जनयुद्धका सहिद, बेपत्ता तथा घाइतेप्रति उच्च कदर गरेको छु : एमाले उपाध्यक्ष बादल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले २९औँ जनयुद्ध दिवसको शुभकामना दिएका छन् । मंगलबार सामाजिक सञ्जालबाट शुभकामना दिँदै बादलले जनयुद्ध र जनआन्दोलनमा मृत्यु भएका शहीदहरूको स्मरण गर्दै सहिद, बेपत्ता र घाइते परिवारको योगदानको कदर गरेको बताएका छन् ।

उनले भनेका छन्–‘जनयुद्ध, जनआन्दोलनलगायतका आन्दोलनको क्रममा देश र जनताको मुक्तिको लागि आफ्नो प्राणको आहुति दिनुहुने महान् शहीदहरूको स्मरण गर्दै उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । बेपत्ता तथा घाइते योद्धाहरूको योगदानको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु । साथै सहिद, बेपत्ता तथा घाइतेका परिवारको योगदानको उच्च कदर गर्न चाहन्छु ।’

जनयुद्धका बेला माओवादीको सैन्य इन्चार्ज समेत बनेका बादल २०७७ सालदेखि माओवादी छोडेर नेकपा एमालेमा क्रियाशील रहेका छन् । एमालेका अन्य उच्च तहका नेताहरूले जनयुद्ध दिवसको शुभकामना दिएका छैनन् ।

