उदयपुरका माओवादी नेता अनिलको निधन

विराटनगर । नेकपा माओवादी केन्द्रका जनयुद्धकालिन पुराना नेता भीमबहादुर अधिकारी अनिलको निधन भएको छ । 

लामो समयदेखि उपचाररत उनको क्यानसर रोगका कारण निधन भएको माओवादी उदयपुरका नेता विवश कटुवालले जानकारी दिए ।  

किन सुक्छ स्वर ? बचाउन के गर्ने ?

जिवीत प्राणीसंग आवाज हुन्छ । त्यही आवाजबाट उसले एक अर्काबीच सन्चार प्रक्रिया गर्छ, अन्तक्र्रिया गर्छ । आवाजमार्फत् नै मानिसले दुःख–सुख साट्छ, भावना व्यक्त गर्छ । यसैले हामीलाई समाजमा घुलमिल गर्न सहयोग गर्छ । आवाजविनाको परिकल्पना हामी गर्न पनि सक्दैनौं। डा ढुण्डीराज पौडेल मानिसको आवाज विभिन्न थरिका हुन्छन् । तर यसमा पनि समस्या आउन सक्छन् । धोद्रो, सुकेको, ठूलो, चर्को, मधुरोजस्ता आवाजहरु सबै स्वरका समस्या हुन सक्छन् । स्वर सुक्ने समस्यालाई ‘हर्सनेस’ भनिन्छ । घोडाको जस्तै आवाज भएकाले यसो भनिएको हो । मेडिकल भाषामा यसलाई ‘डिसफोनिया’ भनिन्छ। कहाँ बन्छ आवाज ? घाँटीमा एउटा स्वरयन्त्र हुन्छ । त्यहाँ दुईवटा भोकल कर्ड हुन्छन् । दुईटा स्वर यन्त्रको बीचबाट हावा बाहिर निस्कने क्रममा बोली अर्थात् आवाज निस्कन्छ। बोली उत्पादन भोकल कर्डमा हुन्छ । तर आवाज निस्केर मात्र हुँदैंन, त्यसलाई सुमधुरता दिन माथिल्लो अंगहरु जस्तै नाक, घाँटी, अनुहारका हड्डीजस्ता विभिन्न अंगले स्वर मिठो बनाउन भूमिका खेल्छन् । भोकल कर्डलाई हामी रुद्रघण्टी भन्छौं। किन हुन्छ बोली धोद्रो ? भोकल कर्डबाट नाकको भागसम्म अथवा टाउकाको तल्लो भागसम्म कुनै पनि प्रकारको खराबी भयो भने खराब आवाज निस्कन्छ । अर्थात् स्वरको समस्या हुन्छ । जसलाई हामी डिस्फोनिया भन्छौँ । यसैले भोकल कर्डमा समस्या भयो भने आवाज धोद्रो निस्कन्छ । यसका अतिरिक्त नाक तथा घाँटीको समस्या र पिनासका कारणले पनि बोली धोद्रो हुन सक्छ । यस्तै, भाइरसको समस्याले पनि स्वरमा परिवर्तन हुन्छ । धुलो, धुँवा, प्रदूषण, क्यान्सर, लामो समयसम्म चुरोट खानेहरुमा पनि क्यान्सर भएर मासु पलाउन सक्छ । बोलीको अत्याधिक प्रयोग अथवा ‘एब्युज अफ भ्वाइस’ कारण पनि बोली धोद्रो हुन्छ । बोलेको बोल्यै गर्नुपर्ने मानिसहरु जस्तै, शिक्षक, नेता, कर्मचारी, व्यापारीहरुको भोकल कर्डमा असर गरेर मासु पलाउन सक्छ र आवाज बिग्रन्छ। कहिलेकाही स्वरको दुरुपयोग पनि हुन्छ । कुनै घटनामा प्रतिक्रिया जनाँउदा, कुनै खेलमा आफ्नो मनपर्ने टिमले जित्दा, भिडभाडमा आफूले चिनेको व्यक्ति देखिँदा हामी ठूलो स्वरले चिच्याउँछौं । यसरी चिच्याउनु अनावश्यक हो, नचिच्याए पनि हुन्छ । त्यसैले यो स्वरको दुरुपयोग (एब्युज अफ भ्वाइस) हो। यस्तै, मसालेदार खानेकुरा, चिया–कफीको बढी प्रयोग, पानीको कम प्रयोग र ग्यास्ट्रिक भएका मानिसमा पनि स्वरको समस्या हुन्छ । फोक्सोमा क्यान्सर हुँदा मासु पलायो भने त्यसले स्वरयन्त्र चलाउने नशा च्यापिएर पनि स्वरमा समस्या हुनसक्छ वा बोली भाषिन सक्छ । मुटुमा रोग लाग्यो भने पनि त्यसले नशा च्यापिएर पनि स्वरयन्त्र प्यारालाइज हुँदा बोलीमा समस्या आउन सक्छ। मानिस वृद्ध अवस्थामा पुग्दा शरीरका नशा सक्दै जान्छन् । त्यसले पनि स्वर सानो हुँदैं जान्छ । त्यस्तै फोक्सोका रोगीमा पनि स्वरमा समस्या हुन्छ । किनभने बोली निस्कन हावा निस्कनुपर्छ । हावा निकाल्न फोक्सोमा कम हावा भयो भने यस्तो समस्या आउछ । त्यसैले निमोनिया, दम भएको मानिसमा स्वरमा समस्या आउँछ। कुनै मानिसको घाँटी बजाइराख्ने बानी हुन्छ, ठूलो स्वर निकालेर घाँटी सफा गर्ने बानी हुन्छ, त्यस्ता व्यक्तिमा पनि स्वरमा समस्या हुन सक्छ । अनावश्यक खोकीराख्नेहरुमा पनि बोलीमा समस्या हुन सक्छ । स्वर बचाउन के गर्ने ? धाराप्रवाह रुपमा छिटा–छिटो बोल्नु हुँदैन । अनावश्यक र चर्को स्वरमा नबोल्ने । बिस्तारै बोल्नुपर्छ । बोल्दा बीच–बीचमा रोकिएर थुक निल्दै बोल्नुपर्छ । आधा घण्टा बोले १० मिनेट आराम गर्नुपर्ने हुन्छ । धेरै बोल्नुपर्ने शिक्षकले स्वरमा ध्यान दिनुपर्छ । बिद्यालयमा पढाइसकेपछि बाहिरा निस्किएर गफ गरेर बस्नुभन्दा एकछिन चुप लागेर बस्नुपर्छ । यसको साटो बरु किताब पढेर बस्न सकिन्छ । (डा पौडेल वीर अस्पतालका नाक कान घाँटी रोग विशेषज्ञ हुन्। स्वास्थ्य खबरबाट)

सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्योः प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनको मामिलामा निकै कमजोर देखिएको टिप्पणी गर्दै आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको बताउनुभएको छ । पार्टीले कार्तिक १० गते काठमाडौंमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारीका लागि आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । माओवादी केन्द्र कांग्रेस एमालेभन्दा भिन्न रहेको स्पष्ट गर्दै उहाँले आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा कसैको दल र अनुहार नहेरेर कारवाही गरेको तर अहिलेको सरकार प्रतिद्वन्द्वीलाई मात्रै प्रहार गर्ने गरी अघि बढेको बताउनुभयो । हिजो मात्रै बिपक्षी दलहरुको तर्फबाट बालुवाटारमा ज्ञापनपत्र बुझाउन गएको बेला प्रधानमन्त्रीसँग भएको संवाद सुनाउँदै उहाँले भन्नुभयो– ‘मैले स्पष्टसँग भनेको थिएँ, तपाइँ र हामीमा फरक के भयो भने हामीले के माओवादी, के कांग्रेस, के एमाले कुनै दल नहेरेर गल्ती गरेको छ भने सबैलाई कानुनबमोजिम ल्याउनुपर्छ भनेर लाग्यौं तर तपाइँहरुले कांग्रेस र एमालेका नेताले गल्ती गरेको छ्याङै देख्दा पनि बचाउनुभएको छ र आफ्नो राजनीतिक प्रतिद्वन्द्वी देख्नुभयो भने खोजीखोजी हान्नुभएको छ ।’ सरकारले गर्नुपर्ने काम नगरेको तर गर्न नहुने काममा बढी ध्यान दिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकारको ‘हनिमुड पिरियड’लाई ध्यान दिंदै अहिलेसम्म सडकमा नआएको तर अब सरकारको सय दिन पुगेकाले सडक प्रदर्शनमा कार्यक्रम अघि सार्न थालेको बताउनुभयो । आफ्नो पार्टी नेतृत्वको सरकारले १८ महिनामा गरेका कामले जनतामा उत्साह थप्दै गएको बेलामा भ्रष्टाचारीलाई बचाउन नयाँ समीकरण बनेको जनताले राम्ररी बुझेको उल्लेख गर्दै उहाँले यसलाई थप स्पष्ट गर्दै अब सरकारका गलत कार्यको भण्डाफोर गर्दै लैजानुपर्ने बताउनुभयो । सरकारले एकपछि अर्को नाजाजय हर्कत गर्दै जाँदा जनतामा सरकारविरोधी भावना बढ्दै गएको उहाँले स्पष्ट गर्नुभयो । उद्योगहरुबाट बक्यौता महसुल उठाउन खोज्दा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र एउटा सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्ने, बाढीपहिरोपछि उद्धार, राहत र पुनर्स्थापनामा ध्यान नदिनेदेखि जग्गा दान प्रकरणसम्म आउँदा सरकार आफैले भ्रष्टाचारीको संरक्षकको रुपमा प्रस्तुत गर्दै गएको बताउनुभयो । अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित राजनीतिक उपलब्धिमाथि प्रहार हुन थालेकाले अब सडकबाट जनतालाई अपिल गर्न ढिलाई गर्न नहुने ठानेर नै पार्टीले जनप्रदर्शनको कार्यक्रम तय गरेको बताउनुभयो । ‘सरकार गठन गर्नेबेला नै दुई दलीय व्यवस्थाको वकालत गरिएको थियो, त्यो निरंकुश सोंच हो । अहिले पनि कतै न कतै गठबन्धनभित्र यसखालको सोंच हटेको छैन’– उहाँले भन्नुभयो– ‘यसलाई अघि बढाउन दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने षड्यन्त्र जारी नै छ, यी सबै षड्यन्त्रका विरुद्ध सशक्त खबरदारी जरुरी छ ।’  

