राप्रपालाई सापकोटाको प्रश्न– यही व्यवस्थाको लोगो लगाएर सारा सेवा भोग गर्ने, विरोध पनि गर्ने नैतिकता कहाँबाट आयो ?

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले वर्तमान संविधान र राज्यव्यवस्थाको विकल्प राजा र राजतन्त्र हुन नसक्ने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई संकेत गर्दै उनले ‘अवसर पाए लुट्ने अनि संविधानको विरोध गर्ने नैतिकता कहाँबाट आयो ?’ भन्दै प्रश्न गरे ।

“यही संविधानले दिएको लोगो र यसले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद हुने । लोगो लगाएर सारा सेवा भोग गर्ने, पाइहाले मन्त्री पनि पड्काउने । प्रदेशतिर गएर सभामुख पनि लिने, तर फेरि यो संविधानलाई विरोध गर्ने ?,” उनले भने, “यो संविधान र व्यवस्थाको विकल्प किमार्थ राजा र राजतन्त्रवादी हुन सक्दैन ।”

संघीय संसद्‌मा उपस्थित भएर व्यवस्थाबारेमा चाहिनेभन्दा बढी ‘अनर्गल’ प्रचारबाजी गरिएको भन्दै उनले आपत्ति जनाए । उनले वर्तमान संविधान र व्यवस्थाको बहस गर्ने भए यसलाई कसरी उन्नत बनाउने भन्ने पक्षबाट गरिनुपर्ने धारणा राखे ।

सांसद सापकोटाले पाएको बेलामा मन्त्री बन्ने, संविधानकै माध्यमबाट बनेको प्रदेशमा सभामुख बन्ने तर अहिले पुनः संविधानकै विरोध गर्ने गरेको भन्दै आपत्ति जनाए । उनले संविधानले दिएको सेवा सुविधा लिएर संविधानको विरोध गर्न नमिल्ने बताए। संविधान र अहिलेको व्यवस्थाको विकल्प राजा र राजावादी दलहरू हुन नसक्ने उनको भनाइ छ ।

‘‘हामी सार्वभौम सत्ता सम्पन्न जनता भनेर लेखिएको छ । त्यसको तेस्रो प्यारामा सामन्ती निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरिएका सबै प्रकारका विभेद र उत्पीडन गर्दै भन्ने लेखिएको छ । त्यसपछि हाम्रो संविधानको धारा २ लाई एक पटक हेर्ने हो भने सार्वभौम सत्ता र राजकीय सत्ता भनिएको छ ।,’’ सांसद सापकोटाले भने, ‘‘नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको छ । यसको प्रयोग यस संविधानको व्यवस्थामा भए बमोजिम हुनेछ भन्ने छ । र यो संविधानमा व्यवस्था गरिएकै अनुसार हामी नेपालको सार्वभौम सम्पन्न अधिकार भएको संसदमा उपस्थित छु । तर बेलाबखत यो व्यवस्थाका बारेमा चाहिने भन्दा ज्यादा अनर्गल प्रचारबाजी गर्ने गरिएको छ ।’’

त्यस्तै, जलवायु परिवर्तन नेपालका लागि मात्रै नभएर विश्वका लागि नै चुनौती बनिरहेको उनको भनाइ छ । सापकोटाले जलवायु परिवर्तनको मुद्दा विश्वव्यापी राजनीतिक मुद्दा बनेको बताए ।

संस्कृतिवीद् जोशीसँग नारायणकाजी श्रेष्ठको भेट

काठमाडौं । नेकपा (माओवादी केन्द्र) वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वरिष्ठ संस्कृतिवीद् ८९ वर्षीय हरिराम जोशीसँग आज उनकै निवास मानभवन ललितपुरमा पुगी छलफल तथा सम्मान गरेका छन् । उपाध्यक्ष श्रेष्ठ र मदन पुरस्कारबाट विभुषित भैसक्नुभएका जोशीबीच कला, संस्कृति, चाडपर्व, सभ्यता र त्यसभित्र मौलाउदै गएका विकृति अन्त्य गरी मुलुकलाई स्वनिर्भर बनाउनेबारे गम्भीर अन्तरक्रिया भएको छ।  नेपालको प्राचिन अभिलेख, चण्डेश्वरी, नामाकरण विधि, सतीप्रथा, लोकगणतन्त्र अभिनव संस्कृति कोश, पञ्च पल्लव जस्ता कृतिका सर्जक जोशीले 'हाम्रो भन्ने भावनामा ज्युन मन लाग्छ' भावको कविता सुनाउँदा भेटघाट थप रोचक बनेको थियो।