सय दिनमा सरकारले समीक्षा गर्न लायक कामै गरेन : नारायणकाजी श्रेष्ठ

विराटनगर । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले ओली सरकारको एक सय दिनमा समीक्षा गर्नुपर्ने विषय नै नभएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले कुनै सकारात्मक काम गर्न नसकेको कारण समीक्षा गर्न मेहनत गर्नै आवश्यक नरहेको बताउनुभयो । ‘दुई वटा प्रमुख दल मिलेर सरकार बनाउने कुराले सामान्य संसदीय पद्धति र परम्परालाई पनि पालना गरेको छैन र नेपालको सन्दर्भमा दुई वटा पार्टी मिलेर निरङ्कुशता जाने सङ्केत भएको भनेर हामीले सुरुमै भनेका थियौँ । अहिले त्यही दिशातिर सरकार गइरहेको छ,’ उहाँले भन्नुभयो, ‘अन्य राजनीतिक पार्टीलाई हस्तक्षेप गर्न, विभाजन गर्न अध्यादेश ल्याउने तयारी गरेको चर्चा पनि छ । हामीले भ्रष्टाचार विरुद्ध अभियान चलायौँ । तर, अहिले सरकारको त्यो काम अगाडि बढाएको छैन । बरु हाम्रो सरकारको पालामा भएका भ्रष्टाचारका दोषीलाई सफाइ दिने काम भइरहेको छ ।’  बाढी पहिरो र डुबानमा परेकाहरूको खोज, उद्धार, राहत र पुनःस्थापनामा पनि सरकारले कुनै काम नगरेको उहाँको भनाई थियो । ‘यत्रो बाढी, पहिरो, डुबानको स्थिति भयो । त्यसले ठूलो धनजनको क्षति पनि भयो । त्यसमा तत्काल उद्धार, राहत र पुनःस्थापना, पुननिर्माणको योजना बनाउने काममा तदारुकता देखिएन । यो त सबै जनताले बुझेका छन् नि । त्यसकारण यो सरकारका बारेमा त्यति धेरै मेहनत गरेर समीक्षा गरिरहनुपर्ने अवस्था छैन,’ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘यो सरकारले देश जनताको पक्षमा सकारात्मक काम गर्न सकेको छैन ।’ दुई वटा पार्टीले मिलेर बनेको सरकारले अध्यादेश ल्याउने अहिलेको देशको परिस्थिति नभएको उहाँले बताउनुभयो। यो कुरा कांग्रेस र एमालेले बुझ्नु पर्ने उहाँको भनाइ छ । रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेको विषयमा सोधेको प्रश्नमा श्रेष्ठले छानबिन र अनुसन्धान भेदभावपूर्ण भएको आशय व्यक्त गर्नुभयो । ‘रवि लामिछाने पक्राउ पर्नु ठिक र बेठिक भन्ने कुरा होइन । राज्यले कसैलाई पनि विधि पुर्‍याएर अनुसन्धान गर्न सक्छ । हाम्रो कुरा अनुसन्धान स्वतन्त्र र निष्पक्ष होस् भेदभावपूर्ण हुनुहुँदैन,’ श्रेष्ठले भन्नुभयो, ‘तर, अहिले सबैको टिप्पणी के हो भने भेदभाव भइरहेको देखिन्छ । त्यस्तै गरी प्रत्यक्ष सहकारीको ठगीसँग सम्बन्धित भनेर आएको सत्तारुढ पार्टीकै नेताहरूलाई किन अनुसन्धान गर्ने काम गरिएन ? किन उनीहरूलाई कानुनको दायरामा ल्याइएन भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ। त्यो सही पनि छ ।’ माओवादी सरकारमा हुँदा दोषी कसैलाई छोडिने छैन, छोड्नु हुँदैन । निर्दोष कसैलाई दुःख दिनु हुँदैन, जतिसुकै शक्तिशाली भएपनि दोषीलाई छोड्नु हुँदैन भन्ने कुरा गरेको उपाध्यक्ष श्रेष्ठले स्मरण गर्नुभयो । माओवादी केन्द्रको ध्यान अहिले सरकारतिर नभएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘सरकारतिर हाम्रो आँखा छैन । तर, आन्दोलन भनेको सरकार ढाल्न र अर्को सरकार बनाउन मात्रै हुँदैन,’ किन आन्दोलनमा जान लाग्नु भयो भन्ने प्रश्नमा उनले भने, ‘देश र जनताको जल्दाबल्दा समस्यालाई लिएर सरकारलाई ध्यानाकर्षण गराउने, जनताको पक्षमा काम गराउन दबाब दिने पनि प्रतिपक्षको काम हो । त्यसकारण हामीले विरोध गरेका हौँ ।’  दुई वटा पार्टीले मिलेर बनेको सरकार चलेसम्म आफूहरूले चलाउन दिने पनि उहाँको भनाई थियो। ‘सरकार नै चल्दै चलेन, सरकारले सङ्कट नै ल्यायो भने हामीले सोच्ने कुरा हो । तर, हामी आफूले चाहिँ सरकार कहिले ढाल्ने र सरकारमा जाने भन्ने सोचेको पनि छैनौँ, कल्पना गरेको पनि छैन र त्यतातिर जान पनि चाहन्नौँ,’ उहाँले भन्नुभयो । वर्तमान सरकारले काम गर्न नसकेपनि लोकतान्त्रिक विकल्पबाटै अर्को सरकार बन्नेतिर जानुपर्नेमा उहाँको जोड थियो । तर, वर्तमान राजनीतिक पार्टीले आफूलाई समीक्षा गरेर बदल्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई थियो। ‘हामी माओवादीले हिजो पनि तुलनात्मक रूपमा राम्रो काम गरेका हौँ । अझ पनि बदलिनुपर्छ भनेर काम गरिरहेका छौँ,’ श्रेष्ठले भन्नुभयो । उनले वामपन्थी एकताको पक्षमा भएपनि तत्काल त्यो सम्भावना नरहेको बताउनुभयो । कम्युनिष्टहरुलाई मिलाउन चीनले भूमिका खेलिरहेको भन्ने कुरा छ नि भन्ने प्रश्नमा उनले त्यो चर्चामा कुनै सत्यता नभएको दाबी बताउनुभयो ।।

