एसईईको पूरक परीक्षा आजदेखि

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ ।

परीक्षामा २ लाख ८ हजार ९०३ जना सहभागी हुँदैछन् । यही साउन ३१ गतेसम्म चल्ने परीक्षाका लागि ५५० केन्द्र तोकिएका छन्।

सरकारले यस वर्ष दुई वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) भएका विद्यार्थीलाई पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ।

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किएका छन् । राष्ट्रपति बुधबार बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै स्वदेश आइपुगेका हुन् ।  राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ लगायतको उपस्थिति रहेको थिय।  राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते काठमाडौंबाट प्रस्थान गरेका थिए। राष्ट्रपतिमा निर्वाचित भएपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो। 

पहिरोमा पुरिएर अरूण तेस्रो जलविद्युतका एक मजदुरको मृत्यु, दुई जना घाइते

सङ्खुवासभा । सङ्खुवासभाको  चिचिला गाउँपालिका वडा नम्बर ३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मंगरबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको छ। पुरिएर मकवानपुरका उमेश  कार्की र गोविन्द थारू घाइते  भएका प्रहरीले जनाएको छ।उनीहरू निदाएका बेला पहिरो खसेको हो।

गणतन्त्रका लाभ जनतामा पुर्‍याउन दृढतापूर्वक लागेका छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  सरकार गणतन्त्रका लाभहरूलाई आम नागरिकमा पुर्‍याउन दृढतापूर्वक प्रयास गरिरहेको बताएका छन् ।गणतन्त्र दिवसको अवसरमा आज मङ्गलबार देश विदेशमा रहेका समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइमा शुभकामना दिदै प्रधानमन्त्री प्रचण्डले सो दृढता व्यक्त गरे।  प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्, ‘‘नेपाली जनताको बलिदानीपूर्ण आन्दोलनको जगमा संविधान सभाले २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय गरेको दिन गणतन्त्र दिवसको अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक बधाइसहित शुभकामना व्यक्त गर्दछु।’’ उनले सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका लागि विभिन्‍न समयमा भएका राजनीतिक आन्दोलनहरू, जनयुद्ध, २०६२–६३ को ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलनसहितका आन्दोलन तथा सङ्‍घर्षका महान् शहीदहरूको स्मरण गर्दै उनहरूप्रति भावपूर्ण श्रद्धाञ्‍जली अर्पण गरेका छन्।  साथै उनले गणतन्त्र प्राप्‍तिको आन्दोलनका घाइते तथा अपाङ्गहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता दिदीबहिनी दाजुभाइहरूप्रति उच्च सम्मान पनि प्रकट गरेका छन्।  ‘‘गणतन्त्रको उपलब्धिका रूपमा जनताका प्रतिनिधिले संविधानसभाबाट निर्माण गरेको नेपालको संविधानबमोजिम सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा छ। यस व्यवस्थाले नेपालको संविधानबमोजिम समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्‍ट्र निर्माणका लागि दिशानिर्देश गरेको छ।’’ प्रधानमन्त्रीको शुभकामनामा उल्लेख छ । प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘‘नेपालको संविधानले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गरेको छ। त्यसैअनुरूप सरकारले नीतिगत, कानुनी तथा संरचनागत व्यवस्थामा समयानुकूल परिमार्जन गरी आफ्नो कार्यसम्पादन गरिरहेको छ।’’ गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत हो भन्दै प्रधानमन्त्रीले हामीमा गणतान्त्रिक जीवनशैली विकास भएको छ र नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको बताए ।  शुभकामनामा प्रधानमन्त्रीले भने, ‘‘वास्तविक रूपमा गणतन्त्र अरुका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग गर्ने जीवन पद्धति पनि हो।अझ, त्यसभन्दा माथि सङ्‍घीय लोकतान्त्रिक गणतन्त्र स्थानीय स्वायत्तता र आधारभूत विषयहरूमा स्वनिर्णयको अधिकार समेत हो। तसर्थ, यसका लाभहरूलाई आम नागरिकमा पुर्‍याउन सरकारले दृढतापूर्वक प्रयास गरिरहेको छ।’’ ‘‘गणतन्त्र दिवसले हामीहरूलाई शहीदहरूले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न प्रेरित गरोस् भन्‍ने कामनाका साथ पुनः एकपटक गणतन्त्र दिवसको यस उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु, प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमा उल्लेख छ । 

