गण्डकीका पदमुक्त सांसद देवकोटाको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट आज हेर्दा हेर्दैमा राखिएको छ। आज यो रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको थियो। आज सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो।

देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै  कारबाही गरेपछि सो निर्णयविरुद्ध रिट दायर गरेका थिए।

गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले आफू नेपाल समाजवादी पार्टीको कार्यकर्ता भएको र राजनीतिक दल सम्बन्धी ऐन अनुसार माओवादीको चुनाव चिन्ह लिएर लडेको बताउँदै आफूलाई माओवादी केन्द्रले कारबाही गर्न नसक्ने दाबी गरेका छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि माओवादी केन्द्रले कारबाही गरेको थियो । माओवादी केन्द्रले पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै कारबाही गरेको थियो ।

कैलालीको सुधारगृहमा युवकको मृत्यु

कैलाली । कैलालीको एक सुधारगृहमा युवकको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका ४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह) मा राखिएका घोडाघोडी नगरपालिका २ का २५ वर्षीय सुनील शाहीको मृत्यु भएको हो। भाग्ने क्रममा बुधबार बिहान साढे ३ बजे सुधारगृहको छतबाट खसेर शाहीको मृत्यु भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान भने भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीकी प्रहरी निरीक्षक सरस्वती अधिकारीले बताइन्। उनका अनुसार छतबाट खसेर घाइते भएका शाहीलाई उपचारका लागि घोडाघोडी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको शव अहिले घोडाघोडी अस्पतालमा नै राखिएको छ।  मृतकका परिवारका अनुसार शाहीको निधार, कम्मर, गर्धन र हातमा चोट लागेको छ । शव पोस्टमार्टमका लागि टीकापुर अस्पताल लाने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शाही गत पुस ४ गते सुधारगृहमा भर्ना भएका थिए । मृतकका परिवारले घटना शंकास्पद भएको भन्दै सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।

काठमाडौंका यी स्थानमा ३ बजेसम्म विद्युत बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले एक सूचना जारी गरी काठमाडौंको कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्र अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो । प्राधिकरणका अनुसार यी स्थानमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।

६ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार । उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु भएपछि यात्रुमा उत्साह देखिएको छ । नेपाल वायुसेवा निगमको जहाजले पुनःआजदेखि भोजपुर–विराटनगर उडान थालेको हो ।  बन्द भएको ६ वर्षपछि विराटनगर यात्रा गर्न पाएकामा यात्रुहरुले खुसी महसुस गरेका छन् । भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाशकुमार आलेले खादा र केक बाँड्दै यात्रुलाई विराटनगरका लागि शुभकामना दिनुभएको थियो । उहाँका अनुसार काठमाडौँबाट आएको निगमको जहाजले नौ जना यात्रु लिएर विराटनगर उडेको छ ।   उडान बन्द भएको लामो समयपछि विराटनगर उड्न पाएकामा यात्रु उषा थापाले खुसी महसुस गर्दै भने, “समस्यामा परेका यात्रुलाई विराटनगर जान अब सहज भएको छ, हामी जिल्लावासी त्यसैमा खुसी छौँ, निगमले नियमित उडान गर्न जरुरी छ ।” वायुसेवा निगमले हप्तामा शनिबार र बिहीबारका लागि विराटनगर उडान तालिका राखेको निगमका भोजपुर स्टेसन प्रमुख प्रकाश खड्काले बताए । “अब उडान तालिकाअनुसार नै विराटनगर उडान हुनेछ । अहिलेका लागि काठमाडौँबाट भोजपुर आएर विराटनगर जाने र विराटनगरबाट फर्किएर फेरि काठमाडौँ जाने तालिका बनाएका छौँ”, उनले भने । विमान अभावलगायतका समस्या देखाउँदै निगमले भोजपुर–काठमाडौँ उडान तालिका कायम राख्दै विराटनगर उडान बन्द गरेको थियो । विसं २०७४ पछि विराटनगर उडान हुन सकेको थिएन । जिल्लावासीको मागलाई सम्बोधन गर्दै निगमले तत्कालका लागि हप्तामा दुई उडान गर्न लागेको स्टेसन प्रमुख खड्काको भनाइ छ ।  हवाई उडान बन्द हुँदा जिल्ला अस्पतालबाट सुविधा सम्पन्न अस्पतालमा सिफारिस गरिएका बिरामी लैजान तथा ज्येष्ठ नागरिकलाई समस्या हुँदै आइरहेको थियो । ज्येष्ठ नागरिक र बिरामीलाई समस्या भइरहेको अवस्थामा बन्द रहेको उडान फेरि सञ्चालन हुँदा आवागमन सहज हुँदै जाने नगरप्रमुख आलेले बताए । उनले भने, “अब तोकिएको दिन सेवा सञ्चालन हुनेगरी निगमले उडान गर्नुपर्छ, जसले समस्यामा परेका नागरिकलाई सेवा पुगोस् ।”       वायुसेवा निगम भोजपुरले भोजपुर–विराटनगर भाडा रु चार हजार २९ कायम भएको जनाएको छ । नागरिकको सेवालाई ध्यान दिँदै इ–सेवामार्फत पनि टिकट लिने व्यवस्था मिलाइएको छ । पाँच सय ४५ मिटर लम्बाइ भएको विमानस्थल कालोपत्र भए पनि विराटनगर उडान भने ठप्प थियो ।        प्रदेश राजधानी जान र आउन पुनःउडान सुरु भएपछि सहजता थपिएको भोजपुरवासी शङ्करप्रसाद आचार्यको भनाइ छ ।

