भारतविरुद्ध सिरिज अष्ट्रेलियाले जित्यो, म्याक्सवेल बने नायक
काठमाडौं, फागुन १६ । भारत विरुद्धको टी-२० सिरिज अष्ट्रेलियाले २-० ले जितेको छ । बुधबार राति भएको अन्तिम खेलमा भारतलाई ७ विकेटले हराउँदै अष्ट्रेलियाले सिरिज जितेको हो । भारतले दिएको १९० रन लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलियाको जितमा ग्लेन म्याक्सवेल नायक सावित भए । उनले ५५ बलमा नटआउट ११३ रन प्रहार गरे । यस्तै, डार्सी सर्टले ४०, पीटर ह्यान्सकम्बले नटआउट २० रन बनाए ।
बलिङमा भारतका विजय शंकरले २ र सिद्धार्थ कौलले एक विकेट लिए । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९० रन बनायो । उसका लागि कप्तान विराट कोहलीले नटआउट ३८ बलमा ७२, लोकेश राहुलले ४७, महेन्द्रसिंह धोनीले ४०, दिनेश कार्तिकले नटआउट ८ रन बनाए । बलिङमा अष्ट्रेलियाका डार्सी सर्ट, जेपी फेबहनड्रफ, पीजे कमिन्स र नाथन कोल्टर नाइलले एक-एक विकेट लिए ।
सिमकाेट गाउँपालिकाकाे माेबाइल एप सार्वजनिक
हुम्ला, कात्तिक ४ । सिमकोट गाउँपालिकाले पहिलो पटक मोबाइल एप आजदेखि सञ्चालनमा ल्याएको छ । सिमकोट गाउँपालिकामार्फत सञ्चालन गरिँदै आएका हरेक सेवासुविधालाई अझ सरल, सुलभ र सर्वसाधारणका लागि सजिलै सूचना प्रवाह गर्नका लागि मोबाइल एप्स सञ्चालनमा ल्याइएको गाउँपालिकाकी नायब सुब्बा ममता महतले बताइन् । अब सर्वसाधारणले गाउँपालिकाको कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, सेवालगायत गाउँपालिकाका गतिविधि सजिलै मोबाइलमार्फत हेर्न सकिने व्यवस्था भएको नासु महतले बताइन् । साविक कर्णालीका अन्य चार जिल्ला जुम्ला, मुगु, डोल्पा र कालीकोटलाई स्वीकृति नदिइएको र हुम्लाको सिमकोट गाउँपालिकालाई पहिलो पटक मोबाइल एप्स स्वीकृति दिइएको गाउँपालिका उपाध्यक्ष वली रावतले जानकारी दिनुभयो । आफ्नो मोबाइलमा रहेको प्ले स्टोरमा गई सिमकोट रुरल म्युनिसिप्यालिटी टाइप गरी डाउनलोड गरेर सिमकोट गाउँपालिकाको हरेक सूचना गतिविधि मोबाइलमार्फत नै जानकारी लिन सकिने महतले बताउनुभयो । (तस्वीर उपलब्ध छ)
मेस्सीलाई ७०० औँ म्याचमा यस्तो झड्का
काठमाडौँ, असोज १२ । स्पेनिस फुटबल लीग ‘ला लिगा’मा हालको च्याम्पियन टीम बार्सिलोनालाई पुछारको वरियतामा रहेको टीम लेगानेसले २-१ ले पराजित गरेको छ । यो खेल दुई कारणले महत्वपूर्ण रहेको थियो । एउटा त यो बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेस्सीको ७०० औँ म्याच थियो भने, अर्को लेगानेसले पहिलो चोटी बार्सिलोनालाई हराएको हो । लेगानेसका लागि त फर्स्ट डिभिजन फुटबलमा यो तेस्रो मात्र सिजन हो । झन् यस सिजनका छ म्याचमा भने यो लेगानेसको पहिलो जीत हो । १४ वर्ष अगाडी बार्सिलोनाको लागि खेल्न थालेका मेस्सी बार्सिलोनाको तर्फबाट सात सय म्याच खेल्ने तेस्रो खेलाडी हुन् । यस अघि जाभी हर्नान्देज ले आठ सय ६९ खेल र आन्द्रेस इनिएस्ताले सात सय ५८ खेल खेलिसकेका छन् । बार्सिलोनामा अनुबन्ध भए यता मेस्सीले अरु क्लबबाट खेलेका छैनन् । लेगानेसको एस्टाडियो बुतारक्यु