नेप्से परिसूचक १३ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर एक हजार नौ सय ९२ दशमलव ३० मा पुगेको छ । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १४ अङ्कले उकालो लागेर तीन सय ५५ दशमलव ९७ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्यमा भने उकालो लागेको छ । विभिन्न कम्पनीका कल ५९ लाख ८८ हजार सात सय १७ कित्ता शेयर दुई अर्ब एक करोड ७७ लाख ३९ हजार ६० मूल्यमा खरिद बिक्री भएका छन् । 

नेप्सेका अनुसार कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको नौ करोड ७१ लाख ८० हजार दुई सय २९ मूल्य बराबरको शेयर कारोबार भयो । हिमालयन रिइन्स्योरेन्स सात करोड ७५ लाख तीन हजार आठ सय २२, शिवम् मिसेन्ट रु.छ करोड ६७ लाख ६७ हजार पाँच सय २८, गुर्खाज फाइनान्स छ करोड २६ लाख ६४ हजार १८ र सन नेपाल इन्स्योरेन्स छ करोड १८ लाख सात हजार नौ सय १८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । 

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त आठ दशमलव १६, नेपाल वेयर हाउस कम्पनी सात दशमलव ६५, सोनापुर मिनरल्स सात दशमलव ३५ र सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले छ दशमलव ७२ प्रतिशतले कमाएका छन् । यस्तै, समाज लघुवित्त १०, बिपीडब्ल्यू आठ दशमलव ७७, किसान लघुवित्त पाँच दशमलव ५६, गुर्खाज फाइनान्स पाँच दशमलव ३५ र ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलोका लगानीकर्ताले तीन दशमलव ६० प्रतिशतले गुमाएका छन् । 

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने जनाइएको छ । बैठकमा श्रम तथा रोजगार, श्रमिक तथा कामदार, वैदेशिक रोजगार, सामाजिक सुरक्षाको अवस्था नीति, कानून, संरचना लगायत मन्त्रालयबाट भए गरेका कामकारवाही, समस्या, भावी कार्ययोजना र समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ ।

भौतिक मन्त्रालयको बजेटप्रति सांसदहरू रुष्ट

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटप्रति सांसदहरूले रोष व्यक्त गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८१ माथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले भौतिक पूर्वाधारमन्त्रीले एकलौटी ढङ्गले आफ्नो क्षेत्रमा केन्द्रित बजेट विनियोजन गरी विभेद गरेको आरोप लगाएका छन्। पहुँचका आधारमा बजेट बाँडिएको र विनियोजनमा विभेद भएको भन्दै सत्तापक्षकै सांसदहरुले पनि प्रश्न उठाए। सांसद तेजुलाल चौधरीले मधेस प्रदेशका जिल्लामा बजेट विनियोजनमा विभेद भएको तथा मधेस, कर्णालीलगायतका क्षेत्रलाई उपेक्षा गरिएको बताए। उनले सञ्चालित आयोजना र बोलपत्र आह्वान प्रक्रियामा रहेका आयोजनाको पनि बजेट काटिएको गुनासो गरे। सांसद चौधरीले सप्तरीमा एउटा पनि योजनाका लागि बजेट विनियोजन नभएको भन्दै बजेटको रातो किताब फिर्ता गरे। सांसद प्रभु हजाराले मधेस प्रदेशमा तुलनात्मक रुपमा बजेट बढी विनियोजन भएको जिकिर गरे। उनले बजेट जनताको पक्षमा रहेपनि यसलाई सन्तुलित र वस्तुनिष्ठ बनाउन जरुरी भएको बताए। सांसद पूर्णबहादुर तामाङले भने, “समयमै विकास बजेट कहाँ–कहाँ लाने भनेर छलफल गरेको भए आज बजेटको किताब च्यात्ने र किताब बुझाउने परिस्थिति आउने थिएन होला। भौतिक पूर्वाधारमन्त्रीले आफ्नो जिल्लामा बजेट केन्द्रित गर्नुभएको छ।” सांसद ऐनबहादुर शाही ठकुरीले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले सडक पूर्वाधारले नछोएको जिल्लामासमेत बजेट विनियोजन नगरेर विभेद गरेको आरोप लगाए। सांसद रामकृष्ण यादवले सीमा सुरक्षार्थ खटिने प्रहरीको सेवा सुविधालाई ध्यान दिन माग गरे। उनले हुलाकी राजमार्ग चाँडो कालोपत्र गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद बद्रीप्रसाद पाण्डेले समन्यायिक विकासमाथि प्रहार गर्ने काम बजेटले गरेको तर्क गरे। उनले दुर्गम र पछाडि परेका क्षेत्रलाई बजेटले सम्बोधन नगरेकाले देशलाई समृद्धिको बाटोमा लैजान बजेट सक्षम नहुने बताए। सांसद महेश बर्तौलाले मकवानपुरको विकासलाई बजेटले प्राथमिकता दिन नसकेको गुनासो गरे। चित्लाङ–थानकोट सडकमार्ग चाँडो निर्माण सम्पन्न गर्न पर्याप्त बजेट विनियोजन गर्न माग गरे। राष्ट्रिय गौरवको आयोजना भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणलाई गति दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। खुला सिमानामा तारबार लगाएर सीमालाई सुरक्षित बनाउन गृहमन्त्रीको ध्यानाकर्षण गराए। सांसद लीलादेवी बोखिम लिम्बूले प्राथमिकताप्राप्त आयोजनालाई बजेटले प्राथमिकता दिनुपर्ने बताए। 

