ज्येष्ठ पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिहेका छौं :  प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन्।

नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पत्रकारको हकहितका लागि सरकार सधैँ सकारात्मक रहेको र आगामी दिनमा पनि सोहीअनुसार अगाडि बढ्ने विश्वास दिलाएका हुन्।

“सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्द्धन गर्ने नीति लिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने “सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन न्यायिक ढङ्गले वितरण गर्ने व्यवस्था मिलाइँदैछ ।”

नेपालको प्रेस जगत सधैँ परिवर्तनको पक्षमा उभिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कतिपय आन्दोलनमा प्रत्यक्ष सरिक र कतिपय एजेण्डामा प्रेस जगतले ऐक्यबद्धता व्यक्त गर्दै आएको बताए। उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना एवं समाजको रुपान्तरण र जनताको अधिकार प्राप्तिका निम्ति नेपाली प्रेस जगतले महत्त्वपूर्ण योगदान गरेको बताए। 

निरङ्कुश शासनकालमा नेपाली प्रेसले शासकहरूबाट राजनीतिक दलहरूले जस्तै कठोर दमन र उत्पीडनको सामना गर्नुपरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले दमनविरुद्धको प्रतिरोधमा प्रेस जगत खरो सावित हुँदै आएको उल्लेख गरे। उनले भने,“इतिहासको विभिन्न कालखण्डका प्रजातान्त्रिक आन्दोलन, लोकतान्त्रिक आन्दोलन वा गणतन्त्र स्थापनाको समयमा मात्र नभई जनयुद्धको समयमा पनि प्रेसले महत्त्वपूर्ण योगदान गरेको छ । शान्ति प्रक्रियाको चरणमा पनि नेपाली प्रेसले सकारात्मक योगदान गरेको मेरो विश्लेषण छ ।”

नेपाली प्रेसको वर्तमान अवस्था, यसले भोगिरहेका चुनौती र समस्याहरूका बारेमा सरकार जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भूकम्प, नाकाबन्दी, कोभिड–१९ हुँदै पछिल्लो आर्थिक मन्दीसम्म पुग्दा नेपाली मिडिया उद्योग आर्थिकरूपमा कमजोर बन्न पुगेको बताए। 

श्रमजीवी पत्रकारका समस्या चाहे जसरी सम्बोधन नभइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले पत्रकारको दक्षता अभिवृद्धि गर्न, वृत्ति विकासको अवसर सिर्जना गर्न र स्वास्थ्य उपचारलगायत सामाजिक सुरक्षाको निम्ति ठोस कदम चालिने बताए। 

“आमसञ्चार क्षेत्रको पुनर्संरचनाको निम्ति केही नीतिगत आधार तयार भए पनि कानुन तथा संरचना निर्माण गर्नुपर्ने आवश्यकता छ,” प्रधानमन्त्री प्रचण्डले भने, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलगायतका विषयमा सरकार गम्भीर छ र तिनको सम्बोधन गर्न प्रयासरत छ ।” उनले पत्रकारिता क्षेत्रमा उठेका कतिपय विषयहरू आगामी नीति तथा कार्यक्रम र बजेटमार्फत् सम्बोधन गरिने जानकारी दिए। 

“पत्रकारको दक्षता बृद्धिका लागि प्रशिक्षण प्रतिष्ठानको स्थापना, श्रमजीवी पत्रकार तथा कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने विषय, विज्ञापनको सवाल, बीमाको विषय, मिडिया उद्योगले भोगिरहेको आर्थिक सङ्कटको सम्बोधनजस्ता विषयलाई प्राथमिकतामा राखेर अघि बढाइने छ,” प्रधानमन्त्रीले भने। 

