पाँचपोखरीमा पाँच दिने आध्यात्मिक पर्यटन यात्रा

काठमाडौं । न्यू भिजन नेपालको आयोजनामा पहिलो पटक आध्यात्मिक पर्यटनको यात्रा सफलता पूर्वक सम्पन्न भएको छ ।नेपालमा आध्यात्मिक पर्यटनलाई प्रर्वद्धन गर्ने उदेश्यले सिन्धुपाल्चोक पाँचपोखरी आध्यिात्मिक यात्रा गरिएकाे न्यू भिजन नेपालले जनाएकाे छ ।

null

फागुन २१ गते देखि सुरु गरेको सिन्धुपाल्चोक जिल्लाको थाङ्गपाल गाउँपालिका पाचँपोखरीको यात्रा पाँच दिनमा सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष अशोक भट्टले जानकारी दिएको छ । आयोजकका अनुसार शिवरात्री अवसर पारेर गरिएको पाँच दिनको आध्यात्मिक पर्यटन यात्राले धार्मिक आध्यात्मिक पर्यटन प्रर्वद्धनलाई योगदान पुर्‍याएको  छ ।यात्रा फागुन २६ गते सम्पन्न भएको हो ।null

सिन्धुपाल्चोक पाँचपोखरी थाङ्गपाल गाउँपालिकाले आध्यात्मिक पर्यटन यात्राको टोलिलाई नयाँ कार्यको थालिनी ऐतिहासिक ठाउँबाट गरेको भन्दै प्रशंसा गर्नुका साथै सम्मान समेत  गरेको थियो । 

गोप्य विषय चुहावट मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई १० वर्षको जेल सजाय सुनाएको छ । राज्यको गोप्य विषय चुहावट गरेको मुद्दामा खान र उनका पूर्वनिकट सहयोगीलाई जेल सजाय सुनाइएको हो । पाकिस्तानको पन्जाब प्रान्तस्थित रावलपिण्डीको जेलमा स्थापित विशेष अदालतले मंगलबार यो सजाय सुनाएको छ । कूटनीतिक मामिलासम्बन्धी ‘साइफर केस’ नाम दिइएको यो मुद्दामा उनलाई दोषी ठहर गरिएको हो । खानले आफूलाई सत्ताबाट हटाउन सन् २०२२ मा यो षड्यन्त्र भएको जिकिर गरेका थिए । ‘अफिसियल सेक्रेट एक्ट’अन्तर्गत स्थापित अदालतले खानलाई अमेरिकाका लागि पाकिस्तानी पूर्व राजदूतले पठाएको गोप्य कागजातको दुरुपयोग गरेकामा दोषी ठहर गरेको हो । आउँदो फेब्रुअरी ८ मा हुने आमनिर्वाचनको करिब एक साताअघि पाकिस्तानको प्रमुख प्रतिपक्षी नेताका रूपमा रहेका खानविरुद्ध सजाय तोकिएको छ । उनले आफूलाई निर्दोष बताउँदै आएका छन् । अलजजिराबाट ।

चितुवाको आक्रमणबाट चार घाइते

भीमदत्तनगर, पुस २४ । कञ्चनपुरको भीमदत्तनगरपालिका– १ भाषी गाउँ पसेको चितुवाको आक्रमणबाट एक प्रहरीसहित चार जना स्थानीय बासिन्दा घाइते भएका छन् । आज भाषी खोलामा रहेको चितुवाले आक्रमण गर्दा वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रहरी हवल्दार शङ्करदत्त मिश्रसहित घाइते भएका छन् । घाइते हुनेमा भाषीमा डेरा गरी अध्ययन गर्ने गणेश भाट, बेदकोट नगरपालिका–८ का लाल सार्की र मोहनसिंह विष्ट छन् । घाइते चारै जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । ‘चितुवा हेर्न गाउँलेको भीड लागेको छ ।’ घाइते प्रहरी हबल्दार मिश्रले भने– ‘गाउँलेलाई चितुवा भएकोतिर नजान भन्दै गर्दा चितुवा आएर आक्रमण गर्यो ।’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले चितुवा नियन्त्रणका लागि निकुञ्जबाट हात्तीसहितको टोली भाषी पुगेको जानकारी दिए । त्यसका साथै निकुञ्ज कर्मचारी, प्रहरी र स्थानीयवासी चितुवा नियन्त्रणमा लागिपरेको भए पनि अझै नियन्त्रणमा आइसकेको छैन । रासस

