दुर्गा प्रसाईंसँगका हतियार छानबिन समिति गठन, १५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने

काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले लाइसेन्स लिएर राखेको स्वचालित हतियारबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयले समिति बनाएको छ ।

गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा समिति बनाइएको हो । समितिका अन्य सदस्यहरुमा गृह मन्त्रालयको कानुन शाखाका उपसचिव ऋषि पौडेल, प्रहरीका एसपी सन्तोष भट्टराई र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य सचिव रहेका छन् ।

५ चैतमा दुर्गा प्रसाईंका दुई बडिगार्डलाई  प्रहरीले सर्वोच्च अदालत परिसरबाट स्वचालित हतियार र १०० राउण्ड गोलीसहित पक्राउ गरेको थियो । लाइसेन्स लिएर हतियारको बोक्दा प्रहरीले पक्राउ गरेको भन्दै पक्राउ परेका बडिगार्डद्वय दीपक खड्का र रामकुमार धिमालले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले १३ चैतमा उनीहरुलाई थुनामुक्त गर्न आदेश दिँदै लाइसेन्स लिएर समेत राख्न नमिल्ने स्वचालित हतियार कसरी प्रसाईंले लाइसेन्स प्राप्त गरे भन्नेबारे छानबिन गर्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको हो । काम सुरु गरेको मितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिइएको छ ।

करिब एक किलो सुनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं, ८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । अर्धठोस बनाएर ल्याइएको अवस्थामा सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको एसएसपी कृष्णहरि शर्माले जानकारी दिए । उनका अनुसार, सोमबार राति दुबईबाट आएका गफुरलाई शंका लागेर जाँच गर्दा सुन फेला परेको थियो । उनी फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका थिए । उनलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय बुझाइएको एसएसपी शर्माले बताए ।

लुम्बिनी र सुदूरपश्चिमका धेरै ठाउँमा भारी वर्षा, कस्तो छ आज दिउँसो र रातिको संभावना ?

काठमाडौं । लुम्बिनी र सुदूरपश्चिमका धेरै ठाउँमा गएराति ठूलो पानी परेको छ । दुई प्रदेशसहित कर्णालीका केही जिल्लामा समेत भारी वर्षा भएको हो । गएराति दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सल्यान, सुर्खेत, डोटी, डडेलधुरा, दैलेख, अछाम, बैतडी, बाजुरा, बझाङ, दार्चुला, र आसपासका जिल्लामा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  लगातारको वर्षाका कारण कैलालीस्थित कान्द्रा नदी, पहलमानपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रमा बिहान ९ बजेसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यसैगरी बर्दियास्थित बबई नदी जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ । यहाँ पनि जलसतह बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा बिहान १० बजेसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।  कञ्चनपुरस्थित दोदा (मछेली) नदी जलमापन केन्द्रमा पनि हालको जलसतहले सतर्कता तह पार गरेको छ । हाल लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। आज राति सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव संगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ।

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ । बैठकमा सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। प्रत्यक्ष प्रसारण