राष्ट्रियसभा उपाध्यक्षमा मनोनयन दर्ता आज

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । उपाध्यक्षका लागि बुधबार निर्वाचनको मिति तोकिएको छ। त्यसका लागि मंगलबार संसद् सचिवालयमा उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको हो। संसद् भवनको ल्होत्से हलमा मनोनयन दर्ताका लागि स्थान तोकिएको छ । संविधानले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला र फरक–फरक दलको हुनुपर्ने व्यवस्था छ । जसअनुसार राष्ट्रिय सभाको अध्यक्षमा पुरुष निर्वाचित भइसकेकाले अब उपाध्यक्षमा महिलाले मात्रै उम्मेदवारी दिन पाउनेछन् ।  राष्ट्रिय सभामा हाल ५८ सदस्य छन् । जसमा नेकपा माओवादी केन्द्रका १७, नेपाली काँग्रेसका १६, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादीका आठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका एकरएक तथा दुई जना मनोनीत सदस्य रहेका छन् । सत्ता गठबन्धन दलले गठबन्धन गरेर एउटा मात्रै उम्मेदवार उठाउने सहमति गरेपनि अहिले एमाले र एकीकृत समाजवादी दुवैले दाबी गरिरहेका छन् ।यद्यपी सत्ता गठबन्धनबाट एमालेकी उम्मेदवार बिमला आचार्य उपाध्यक्षको उम्मेदवार बन्ने करिब टुंग्गो लागेको छ । राष्ट्रिय सभामा गठबन्धन दलको मत ३७ छ । मंगलबार दर्ता भएको मनोनयन बुधबार निर्णयार्थ पेश हुनेछ । 

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहानबाट सुरु  भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ । त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

अन्लाईनमार्फत ठगी गर्ने चीनियाँ गिरोह पक्राउ

काठमाडौं । अन्लाईन लोटरी र अन्लाईन सपिङ जस्ता विभिन्न प्रलोभन देखाई ठगि गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली तथा विदेशी व्यक्तिहरूलाई ठगी गर्ने गिरोह सक्रिय रहेको सूचनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साले १२० थान कम्प्युटर, ल्यापटप, ३५ थान मोबाईल फोन र अन्य विधुतिय उपकरणहरू समेत ३ जना चिनियाँ नागरिकहरूलाई पक्राउ गरेको हो । उनीहरुले सामाजिक सञ्जाल र मोबाइल फोनमार्फत नेपाल, भारत, पाकिस्तानलगायतका मुलुकका नागरिकलाई विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी गर्दै आइरहेका थिए ।गिरोहमा अन्य कोको संलग्न छन भन्नेबारे थप अनुसन्धान अगाडी बढाएको  प्रहरीले जनाएको छ ।