वरदान बन्दै त्रिविको अनलाइन कक्षा

कीर्तिपुर । कीर्तिपुरको एक विद्यालयमा अध्यापन गरिरहनुभएका राजकुमार प्याकुरेल शिक्षा शास्त्र सङ्कायअन्तर्गत समाज शास्त्र (एमएसएसइडी) को अनलाइन कक्षा लिइरहनु भएको छ । थप शैक्षिक उपाधि चाहिएपछि भौतिक रूपमा कक्षामा उपस्थित हुन नसकेपछि उहाँ अहिले अनलाइन कक्षामा जोडिएर अध्ययन गरिरहनुभएको छ । कक्षामा भौतिक रूपमा उपस्थित हुन नसक्ने आफूजस्ता धेरैलाई त्रिभुवन विश्वविद्यालयले सुरु गरेको अनलाइन कक्षा निकै उपयोगी रहेको उहाँ बताउनुहुन्छ । “टाढाबाट पनि पढ्न मिल्ने, दिउँसो आफू अरू काममा व्यस्त हुने हामी जस्तालाई यो कक्षा वरदान सावित भएको छ”, उहाँ भन्नुहुन्छ । आफूहरू अनलाइन कक्षाको पहिलो समूह भएकाले पाठ्यपुस्तक हात नपरे पनि आफूले खोजेर पढ्ने बानीको विकास भएको उहाँको भनाइ छ ।  अर्का विद्यार्थी ज्ञानु पहाडी अन्य पेसामा रहेका विद्यार्थीलाई काम नछोडी शैक्षिक उपाधि दिलाउन अनलाइन कक्षा राम्रो विकल्प भएको बताउनुहुन्छ । इन्टरनेट र उपयोगी मोबाइल फोन नहुँदा भने यो चुनौतीपूर्ण हुन जाने पनि उहाँको धारणा छ । कुनै दिन अनलाइनका कक्षा लिन नभ्याइएमा डिजिटल रेकर्ड हेरेर उक्त छुटेको कक्षा लिन सकिने उहाँ बताउनुहुन्छ । “हामीले विभिन्न स्रोतबाट अध्ययन सामग्री खोज्छौँ र शिक्षकलाई देखाउँछौँ ।उहाँबाट यससम्बन्धी मार्गदर्शन पाएपछि त्यसै अनुसार सच्चाउँछौँ” उहाँले भन्नुभयो । समयसमयमा हुने बन्द हडताल, परीक्षा केन्द्र तोकिने, क्याम्पसको आन्तरिक विवाद आदि अनेकौँ कारणले नियमित कक्षा नहुने, भएकै कक्षामा पनि विद्यार्थीको उपस्थित न्यून रहने गरेको छ । शिक्षकको अनुपस्थितिका कारण पनि कयौँ दिनसम्म कक्षा नहुने समस्या अनलाइन कक्षाले समाधान दिएको छ । भौतिक कक्षामा भन्दा अनलाइन कक्षामा हाजिर हर्नुपर्ने, दिइएका गृहकार्य गर्नै पर्ने, तोकिएकै दिन बुझाउनै पर्ने र शिक्षक–विद्यार्थीका सबै गतिविधि श्रव्यदृश्य रेकर्ड हुने कारण सही अर्थको पठनपाठन हुने सम्बन्धित शिक्षक विद्यार्थी बताउँछन् ।  त्रिविमा अनलाइन कक्षाको सुरुआत कोभिड– १९ का कारण सन् २०२० को सुरुतिर अर्थात्  बन्दाबन्दी हुनुभन्दा एक महिनअघि भएको हो । त्यतिबेला देशमा कतै पनि अनलाइन कक्षाबारे सोचाइ नै रहेको थिएन । त्यसबेला दूर शिक्षासम्बन्धी एक प्रयोगका रूपमा त्रिविको शिक्षा शास्त्र सङ्कायले एमएड तहको कार्यक्रम इन्टरनेट प्रविधिको माध्यमबाट सञ्चालन गर्ने तयारी गरिरहेको थियो । त्यसको केही महिनापछि नै बन्दाबन्दी भएकाले भौतिक उपस्थितिमा अध्ययन अध्यापन सम्भव भएन । त्यसपछि त अनलाइन कक्षा नै अनिवार्य विकल्प बन्न पुगेको थियो । विश्वविद्यालयदेखि विद्यालय तहसम्म अनलाइन कक्षाबाटै पठनपाठन हुन थाल्यो । घरै बसेर विश्वविद्यालयको उपाधि पछिल्ला केही वर्षयता विश्वविद्यालयका विद्यार्थीहरूमा भर्ना हुने दिन क्याम्पस जाने र त्यसपछि एकैपटक जाँच दिने प्रवृत्ति बढ्दै गएको छ । आफ्नै बाध्यता वा क्याम्पसका कारण विद्यार्थीलाई भर्ना भएपछि कक्षा लिनुपर्छ भन्ने सोच बिस्तारै हराउँदै जाँदा पछिल्लो समय विद्यार्थीको उपस्थिति पातलिँदै गएको छ । कतिपय विद्यार्थीमा पढ्नभन्दा अरू उद्देश्यले भर्ना हुने प्रवृत्ति नभएको होइन । त्यसैले कक्षामा देखिने सङ्ख्याभन्दा परीक्षा दिने बेलामा विद्यार्थीको सङ्ख्या उल्लेखनीय रूपमा बढी हुन्थ्यो ।  