एआईको विषयमा कार्यपत्र ल्याउन क्यान महासंघलाई मन्त्री गुरुङको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा आएको क्रान्तिलाई मुलुकको समृद्धिको आधार बनाउने काममा सरकारले सवैको सहयोगको अपेक्षा गरेको बताएका छन् । क्यान महासंघका अध्यक्ष रणजीतकुमार पोदारको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा छलफल गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले यस्तो धारणा राखेका हुन्। सो क्रममा मन्त्री गुरुङले सूचनाको क्षेत्रमा आएको क्रान्ति र आर्टिफिसियल इन्टेलीजेन्स (एआई) को सुरुवातसँगै देखिएको चुनौतीलाई समेत मध्यनजर गरी सरकारले आफ्नो नीतिगत सुधार र ब्यवस्थापनको काम अघि बढाउने जानकारी दिए। क्यान महासंघका पदाधिकारीसँगको छलफलमा मन्त्री गुरुङले आफूले पदबहालीकै क्रममा डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरेर सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गर्न कार्यदल गठनको निर्णय लिएको स्मरण गरे। मन्त्री गुरुङले क्यान महासंघलाई आर्टिफिसियल ईन्टेलिजेन्सको बिषयमा कार्यपत्र लिएर आउन आग्रह पनि गरे। ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को बिषयमा कार्यपत्र लिएर आउनोस, आवश्यक नीतिगत कुरा गर्न सरकार तयार छ,’ मन्त्री गुरुङले भने। यस्तै उनले सरकार नीजि क्षेत्रमैत्री रहेको र मुलुकमा सकारात्मक परिणाम निकाल्नका लागि सहकार्य गर्न चाहिरहेको जानकारीसमेत दिएका थिए । मन्त्री गुरुङसँग आज अध्यक्ष पोदार, महासचिव चिरञ्जिबी अधिकारीसहित पदाधिकारीले मन्त्रालयमा भेट गरेका हुन् । सो क्रममा भेटघाटमा क्यान महासंघका अध्यक्ष पोदारले सूचना प्रविधी क्षेत्रका बजेटको कार्यान्वयन यसका प्रभाकारिकताको विषयमा ध्यानाकर्षण गराए। यसैगरी क्यान महासंघका महासचिव तथा साईबर सुरक्षा विज्ञ चिरञ्जिबी अधिकारीले आर्टिफिसियल इन्टेलिजेन्स, साईबर सेक्युरिटी र ब्लकचेन प्रविधीलाई अनुशरण गर्नुपर्ने सुझाव दिए ।उनले साइबर सुरक्षा कमजोर हुनुमा आवश्यक नीति तथा कार्ययोजनाको अभाव, सुरक्षामा कम लगानी र नयिमति सुरक्षा परीक्षण नहुनु प्रमुख तीन कारण रहेको बताए ।

आधा महिना वित्दापनि सहमति किन गुपचुप?

उद्देश्य जे भएपनि शीर्ष नेता सत्ता स्वार्थमा रुमल्लिदा नागरिकले लोकतन्त्रमा पाउनुपर्ने पारदर्शीताको प्रश्नमा सुर्यग्रहण लगाइएको छ । अँध्यारो कोठामा मध्यरातमा सहमति गर्ने र त्यसलाई अँध्यारोमै राखिरहने काङ्ग्रेस र एमालेको प्रबृत्तिले नागरिकका सपना पुरा गर्ने काम गर्नै सक्दैन ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। भेटमा सरकारका कामलाई थप प्रभावकारी बनाउने, संक्रमणकालिन न्याय सम्पादन लगायतका समसामयिक राजनीतिक विषयमा छलफल भैरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासको बार्दलीमा दुई नेताको भेट चलिरहेको छ ।

कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत धनुषामा भएको बहसपछि आज सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको हो।  यसअघि प्रहरीले थप पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भएकाले समय माग गरेको थियो।

सभामुखसँग प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुको विकल्प थिएन : मन्त्री गिरी

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सोमबारको प्रतिनिधि सभा बैठक चलाउन सभामुखसँग अर्को विकल्प नभएको बताएका छन् ।  प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री गिरीले सभामुखले प्रमुख प्रतिपक्ष लगायतका दलहरूको अवरोधबिना बैठक सञ्चालन गर्नका लागि अन्तिमसम्म प्रयास गरेको बताएका हुन् । उनले सभामुखको सो प्रयास सफल नभएपछि बैठक सञ्चालन गर्नुको विकल्प नभएको जिकिर गरे ।  मन्त्री गिरीले कार्यदलले संसदीय छानबिन समितिको कार्यादेशको सम्बन्धमा छलफल गरिरहेको अवस्थामा नेपाली कांग्रेसले संसद् बैठक रोक्नुपर्ने कारण नभएको बताए । उनले संसदभित्रको समस्याहरूलाई छलफलबाट समाधान गर्नुपर्ने भन्दै देश र जनताको हितको मुद्दा उठाउन नेपाली कांग्रेसलाई आग्रह गरे । उनले स्वार्थ पूरा गर्नेगरी र सत्ताको भर्‍याङ बनाउनेगरी मुद्दा नउठाउन पनि आग्रह गरे । मन्त्री गिरीले संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउनका लागि कार्यदलको बैठक भोलि (मंगलवार) बस्ने पनि बताए । 