चिनियाँ राजनीतिज्ञ छेन गाङ नेपाल भ्रमणमा

काठमाडौं । चिनियाँ राजनीतिज्ञ  छेन गाङ नेपाल भ्रमणमा आउनुभएको छ ।शनिबार मध्यान्ह उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउनुभएको हो । उहाँलाई सहयोग गर्न नेपालस्थित चिनियाँ राजदुतावासका कर्मचारीहरु विमानस्थल पुगेका थिए । गाङ  हाल छिन्घाईको कम्युनिष्ट पार्टी सचिवको रूपमा सेवारत हुनुहुन्छ । यसअघि उहाँले अखिल चाइना फेडेरेसन अफ ट्रेड युनियनको कम्युनिष्ट पार्टीको सचिवको रूपमा काम गर्नुभएको थियो । नेपाल भ्रमणका क्रममा उहाँले राजनीतिक व्यक्तित्वहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

बागलुङ बडिगाड पहिरो  उद्धारका लागि घटनास्थल पुग्यो हेलिकोप्टर

बागलुङ। मङ्गलबार बिहान बागलुङको बडिगाड गाउँपालिका १० आरुपाटामा गएको पहिरोमा परेर घाइते भएकाहरुको उद्धारका लागि करिब २१ घण्टापछि हेलिकोप्टर घटनास्थल नजिक अवतरण गरिएको छ। मङ्गलबार बिहान पहिरोमा परेर वडा नम्बर १० मा ६ र ९ मा दुईजनाको मृत्यु भएको थियो। दुईजना चिकित्सक र केही प्रहरीसहित नेपाली सेनाको हेलिकोप्टर बडिगाडतर्फ गएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए । मङ्गलबार खराब मौसमका कारण हेलिकोप्टर अवतरण हुन नसकेपछि फर्किएको थियो । पहिरोका कारण सडक अवरुद्ध हुँदा घाइतेहरुलाई अस्पतालसम्म लैजान कठिन भएको थियो । बुधबार बिहान हेलिकोप्टर ९ नम्बर वडाको जनता आधारभूत विद्यालय नजिक अवतरण भएको वडाध्यक्ष विरेन्द्रकुमार बुढामगरले जानकारी दिए। उनले भने, ‘‘हेलीकप्टर ९ नम्बर वडामा अवतरण भएको छ । हेलिकोप्टरबाट गम्भीर घाइतेहरुलाई काठमाडौँ लैजाने तयारी छ।’’ स्थानीयवासीहरुले उपचारका लागि घाइतेहरुलाई बुर्तिबाङस्थित अस्पतालमा पु¥याइसकेको उनले जानकारी दिए। पहिरोमा परेर बेपत्ता भएका चारजनाको खोजी कार्य विहानैदेखि थालिएको वडाध्यक्ष बुढामगरले बताए । उनका अनुसार १० जना घाइते भएकामा केहीलाई उद्धार गरेर उपचारका लागि बुर्तिबाङ पठाइएको छ । पहिरोमा परेर गम्भिर घाइते भएका आरुपाटाका ७८ वर्षीय जोगबहादुर बुढाको समयमै उपचार नपाउँदा मङ्गलबार साँझ मृत्यु भएको वडाध्यक्ष बुढामगरले जानकारी दिए। पहिरोमा परेर बेपत्ता भएकाहरुको प्रहरी र स्थानीयवासीहरुले बिहानैदेखि खोजी कार्य थालेका छन् ।  सोमबार रातीदेखि परेको अविरल वर्षाका कारण मङ्गलबार बिहान ११ः३० बजेको समयमा मृतक जोगबहादुरको घरमाथिको पाखोबाट खसेको पहिरोले घर र गोठ पुरिएको थियो । पहिरोका कारण करिब ५० घरधुरी विस्थापित भएको वडाध्यक्ष बुढामगरले जानकारी दिए। उनले भने, ‘‘पहिरोका कारण वडामा करिब ५० घरधुरी विस्थापित भएका छन् । विस्थापितहरुलाई बस्ने, खाने र पानीको समेत अभाव भएको छ।’’गोरखापत्रबाट ।

कुलमानको अडान : तीन महिना भित्र बक्यौता तिर्ने सर्तमा उद्योगमा विद्युत जडान

काठमाडौं । तीन महिनाभित्र महसुल नतिरे नेपाल विद्युत प्राधिकरणले बक्यौता रहेका सबै उद्योगको लाइन काटिदिने चेतावनी सहित विद्युत जडान गरिदिएको छ ।  संसद्‌देखि मन्त्रिपरिषद् कार्यालयसम्म बक्यौता नतिरेका व्यापारीको पक्षमा रुझान राखेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिनासर्त विद्युत जडान गरीदिन विद्युत प्राधिकरणलाई दबाब दिए पनि प्राधिकरणलेतीन महिनाभित्र उद्योगीहरूले वक्यौता विद्युत महसुल भुक्तानी नगरेमा पुनः बक्यौता असुलउपर गर्न कारबाही अघि बढाउनेगरी विद्युत नियमन आयोगको निर्देशन अनुसार उद्योगहरूको विद्युत लाइन जोड्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनपछि सञ्‍चालक समितिको लिखित निर्णयका आधारमा प्राधिकरणले बिजुली काटिएका आधादर्जन उद्योगको लाइन हिजो (मंगलबार) सर्तसहित बेलुकी ८ बजेदेखि जोडिदिएको हो । विद्युत महसुल नतिरेपछि प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट, हुलास स्टील, घोराही सिमेन्ट र जगदम्बा सिन्थेटिकको लाइन असार २५ देखि काट्न थालेको थियो । २७ गतेसम्म यी ६ उद्योगको लाइन काटेपछि उद्योगीहरू नवगठित सरकारका प्रधानमन्त्री ओली र विभागीय मन्त्रीहरूकहाँ गुहार्न पुगेका थिए । प्राधिकरणले लाइन काटिएका ६ वटा उद्योगहरूमा मंगलबार साँझबाट क्रमिक रूपमा विद्युत जडान गर्ने जनाए पनि महसुल नतिरे पुनः लाइन काटिदिने अडान राखेको हो ।विद्युत जोड्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दबाब दिएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ दबाबमा परेका थिए ।