समेष्टर प्रणाली लागू भएपछि त्यो समस्या त समाधान भयो तर ८० प्रतिशत हाजिरी अनिवार्य, आन्तरिक मूल्याङ्कनको अङ्कभार नै ४० प्रतिशत गरिएका कारण विद्यार्थी सङ्ख्या नै घट्दै गयो । कक्षामै उपस्थित भएर पढ्न धेरै विद्यार्थीलाई समस्या रहेछ भन्ने देखियो । त्यसैले घर वा कार्यस्थलमै रहेर पनि विश्वविद्यालयका कक्षा लिन सकिने विकल्पको रूपमा अनलाइन कक्षाप्रति आकर्षण बढेको हुनसक्ने विश्वविद्यालयको शिक्षा शास्त्र सङ्कायअन्तर्गत राजनीतिक शास्त्र विभागका पूर्वप्रमुख केशवराज पौडेल बताउनुहुन्छ । अनलाइनमा पढाउँदा हरेक कक्षाको डिजिटल रेकर्ड हुने भएकाले शिक्षकले पढाएको कुरा र विद्यार्थीले त्यस कक्षामा गरेको अन्तक्रिर्यासमेतको अभिलेख बस्छ । “विद्यार्थी र शिक्षक कसैले पनि ढाँट्न सक्ने अवस्था रहँदैन”, उहाँले भन्नुभयो । यसका साथै विद्यार्थीले दिइएका गृहकार्य तत्काल बुझाउनु पर्ने र शिक्षकले त्यसमाथि गरेको मूल्याङ्कन पनि डिजिटलमै राख्नुपर्ने भएकाले अन्यथा नहुने हुँदा यसको प्रभावकारिता रहेको उहाँको भनाइ छ । कक्षामा विद्यार्थीको उपस्थिति, उसको सक्रिय सहभागिता, आन्तरिक मूल्याङ्कन र दिइएका अङ्कबारे कसैले प्रश्न उठाएमा वा उजुरी परेमा समेत श्रब्यदृष्यसहितको प्रमाण पेस गर्न सकिने उहाँ बताउनुहुन्छ । काम गर्दै डिग्री खोज्नेहरूका लागि उपयोगी अनलाइन कक्षा एउटा एनरोइड मोबाइल वा ल्यापटप कम्प्युटरको माध्यमबाट इन्टरनेट  पुगेको देशको जुनसुकै कुनाबाट पनि लिन सकिन्छ । काम वा अन्य कारणले आफू बसेको स्थान छोडेर विश्वविद्यालयका कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीका लागि निकै प्रभावकारी रहेको प्राध्यापक पौडेलको भनाइ छ । “खासगरी आफ्नो शैक्षिक योग्यता बढाउन चाहने तथा कक्षामा उपस्थित हुन नसक्नेलाई यसले उपयुक्त विकल्प दिन्छ”, उहाँले भन्नुभयो । विगतमा जागिरेहरूले काम गर्दै पढ्दा कतिपय अवस्थामा कक्षा लिएको र कार्यालयमा हाजिर गरेको दिन एउटै परेर समस्या सिर्जना हुने र अख्तियारमा उजुरी समेत लाग्ने  गरेको समेत उहाँले उल्लेख गर्नुभयो । “तर यसमा अनलाइन कक्षा भनेरै शैक्षिक उपाधि दिइने हुँदा कर्मचारीले कार्यालय समयमा पढ्न गएको वा कक्षा नलिई शैक्षिक उपाधि लिएको भन्ने दोष रहँदैन”, उहाँले थप्नुभयो । विद्यार्थीले घरमा, यात्रामा वा कुनै पनि ठाउँमा कक्षा लिन सक्दछन् । घरपायक परीक्षा केन्द्र भौतिक कक्षामा जस्तो पढेका क्याम्पसका लागि तोकिएकै केन्द्रमा पुग्नुपर्ने बाध्यता पनि यसमा विद्यार्थीलाई छैन । नयाँ कार्यविधिअनुसार विद्यार्थीले आफूलाई पायक पर्ने ठाउँको  स्नातकोत्तर तह अध्ययन हुने क्याम्पसमा गएर यसको प्रवेश परीक्षा दिन पाउँछन् । देशभर एक सय आठ स्थानमा रहेका क्याम्पसमध्ये कुनै पनि क्याम्पसबाट उक्त परीक्षा दिन सकिन्छ । सुरुमा भर्ना हुन भने विद्यार्थीले विभागसँग समन्वय गर्नुपर्छ । भर्नापछि प्रत्येक समेष्टरको सुरुमा र अन्तिम परीक्षाअघि गरी दुईपटक प्रत्यक्ष उपस्थितिको कक्षा सञ्चालन गरिन्छ । यसबाट शिक्षक–विद्यार्थीबिच राम्रोसँग अन्तरक्रिया हुनेछ । कक्षाका लागि सुरुमा माइक्रोसफ्ट एप्लिकेशनबारे विद्यार्थीलाई जानकारी दिइन्छ । त्यसपछि उनीहरूलाई कक्षामा कसरी बस्ने, आएका डिजिटल पाठ्यसामग्रीलाई कसरी लिने र गृहकार्य सम्बन्धित शिक्षकलाई कसरी बुझाउने भन्ने पनि सिकाइन्छ । साथै विद्यार्थीले आफूले दिएको उत्तर र त्यसबापत शिक्षकले दिएको अङ्क तत्कालै हेर्न र थप छलफल गन पाउँछ ।  