एमाले केन्द्रीय सदस्य शेर्पालाई बहुविवाह कसुरमा कैद सजाय

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई बहुविवाह गरेको कसुरमा एक वर्ष जेल सजाय र पाँच हजार रुपैयाँ जरिवाना गर्ने जिल्ला अदालतको फैसला उच्च अदालतबाट पनि सदर भएको छ । काठमाडौं जिल्ला अदालतले गरेको फैसला उच्च अदालत पाटनले पनि सदर गरेको हाे । उच्च अदालत पाटनले यही ६ असोजमा र जिल्ला अदालतले २३ चैत २०७९ मा त्यस्तो फैसला गरेका हुन् ।  शेर्पाकी श्रीमती करिश्मा खरेलले शेर्पा र उनकी अर्की श्रीमती पूजा परियारविरुद्ध जिल्ला अदालत काठमाडाैंमा बहुविवाह मुद्दा दायर गरेकी थिइन् । साे मुद्दामा जिल्ला अदालतले पासाङ शेर्पा र करिश्मा खरेलबीच २९ असार २०६२ मा र पासाङ शेर्पा र पूजा परियारबीच २८ मंसिर २०६३ मा विवाह भएको ठहर गरेको छ । जिल्लाको फैसलामा भनिएको छ, ‘पासाङ शेर्पाले निजकी पत्नी यी जाहेरवालासँगको दाम्पत्य सम्बन्ध कायम रहेकै अवस्थामा पूजा परियारसँग विवाह गरी मुलुकी ऐन बिहेबारीको महलको ९ नम्बरको कसुर गरेको देखिँदा निजलाई ऐ. को दफा १० बमोजिम १ वर्ष कैद र रु. ५ हजार जरिवाना हुने ठहर्छ ।’ शेर्पासँग विवाह गरेकी पूजा परियारको हकमा भने जिल्ला अदालतले सफाइ दिएको थियो । उच्च अदालत पाटनले पनि उक्त फैसला सदर गरेको छ । 

बाढी पहिरो अपडेटः मृतकको संख्या १०० पुग्यो, ६५ जना बेपत्ता

काडमाडौं । बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ। पछिल्लो प्रकोपबाट ४० जना घाइते छन् भने ६५ जना बेपत्ता रहेको गृह मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार सबैभन्दा बढी क्षति काठमाडौं उपत्यकामा भएको छ। काठमाडौं, भक्तपुर, ललितपुरमा गरी ४८ जनाको मृत्यु भएको छ। १५ जना घाइते छन्। बिहीबारदेखि परेको अविरल वर्षातका कारण काठमाडौं उपत्यकामा २१ जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ। बाढी पहिरोबाट कोशी प्रदेशमा  १३ जनाको मृत्यु, ३ घाइते र ९ जना बेपत्ता छन्। मधेसमा २ जनाको मृत्यु र १ जना बेपत्ता छन्। बागमतीमा ३७ जनाको मृत्यु, २२ घाइते र ३२ बेपत्ता छन्। गण्डकीमा मानवीय क्षति भएको छैन। लुम्बिनी प्रदेशमा दुई जना बेपत्ता छन्। बाढी, पहिरोबाट १९५ वटा घर पूर्ण क्षति भएका छन्। दुई हजार ९०५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

बिदेशबाट फर्केका युवाले गरे श्रीमतीको गोली हानी हत्या

वीरगन्ज । सर्लाहीमा गोली हानेर आफ्नो श्रीमती हत्या गरेको छ । हरिपुर्वा नगरपालिका ५ मा गए राति पैने २ बजे आफ्नै श्रीमानले गोली हानेर श्रीमतीको हत्या गरेको सर्लाही प्रहरीले जनाएको छ ।  सर्लाहीका प्रहरीका अनुसार श्रीमान् चलाएको गोलीबाट हरिपुर्वा नगरपालिका ५ निवासी चित्रलेखा यादवको घटनास्थलमा मृत्यु भएको हो । पारिवारिक विवादका कारण श्रीमान्ले गोली चलाउँदा श्रीमतीको घटनास्थलमा मृत्यु भएको हो भने बुवा मध्यम घाइते भएका छन् । उनले चलाएको गोलीबाट बुवा घाइते छन् । छोराले गोली चलाउँदा ५४ वर्षीय बुवा रामदिनेश राय घाइते छन् ।  सर्लाही प्रहरीका अनुसार उनको बायाँ हातमा गोली लागेको छ । उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । आफ्नै बुवा र श्रीमतीलाई गोली हान्ने व्यक्तिको खोजी कार्य भइरहेको सर्लाही प्रहरी प्रवक्ता दीपक श्रेष्ठले बताए । उनका अनुसार गोली हान्ने व्यक्तिको पहिचान भइसकेको छ, तर अनुसन्धान चलिरहेकोले नाम भने प्रहरीले खुलाएको छैन । घटनास्थलबाट सानो हतियार र उक्त हतियारको दुई राउन्ड खोका र एक राउन्ड मिस फायर भएको गोली फेला परेको सर्लाही प्रहरीले जानकारी दिएको छ । श्रीमान् कामको सिलसिलामा विदेशमा बसिरहेका थिए । करिब एक महिना अगाडि मात्रै उनी कुबेतबाट फर्केका थिए । घरमा फर्केपछि केही समय मात्रै उनी घरमा बसे । कारण–घरमा विदेशबाट फर्केपछि पारिवारिक विवाद सुरु भएको थियो, त्यसपछि सबलाई मार्छु भन्दै उनी घरबाट निस्के । सर्लाही प्रहरीका अनुसार घरबाट निस्केको करिब एक महिना पछाडि बुधबार राती अचानक घरमा आए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा छोरा गोली हान्ने व्यक्ति विदेशबाट फर्केपछि पारिवारिक सम्बन्ध ठिक नभएको पाइएको छ । 