काँग्रेस सत्ता समीकरण भत्काउने चलखेलमा छ : महासचिव पोखरेल

काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले काँग्रेस वर्तमान सत्ता समीकरण भत्काउने चलखेलमा लागेको आरोप लगाएका छन्। आइतबार झापामा दोस्रो विर्तामोड नगर अधिवेशन उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।  उनले मुलुकमा अहिले अस्थिरता रहेको बताए। उनले राजनीतिक अन्योलको अवस्थामा मुलुक रहेको बताए। महासचिव पोखरेलले नेपाली काँग्रेसले संसदमा अवरोध सिर्जना गर्ने दुष्प्रयत्नबाट अस्थिरता सिर्जना गरी सरकारमा सहभागी हुने चलखेलमा लागेको बताए। उनले आफू सरकारमा पुग्नका लागि काँग्रेस संसदलाई बन्धक बनाउन लागि परेको जिकिर गरे। संसदको अवरोध नेपालको विकास र समृद्धिका लागि बाधक भएको बताए। महासचिव पाखरेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै राजनीतिक स्थायित्व प्रदान गर्ने सामथ्र्य नेकपा (एमाले)ले जुटाउन नसकेको बताए।  उनले मिसन ०८४ मा नेकपा एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्तिका रुमपा स्थापित गर्नुपर्ने बताए। अरुको सहारा बिना नेकपा(एमाले)को नेतृत्वमा स्थिर सरकार बनाउन आवश्यक रहेको बताए। 

प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थामा जाऔँ : सीके राउत

कास्की । जनमत पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सांसद डा.सीके राउतले राजनीतिक स्थायित्वका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरिनुपर्ने बताएका छन्। मधेस–कास्की सम्पर्क समाज पोखराको प्रथम अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले समाजवादउन्मुख भनेर संविधानमा व्यवस्था गरिए पनि राजनीतिक प्रणालीका कारण स्थायित्व कायम हुन नसकेको बताए। “वर्तमान संवैधानिक व्यवस्थाबाट मुलुकले राजनीतिक स्थिरता पाउने देखिँदैन। स्थायी सरकारका लागि प्रधानमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री र न्यायालयसम्म प्रत्यक्ष निर्वाचित नेतृत्वको व्यवस्था हुनुपर्छ, तब स्थायित्व र परिवर्तनको अनुभूति गराउने गरी विकास गर्न सकिएला,” उनले भने। अध्यक्ष डा.राउतले राजनीतिक अस्थिरताकै कारण नेपालमा विदेशी लगानी भित्रन नसकेको र वैदेशिक लगानीबिना ठूला आयोजना विकास गर्न नेपालको स्रोतले भ्याउने अवस्था नभएको बताए। उनले समाजवादी प्रणालीबाट मात्र देशलाई निकास दिन नसकिने निष्कर्षसहित आफ्नो पार्टीले नौलो गणतन्त्रका रूपमा सामाजिक लोकतन्त्रको विषय उठाएको उल्लेख गरे । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तेजकुमारी पौडेलले माओवादी आन्दोलनबाट स्थापित व्यवस्थाले जातीय तथा लैंगिक विभेद न्यूनीकरण भएको जिकिर गरिन् । उनले अब हरेक नेपालीलाई समान अधिकार दिने गरी पार्टी अगाडि बढेको बताइन् । नेपाली कांग्रेस कास्कीका नेता बाबुराम गिरीले देशमा देखिएको आर्थिक संकटलाई समाधान र नेपालको युवा जनशक्तिलाई नेपालमा नै परिचालन गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए। रासस