सिंहदरबारमा शीर्ष नेताको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताहरुबीच भेटवार्ता भएको हो। भेटवार्तामा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल भएको हो। बालुवाटारमा तीन शीर्ष राजनीतिक दलका नेताहरुबीच करिब तीन घण्टाको भेटपछि बालुवाटारमा अध्यक्ष नेपालसँग पनि भेट भएको हो। बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको थियो। लगत्तै सिंहदरबारमा प्रधानमन्त्री, ओली र नेपालबीच भेट भएको हो।

शान्ति सैनिक राईलाई मरणोपरान्त राष्ट्रसंघको सम्मान

न्यूयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति सेनाका भुपजीत राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गरेका छन्। अन्तर्राष्ट्रिय शान्तिसैन्य दिवसका अवसरमा आज संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महासचिव गुटेरेसले राईलाई प्रदान गरिएको यो पदक संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई हस्तान्तरण गरेका हुन्। त्यस अवसरमा कर्तव्य निर्वाहका क्रममा दिवंगत भएका राईको साहस, प्रतिबद्धता र बलिदानको चर्चा गर्दै महासचिवले उनी शान्ति स्थापनामा खटिएका सबैका निम्ति प्रेरणाका रूपमा रहिरहने विश्वास व्यक्त गरे। गत अक्टोवर १३ मा कङ्गोमा राईको निधन भएको थियो।  सन् १९४८ मा इजरायल–अरब युद्धविराम सम्झौता कार्यान्वयनको पर्यवेक्षण गर्न मध्यपूर्वमा सैन्य पर्यवेक्षक परिचालन गर्ने निर्णय भएको दिन ३० मेलाई अन्तर्राष्ट्रिय शान्ति सैन्य दिवसका रूपमा मनाइने गरेको छ।   नेपाल राष्ट्रसंघीय शान्ति सेनामा सर्वाधिक सैनिक परिचालन गर्ने मुलुकमध्येको एक हो। छ हजारभन्दा बढी नेपाली शान्ति सेनामा परिचालन भएका छन्। 

प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल

काठमाडौं । गृह मन्त्रालयले प्रहरीको उमेर हद अध्ययन गर्नका लागि कार्यदल गठन गरेको छ । उपप्रधान एवं गृहमन्त्री स्तरीय निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका डिआइजीपी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्यसचिव छन् । समितिलाई मौजुदा ऐन, नियमहरूको अध्ययन गरी अन्य मुलुकका अभ्यासहरू समेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।

बाह्रबिसे–तातोपानी सडक स्तरोन्नतिमा चीन तयार : राजदूत सोङ

सिन्धुपाल्चोक । नेपालका लागि चिनियाँ राजदूत छन सोङले बाह्रबिसे–तातोपानी सडकखण्डको स्तरोन्नतिका लागि चीन तयार रहेको बताएका छन् । मितेरी पुलसम्म पुग्ने सडक र नाका व्यवस्थापनबारे चिनियाँ राजदूतका पदाधिकारीसहित तातोपानी भन्सार कार्यालयमा बुधबार बेलुका भएको सर्वपक्षीय छलफलमा राजदूत छनले उक्त सडक स्तरोन्नति गर्न चीन तयार रहेको बताए । नेपालले पनि सडक सुधारका लागि बजेट विनियोजन गरेको सन्दर्भमा दुवै देशले मिलेर बाटो बनाउन सकिने उनको भनाइ छ । राजदूत छनले पहिरो खसेको स्थान तथा सडकका अन्य भागको अध्ययनका लागि चिनियाँ प्राविधिक आउने जानकारी दिए । उनले चीनबाट अत्याधुनिक उपकरण ल्याएर निर्माणमा सघाउने बताए । सिन्धुपाल्चोकको क्षेत्र नं १ बाट निर्वाचित सांसद माधव सापकोटाले उक्त सडक स्तरोन्नतिका लागि एक अर्ब २० करोड विनियोजन गरेको जानकारी दिँदै दुवै देशले मिलेर काम गर्न प्रस्ताव गरेको बताए । छलफलमा सडक डिभिजन कार्यालय दोलखाका प्रमुख अर्जुन श्रेष्ठले नेपालले तयार गरेको सडक स्तरोन्नतिको विस्तृत परियोजना प्रतिवेदन प्रस्तुत गरेका थिए । छलफलमा प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार डा। रुपक सापकोटा, भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनोर्बु शेर्पा, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, भन्सार कार्यालयका प्रमुख, डिभिजन सडक कार्यालयका कर्मचारीको उपस्थिति थियो । विसं २०७२ को भूकम्पपछि बन्द भएको तातोपानी नाका २०८० भदौ १५ गतेदेखि खुलेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत असोजमा भएको चीन भ्रमणका क्रममा उक्त नाका पुग्ने सडकको स्तरोन्नति चीनले गरिदिने विषयमा भएको सहमतिका सन्दर्भमा चिनियाँ पक्षसँग पटकपटक छलफल भए पनि कार्यान्वयन हुन सकेको छैन । यद्यपि बुधबारको छलफलमा चिनियाँ पक्षबाट सकारात्मक जवाफ आएको थियो ।