चितवनको माडीमा अत्यधिक वर्षा, सतर्क रहन आह्वान

चितवन । चितवन– चितवनको माडी क्षेत्रमा आज बिहानदेखि अत्यधिक वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा माडी र आसपासका क्षेत्रमा अति ठूलो वर्षा भएको र यो क्रम जारी रहने अनुमान गरिएको छ । परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले रिउ खोला र यसका सहायक नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्द्रदेव यादवले नदी तटीय क्षेत्र र हाेचाे भूभागमा बस्ने नागरिकहरूलाई दिउँसो २ बजेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । कल्याणपुर वर्षा मापन केन्द्रका अनुसार माडी क्षेत्रमा अझै भारी वर्षाको सम्भावना रहेको छ । खास गरी रिउ खोला र यसका सहायक नदीहरूमा अचानक बाढी आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको प्रजिअ यादवले जानकारी दिए । माडी क्षेत्रमा खहरे खोलाहरूले वार्षिक रूपमा ठूलो क्षति पुर्‍याउने गरेको स्थानीयहरू बताउँछन्। यहाँ सामान्य वर्षामा पनि साना खोलाहरू एक्कासि उर्लिने गर्दछन्, जसले गर्दा बाढी र डुबानको जोखिम बढ्छ । यसैबीच, भरतपुरमा पनि बिहानदेखि नै मुसलधारे पानी परिरहेको छ । स्थानीय प्रशासनले सम्पूर्ण जिल्लावासीलाई सतर्क रहन र आवश्यक सुरक्षा उपायहरू अपनाउन आग्रह गरेको छ । मौसम विभागले यस क्षेत्रमा अझै केही दिन वर्षा जारी रहने पूर्वानुमान गरेको छ । नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न र आपतकालीन सूचनाहरूलाई ध्यान दिन अनुरोध गरिएको छ ।