गगन थापाले सुरू गरे दोस्रो चरणको अभियान

रूपन्देही । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले दोस्रो चरणको संवाद यात्रा सुरु गरेका छन् ।ऐतिहासिक स्थल गुठि सूर्यपुरामा विपी कोईरालाको प्रतिमामा माल्यार्पण गरेर उनले आज विहान नवलपरासीको गौरीगञ्जबाट संवाद यात्रा सुरु गरेका हुन्। यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट संवाद यात्रा गरेर माघ २२ गते नवलपरासीको गोपीगञ्जमा पुगेर रोकेका उनले फेरि अर्को यात्रा सुरु गरेका हुन् । दोस्रो चरणको संवाद यात्रा आज, भोली र पर्सी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुनेछ । महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरुका समस्याहरु सुन्ने गरेका छन्। यात्राका क्रममा आफूले बोल्नेभन्दा पनि स्थानीयका कुरा सुन्ने, विकास निर्माणका कार्यहरुको निरिक्षण गर्ने, स्थानीयको घरदैलोमा पुग्ने थापाको योजना छ । गगन निकट एक नेताका अनुसार आज महामन्त्री थापाको यात्रा नवलपरासीको गोपीगञ्जपछि पट्खौली हुदै रुपन्देहीको धकधही, भैरहवा, जिल्ला पार्टी कार्यालय, बेथरी सम्म पुग्ने छ । भैरहवामा उनले उद्योग व्यवसायीसँग संवाद गर्नेछन भने बेथरीमा स्थानीय सरोकारका विषयमा छलफल गर्नेछन् । १६ गते रुपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राज्ञिक अन्तरक्रियाबाट संवाद यात्रा सुरु भई कपिलवस्तु प्रवेश गर्नेछ । थापा नेतृत्वको संवाद यात्रा टोलीले १६ गते नै कपिलबस्तुको लबनी, जिल्ला पार्टी कार्यालय, महाराजगञ्जको पालिका कार्यालय हुदै चन्द्रौटासम्म संवाद गर्नेछ । त्यसैगरी १७ गते विहान दाङको गोवरडिहामा थारु संवादबाट सुरु हुने संवाद यात्रा जङ्ग्रहवा हुदै बाँके प्रस्थान गर्नेछ । बाँकेमा उनले १७ गते सिक्टा सिंचाई आयोजनाको अवलोकन गर्नुहुने र फत्तेपुरमा जनसंवाद गर्नेछन् ।

एक सातापछि कर्णाली पुलमा एकतर्फी सवारीसाधन सञ्चालन

धनगढी । गत सोमबार गुडिरहेको ट्रकमा आगलागी हुँदा क्षति भएको चिसापानीमा रहेको कर्णाली पुलमा सवारीसाधन सञ्चालन हुन थालेको छ । कर्णाली पुलमा आज (सोमबार) बिहानदेखि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदिप चन्दले जानकारी दिए । गत २८ गते विरगञ्जबाट लाइटर बोकेर महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकमाथि एक्कासी आगलागी भएको थियो । ट्रकको आगो पुलमा समेत सल्किएपछि सामान्य क्षति भएको थियो । सडक विभाग र पुल महाशाखाको टोलीले संयुक्त रूपमा पुलको निरीक्षण गर्दै मर्मतसम्भार गरेको थियो ।

सरकार र लघुवित्त पीडितका प्रतिनिधिहरूबीच वार्ता

काठमाडौं । सरकारी प्रतिनिधि र लघुवित्त पीडितहरुका प्रतिनिधिबीच अहिले बार्ता जारी छ। अर्थ मन्त्रालयमा भएको वार्तामा मन्त्रालयका प्रतिनिधिहरु र लघुवित्त पीडित संघर्ष समितिका प्रतिनिधिहरुबीच केहीबेर अघि शुरु भएको बार्ता अहिले पनि चलिरहेको छ । वार्तामा अर्थ मन्त्रालयका तर्फबाट सहसचिव नारायणप्रसाद रिसाल र लघुवित्त पीडितका तर्फबाट मणिराम ज्ञवालीले नेतृत्व गरेका छन् ।।