रंगशालामा बार्सिलोनाका फिलिप कुटिन्होले १२ औं मिनेटमा एक गोल गरेर टीमलाई अग्रता दिलाए पनि उनको यो गोल बार्सिलोनाको एक मात्र गोल हुन् पुग्यो । पहिलो हाफमा १-० को अग्रतामा रहेको बार्सिलोनालाई दोस्रो हाफमा ६८ सेकेन्डमै दुई गोल हिर्काएर लेगानेसले फर्किन दिएन । उसका लागि नेबिल अल जहारले ५२ औँ मिनेटमा र अस्कर रोड्रिगेजले ५३ औँ मिनेटमा गोल गरेका हुन् । यस जीतसँगै लेगानेस अंक तालिकामा २० बाट उक्लिएर १८ औं नम्बरमा पुगेको छ । उता लीगको दोस्रो वरियताको टोली रियल म्याड्रिडले पनि सेभिल्लाको हातबाट ३-० को पराजय भोग्नु परेको छ । गत ४४ महिना यता बार्सिलोना र रियल म्याड्रिडले एकै दिन हार ब्यहोरेको पहिलो पल्ट हो । यस अघि यो संयोग ४ जनवरी २०१५ मा जुरेको थियो । सेभिल्लाले भने चार महिनाको अवधिमा दोस्रो पल्ट रियललाई हराएको हो । तर यस हारले यी दुवै टीमको वरियतामा भने कुनै फरक परेको छैन । अहिले पनि बार्सिलोना लीगको शीर्षमा र रियल दोस्रो नम्बरमा रहेको छ ।
सुदूर तथा मध्यपश्चिममा अझै वर्षा हुने
काठमाडौँ, असोज ११ । मुलुकको सुदूर तथा मध्यपश्चिम क्षेत्रमा अझै केही दिन वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा अझै पूर्णरुपमा नसकिएकाले नेपालको पश्चिमी भूभागमा अझै केही दिन वर्षा हुने सम्भावना रहेको हो । विभागका महानिर्देशक डा ऋषिराम शर्मा नेपालको पश्चिमी भागमा अझै पनि पानी परिरहेको बताउँछन् । “पश्चिमी भूभागमा पानी परिरहेको छ, पानी पर्ने क्रम अझै केही दिन जारी रहन्छ”, उनी भन्छन् । पछिल्लो समय सुदूरपश्चिम तथा मध्यपश्चिममा परेको वर्षाका कारण सोही क्षेत्रका विभिन्न भाग डुबानमा समेत परेका छन् । विगतका वर्षको तुलनामा यसवर्ष धेरै वर्षा भएको विभागले जनाएको छ । नेपालमा पाँच महीनाको अवधिमा भारी वर्षा, बाढी र पहिरोका कारण ११७ जनाको ज्यान गएको छ । नेपाल सरकार गृहमन्त्रालय राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार वैशाखदेखि भदौसम्म भारी वर्षा, बाढी र पहिरोका कारण उनीहरुको ज्यान गएको हो । जसमा पहिरोका कारण ८३, बाढीका कारण १७ र भारी वर्षाका कारण १७ को ज्यान गएको छ भने १८३ जना घाइते भएका छन् । ज्यान गुमाउनेमध्ये ५९ पुरुष र ५८ महिला रहेका छन् । केन्द्रका अनुसार ३१० पहिरो, ८० बाढी र २४७ पटक भारी वर्षा भएको छ । यस्तै, बाढीमा तीन र पहिरोमा दुई हराइरहेका छन् । बाढीका कारण एक हजार ७८ परिवार, पहिरोका कारण ७३५ र भारी वर्षाका कारण ३५३ घरपरिवार प्रभावित भएको केन्द्रले जानकारी दिएको छ । यसैबीच, गृहमन्त्री रामबहादुर थापाले मङ्गलबार राष्ट्रियसभाको बैठकमा वैशाखदेखि भदौ १७ सम्म मुलुकका विभिन्न भागमा एक हजार ५८४ दुःखका घटना भएको बताएका थिए । उनले सोही बैठकमै ४४५ घटना बाढी र पहिरोका कारणमात्र भएको संसद्लाई जानकारी गराएका थिए । सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनाल नेपालको भू–धरातल कमजोर भएको कारण धेरै बाढी, पहिरो र भूक्षय हुने गरेको बताउँछन् । उनी बाढी पहिरोको जोखिम रहेका क्षेत्रमा आपत्कालीन