ऐन महर फेरि एमालेको केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौँ । नेकपा एमालेले ऐन महरलाई पुनः केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले महरलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । 

एकजना महिलासँगको सम्बन्धबारे अडियो सार्वजनिक भएपछि पार्टी केन्द्रीय सदस्यबाट राजीनामा दिएका महरले फेरि सक्रिय भएर काम गर्ने, निष्ठा र इमान्दारितासाथ पार्टीमा काम गर्ने प्रतिबद्धता गरेपछि उनलाई पार्टीको विधानको धारा ६५ अनुसार मनोनयन गर्ने एमालेले निर्णय गरेको हो ।

यातायात व्यवस्था विभागमै ट्रायल

काठमाडौं, बैशाख १९ ।   यातायात व्यवस्था विभागले आफ्नै परिसरमा चारपाङग्रे सवारीको ट्रायल सेन्टर सञ्चालन गर्ने भएको छ ।  विभागको नयाँ बानेश्वरस्थित परिसरमा आगामी जेठ १ गतेबाट चारपाङग्रे सवारीको पनि ट्रायल लिन लागिएको आजको नागरिक दैनिकमा खबर छ ।  यसअघि विभाग परिसरमा  मोटरसाइकलको मात्र ट्रायल हुँदै आएको थियो ।

‘पूर्ण समानुपातिक प्रणालीको लागि आन्दोलन गर्छौं’