एसईई प्रिन्सेसको ताज प्राप्ति श्रेष्ठलाई

काठमाडौं। सिजन मिडियाद्धारा आयोजित नामी कलेज एसईई प्रिन्सेस २०२४ सम्पन्न भएको छ । एसईई प्रिन्सेसको बाह्रौं सस्करणकी विजेताको ताज प्राप्ति श्रेष्ठले पहिरन सफल भएकी छिन् । उनले एसईई प्रिन्सेससँगै मोष्ट टेयालेन्टको अवार्ड पनि हात पारिन् भने फष्ट रनरअप प्रीति शर्मा,सेकेण्ड रनरअप निरजरा श्रेष्ठ,थर्ड रनरअप ज्यास्मिन धमेना र फोर्थरनरअप शुभ के.सी. विजयी भए।   विजेता श्रेष्ठले ल्यापटप तथा नामीकलेजमा १ लाख बराबरको छात्रावृति प्राप्त गरिन्,फष्ट र सेकेण्डरनरअपले क्रमसः स्यामसङम मोवाइल फोन साथै दशजोड दुई अध्ययनको लागि छात्रावृति प्राप्त गरे भने थर्ड र फोर्थ रनरअपले डिजिटल स्माट वाच साथै छात्रावृति पाएका छन्।   त्यसैगरी, अन्य विविध सव टाइटलमा अर्गनाइजर च्वाइस इभा कपाली , पपुलर च्वाइस सविना तामाङ, मिस स्टाइलिस क्रीस्मि गुरुङ, भियोर्स च्वाइस कृर्पा केसी, फोटोजेनीक रन्जना ठकुरी, क्रियटिभ अवार्ड एकता अर्याल र वेष्ट वाक सिचु मर्हजनले हात पार्न सफल भएका थिए ।  कार्यक्रम वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर गर्न सहयोग पुर्याउने, आत्मविश्वास बढाउने मन्त्री सुडीले धारणा राखे । शिक्षक सम्मान र विद्यार्थीको प्रतिभा उजागरमा सहयोग पुर्याउने यस्ता कार्यक्रमको विशेष महत्व रहने बताउदै उनले यस्ता कार्यक्रम आगामी दिनमा बृहत गर्दै लानुपर्ने बताए। उक्त कार्यक्रममा विभिन्न विद्यालयमा अध्यापन तथा व्यवस्थापनमा लामो समय देखि सक्रिय शिक्षक तथा शिक्षिकाहरुलाई विशेष शैक्षिक सेवा सम्मान २०८१ द्धारा सम्मान गरिएको थियो। नेहा केसी प्रिन्सिपल स्वस्तीश्री गुरूकुल आई विवल्ड स्कुल, द्रोणबहादुर अधिकारी प्रिन्सिपल मनमोहन मेमोरियल कलेज, रवीन्द्र अधिकारी प्रिन्सिपल रिलाइन्स कलेज, सरिता शाक्य प्रधान इन्टरनेशनल रिलेसन्स कोओर्डिनेटर साउथ वेस्टन स्टेट कलेज, सुनोज कैनी एकेडेमिक डाइरेक्टर रेडन कलेज, देवेन्द्र तिमिल्सिना  बजार व्यवस्थापन प्रमुख मिड भ्याली कलेज शिक्षा पत्रकार मकर श्रेष्ठ, ध्रुवप्रसाद तिमिल्सिना गुणस्तर प्रत्यायन प्रमुख काठमाडौं मोडेल कलेज, सङ्गीता श्रेष्ठ प्रिन्सिपल काठमाडौं भ्याली कलेज, टंककुमार चापागाई अध्यक्ष प्याब्सन टोखा, आन्नदकुमार यादव सचिव हिसान बामगती प्रदेश, जेसिका चेमजोङ अध्यक्ष हिसान काठमाडौं, प्रेम गुरुङ उप प्राध्यापक पोखरा विश्वविद्यालय सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरीएको सस्थाका अध्यक्ष प्रदिपराज वन्तले बताए।  प्रतियोगिताको निर्णायक मण्डलमा मोटीभेसनल स्पीकर राजन कोइराला, फिल्म लेखक विकास सुवेदी, सिनियर एयरहोस्टेस अस्मीता खनाल, मोडल सोनाम केसी, व्यवसायी तथा समाजसेवी अमित शर्मा, पर्यटन व्यवसायी संगिता रौनीयार, व्यूटीसियन लसता शाक्य रहेका थिए।