अनलाइन कक्षा पढ्ने त्रिविका विद्यार्थीलाई अहिले माइक्रोसफ्टले एक टेराबाइट स्थान उपलब्ध गराएको छ । इन्टरनेटकै माध्यमबाट विद्यार्थीले त्रिविको केन्द्रीय पुस्तकालय, भारतको दिल्ली विश्वविद्यालय, जवाहरलाल नेहरु विश्वविद्यालयलगायत थुप्रै देशका विश्वविद्यालयका दुई लाखभन्दा बढी डिजिटल स्रोतको प्रयोग गर्न सक्नेछन् । अनलाइन कक्षाको सुविधाका कारण शिक्षा शास्त्र, राजनीति शास्त्र, अङ्ग्रेजी, नेपाली, समाजशास्त्रअन्तर्गतका १५ वटा विषय विभागहरूले अनलाइन कक्षा सुरु गरेका छन् । सबैतिर गरी हाल तीन सय जनाभन्दा बढी विद्यार्थी अनलाइन कक्षामा जोडिएका छन् । यसको प्रभावकारिता देखेर विज्ञान जस्ता प्रयोगशाला आवश्यक भएका विषयबाहेक त्रिविका अन्य संस्थान र सङ्कायले पनि अनलाइन कक्षा सुरु गर्न खोजेको प्राध्यापक पौडेलले जानकारी दिनुभयो । शिक्षा शास्त्र सङ्काय प्रमुख प्राध्यापक डा शम्भु खतिवडाका अनुसार गत वर्ष शिक्षाशास्त्र सङ्कायकै अङ्ग्रेजी र गणित कार्यक्रममा अनलाइन माध्यमबाट भर्ना लिन सुरु गरिएको हो । स्नातकोत्तर तहको सामाजिक अध्ययनमा भने प्रत्यक्ष भर्ना मात्र लिइएको थियो । राजनीतिक सङ्कायले बल गरेरै अनलाइन चलाउँदा विद्यार्थी सङ्ख्या पाँचबाट बढेर ५५ पुग्यो । अहिले त्रिविमा  सामाजिक अध्ययनको तेस्रो वर्ष चलिरहेको छ । पहिलो वर्षमा एक सय २०, दोस्रोमा एक सय ३५ र तेस्रा वर्षमा ६० जना भर्ना भएर परीक्षा समेत दिइसकेका छन् । भौतिक व्यवस्थापन मुख्य चुनौती प्रविधिकै सहयोगमा चलाउनु पर्ने हुँदा अनलाइन कक्षा सञ्चालन त्यति सजिलो भने छैन । विद्यार्थी र शिक्षक दुवैसँग अनलाइन कक्षाका लागि उपयुक्त हुने स्मार्टफोन वा ल्यापटपसँगै भरपर्दो इन्टरनेट अनिवार्य हुन्छ । पढाउन सर्वाधिक सहज हुने स्मार्टबोर्ड नै चाहिने हो तर ती सबै कुरा सबै ठाउँमा सहज हुँदैन, शिक्षकको व्यक्तिगत ल्यापटप प्रयोग गरेर यो सबै गरिरहेका छौँ”,  प्राध्यापक पौडेल भन्नुहुन्छ । प्रत्यक्ष कक्षा लिनका लागि त्रिविले नियुक्त गरेका शिक्षक र प्राध्यापकहरूलाई अनलाइन कक्षाका लागि अनुकूल हुने गरी आवश्यक तालिम दिनुपर्ने हुन्छ । अनलाइन कक्षाको अर्थ इन्टरनेटमार्फत जोडिनु मात्र नभई कक्षालाई कसरी सहज ढङ्गले सञ्चालन गर्ने, विद्यार्थीलाई गृहकार्य र पाठ्यसामग्री कसरी दिने आदि विषयमा पनि व्यावसायिक तालिम दिनुपर्ने हुन्छ । “कक्षालाई बढीभन्दा बढी अन्तरक्रियात्मक बनाउन शिक्षकलाई प्रविधिसँग पूर्ण अभ्यस्त बनाउनुपर्छ”, डा. खतिवडा बताउनुहुन्छ । प्रविधिमा अभ्यस्त भएका शिक्षकले प्रभावकारी कक्षा लिएको तर अभ्यस्त नभएका कतिपय शिक्षकलाई प्रस्तुतीकरणमा समस्या रहेको उहाँको भनाइ छ । त्रिविको नियमित बजेटबाट अनलाइन कक्षाका सबै आवश्यकता पूरा गर्न सम्भव नभएको डा खतिवडा बताउनुहुन्छ ।