संसद् बैठक अगाडि प्रतिपक्षी दलहरू छलफलमा

काठमाडौं । संसद् बैठक बस्नुअघि प्रतिपक्षी दलहरू छलफलमा जुटेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा नेपाली कांग्रेससहित प्रतिपक्षी दलको बैठक बसिरहेको राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जानकारी दिए।  बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, लोसपा अध्यक्ष महन्थ ठाकुरसहितका प्रतिपक्षी दलका नेताहरू सहभागी छन्। सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । सोही क्रममा बिहीबार संसद् बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदबीच धकेलाधकेल भएपछि प्रतिपक्षी दलहरू एकठाउँमा उभिएका हुन् । उनीहरूले सभामुख देवराज घिमिरेको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् । 

प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ। त्यस्तै, सभामुखले प्रतिनिभिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननी सदस्यहरूको मनोनयन गर्नेछन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रसले संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको थियो । शनिबार बसेको शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेको छ ।उक्त सहमतिसँगै आजको बैठक नियमित रुपमा नै संञ्चालन हुने बताइएको छ ।

कांग्रेस संसदलाई मुठभेडमा लैजान चाहेको एमालेको आरोप

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली काँग्रेसले संसदलाई मुठभेडमा लैजान चाहेको आरोप लगाएका छन्।  शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बर्तौलाले संसद अवरोध गर्ने क्रममा बिहीबार कांग्रेसले एमाले अध्यक्षमाथि गरेको दुर्व्यवहार प्रयासले मुठभेडतिर लैजान खोजेको पुष्टि हुने बताए।  'संसदमा हाम्रा श्रद्धेय अध्यक्षमाथि अशिष्ट व्यवहार प्रर्दशन गरे, उदण्ड व्यवहार प्रर्दशन गरे। भिडभाड, दादागिरी र उदण्डताका साथ मुठभेडमा लैजान नेपाली काँग्रेस चाहन्छ भन्ने कुरा त्यो अस्तीको घटनाबाट देखिन्छ,’ बर्तौलाले भने।  कांग्रेसले संसदको वेल घेर्‍यो र नाराबाजी गरेकोमा एमालेलाई कुनै आपत्ति नहुने पनि उनले बताए।  'सरकारको आसनमा आएर उपसभामुखको आसनमा आएर जुन प्रकारको अभद्र, अशिष्ट, अमर्यादित र उदण्ड प्रस्तुति उहाँहरुबाट भयो त्यो संसदीय इतिहासमा एउटा कालो दिनको रुपमा रहन्छ,' उनले भने। प्रमुख सचेतक बर्तौलाले सहकारीको ठगी प्रकरण फौजदारी अभियोग भएकाले त्यसलाई संसदले नभई सरकारी निकायले अनुसन्धान गर्नुपर्ने पनि बताए। 

प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएका छन् । दलका प्रमुख सचेतकलाई उनले आज बेलुका ५ बजे सिंहदबारस्थित आफ्नो कार्यकक्षमा बोलाएका छन् । संसद्को गतिरोध अन्त्यबारे छलफल गर्न सभामुख घिमिरेले सिंहदरबारमा बोलाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जानकारी दिए । सहकारीको बचत हिनामिना प्रकरणमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित राप्रपाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएका छन्। संसदीय समिति नबनाइए संसद् बैठक सञ्चालनमा अवरोध गर्ने उनीहरूको चेतावनी छ । संसद्को गतिरोध अन्त्यको प्रयासस्वरूप यसअघि सभामुखले प्रमुख दलका शीर्ष नेताहरूसित छलफल गरेका थिए ।

उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले अध्यादेश जारी गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार ऐनको दफा १३ को (५) लाई संशोधन गर्न अनुकूल देखिएकाले यो निर्णय गरिएको हो । सो दफामा प्रदेश विश्वविद्यालयको संरक्षक समिति (बोर्ड अफ ट्रष्टी)को पदावधि निर्धारणका विषयलाई स्पष्ट पार्न अध्यादेश जारी गर्ने निर्णय गरिएको उनले बताए । उनका अनुसार संरक्षक समितिमा मनोनीत भएका संरक्षण समिति (बोर्ड अफ ट्रष्टी)का पदाधिकारीहरूको पहिलोपटक पदावधि कायम गर्दा गोला प्रथाद्वारा २ जनाको पदावधि २ वर्ष, ३ जनाको पदावधि ४ वर्ष र ३ जनाको पदावधि ६ वर्ष कायम गरिने व्यवस्था रहेको छ । उक्त व्यवस्थालाई संशोधन गरी समितिमा मनोनीत भएका पदाधिकारीहरूको पहिलोपटक पदावधि कायम गर्दा गोला प्रथाद्वारा ५ जनाको पदावधि ४ वर्ष र ३ जनाको पदावधि ६ वर्ष कायम गरिने व्यवस्था गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको उनले बताए । ऐन बमोजिम सदस्यहरूको पदावधिको गणना संरक्षक समितिको पहिलो बैठक बसेको मितिबाट प्रारम्भ भएको मानिने व्यवस्था रहेको छ । बैठकको निर्णयअनुसार प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले उक्त अध्यादेश जारी गर्नेछन् भने संसद् अधिवेशन आह्वान गरी प्रदेशसभा बैठकमा अध्यादेश पेस गरिने छ । उक्त अध्यादेश जारी भएको ६० दिन भित्र प्रतिस्थापन विधेयक ल्याएर संसद्‌बाट पारित गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषद् बैठकले आगलागीमा परेर निधन भएका ३ जनालाई जनही १ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् व्यवस्थापन कोषमार्फत आगलागी नियन्त्रणको क्रममा मृत्यु भएका ललितपुरका २ र रामेछापका एक परिवारलाई एकरएक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

वेस्ट इन्डिजले नेपाललाई दियो १ सय ७३ रनको लक्ष्य

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिजविरुद्धको ५ खेलको टी २० सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपालले जितका लागि १ सय ७३ रनको लक्ष्य पाएको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रनको योगफल तयार पारेको हो।  एलिक अथानाजे ४२ र हेडेन वाल्स ७ रनमा नटआउट रहे।  नेपालका लागि सागर ढकाल र सोमपाल कामीले समान ३ विकेट लिए। सागरले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। सोमपालले आफ्नो स्पेलमा १६ रन खर्च गरे ।   अविनास बोहोराले एक विकेट लिए ।

देशभित्र देखिएका चुनौतीको सामना गर्न कांग्रेस एकताबद्ध हुनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको चुनौतीको सामना गर्न पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।  नेपाल लोकतान्त्रिक खेलकुद संघको १०औं स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले अहिले देशभित्र निकै चुनौती देखिएको भन्दै यसलाई सामना गर्न एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन्।  यसअघि जस्तै अहिलेको चूनौती समाधान गर्न कांग्रेस सफल हुने उनको विश्वास छ । सभापति देउवाले देशमा खेलकुदप्रति युवाको आकर्षण रहेको भन्दै खेल क्षेत्रको विकासमा सवै गम्भीर भएर लाग्नुपर्ने बताए । 

रास्वपाको विज्ञप्ति- 'निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौं'

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्ने बताएको छ । मत परिणामले पार्टीका प्रयासहरूमा कमी–कमजोरी रहेको इंगित गरेको बताउँदै रास्वपाका महामन्त्री डा. मुकुल ढकालले मंगलबार विज्ञप्ति निकालेर यस्तो बताएका हुन्। ‘पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौं। निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन् कमीकमजोरी रहेको इंगित गरेको छ। सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ। हामीलाई दिनुभएको मतका लागि सम्पूर्ण इलाम क्षेत्र नम्बर २ का मतदाताहरूप्रति कृतज्ञता र आभार प्रकट गर्दछौं। नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं,’ विज्ञप्तिमा महामन्त्री डा। ढकालले भनेका छन्। इलाम–२ को उपनिर्वाचनमा नेकपा (एमाले) का सुहाङ नेम्वाङ निर्वाचित भएका छन्। उनले २७ हजार ७७२ मत ल्याएर निर्वाचित भए। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत ल्याए। तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत ल्याएका छन्।चौथो स्थानमा रहेका रास्वपा उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत ल्याए।

भरूवा बन्दुकसहित एक जना पक्राउ

नवलपरासी पूर्व । भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । बिनयी त्रिबेणी गाउँपालिका ३ सुनई बस्ने ३६ वर्षीय तारा बहादुर चिडीलाई भरूवा बन्दुक १ थानसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।   विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।