डढेलो निभाउने क्रममा सेनाका चारजना गम्भीर घाइते

काठमाडौं । डोल्पाको दुनही सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा सोमबार चार सुरक्षाकर्मी घाइते भएका छन् ।

डढेलो निभाउन गएका सेनाका चारजना घाइते भएको डोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिकृष्ण केसीले जानकारी दिए । उनीहरू गम्भीर घाइते छन् ।

घाइतेहरूको उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको केसीले बताए । डढेलो निभाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तीन वटै सुरक्षा निकाय खटिएका छन् । 

नेपाल र हङकङले खेल्दैछन् मैत्रीपूर्ण क्रिकेट

काठमाडौं । नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।     नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदै छ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।   त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल फागुन २७ गते  हङकङसँग खेल्ने छ । यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुनेछ ।  नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् ।  आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघले जनाएको छ । रासस

बझाङमा कैदीलार्इ ब्ल्याङ्केट र कार्पेट सहयोग

बझाङ, मंसिर २० । बझाङमा प्रहरी कार्यलयका थुनुवाका लागि १० हजार बराबरको ब्ल्याङ्केट र कार्पेट सहयोग गरिएको छ । स्थानीय समाजसेवी जीवनबहादुर सिंहले २ वटा ब्ल्याङ्केट र एउटा कार्पेट गरी १० हजारको सामान प्रहरी कारागारमा थुनिएका कैदीका लागि सहयोग गरेको प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले बताए । थुनुवाका लागि बिच्छ्याउने र ओड्ने केही नभएका कारण आफूले सामान्य सहयोग गरेको सिंहले बताए । थुनुवाका लागि थप सहयोग गर्न चन्दा संकलनमा जुटेको सिंहले बताए । जिल्ला प्रहरी कार्यलयमका थुनुवा खाली कोठामा बिछ्याउने र ओड्नेबिना रात बिताउँदै आएका थिए ।

पृथ्वीराजमार्गमा पहिरो, दुईतर्फी सडक अवरुद्ध

काठमाडौं ।पृथ्वीराजमार्गमा पहिरो गएको छ। राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३, फिस्लिङमा सोमबार बिहान लेदोसहितको पहिरो खसेको हो। एक्साभेटरको सहायताले पहिरो पन्छाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। बिहान ५ बजे खसेको पहिरोका कारण  मुग्लिन–काठमाडौं सडक दुईतर्फी अवरुद्ध बनेको छ।

प्रधानमन्त्री ओलीसँगको पहिलो प्रत्यक्ष प्रश्नोत्तर आज

काठमाडौं ।आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको पहिलो प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदै छ।प्रश्नोत्तर कार्यक्रमका लागि आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ। प्रतिनिधिसभा निमयावली बमोजिम उक्त कार्यक्रम तय भएको हो। नियमवालीमा प्रत्येक महिना प्रश्नोत्तरको कार्यक्रम हुने उल्लेख छ। आजको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले राष्ट्रियसभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ।

प्रधानमन्त्री ओलीले विश्वासघाती राजनीति गर्नुभयो : माधवकुमार नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासघाती राजनीति गरेको आरोप लगाएका छन्। प्रतिनिधि सभा बैठकमा आइतबार प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विगतमा ओलीले स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भनेर आश्वासन दिएपनि बिचबाटोबाटै छाडेर अर्को बाटो लागेको भन्दै नेपालले कटाक्ष गरे। अध्यक्ष नेपालले भने, ‘पाँच वर्ष सँगै जाने, स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भन्ने सुन्दै आनन्द लाग्ने कुरा थियो। तर आफू स्वगतिर गयो, अर्कोलाई लात्ती हिर्काएर नर्कतिर र्पुयायो ।’ ओलीले विगतका घटनामा आत्मसमीक्षा गर्नुपर्ने बताउँदै नेपालले तिनमा आत्मालोचना गर्नसमेत सुझाव दिए। नेपालले ओलीको विगत सम्झाउँदै २०७८ असार २८ को बर्हिगमन सम्झिन भनेका छन्। ‘ओली जी तपाई हुन दिन सत्ताबाट आउट हुनुभएको थियो । त्यही दिन दिन इन हुनु भएको छ। बोलेको कुरा पुरा गर्नुभएन । जनता उत्साहित छैनन्। विगतबारे समीक्षा गर्न सामान्य अनुरोध गर्छु । नेतामा विश्वसनीयता र इमानदारता हुनुपर्छ। अहिलेसम्मको अनुभवबाट तपाईँले कस्तो शिक्षा लिनुभएको छ’, उनले भने।