बुवाको हत्या आरोपमा छोरा र बुहारी पक्राउ

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका ५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । पचपन्न वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । डीएसपी खड्काका अनुसार पक्राउ पर्नेमा एक युवक र उनकी श्रीमती जमुना नेपाली रहेका छन् । ‘बाबु छोराबीच यही फागुन २५ गते रातको समयमा घरायसी विषयमा भएको विवादमा हत्या गरेको प्रहरीको भनाई छ ।  १७ वर्षीय युवक र उनकी श्रीमतीले ‘ढोकामा लगाउने आग्लोले टाउकामा प्रहार गरी घाँटी थिचेर हत्या गरेको पाइएकाले पक्राउ गरिएको डीएसपी खड्काले बताए । उनले भने, ‘शव परीक्षण प्रतिवेदन र अभियुक्तहरूको बयानका आधारमा उनीहरूको संलग्नता पाइएकाले मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरमा कारबाहीका लागि अनुसन्धान अघि बढाएका छौं।’ प्रहरीको प्रारम्भिक अुनसन्धानका क्रममा अभियुक्तहरूले आफूहरूले भनेका विषयमा बाबुबाट असहयोग हुने गरेकाले ‘हत्या गरेको’ भनेर स्वीकार गरेको पाइएको छ । ती युवकले दुई वर्षअघि जमुनासँग विवाह गरेका थिए । विवाह पछि नै बाबुसँग आफूहरूको विवाद उत्पन्न हुँदै आएको प्रहरीसमक्ष बयान दिएका छन् ।

प्रधानमन्त्रीले लिखित सहमति गर्नुपर्ने एकीकृत समाजवादीको माग

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले आफ्नो पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेको छ ।  सोमवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले आफ्ना मागहरुमा लिखित सहमति जनाउन प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बताए । उनले राष्ट्रिय सभा अध्यक्ष तथा प्रधानमन्त्रीलाई विश्वासको मत दिनका लागि प्रधानमन्त्रीलाई लिखित सहमति जनाउन आग्रह गर्ने निर्णय गरिएको बताए ।  चौधरीले भने, ‘हामीले भनेको केही कुरामा उहाँले लिखित सहमति गर्नुभयो भने राष्ट्रिय सभामा भोट दिनसक्छौँ। र प्रतिनिधि सभामा उहाँले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौँ।’