प्रधानमन्त्री र अमेरिकी राजदूतबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डीन आर थोमसनले शिष्टाचार भेटवार्ता गरेका छन्। बुधबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न राजदूत थोमसन प्रधानमन्त्री निवास बालुवाटर पुगेका हुन्। भेटबारे जानकारी दिँदै राजदूत थोमसनले नवनियुक्त प्रधानमन्त्री ओलीसँग सुमधुर छलफल भएको बताएका छन्। ‘हामीले दुई देशबिचको ७७ वर्ष लामो सम्बन्धबारे चर्चा गर्‍यौँ। अमेरिका उहाँको सरकारसँग मिलेर काम गर्न र नेपाल र अमेरिकाबिचको सहकार्य सशक्त बनाउँदै लैजान चाहन्छ।’

बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन दोषी ठहर

सर्लाही । कथित तपस्वी रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोग मुद्दामा सर्लाही जिल्ला अदालतले दोषी ठहर गरेको छ।जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले हाल सर्लाही कारागरमै थुनामा रहेका बम्जनलाई उक्त मुद्दामा दोषी ठहर गरेको हो। २०८० पुस २४ गते प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेपछि थुनामा पठाइएका बम्जन बालयौन दुराचार मुद्दामा दोषी ठहर भएका हुन्। उनलाई उक्त मुद्दामा दोषी ठहर गरेको अदालतले सजाय भने पछि निर्धारण गर्ने भएको छ। त्यसका लागि छुट्टै पेशी तोकिने छ।बम्जनविरुद्ध विभिन्न सर्लाही, पर्सा, सिन्धुली र सिन्धुपाल्चोक जिल्लामासमेत यौन दुराचार गरेको, मानिस बेपत्ता पारेकोसहितका आरोपमा मुद्दा अघि बढ्दैछ। आफूलाई तपस्वी दाबी गर्दै आएका बम्जन लामो समयदेखि प्रहरीको फरार सूचीमा थिए। उनलाई बूढानीलकण्ठस्थित घरैबाट पक्राउ गरिएको थियो। बम्जनविरुद्ध सर्लाहीकी २९ वर्षीया रीता बोटलाई बेपत्ता पारेको आरोपमा उनकी आमाले २०७५ सालमा किटानी जोहरी दिएकी थिइन्। बम्जनमाथि बाराका सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग पनि छ। सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै बम्जनविरुद्ध उजुरी परेको थियो।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।   बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ।  उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ।

साथीबाट सिक्ने साथीलाई सिकाउने कार्यक्रम चलाइने

काठमाडौं । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रु ८७ करोड विनियोजन गरेको छ ।  मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी दिए । यस्तै उनले सार्वजनिक विद्यालय रूपान्तरण कार्यक्रम मार्फत शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने, साथीबाट सिक्ने साथीलाई सिकाउने कार्यक्रम सञ्चालन गर्ने पनि बताए । यसले विद्यागर्थीको सिकाई र शैक्षिक नेतृत्वमा विकास हुने बताए ।

सडकमा जाने प्रतिपक्षी दलको चेतावनी

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको भूमिकाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित पाँच वटा विपक्षी दलले आपत्ति जनाएका छन् । प्रतिनिधिसभा भएको नाराबाजीका बिच सभामुखले नियमावलीको धज्जी उडाउने गरी बैठक सञ्चालन गरेको आरोप विपक्षी दलहरुले लगाएका हुन् । बैठकले सहकारी ठगीको बारेमा छानबिन समिति नबनेसम्म संसद् अवरोध जारी राख्ने र संसद् बन्द गरे सडकमा जाने निर्णय गरेको छ।प्रतिपक्षी दलको अवरोधका बिच प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएका थिए ।

जसपा विभाजन मुद्धा:  सर्वोच्चले ८ जेठमा दुबै पक्षसँग छलफल गर्ने, राईको पार्टी दर्ता यथास्थितिमा राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजनका विषयमा भएका निर्णयहरु यथास्थितिमा राख्न निर्वाचन आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायााधीश विनोद शर्माको इजलासले पार्टी विभाजनपछि निर्वाचन आयोगले गरेको अर्को दल दर्तालगायतका निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिँदै ८ जेठमा दुबै पक्षलाई छलफलमा बोलाएको छ। जसपा नेपालबाट ७ जना सांसदसहित विभाजित भएको समूहले अशोक राई नेतृत्वमा नयाँ पार्टी जसपा दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए। आयोगले २४ वैशाखमा उक्त दल दर्ता गर्ने निर्णय गरेको थियो। उपेन्द्र यादवले जसपा नेपालबाट विभाजित भएको समूहको दल दर्ता कानुन विपरीत भएको जिकिर गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

