जनाधिकार र  स्वाधीनताका  लागि माओवादी बलियो बन्न आवश्यक : प्रचण्ड

झापा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका अस्तित्वका लागि मात्र होइन मुलुककै स्वाधीनताका लागि माओवाद केन्द्र बलियो बन्न आवश्यक रहेको बताउनुभएको छ । 

नेकपा माओवादी केन्द्र झापाले बिर्तामोडमा गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।

उहाँले अहिलेको  अन्तरास्ट्रिय शक्ति सन्तुलन र त्यसबाट नेपालमा पर्नसक्ने असरको बारेमा लामो चर्चा गर्दै मुलुकको स्वाधीनताका लागि जनता र देशका लागि समवेदनशील र सबैलाई सन्तुलनमा राख्नसक्ने शक्ति माओवादी केन्द्र नै भएको बताउनुभयो ।

पछिल्लो केही दिन पूर्वी नेपालमा केन्द्रित रहनुभएका अध्यक्ष प्रचण्डले माओवादीप्रति बढेको आकर्षणले २०६४ कै निर्वाचनको झल्को दिइरहेको बताउनुभयो । आफूले लगातार मोरङ, सुनसरी र झापाका जनतासित गरेको छलफल र सबै प्रदेशमा गरिएको पार्टीको परामर्श बैठकबाट पार्टीलाई नयाँ उचाइमा उठाउने विश्वास पैदा भएको उल्लेख गर्दै उहाँले अब आफू पूरै आट गरेर समाज निर्माणको अभियानमा अघि बढेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले थप्नुभयो-‘झापामा जति अन्तर संवाद र अन्तक्रिया भयो, म केमा पुगेको छु भने हाम्रो एउटा अभियान सुरु भयो । त्यसको नेतृत्व झापाले गर्नेछ । झापा बिद्रोहको ऐतिहासिक विरासतबाट आएका झापाली जनताले अब प्रतिक्रान्ति, दलाली र जालझेललाई साथ दिने छैन।

नक्कली भूटानी शरणार्थी, गिरिबन्दु टिस्टेट जस्ता माफिया र तस्करीसित जोडिएका घटना झापामा भएको र आज आफूले संयोगवस गिरिबन्दु टिस्टेटको भूमि टेकेर पीडितसित छलफल गर्ने अवसर पाएको बताउनुभयो । आफूले नेतृत्व गरेको सरकारले माफिया र दलालहरुविरुद्व थालेको कदम चाल्दा नै सरकार ढालिएको स्पष्ट गर्दै उहाँले पछिल्लो समय नक्कली भूटानी शरणार्थी काण्डका अभियुक्त पक्राउ र त्यसपछि अनुसन्धानको सुई बुढानिलकण्ठ र बालकोट तिर सोझिएपछि माफियाहरुको मध्यस्थतामा कांग्रेस एमाले रातारात एक भएको बताउनुभयो ।

सुशासन, सामाजिक न्याय र समृद्धिको एजेन्डासहित भ्रष्टाचारका फाइल खोल्दैगर्दा सरकार छाड्नुपरेकाले सरकार छाडेपछि जनताको आकर्षण वृद्धि भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब विगतमा भएका कमीकमजोरीको समीक्षा गर्दै पार्टी संगठन पुनर्गठन गरेर जनपरिचालनसहित अघि बढ्ने बताउनुभयो ।

