उपनिर्वाचन तयारीः आयोगको निर्देशनपछि बढ्ला त महिला उम्मेदवारको संख्या ?

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको प्रमुख वा उपप्रमुखको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । 

आयोगले गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाका प्रमुख वा उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्ये बहाल रहेको पदमा पुरुष कार्यरत भए रिक्त पदको उपनिर्वाचनमा महिलालाई उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको हो ।

आयोगले जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, वडाध्यक्ष १० तथा नगरपालिकाका मेयर १, उपमेयर १ र वडाध्यक्ष २१ गरी ४१ सिटका लागि उपनिर्वाचन गर्न लागेको छ । आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम यस्तो निर्देशन दिएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए । ‘कानुनमा यस्तो अवस्थाको प्रस्ट व्यवस्था छैन । जस कारण कानुनको भावनाबमोजिम उपनिर्वाचन हुने स्थानीय तहमा बहाल रहेको पदमा पुरुष भए रिक्त पदको उपनिर्वाचनमा महिलालाई उम्मेदवार बनाउन आयोगले निर्देशन दिएको हो,’ उनले भने ।

स्थानीय तह निर्वाचन ऐनले राजनीतिक दलले स्थानीय तहका प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिँदा दुईमध्ये एक पदमा महिलालाई उम्मेदवार बनाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । तर दुईमध्ये एक मात्रै पदमा उम्मेदवारी दिँदा त्यस्तो व्यवस्था अनिवार्य छैन । आयोगले कानुनको अस्पष्टता रहेको अवस्थामा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम यस्तो निर्देशन जारी गरेको आयोगका सूचना अधिकारी घिमिरेले बताए ।

साथै आयोगले उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ । स्थानीय तहको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय रहने गरी व्यवस्था गरेको छ । आयोगका अनुसार रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ । वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने निर्वाचन आयोगले जनाएको छ ।

६० किलो सुन तस्करीमा महरा र पुनको संलग्नता छैन : सीआईबी

काठमाडौं । ६० किलो सुन तस्करीको दोस्रो चरणको अनुसन्धानमा माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा र दिपेश पुनको संलग्नता नदेखिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ। सुन तस्करीको दोस्रो चरणको अनुसन्धानबारे जानकारी दिन सोमबार आयोजित पत्रकार भेटघाटका क्रममा सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले बताए । ज्ञवालीले ६० किलो सुन तस्करीमा महरा र दिपेशको संलग्न नभएको जानकारी गराएका हुन्। “६० किलो सुन तस्करीको अनुसन्धानमा कृष्णबहादुर महरा र दिपेश पुनको संलग्न भेटिएन । भेप प्रकरणको अनुसन्धान अझै जारी छ,” एआईजी ज्ञवालीले भने । 

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो।  दुई नेताबिच सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बुझिएको छ।  शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो ।दुई नेताबीच देउवा ओलीबिचको भेटवार्ताबारे पनि कुराकानी हुने बताइएको छ ।

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौँ। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक जारी छ ।मङ्गलबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा मन्त्रालयगत बजेटका शीर्षकमाथि छलफल जारी छ ।  आजको बैठकमा सांसद डा. अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै, सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने, बुद्धिमान तामाङले विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने र रोशन कार्कीले विनियोजन विधेयक, २०८१ अन्र्तगत परराष्ट्र मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्य सूची रहेको छ । सांसद राजेन्द्रप्रसाद लिङदेनले विनियोजन विधेयक, २०८१ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने, सांसद ज्ञानबहादुर शाहीले विनियोजन विधेयक, २०८१ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने र सांसद ध्रुवबहादुर प्रधानले “विनियोजन विधेयक, २०८१ अन्तर्गत राष्ट्रिय योजना आयोग शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्। यसैगरी, सांसद विना लामाले विनियोजन विधेयक, २०८१ अन्तर्गत उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने र विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी छलफलअन्तर्गत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयमाथि छलफल हुनेछ ।

पाल्पामा जीप दुर्घटना, नौजना घाइते

काठमाडौं । पाल्पामा जीप दुर्घटना हुँदा नौजना घाइते भएका छन्। निस्दी गाउँपालिका-४, स्थित झ्याङ्लिङ् सडक खण्डमा आइतबार बिहान सवा ४ बजेतिर दुर्घटना भएको हो। होराइजन डेन्टल रामपुर अस्पताल सञ्चालित भीरपानी डेन्टल शिविरमा गई फर्किने क्रममा बा १५ च ५९४ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए।  घाइतेमध्ये जीप चालकसहित चारजनाको अवस्था मध्यम छ। उनीहरूलाई रामपुर अस्पतालबाट थप उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा रिफर गरिएको छ अन्य पाँचजनाको अवस्था सामान्य छ।  घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता, एकमुखे रुद्राक्ष उपहार