प्रधानमन्त्री प्रचण्डसँग भारतीय व्यावसायीको भेट नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ ।  छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । प्रधानमन्त्री बस्नुभएको होटल ताजमा आज भएको भेटमा नेपालमा लगानीको सम्भावना एवं लगानीका क्षेत्रका विषयमा प्रधानमन्त्री प्रचण्ड र फिक्कीका पदाधिकारीहरूले छलफल गरेका हुन्।  सो अवसरमा प्रधानमन्त्रीले भारतीय लगानीकर्ताका लागि उपयुक्त देश नेपाल भएको उल्लेख गर्दै पर्यटन, ऊर्जा, कृषि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे। उनले काठमाडौँमा सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा नेपालले कानुनी संरचनालाई व्यापक सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको बताए।  “लगानी सम्मेलनका क्रममा हामीले विभिन्न कानुनहरू अध्यादेशबाट संशोधन गरेका छौँ, त्यसले लगानीका क्षेत्रमा संरचनागत एवं संस्थागत सुधार भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको छ, ढुक्क भएर लगानी गर्न आग्रह गर्दछु।” उपभोक्ता दृष्टिकोणले पनि नेपाल लगानीका लागि उपयुक्त थलो भएको उनको भनाइ छ ।  भारत सरकारसँग दश वर्षमा १० हजार मेगावाट विद्युत् बिक्री गर्ने दीर्घकालिन सम्झौता भइसकेको अवस्थामा नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न उपयुक्त हुने सुझाव दिँदै प्रधानमन्त्री प्रचण्डले ठूला जलविद्युत आयोजना लगानीका लागि तयारी अवस्थामा रहेको जानकारी दिए।  सो अवसरमा फिक्कीका अध्यक्ष डा.अनिस शाहले नेपालको ऊर्जा, पर्यटन र सौर्य ऊर्जामा आफू र आफ्ना सदस्यहरू इच्छुक रहेको बताए। प्रधानमन्त्री प्रचण्डले लगानीका लागि लिएको तदारुकतालाई आफूहरूले नजिकबाट अध्ययन गरिरहेको उल्लेख गर्दै अध्यक्ष शाहले नेपालमा लगानीका लागि उत्साहित रहेको बताए। 

राष्ट्रसङ्घीय कमिटीमा नेपालकी राणा निर्वाचित

न्यूयोर्क । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड)को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छिन्। उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन् । शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा एक सय ४६ मत प्राप्त गर्दै विजयी भएकी हुन्् । उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्ने छिन्। नेपालको तर्फबाट विजयी भएपछि राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले सदस्य राष्ट्रहरुले गरेको सहयोगका लागि धन्यवाद दिइन् । तेइस सदस्य रहने उक्त समितिले विश्वव्यापी रुपमा महिलाले भोग्नुपरेका समस्या, राष्ट्रसङ्घमा जनाइएका प्रतिबद्धता कार्यान्वयनलगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको बारेमा अनुगमन गर्ने गर्छ । उक्त समितिको कार्यालय जेनेभामा रहेको छ ।

पोखरामा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय महत्त्वपूर्ण छ : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने विश्वास व्यक्त गरेका छन्।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षदेखि एम.बि.बि.एस. तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका कामहरू अगाडि बढाउन निर्देशन दिए।  “चिकित्सा शिक्षाको स्नातकोत्तर तह सञ्चालनमा आएपछि यस प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने सरकारको अपेक्षा छ,” प्रधानमन्त्री प्रचण्डले भने, “आगामी आर्थिक वर्षदेखि एम।बि।बि।एस। तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका कामहरू अगाडि बढाउनेछ ।”  भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा र समग्र देशकै लागि दक्ष चिकित्सक उत्पादनमा यस प्रतिष्ठानले खेलेको भूमिका सबै प्रतिष्ठानका लागिसमेत अनुकरणीय रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रतिष्ठानको विकास, विस्तार र उनन्नयनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। उनले अर्थतन्त्रमा विद्यमान दवाव र स्रोत विनियोजनमा देखिएको सङ्कुचनका बीच पनि सरकारले प्रतिष्ठानको विकास र सेवा विस्तारमा प्राथमिकता दिएको उल्लेख गरे। प्रतिष्ठान चिकित्सा शिक्षामा समग्र देशकै लागिसमेत उदाहरणीय शैक्षिक संस्थाका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण सरोकारवाला निकाय र पोखरेली जनसमुदायमा बधाइ ज्ञापन गर्दै प्राप्त अवसरको पर्याप्त सदुपयोगका गर्न सुझाव दिए।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विगतमा समेत सबै राजनीतिक दल, सामाजिक संघसंस्था, स्वास्थ्य क्षेत्रसँग सरोकार राख्ने विज्ञहरूलगायत सबैसँग सहकार्य गर्दै अगाडि बढेको स्मरण गर्दै प्रधानमन्त्रीले सहकार्यका आधारमा पोखरेलीको गौरवको यस परियोजनालाई पूर्णत सफल पार्नुपर्नेमा जोड दिए।

रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ फेरि स्थगित

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर गरिएको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ । यो रिटमाथि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको थियो ।  उक्त मुद्दा आज तेस्रो नम्बरमा पेशी रहेकोमा निवेदकको तर्फबाट आजको सुनुवाइ स्थगित गरिएको हो ।  न्यायाधीश पोखरेलले यसअघि लामिछानेका केही मुद्दामा कानुन व्यवसायीको रूपमा आफैले बहस गरेका थिए । उनले बुधवार सोही कुरा राखेर हेर्न नमिल्ने बारे जिज्ञासा राखेका पनि थिए । तर न्यायाधीशले भने आफू नियुक्ति अघिको विवाद नहेर्ने र नियुक्ति पछिको हेर्ने जवाफपछि सुनुवाई स्थगित गराइएको थियो । यसअघि बुधवार पनि पोखरेलकै इजलासमा पेशी तोकिएकोमा स्थगित गर्ने निवेदन दिएर हटाइएको थियो ।  सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले कुनै जिल्लामा अभियोग र अनुसन्धान नभएको भनी क्लिनचिटको अर्थ लगाउन मिल्ने पत्र दिएपछि त्यस विरुद्ध रिट दायर भएको हो । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको यो रिट सुरुमा दरपिठ भएको थियो । सर्वोच्च प्रशासनले दरपिठ गरे पछि भट्टराईले इजलासमा पुगेर दरपिठ बदर गराएका थिए । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले दर्ता गर्नु भनी आदेश गरेपछि जेठ १४ गते रिट दर्ता भएको थियो । रिटमा गृहमन्त्रीमाथि ठगीको आरोप लागेकाले निलम्बन गर्नुपर्ने माग समेत गरिएको छ ।

लगानी सम्मेलनलक्षित अध्यादेशको विरोधमा कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगानी सम्मेलन लक्षित ऐन संशोधनप्रति विरोध जनाएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले एक विज्ञप्ति जारी गर्दै अध्यादेशप्रति ‘घोर निन्दा र भर्त्सना’ गरेका हुन्‌ । सरकारले भोलि र पर्सी (वैशाख १६ र १७ गते) गर्न लागेको तेस्रो लगानी सम्मेलनअघि अध्यादेशमार्फत विभिन्न ९ वटा कानून संशोधन गरेको थियो । सरकारको सोही कदमलाई लिएर कांग्रेस सचेतक लेखकले विज्ञप्तिमार्फत विरोध जनाएका हुन्‌ । ‘संघीय संसदको गत अधिवेशनमा कानून निर्माण गर्ने पर्याप्त समय र अवसर हुँदाहुँदै सरकारले सहकारी पिडित लगायत देशमा विद्यमान तमाम समस्याहरु समाधान गर्नुको साटो अप्रत्यासित र असमयमा संघीय संसदको अधिवेशन अन्त्य गर्‍यो,’ लेखकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । लेखकद्वारा जारी विज्ञप्ति

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । विभिन्न जिल्लामा भएका दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।  कपिलवस्तुको शुद्धोधन गाउँपालिका ६ टिटिहिरियास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट मायादेवी गाउँपालिका ३ फुलिका बस्ने ७० वर्षीया बारैती बानियाको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।  बैतडीको डिलासैनी गाउँपालिका १ स्थित बसन्तपुर तुफानडाँडामा बर्मबाट सिमारतर्फ जाँदै गरेको सु.प.प्र०१००२ त ४६८६ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही गाउँपालिका १ बस्ने २५ वर्षीय नरेन्द्र प्रसाद भट्टको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहाको लहान नगरपालिका १८ बसाजोरमा अमहीबाट लहानतर्फ जाँदै गरेको स.१० प २०९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका १८ बस्ने १५ वर्षीय जितेन्द्र ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।  पर्साको जगरनाथपुर गाउँपालिका ४ हुलाकी सडकमा वीरगंजबाट ठोरीतर्फ जाँदै गरेको बिआर २२ क्यू३४४० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक भारत पश्चिम चम्पारण घर भएका २० वर्षीय सचिन थारूको मृत्यु भएको छ । आइतबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