‘माओवादी केन्द्र आफु सच्चिएर जनताको ऐजेण्डामा अगाडि बढ्दा देश बनाउन सकिन्छ । हामीले आफ्नो वर्ग,सहिद बेपत्ता परिवार, घाइते पाङ्गहरूसँग छलफल अन्तक्रिया गर्दै कमिकमजोरी सच्याउने बाचा गर्दै अघि बढ्दा पार्टी निर्माण गर्न सकिन्छ ।अहिले पार्टी प्रति जनताको विश्वास र भरोसाले पार्टी निर्माण गर्न सकिन्छ भन्ने विश्वास म मा पैदा भएको छ । मलाई जनयुद्धको तयारी गरेको जस्तै जोश आएको छझ(अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले केन्द्रीय समिति बैठकपछि पार्टीसँग जनताको सम्बन्ध सुधारका लागि एउटा अभियान लिएर पूर्वदेखि पश्चिमसम्म जाने बताउनुभयो ।

null

आफ्नो पार्टीको जोड अब सत्ता समीकरण बनाउने भत्काउनेतर्फ केन्द्रित नहुने स्पष्ट गर्दै सरकारका गलत क्रियाकलापको भने सडक र सदनबाट निरन्तर प्रतिवाद गर्ने र आफूले त्यसको थालनी सदनबाट गरिसकेको बताउनुभयो  । दुई तिहाइ छ भनेर मनपरी नगर भनेर सम्झाउदा प्रचण्डले बंगलादेश बनाइदिन्छु भन्यो भनेर कोकोहोलो मच्चाउने गरेको चर्चा गर्दै उहाँले यो त्रसित मानसिकताको उपज भएको बताउनुभयो।

संविधान पल्टाउदा जतातै माओवादी एजेन्डा गणतन्त्र, संघीयता, समावेशिता, समानुपातिक, महिला, दलित, जनजाति, मधेशीका अधिकार मात्रै देख्ने गरेकाले कतिपय शक्ति र व्यक्तिलाई संविधान मन नपरेको उल्लेख गर्दै उहाँले आफूहरुले कुनै नाममा जनताका अधिकार कमजोर हुन नदिने बताउनुभयो ।

गृहमन्त्रीविरुद्धको मुद्दाको आज पनि भएन सुनुवाइ हेर्दाहेर्दैमा

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा अनुसन्धान हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटको फैसला आज पनि हुन सकेन । सर्वोच्चले रबिको मुद्दा हेर्दाहेर्दैमा राखेको छ ।  सपना मल्ल प्रधान र शारंगा सुवेदीको संयुक्त इजलासमा असार ७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो । उक्त दिन हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइको मिति आजलाई तोकिएकोमा आज पनि मुद्दा हेर्दाहेर्दैमा परेको छ । मुद्दाको सुनुवाइ अब भोलिलाई तय गरिएको छ । सर्वोच्च स्रोतका अनुसार अब सो मुद्दामा एकजनाको मात्र बहस बाँकी छ । रविलाई निलम्बन गरी अनुसन्धान हुनुपर्ने माग गर्दै अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटमा महान्यायाधिवक्ता कार्यालयसमेतलाई विपक्षी बनाइएको छ। सहकारी ठगी मुद्दामा लामिछानेलाई उन्मुक्ति दिइएको दाबीसहित उक्त प्रकरणमा अनुसन्धान हुनुपर्ने र निलम्बन गरिनुपर्ने निवेदकको जिकिर छ।