उद्धार तथा राहतका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई तयारी अवस्थामा राखिएको बताउँछन् । “मन्त्रालय पनि राहत र उद्धारका लागि तयारी अवस्थामा रहेको छ”, उनी भन्छन् । भूगर्भविद् डा कृष्ण देवकोटा पहाडी तथा महाभारत क्षेत्रमा मानवीय अतिक्रमणका कारण नेपालमा धेरै पहिरो जाने गरेको बताउँछन् । “बिना अध्ययन, प्राविधिक तयारी नगरी डोजरको प्रयोग गरेर सडक निर्माण गर्ने प्रवृत्तिका कारण पनि महाभारत तथा पहाडी क्षेत्रमा पहिरोको मात्रा बढेको हो”, उनी भन्छन् । चुरे तथा तराईका क्षेत्रमा पछिल्लो समय बढेको वन फँडानीका कारण पनि बाढी र पहिरोको सङ्ख्यामा वृद्धि भएको उनको भनाइ छ । वर्षात्को पानी रोक्ने रुख कटान हुँदा सोझै जमीनमा पर्ने र सोस्न नसक्दा समस्या बढेर गएको छ । रासस
स्कूल जाँदैनन् मन्त्री र मुख्यमन्त्रीले भर्ना गरेका बालबालिका !
काठमाडौं, साउन १ । नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर थियो । प्रधानमन्त्रीले स्थानीय ठिन्ले स्याङ्हु तामाङलाई र श्रीमती राधिका शाक्यले स्थानीय छिरिङ छेम्जोङ लामालाई स्थानीय बुद्ध माविमा कक्षा १ मा भर्ना गराएका थिए । दुवै विद्यार्थीले अहिले पढिरहेका छन् । तर, प्रधानमन्त्रीको टोली काठमाडौं फर्किएपछि अभिभावक र विद्यालयसँग कुनै सम्पर्क छैन । ‘दुवै बालकले नियमित कक्षा लिइरहेका छन्, तर उनीहरूको विषयमा कहीँकतैबाट सोधपुछ भएको छैन,’ प्रधानाध्यापक गंगाराम जिसीले भने । उद्घाटन कार्यक्रममै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले स्थानीय बालक कर्मा यान्जिन लामालाई कक्षा १ मा भर्ना गराएका थिए । तर, ती विद्यार्थी भर्नाको दिनदेखि अहिलेसम्म सम्पर्कमा छैनन् । ‘मन्त्रीज्यूहरूको टोली काठमाडौं लाग्यो, बच्चाको टोली घरतिर लाग्यो । त्यसपछि दुवैतिरबाट विद्यालयमा सम्पर्क भएको छैन,’ प्रधानाध्यापक जिसीले भने । सरकारले दुई लाख ५३ हजार बालबालिका भर्ना गरेको दाबी गरेको छ, तर उनीहरू विद्यालय आए कि आएनन् भन्ने अनुगमन छैन । स्वयम् शिक्षामन्त्रीले भर्ना गरेका विद्यार्थी विद्यालय नजाँदासमेत अनुगमन नभएकाले भर्ना अभियान ‘सस्तो लोकप्रियता’मा सीमित भएको हो कि भन्ने प्रश्न उठेको छ । नयाँ पत्रिकामा खबर छ ।
पूर्वराज्य मन्त्री मुस्ताक आलमको निधन
काठमाडौं, असार ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वराज्यमन्त्री मो. मुस्ताक आलमको निधन भएको छ । बाँसवारीमा रहेको गंगालाल हृदयरोग केन्द्रमा उपचारको क्रममा शुक्रबार साँझ ६ बजे उनको निधन भएको हो । उनी २०७० सालको संविधान सभा निर्वाचनमा रौतहटबाट निर्वाचित भई स्वास्थ्य राज्यमन्त्री बनेका थिए। प्रधानमन्त्ती ओलीले एक शोक वक्तव्य जारी गर्दै आलमको निधनबाट पार्टीले मुस्लिम समुदायबाट उदाएको एउटा असल नेता गुमाउनु परेको बताएका छन्। अन्तिम श्रद्धान्जलीका लागि आलमको पार्थिव शरिरलाई आज बिहान ८ देखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा राखिने विज्ञप्तिमा जनाइएको छ।
लेजण्ड म्याराडोनाले किन मागे माफी ?