महासचिवको नेतृत्वमा माओवादीको टोली चीन प्रस्थान्

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङको नेतृत्वको जम्बो टोली चीन प्रस्थान गरेको छ।  गुरुङको नेतृत्वमा अमृता थापा,परशुराम तामाङ, कमला रोका,अगष्तराज अधिकारी, विकास ढकाल,देवकी कार्की ,जगत बिएस, गीता गहतराज, ईश्वरचन्द्र ज्ञवाली, गायत्री गुरुङ, दिपेन्द्र रोकाया,गणेश शाही र देवेन्द्रकुमार यादव, कृष्णकुमार अधिकारी,ओमनाथ ढुंगाना,प्रतिक कार्की,प्रकाशचन्द्र पाण्डेय,राजन पौडेल,रोशन रिमाल,मणिकुमार साम्पाङ,रुपा महर्जन श्रेष्ठ र सावित्राकुमारी शर्मालगायतका नेताहरु चीन प्रस्थान गरेका हुन् ।  उनीहरु आज बिहान र दिउँसो दुई वटा उडानबाट २० मीनेटको अन्तरमा सिचुआन प्रान्तको छन्तु प्रस्थान गरेका छन् । सिचुआन एअरलाइन्सको उडान नम्बर ३ यु ३९०२ मा पौने १२ बजे १५ जना र १२ः०५ बजे एअर चाइनाको उडान नम्बर सिए ०४३८ मा नौ जना गएका हुन् ।    वैशाख १५ गतेसम्म माओवादी टोली चीनमा रहने छ।  उनीहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले निम्तो दिएको हो ।  

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताएका छन्। नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्त्वपूर्ण उपलब्धि भएको बताएका हुन्।  “सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता विस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्यूनता, भौगोलिक तथा जनसाङ्ख्यिक सन्निकटता र प्रादेशिक सन्तुलन कायम गर्नेगरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्नेछ,” प्रधानमन्त्री प्रचण्डले भने। सुरूङ निर्माणपश्चात् सुरूङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालन खर्च घटाउने विश्वास व्यक्त प्रधानमन्त्री प्रचण्डले ट्राफिक र सडक सुरक्षामा सुधार गरी सङ्घीय राजधानी काठमाडौँ र देशका अन्य प्रमुख शहरहरूबीचको सहज यातायात सञ्जालमा योगदान पुर्‍याउने बताए।  “यस सुरूङमार्गलाई आधार मान्दै नेपाली माटो सुहाउँदो सुरूङ सम्बन्धि दस्तावेज निर्माण हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसले नेपाललाई सुरूङ युगमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गर्नेछ ।” उनले आगामी योजनामा राष्ट्रिय राजमार्गहरूमा सुरूङमार्ग, फ्लाइओभर तथा अन्डरपाससहितको आधुनिक सडक सञ्जाल विस्तार तथा निर्माण गर्ने सरकारको नीति रहने बताए। नयाँ वर्षको सुरूआतसँगै नेपालकै पहिलो सुरूङमार्गको मुख्य सुरूङको ‘ब्रेक–थ्रु’ गर्ने ऐतिहासिक अवसर प्राप्त भएकोप्रति खुशी व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा क्षेत्रमा हुने गरेको ट्राफिक जाम, उकालो सडक, सडक सुरक्षाका हिसाबले कायम रहेको जोखिम साथै वर्षायाममा हुने पहिरोको उच्च जोखिम लगायतका समस्याहरू समाधान गर्न सुरुङमार्गको कल्पना गरिएको बताए।

सिंहदरबारअगाडिको सडक बन्द

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई मध्यनजर गरेर काठमाडौंको सिंहदरबारअगाडिको सडकमा आवतजावत बन्द गरिएको छ । मंगलबार दिउँसो उक्त सडक बन्द गरिएको हो । सो सडक भएर गुड्न लागेका सवारीसाधनलाई अन्यत्र पठाइएको छ । त्यहाँको बाटो बन्द गरिँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । राप्रपाले आज बृहत् प्रदर्शनको आयोजना गरेको छ । प्रदर्शनलाई मध्यनगर गरी ठूला संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।