सदनमा कांग्रेसको अवरोध

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ। निर्धारित समयभन्दा दुई घण्टापछि बसेको बैठकमा कांग्रेसले अवरोध गरेको हो ।  बिहान ११ बजेका लागि तय भएको बैठक सूचना टाँस गरी अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको थियो । बैठक दुई घण्टापछि मात्रै बसेको हो ।  सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने माग कांग्रेसको छ । सत्तापक्ष लामिछानेलाई बोल्न दिएपछि मात्रै समिति बनाउने पक्षमा देखिएको छ । कांग्रेसका सांसदहरूले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग राख्दै सदनमा नाराबाजी गरेका छन् ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङको शपथ आज

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन्।सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिने  छन्। गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम २ बाट २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका थिए।

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक सेवा सुरु

काठमाडौं। राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिकरुपमा आजबाट सेवा सुरु गरेको छ । आज काठमाडौंमा आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रिता पोखरेलले आजबाट औपचारिकरुपमा सेवा सुरु भएको जानकारी दिए।  “हामीले केही वर्ष परीक्षणका लागि सेवा सुरु गरेका थियौँ, केही कानुनी प्रक्रिया पूरा गरी आजदेखि औपचारिकरुपमा सेवा सुरु गरेका छौँ”, उनले भने । उनले केही समयपछि चालक र यात्रुको बिमा पनि गरिने बताए। राइडरहरुले सेवा उपयोग गरे बापत कम्पनीलाई १० प्रतिशत सेवा शुल्क बुझाउनुपर्नेसमेत जानकारी दिए।  कम्पनीले आजै भुक्तानी सेवा प्रदायक आईएमई पेसँग सहकार्य गर्ने घोषणा गरेको छ । इन्ड्राइभले हाल यो सेवा काठमाडौँ, पोखरा, भरतपुर उपलब्ध हुने र आगामी दिनमा अन्य सहरमा पनि सेवा बिस्तार गर्दै जाने कम्पनीको भनाइ छ । कम्पनीले राइड सेयरिङबाहेक, कुरियर, कार्गो सेवा पनि उपलब्ध गराउने निर्देशक पोखरेलको भनाइ छ । इन्ड्राइभ एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले इन्ड्राइभको सेवा आधिकारिकरुपमा नेपालमा सुरु गर्न पाउँदा हर्षित रहेको बताए । उनले भने, “हाम्रो लागि नेपाली बजार अत्यन्तै महत्त्वपूर्ण छ र हाम्रा सेवाहरूले रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।” रासस

नयाँ दल दर्ताको निवेदन अवैधानिक भएको जसपाको जिकिर

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टी विभाजनका लागि दिइएको निवेदनलाई अवैधानिक भनेको छ । आइतबार अशोक राईको समूह जसपा विभाजन र नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेको थियो । आज, सोमबार जसपा प्रवक्ता मनीषकुमार सुमनले विज्ञप्ति जारी गर्दै अवैधानिक निवेदनका आधारमा दल विभाजन नहुने जिकिर गरेका हुन् । ‘संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै प्रतिबद्ध रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा केही विभाजित मनस्थितिका व्यक्ति निर्वाचन आयोगमा गई अवैधानिक निवेदन दिएका आधारमा दल विभाजन हुने अवस्था नरहेको अनुरोध छ ।’

महासंघको २७औं महाधिवेशन : काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न