काठमाडौं, असार ११ । अर्जेन्टिनाका विश्व प्रशिद्ध फुटबलर डिएगो म्याराडोना आफ्नो अन्जानबंश भएको गल्तीमा माफी मागेका छन् । डिएगो म्याराडोना जति राम्रा फुटबल खेलाडी थिए, उनको व्यवहार उत्तिकै खराब पनि छ । उनी प्राय विवादमा आई नै रहन्छन् । उनी आफ्नो कुलतका र केटीका कारण विवादमा पर्छन् भने उनको आलोचना पनि उत्तिकै हुन्छ । फुटबलको महाकुम्भमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निम्तोमा म्याराडोना यति बेला मस्कोमा छन् । म्याराडोनाले त्यहाँ अर्जेन्टिनाको खेल पनि हेरे । त्यसक्रममा उनले भीआईपी बक्समै बसेर सिगार ताने । उनले त्यहाँ सिगार पिएको तस्वीर भाइरल भयो। पछि सबैले त्यसको आलोचना गरेपछि म्याराडोनाले माफी माग्दै भने, ‘मलाई रंगशालामा धूम्रपान गर्नु हुँदैन भन्ने कुरा थाहा थिएन ।’ म्याराडोना यस्तै खालका छन् । लागू पदार्थको कुलतकै कारण उनी धेरै पटक मृत्युको मुखमा पुगिसकेका छन् ।
विश्वकपमा सहभागी सर्वाधिक पाँच धनी खेलाडी, कसको कमाइ कति ? हेर्नुहोस्
फुटबलकै महाकुम्भ हिजो मात्रै रसियामा सुरु भएको छ । अहिले सबै फुटबलप्रेमीको ध्यान रसियामा छ । हरेक खेलको नायँ जानकारी लिन पाठक निकै उत्सुक छन् । खेलाडीको पृष्ठभूमि, सम्पत्ति, योगदान तथा वर्तमान अवस्था इत्यादि विषयमा जान्ने रुचि खेलप्रेमीलाई हुन्छ । बिहिबारदेखि सुरु भएको विश्वकमा फुटबलका स्टारदेखि नयाँ खेलाडी छन् । यो पटकको विश्वकमा ३२ राष्ट्र सहभागि छन् । ती राष्ट्रबाट विश्वकपमा ७ सय ३६ खेलाडी सहभागी छन् । यी सयौं खेलाडीमध्ये यो पटकको विश्वकपमा केही यस्ता छन्, जो विश्वचर्चित मात्र नभएर त्यत्तिकै धनी पनि छन् । यसैविच अमेरिकन चर्चित पत्रिका फोर्ब्सले विश्वकपमा सहभागीमध्ये धनी खेलाडीको नाम सार्वजनिक गरेको छ । फोर्ब्सले सर्वाजनिक गरेको सूचिमा अर्जेन्टिनाका लियोनल मेसी सबैभन्दा धनी देखिएका छन् । त्यसपश्चात पोर्चुगलका क्रिस्टियानो रोनाल्डो स्थानमा छन् । यस्तै, ब्राजिलका नेइमार तेस्रो धनी खेलाडीमा देखिएका छन् । यी तीनजना समग्रमा विश्वकै धनी खेलाडीको शीर्ष दशभित्र समावेश छन् । खेलाडीहरूको मुख्य आम्दानी नै क्लबबाट पाउने वार्षिक पारिश्रमिक हो । यसैगरी, उनीहरूले विभिन्न कम्पनीसँग सहकार्य गर्दै आम्दानी गर्ने गर्छन् । फोर्सले सहभागी सबै ३२ राष्ट्रका खेलाडीको समग्रमा वार्षिक आम्दानी ४ सय मिलियन पाउन्ड रहेको जनाएको छ । उसले केवल विज्ञापन र वार्षिक आम्दानीको मात्र विश्लेषण गरी खेलाडी छनोट गरिएको जनाएको छ । फोर्सले राष्ट्रिय टिमबाट दिइने पारिश्रमिक जोडेको छैन । १- लियोनल मेसी (अर्जेन्टिना) पाँचपटकका फिफा वर्ष खेलाडी लियोनल मेसीको कुल सम्पत्ति ११ करोड १० लाख डलर रहेको छ । आधुनिक फुटबलकै सर्वोकृष्ट खेलाडी मेसी बार्सिलोना र अर्जेन्टिनाका प्लेमेकर हुन् । बार्सिलोनाको आत्मा भनिने मेसीले क्लबबाट प्रतिवर्ष २ करोड ७० लाख डलर पारिश्रमिकका रूपमा लिने गर्छन् । एडिडास, मास्टर कार्ड तथा पेप्सीको विज्ञापन गरेबापत उनले २ करोड ७० लाख डलर थप आर्जन गर्छन् । २- क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएयता पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डोको चर्चा चुलिएको हो । म्याड्रिडका अध्यक्ष परेजले रोनाल्डोविनाको क्लब पूरा नहुने बताउने गर्छन् । रोनाल्डो रसिया विश्वकपकै दोस्रो धनी फुटबलरमा गनिन्छन् । उनको वार्षिक कमाइ १० करोड ८० लाख डलर रहेको छ । रोनाल्डोले रियलबाट प्रतिसता ३ लाख ६५ हजार डलर थाप्छन् । ३- नेइमार (ब्राजिल) २६ वर्षीय ब्राजिलियन नेमार जुनियर व्यावसायिक फुटबलमा भाग्य चम्काउन युरोपतिर हानिएका फुटबलर हुन् । ब्राजिलको सान्तोषमा आफ्नो करिअर नदेख्दा उनले रियल म्याड्रिडको आकर्षक प्रस्तावसमेत स्विकारेनन् । सानैदेखि मेसीलाई आदर्श मानेका नेमार बार्सिलोनासँग सामान्य मूल्यमै अनुबन्ध भए । बार्सिलोनामा तीन सिजन बिताउँदा उनी विश्वकै एक स्टार खेलाडी बनिसकेका थिए । महत्वाकांक्षी सपना देख्ने नेमार पुनः आफ्नो स्टारडमलाई एक उचाइ दिन फ्रेन्च क्लब पिएसजीमा विश्वकीर्तिमान रकम १९ करोड ८० लाख पाउन्डमा अनुबन्धित हुन पुगे । जीवनमा परिवर्तन खोजिरहने नेमार अहिले विश्कपकै तेस्रो धनी फुटबलमा पर्छन् । ब्राजिलियन कप्तान नेमारले ७ करोड ३० लाख डलर पारिश्रमिकबाट कमाएका छन् । उनले १ करोड ७० लाख पाउन्ड विज्ञापनबाट आर्जन गरे । ४-पाउल पाउग्बा (फ्रान्स) पाउग्बा रसिया विश्वकपकै महँगा खेलाडीमा पर्छन् । २५ वर्षीय उनको वार्षिक आम्दानी २ करोड ९५ लाख पाउन्ड रहेको छ । युनाइटेडका महँगा खेलाडी पोग्बाले प्रतिसाता २ लाख ९० लाख पाउन्ड कमाउन्छन् । ५- ओस्कार (ब्राजिल) ब्राजिलियन मिडफिल्डर ओस्कार अहिले चीनको संघाई क्लबमा आबद्ध छन् । चेल्सीबाट संघाईमा अनुबन्धित हुँदा उनको सम्झौता रकम ६ करोड पाउन्ड रहेको थियो । चेल्सीमा साढे चार वर्ष बिताएपछि ओस्कारले एकाएक संघाईको राम्रो प्रस्ताव स्विकार्दै सबैलाई स्तब्ध पारे । राष्ट्रिय टोलीबाट अहिलेसम्म उनले १२ गोल गरेका छन् । उनले संघाईबाट प्रतिसाता ४ लाख पाउन्ड आर्जन गर्छन् । -एजेन्सी
राष्ट्रप्रमुखको उपस्थितिमा आज रातो मत्स्येन्द्रनाथको भोटो देखाईंदै
काठमाडौं, बैशाख ३० । बर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा आज हुंदैछ । ललितपुरको जावालाखेलमा आयोजना गरिने जात्राको राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गर्नेछिन् । भोटो देखाउने जात्राका लागि मत्स्येन्द्रनाथको रथलाई लगनखेलस्थित थटिटोलबाट तानेर जावलाखेल पुर्याइएको छ । रथ जावलाखेल पु¥याइएको चौथो दिन भोटो देखाउने परम्परा छ । मत्स्येन्द्रनाथको जिम्मामा रहेको बहुमूल्य मणिमाणिक, हीरामोती, रत्न आदि जडित भोटो कसको हो भनी राष्ट्र प्रमुखको उपस्थितिमा