हेवाखोलामा बेलिब्रिज मर्मत गरी यातायात सञ्चान गरेको प्रधानमन्त्रीको झुटो दाबी

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलिब्रिज मर्मत गरी यातायत सञ्चालन गरिएको झुटो दाबी गरेको हेवाखोलामा ह्युम पाइपहरू राखेर यातायात सञ्चालन गरिने भएको छ । एक सातादेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत हेवाखोलामा ह्युम पाइपहरू राखेर डाइभर्सन निर्माण गरेर आजदेखि यातायात सञ्चालन गर्ने तयारी गरिएको भएपनि प्रधानमन्त्री ओलीले हिजै हेवाखोलामा बेलिब्रिज मर्मत गरी यातायात सञ्चानमा ल्याइएको बताएका थिए। सडक डिभिजन कार्यालय, इलामका इन्जिनियर सरोज सुवेदीका अनुसार यही असोज ११ र १२ गते आएको बाढीले यहाँको बेलीब्रिज बगाएर यातायात अवरुद्ध भएको थियो । अवरुद्ध यातायात खुलाउन डाइभर्सन निर्माणका लागि आवश्यक १६ वटा ह्युम पाइपहरू प्राप्त भइसकेपछि काम शुरु भइरहेको छ । आज बेलुकीसम्ममा डाइभर्सनको निर्माण पूरा गरेर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको सुबेदीले बताउनुभयो । यातायात अवरुद्ध हुँदा चाडपर्वमा घर जाने आउने सर्वसाधारणलाई सास्ती भएको छ भने ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा आउने भक्तजनको संख्या घटेको छ। । यस्तै ढुवानी सेवासमेत ठप्प हुँदा थप समस्या भएको छ । पाँचथर, ताप्लेजुङका सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला संस्थाहरूले सुरुवातदेखि नै यातायात सञ्चालन गर्न सबै विकल्प सहित पहल गरिरहेका छन् । पाँचथरको फिदिम नगरपालिका र त्यहाँका सुरक्षा निकायले फड्के समेत निर्माण गरेर राहत पु¥याएका छन्। तत्कालको समस्या समाधानका लागि डाइभर्सनले काम गर्ने भन्दै बेलीब्रिज निर्माण गर्नसमेत आवश्यक पहल भइरहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताउनुभयो ।

कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा आज भारी वर्षाको संभावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। नेपालमा अहिले देशभर मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ।  जसको प्रभावस्वरुप अहिले काठमाडौँ उपत्यकामा पनि मौसम बदली छ। आकाशमा बादल लागेको छ भने उपत्यकाका केही ठाउँमा सिमसिम वर्षासमेत भैरहेको छ।  यतिबेला (बुधबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   आज दिउँसो पनि देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  कोसी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा राति हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। कस्तो होला बिहीबार र शुक्रबारको मौसम?  २०८१ असोज १० गते बिहीबार दिउँसोː देशभर साधारण बदलीदेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ। रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोशी, बाग्मती, मधेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका  केही स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। २०८१ असोज ११ गते शुक्रबार दिउँसोː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, मधेस र बाग्मती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा कर्णाली  प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ। रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी र लुम्बिनी प्रदेशका एक दुइ स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।  