नैनीतालमा जीप दुर्घटना हुँदा मृत्यु हुने ७ जना बर्दियाका नागरिक

कञ्चनपुर । भारत उत्तराखण्डको नैनीताल जिल्ला अन्तर्गत बेतालघाट क्षेत्रमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेहरु बर्दिया बबईका भएको खुलेको छ। बेतालघाट थानाका इन्चार्ज अनिस अहमदकाअनुसार उनीहरु सबै बर्दियाका नागरिक हुन्।  उनीहरु बेतालघाट भन्दा १८ किलोमिटर पूर्वी क्षेत्रमा मल्लागाउँ उच्चाकोटमा खानेपानी आयोजनामा पाइप बिछ्याउने काम गरिरहेका नेपाली कामदारहरु थिए । जो दिनभर काम गरेर सोमबार साँझ घरतर्फ हिडेका थिए।  जीप ५ मिटर पनि हिड्न नपाउँदै दुर्घटना भएको थियो ।  २ जना भने गाडीमा चढेकै थिएनन् । थोरै हिड्ने बित्तिकै गाडि दुर्घटना हुन पुग्यो गाडीमा ९ जना कामदार र चालक  लुगाकपडा र भाडाकुँडासहित घर फर्किन लागेका थिए । गाडी भिरालोमा उभिएका कारण नियन्त्रण हुन नसकी दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।  दुर्घटनामा परि चालक सहित ८ जनाको मृत्यु भएको छ। जसमध्ये ७ जना नेपाली रहेका छन् । युके ०४ सीसी ०४९५ नम्बरको बाेलेरो जीपका चालक उच्चाकोट निवासी राजेन्द्र कुमारसँगै नेपाली कामदारहरु बिश्राम चौधरी, अन्तराम चौधरी, गोपाल बस्नेत, उदय चौधरी, विनोद चौधरी, तिलक चौधरी र धिरज चौधरी रहेका छन् ।  घाइते शान्ति चौधरी र छोटु चौधरीको तिवारी राजकीय अस्पताल हल्द्वानीमा उपचार भइरहेको छ । मृतकहरुको शव पोष्टमार्टमका लागि डिएसबी अस्पताल नैनीतालमा राखिएको छ।

४७ पछिका सबै कान्ड छानबिन गर्न रास्वपाको प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले ०४७ साल पछिका बालुवाटारदेखि अन्य सबै कान्डको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्न प्रस्ताव गरेका छन् ।  नेपाली कांग्रेसले रवि लामिछानेको सहकारी ठगीमा संलग्नताका विषयमा संसदीय छानबिन समिति गठनका लागि राखेको माग पूरा नभएर संसद् अवरोध गरेपछि डा. वाग्लेले बाहिर निस्किएर पत्रकारहरुमार्फत कांग्रेसलाई यस्तो जवाफ दिएका हुन् । 

आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने छन् : प्रधानमन्त्री प्रचण्ड

ब्रसेल्स। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने बताएका छन्। शनिवार साँझ माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । विदेश स्थित नेपाली दूतावास मार्फत तदारुकताका साथ तयारीको कार्य भई रहेको छ । “ प्रधानमन्त्रीले भने । उनले गैर आवासीय नेपाली सङ्घमा देखिएको समस्या आगामी २ गते अदालतको फैसला पछि निर्णय गरिने बताए।  हाल देखिएको तीन फरक नेतृत्वको एनआरएनएलाई एक ठाउँमा राखी सहमति प्रयत्न गर्ने कथंकदाचित सहमति नभए सरकारले गठन गरेको छानबिन समितिले दिई सकेको प्रतिवेदन अनुसार केही दिनभित्रै टुङ्गोमा पुग्ने बताए। प्रधानमन्त्रीले विभिन्न मुलुकमा रहेको राहदानी समस्या हल गर्न परराष्ट्र मन्त्रालयमा सधैँका लागि घुम्ती  स्थायी संयन्त्र बनाइएको र बढी समस्या भएका ठाउँमा कन्सुलर नियुक्ति गर्ने बताए। प्रधानमन्त्रीले अर्को एक प्रसङ्ग उल्लेख गर्दै सरकारले तिन करोड रूपियाँ तलका आयोजना ,परियोजना सङ्घीय सरकारले नभै प्रदेश सरकारले निर्णय लिन सक्ने गरी अगाडी जाने तयारी भैसकेको बताए। कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले प्रवासमा अब पार्टी र मोर्चा फरक फरक बन्ने  बताइन्। 