देखाउने चलन रहिआएको छ । जावलाखेलमा भोटो देखाइसकेपछि त्यसै दिन मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखी बोकेर बाजागाजाका साथ बुङमतीस्थित उनकै मन्दिरमा पु¥याउने चलन छ । मीननाथलाई रथमा नै राखेर तानेर चक्रबहिमा पु¥याएपछि मत्स्येन्द्रनाथको रथ यात्रा समापन हुन्छ । बौद्धहरुले करुणामय र सिद्धेश्वरका रुपमा पुज्ने मत्स्येन्द्रनाथको जात्रा भक्तपुरका राजा नरेन्द्रदेव र काठमाडौंका बन्धुदत्तले चलाएको भन्ने गोपाल वंशावलीमा उल्लेख छ ।
कक्षा ११ र १२ को परीक्षा केन्द्र प्रकाशित
काठमाडौं ।
यातायात व्यवसायीबाट वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली
काठमाडौं, वैशाख ७ । यातायात व्यवस्था समितिमा गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएर सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली गर्दै आएका छन् । व्यवसायीले कर छलीबाहेक उपभोक्ताबाट वार्षिक एक खर्ब रुपैयाँभन्दा बढी ठगी गरिरहेको यातायात व्यवस्था विभाग महानिर्देशक रूपनाराण भट्टराईको दाबी छ । संस्था ऐन २०३४ मार्फत गैरनाफामूलक संस्थाका नाममा दर्ता भएका यातायात समिति राष्ट्रिय महासघंमा आबद्ध त छन् तर अहिलेसम्म सरकारलाई कर तिरेका छैनन् । व्यवसायीले आर्जेको वार्षिक आम्दानी तथा खर्चको ‘अडिट’ गर्नुनपर्ने नियमका कारण वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर दायराभित्र आउन नसकेको भट्टराई बताउँछन् । ‘व्यवसायीले सरकारले तोकेको भाडा पनि लिने गरेका छैनन्,’ उनले भने, ‘यसबाट मात्रै उनीहरूले एक खर्बभन्दा बढी रकम संकलन असुली गरिरहेका छन् ।’ कास्की जिल्लामा मात्र दर्ता भएर सञ्चालनमा रहेका सार्वजनिक सवारीले संकलन गरेको बढी भाडाबाट मात्रै एक वर्षमा ११ करोड रुपैयाँ ठगी भएको निश्कर्ष महानिर्देशक भट्टराई आफैंले गरेको अध्ययनमा फेला परेको बताउँछन् । संस्था ऐनअनुसार दर्ता भएका यातायात समितिलाई खारेज गर्दै कम्पनी वा फर्ममार्फत पञ्जीकृत गराउँदै सवारी सञ्चालन गर्दा राज्यको ढुकुटीमा वार्षिक डेढ अर्बभन्दा बढी रकम संकलन हुने उनको दाबी छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको प्रत्याभूति गरिने
काठमाडौं, चैत २६ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कानूनी व्यवस्था, उपयुक्त संरचनाको निर्माण र व्यवस्थापकीय पक्षमार्फत सबै तहका सरकारको सक्रियता र समन्वयमा स्वच्छ वातावरणमा बस्न र बाँच्न पाउने नेपालीको अधिकारको प्रत्याभूति गरिने बताउनुभएको छ । ‘नेपालमा फोहोर पानी प्रशोधनको विकेन्द्रित मार्गचित्रः दक्षिण एशियाली अनुभवबाट सिकाइ’ विषयको एकदिवसीय अन्तर्राष्ट्रिय गोष्ठीको आज उद्घाटन गर्दै उहाँले सन् २०३० सम्म संयुक्त राष्ट्र संघद्वारा निर्धारित दिगो विकासका लक्ष्य प्राप्त गर्ने प्रतिबद्धता पूरा गर्न नेपालले सरसफाइ क्षेत्रमा विशेष