काठमाडौं । नेपाली काँग्रेस– नेकपा एमालेले समानुनिपातिक प्रणाली हटाउने बसह चलाइरहेको बेला सरोकारवालाहरुले पूर्णसमानुपातिकको लागि आन्दोलन गर्नुपर्ने धारणा राखेका छन् । सोमबार संवाद डबलीमा संयुक्त नागरिक पार्टीले आयोजना गरेको प्रशिक्षक–प्रशिक्षण कार्यक्रममा बोल्ने वक्ताहरुले काँग्रेस एमाले प्रतिगमनतिर उन्मुख रहेको बताएका छन् । आयोजक संयुक्त नागरिक पार्टी अध्यक्ष दलमर्दन कामीले देशमा ठूलो संघर्षमार्फत ल्याईएको वर्तमान परिवर्तनविरुद्धमा पुरातनवादी पार्टीहरु उल्ट्याउन उद्त रहेको भन्दै आक्रोष व्यक्त गरे । देशमा धर्मनिरपेक्ष, समावेशी र समानतामा आधारित राज्य व्यवस्था भनिए पनि त्यो व्यवहारमा लागु नभएको बताउँदै भने, ‘परिवर्तनका लगि लडेका अल्पसंख्यक र दलितको योगदान नभएजस्तै उल्ट्याउन केपी ओलीसम्म लागेका छन् ।’ उनले समानुपातिक प्रणालीको अपव्याख्या गरेर त्यसको दुरुपयोग गरेको बताए । ‘सामानुपातिक प्रणालीको अपव्याख्यासँगै केही सिमित व्यक्तिहरुले दुरुपयोग गरिरहेका छन् । केपी–देउवा जस्ताहरुका आफन्त मात्रै नभएर गलफ्रेण्ड र ब्वाईफे्रण्ड भर्ति गर्न समानुपातिक हो’ कामीले भने । पूर्वराजदूत डा।निर्मल विश्वकर्माले काँग्रेस र एमालेले ७ बुँदे सहमति गरेर समानुपातिक–समाबेसिता हटाउने उल्लेख गर्नु दुर्भाग्य भएको बताएका छन् ।  विश्वकर्माले समानुपातिक पर्णालीलाई हटाउने मुख्य उद्देश्य भनेको काँग्रेस एमालेको कुकर्मा छोप्ने भएको बताउँदै भने, ‘यिनीहरुले लुटबाट कमाएको अकुत सम्पत्ति छोप्न प्रतिगमनमा जाँदै छन् ।’ त्यसैगरी प्रा.डा.महेन्द्र लावतीले देशमा समावेसी, समानुपातिक भने पनि अहिले पनि एकल जातियरुपले शासन ब्यवस्था चलेको बताएका छन् । पछिल्लो समयमा पहिचानवादीहरुले त्यसलाई ब्यवहारिकरुपम लागु गर्न दबाब दिएपछि समानुपातिक प्रणाली हटाउने षड्यन्त्र भएको आरोप लगाउँदै भने, ‘काँग्रेस–एमाले सुरुमा सामानुपातिक र विस्तारै संघियता, धर्मनिरपेक्षता हुँदै २०४७ तिर फर्कदैछन् सतर्क बनौं ।’ नगरिक पार्टीकी वरिष्ठ नेता कमला हेमचुरीले विभिन्न समयमा लगातार आन्दोलन र संघर्ष गरेर देशलाई विश्वका समृद्ध देशको स्तरमा पुर्याउने व्यवस्था ल्याएपनि सिमित मान्छेको लागि मात्रै भएको आरोप लगाईन् । नेपालमा वास्तविक कम्युनिस्टहरु भएको भए देशमा तत्काल समाजवाद आइसक्ने बताउँदै हेमचुरीले  भनिन्, ‘कम्युनिस्टहरु जनताको पक्षमा भन्दा मौका पायो भने जनतालाई पेल्नेतिर लाग्छन् भन्ने कुराको केपी ओली ज्वलन्त उदाहरण हो ।’ देशका उत्पीडित जनतको पक्षमा आएको वर्तमान परिवर्तनलाई उल्ट्याउनतिर केपीओली उद्दत रहेको बताउँदै हेमचुरले प्रधानमन्त्री केपी शर्मा ओली समानुपतिक र समावेशीतालाई उल्ट्याउनेतिर लागेको र त्यसविरुद्ध आन्दोलन आवश्यक रहेको बताइन् । मानव अधिकारवादी डा.तेज रोक्काले हरेक तीन–तीन महिनामा देशको घटनाक्रम बदलिने गरेकोले देश अस्थिर बनेको बताए । भारतमा जस्तै नेपालमा पनि अल्पसंख्यकलाई असर पार्ने कार्य सुरु भएको बताए । पूर्व राजपरिषद सदस्य उत्तमकुमार परियारले प्रशिक्षण कार्यक्रम सफलताको शुभकामना दिँदै देशमा राजनीतिक अस्थिरता समाप्त गर्न धार्मीक क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताए ।आमुल परिवर्तन रिपब्लिकन पार्टीका अध्यक्ष भरत गिरीले नागरिक पार्टी आशाको किरणका रुपमा आएको बताए। संयुक्त नागरिक पार्टीका सल्लाहकार डा.ऋषि रिमालले देश निकै नै संकटमा रहेको बताउँदै यस पार्टीले देशलाई संकटबाट मुक्त गर्ने अपेक्षा व्यक्त गरे । सल्लाहकार जेबी खातिले  नेपाली शासकहरु देशको परिवर्तन भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थ र लाभको लागि केन्द्रीत भएको आरोप लगाए । सिडब्लुएनका अध्यक्ष डा।मित्र परियारले नेपालका नेताहरु राजशाही प्रवृत्तिबाट गुज्रिनुको परिणाम उनिहरुविरुद्धमा जनताको वितृष्णा जागेको बताउँदै, एकल धार्मीक जातिय संस्कृतिको अन्त्य गर्दै समतामुलक सामाज निर्माणका लागि आयोजक पार्टीले भूमिका खेल्नु पर्ने बताए । कार्यक्रमलाई पार्टीका महासचिव प्रेमबहादुर कार्कीले अतिथि तथा प्रशिक्षार्थीहरुलाई आफ्नो भनाईसहित स्वागत गरेका थिए । पार्टीका अध्यक्ष दलमर्दन कामीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन पार्टीका उप–महासचिव विदुर अधिकारीले गरेका थिए ।

नेकपा एसको नयाँ नेतृत्व चयन आजदेखि

काठमाडौं । सत्तारुढदल नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनमा आजदेखि नयाँ नेतृत्व चयन प्रक्रियामा प्रवेश गरेको छ। बुधबार बिहान ११ बजेदेखि सुरु हुने बन्द सत्रमा प्रतिवेदनहरूमाथिको निष्कर्ष पेश गरेपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने एक नेताले जानकारी दिए।   महाधिवेशनको वन्त्र सत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेज प्रस्तुत भएका छन्। ती दस्तावेजमाथिको समूहगत छलफलको निष्कर्ष आएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।   अध्यक्ष र पदाधिकारीसहित २९९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेपछि महाधिवेशन भोलि (बिहीबार) समापन गर्ने कार्यतालिका छ।एकीकृत समाजवादीको अध्यक्षमा निवर्तमान अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल लगायतका नेताले इच्छा देखाएका छन्। 

नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेताबाट रञ्जितालाई हटाएर गंगाराम चयन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रतिनिधिसभामा रहेका बहुमत सदस्यले दलको नेताबाट रञ्जिता चौधरीलाई हटाएका छन् । अध्यक्ष समेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको प्रमुख सचेतक रहेका गङ्गा चौधरीलाई दलको नेता चयन गरेका छन्। प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन्। जसमध्ये गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी (रेशम चौधरीका बुबा)ले श्रेष्ठलाई दलको नेताबाट हटाएका हुन्। गंगा चौधरीलाई दलको नेता चयन गरेपछि प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिइएको छ। रञ्जिता चौधरी मन्त्री बन्ने चर्चाकाबीच नाउपाका बहुमत सांसदले दलको नेताबाट हटाएका हुन्।

वेष्टइन्डिजले न्यूजिल्याण्डलाई दियो १५० रनको लक्ष्य

काठमाडौं । आईसीसी टी२० विश्वकप २०२४ मा वेष्टइन्डिजले न्यूजिल्याण्डलाई १५० रनको लक्ष्य दिएको छ । ब्रेन लारा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले शेरफेन रदफोर्डको अर्धशतक मद्दतमा १४९ रन बनायो । खराब सुरुआत गरेको वेष्टइन्डिजका लागि ६ नम्बरमा आएका शेरफेन रदफोर्डले ६८ रनको अविजित इनिङ खेल्दै राम्रो स्कोर बनाउन सफल भए । अन्य ब्याटरमा निकोलस पुरनले १७, अकिल हुसैनले १५, आन्द्रे रसेलले १४, रोमारियो शेफर्डले १३,  ब्रेन्डन किंगले ९ र अल्जारी जोसेफले ६ रन बनाएर आउट भए । न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले तीन, टिम साउथी र लोकी फर्गुसनले दुई तथा जेम्स नीशाम र मिचेल स्यान्टनरले एक एक विकेट लिए । यसअघि भएका खेलमा वेष्टइन्डिजले युगान्डा र पपुवा न्युगिनीलाई पराजित गरेको थियो भने न्युजिल्याण्ड अफगानिस्तानसँग पराजित भएको थियो । अंक तालिकामा वेष्टइन्डिज ४ अंकसहित दोस्रो स्थानमा छ । अंकविहीन न्यूजिल्याण्ड पुछारमा रहेको छ ।

टिओआरबारे प्रधानमन्त्री प्रचण्ड, ओली र लामिछाने छलफल गर्दै

काठमाडौं । सहकारीको बचत रकम अपचलन प्रकरणको विषय झन् पेचिलो बनेको छ । सत्तारुढ र विपक्षी दल आ–आफ्नै अडानमा कायम रहँदा सदनको गतिरोध अन्त्य हुन सकेको छैन । सोमबार बिहान बालुवाटारमा सत्ता र विपक्षी दलका शीर्ष नेताहरुको बैठक विनानिष्कर्ष टुंगिएको छ । सोही विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेबीच सोमबार अपरान्ह ३ बजे छलफल गर्ने तय भएको छ । तीन नेताबीच छलफल हुन लागेको एक नेताले जानकारी दिए।

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सरेको छ। आज दिउँसोका लागि बोलाइएको दुवै बैठक स्थगित गरिएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ। आज स्थगित भएको बैठक (भोलि) जेठ १ गते बस्नेछ। संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र दलको बैठक ९ बजे बस्ने कांग्रेसले जनाएको छ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ।

एकीकृत समाजवादीको सचिवालय र स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय र स्थायी कमिटी बैठक शनिबार बस्दैछ। सचिवालय बैठक बिहान साढे १० र स्थायी कमिटी बैठक साढे ११ बजे बस्न लागेको हो।  बैठकमा पार्टीको दशौं महाधिवेशन र समसामयिक राजनीतिबारे छलफल हुने उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए। उनका अनुसार केन्द्रीय सचिवालय बैठकमा स्थायी कमिटी बैठकको सञ्चालन र एजेण्डाबारे छलफल हुनेछ। स्थायी कमिटी बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान र सांगठनिक दस्तावेजमा छलफल हुने छ ।  एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको छ। स्थायी समितिका निर्णयबारे थप छलफल गर्न भोलि पोलिटब्युरो बैठक बोलाइएको छ। दुवै कमिटीबाट आएका सुझाव संकलन गरेर केन्द्रीय कमिटी बैठकमा पेश गरी साझा धारणा बनाउन लागिएको उपाध्यक्ष पाण्डेले जानकारी दिए।  केन्द्रीय कमिटी बैठक वैैशाख ३१ र जेठ १ गते बस्ने एकीकृत समाजवादीले जनाएको छ। बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर प्रतिनिधि छनोटका कार्यविधि र संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्ने जनाइएको छ।  प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार देशभर सांठनिक अवस्था, जनवर्गीय संगठनको कार्य प्रगतिको समीक्षा गरिने बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ। 