अखिल क्रान्तिकारी रुपन्देहीको अध्यक्षमा आचार्य निर्वाचित

बुटवल । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुपन्देहीको २३ औं जिल्ला सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको छ । जसमध्ये अध्यक्ष र उपाध्यक्ष निर्वाचनबाट र बाँकी पदमा निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा टिकाराम आचार्य मतदानबाट निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा धनाकुमारी पन्थी निर्विरोध निर्वाचित हुनुभएको छ भने अन्य उपाध्यक्षमा हिमाल खनाल, विशाल पौडेल र मधुुसूदन गाहा मतदानबाट निर्वाचित हुनुभएको छ ।  सचिवमा अंकित पौडेल, सहसचिव प्रजितजङ कुँवर, अर्चना यादव र माधवी अधिकारी तथा कोषाध्यक्षमा केशव पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ । ४१ सदस्यीय जिल्ला कार्य समिति बनेको छ।

कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

‘नारा लगाएकै आधारमा पक्राउ गर्नु कमिलाको प्वाँख पलाएजस्तो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नारा लगाएकै आधारमा युवाहरूलाई पक्राउ नगर्न सरकारलाई सचेत गराएका छन्। बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले यस्तो रवैयाले सरकार धेरै दिन नटिक्ने चेतावनी दिए। स्वदेशमा अवसर र रोजगारी नपाएका युवाको विरोधकाे स्वर सुन्ने धैर्यता राज्यसँग हुनुपर्ने भन्दै उनले पक्राउ परेका युवाको रिहाइको माग गरे । साथै विभिन्न जिल्लामा स्ट्याटस लेखेकै भरमा पक्राउ परेका भन्दै ढकालले यस्तो रवैया नदेखाउन चेतावनी दिए।  ‘गौरापर्वको अवसरमा आयोजित कार्यक्रममा टुँडिखेलमा युवाहरूले विरोध भाषण गरे भन्छु म । यसलाई अराजक शैली वा अनेक अनेक बहाना लगाएर सरकारले भिडियो फुटेजहरू स्क्रिनिङ गरी–गरी हिजोबाट ती युवा  साथीहरूलाई हिरासतमा राख्न थालेको रहेछ, यो बिलकुल गलत भएको छ । विरोधका बोलीहरू, त्यो पनि युवाले राखेको राज्यले सुन्न सक्ने धैर्यता राख्नुपर्छ ।  स्वदेशमा अवसरबाट वञ्चित, रोजगारीबाट वञ्चित बनाइएका ती युवाहरूले सिंहदरबारभित्रका बेइमानहरूलाई खबरदारी गर्दै गर्दा यसरी समाउन पाइँदैन। ती युवाको तत्काल रिहाइको म माग गर्छु,’ ढकालले भने, ‘साथै विभिन्न जिल्लामा स्टाटस लेखेकै भरमा युवाहरूलाई समातिएको समाचार पनि आएको छ । कमिलाको उड्ने वेलामा प्वाँख पलाएजस्तो नहोस्, हामी पनि यो विषयमा संवेदनशील छौँ । तर, सरकारले यस्तै रवैया देखायो भने कमिलाको प्वाँख पलाएजस्तै हुन्छ।’

