महासचिव गुटेरेससँग सचिव लम्सालको भेट

न्युयोर्क । परराष्ट्रसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग मंगलबार भेट गरेकी छन्। भेटका अवसरमा नेपाल र राष्ट्रसंघको बीचमा सहकार्य, नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशमा जाने योजना, राष्ट्रसंघले नेपालको विकासमा खेलेको भूमिकालगायतका विषयमा छलफल भएको न्युयोर्कस्थित स्थायी नियोगले जनाएको छ।

भेटका अवसरमा जलवायु परिवर्तनलगायत बहुपक्षीय चासोका विषयमा छलफल भएको बताइएको छ। सचिव लम्सालले वरमुडामा आयोजित चौथो अन्तर्राष्ट्रिय विकासशील साना टापु राष्ट्रहरूको सम्मेलनमा नेपालको तर्फबाट भाग लिन यहाँ आएकी हुन्। 

सोही सम्मेलनको साइड लाइन बैठकमा सचिव लम्सालले महासचिव गुटेरेससँग शिष्टाचार भेट गरेकी हुन् । रासस

बझाङको मतगणनाका लागि ११ बजे सर्वदलीय बैठक

काठमाडौं । बझाङ प्रदेशसभा १ मा हिजो भएको उपनिर्वाचनको मत गणना आज सुरु गरिने भएको छ । मतगणना अघि बिहान ११ बजे सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।उनले सबै मतपेटिका बझाङ सदरमुकाम चैनपुरमा आइसकेकाले सर्वदलीय बैठक लगत्तै गणना सुरु गर्ने बताए । लामिछानेका अनुसार विकट क्षेत्र साइपाल गाउँपालिकाको धूली, काँडा र एराङकुरीडाँडाको मतपेटिका हेलिकोप्टरबाट आज बिहान ल्याएसँगै मतगणनाको तयारी गरिएको हो ।मतगणना सदुरमुकाम चैनपुरस्थित जिल्ला अदालतमा गरिने जनाइएको छ । हिजो भएको उपनिर्वाचनमा ६१ हजार ७ सय ४८ मतदाता मध्ये ३० हजार ३ सय २८ जनाले मतदान गरेका छन् । यो समग्रमा ४९ दशमलव १२ प्रतिशत हो। बझाङ प्रदेशसभा १ मा विभिन्न दलका ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ परेका छन् । पछिल्लो २४ घण्टामा छुट्टाछुट्टै स्थानबाट उनीहरु पक्राउ परेका हुन् ।  काठमाडौं महानगरपालिका २६ सामाखुसी बस्ने मुस्ताङ घरपझोङ गाउँपालिका २ घर भएका ६७ वर्षीय सानु पन्ना चनले संचालन गरेको खाजा घरमा जुवा (पारा) खेलिरहेको अवस्थामा चन समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेल्न प्रयोग गरेको नगद ८८ हजार रूपैयाँ , सिक्का ४६ थान, सेपर १ थान, लुडो ४ थान र सिमीको दाना सहित पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका ६ ऐठपुरस्थित लाल बहादुर सिंहको कालीका रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा भिमदत्त नगरपालिका १८ बस्ने ४५ वर्षीय आशिष कुमार खत्री समेत ११ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ३ सय २९ रूपैयाँ र १३१ पत्ती ताससहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका ८ ग्वार्कोस्थित सिन्धुपाल्चोक घर भएका ३५ वर्षीय बिषु तामाङको नन स्टप डान्स बारमा कौडा खेलिरहेको अवस्थामा तामाङ समेत १३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ३७ हजार ९ सय ६० रूपैयाँ र १९ पिस कौडासहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

म्याग्दीमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन घाइते

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् । शनिबार बिहान जलविद्युत् आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कबाट फर्कने क्रममा लु२ख ६११२ नम्बरको टिपर चिमखोलाको घैराबारीस्थित सडकबाट खसेर दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका व्यक्ति सवारीसाधन र निर्माण उपकरणको मर्मत गर्ने मिस्त्री (कामदार) भएको खुले पनि नाम र ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । टिपर दुर्घटनामा घाइते भएका चालकसहित तीनजनाको चिमखोला स्वास्थ्यचौकीमा प्रारम्भिक उपचार गरिएको छ । थप उपचारका निम्ति घाइतेलाई हेलिकोप्टरमार्फत पठाउने तयारी भइरहेको रघुगंगा–७ का वडाध्यक्ष थकबहादुर पाइजाले जानकारी दिए । दुर्घटनामा परेको टिपर तुन्दी पावर कम्पनी जलविद्युत् आयोजनाको ठेकेदार कम्पनी रामेछाप शेर्पा कन्स्ट्रक्सनमा निर्माण सामग्री ढुवानी गर्ने रहेको खुले पनि मृतक र घाइतेको पहिचान नखुलेको वडाध्यक्ष पाइजाले बताए । दुर्घटनामा परेका घाइतेको स्थानीय, प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरी चिमखोला स्वास्थ्यचौकीमा उपचारका निम्ति पुर्‍याएका हुन् । रासस