तयारीका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । गोष्ठीमा पूर्वमन्त्री गणेश साहले फोहर पानीलाई प्रशोधन गरेर शुद्ध बनाउन ९ गुणा खर्च लाग्ने बताउँदै प्रदूषकहरूलाई दण्ड वा जरिवाना गरिने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । नेपाल इञ्जिनीयर्स एशोसियशनका अध्यक्ष इ हरेराम श्रेष्ठले जनसंख्यासँगै फोहर पनि बढ्ने भएकाले वातावरण स्वच्छ राख्न फोहोरको समुचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
प्रिमियर लिगको शीर्ष चारमा अटाउने चेल्सीको सम्भावना सकियो
चैत २६ । इंग्लिस प्रिमियर लिग फुटबलको साविक विजेता चेल्सी यो सिजनमा शीर्ष चारमा पर्ने सम्भावना सकिएको छ । गएरातिको खेलमा वेष्टह्याम युनाइटेडसँग एक एक गोलको बराबरीमा रोकिएसँगै चेल्सीको अन्तिम चारमा रहँदै प्रिमियर लिग टुंग्याउने सम्भावना समाप्त भएको हो । प्रतियोगिताका ३२ खेल सकिंदा चेल्सी चौथो स्थानको टोटनह्याम युनाइटेडभन्दा १० अंकले पछि छ । गएरातिको खेलमा ७३ औं मिनेटसम्म १ शुन्यको अग्रता लिए पनि चेल्सीले त्यसलाई जोगाउन सकेन । चेल्सीका लागि एज्पिलिक्वेटाले ३६ औं मिनेटमा गोल गरे पनि वेष्टह्यामका लागि हर्नाण्डेजले ७३ औं मिनेटमा बराबरी गोल गरे । यो खेलबाट ३ अंक जोड्न सकेको भए चेल्सी प्रतियोगिताको शीर्ष चारमा रहने झिनो सम्भावना कायमै रहने थियो ।
‘पेट्रोलियम पाइपलाइन १५ महिनाभित्रै’
काठमाडौं, चैत्र २५ । प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिवार संयुक्त रूपमा शिलान्यास गरेको अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माणको काम अबको १५ महिनामा सक्ने लक्ष्य लिइएको अधिकारीहरूले बताएका छन्। दुवै देशले उच्च प्राथमिकता दिएकाले रुख कटानी, घर तथा जग्गा मुआब्जा वितरण जस्ता विवादित विषय छिट्टै हल हुने अपेक्षा पनि गरिएको छ। पाइपलाइन बने इन्धन चुहावट तथा सडक अवरोध जस्ता समस्या हट्ने आशा गरिएको छ। दुई देशका सरकार प्रमुखहरूले संयुक्त शिलान्यास गरेसँगै भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म ल्याइने ६९ किलोमिटर लामो पेट्रोलियम पाइपलाइनको निर्माण तीव्र गतिमा हुने नेपाली अधिकारीहरूले बताएका छन्। प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव भन्छन्, ‘नेपाली भागमा पाइपलाइन जोड्ने काम शुरू पनि भइसकेको छ। कतिपय स्थानमा घर–टहराले गर्दा समस्या छ। तर केही दिनमा सबै कुरा मिल्नेछ।’ दुई वर्षअघि सम्झौता गरिएको उक्त पाइपलाइनको लम्बाइ त्यतिबेला ४१ किलोमिटर हुने भनिएको थियो र त्यसले रक्सौलदेखि अमलेखगञ्जसम्म जोड्ने कुरा थियो। तर झण्डै २५ हजार रूख काट्नुपर्ने र तेल भण्डारण स्थलको समस्या देखिएपछि स्थान परिवर्तन गरिएको थियो। अहिले उक्त समस्या कम रहेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए। उनले भने, ‘अब ५ हजार जति रूख काट्नुपर्ने अवस्था छ। हटाउनुपर्ने घर–टहराका लागि सम्बन्धित जिल्लाका अधिकारीहरूसँग कुरा भइरहेको छ।’ भारतीय पक्षले धमाधम काम थालेको भन्दै उनले थपे, ‘काम शुरू भएको १५ महिनाभित्र सम्पन्न गर्ने योजना छ। तर कामको गति हेर्दा त्यो भन्दा अगाडि पनि हुनसक्छ ।’ शनिवार मात्रै शिलान्यास गरिए पनि पाइपलाइनसँग सम्बन्धित केही काम एक महिनाअघि नै शुरू भएको हो। हालसम्म तीन किलोमिटर जति खन्ने काम सकिइएको अधिकारीहरू बताउँछन्। सम्झौता भएको लामो समय बितिसक्दा पनि काम सुस्त रहेको भन्दै व्यापक आलोचना समेत भएका छन्। पाइपलाइनबाट इन्धन ल्याउन थाले अहिले ट्याङकर ढुवानी र जनशक्तिमा खर्चिएको रकमबाट वार्षिक एक अर्ब रूपैयाँ जोगिने सरकारी अनुमान छ। बीबीसी
डा केसी माथिल्लो डोल्पाका घरघरमा पुगेर उपचार गर्दै
डोल्पा, चैत १७ । डा गोविन्द केसी स्थानीयवासीलाई घरघरमै उपचार सेवा प्रदान गर्न डोल्पाको माथिल्लो धो तराप उपत्यकामा आइपुग्नुभएको छ । स्थानीयवासीलाई हाडजोर्नीदेखि अन्य जाँच गर्न आफू उक्त वस्तीमा आइपुगेको डा केसीले जानकारी दिनुभयो । माथिल्लो डोल्पामा रहेका वृद्धदेखि अन्य बिरामीसम्मले सहजै स्वास्थ्य उपचार नपाउने र निकै भारी काम गर्नुपर्ने भएकाले हड्डीसम्बन्धी समस्या धेरै नै खेप्नुपर्ने भएकाले आफूले माथिल्लो डोल्पाको धो नै रोजेको बताउनुभयो । करिब ४ हजार मिटरको उचाइमा रहेको डोल्पो बुद्ध गाउँपालिकाको धोका स्थानीयबासीलाई घरमै उपचार गर्न औषधिसहित डा केसी यहाँ आइपुग्नुभएको हो । जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीहरुको सहयोगमा डा केसीले तीन दिनसम्म त्यहाँ बसी स्थानीयवासीको उपचार गर्ने जनाइएको छ । स्वास्थ्य क्षेत्रका सामान्य कर्र्मचारी पनि नदेखेका स्थानीयवासीले हाडजोर्नीका विशेषज्ञ घरमै पाउँदा भगवान नै पाएको अनुभुति गरेको स्थानीय अगुवा छिरिङफुर्वा गुरुङले बताउनुभयो ।
करीब अढाई घण्टापछि विमानस्थल सुचारू
काठमाडौं, फागुन २८ । युएस बंगलादेश एयरलाइन्स दुर्घटनाका कारण आज बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । आज अपराह्न १४.१८ बजेदेखि बन्द भएको विमानस्थल १६.५० देखि खुलेको हो नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताउनुभयो । काठमाडौंमा अवतरणका तयारीमा रहेका विमानलाई लखनौ र ढाकातर्फ पठाइएको थियो । विमानस्थल खुलेपछि ती विमान काठमाडौँमा अवतरण हुनेछन् । ढाकाबाट काठमाडौँ आउँदै आएको बिएस २११ ‘कल साइन’ भएको उक्त विमानमा चालक दलका चार सदस्यसहित ६७ यात्रु सवार थिए । प्रधानमन्त्री अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा केएमसी अस्पताल सिनामङ्गल पुगी विमान दुर्घटनामा परी घाइते भएका यात्रुको अवस्थाका बारेमा जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओलीले घाइतेको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ ।