काठमाडौं ।नेपाल पत्रकार महासंघको २७औं महाधिवेशन सम्पन्न भएको छ । काठमाडौंमा आयोजना गरिएको नेपाल पत्रकार महासंघको २७औं महाधिवेशले काठमाडौं घोषणापत्र जारी गरिएको छ । 'नेपाल पत्रकार महासंघको २७औं महाधिवेशन संविधानको पूर्ण कार्यान्वयन, पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पत्रकारिताको संस्थागत विकास र समृद्धिका लागि तपसिल बमोजिमको घोषणापत्र जारी गर्दछ', महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ । १.प्रकाशित समाचार सामग्रीको सन्दर्भमा सम्मानित सर्वोच्च अदालतद्वारा पछिल्ला ेपटक भएको आदेशप्रति यस महाधिवेशनको गम्भीर ध्यानाकर्षण भएको छ । अदालतले प्रकाशित समाचार सामग्री हटाउन लगाउने, पुनः प्रकाशन÷प्रसारणमा समेत बन्देज गर्ने तथा समाचारको विषयलाई फौजदारी अपराधका रुपमा मुद्दा चलाउने निर्णय गर्नु संविधानविपरीत रहेको ठहर गर्दै यो महाधिवेशन संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासँग जोडदार माग गर्दछ । २. आगामी २०८१ जेठ २६ गते नेपाल पत्रकार महासंघको निर्वाचन गर्ने घोषणा गर्दछ । त्यसका लागि सम्पूर्ण तयारीका लागि महासंघलाई निर्देश गर्दछ । साथै, सदस्यता शुद्धीकरणसम्बन्धी सबै विषय महासंघको विधान र शुद्धीकरण मापदण्ड २०७९ अनुसार बैशाख महिनाभित्रै टुंगो लगाई सार्वजनिक गर्न यो महाधिवेशन नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई निर्देश गर्दछ । ३. नेपाल पत्रकार महासंघलाई आफ्ना गतिविधि, कार्यक्रम, पुरस्कार तथा सम्मानजस्ता विषयमा निर्णय गर्दा समावेशी, समानुपातिक, वर्ग, क्षेत्र, लिंग, भाषाभाषी, धर्म, संस्कृतिको आत्मसम्मान र प्रतिनिधित्व रहने गरी कार्यविधि र स्पष्ट मापदण्डका आधारमा मात्र गर्न र महासंघको साझा चरित्रलाई व्यवहारमा कार्यान्वयन गर्न यो महाधिवेशन निर्देश गर्दछ । ४. कानुन निर्माणका क्रममा रहेका मिडियासम्बन्धी विभिन्न विधेयकहरुलाई पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता हुनेगरी मिडियामैत्री बनाउन यो महाधिवेशन तीनै तहका सरकारसँग जोडदार माग गर्दछ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कुनै पनिनीति तथा क्रियाकलाप नगर्न माग गर्दछ ।   ५. नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको विषयमा हाल उत्पन्न विवादलाई दृष्टिगत गरी उक्त विषयमा त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभाग तथा इतिहास विभागसँगको समन्वयमा अध्ययन÷अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुग्न यो महाधिवेशन महासंघलाई निर्देश गर्दछ । ६. सरकारले प्रदान गर्ने लोककल्याणकारी विज्ञापनको रकम दोब्बर बृद्धि गर्न र श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरी पूर्णरुपमा कार्यान्वयन गर्न यो महाधिवेशन सरकारसँग जोडदार माग गर्दछ । ७. प्रेस काउन्सिल नेपालद्वारा पछिल्लो दिनमा क्षेत्राधिकारविपरीत सञ्चारमाध्यमलाई समाचार सामग्री हटाउन निर्देशन दिएको विषयप्रति यो महाधिवेशन खेद प्रकट गर्दै काउन्सिललाई संविधान र विद्यमान कानुनको परिपालना गर्न सचेत गराउँदछ । ८. श्रमजीवी पत्रकारहरुले लामो समयदेखि पारिश्रमिक तथा सेवासुविधा नपाएकोप्रति दुःख व्यक्त गर्दै यो महाधिवेशन सम्बन्धित सञ्चारमाध्यमलाई तत्कालपारिश्रमिक उपलव्ध गराउन माग गर्दछ । साथै श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्न र समस्याको दीर्घकालीन समाधान खोज्न मिडिया सञ्चालक, श्रमजीवी र सरकारबीच आवश्यक समन्वय र सयन्त्र विस्तार गरी अघि बढ्न आव्हान गर्दछ । ९. साना लगानीमा सञ्चालित स्वरोजगारमूलक तथा विभिन्न मातृभाषाका सञ्चारमाध्यमको दिगो र भरपर्दोविकासका लागि जोड दिँदै समानुपातिक विज्ञापन प्रणाली तत्काल लागू गर्न यो महाधिवेशन माग गर्दछ । १०. छापा प्रकाशनलाई डिजिटल माध्यममा रुपान्तरण गर्न चाहेमा निरन्तरतासहितको मान्यता प्रदान गर्न सरकारसँग माग गर्दछ । साथै, द्वन्द्वपीडित, दलित, अपांगता भएका, तेस्रोलिंगीर पत्रकार महिलाहरुले सञ्चालन गरेका सञ्चारमाध्यमहरुलाई हाल पाइआएको सेवासुविधालाई दोब्बर गर्न यो महाधिवेशन सम्बन्धित पक्षसँग माग गर्दछ । ११. स्थानीय र साना लगानीका सञ्चारमाध्यमहरुलाई संरक्षण र सम्बद्र्धनका लागि आवश्यक पहलको अपील गर्दै यो महाधिवेशन समानुपातिक विज्ञापन नीति लागु गर्न र स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई उपलब्ध गराउनुपर्ने वाध्यकारी व्यवस्था गर्नसरकारसँग माग गर्दछ । १२. श्रमजीवी पत्रकारको निःशुल्क दुर्घटना बिमालाई स्वास्थ्य बिमामा रुपान्तरण गरी प्रभावकारी कार्यान्वयन गर्न यो महाधिवेशन सरकारसँग माग गर्दछ । १३. मुलुकको बहुलता र विविधतालाई आत्मसात गर्दै सञ्चार प्रतिष्ठानहरूका विषयवस्तु र संरचनालाई लैंगिक, समावेशी र अपाङ्गतामैत्री एवं कार्यस्थललाई सुरक्षित बनाउन सबै सञ्चार प्रतिष्ठानहरुलाई आव्हान गर्दछ । १४. सञ्चारमाध्यमको दर्ता, नवीकरण, नियमन तथा सेवासुविधाका सन्दर्भमा प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्डलगायत विभिन्न सरकारी निकायमा अनावश्यक र झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने अव्यवहारिक प्रावधान तत्काल खारेज गर्न माग गर्दछ । १५. पत्रकार आचारसंहिताको पालना गर्न, जिम्मेवार र मर्यादित पत्रकारिता गर्न विशेष जोड दिन र सकारात्मक पत्रकारिताको माध्यमबाट समाजलाई जागृत गर्ने कार्यमा लाग्न सबै पत्रकारहरुलाई यो महाधिवेशन अपील गर्दछ । १६. पत्रकारिता क्षेत्रमा देखिएका नयाँ आयाम तथा चुनौतीहरुको समाधानका लागि पत्रकारहरुको क्षमता अभिवृद्धिमूलक नीति तथा कार्यक्रम ल्याउन र पत्रकारिता विषयमा उच्च शिक्षा अध्ययन गर्न चाहने पत्रकारहरुका लागि छात्रवृत्तिको व्यवस्था गर्न सरकारसँग माग गर्दछ । १७. जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणका लागि ‘पृथ्वीका लागि पत्रकारिता‘ भन्ने मूल मर्मलाई आत्मसात गर्दै कलम चलाउन यो महाधिवेशन सम्पूर्ण सञ्चारकर्मीहरुलाई अनुरोध गर्दछ । १८. नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनको समुद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा उपस्थित सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, महासंघका पूर्वअध्यक्षहरु, पत्रकारसम्बद्ध विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरूका साथै देशभरका सबै केन्द्रीय परिषद् सदस्यहरुलाई यो महाधिवेशन धन्यवाद ज्ञापन गर्दछ ।