काठमाडौँका यी स्थानमा चार दिन हुनेछ विद्युत् अवरुद्ध

काठमाडौँ ।नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नयाँ कन्डक्टर तार जडान गर्न लागेकोले विद्युत् अवरुद्ध भइरहेको छ।  आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ्ग आयोजनाले स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाईनको पुरानो तारलाई बदली गर्ने कार्य गर्न लागिएको हुँदा बैशाख २९ र ३१ गते हसनटार फिडर, खड्का गाउँ फिडर र थानकोट फिडरमा विद्युत् अवरुद्ध हुने जनाएको छ।  त्यसैगरी जेठ २ र ४ गते थानकोट फिडरसँगै बलम्बु फिडरमा पनि विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख छ। यी स्थानमा तोकिएको दिनमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको छ। 

बझाङमा १ बजेबाट मतगणना हुने

धनगढी । उपनिर्वाचन भएको बझाङ प्रदेश सभा (१) मा दिउँसो १ बजेदेखि मतगणना हुने भएको छ ।भर्खरै सम्पन्न सर्वदलीय बैठकले १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । मतपेटिका संकलन सकिएपछि निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको थियो । शनिबार भएको निर्वाचनमा ४९.१२ प्रतिशत मात्रै मत खसेको थियो । प्रदेश सभा सदस्यमा ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न भागमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भएका दुर्घटनामा सात जनाको मृत्यु भएको हो ।  जाजरकोटको जुनिचाँदे गाउँपालिका ६ रामेलास्थित सडकमा भे।२ त ५२७ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका ५ गर्खाकोट बस्ने १४ वर्षीय नवराज चदराको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको स्थानीय स्वास्थ्य चौकी गर्खाकोट हुँदै थप उपचारको लागि कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठान कालागाउँ सुर्खेत पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  संखुवासभाको चिचिला गाउँपालिका २ छ्याकुटीस्थित सडकमा चिचिलाबाट खाँदवारीतर्फ जाँदै गरेको प्र.१.०२.००३  त १८८३ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना हुँदा चालक चिचिला गाउँपालिका २ बस्ने ३२ वर्षीय दावा शेर्पाको घटनास्थलमै मृत्यु भएको छ ।  चितवनको भरतपुर महानगरपालिका३ बेलचोक नजिक बाह्रघरेबाट बेलचोकतर्फ आउँदै गरेको ना.६५ प ६२०६ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका ११ गणेस्थान बस्ने ६० वर्षीय कुमार गुरूङको सोमबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  कपिलवस्तुको कृष्णनगर नगरपालिका ८ लोहरौलास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट साइकलयात्री शिवराज नगरपालिका ८ पतपर बस्ने ४० वर्षीय राजाराम पासीको सोमबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।  डडेल्धुराको अमरगढी नगरपालिका ७ भमाडीस्थित सडकमा बेलापुरबाट सदरमुकाम डडेल्धुरातर्फ जाँदै गरेको से.१ च २०६७ नम्बरको कार अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा कारमा सवार अमरगढी नगरपालिका ७ बस्ने ५० वर्षीय केशब भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको   हो । साथै दुर्घटनामा घाइते भएका कार चालकको सोही अस्पतालमा हुँदै थप उपचारको लागि माया मेट्रो अस्पताल धनगढी रिफर गरिएको छ ।  दैलेखको आठबिस नगरपालिका ३ धौलाकोटस्थित सडकमा भे.६ प ६९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका ४ स्यालागाउँ बस्ने २२ वर्षीय दिपेन्द्र शाहीको मृत्यु भएको छ । सोमबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली अस्पताल सुर्खेतमा मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  सर्लाहीको बरहथवा नगरपालिका १५ हरपुर्वास्थित सडकमा हरपुर्वाबाट पिपराभित्तातर्फ जाँदै गरेको अ.प.अ. १०३७ नम्बरको ट्याक्टर सोमबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार बरहथवा नगरपालिका ५ बस्ने १७ वर्षीय राज कुमार सिंहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सर्लाही गोल्डेन अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको बर्दिबासस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