सहकारी सुरक्षित छन् भन्ने सन्देश दिनुपर्‍यो : सीईओ सापकोटा

भक्तपुर । नेपाल बचत तथा  ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवजी सापकोटाले सहकारीको विश्वसनीयता फर्काउन काम गर्नुपर्ने बताएका छन् । बुधबारबाट भक्तपुरमा आयोजित ‘बागमती प्रदेश साकोस समिट २०८०’ को दोस्रो दिन ‘सहकारीको वर्तमान आवश्यकताः साझा अभियानका लागि साझा सञ्जाल’ विषयक कार्यपत्र प्रस्तुत गर्दै उनले सहकारीलाई जिम्मा लिने संस्था एकिन गरेर बचतकर्ताको विश्वास जगाउनुपर्ने बताए ।  ‘सहकारीको जिम्मा यी निकायले लिएको छ, सहकारी सुरक्षित छ भन्ने सन्देश सबैले दिनुपर्ने देखिएको छ । सदस्यको बचतको सुरक्षाको प्रतयाभूति दिलाउने र सदस्यको जीवन परिर्वतनका लागि काम गर्नुपर्छ’, उनले भने, ‘सहकारीलाई पैसा किन्ने र बेच्ने आरोप लाग्ने गरेको छ । सहकारीको काम त्यति मात्र हैन’ उनले भने । सहकारी बैंक तथा वित्तीय संस्थाभन्दा फरक रहेको र सदस्यमा आधारित संस्था हुनुपर्नेमा सापकोटाले जोड दिए । सहकारीहरुले नाफालाई प्राथमिकता दिँदा पनि समस्या उत्पन्न भएको उनको भनाइ छ । ‘सहकारीले नाफालाई प्राथमिकतामा राख्दा समस्या आएको छ । संस्थाले कति कमाउने र कति लाभांश दिने भन्ने मान्यता राख्दा पनि समस्या आएको छ’, उनले भने, ‘सहकारी संस्थाले सदस्यले जम्मा गरेको पैसा जस्ताको तेस्तै मागेको दिन नै फिर्ता गर्नुपर्छ ।’ ज्ञान, सिप र क्षमताका लागि सहकारी अरुको भर परे पनि संस्था सञ्चालन गर्न अरुको भर पर्न नहुँने उनको भनाई छ । वित्तीय कारोबार गर्दा व्यवस्थापन पक्षले त्यसको निगरानी र मनिटर गर्नुपर्ने उनी बताउँछन् ।  ‘समस्या पर्दा अरुले संस्था चलाउँछ भन्ने मान्यता छ, भने सहकारी नचलाए हुन्छ । सहकारीले ज्ञान तथा सीपमा अरुको भर पर्नुपर्छ । समस्या पर्दा वित्तीय सहयोग अरुबाट गर्न हुँदैन’, उनले भने, ‘सहकारीले समयमा प्रतिवेदन तयार गर्ने, साकोसका असल अभ्यासलाई बाहिर ल्याउने र वित्तीय अनुशासन पालना गर्न गुर्नपर्छ ।’ सहकारीको ऐन धेरै भएको र सहकारी सदस्यबाट टाढा रहेर सदस्यमा आधारित संस्था हुनुपर्छ भन्ने कुरा बिसर्दा समस्या आएको उनले प्रष्ट पारे ।  त्यस्तै सीईओ सापकोटाको कार्यपत्रमा टिप्पणी गर्दै बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाले सहकारीको सुदृढीकरणमा ध्यान दिनुपर्ने बताए । उनले सदस्य मिलेर संस्था बनाउने र संस्था संघमा जाने वातावरण मिलाउनुपर्ने बताए । ‘सहकारीमा पुँजी निर्माण संस्थाले गर्ने र बचतकर्तालाई बचत गर्न सिकाउनुपर्छ । आम्दानीबाट बचत गरेपछिमात्र अन्य कामतिर लाग्नुपर्छ’ उनले भने, ‘संस्था÷संघमा अहिलेसम्म उत्पादनमुलक सम्बन्ध छ त ? सहकारीमा उत्पाह भएन । ज्ञान र चेतनाको कमीले गर्दा पनि समस्या आएको हो ।’ सोही कार्यपत्रमाथि टिप्पणी गर्दै सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारीका मूल्य मान्यता असाध्यै असल भएको भन्दै यसको जगमा सहकारी बस्न सके समस्या नआउने बताए । पैसाको कारोबार गर्ने संस्था जोखिमय हुने भएकाले त्यसमा व्यवस्थापक र सञ्चालकले दीर्घकालीन रुपमा सोचेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।  