माफियाहरूको सरकारमा ओलीको नेतृत्व : दुर्गा प्रसाईं

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार माफियाहरूको भएको दाबी गरेका छन् ।  मंगलबार झापामा पत्रकार सम्मेलन गर्दै प्रसाईंले ओली प्रधानमन्त्री हुनेवित्तिकै देशका ठुला ठुला व्यापारीहरू बालुवाटार पुगेको दाबी गर्दै अव देश माफियाहरूको हातबाट फुत्काउनुपर्ने बताए । उनले केपीकाल राणाकाल भन्दा खतरा भएको भन्दै दुर्गा प्रसाईलाई छोएर देखाउन चेतावनी दिए। ‘पानीको लौरो टेकेर दुर्गा प्रसाईंलाई तर्साउनले ? खबरदार हजुरबा दुर्गा प्रसाईंलाई पक्रेर देखाउनु’, प्रसाईंले भने, ‘पक्रने त के छुने आँट गर पहिला ।’ उनले आफूले कसैलाई बलात्कार नगरेको र राज्यको ढुकुटी नलुटेको भन्दै तिर्नुपर्ने राजश्व तिरेको दाबी गरे ।  ‘राजश्व तिरेको छैन भने हतकडी लगाऊ’ प्रधानमन्त्रीलाई चुनौती दिँदै ओली नेतृत्वको सरकारलाई विदेशीले तीन वटा टाक्स दिएको बताए । ‘इन्डियाले संविधान संशोधन गर भनेको छ । त्यसो गर्दा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोक्नु भनेको छ । त्यो किनभने ४५ लाख भारतीयलाई राष्ट्रिय परिचयपत्र दिनुपर्ने । अनि राष्ट्रिय परिचय पत्रको सिस्टम नै भारतलाई सुम्पनुपर्ने रे १’ उनले भने, ‘खबरदार केपी ओली सरकार यो संविधान नछोऊ ।’

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक मध्याह्न सवा १२ बजेबाट सुरु हुनेछ ।  बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत  वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालयका विनियोजित शिर्षकहरूमध्ये छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजित शिर्षकहरूमा छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र परराष्ट्र मन्त्रालयका विनियोजित शिर्षकहरूमा छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।     

समाजवादी शब्द जति प्रिय लाग्छ उतिकै डर पनि लाग्छ : सीके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नेकपा एकीकृत समाजवादी पार्टीको नाम प्रिय र पवित्र लाग्ने बताएका छन्। साथै उनले यो शब्दप्रति उत्तिकै डर पनि लाग्ने बताएका छन् । नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनमा शुभकामना व्यक्त गर्दै उनले नेकपा एकीकृत समाजवादी नामअनुसार शब्द थेग्न सक्छ या सक्दैन भनेर डर लाग्ने गरेको बताएका हुन् ।  उनले समाजवादी पार्टीहरूले भन्ने एउटा र गर्ने अर्कै भएको भन्दै त्यस्तो अवस्थामा ती शब्दहरूको अर्थ के हुने भनेर आफैलाई समेत प्रश्न गरे।    ‘तपाईहरुलाई अनौठो लाग्ला तर मलाई तपाईहरुको पार्टीको मन पर्छ। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी। कम्युनिस्ट शब्द पनि धेरै प्रिय र पवित्र लाग्छ । समाजवादी शब्द पनि उतिकै प्रिय लाग्छ’, उनले भने, ‘जति पवित्र र ठुलो लाग्छ त्यति नै डर पनि लाग्छ।’ उनले पुँजीवादी क्रान्तिविना समाजवादी चरणमा प्रवेश गर्न सकिन्छ भनेर प्रश्न समेत गरे ।

माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ । बैठक बिहान साढे १० बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक, २०८१ पास गर्ने तयारी रहेकाले सोही विषयमा छलफलका लागि दलको बैठक बस्न लागेको हो । माओवादीले बजेटको पक्षमा मतदान गर्न पार्टीका सांसदहरुलाई ह्वीप लगाउने तयारी स्वरुप बैठक बोलाएको हो ।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच सोमबार भेटवार्ता भएको छ । जर्मनीको वर्लिनस्थित राष्ट्रपति भवनमा भएको भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ। सोसलिस्ट इन्टरनेशनल तथा प्रोग्रेसिभ एलायन्स जस्ता संस्थाहरु सामाजिक न्याय, मानव अधिकार, लोकतन्त्र, कानुनी राज्य तथा स्वतन्त्रतालगायतका लागि विश्वस्तरमा अझ क्रियाशील रहनुपर्ने धारणा राष्ट्रपति पौडेलले राखे । उनले नेपालको शान्ति प्रक्रियामा जर्मनीबाट प्राप्त सहयोगको लागि धन्यवाद दिँदै नेपालको विकासको पथमा मित्र राष्ट्र जर्मनीको निरन्तर साथ र सहयोग रहनेमा विश्वस्त रहेको बताएका राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले  बताए । हालैका वर्षहरुमा जर्मनी नेपाली युवाहरुको लागि उच्च शिक्षा अध्ययन, सीपयुक्त काम र सीपजन्य तालिमको लागि एक आकर्षक गन्तव्यको रुपमा स्थापित भएको तथा नेपाल र जर्मनीबीच सीपयुक्त श्रम आप्रवासन र ज्ञान आदानप्रदानका क्षेत्रमा गत वर्ष एक सम्झौतामा हस्ताक्षर सम्पन्न भएकले यसको कार्यान्वयनबाट जनस्तरको सम्बन्ध अझ मजबुत हुने राष्ट्रपति पौडेलले बताए । जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टरले जर्मनी नेपालको आर्थिक विकासको लागि हरतरहको सहयोग गर्न तत्पर रहेको बताएका उनको भनाइ उद्यृत गर्दै राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।