सुन तस्करी प्रकरण : फोन सम्पर्कबाहेक महराको अरु प्रमाण भेटिएन

काठमाडौं । सुन तस्करीमा सम्लग्न भएको आरोप लागेको पूर्व सभामुख कृष्णबहादुर महराको प्रमाण नभेटिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ। फोन सम्पर्कबाहेक अरु प्रमाण नभेटिएपछि माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्ण बहादुर महरा चार दिनमै हिरासतमुक्त भए। सोमबार कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याइएका महरा शुक्रबार हाजिरी जमानीमा रिहा भएका हुन्। उनलाई खोजेको बखत उपस्थित हुने गरी छोरा निर्मलको जिम्मामा रिहा गरिएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए। जिल्ला सरकारी वकिल कार्यालयमा कागज गरेर रिहा भएका महरा पुनः अस्पतालमै फर्किएका छन्।  महरा हिरासतमुक्त भए पनि अनुसन्धान भने जारी रहने एसपी बोगटीको भनाई छ। महराको स्वास्थ्य समस्या र अनुसन्धानमा प्रमाण लोप हुने सम्भावना पनि नभएकाले रिहा गर्नु परेको सीआईबीको दाबी छ। सीआईबीका एक उच्च अधिकारीले भने महरालाई मुद्दा चलाउन बलियो प्रमाण नै नरहेको बताए। बलियो प्रमाण पनि नरहेको र उनको स्वास्थ्य अवस्थामा देखिएको समस्याकै कारण रिहा गर्नु परेको सीआईबीका अधिकारी बताउँछन्। चार दिन नियन्त्रणमा राख्दा सीआईबीले महरासँग दुई दिन बयान लिएको थियो भने दुई दिन दिनभरी नै अस्पतालमै राखिएको थियो।  अब अनुसन्धान पूरा भएपछि महराविरुद्ध पुरक अभियोग अदालतमा दायर हुनेछ। सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनस् मुद्धा चलाउन सिफारिस गरेको थियो।    भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई संगठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो । महरा विभिन्न रोगका बिरामी रहेको हुँदा छाड्न आदेश दिइएको हो।  मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा १५ अनुसार महरालाई छाडिएको हो।   उक्त दफामा हिरासतमा रहेका व्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्न सक्ने प्रावधान छ। ‘यस ऐन बमोजिम अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्काल त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारणसहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौटी वा जमानत लिई वा निजलाई कुनै भरपर्दो व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख्न सक्नेछ,’ उक्त दफामा भनिएको छ। धरौटी वा जमानीमा छाड्दा वा तारिखमा राख्दा त्यसरी छोडिएको वा तारिखमा राखिएको व्यक्ति उपर मुद्दा चलाउने भएमा त्यस्तो अवस्थामा निज उपस्थित हुने गरी निजको कागज गराउनुपर्नेछ।  महरालाई उनका छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको सीआईबीका  प्रवक्ता एवम् प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए। सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको टोलीले पूर्वसभामुख महराको शुक्रबार बयान सकिएपछि उनलाई हाजिरी जमानीमा रिहा गरिएको हो । यसअघि आजै ब्यूरोका प्रवक्ता बोगटीले जिल्ला सरकारी वकिल कार्यालय र ब्यूरोको टोलीले पूर्वसभामुख महराको बयान सकिएको जानकारी दिए।  महरालाई गत सोमबार कपिलवस्तुबाट नेपाल प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको थियो। महरालाई जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो। सुनको अवैध तस्करी एवम् नियन्त्रणसम्बन्धमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठित आयोगले महराविरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो ।सोही सिफारिसका आधारमा ब्यूरोले महरालाई पक्राउ गरेको थियो।    

‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने पाँच दलको प्रतिबद्धता

काठमाडौँ, ६ चैत : सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।   फागुन २९ गते पाँच राजनीतिक दलबीच नयाँ राजनीतिक समीकरण भएसँगै न्यूनतम कार्यक्रम तयार गर्न कार्यदल बनाएको थियो । पाँच दलबीच भएको सात बुँदे सहमतिका आधारमा कार्यदलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ तयार गरेको हो । नीति तथा कार्यक्रममा संविधानको मर्म र भावनाविपरीत राज्यसञ्चालनमा देखिएका विचलन रोकी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहीनता एवं व्यावसायिक निराशालाई चिर्दै जनतामा राज्यप्रति आशा र भरोसा पैदा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । विभिन्न १३ मुख्य क्षेत्रलाई प्राथमिकता राखिएको छ । सरकारले आर्थिक शिथिलता अन्त्य गर्ने, वित्तीय संस्थालाई विसङ्गती मुक्त बनाउने, सार्वजनिक संरचना सुधार गर्ने, छरितो सेवा प्रवाहसँगै सुशासन कायम गर्ने, काम–रोजगारी–उद्यमशीलता र स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई व्यवस्थित गर्ने, भौतिक पूर्वाधार विकास र अन्तर–निकाय समन्वयलाई प्रभावकारी तुल्याउने, ऊर्जा विकास एवं सूचना र सञ्चार नीतिगत व्यवस्था गर्ने विषय न्यूनतम कार्यक्रममा उल्लेख गरिएको छ ।  त्यसैगरी भूमि व्यवस्था, वन–वातारण, जलवायु अनुकूलन र विपद् व्यवस्थापन, युवा र खेलकुद, पर्यटन, संस्कृति तथा सामाजिक सद्भाव, महिला सहभागिता, सशक्तिकरण र सामाजिक समावेशीता, सङ्क्रमणकालीन न्याय र दिगो शान्ति र राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीतिलगायत विषय समेटिएको छ । कार्यक्रममा पाँच राजनीतिक दलका शीर्ष नेताहरू प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको उपस्थिती रहेको छ ।

नेप्से ३५.९८ अंकले घट्यो, कारोबार कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगातार तेस्रो दिन गिरावट आएको छ । गत साताको बुधबार र बिहीबार घटेको सेयर बजार  ३५.९८ अंकले  घटेर बन्द भएको हो ।  आज कारोबार सुरु हुँदा सामान्य बढेपनि केहीछिनपछि घट्न सुरु गरेको थियो । यससँगै, १०.६२ अंकले घटेर परिसूचक २०७० अंकमा आइपुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यो ०.५१ प्रतिशतको गिरावट हो । यसक्रममा आज ८४ कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १० कम्पनीको मूल्य भने स्थिर छ । आज ३ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बराबरको ८४ लाख कित्ता सेयर किनबेच भएको छ । आज सप्तकोसी विकास बैंकको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.५६ प्रतिशतले बढेको छ । यस्तै, विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ७.८३ प्रतिशतको गिरावट आएको छ । कारोबारमा आएको १३ वटा समूहमध्ये ३ समूहको सूचक बढेको छ । यसबाहेक सबै समूहमा गिरावट आएको छ । आज होटल एण्ड टुरिजम समूहको सूचक ८२ अंकले घट्दा जलविद्युत समूहको सूचक २९ अंकले घटेको छ । यस्तै, निर्जीवन बीमा समूहको सूचक २४ अंकले घटेको छ । यसक्रममा शिवम् सिमेन्टको सेयर सबैभन्दा धेरै रकमको कारोबार भएको छ । आज यो कम्पनीको ४१ करोड ६४ लाख १७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, सोनापुर मिनरल्सको सेयर २३ करोड रुपैयाँ बराबरको किनबेच भएको छ ।

मुलुकको विगत र वर्तमानको अवस्था तुलना नै हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अवस्थामा परिवर्तन भएन भन्ने कुरामा सत्यता नरहेको बताएका छन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले अवस्था परिवर्तन नभएको भन्दै व्यवस्थाको विकल्प खोजिरहेका बेला उनले सो कुरामा कुनै सत्यता नरहेको प्रतिक्रिया दिएका हुन् । मोतीदेवी स्मृति केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरू रहेको उल्लेख गर्दै विगतमा त्यस्तो थियो ? भनी प्रश्न समेत गरे । उनले ३३ प्रतिशत महिलाहरू संसद् र सरकारी निकायमा प्रतिनिधित्व संविधानमै सुनिश्चित भएको दृष्टान्त पेश गर्दै अहिले विगतमा भन्दा तुलना नै गर्न नसक्ने गरी जनताको अवस्था राम्रो भएको तर्क गरेका हुन् । ओलीले जनताको अवस्थालाई पूर्ण रूपमा राम्रो बनाउने गरी काम गर्नुपर्ने जिम्मेवारी पनि आफूहरूको काँधमा रहेको बताए ।अध्यक्ष ओलीले महिलाहरूलाई सशक्तीकरणको बाटोबाट पुरुष सरह अधिकार दिलाउने कुरामा आफ्नो पार्टी लागिपर्ने समेत बताए ।

आजको मौसम : मुख्यतया सफा रहने

काठमाडौं । नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही  बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।