अमेरिकी पूर्वसभामुखले दलाई लामालाई भेट्ने, चीनको कडा चेतावनी

काठमाडौं । अमेरिकाका पूर्वसभामुख न्यान्सी पेलोसीसहितको एक प्रतिनिधिमण्डलले भारतको हिमाञ्चल प्रदेशमा गएर तिब्बती धर्म गुरु दलाई लामालाई आज (बुधबार) भेट्ने भएको छ। उक्त भेटघाटका क्रममा अमेरिकी सदनमा चीन–तिब्बत विवादलाई लिएर हालै पारित भएको एक विधेयकका विषमा समेत चर्चा हुने जनाइएको छ। यसरी अमेरिकी पूर्वसभामुख समेत रहेको टोलीले दलाई लामासँग भेट्न लागेको विषयलाई लिएर चीनले कडा असन्तुष्टि जनाएको छ।चीनले भनेको छ, “यदि, अमेरिका तिब्बतलाई चीनको हिस्सा नमानेर आफ्नो प्रतिबद्धताको सम्मान गर्दैन भने चीनले यसमा कडा कदम चाल्नेछ।”  चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले १४ औँ दलाई लामा कुनै विशुद्ध धार्मिक व्यक्ति नभएको बताएका छन् । धर्मको आडमा चीन विरोधी पृथकतावादी गतिविधिमा लिप्त एक निर्वासित राजनीतिक व्यक्ति भएको टिप्पणी रहेको छ ।  लिनले खासगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले कांग्रेसमा पारित भएको  चीन–तिब्बत विवाद सुल्झाउने वकालत गरिएको कानुनको समर्थन नगर्न अपिल गरेका छन् । लिनले भनेका छन्, “अमेरिकाले यो विधेयकमा हस्ताक्षर गरेर यसलाई कानुन बनाउनु हुँदैन। चीन आफ्नो सम्प्रभुता, सुरक्षा र विकासको हितलाई दृढताका साथ रक्षा गर्न कडा कदम उठाउनेछ ।”  भारतस्थित चिनियाँ दूतावासले पनि लामो वक्तव्य जारी गर्दै अमेरिकी पक्षसँग दलाई लामा समूहको चीन विरोधी पृथकतावादी प्रकृतिलाई पहिचान गर्न आग्रह गरेको छ । “शिजांग चीनले तिब्बतलाई भन्ने नामसँग जोडिएको मुद्दामा अमेरिकाले चीनसँग गरेको प्रतिबद्धताका सम्मान गरोस् र दुनियालाई गलत सन्देश दिने काम बन्द गरियोस्,” दूतावासले जनाएको छ ।   चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शिजांग हमेसा चीनको हिस्सा रहेको बताएका छन् । उनले शिजांग चीनको आन्तरिक मामिला भएको बताएका छन् ।  “कुनै पनि बाहिरी हस्तक्षेपको कहिल्यै पनि अनुमति दिइने छैन । कुनै पनि व्यक्ति वा ताकतले कहिल्यै पनि चीनलाई नियन्त्रित गर्ने र दबाउन शिजांगलाई अस्थिर गर्ने प्रयास नगरोस् । यस्तो प्रयास कहिल्यै पनि सफल हुनेछैन,” उनले भनेका छन् ।  उनले अमेरिकासँग शिजांगलाई चीनको हिस्सा मान्ने आफ्नो प्रतिबद्धतामा कायम रहन पनि आग्रह गरेका छन् । उनले शिजांगको स्वतन्त्रताको समर्थन नगरे चीनले आफ्नो सम्प्रभुता, सुरक्षा र विकासको हितको रक्षार्थ कडा कदम उठाउने चेतावनी दिएका छन् ।  दलाई लामा भेट्न खोज्ने अमेरिकी प्रतिनिधिमण्डलमा न्यान्सीबाहेक टेक्सासका रिपब्लिकन नेता तथा अमेरिकी कांग्रेसमा विदेश मामिला समितिका अध्यक्ष माइकल मैककाल पनि सामेल छन् । बीबीसी

असार ६ देखि प्रथम चितवन जिल्ला विद्यालय स्तरीय छात्रा भलिबल हुँदै

भरतपुर । प्रथम चितवन जिल्ला विद्यालय स्तरीय छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिवल संघ चितवनको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता असार ६ देखि ८ गतेसम्म हिमालय दण्डपाणी न्यौपाने मावि भरतपुर १३ को खेल मैदानमा हुने संघका महा-सचिव रमेशचन्द्र विकले जानकारी दिए । प्रतियोगितामा चितवन जिल्लाभरका विद्यालय अन्तर्गतका छात्राहरुको टोली सहभागी हुनेछन् । तीन दिनसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित २० हजार रुपैयाँ तथा उपविजेताले दश हजार रुपैयाँ प्राप्त गर्नेछ । असार ५ गतेसम्म सहभागी टिमको टुङ्गो लाग्ने र सोही दिन खेल तालिका सार्वजनिक गरिने उनले विकले बताए । चितवन जिल्ला भित्र रहेका प्रतिभावान छात्रा खेलाडीहरुको प्रतिभा प्रष्फुटन तथा पहिचानका लागि प्रतियोगिता आयोजना गरिएको संघका कार्यबाहक अध्यक्ष गंगालाल लामाले बताए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई जिल्लाका तर्फबाट विभिन्न प्रतियोगितामा पठाउने लक्ष्यसमेत रहेको अध्यक्ष लामको भनाइ छ । प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।  