जिल्ला समन्वय समिति खारेज गर्न प्रेम सुवालको माग

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जिल्ला समन्वय समिति खारेज गर्न सरकारसँग माग गरेका छन्।  आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै उनले सो माग गरेका हुन्। सांसद सुवालले स्थानीय तहको काममा संघ र प्रदेश सरकारले हस्तक्षेप गर्न नहुने बताए। स्थानीय तहलाई पूर्ण रूपले स्वायत्तता प्रदान गर्नुपर्ने उनको भनाइ थियो। सांसद सुवालले स्थानीय तहमा जल संकट आउन नदिनका लागि आवश्यक व्यवस्था मिलाउन समेत सरकारलाई सुझाए। उनले भने,  ‘जिल्ला समन्वय समितिको भूमिका स्पष्ट नहुँदा खारेज गर्ने, स्थानीय तहको विकासको काममा संघ र प्रदेशको सरकारले हस्तक्षेप नगर्ने र पूर्ण रुपले स्वायत्तता र विकेन्द्रीकरण प्रदान गर्ने। अहिले भारतको राजधानी दिल्लीमा जल संकटको अवस्था छ। नेपालको ७५३ स्थानीय तहमध्ये कुन, कुन तहमा जल संकटको अवस्था छ। र समाधानको उपाय के छ? मन्त्रीज्यूले यहाँ पेश गर्न उपयुक्त हुनेछ।’

उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक अभियन्ताहरू स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग गर्ने सोचमा आधारित भएर परिचालित हुनुपर्ने बताएका छन्।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को समाज कल्याण विभागद्वारा आज आयोजित ‘सामाजिक अभियान्ता भेला’ कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्डले देशभित्रका श्रमशक्ति र पुँजीलाई परिचालन गरी उत्पादन, उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्ने बताए । “गैरसरकारी क्षेत्र विदेशी पुँजी परिचालन गर्ने आइएनजिओ र तिनीहरूमा नै आश्रित रहेर सञ्चालित एनजिओ मात्र होइनन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “देशभित्र रहेको श्रमशक्ति र पुँजीलाई परिचालन गरी उत्पादन, उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सहकारिता र सामाजिक एवं सांस्कृतिक रूपान्तरणको नेतृत्व गर्ने क्षेत्र पनि हुन् ।” उनले देशको मूल नीति विदेशी सहायतामा मात्रै निर्भर हुने होइन, आफ्नै पुँजी, जनशक्ति, सीप र प्रविधिको प्रयोग गर्ने सोच, नीति र कार्यक्रम हुनुपर्दछ भने। विश्वव्यापीकरणको परिस्थितिमा गैरसरकारी संस्थाहरूलाई राज्यको प्राथमिकताका आधारमा नियमन, निर्देशन र परिचालन गर्ने नीति नै महत्त्वपूर्ण हुने बताउँदै प्रधानमन्त्रीले सबै तहको पार्टी कमिटीमा गैरसरकारी तथा सामाजिक सङ्घसंस्था विभाग गठन गर्नुपर्नेमा जोड दिए। उनले पार्टीको छाता सङ्गठनका रूपमा केन्द्रमा राष्ट्रिय महासङ्घ गठन गर्ने, सबै वडाहरूमा सामुदायिक केन्द्र र क्लबहरू गठन गर्ने नीति पार्टीले लिनुपर्ने बताए। संस्थाहरूले आफ्नो तहको सरकार र राज्यका निकायका कामहरूको अनुगमन र सहकार्यका आधारमा सामाजिक क्षेत्रमा बलियो उपस्थिति र नेतृत्व स्थापित गर्न सुझाव दिँदै प्रधानमन्त्री प्रचण्डले सिङ्गो पार्टीको पुनर्गठन र रूपान्तरणको प्रक्रियामा यस्ता संस्थाले योगदान गर्ने विश्वास व्यक्त गरे। पार्टी केन्द्रले समाज कल्याण विभागलाई सामाजिक सङ्घ, संस्थाको सञ्चालन र पार्टीको जिम्मेवारीसम्बन्धी नीतिगत व्यवस्थाका बारेमा अध्ययन गरी पार्टी र सम्बन्धित सङ्घ, संस्थालाई आवश्यक राय सल्लाह दिनुपर्ने बताउँदै प्रधानमन्त्रीले पार्टीको सबै तहमा सामाजिक सङ्घसंस्था विभाग निर्माण गरी सञ्चालनका लागि राय सल्लाह र सुझाव दिनुपर्नेमा जोड दिए। सङ्घीय संरचनाबमोजिम समाज कल्याण विभागका प्रदेश र स्थानीय तहको संरचना निर्माण गरी ती क्षेत्रमा रहेका सङ्घसंस्थालाई राय सल्लाह, परामर्श र आवश्यकताअनुसार निर्देशनसमेत दिनुपर्ने प्रधानमन्त्रीले उल्लेख गरे। उनले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, संयुक्त राष्ट्रसङ्घीय निकायहरू र विकास साझेदारसँग सम्बन्ध स्थापित गरी उनीहरूसँग पार्टीको सम्बन्ध स्थापित गर्न सहयोग र समन्वय गर्नेजस्ता महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरेको बताए। पार्टीविरूद्धका गतिविधिहरूलाई रचनात्मक ढङ्गले कमजोर पार्ने, पार्टीको पक्षमा जनमत निर्माण गर्ने एवं निर्मित जनमतलाई पार्टीमा सङ्गठित र वैचारिकीकरणका निम्ति पार्टीले तपाईहरूको महत्त्वपूर्ण योगदान प्रधानमन्त्री प्रचण्डको विश्वास छ । समाजवादको आधार तयार पार्ने सन्दर्भमा माओवादीले शान्तिपूर्ण प्रतिस्पर्धाका माध्यमबाट सरकार, सदन र सडकबाट सङ्घर्ष गर्ने नीति अख्तियार गर्दै आएको बताउँदै अध्यक्ष प्रचण्डले यसका निम्तिसमेत सामाजिक क्षेत्रको भूमिकालाई सङ्किर्ण तवरले नबुझ्न सुझाव दिए। उनले भने, “सामाजिक क्षेत्रलाई राजनीतिक र सामाजिक रूपान्तरण र समाजवादको लक्ष्यसँग जोड्ने प्रवृत्ति नै सही र क्रान्तिकारी प्रवृत्ति हो । हामी यही प्रवृत्तिको पक्षमा छौँ ।” पार्टी नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित राजनीतिक, आर्थिक, सामाजिक जीवनका सबै क्षेत्रमा सकारात्मक परिणाम ल्याउन मेहेनत र सङ्घर्ष गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम र बजेट पनि यीनै विषयमा केन्द्रित भएको बताए।