ग्रिन अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्छ  : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले बनाउने नीति तथा कार्यक्रममा ग्रिन अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताएका छन्।बुधबार काठमाडौंमा भएको हाइट्रोजन डाइलग कार्यक्रममा बोल्दै ऊर्जामन्त्री बस्नेतले सो कुरा बताएका हुन् । ऊर्जामन्त्री बस्नेतले नेपालमा ग्रिन अर्थतन्त्र र ग्रिन आर्थिक विकासको चर्चा गर्न ढिला भएको भन्दै अब ग्रिन अर्थतन्त्रका विषयमा बहस छलफल गरी नीतिगत रुपमा अघि बढ्नुको विकल्प नभएको बताए। उनले स्रोत उलब्धताको दृष्टिकोणबाट हेर्दा नेपाल सरकारले स्रोतलाई आर्थिक विकासको अभियानमा व्यवस्थित ढङ्गले सदुपयोग गरी आर्थिक विकास समृद्धिको सपना पूरा गर्न नसकेको उल्लेख गरे। ऊर्जामन्त्री बस्नेतले विश्व लागि ग्रिन अर्थतन्त्रमा गइसकेको बताए। उनले नेपालसँग भएका पेट्रोलियम पदार्थ लगायत जलस्रोतको प्रयोग भन्दा पनि आयातमा रमाइरहेको बताए । उनले आफूसँग भएका स्रोतको सहि ढङ्गले सदुपयोग गर्नसक्ने देशले आर्थिक समृद्धिको यात्रामा पाइला चाल्न नसक्ने दाबी गरे। मन्त्री बस्नेतले नेपाल ग्रिन अर्थतन्त्रमा जानको लागि नीतिगत रुपमा नै कार्यक्रमहरु बनाएर जान आवश्यक देखिएको बताए।

डोल्पा डढेलो अपडेट  : तीनै जना बालबालिकाको मृत्यु

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा लागेको डढेलोमा परेका तीन बालबालिकाको मृत्यु भएको छ । गत बिहीबार डढेलोमा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । आगलागीबाट घाइते दुईजनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको उनले बताए । उपचारको क्रममा १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौंमा आज निधन भएको प्रजिअ दाहालले बताए ।   आगलागीबाट घाइते १० वर्षीय सुलस बुढाको गत शुक्रबार जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको थियो । गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका तीनै बालबालिका आगलागीमा परेर गम्भीर घाइते भएका थिए ।  यसअघि डोल्पामै गत मंगलबार ठूलीभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा तीन सैनिकको मृत्यु भएको थियो । रासस

मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम २ को उम्मेदवार बन्न राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त भएका छन्। मिलनले रास्वपाबाट टिकट लिएपछि प्रेस सेन्टरले विज्ञप्ति निकालेर उनलाई बर्खास्त गरिएको जनाएको हो । मिलन रास्वपा प्रवेश गर्नुअघि माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समिति सदस्य र प्रेस सेन्टरका सचिव समेत रहेका थिए । माओवादीबाट राजीनामा नदिई उपचुनाव लड्न अर्कोतिर लागेपछि उनलाई बर्खास्त गरिएको प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले बताएका छन् ।  पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनबाट केन्द्रीय सचिवको जिम्मेवारीमा रहेका मिलन लिम्बूले संगठनको नीति, विधि, विधान र आचरणविपरीत केही समयदेखि सामाजिक सञ्जाल र मिडियामार्फत सार्वजनिक अभिव्यक्ति दिने तथा अनुशासनविपरीत गतिविधि गरिरहेको, पछिल्लो समय रास्वपाको तर्फबाट उम्मेदवार बनेको देखिएको छु, पौडेलले भनेका छन्, संगठनको नेतृत्वको सुझाव र निर्देशनसमेत बेवास्ता गरी चरम अवसरवादी प्रवृत्तिको प्रदर्शन गर्दै त्यस्ता हर्कत र गतिविधि जारी राखेकाले संगठनको अनुशासन समितिको सिफारिसमा आजकै मितिदेखि सबै जिम्मेवारीबाट हटाइएको जानकारी गराइन्छ।’ गत भदौ २५ गते राति नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको  निधन भएपछि इलाम २ रिक्त थियो ।  उपनिर्वाचनमा नेकपा एमालेबाट सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ उठेका छन् । प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले जारी गरेको विज्ञप्तिः 