राजनीतिक परिवर्तनमा सांस्कृतिक यौद्धाहरुको ऐतिहासिक भूमिकाः प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक सामाजिक परिवर्तनका लागि जनतालाई जागृत गर्न सांस्कृतिक यौद्धाहरुको ऐतिहासिक भूमिका रहेको बताउनुभएको छ । जनगायक जेवी टुहुरेको तेस्रो स्मृति दिवसका अवसरमा जेवी टुहुरे फाउण्डेसनले आयोजना गरेको स्मृति दिवस तथा स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दर्शन, सिद्धान्त र राजनीतिका धेरै कुरा गरेर भन्दा गीत, संगीतका थोरै प्रस्तुतिबाट जनतामा धेरै भन्दा धेरै जागरण पैदा गर्न सकिने बताउनुभयो । उहाँले सांस्कृतिक यौद्धाहरु जीवनभर जनतामा जागरण पैदा गर्दैगर्दै मर्ने र मरिसकेपछि पनि युगयुगसम्म जागरण पैदा गरिरने र कहिल्यै नपर्ने बताउनुभयो । पारिजातको कविता उधृत गर्दै उहाँले सहिदहरु कहिल्यै नमर्ने बरु उनीहरु युगयुगसम्म नारा भएर घन्किरहने बताउनुभयो । जेवी टुहुरे फाउण्डेसनले एक लाख राशीसहितको जेवी टुहुरे सम्मान २०८१ मनरोपरान्त अर्का जनगायक खुशीराम पाख्रिनलाई समर्पण गरेको छ । इच्छुक प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै सांस्कृतिक यौद्धाहरुलाई एकैसाथ सम्झन पाउनु खुशी र गौरवको विषय भएको बताउनुभयो । ‘महान सहिद कृष्णसेन इच्छुकको स्मृतिमा निर्मित भवनमा जेवी टुहुरेको स्मृति दिवसमा खुशीराम पाख्रिनलाई मरोनोपरान्त सम्मान गर्न पाउँदा निकै गौरवान्वित महसुस गरेको छु’– उहाँले भन्नुभयो– ‘मेराका लागि यो निकै खुशी र गर्वको क्षण हो ।’ सेन, टुहुरे र पाख्रिन जस्ता सांस्कृतिक यौद्धाहरुले गरेको योगदान र बलिदानकै कारण श्रमिक वर्गमा चाँडै चेतना जागृत भएको र सामन्तवादको अन्त्य गर्न संभव भएको अध्यक्ष प्रचण्डको भनाई थियो । जेवी टुहुरे फाउण्डेसनका निर्भिका टुहुरेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष गुरु बराल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्णबहादुर घर्तीलगायतले बोल्नुभएको थियो । सो क्रममा जनवादी कलाकारहरुले सांस्कृतिक यौद्धाहरुको सम्मानमा प्रस्तुति दिएका थिए । कार्यक्रम सञ्चालन जनसांस्कृतिक महासंघका अध्यक्ष भीम कुमाखीले गर्नुभएको थियो ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकी प्रदेशमा आंशिकदेखि मुख्यतया सफा रही एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी  र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी, मधेस, वाग्गमती र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

यथास्थितिमा देश अगाडि जान सक्दैन : अध्यक्ष ओली

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताएका छन् ।आइतबार काठमाडौँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दी गर्न नहुने बताए।  उनले अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता भएको उल्लेख गरे। उनले उद्यमशीलता र व्यावसायिकताले कृषिको आधुनिकीकरण गर्ने र कृषिको आधुनिकीकरणले रोजगारीका अवसर सिर्जना गर्ने बताए।  उनले भने, ‘‘यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा छैन। कसैले जिद्दी गर्नुहुँदैन। अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो। उद्यमशीलता र व्यावसायिकताले कृषिको आधुनिकीकरण गर्दछ। कृषिको आधुनिकीकरणले रोजगारीका थुप्रै अवसर सिर्जना गर्दछन्, कृषि आधारित ससाना उद्योग र त्यो बिस्तारै गएर ठुला उद्योगमा परिणत हुनसक्छ। कृषि आधारित उद्योगले निर्यातमूलक उद्योगको रूप लिनसक्छ।’’  उनले गरिबीबाट माथि उठ्न मसिनो चामल नभई आफ्नै देशमा मोटो चामलको भएपनि उत्पादन बढाउनुपर्ने बताए। अध्यक्ष ओलीले पहाडमा उत्पादन हुने उत्पादनले जीविका चल्न छोडेपछि गाउँ अहिले उजाड बनेको बताए।  उनले नेपालको अहिलेको सबैभन्दा ठुलो चुनौती निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्यालाई खान लगाउन पाउने अवस्थामा पुर्‍याउनु रहेको बताए। गरिबीसँगै बेरोजगारी बढ्दै जाने उनको भनाइ छ।  ‘‘हामीले अहिले चिन्ता गर्नुपर्ने कुरा भनेको, मसिनो खाने बानी पर्‍यो, मसिनो खाने बानी परेकालाई खान दिऊँ। तर मसिनो होइन हामीलाई मोटा चामल भएपनि खान पुग्नुपरेको छ। गरिबीबाट माथि उठ्न परेको छ। मसिनो चामल मोटो चामल जति फल्दैन। त्यसलाई त्यत्तिकै फल्नेमा पुर्‍याउनुपर्छ। हामीले यसलाई आधुनिकीकरणतर्फ लैजानुपर्छ, टेक्नोलोजीको प्रयोगतर्फ लैजानुपर्छ भनिरहेका छौँ, तर सरकारी तवरबाट यस सम्बन्धमा नीति निर्माण हुन सकेको छैन। ठोस नीति निर्माण हुनुपर्छ’’, अध्यक्ष ओलीले भने।  अध्यक्ष ओलीले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई  परिस्थितिलाई विचार गरेर अघि बढ्न आग्रह गरेको बताए। 