मिनी बस दुर्घटनामा दुईको मृत्यु

सुर्खेत। दैलेखको दुल्लु नगरपालिकाको भुकाँहदेखि सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको मिनी बस दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका(७ को गोजेनी जङ्गल नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।  सो दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूको सनाखत हुन बाँकी छ । बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेहरूको उपचारको लागि प्रदेश अस्पताल सुर्खेत र कर्णाली कियरमा लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटनामा परेको हो । 

आजदेखि यी स्थानमा दैनिक ६ घण्टा बिजुली नआउने

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा चार दिन ६ घण्टा बिजुली कटौती हुने भएको छ।  नेपाल विद्युत् प्राधिकरणको पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजना, खटिपारीका अनुसार जेठ ३, ५, ६ र ८ गते बिहान ११ बजे देखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।  रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । बिहीबार नयाँबजार, खुसिब, सोह्रखुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। शुक्रबार सोह्रखुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल टेक, पुष्पलाल पार्क, ढल्कु क्षेत्रपाटी चोक, धोबीचौर, ठहिटी, पकनाजोल, ज्याठा र कान्तिपथ क्षेत्रमा बिजुली कटौती हुनेछ।  त्यस्तै जेठ ६ गते काष्ठमण्डप भीमसेनस्थान १२ नं वडा कार्यालय, ह्युमत, जैसीदेवल र चिगमंगल तथा ८ गते भीमसेनस्थान, काष्ठमण्डप त्रिपुरेश्वर टेक, पचली भैरव मन्दिर, बम्सीघाट, सबलबहाल र त्रिपुरेश्वर, विश्व निकेतन स्कुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। 