गृहमन्त्री लामिछाने र इजरायलका राजदूत गोदरबिच भेट

काठमाडौं। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबिच भेटवार्ता भएको छ । भेटमा राजदूत गोदरले गृहमन्त्री नियुक्त भएकोमा लामिछानेलाई बधाई ज्ञापन गरेका छन् । सोमबार गृहमन्त्रालयमा भएको उक्त भेटमा नेपाली नागरिकको इजरायलमा हालको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति साथै विपिन जोशीको सुरक्षित नेपाल फर्काइ लगायतका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जानकारी दियो । गृहमन्त्रीले इजरायल र प्यालेस्टाइनबिचको द्वन्द्वको शान्तिपूर्ण समाधान होस् भन्ने कामना गरे। राजदूतले त्यहाँको अवस्थाको मूल्याङ्कनका आधारमा परिवारको पुनर्मिलन र भ्रमणका लागि सहजीकरण गरिने विषयमा छलफल गरी ठोस कदम चालिने बताए। त्यस्तै, राजदूतले विविन जोशीको अवस्थाबारे इजरायल सरकार पनि चिन्तित रहेको बताउँदै उनीसहित ज्यान गुमाउने १० जना नेपालीको परिवारलाई इजरायल सरकारले राहत स्वरूप भत्ता उपलब्ध गराउन थालेको जानकारी दिए। उनीहरूबिच कृषि, सूचना प्रविधि, रोजगारी सिर्जनालगायत क्षेत्रमा सहकार्य र नेपाल–इजरायलको सम्बन्ध विस्तार र सुदृढका लागि थप सहकार्यबारे पनि छलफल भएको थियो ।

अहङ्कार हटाएर विनम्र बन्न कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई अहङ्कार हटाएर विनम्र बन्न निर्देशन दिएका छन् ।  बुधबार एमाले काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता कार्यकर्तामा अहङ्कार बढेको आभास पाएको भन्दै अहङ्कार हटाएर विनम्रता हासिल गर्न निर्देशन दिएका हुन् ।  ‘अहङ्कार हटाउनुस् । विनम्रता हासिल गर्नुस्’, अध्यक्ष ओलीले कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘हरेक दिनको तपाईँसँग नोट हुनुपर्छ कि आज मैले के गरेँ ?, हरेक दिन के गर्दै हुनुहुन्छ योजना हुनुपर्छ । यति समयभित्र यी सदस्य र कमिटी बनाउँछु । योजनाबद्ध काम गर्नुभएन भने केही हुँदैन ।’ अध्यक्ष ओलीले कतिपय पार्टी कमिटीमा आफूले आलोपालो जस्ता कुरा सुनेको भन्दै त्यस्तो कुरा विचारहीन मान्छेले मात्रै गर्ने बताए । ‘अहिले मेरो, मेरोपछि तपाईँको पालो, धारामा पानी थाप्ने र दसैँमा चिनी किन्न लाइनमा बसेको होर आलोपालो ?’, ओलीले प्रश्न गर्दै भने, ‘नेतृत्व गर्ने कुरा योग्यता क्षमता, सक्रियता र बुझाइमा भर पर्छ ।’  अध्यक्ष ओलीले मानिस असफल हुँदै गएपछि फ्रस्टेसनमा जाने बताए । उनले भने, ‘एक जना आफूलाई कम्युनिस्ट भन्ने पुराना नेता छन् । मोहनविक्रम सिंह नाम हो उहाँको । अहिले उहाँ कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर छाती पिटीपिटी रोएर उधुम छ बुढाको ।’ सिंह अहिले पनि कांग्रेस आएको भए आफ्नी श्रीमतीलाई राष्ट्रिय सभामा मनोनीत गर्थ्यो भनेर सम्झिँदै ग्वाग्वा रोहिरहेको बताए । ‘त्यसरी पनि पतन हुँदो रहेछ मान्छे । निराश, हतोत्साही भएपछि मान्छे कहाँबाट के टिप्न पाइन्छ त्यतिभएपनि टिप्न पुग्छ’, ओलीले एमाले अवसर छोप्ने पार्टी नभएको दाबी समेत गरे ।