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेश्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा समकक्षी मोदीलाई बधाइ दिँदै उनको तेश्रो कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइँमा पुग्ने विश्वास व्यक्त गरे ।साथै सो क्रममा प्रधानमन्त्री प्रचण्डले नव नियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमै उत्पादित एकमुखे रुद्राक्ष उपहार समेत दिएका छन्। भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उनहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्ड आइतबार नै भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन् । प्रधानमन्त्री प्रचण्डका साथमा प्रधानमन्त्रीकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि रहेका छन्  । प्रधानमन्त्री प्रचण्ड आज साँझ  स्वदेश फर्कने कार्यक्रम रहेको छ ।   

त्रिभुवन विमानस्थलबाट पाँच किलो सुनसहित २ व्यक्ति पक्राउ

काठमाडौं । पाँच किलो एक सय ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेका छन्। उनीहरु भारतीय नागरिक हुन् । गएराति विमानस्थल प्रहरीले चेक गर्ने क्रममा उनीहरुलाई सुनसहित पक्राउ गरिएको हो।

आमसञ्चार विधेयक पेस हुने प्रक्रियामा छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुने प्रक्रियामा रहेको बताएकी छन् ।  शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । आमसञ्चार क्षेत्रको स्वनियमन, प्रवर्द्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक संघीय संसद्‌मा दर्ता भएको जानकारी दिइन् ।  उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी विधेयक पनि चाँडै मन्त्रिपरिषद्‌मा पेस गर्ने तयारी रहेको बताइन् ।  'आमसञ्चार क्षेत्रको स्वनियमन, प्रवर्द्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै संघीय संसद्‌मा दर्ता भएको छ भने आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुने प्रक्रियामा छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी विधेयक पनि चाँडै मन्त्रिपरिषद्‌मा पेस गर्ने तयारी हुँदैछ,' उनले भनिन् ।  मन्त्री शर्माले कानुन निर्माणका क्रममा राष्ट्रिय आमसञ्चार नीति, २०७३ लाई मार्गदर्शन मानेर अघि बढिरहेको बताइन् । नयाँ प्रविधिसँगै आएका चुनौतीहरूको सामना गर्न आमसञ्चार नीतिको तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । 

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि भएका संघर्षहरूमा आफ्नो अमूल्य जीवन बलिदान गरेका सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।  “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुन सक्दैन । संविधानको प्रस्तावनामै राखिएको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण र कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ,” उनले भनेकी छन्, “प्रेस स्वतन्त्रता थप सुनिश्चित गर्नेगरी एक वर्षदेख सञ्चारसँग सम्बन्धित कानुन निर्माण तथा पुनरावलोकनको काम भइरहेको छ ।”  सञ्चारसम्बद्ध संस्था तथा यस क्षेत्रका विज्ञहरूको राय–सुझावका आधारमा कानुनको मस्यौदा गर्ने, त्यसमाथि सरोकारवाला र आम नागरिकको राय–सुझावसमेत लिएर पारदर्शी र लोकतान्त्रिक विधिबाट कानुन निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकता दिएको उनले बताएकी छन् ।  आमसञ्चार क्षेत्रको स्वनियमन प्रवर्द्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै संघीय संसदमा दर्ता भएको र आमसञ्चार विधेयक पूर्वविधायिकी चरण पूरा गर्ने प्रक्रियामा रहेको उनको भनाइ छ ।  प्रेस स्वतन्त्रतालाई बलियो बनाउन सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐनलगायत विद्यमान कानुनको कार्यान्वयनमा सरकार दृढ रहेको, प्रेस स्वतन्त्रताको प्रत्याभूतिमा देखिएका ‘डिजिटल’लगायत चुनौती कम गर्न ‘राष्ट्रिय साइबर सुरक्षा नीति, २०८०’ जारी गरिएको उनले जानकारी दिएकी छन् । नागरिकले सत्य सूचना जान्न पाउने अधिकार स्थापित गर्न साइबर सचेतनाका कार्यक्रममा जोड दिइएको उल्लेख गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले प्रेस स्वतन्त्रताको सवालमा क्रियाशील राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाहरूको चासोलाई सरकारले नजिकबाट हेरिरहेको बताएकी छन् ।  “पत्रकारिता र पत्रकारको पेसागत तथा भौतिक सुरक्षाका सवालमा सरकारले कसैसँग कुनै सम्झौता गर्ने छैन,” शुभकामना सन्देशमा मन्त्री शर्माले उल्लेख गरेकी छन्, “विभिन्न सञ्चारगृहमा देखिने श्रम समस्या समाधानका लागि सहजीकरण गर्न र कानुनी प्रक्रियाअनुसार श्रमजीवी पत्रकारका हक स्थापित गर्न सरकार प्रतिबद्ध छ ।”, रासस