आजदेखि पशुपतिनाथका चारवटै ढोका खुला

काठमाडौं । आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको छ । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ मन्दिरका चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनले भने, ‘यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान साढे ८ बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिने गरिएकामा आजदेखि चारवटै ढोका बिहान ४ बजे नै खोलिएको हो ।’ चारवटै ढोका खोलिएपछि अहिले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनहरुको कोरक्षेत्रमा लाइन बढेको र दर्शन गर्न पनि सहज भएको प्रवक्ता अधिकारीको भनाइ छ । अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान साढे ९ बजेदेखि साढे ११ बजेसम्म खुला गरिँदै आएको थियो । यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।

पेट्रोलियम पदार्थ अन्वेषणको काम जारी

दैलेख। दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौं कामदार एवं प्राविधिक जुटेका छन् । उत्खननका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ ।  ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए ।  कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागु गरेर काम भइरहेको जानकारी दिँदै उनले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार दुई अर्ब ५० करोड रुपैयाँ अनुदानमा अन्वेषण थालिएको हो ।  

सूचना अधिकारी तोक्न सामुदायिक विद्यालयलाई काठमाडौं महानगरको निर्देशन

काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न आग्रह निर्देशन दिएको छ । महानगरपालिकाको सञ्चार तथा सूचना ऐन, २०८० बमोजिम कामपाले यही जेठ १४ गतेभित्र सूचना अधिकारी तोकेर महानगरपालकालाई जानकारी गराउन निर्देशन पनि दिएको छ । महानगरपालिकाको शिक्षा विभागप्रमुख गोविन्दप्रसाद शर्माका अनुसार कामपाले यसअघि पनि शैक्षिक सङ्घसंस्थालाई सूचना अधिकारी तोकेर विभागका पठाउन आग्रह गरेको तर कामपाको आग्रहअनुसार केही विद्यालयले मात्र सूचना अधिकारी तोकेको जानकारी प्राप्त भएकाले पुनः निर्देशन दिइएको हो । सूचना अधिकारी तोक्दा संस्थाको दोस्रो जिम्मेवारीमा रहेको व्यक्ति हुनुपर्नेछ । हाल महानगरपालिकामा ८७ सामुदायिक विद्यालय सञ्चालनमा छन्भने छ सय संस्थागत विद्यालय छन् । यसअघि महानगरपालिका क्षेत्रमा सञ्चालित सहकारीहरूले सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराएका छन् ।

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको प्रतिनिधिको थलो संसद् अब बन्धक बन्न नसक्ने स्पष्ट पारेका छन् । शनिबार काठमाडौंमा नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा उद्घाटन गर्दै उनले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रूपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने बताए । सहज रूपमा सदन सञ्चालनका निम्ति सबैको साथ आवश्यक रहेको उनले उल्लेख गरे । अहिलेको अवस्थामा संसद् अवरोध भए अध्यादेशबाट निर्णय लिनुपर्ने अवस्था आउने भएकाले त्यसलाई हेक्का राख्न उनले आग्रह गरे । उनले सरकारको नीति तथा कार्यक्रम र बजेटका साथै महत्त्वपूर्ण विधेयकहरू पारित गर्नुपर्ने दायित्व भएको चालु अधिवेशन निर्बाध रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिए । समानुपातिक प्रणालीका कारण कुनै पनि दलको बहुमत आउन नसक्ने अवस्था संघमा देखिएको र त्यसको असर प्रदेशमा देखिएको उनले बताए । यस्तो अवस्थामा संघीयतामाथि नै प्रश्न उठाइन थालेको उनको भनाइ छ ।

शिक्षा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे समितिको हलमा बस्ने जनाइएको छ । बैठकमा युवा तथा खेलकुद मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग विविध विषयमा छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।