विद्यार्थीहरू सक्षम र चरित्रवान भएर निस्किनुपर्छः प्रधानमन्त्री

महेन्द्रनगर । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्र तीव्ररूपमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्रविधिक जनशक्ति आवश्यकता पर्ने बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले युग सुहाउँदो जनशक्ति देशलाई खाँचो पर्ने बताए । विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा सामाजिक रूपान्तरणका लागि सहयोगी हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताए । “युवाहरू राष्ट्रका भविष्य हुन् तसर्थ विश्वविद्यालयबाट निस्कँदा उनीहरू चरित्रवान र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने हुनुपर्दछ,” प्रधानमन्त्री प्रचण्डले भने, “मुलुकको लोकतान्त्रिक प्रणालीलाई थप सबल तथा सुदृढ बनाउन र अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न वैज्ञानिक जनशक्ति चाहिन्छ । उनीहरू सिर्जनात्मक र युग सुहाउँदो हुनुपर्छ ।” विश्व शैक्षिक बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा समयानुकूल सुधार गर्दै अघि बढ्न जरूरी रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।  सुदूरपश्चिम प्रदेशका नागरिकहरूको उच्च शिक्षामा पहुँच विस्तार गर्न विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गर्दै उनले विभिन्न विधामा गुणस्तरीय जनशक्ति उत्पादन गरी मुलुकमा आवश्यक दक्ष जनशक्तिको खाँचो पूरा गर्न विश्वविद्यालयले सहयोग गरेको बताए ।  प्रधानमन्त्री प्रचण्डले भने, “खासगरी यस विश्वविद्यालयले यस क्षेत्रका निम्न तथा मध्यम आय भएका विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गरी पुर्‍याएको योगदान प्रशंसनीय छ ।” प्राविधिक धारतर्फ स्वास्थ्य विज्ञान सङ्कायअन्तर्गत चिकित्सा शिक्षाको पठनपाठन सुरू गरिसकेको विश्वविद्यालयले सेवा विस्तार गर्नुपर्ने बताउँदै उनले त्यसका लागि नेपाल सरकारको आवश्यक सहयोग रहने उल्लेख गरे । ‘राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनामा सहयोग रहन्छ’   प्रधानमन्त्री प्रचण्डले गेटामा राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना भएपछि सुदूरपश्चिम क्षेत्रमा विशेषज्ञ उपचार सेवामा पहुँच सुनिश्चित गर्न सकिने बताए । “यस क्षेत्रमा उच्च प्राविधिक शिक्षामा पहुँचको अभावलाई महसुस गरी सरकारले कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ,” प्रधानमन्त्रीले भने, “विश्वविद्यालय स्थापनाको लागि ऐन निर्माण लगायतका कामहरू द्रूत गतिमा अगाडि बढिरहेका छन् ।” उनले गेटामा स्थापना हुने विश्वविद्यालय यस क्षेत्रको विकासमा एउटा कोशेढुङ्गो साबित हुने विश्वास व्यक्त गरे । ‘विश्वविद्यालयको प्राज्ञिक स्तर सुधार्नु छ’ प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको प्राज्ञिक गुणस्तर उच्च राख्न राख्नुपर्ने बताए । उनले सबैका लागि अध्ययन तथा अनुसन्धानको आकर्षणको केन्द्र विश्वविद्यालय बन्नुपर्नेमा जोड दिए ।  “विश्वविद्यालयको प्राज्ञिक स्तर उकास्न सम्पूर्ण प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले एकापसमा सहकार्य, सहयोग र सद्भावलाई सुदृढ बनाउँदै अघि बढ्नुपर्ने खाँचो छ,” प्रधामन्त्री प्रचण्डले भने, “विश्वविद्यालयको स्तरोन्नति गर्न आवश्यक सहयोगका लागि नेपाल सरकार सदैव सकारात्मक रहेको छ ।”  विश्वविद्यालयको नेतृत्वले भौतिक एवं शैक्षिक सुधार, विद्यार्थी कल्याणसम्बन्धी कार्यहरूको विस्तार गरी विश्वका अन्य प्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्य गर्दै एउटा उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता प्रधानमन्त्रीले औंल्याए । ‘पेलेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल फर्काउन कूटनीतिक पहल भइरहेको छ’  प्रधानमन्त्री प्रचण्डले पेलेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताए । उनले पेलेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरे । “सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा हाम्रा विद्यार्थीहरूले पेलेस्टाइन विद्रोहीको आक्रमणमा परेर ज्यान गुमाउनु परेको घटनाले मलाई निकै दुःखी तुल्याएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “उक्त घटनामा परेर ज्यान गुमाउनुहुने विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।” उनले उक्त आक्रमणमा परेर घाइते भएका तथा अन्य प्रभावित विद्यार्थीलाई यथाशीघ्र स्वदेश फिर्ता ल्याउन र ज्यान गुमाउने विद्यार्थीहरूको शव फिर्ता ल्याउनका लागि सरकारले निर्वाह गर्नुपर्ने भूमिका तदारूकतापूर्वक निर्वाह गरेको उल्लेख गरे ।  “अझै पनि एक जना विद्यार्थी विद्रोहीको कब्जामा रहेका छन्,” प्रधानमन्त्री प्रचण्डले  भने, “उहाँलाई सकुशल स्वदेश फर्काउन आवश्यक कूटनीतिक प्रयास भइरहेको छ ।”  