जनताका समस्या समाधानमा जिम्मेवार बन्न कर्मचारीलाई अध्यक्ष ओलीको आग्रह

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको समस्या समाधनका लागि जिम्मेवार बन्न कर्मचारीलाई आग्रह गरेका छन्। बिहीबार महिला सशक्तीकरण, सांस्कृतिक तथा व्यापार महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताका समस्या समाधन गर्न कर्मचारीले विभिन्न वहाना देखाएर बाधक बन्न नहुने बताएका छन् । उनले सुकुम्वासीहरूको व्यवस्थापनका लागि तीनै तहको सरकार उत्तरदायी हुनुपर्ने बताए । उनले भत्काउने नभई बनाउने अभियान चलाउनुपर्ने बताए।  उनले भने, ‘सुकुम्वासी बस्तीमा हामीले डोजर देखाएर आतङ्क फैलाइरहेका छौँ । डोजर चलाउन बन्द गरेर उनीहरूको समस्या समाधान गर्न र व्यवस्थापन गर्नतिर लाग्न आवश्यक छ । सुकुम्वासी कहिल्यै पनि विकासका बाधक हुन सक्दैनन् । उनीहरूलाई व्यवस्थापनका लागि लाग्न आवश्यक छ ।’ जनताका समस्या समाधानका लागि कर्मचारीतन्त्र बाधक भइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले गरिब विरुद्ध डोजर चलाउन रोक्नुपर्ने बताए ।  उनले भने, ‘अहिले हामी सरकारमा आएका छौँ । तर विभिन्न वहानामा कर्मचारीतन्त्र बाधक बनिरहेका छन् ।  जनताका समस्याप्रति जिम्मेवार बन्न आग्रह गर्न चाहन्छु । लोकतन्त्रमा जे पनि गर्न मिल्दैन ।  सुकुम्वासी समस्या व्यवस्थापन गर्नुपर्छ र समाधान गरेर जानुपर्छ ।’ आफू प्रधानमन्त्री हुँदा भोकमरीले कोही पनि मर्न नदिने कसमको खाएको उल्लेख गर्दै उनले सरकारले सबैभन्दा बढी जोड गरिबी निवारणमा दिएको र दिनुपर्ने औँल्याए ।  उनले भने, ‘सरकारले सबभन्दा बढी जोड गरिबी निवारणमा दिनुपर्दछ । मैले प्रधानमन्त्री हुँदा भनेको थिए भोकमरीले कोही मर्दैनन् । अर्को पटक प्रधानमन्त्री हुँदा पनि गरिबी निवारणका लागि धेरै काम गरेको छु । सडकमा मान्छे भोकै सुत्दापनि सरकार चलाएको छु भन्न मिल्छ रु देश र जनताले भोगिरहेका समस्याप्रति गम्भीर हुन म सबैलाई आग्रह गर्दछु । सुकुम्वासीलाई व्यवस्थापन गर्नुपर्दछ । जहाँसुकै जाऊ भन्न मिल्दैन ।’

कतारका राजालाई स्वागत गर्न राष्ट्रपति त्रिभुवन विमानस्थल जाने

काठमाडौं । कतारका राजा शेख तामिम विन हमद अल थानी मंगलबार नेपाल आउने भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । कतारका राजा थानी मंगलबार साँझ ५ः३५ मा काठमाडौं ओर्लने छन् । उनलाई विमानस्थलमै पुगेर राष्ट्रपति पौडेलले स्वागत गर्ने तय भएको छ।राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री लगायत उच्च पदस्थले उनलाई स्वागत गर्नेछन् ।