स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न हामी तयार छौँ : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न सरकार तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघले मंगलबार आयोजना गरेको ‘मेक इन नेपाल स्वदेशी समिट २०२४’ मा बोल्दै मन्त्री भण्डारीले सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने बताए । “स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न हामी तयार छौँ । बजेजमा उद्योग क्षेत्रमा के गर्न सकिन्छ भनेर हामी अर्थमन्त्रीसँग छलफल गर्नेछौँ,” मन्त्री भण्डारीले भने, “स्वदेशी सामान गरिद गर्न परिसंघले आग्रह गर्दै आएको छ । त्यसमा सरकार सकारात्मक छ ।” जिडिपीमा उद्योगको योगदान बढाउन सरकार तयार रहेको पनि मन्त्री भण्डारीले बताए । “उद्योग क्षेत्रको योगदान जिडिपीमा घट्दै गएको छ,” मन्त्री भण्डारीले भने, “जिडिपीमा उद्योग क्षेत्रको योगदान बढाउन ठूलो परिवर्तन आवश्यक छ । यसमा सरकारले आवश्यक सहजीकरण गर्नेछ ।” अहिलेका रूग्न उद्योग सरकारले चलाउने हो वा के गर्ने भनेर बहस आवश्यक रहेको उनले बताए । सरकारले उद्योगलाई सहजीकरण गर्ने व्यवस्था हुनुपर्ने उनको भनाइ छ । अहिले कानुन उद्योगमैत्री बन्दै गएको बताए ।

विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी : गृहमन्त्री लामिछाने

काठमाडौं। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले विपदमा परेका नागरिकको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स हुन जरुरी रहेको बताएका छन् ।शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपदमा परेका नागरिकहरूको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी रहेको बताएका हुन् । उनले सातै प्रदेशले एयर एम्बुलेन्सको अवधारणा बनाउनुपर्ने बताए। उनले पैसाको अभाव देखाएर विपद् व्यवस्थापनको काम नगरिएको भन्दै इच्छाशक्ति भएमा बजेट व्यवस्थापन हुनसक्ने धारणा राखे। उनले विपद् व्यवस्थापनका लागि आवश्यक उपकरणको जोहो गर्नुपर्ने जानकारी दिए। ‘‘नागरिकको ज्यान जोगाउने कुराहरू, नागरिकको जनधन जोगाउने कुराहरू अनिवार्य दायित्वमा पर्न आउँछ । सरकार फेरबदल हुने कुरा हामीभन्दा पनि अस्थिर देशहरू छन् । राजनीतिक रूपमा एकदमै अस्थिर देशहरू पनि छन् । कहिले कतिखेर सरकार ढल्ने हो ? कहिले बन्ने हो ? भन्ने कुरा नभएका कयौँ मुलुकहरू छन् । तर आम नागरिकको जीवनमा त्यसले त्यतिधेरै प्रभाव पारेको हुँदैन । किनकि नागरिकका आधारभूत आवश्यकताका कुराहरू, मानिसको मौलिक हक रक्षा गर्ने कुराहरू पहिलो प्राथमिकता बन्छ ।,’’ उपप्रधानमन्त्री लामिछानेले भने, ‘‘त्यसकारणले संसद्ले, संसदीय समितिले यी नीतिहरू बनाउँदा आम नागरिकको दैनिकीलाई मध्यनजर राखेर गर्ने अभ्यास संसारभरि नै छ । अहिले हामीसँग इच्छाशक्ति नहुनु र बजेट नहुनु दुई अलग कुरा हुन् जस्तो लाग्छ मलाई । इच्छाशक्ति हुने हो भने बजेट भन्नेकुरा व्यवस्थापन हुने कुरा हो । हाम्रा केही अवधारणाहरू छन् । हामीलाई मद्दत चाहिएको छ समितिहरूबाट ।’’ उपप्रधानमन्त्री लामिछानेले विपद्बाट नागरिकको जीवन बचाउने कुरालाई राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिए। उनले देशभरका दमकलहरूलाई एकीकृत रूपमा सञ्चालन गर्नेगरी अभ्यास गरिरहेको पनि जानकारी दिए । त्यस्तै देशैभरी विभिन्न कार्यविधि र निर्देशन अनुरूप चलिरहेका एम्बुलेन्सहरूलाई एकीकृत प्रणालीमा ल्याएर सञ्चालन गर्नुपर्ने उनले बताए। ‘‘सातै प्रदेशमा विपद्का लागि हामीसँग एयर एम्बुलेन्स हुन जरुरी हुन्छ । नागरिकको ज्यान बचाउने कुरा हो । सातै प्रदेशले त्यस्तो एयर एम्बुलेन्सको अवधारणा गर्नसक्यो भने । विपद् व्यवस्थापनका लागि आवश्यक उपकरणहरूको जोहो गर्नुपर्ने हुन्छ । हाम्रो प्राथमिकता छुट्याउन सक्यौँ भने, नागरिकको ज्यानको रक्षा गर्ने कुरामा ध्यान दिन सक्यौँ भने यी राष्ट्रिय प्राथमिकताहरू हुन् । यी राजनीतिक दलभन्दा सबभन्दा माथिका कुराहरू हुन् । हामी केही प्रयास त हामी गर्दछौँ । एकीकृत प्रयासहरू हामी गरिरहेका छौँ । दमकलहरू छन् ।,’’ उपप्रधानमन्त्री लामिछानेले भने, ‘‘तिनलाई एकीकृत रूपमा सञ्चालन गर्ने किसिमको अभ्यास हामी गरिरहेका छौँ । एम्बुलेन्सहरू देशैभरी विभिन्न ठाउँमा विभिन्न ढङ्गले विभिन्न कार्यविधिमा चलिराखेका छन् । विभिन्न निर्देशनहरूमा चलिरहेका छन् । तिनलाई एकीकृत प्रणालीभित्र ल्याउन सकियो भने नागरिकको ज्यान बचाउन सकिन्छ । चारवटा रुख काट्नुपर्‍यो भने कतिधेरै जटिलताहरू छ । हामी त्यसमा सङ्घर्ष गरिराखेका छौँ । तर जङ्गल नै सखाप हुनेगरी डढेलो लागेको अवस्थालाई चाहिँ रोक्न सक्ने कुरामा हामी ध्यान दिन सकिरहेका छैनौँ ।’’ गृहमन्त्री लामिछानेले देशभर लागिरहेको डढेलोलाई रोक्नका लागि ध्यान दिन नसकिरहेको पनि बताए।