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका फेरि पनि प्रथम

चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । देशभरिका अन्य छ महानगरपालिका भन्दा भरतपुर उत्कृष्ट भएको हो । आयोगले गत आर्थिक वर्ष २०७९/०८० मा गरेको कार्य सम्पादन मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो । आगामी आव २०८१/८२ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १० वटा सूचकका आधारमा प्रदेशहरुको मूल्यांकन गरेको छ । आयोगले पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरेरनगरेको, राजस्वको विभाजन गरेरनगरेको लगायतका सूचकमा मूल्याङकन गर्ने गर्दछ । १० असारभित्र बजेट ल्याएरनल्याएको, ३० असार भित्र बजेट पास गरे÷नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिएरनदिएकोलगायतका आधारमा मूल्याकंन गरिन्छ । आयोगले विषेश गरेर लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गर्छ । आयोगले दिएको जानकारीअनुसार भरतपुरल ५६ दशमलव २९ प्रतिशत अंक प्राप्त गरेको छ । काठमाडौँ महानगरपालिकाले ३९ दशमलव ०२, वीरगञ्ज महानगरपालिकाले ३३ दशमलव ४९ , विराटनगर महानगरपालिकाले ३२ दशमलव ८५ , ललितपुर महानगरपालिकाले २५ दशमलव १८ र पोखरा महानगरपालिकाले २० दशमलव ७४ प्रतिशत अङ्क पाएका छन् । जिल्लाका सात स्थानीय तहमध्येमा पनि भरतपुर पहिलो भएको छ । भरतपुरले ५६ दशमलव २९ प्रतिशत अङ्क पाउँदा इच्छाकामना गाँउपालिकाले ४२ दशमलव ०६ प्रतिशत, खैरहनी नगरपालिकाले ४० दशमलव ५१ प्रतिशत, रत्ननगर नगरपालिकाले ४० दशमलव ०१ प्रतिशत, कालिका नगरपालिकाले ३५ दशमलव ६८ प्रतिशत, राप्ती नगरपालिकाले ३१ दशमलव ७५ प्रतिशत र माडी नगरपालिकाले २६ दशमलव २० प्रतिशत अङ्क पाएका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोगले अध्ययन सुरु गरेपछि सधैँ भरतपुर महानगरपालिका अन्य महानगरपालिका भन्दा अगाडि रहेको बताइन् । गत वर्ष पनि महानगरले प्रथम स्थान हासिल गरेको र अहिले पनि यो काम राखेकोमा खुसी व्यक्त गरिन । महानगरपालिकाले नेपाल सरकारले गर्ने मूल्याङकनमा सधै उत्कृष्ट राख्दै नयाँ रेकर्ड पनि कायम गर्दै आएको छ । देशभरका ७५३ पालिका मध्ये भरतपुर महानगरले सहरी पूर्वाधार, खेलकुद, न्यायिक समितिमार्फत मुद्धा फ¥र्यौटलगायतका विषयमा सधै उकृष्ट बन्दै आइरहेको छ ।

वडाध्यक्षदेखि मन्त्री समेतको सम्पत्ति छानबिन गरौँः गुरुङ

काठमाडौं, ७ फागुन। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले  कांग्रेसका वडाध्यक्षदेखि मन्त्री समेतको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।  ललितपुरको गोदावरीमा कांग्रेसको महासमिति बैठकलाई सम्बोधन गर्दै नेता गुरुङले जनताको मन जित्ने हो भने कांग्रेसका वडाध्यक्षदेखि मन्त्री समेतको सम्पत्ति छानबिन गर्नुपर्ने बताए । उनले त्यसो गर्ने हो भने आगामी चुनावमा कांग्रेस पहिलो पार्टी बन्न सक्ने पनि बताए । ‘वडाध्यक्षदेखि मन्त्री समेतको सम्पत्ति छानबिन गर्ने प्रस्ताव यो महासमितिमार्फत पास गरौँ’, गुरुङको प्रस्ताव छ । त्यस्तै उनले क्रोनी क्यापिटलिजमका कारण आर्थिक सुशासन कायम हुन नसकेको पनि बताए । उपसभापति गुरुङले नेपाली राजनीतिमा देखिएको क्रोनी क्यापिटलिजमको प्रभाव नेपाली कांग्रेसमा समेत पर्दा सही बाटो पहिल्याउन नसकेको हो कि भन्ने आफूलाई लागेको बताएका छन् ।  ‘क्रोनी क्यापिटलिजमका कारण नेपालमा नेताहरु व्यापारी र व्यापारी नेताजस्ता देखिए’, गुरुङले भने, ‘अबका दिनमा हामीले क्रोनी क्यापिटलिजमको विरुद्धमा एक ठाउँमा उभिएर अघि बढ्न सक्नपर्छ ।’ कानुन मन्त्री समेत रहेका गुरुङले क्रोनी क्यापिटललिजमकै कारण आर्थिक सुशासन कायम गर्न नसकिएको स्वीकार गरे । उनले जबसम्म मुलुकमा भ्रष्टाचार रहन्छ तबसम्म भुइमान्छेलाई माथि उठाउन नसकिने भन्दै तलका मानिसलाई माथि उठाउन पनि नसकिने बताए ।

यस्ता छन् पुस २४ गतेको मन्त्रिपरिषद् बैठकका २७ निर्णय

काठमाडौँ । सरकारले भूकम्पबाट प्रभावित जिल्लाहरूका लागि प्रधानमन्त्री दैविक सहायता कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषमा २ अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णयसहित विभिन्न २७ वटा निर्णय गरेको हो । हेर्नुहोस् निर्णय