सरकार गैरजिम्मेवार भएको कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेसले सरकार जवाफदेहिताबाट भागेर गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको निष्कर्ष निकालेको छ ।  आज आइतबार बसेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारले संसद अधिबेशन अन्त्य गरेर गैर जिम्मेवार बनेको आरोप लगाएको हो । सहकारी संस्थाको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद अधिवेशन अन्त्य गरेर सरकार भागेको काङ्ग्रेसको आरोप छ । बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकार जवाफदेही बन्नुको साटो तानाशाही बन्न खोजेको बैठकको निश्कर्ष रहेको सुनाए । लेखकले भने, ‘सरकारले सदनमा बहुसंख्यक सदस्यहरुले उठाएको विषयबारे गम्भीर, सार्थक गरी निष्कर्षमा पुग्नुपर्नेमा जनताको सरोकारको विषयमा बेवास्ता गर्दै संसदबाट भाग्ने काम गरेको छ ।’ संघीय संसदमा  विपक्षी दलहरुले सहकारीमा बचत भएको रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको विषय उठाउँदै आएका छन् ।  कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि छानबिन माग गर्दै संसद अवरुद्ध गरेको थियो । गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आइतबार मध्यराति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसबारे छलफल गर्न आइतबार बिहान संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठक बसेको हो ।  काङ्ग्रेस बैठकले, सरकारले बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै अप्रत्यासित र असामयिक रुपले संघीय संसदको चालु अधिवेशन अन्त्यको सिफारिस गरेको आरोप लगाएको छ ।