पोखरामा व्यावसायिक उडानका लागि पहल हुन्छ : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइसेवाहरूबाट व्यावसायिक उडानका लागि पहल गर्ने बताएका छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले व्यावसायिक उडानका लागि सम्बद्व पक्षसँग नेपाल सरकारले आवश्यक पहल तथा समन्वय गर्ने प्रतिबद्ध व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले भने, “प्रसिद्व धार्मिकस्थल मुक्तिनाथको प्रवेशद्वारको रूपमा रहेको पोखराको सांस्कृतिक तथा आर्थिक विकासका लागि कोरोला–त्रिवेणी नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल सरकारले थप पहल तथा समन्वय गर्नेछ ।” उनले गण्डकी प्रदेशको विकासमा दुरगामी महत्त्व राख्ने मध्यपहाडी लोकमार्ग सम्पन्न गर्न तथा पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा निर्माणाधीन सडक निर्माण कार्यलाई तिव्रता दिन आवश्यक समन्वय तथा अनुगमनलाई प्रभावकारी बनाउँदै लगिने बताए। “पर्यटनको राजधानी पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न हामी सबैले भूमिका खेलौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “आन्तरिक पर्यटन प्रवर्द्धनमा सरकार, निजी क्षेत्र र नागरिक समाजबीच बलियो एकता र सहकार्यका साथ अगाडि बढौँ ।” लक्ष्यअनुसार पर्यटक भित्राउन खेल्नुपर्ने विशिष्ट भूमिकाहरू पूर्ण निष्ठा र इमानदारिताका साथ पूरा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले त्यस कार्यका लागि सम्पूर्ण पोखरेली जनसमुदायमा अपील गरे।

संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा पेश

सरकारले सङ्घीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधि सभामा पेश गरेको छ ।

सुदूरपश्चिममा अल्पमतका मुख्यमन्त्रीले थपे ३ मन्त्री, रातारात शपथ

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफु अल्पमतमा रहँदा रहँदै सरकार विस्तार गरेका छन् । पुरानो गठबन्धनबाट मुख्यमन्त्री बनेका कांग्रेसका शाह माओवादी र नेकपा एसले समर्थन फिर्ता लिएसँगै अल्पमतमा रहेका छन् ।  नयाँ सत्ता समिकरण बने लगत्तै अल्पमतको मुख्यमन्त्री बनेका उनले आज नागरिक उन्मुक्ति पार्टीका तीनजनालाई मन्त्री नियुक्त गरे । संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र खुसीराम चौधरीलाई विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । वैकल्पिक गठबन्धन बनाउने ध्याउन्नमा लागेका उनले आफु अल्पमतमा रहेको समेत विर्सेर नाउपाबाट मन्त्री थपेर रातारात शपथ खुवाए । उनीहरूलाई प्रदेश प्रमुख देवराज जोशीबाट राति नै पद तथा गोपनीयताको शपथ गराएका हुन् । यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी थिए । उनलाई यथावत् राखिएको छ भने राज्यमन्त्री रहेका कैलाश चौधरीलाई फिर्ता बोलाएर उक्त स्थानमा नाउपाकै इन्दिरालाई नियुक्त गरिएको छ । माओवादी र नेकपा एसको समर्थनपश्चात मुख्यमन्त्री शाहको साथमा नागरिक उन्मुक्तिको पार्टीमात्रैको समर्थन हुँदा पनि बहुमत पुग्दैन । यहाँ स्वतन्त्र र राप्रपाका एक एक जना सांसद छन् । उनीहरु दुवैजना शाह नेतृत्वको सरकारमा सहभागी हुँदा मात्रै बहुमत पुग्ने अवस्था देखिन्छ ।५२ जना सांसद रहेको सुदूरपश्चिममा सरकारको बहुमतका लागि २७ जना चाहिन्छ । 

शेयर लगानीकर्ताको हित रक्षा गर्ने अर्थमन्त्री पुनको प्रतिबद्धता

काठमाडौं । नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले शेयर लगानीकर्ताहरुको हित रक्षा गर्ने प्रतिबद्धता जनाएका छन् ।आज शपथ ग्रहण पश्चात सिंदरबारमा पदभार ग्रहण गर्दै उनले सो कुरा बताएका हुन् । शेयर बजारमा ६० लाख भन्दा बढि जनताको लगानी रहेको उल्लेख गर्दै यस क्षेत्रको अन्योलता चिरेर काम गर्ने बताए । मन्त्री पुनले शेयर बजारमा ६० लाख जनताको लगानी रहेको शेयर बजारमा चलखेल हुन नदिने बताउँदै शेयर बजारमा तलमाथि गर्ने जस्तो प्रवृत्तिहरु निरुत्साहित गरिने उनले बताए । मन्त्री पुनले लगानीकर्ताको मनोबल उच्च बनाएर काम गर्ने वातावरण बनाउने समेत बताए ।   