कांग्रेसले उत्ताउलोपन देखायो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन् ।शुक्रवार संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले संसदमा भिडन्त नभई कांग्रेसले उत्ताउलोपन देखाएको बताएका हुन् । उनले आफू बसेको ठाउँमा कांग्रेस सांसदहरू आएर अनेक अपशब्दहरू बोलेको र असभ्य व्यवहार देखाएको आरोप लगाए।उनले सरकारबाट आफूले हटाइदिएको भन्ने लागेर आफूमाथि कांग्रेस सांसद आक्रोशित देखिएको हुनसक्ने टिप्पणी गरे । बिहीबारको प्रतिनिधि सभा बैठकमा धकेलाधकेल भएको थियो ।कांग्रेसको नाराबाजीको बीचमा सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि धकेलाधकेल भएको हो ।

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं ।आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज मंगलबार दिउँसो १ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बस्ने मन्त्रिपरिषद्को नियमित बैठकमा नियमित ऐजेण्डाका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

महालेखापरीक्षकको कार्यालयलाई संघीयता अनुरुप पुनर्संरचना गर्छौं : राया

काठमाडौं । प्रस्तावित महालेखापरीक्षक तोयम रायाले महालेखापरीक्षकको कार्यालयलाई संघीय शासन प्रणाली अनुरुप पुनर्संरचना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। मंगलबार संसदीय सुनवाई समितिको बैठकमा प्रस्तावित महालेखापरीक्षक रायाले आफ्नो भावी कार्ययोजना प्रश्तुत गर्दै सो कुरा बताए। रायाले लेखा संपरीक्षणको कामलाई सहज बनाउन, पारदर्शी बनाउन र कम खर्चिलो बनाउन पनि महालेखापरीक्षकको कार्यालय संगठन संघीय ढाँचा अनुरुप अघि बढाउन आवश्यक रहेकाले आफूले सो कामलाई पहिलो प्राथमिकतामा राख्ने बताए उनले सार्वजनिक लेखा परीक्षणलाई गुणस्तरीय, जवाफदेही र निष्पक्ष बनाई नीतिगत आधारहरु तय गर्ने र लेखा परीक्षणका लागि विद्यमान रणनीतिक योजनाको कार्यान्वयनमा जोड दिने पनि बताए। वित्तीय अनुशासन पालना गर्न, गराउन सरोकारवाला सबै पक्षसँग अन्तरक्रिया, समन्वय, सहकार्य र सम्बन्ध विस्तार गर्ने, पूर्व महालेखापरीक्षक एवं पूर्व कर्मचारीहरुसँग अनुभवको आदानप्रदान तथा सुधारका विभिन्न पक्षहरुमाथि निरन्तर छलफल चलाउने र प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने पनि प्रस्तावित महालेखापरीक्षक रायाको कार्ययोजना रहेको छ । प्रस्तावित महालेखापरीक्षक रायाले गुणस्तरीय लेखापरीक्षण प्रतिवेदन तयार पार्दा पनि विज्ञहरुसँग परामर्श लिएर अघि बढ्ने पनि बताए।