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री प्रचण्ड शनिबार राष्ट्रपति भवन शीतलनिवास पुगेका हुन् । उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराएका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भेटमा अरू समसामयिक विषयमा पनि कुरा भएको जनाइएको छ । प्रधानमन्त्री प्रचण्ड उनका भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आइतबार ९भोलि० नयाँ दिल्ली जाँदै छन् ।

बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय  : प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताएका छन् । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै उनले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेको बताए।  प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमा नेपाली भूमिमा जन्म लिनुभएका बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको सङ्कल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधिज्ञान प्राप्त गरेको प्रसङ्ग महत्वपूर्ण रहेको उल्लेख गरे।  गौतम बुद्धले देखाउनुभएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ भन्दै प्रधानमन्त्रीले बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा राष्ट्रिय एकता, सहिष्णुता र आपसी सद्भावले उचाइ हासिल प्राप्त गर्ने विश्वास व्यक्त गरे ।  सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफूले आमनेपाली जनताको सकारात्मक भूमिकाको अपेक्षा गरेको उहाँले बताउनुभयो । “आजका सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुन जान्छ”, शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले भने ।  प्रधानमन्त्रीले बुद्ध जयन्तीले बुद्ध दर्शन र धर्मको अहिंसात्मक शान्ति सन्देश तथा भ्रातृत्व भावनालाई आत्मसात् गर्दै मिलेर अगाडि बढ्ने प्रेरणा मिलोस् भनी कामनासमेत गरेका छन्। उनले बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बौद्ध धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।  वैशाख शुक्लपक्षको पूर्णिमा तिथिका दिन बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले यस तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीद्वारा बुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ।     

राष्ट्रियसभा उपाध्यक्ष निर्वाचन आज: घिमिरे र पुडासैनी मैदानमा

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै छ । उपाध्यक्षका लागि दुईजनाले मंगलबार उमेदवारी दर्ता गराएका हुन् । सत्ता गठनबन्धनको तर्फबाट नेकपा (एमाले)की विमला घिमिरे र नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उमेदवारी दर्ता गराएका हुन् ।  सत्ता गठबन्धनका तर्फबाट उमेदवारी दिएकी घिमिरेको प्रस्तावकमा राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपाने छिन् । समर्थकमा नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामी रहेका छन् । उनी ०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी हुन् । उनको कार्यकाल दुई वर्ष बाँकी छ ।राष्ट्रियसभाको उपाध्यक्ष उनी नै निर्वाचित हुने पक्कापक्कि नै रहेको छ । कांग्रेसकी उमेदवार पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् । पुडासैनी गएको माघमा भएको निर्वाचनबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् । महिला क्लस्टरका सातजनामध्ये वाग्मती प्रदेशबाट उनी निर्वाचित भएकी हुन् । पुडासैनी ७३ वर्षीया सांसद हुन् ।