एमालेले सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्ने नेताहरुले बताएका छन् । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा बस्दैछ ।

पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ । बैठकमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ मा व्यवस्था भएबमोजिमको उपभोक्ता अदालत गठनका सम्बन्धमा पदाधिकारीसँग छलफल हुने कार्यसूचीमा उल्लेख छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ भने महिला तथा सामाजिक मामिला समितिको बैठक मध्याह्न १२ बजे बस्नेछ । महिला समितिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको वर्तमान अवस्था र अनुगमन सम्बन्धमा छलफल हुनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्तासँग छलफल गर्ने गर्ने कार्यसूचीमा छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे बस्ने छ ।

क्रोएसिया र पोर्चुगल पठाईदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई क्रोएसिया र पोर्चुगल पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका २ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका १० बस्ने ३६ वर्षीय मिङमार लामा र लम्जुङ मध्य नेपाल नगरपालिका ५ घर भई ललितपुर, ललितपुर महानगरपालिका २५ मगरगाउँ बस्ने ३६ वर्षीय प्रकाश वंशी ठकुरी रहेका छन् ।  पक्राउ मध्ये मिङमारले क्रोएसिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको र प्रकाशले पोर्चुगल पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ११ लाख २७ हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मिङमारलाई काठमाडौं बौद्धबाट र प्रकाशलाई काठमाडौं बालुवाटारबाट पक्राउ गरको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

त्रिदेशीय ट्वान्टी–२० शृंखला  : उपाधिका लागि आज नेपाल र पीएनजी भिड्दै

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेल्दै छन् । खेल बिहान पौने ११: ४५ बजे सुरू हुनेछ । यससघि पहिलो खेलमा नेपाल र हङकङबीचको खेल वर्षाका कारण बिनानतिजा अंब बाढेर टुंगिएको थियो । मंगलबार नै भएको खेलमा पीएनजीमाथि ८५ रनको जित निकाल्दै नेपालले फाइनल पक्का गरेको हो । पीएनजीले मंगलबार भएको दोस्रो खेलमा घरेलु टीम हङकङलाई १० विकेटको पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । लिग चरणको खेल सकिँदा नेपालले तीन अंक र पीएनजीले दुई अंक जोड्दा हङकङले एक अंक जोड्यो । अब हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग खेल्नेछ ।