लागूऔषधसहित १० जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ परेका छन् ।  दाङ, गढवा गाउँपालिका ८ कोईलावासबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ किलो ८ सय २० ग्रामसहित घोराही उपमहानगरपलिका १३ डुमरगाउँ बस्ने ४१ वर्षीया सुकमाया बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  झापा, कमल गाउँपालिका ५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय मिलिग्राम र नगद २५ हजार रुपैयाँसहित ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय हिक्मत धिमाल, २७ वर्षीय सुदिप धिमाल, सोही गाउँपालिका ६ बस्ने २५ वर्षीय न्युसन राई र सोही नगरपालिका ५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । हिक्मतको घरमा लागूऔषध बिक्री हुने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका १२ शान्ति चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ६० मिलिग्रामसहित भारत बिहार राज्य अररिया कर्साकट्टा घर भई हाल मोरङ बिराटनगर महानगरपालिका १७ रानी बस्ने मोहमद ईब्रानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले बिराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ ह ९६०७ नम्बरको सिटी सफारीलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी चालक मोहमदलाई पक्राउ गरेको हो ।   पर्सा, वीरगंज महानगरपालिका १६  रजतजयन्ती चोकबाट अवैध लागूऔषधसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका २ बस्ने २१ वर्षीय सुगम श्रेष्ठ र मकवानपुर हेटौंडा उपमहानगरपालिका १४ बस्ने २८ वर्षीय दिनेश नेगी रहेका छन् ।  प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सुगमलाई नियन्त्रित लागूऔषध फेनारगन ५ एम्पुल, डाइजेपाम ५ एम्पुल र नुर्फिन ५ एम्पुल तथा दिनेशलाई अवैध लागूऔषध खैरौ हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ९० मिलिग्रामसहित पक्राउ गरेको हो ।  कैलाली, भजनी नगरपालिका ३ जस बहादुर घाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका ३ अमैरी बस्ने २२ वर्षीय प्रदिप चौधरी र १९ वर्षीया अस्मिता शाही रहेका छन् । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।   

सुशासन, समृद्धि र सामाजिक न्यायका निम्ति समर्पित हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष वि.सं. २०८१ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देश जारी गर्दै उनले नयाँ वर्षमा अझ बढी मेहनतका साथ आ–आफ्ना कार्यक्षेत्रमा खटिई सुशासन, समृद्धि र सामाजिक न्यायका निम्ति समर्पित हुन आह्वान गरेका छन् । 'नयाँ वर्षको सुरूआतसँगै हामी सबै नेपालीमा नयाँ जोश, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आ–आफ्नो कर्मक्षेत्रमा जुट्नेछौँ भन्ने विश्वास व्यक्त गर्दछु।' शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले भनेका छन्- 'यस सुखद अवसरमा विगत वर्षका अनुभवबाट शिक्षा लिई नयाँ वर्षमा अझ बढी मेहनतका साथ आ–आफ्ना कार्यक्षेत्रमा खटिई सुशासन, समृद्धि र सामाजिक न्यायका निम्ति समर्पित हुन हार्दिक आह्वान गर्दछु।' सङ्घीयताको प्रभावकारी कार्यान्वयन, सुशासनका निम्ति चालिएका दूरगामी कदम र प्राप्त उपलब्धी, सेवा प्रवाहमा सरलता, समस्याग्रस्त आर्थिक क्षेत्रको सुधारमा अग्रसरता, जनताका समस्याहरूको प्रत्यक्ष सम्बोधन, देशको अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिक क्षेत्रमा प्राप्त सफलता विसं २०८० का हाम्रा आशालाग्दा राष्ट्रिय उपलब्धी भएको प्रधानमन्त्रीले बताएका छन् । 'सत्ता समीकरणमा आबद्ध दलहरूको सम्बन्धलाई सुदृढ तुल्याउँदै सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु, अर्थतन्त्र सुधारमा गुणात्मकता प्रदान गर्नु, समृद्धिको बलियो जग बसाउनु, सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु वि.सं.२०८१ का मूल जिम्मेवारी हुन् । यी प्राथमिकता र प्रयासमार्फत देश र जनतामा आशाको नयाँ रक्तसञ्चार पुनःजागृत हुनेछ भन्ने मैले विश्वास लिएको छु,' प्रधानमन्त्रीद्धारा शुभकामना सन्देशमा भनिएको छ । मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु हामी सबैको सर्वोपरि लक्ष्य भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस्ता साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, आत्मीयता र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्दै नयाँ वर्षलाई उपलब्धी र समृद्धिको ऐतिहासिक मानकका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले शुभकामना व्यक्त गरेका छन् ।