डार्क फाइल प्रकरण : तीन जनाविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दा दायर

काठमाडौं । डार्क फाइल प्रकरणमा सिधा कुरा डटकमका सम्पादकसहित तीन जनाविरूद्ध साइबर अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। शुक्रबार सरकारी वकिल कार्यालय काठमाडौंले सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो उपलब्ध गराउने भनिएका व्यक्ती राजकुमार तिमल्सिनाविरूद्ध मुद्दा दायर गरेको हो । तीनै जनालाई फरार प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा पेस गरिएको छ ।‘सिधा कुरा’ले प्रसारण गरेको अडिओ झुटो रहेको अनुसन्धानको निष्कर्ष, अदालतमा बुझाइयो प्रतिवेदन सर्वोच्च अदालतले वैशाख २३ गते आदेश गरेपछि केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले डार्क फाइलको अडिओ प्रकरणमा छानबिन गरेको थियो। सिधा कुरा डटकमले स्टिङ अप्रेसनका मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतोमा डिल भएको भन्दै समाचार प्रकाशित गरेको थियो। त्यसमा डिल भएको भनिएको बैठकको अडियो भन्दै सामग्री राखिएको थियो। त्यसपछि सर्वोच्च अदालत आफैले यस विषयलाई लिएर अदालतको अवहेलना सम्बन्धी रिट दायर गरेको थियो। तीनै जनाको बयान पनि लिइएको थियो। यो विषयको अन्तिम टुंगो लगाउन बृहत् पूर्ण इजलासमा पठाइएको छ।

गण्डकीका पदमुक्त सांसद देवकोटाको मुद्दा न्यायाधीश राउतको इजलासमा

काठमाडौं । गण्डकी प्रदेशका पदमुक्त गरिएका सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिटको पेसी न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा तोकिएको छ। देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै  कारबाही गरेपछि सो निर्णयविरुद्ध रिट दायर गरेका थिए । गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले आफू नेपाल समाजवादी पार्टीको कार्यकर्ता भएको र राजनीतिक दल सम्बन्धी ऐन अनुसार माओवादीको चुनाव चिह्न लिएर लडेको बताउँदै आफूलाई मओवादी केन्द्रले कारबाही गर्न नसक्ने दाबी गरेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि देवकोटालाई माओवादी केन्द्रले पार्टीको ह्वीप उल्लंघन गरेपछि कारबाही गरेको थियो।

काठमाडौंका यी स्थानमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं । काठमाडौंका केही स्थानमा आज र भोलि विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेका फिडरहरूमा विद्युत् सेवा आपूर्ति नहुने भएको हो ।   मर्स्याङ्दी काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति सेवा प्रभावित हुने भएको हो ।  मच्छेगाउँ, सतुंगल, मातातीर्थ, फर्पिङ फिडर अन्तरगत शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।  आइतबार मातातीर्थ फिडरमा १० देखि १२, सतुंगल फिडर १२ देखि २, मच्छेगाउँ फिडर २ देखि ४ बजेसम्म र फर्पिङ फिडर ४ देखि ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

नोबेल शान्ति पुरस्कार पाएका युनुसमाथि भ्रष्टाचार आरोप

काठमाडौं । नोबेल शान्ति पुरस्कार पाएका बंगलादेशका मुहम्मद युनुससहित १३ जनामाथि भ्रष्टाचार आरोप लागेको छ । युनुसमाथि बंगलादेशको सबैभन्दा ठूलो टेलिकम कम्पनीमा २० लाख डलर अपचलन गरेको आरोपमा अदालतमा मुद्दा दायर भएको हो । युनुसले ग्रामिण क्षेत्रका कर्मचारीहरुको कल्याणकारी कोषको रकम अपचलन गरेको आरोप लागेको छ । युनुसले बंगलादेशका हजारौं व्यक्तिहरुलाई ऋणबाट मुक्त गरिदिएवाफत् सन् २००६ मा विश्वप्रतिष्ठित नोबेल शान्ति पुरस्कार जितेका थिए । उनले आफूमाथि लागेका आरोपको खण्डन गर्दै विनाकारण प्रताडित गरिएको आरोप लगाएका छन् । युनुसले प्रधानमन्त्री शेख हसिनाले आफूमाथि झुट्टा मुद्दा दर्ता गराएको बताएका छन् ।  बंगलादेश सरकारले भने युनुसले लगाएको आरोपको खण्डन गरेको छ ।