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न ११० मिटर बाँकी

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी छ । तराई–मधेसका विभिन्न जिल्लामा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको छ । कुनै भौगोलिक जटिलता उत्पन्न नभएका खण्डमा यही वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ ब्रेक थ्रु गर्ने अन्तिम तयारी गरिएको आयोजनाले जनाएको छ । सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म १३ दशमलव एक सय ९० किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख २६ गते सुरुङको ब्रेक थ्रु गर्नेछन् । त्यसका लागि तयारी भइरहेको छ । ‘प्रधानमन्त्रीको समय मिलाइसकिएको छ र अन्य आवश्यक तयारी पनि भइरहेको छ’, आयोजना प्रमुख मित्र बरालले भने । सुरुङ निर्माणका क्रममा सामान्य भौगोलिक जटिलता उत्पन्न भए पनि त्यसलाई समाधान गरेर अगाडि बढिएको जानकारी दिँदै आयोजना प्रमुख बरालले भने, ‘ग्राउटिङलगायतका विधि प्रयोग गरेर समस्याको समाधान गरिएको छ, सुरुङ निर्माण निरन्तररुपमा अगाडि बढिरहेको छ ।’ सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन ९टिबिएम० प्रयोग गरिएको छ । भेरी बबई डाइभर्सन आयोजनापछि सुनकोसी मरिणमा पनि टिबिएम मेसिन प्रयोग गरिएको हो । उपकरणको प्रयोग गरी सुरुङ निर्माण गर्दा त्यसले सकारात्मक प्रभाव पारेको छ । अन्य आयोजनाको पनि त्यस्तै उपकरणको प्रयोग गर्न सकारात्मक वातावरण बनेको बताइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना प्रमुखलगायतका अधिकारीलाई आयोजना स्थल नछाड्न, स्थानीयस्तरमा नै समस्या समाधान गर्न तथा आयोजनाको काममा कुनै पनि गत्यावरोध आउन नदिन नियमित निर्देशन दिएका छन् । सुरुङ निर्माणसँगै बाँध निर्माणको कामलाई समेत गति दिइएको छ । निर्माण व्यवसायी परिचालनमा विशेष ध्यान दिन तथा आवश्यक सहजीकरण गरी हरेक १५ दिनमा जलस्रोत तथा सिँचाइ विभाग र हरेक एक महिनामा आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गर्न मन्त्रालयले यसअघि नै निर्देशन दिएको थियो । प्रधानमन्त्री दाहालले नियमितरुपमा आयोजनाका सन्दर्भमा चासो राख्दै आएकाले पनि काम गर्न सहज भएको आयोजनाले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’बाट आयोजनाको नियमित अनुगमन भइराखेको छ । आयोजना प्रमुख बरालका अनुसार २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । नेपालका विद्युत् तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेसिन ९टिबिएम० प्रयोग गरेर खनिएको भने दोस्रो पटक हो । यसअघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो । पहाडी भूभाग बढी भएको नेपालमा सुरुङ खन्न अब टिबिएम प्रभावकारी उपकरणका रुपमा स्थापित भएको छ । सुनकोसी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार भएको छैन । बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकेका छैनन् । निर्माण व्यवसायीले काम गरिरहेको भए पनि बाँध निर्माणमा अपेक्षित प्रगति भएको छैन । विद्युत् गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ । प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेको छ । सुनकोसी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ । बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इञ्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ । आगामी बर्खााअघिसम्म बाँध निर्माणलाई एउटा स्तरमा पुर्‍याउने लक्ष्य राखिएको छ । वैशाखपछि नदीमा जलसतह बढ्ने भएकाले काम गर्न समस्या हुनेछ । यस्तै विद्युत् गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ । सो आयोजनाबाट तराई–मधेसका कूल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । राष्ट्रिय गौरवका आयोजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री र ऊर्जामन्त्रीको प्रतिबद्धता भएकाले आफूहरुलाई काम गर्न सहज भएको आयोजना प्रमुख बरालको टिप्पणी छ । यसअघि सुरुङ निर्माणमा भौगर्भिकरुपमा रहेको जटिलताका कारण पटकपटक समस्या देखिएको थियो । सुनकोसी गाउँपालिका–७ कानढुङ्गीस्थित सिन्धुली र रामेछापको सिमाना भएर बग्ने सुनकोसी नदीलाई मरिण खोलामा पथान्तरण गरिनेछ । सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि वाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । त्यस्तै सो आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ । आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरिरहेको छ । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । विसं २०८४ को असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भेरी बबई डाइभर्सन आयोजनामा सुरुङ निर्माण सम्पन्न भएको लामो समय भए पनि बाँध र विद्युत् गृह निर्माणले गति नलिँदा देखिएको व्यवधान सुनकोसी मरिणमा आउन नदिन सरकार उत्तिकै चनाखो देखिएको छ । सो आयोजना सम्पन्न भएपछि अन्न भण्डारका रुपमा रहेको मध्य तराईका पाँच जिल्लामा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध हुनेछ । त्यसले खाद्य उपज उत्पादनमा गुणात्मक परिवर्तन आउनेछ । सो आयोजनामा प्रयोग भएको टिबिएम उपकरण प्रयोग गरी फुर्कोट–फूलबारी सुरुङ निर्माण गर्ने प्रारम्भिक तयारी गरिएको छ । टिबिएमलाई केही परिवर्तन गरी सडक पूर्वाधारमा प्रयोग हुने सुरुङ निर्माण गर्न सकिने बताइन्छ ।