नामिबियासँग नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नामिबियासँग नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा भएको देलमा नामिबियाले नेपाललाई २ विकेटले हराएको हो । नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।

जाँचबुझ आयोगले बुझायो बालकुमारी घटनाको प्रतिवेदन

काठमाडौं। बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शुक्रबार प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले सत्यतथ्य जाँचबुझ गरी मिहिनेतपूर्वक निकालेको निष्कर्षलाई कार्वान्यवन गरिने बताए । पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी, अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।  उक्त घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिस सहितको प्रतिवेदन पेस गर्नेगरी नेपाल सरकार ‘मन्त्रिपरिषद्’ले पुस १६ मा जाँचबुझ आयोग बनाएको थियो।  उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अरुण कुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको आयोगले पुस २० देखि काम सुरु गरेर १५ दिन समय थप गरी ४४ दिनमा प्रतिवेदन बुझाएको हो। आयोगका अध्यक्ष पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा आयोगले घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य मानिस सहित १६ जनाको बयान कागज गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवम् अन्य समेत गरी २९ जनाको बयान गरेको जनाइएको छ। 

राष्ट्रिय सभा अध्यक्ष दाहाल र भारतीय लोकसभा अध्यक्ष बिरलाबीच भेटवार्ता

जेनेभा। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र भारतीय संसद लोकसभाका अध्यक्ष ओम बिरलाबिच शिष्टाचार भेटवार्ता भएको छ।  अन्तर(व्यवस्थापिका संघको १४९ औं महासभामा सहभागी हुन जेनेभामा रहनुभएका अध्यक्ष दाहाल र लोकसभा अध्यक्ष बिरलाबीच द्विपक्षीय भेटवार्ता भएको हो। सो अवसरमा दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य, अनुभव आदान प्रदान तथा आपसी हितका बारेमा छलफल भएको थियो। भेटमा राष्ट्रिय सभा अध्यक्ष दाहालले नेपाल(भारत दुई देशबीच कूटनीतिक(राजनीतिक तहमा मात्रै नभई जनस्तरमा गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै जनताबीचको भावनात्मक सम्बन्धले दुई देशको सम्बन्धलाई अझ बलियो बनाएको बताउनु भयो। “नेपाल(भारत असल छिमेकीका रुपमा ऐतिहासिक सम्बन्ध त छँदैछ, अध्यक्ष दाहालले भन्नुभयो, “जनस्तरको गहिरो भावनात्मक सम्बन्धले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाएको छ।” संघीय संसदले विगतदेखि नै नेपाल(भारत संसदीय मैत्री समूह गठन गरिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले दुई देशका संसदहरू बीचको पारस्परिक सहयोग, अभ्यास र अनुभव आदान प्रदानका लागि भेटघाट र भ्रमणलाई जोड दिनुपर्ने बताउनु भयो। एक अर्काका संसदीय अभ्यास र अनुभव आदान प्रदानले लोकतान्त्रिक मूल्यमान्यतालाई सुदृढ गर्न र सम्बन्ध थप सुदृढ गर्न मद्दत पुग्ने अध्यक्ष दाहालले बताउनु भयो। सो अवसरमा भारतीय लोकसभाका अध्यक्ष बिरलाले भारत र नेपाल छिमेकी मात्रै नभई ऐतिहासिक सम्बन्ध र संस्कृतिका संरक्षक भएको बताउनु भयो। दुई देशका सामाजिक, सांस्कृतिक सम्बन्ध परापूर्वकालदेखि नै घनिष्ट रहेको भन्दै उहाँले कूटनीतिक सम्बन्ध स्थापित हुनुपूर्व नै दुई देशका जनताबीच बलियो सम्बन्ध रहेको बताउनु भयो। अध्यक्ष दाहालको सचिवालयका अनुसार भारतीय संसदका विविध आयाम र पक्षहरुको चर्चा गर्दै अध्यक्ष बिरलाले दुवै देशका संसदीय प्रक्रिया र अभ्यास उस्ताउस्तै भएकोले संसदीय अनुभव पनि एकै खालको भएको बताउनु भयो। भौगोलिक हिसाबले पनि नजिक भएकाले आवश्यकता अनुसार जतिबेला पनि भेटघाट, भ्रमण आदान प्रदान गर्न सकिने भन्दै उहाँले दुई देशका संसदीय भ्रमण र सहकार्य वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। भेटमा दुवै देशका प्रतिनिधिमण्डलमा सहभागी सांसद तथा प्रतिनिधिहरुको सहभागिता रहेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।