कम्युनिस्ट फुट्नुको कारण समिक्षा हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलन पटक–पटक फुट र विभाजन हुनुको कारण समिक्षा गर्नुपर्ने बताएकी छिन् । नेकपा स्थापनाको ७६ वर्ष पुगेको अवसरमा नेकपा एमालेले आयोजना गरेको हीरक महोत्सवमा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले कम्युनिस्ट पार्टी फुट्नुमा सिद्धान्त र विचारले कि पदीय आकांक्षा र अवसरवादले भनेर समीक्षा गर्नुपर्ने बताएकी हुन् ।  ‘नेपाली कम्युनिस्ट आन्दोलनले हीरक महोत्सव मनाउँदै गर्दा नेपाली कम्युनिस्ट आन्दोलनमा पटक–पटक देखा परेको फुट र विभाजन साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो ? भन्ने जस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा कठिनता हुन्छ’, भण्डारीको भनाइ छ ।   साथै, उनले अरू लोकतान्त्रिक वामपन्थी र गैरवामपन्थी पार्टीले लिएका नीति र विचारमा समेत विचलन आएको छ छैन भनेर बेलाबेलामा समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

वर्तमान सत्ता गठबन्धन माघसम्मः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किने दाबी गरेका छन् । शनिवार इलाममा आयोजित चुनावी सभामा उनले यस्तो बताएका हुन् ।  उनले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने जिकिर गरे । उनले चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको बताए ।  चुनावको अघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको बताए । उनले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको बताए । थापाले चुनाव अघिको गबठन्धनले देशको राजनीतिलाई विकृत बनाएको बताए । इलामबाट नेपालमा चुनाव अघिको गठबन्धनको राजनीति चल्दैन भन्ने सन्देश दिन जरुरी रहेको बताए । ‘म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताका अघि भन्नसक्छु, २०८१ सालको वैशाख ८ गते हो आज । अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईंहरुको बीचमा फेरि जवाफ दिन आउनेछु’ उनले भने, ‘चुनावको अगाडि गठबन्धन जनतालाई धोका र बेइमानी हो । चुनाव अघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन हो । त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आएको छ ।’  महामन्त्री थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई फोहोर बनाएको पनि टिप्पणी गरे ।

फास्ट ट्र्याक पुरानै लागत र समयमा बन्छ : प्रधानसेनापति शर्मा

काठमाडौं। प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौँ–तराई मधेस द्रुतमार्गको पूर्वनिर्धारित समय र लागतमा सम्पन्न हुने बताएका छन्।  शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधान सेनापति शर्माले काठमाडौँ–तराई-मधेस द्रुतमार्ग तोकिएकै समयमा निर्माण सम्पन्न हुने बताएका हुन्। उनले अहिले सेनाले पुल र टनेल निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडी बढाइरहेको बताए। उनले फास्ट ट्र्याक निर्माण सम्पन्न नहुँदा लागत बढिरहेको भन्ने प्रचार भएको भन्दै सो प्रचारमा सत्यता नभएको बताए।  उनले हालसम्म निर्धारित बजेट भित्रैबाट काम भइरहेको भन्दै कुनै पनि लागत नबढेको बताए। उनले तोकिएकै बजेट भित्र रहेको र तोकिएकै समयभित्र रहेको भन्दै निर्धारित समयमै काम सम्पन्न गर्न नेपाली सेना ढुक्क रहेको बताए। ‘नसक्ने भए म सक्दिनँ भनिदिन्थेँ । मलाई केही छैन । नेपालमा हजुर, हामी दाजुभाइ नै हौँ । केही लाज लाग्दैन । सक्ने, नसक्ने भन्नमा । सकिन्छ । तर एकदम सिँगारेर, फास्ट ट्र्याक भनेर युरोपको सडकजस्तो नगरे पनि हजुरहरूलाई खोकनाबाट गाडी चढाएर पूर्वपश्चिम राजमार्गसम्म पुर्याउन पाएँ भने हजुरहरूले मलाई माला लगाइदिनु हुन्छ, त्यत्ति हो मैले बोलेको । त्यसै भएर पुल र टनेललाई विशेष महत्त्व दिएको हो । अन्य खन्ने बाटो त राती पनि खनेर सकिदिउँला । केही फरक पर्दैन । प्राविधिक रूपमा भित्तो कोपर्ने र पुल त बनाउनै पर्छ । त्यसमा जोड दिइएको कारण यहीँ हो । अहिलेसम्म बजेट भित्रै काम गर्न हामी सफल भएका छौँ । अहिलेसम्म बजेट भित्रै छौँ । त्यो पनि कट्दैन । पाँच वर्ष अगाडीको योजनामा अहिलेसम्म ठेक्का लाग्दा खेरी पनि हामीले कसरी मिलायौँ होला ? त्यो कुरा विचार गर्नुपर्छ । यो यस्तो योजनामा कहिल्यै पनि हुँदैन । बढ्दै गएको भनिन्छ । बढेको छैन । कहाँ बढ्नु ? त्यो बेलाको योजना अनुरूपको बजेटभित्रै छौँ हामी । अझ बाँकी छ पैसा । त्यसो भएको हुनाले हामीसँग कन्फिडेन्स छ भन्न खोजेको । लागत बढेको छैन । कुनै पनि पैसा बढेको छैन । समय पनि तोकेको समयभित्रै छौँ । ठुलो आयोजनाको कामको समय कुलो बनाएको जस्तो, एउटा पुल बनाएको जस्तो हुँदैन । त्यसले अलिकति समय लिन्छ । हामी समयभित्र पनि छौँ । बजेटभित्र पनि छौँ । काम पनि भइराखेको छ’, बैठकमा सेनापति शर्माले भने ।

सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौं । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव गोलाम सरवारले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेससँग राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा शिष्टाचार भेट गरेका छन् ।  सार्कका महसचिवलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै महासचिव गुटेरेसले विश्व जनसंख्याको ठूलो हिस्सा ओगटेको सार्क क्षेत्रसँग संयुक्त राष्ट्रसंघले सहकार्य गर्न चाहेको बताए । उनले सार्कसँग साझेदारी गर्न आफू तयार रहेको बताउँदै निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।   सार्क सचिवालयका अनुसार महासचिव सरवारले राष्ट्रसंघबाट सार्कलाई निरन्तर सहयोग एवं समर्थनप्रति प्राप्त भएकामा कृतज्ञता व्यक्त गरेका थिए । सार्क संयुक्त राष्ट्रसंघको पर्यवेक्षक संस्था हो । सन् २००४ मा राष्ट्रसंघले सार्कलाई उक्त दर्जा प्रदान गरेको हो ।  राष्ट्रसंघका महासचिव गुटेरेससँगको भेटमा महासचिव सरवारले दुवै संस्थाबीच सम्बन्ध विस्तारका साथै जलवायु परिवर्तन, खाद्य सुरक्षा, नवीकरणीय ऊर्जाका क्षेत्रमा सहयोग बढाउनेबारेमा छलफल गरेको सार्क सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सार्कले राष्ट्रसंघीय विकास कार्यक्रम, खाद्य संगठन, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९युनेस्को०, स्वास्थ्य संगठन, जनसंख्या कोषलगायत १२ वटा राष्ट्रसंघीय निकायसँग समझदारीपत्रमा हस्ताक्षर गरेको जानकारी दिँदै महासचिव सरवारले बदलिँदो परिवेशमा ती निकायसँग गरिएका समझदारीलाई अद्यावधिक गर्न आवश्यक भएको बताए ।  राष्ट्रसंघ र सार्कबीचको साझेदारीलाई परियोजनामा आधारित गराउन काठमाडौंस्थित सार्क सचिवालयमा राष्ट्रसंघ र सार्कले संयुक्त बैठक गर्नुपर्नेमा जोड दिए । उनले पारस्परिक सहयोगका नयाँ परियोजना पहिचान गर्नुपर्ने बताए । उनले सचिवालयका पदाधिकारीलाई क्षमता अभिवृद्धिलगायत अवसरको व्यवस्थाका लागि महासचिव गुटेरेससँग अनुरोध गरे ।  महासचिव गुटेरेसले सार्क महासचिवको प्रस्तावको स्वागत गर्दै राष्ट्रसंघ र सार्कबीचको सहकार्य अभिवृद्धिमा जोड दिए ।  सार्कसँगको क्षेत्रगत साझेदारीका लागि उनले सम्बद्ध निकायका अधिकारीलाई सार्क सचिवालयका पदाधिकारीसँग तत्काल सम्पर्क एवं समन्वय गर्न निर्देशन दिए । उनले दुई संस्थाबीचको विद्यमान सम्बन्धलाई अझ सुदृढ बनाउन र निकट सम्पर्कमा रहेर काम गर्दै सार्कलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

महतोका कार्यकर्ता निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि....

काठमाडौं । भद्रकाली क्षेत्रमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति आन्दोलनका कार्यकर्ताले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरी र प्रर्दशनकारीबीच झडप भएको छ।  राष्ट्रिय मुक्ति आन्दोलनको उपत्यका विशेष ष्रदेश घोषणापछि भद्रकाली क्षेत्रमा ब्यानरसहित महतोको नेतृत्वमा जनप्रदर्शन गरेको थियो।  त्यसक्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन्।