डेढ किलो सुन र एक करोड रुपैयाँ बरामद

काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलो सुन र कम्तिमा १ करोड रुपैयाँ बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसहित कम्तिमा ७ जनालाई पक्राउ गरेको कार्यालयले जनाएको छ । यस विषयमा प्रहरीले केहिबेरमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिँदैछ ।

एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक सुरु

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक गोदावरीमा सुरु भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेकाे एक नेताले जानकारी दिएका छन् ।  बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको आशा र भरोसालाई आफ्नो पार्टीले सम्बोधन गर्ने दृढता व्यक्त गरेका छन् ।  आजको बैठकमा राजनीतिकसँगै, सांगठनिक र आयोगका प्रतिवेदन प्रस्तुत हुनेछ । प्रतिवेदन प्रस्तुत गरेपछि ६ वटा समूहमा विभाजन गरेर र छलफल गरिने महासचिव शंकर पोखरेलले जानकारी दिए ।  बैठकमा केन्द्रीय सदस्यसहित २ हजार ४५४ जना प्रतिनिधि सहभागी भएको एमालेले जनाएको छ । 

बाग्मतीका मुख्यमन्त्रीलाई एकीकृत समाजवादीले पनि विश्वासको मत दिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको पक्षमा विश्वासको मत दिने भएको छ । यथास्थितिमा विश्वासको पक्षमा नउभिने बताउँदै आएको एकीकृत समाजवादीले केन्द्रमा शीर्ष नेताहरूबीचको सहमतिअनुसार विश्वासको मत दिने भएको हो ।  एकीकृत समाजवादीले एउटा प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने माग राख्दै आएको छ । उसले वाग्मतीको मुख्यमन्त्रीमा दाबी गरेको थियो । नेपाली कांग्रेसले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै छन् ।  सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई प्रदेशसभाका ५६ सदस्यको मत आवश्यक पर्छ । प्रदेशसभामा नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का २१, नेकपा (एकीकृत समाजवादी)का सात, हाम्रो नेपाली पार्टीका दुई, कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका तीन सदस्य छन् । मुख्यमन्त्री जम्कट्टेलले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ । 

प्रमुख दलका प्रमुख सचेतकसँग छलफलमा सभामुख

काठमाडौं।सभामुख देवराज घिमिरेले आज प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन्। संसद्को अवरोध, नयाँ कार्यतालिका, संसद्को प्रभावकारिता लगायतका विषयमा छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ।  आज बिहान सवा ११ बजे बोलाइएको छलफलमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका प्रमुख सचेतक र सचेतकहरू सहभागी छन् । संसद् बैठक भोलि बस्ने भएकोले त्यसअघि प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेले परामर्श गर्न लागेका हुन् ।