कृषि अनुदानमा भ्रष्टचार : ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसहित आठजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। उनीहरुलाई कृषि निर्देशनालय गण्डकी प्रदेशबाट प्राप्त अनुदान रकममा भ्रष्टाचार गरेको अभियोग लागेको छ।आयोगले निमित्त कार्यालय प्रमुख पोखरेलविरुद्ध रु २८ लाख, ३७ हजार दुई सय १७ बराबरको बिगो दाबी गरेको छ। यसैगरी,कृषि इन्जिनीयर विश्वनाथ पौडेल, कृषि विकास अर्थविज्ञ भानुभक्त भट्टराई, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपाने तिमिल्सिना, सचिव परशुराम खनाल, कोषाध्यक्ष उमा श्रेष्ठ र गल्याङ नगरपालिका–३ का श्रीप्रसाद श्रेष्ठविरुद्ध पनि रु २८ लाख ३७ हजार दुई सय १७ बराबरको बिगो दाबी गरिएको छ।

पौडी खेल्ने क्रममा आँधीखोलामा किशोर बेपत्ता

पोखरा । स्याङ्जाको आँधीखोलामा १ जना बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा गल्याङ नगरपालिका २ गराङ्दि घर भएका १४ वर्षीय किशोर युनिक राना बेपत्ता भएका हुन् । मंगलवार बिहान ७ जना साथीहरू पौडी खेल्न गएका थिए । राना खेल्दा खेल्दै बेपत्ता भएका हुन् । उनी बेपत्ता भएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

एमालेद्वारा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ । आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्मराज अधिकारीले जानकारी दिए।  उनका अनुसार परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने छ । बैठकमा महाधिवेशनमा सहभागी दुई हजार एक सय ५३ जना प्रतिनिधि सहभागी हुने छन् । परिषद् बैठकको तयारी गर्न केन्द्रीय कार्यालयमा आज बैठक बस्न लागिएको कार्यालयका सचिव डा.अधिकारी जानकारी दिए। एमालेको विधानमा दुई राष्ट्रिय महाधिवेशनबिचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने उल्लेख गरिएको छ । परिषद् बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, समग्र कामको समीक्षा गर्ने र आवश्यक निर्देशन दिने गर्दछ । रासस 

राजेशपायल राईसहितका कलाकारले मदिरा पिएर होहल्ला गरेपछि...

काठमाडौं । गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि पक्राउ गरिएको प्रहरीले  जानकारी दियो । तीन कलाकारबाहेक उनीहरूसँगै अन्य पाँचजना पनि पक्राउ परेका छन् । 

ऐन महर फेरि एमालेको केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौँ । नेकपा एमालेले ऐन महरलाई पुनः केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले महरलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।  एकजना महिलासँगको सम्बन्धबारे अडियो सार्वजनिक भएपछि पार्टी केन्द्रीय सदस्यबाट राजीनामा दिएका महरले फेरि सक्रिय भएर काम गर्ने, निष्ठा र इमान्दारितासाथ पार्टीमा काम गर्ने प्रतिबद्धता गरेपछि उनलाई पार्टीको विधानको धारा ६५ अनुसार मनोनयन गर्ने एमालेले निर्णय गरेको हो ।

गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने काँग्रेसको माग कायमै

काठमाडौं ।प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सुर्यदशर्न सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागलाई कायमै राखेको छ। बुधवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीमाथि संसदीय छानविन समिति बनाएर छानविन गर्नुपर्ने आफूहरुको माग यथावत रहेको बताइन् । सांसद न्यौपानेले आगामी संसद बैठकमा सरकारले समिति बनाउन नमाने काँग्रेसले संसद अवरोध गरेको नभइ सरकारले नै गरेको हुने बताइन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीलाई जोगाउन खोजेको आरोप समेत लगाइन्। ‘जवाफ दिने क्रममा प्रधानमन्त्रीले संसदभित्र र जवाफ दिनु अगाडी संसद बाहिर जसरी बोल्नुभयो, जसरी प्रश्तुत हुनुभयो । पेट काटेर चार–चार पैसा गरेर जम्मा गरेका, तपाई स्वयंलाई प्रत्यक्ष भेटेर पीडा पोखेका पीडितप्रतिको बेइमानी र घात होइन ? राज्यको कानूनप्रतिको खेलवाड होइन यो ? छातीमा हात राखेर आफैँले आफैलाई सोध्नुस् त प्रधानमन्त्रीज्यु । प्रधानमन्त्रीले बोल्नुभयो हिजो केही प्रमाण छैन । केही हिनामिना छैन । अनि उही केसमा एकजना दीपेश पुन पक्राउ पर्ने, अरु पक्राउ पर्ने ऊ नपर्ने ? उहाँले गृहमन्त्रीको पद खाइराख्नुपर्ने, हामीले हेरिराख्नु पर्ने ? अझ गैरजिम्मेवार कुरा बाहिर गएर बोल्नुभयो उपप्रधानमन्त्रीले, प्रतिपक्षलाई च्यालेन्ज गर्दै, प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् । हामी सत्ता हाँकिरहन्छौँ । कसरी चल्छ सत्ता ? प्रतिपक्षले संसद बन्दाखेरी सरकार चल्छ ? त्यो कदापी पनि हुन सक्दैन ।’ सांसद न्यौपानेले भनिन् । सांसद न्यौपानेले गृहमन्त्री रवि लामिछाने पटक–पटक गृहमन्त्री बन्न चाहेको भन्दै मन्त्री लामिछानेमाथि कानूनी र नैतिक प्रश्न रहेको बताइन् ।उनले प्रतिपक्षलाई संसद अवरोध गर्न चुनौति दिएको भन्दै प्रतिपक्षले संसद अवरोध गरेमा सरकार नचल्ने बताइन्।

सरकार समाजवादको आधार तयार पार्न क्रियाशील छ : अध्यक्ष प्रचण्ड

दाङ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको वर्तमान सरकार समाजवादको आधार तयार पार्न क्रियाशील रहेको बताएका छन् । शनिबार दिउँसो दाङको देउखुरीमा आयोजित अगुवा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । प्रशिक्षणमा प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको जगमा समाजवादको आधार तयार पार्ने कुरामा जोड दिए । उनले भने -'मैले सरकारको नेतृत्व गरेदेखि नै समाजवादको आधार तयार पार्न सुशासन, समाजिक न्याय र समृद्धिमा जोड दिएको छु। प्रतिकूल परिस्थितिका बाबजूद पनि सरकारले समाजवादको आधार तयार पार्न प्रयास गरिरहेको छ। यसपटकको नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारीमा केन्द्रित गरिनेछ। त्यसले देशमा नयाँ वातावरण बनाउनेछ।' यसअघि प्रधानमन्त्री प्रचण्डले बागलुङको पञ्चकोटमा जारी महायज्ञ, लुम्बिनी बौद्ध विश्वविद्यालयको सिनेट बैठक र लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गरेका थिए । अगुवा प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका सचिव एवं पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेल, स्थायी समिति सदस्य एवं सञ्चारमन्त्री रेखा शर्मा, स्थायी समिति सदस्य जोखबहादुर महरा लगायतका नेताहरू सहभागी भएका थिए ।

कोरोनो सङ्क्रमण देखिएमा अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह

काठमाडौं । देशभर हरेक दिन कोरोना भाइरस संक्रिमतहरुको संख्या बढ्दै गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाई नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ । मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।  

यातायात व्यवस्था विभागमै ट्रायल

काठमाडौं, बैशाख १९ ।   यातायात व्यवस्था विभागले आफ्नै परिसरमा चारपाङग्रे सवारीको ट्रायल सेन्टर सञ्चालन गर्ने भएको छ ।  विभागको नयाँ बानेश्वरस्थित परिसरमा आगामी जेठ १ गतेबाट चारपाङग्रे सवारीको पनि ट्रायल लिन लागिएको आजको नागरिक दैनिकमा खबर छ ।  यसअघि विभाग परिसरमा  मोटरसाइकलको मात्र ट्रायल हुँदै आएको थियो ।