संसदीय छानविन समिति बनाउन कांग्रेसको माग कायमै

काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहकारी समस्या छानवीनका लागि संसदीय समिति बनाउनुपर्ने माग दोहो¥याएकी छन्। संसदीय समिति बनाउने प्रतिपक्ष दल काँग्रेसको मागलाई सहजतापूर्वक स्वीकार गर्न सबै दलहरुलाई उनले आग्रह गरिन् । सोमबार प्रतिनिधि सभा बैठकमा समय माग गेर उनले सरकारले सहकारी ठगहरुको पक्षमा वकालत गरेको आरोप समेत लगाइन् । उनले सरकारले सहकारी पीडितहरुलाई न्याय दिनुभन्दा पनि सहकारी ठगहरुको पक्षमा वकालत गरेको बताइन ।  उनले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगको संज्ञा दिँदै प्रधानमन्त्रीले संसदमा उभिएरै गृहमन्त्रीको पक्षमा न्यायाधीश जसरी फैसला सुनाएको आरोप लगाइन्। उनले प्रधानमन्त्री कार्यकारी पनि आफैँ र न्यायालय पनि आफैँ भएर प्रस्तुत भएको टिप्पणी गरिन्।  सांसद गौतमले गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध परेको उजुरीलाई चिर्कटोको संज्ञा दिएको उल्लेख गर्दै उजुरी ताम्रपत्र वा स्वर्णपत्रमा लेख्ने चलन नभएको व्यङ्गय गरिन् । उनले सत्ता गठबन्धनका नेताहरु सहयात्री दलका नेतालाई गुमाउनुपर्छ भनेर त्रासमा रहेको आरोप लगाउँदै सरकार टिकाउनका लागि गृहमन्त्रीमाथि सहकारी प्रकरणमा अनुसन्धान नभएको उनको भनाइ छ ।

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ :  प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका हुन्। सिंहदरबार आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन भनेर प्रश्न गरेका हुन् । “चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारको पुँजीगत खर्च समग्रमा कम रहनु हाम्रो लागि चिन्ताको विषय हो,” प्रधानमन्त्री प्रचण्डले भने, “ पुँजीगत शीर्षकमा विनियोजन भएको सबै बजेट पूरा खर्च नहुने अवस्था हरेक वर्ष दोहोरिने बारेमा गम्भीर भएर सोचौँ । यो समस्याको समाधान यस आवको बाँकी अवधिमा गर्नैपर्छ ।” पुँजीगत खर्च बढाउन विभिन्न उपायहरू कार्यान्वयन गर्ने प्रक्रिया अघि बढेको परिप्रेक्ष्यमा उपलब्ध भएको बजेट पूर्णरूपमा खर्च हुनेगरी विकास निर्माणका कार्यको नेतृत्व गर्न सबै मन्त्री तथा मुख्यमन्त्रीलाई निर्देशन दिए। केही मन्त्रालय र केही राष्ट्रिय गौरवका आयोजनाहरूले तुलनात्मक रूपमा राम्रो गरेको अवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ८० प्रतिशतभन्दा बढी भौतिक प्रगति हासील गर्ने सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना, कालीगण्डकी कोरिडोर (गैंडाकोट–राम्दी खण्ड) र लुम्बिनी क्षेत्र विकास कोषलगायतलाई धन्यवाद व्यक्त गरे। उनले ती आयोजनाका साथै अन्य सबै आयोजनालाई बाँकी अवधिमा शतप्रतिशत नतिजा प्रदान गर्न  निर्देशन दिए। सरकारले गर्ने खर्चमार्फत अर्थतन्त्रमा बहुआयामिक असर तथा अवसर सिर्जना उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्र, सहकारी क्षेत्र, समुदाय र विकास साझेदारको स्रोतसाधन  परिचालन गर्न पनि तोकिएको खर्च समयमै गर्न आवश्यक रहेको बताए। उनले भने, “सरकारका सम्पूर्ण अङ्गहरू प्रक्रियामुखीभन्दा परिणाममुखी सोंचका साथ अगाडि बढ्न आवश्यक छ ।”