हिजो स्थगित प्रतिनिधिसभा आज बस्दै , यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले जवाफ दिने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस  गर्ने सम्भावित कार्यसूची छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८०’ पेस गर्ने तथा अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  मंगलबार (हिजो)को प्रतिनिधिसभा बैठक नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेको थियो । संसद् बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरूले बैठक अवरुद्ध गरेका थिए ।  त्यसपछि सभामुखले १५ मिनेटपछि बस्ने गरी बैठक स्थगन गरेका थिए । तर, दलहरूबीच सहमति नहुँदा बुधबार (आज) बस्ने गरी बैठक स्थगन गरिएको थियो ।  सहकारीको रकम ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको विषयमा कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । त्यसमा सहमति हुन नसक्दा संसद् बैठक अवरुद्ध भएको हो ।  गृहमन्त्री रवि लामिछानेले संसदमा आफुले धारणा राख्न पाउनुपर्ने बताउँदै आएका छन् भने कांग्रेसले आफुहरुले प्रधानमन्त्रीलाई सुनिसकेकोले अब कसैलाई नसुन्ने संसदीय छानबिन समिति गठन आफ्नो बटमलाईन भएको बताएको छ । सत्ता पक्षले भने सहकारीको रकम ठगीमा रवि लामिछानेको संलग्नता नरहेकोले संसदीय छानबिन समिति गठन आवश्यक नरहेको बताउदै आएको छ । दलहरुबीच सहमतिको वातावरण नबने आज पनि संसद अवरुद्ध हुने सम्भावना रहेको छ ।

संवैधानिक परिषदको बैठक आज आह्वान

काठमाडौं । संवैधानिक परिषदको बैठक आज बस्दैछ । परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ९ बजे बस्नेगरी बैठक आह्वान गरेका हुन् । आजको बैठकमा रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने विषयमा छलफल गर्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले यस विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पटक पटक छलफल गरेका छन् । प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्‌मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने प्रावधान छ।