईं कस्तो गलत बाटोमा हिँड्नुभयो प्रचण्डजी, कांग्रेसलाई साथमा लिएर कहीँ हुन्छरु यो त उल्टो बाटो भो। एमालेसहितलाई गठबन्धन त्यता बनाएर पो जानुपर्छ। त्यो पो सुल्टो बाटो हो त भन्दै उहाँ आफैँ पहल गर्दै हिँड्नुभाथ्यो। ओलीजीलाई उहाँले पटकपटक भेट्नु पनि भा हो। प्रचण्डजीले पनि ओलीलाई सकारात्मक बनाउने काम तपाईंको भनेर उहाँलाई भन्नु पनि भको हो। अनि जब उहाँले भनेको जस्तै भयो, नेपाली कांग्रेससँगको सत्ता गठबन्धन टुटेर एमालेसँगको नयाँ समीकरण बन्यो, अनि फेरि उहाँले के भन्नुभयो भने यो गठबन्धनले अब संघीय लोकतान्त्रिक गठबन्धनलाई नै धरापमा पार्छ।...यो प्रतिगामी खालको भयो, यहाँलाई समर्थन गर्न सकिन्न।' 'उहाँले एउटा भाष्य निर्माण गरेर जबर्जस्ती एक ढंगले हाम्रो व्यक्तिगत जीवनमै आक्षेप लगाउनुभएको कुरा पदको लागि भन्ने छ के। पदको लागि होइन भन्ने कुरा म तथ्यसहित भन्न सक्छु। हामीले एकल चुनाव चिह्न जुन बेलामा लियौँ। एकल चुनाव लिँदाखेरि बाबुराम भट्टराईलाई राजनीतिक दल सम्बन्धी ऐन २०७३ को प्रावधान के छ भन्ने कुरा थाहा थिएन र ? राजनीतिक दल सम्बन्धी ऐन २०७३ को धारा ४९ को ३ मा प्रस्ट के लेखेको छ भने दुई वा दुईभन्दा बढी राजनीतिक दलहरू एकल चुनाव चिह्नमा चुनाव लड्दा जुन दलले बढी सिट प्राप्त गर्दछ, त्यो दलको एक मात्र संसदीय दल हुनेछ भन्ने छ। र, त्यो चुनाव चिह्नबाट जितको अरु पार्टीका सांसदहरू पनि सोही संसदीय दलको सदस्य हुनेछ र उनीहरूलाई ह्विप लाग्ने भनेर लेखेको छ। हामी चार जना जो जित्यौँ, पार्टीगत हिसाबले नेपाल समाजवादी पार्टीका भयौँ, संसदीय दलको सदस्यको हिसाबले चाहिँ नेकपा माओवादी केन्द्रको संसदीय दलको सदस्य भयौँ। त्यही ह्विप उल्लंघन गर्नेलाई कारबाही हुने कि नहुने ?,'  श्रेष्ठले भने ।

छलफलका लागि समितिमा पठाइयो यी दुई विधेयक

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले दुईवटा विधेयकमाथि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पारित गरेको छ । अर्थमन्त्री वर्षमान पुनले पेश गरेको ‘भन्सार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले पेश गरेको ‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव आजको बैठकबाट सर्वसम्मतिले पारित गर्दै सम्बन्धित समितिमा पठाउने सहमति भएको हो । आजको बैठकमा अर्थमन्त्री पुनले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८०’ समेत प्रस्तुत गरेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा, वित्तीय जोखिम समेतका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवम् नियमन गर्न आवश्यक रहेकाले यो विधेयक ल्याइएको अर्थमन्त्री पुनको भनाइ छ । त्यस्तै, प्रविधिमा आएको परिवर्तनलाई प्रयोग गर्न र विद्यमान कानुनमा उल्लेखित तीनवटै तहका सरकारको वित्तीय अधिकार क्षेत्र व्यवस्थित गर्ने उद्देश्यले यो विधेयक ल्याइएको बताए। नेपालको समग्र बैंकिङ तथा वित्तीय प्रणालीको विश्वसनियता अभिवृद्धि गर्न, राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाई स्थायित्व कायम गर्न र बैंक तथा वित्तीय संस्थाहरुको संस्थापना, सञ्चालन, व्यवस्थापन, नियमनलगायत कार्यलाई व्यवस्थित गर्नका लागि पनि विद्यमान ऐन संशोधन गर्न लागिएको उनको भनाइ छ । विधेयकमा डिजिटल मुद्रा प्रयोग तथा डिजिटल बैंकिङलाई कानुनी मान्यता दिने, बैंक सञ्चालक समितिमा रहेका व्यक्तिको जिम्मेवारीमा स्पष्टता खोज्ने, आफै शेयरधनी रहेका बैंकबाट ठूलो कर्जा लिने प्रवृत्तिलाई निरुत्साहन गर्नेलगायतका महत्वपूर्ण व्यवस्थाहरु समेटेको छ । प्रतिनिधिसभाको अर्को बैठक भोलि सोमबार बिहान ११ बजे बस्नेछ ।

माधव निवासमा ओली र प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली कोटेश्वर पुगेका छन् । उनीहरू बालुवाटारबाट माधव नेपाललाई भेट्न माधव नेपालको निवास कोटेश्वर पुगेका हुन्  । साथमा एमाले नेता विष्णु पौडेल,इश्वर पोख्रेल कोटेश्वर गएका हुन् ।