अब घरबाटै कन्सुलर सेवाः परराष्ट्रमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने गरी काम गरिरहेको बताएका छन् । विदेशमा बसेका नेपालीले आफ्ना गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत सहजै दर्ता गराउन सक्ने गरी कन्सुलर सेवा विभागले आजदेखि काम सुरु गरेको नयाँ ‘मोडयुल’को शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन्। उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकारले प्रारम्भदेखि नै जनतालाई सार्वजनिक सेवा सहज र सरल रूपमा प्रदान गर्ने प्रतिबद्धताअनुसार काम गर्दै आएको उनले बताए। ‘सूचना प्रविधिको प्रयोग गरेर घरमै सरकारका सेवा छिटो, छरितो त्रुटिरहित रूपमा प्रदान गर्न हामीले यो सेवा प्रारम्भ गरेका हौँ,’ उनले भने।  यो सेवा प्रारम्भपछि विदेश बस्ने नेपाली नागरिकले घरमै बसेर आफ्नो समस्या र गुनासो व्यक्त गर्न पाउने र समाधानका सम्बन्धमा भएको सम्बोधनसमेत अनलाइनबाटै जानकारी लिन सक्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए। विभागले यसअघि सरकारको प्रतिबद्धताअनुसार अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र लिन सकिने व्यवस्था गरिसकेको छ। कार्यक्रममा विभागका महानिर्देशक प्रकाशमणि पौडेलले नयाँ ‘मोडयुल’को सेवाका बारेमा जानकारी गराएका थिए। ‘उक्त मोडयुलमा कुनै पनि सेवाग्राहीले राहदानी नं र जन्ममिति प्रविष्ट गरेपछि नयाँ ‘फोल्डर’ निर्माण हुन्छ । फोल्डरमा आफ्ना समस्या र गुनासा लेख्न मिल्ने तथा सम्बोधनका बारेमा समेत जानकारी पाइने व्यवस्था गरिएको छ,’ उनले भने।   महानिर्देशक पौडेलले विदेशमा रहेका दूतावासमा सीमित कर्मचारीबाट धेरै सेवाग्राहीका काम गर्न यो प्रविधिको सुरुआत गरिएको जानकारी दिए । 

प्रहरीको विकल्प सुधारिएको प्रहरीः गृहसचिव अर्याल

काठमाडौं । गृहसचिव एकनारायण अर्यालले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै प्रहरीलाई निर्देशन दिएका छन् । गृहसचिव एकनारायण अर्याललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए  कार्यक्रममा गृहसचिव अर्यालले समाजमा शान्ति सुव्यवस्था कायम गर्ने, अपराध अनुसन्धान एवम् नियन्त्रणमा नेपाल प्रहरीले कुशलतापूर्वक कार्य गरिरहेको चर्चा गर्दै वर्तमान अवस्थामा देखिएका चुनौतिहरूको समाधानका लागि सबै प्रहरी कर्मचारीहरूको पूर्ण सहयोगको अपेक्षा रहेको बताए ।  नेपाल प्रहरीको विकल्प भनेको सुधारिएको नेपाल प्रहरी नै रहेको भन्दै गृहसचिव अर्यालले भने, “समग्र गृह प्रशासनलाई समसामाहिक हिसाबमा रूपान्तरण गर्नुपर्ने छ । अहिले भएका कार्यसम्पादनबाट हामी आफै पनि सन्तुष्टि छैनौं । जनताहरू पनि सन्तुष्टि भएका अवस्था छैनन् । हाम्रा कार्यशैलीमा परिवर्तन गर्नुपर्ने छ र अबका दिनहरूमा गृह प्रशासनमा नयाँ ढंगले काम गर्नुपर्छ भन्ने आफ्नो मन र मस्तिष्कमा राख्नुहोला ।”   गृहसचिव अर्यालले मुलुकको आन्तिरक सुरक्षा र व्यवस्थालाई सबल र प्रभावकारी बनाएको खण्डमा नागरिकहरूले स्वतन्त्रता पूर्वक आफ्नो व्यक्तित्व निर्माण गर्नका लागि शान्तिपूर्ण वातावरण सिर्जना भई आम नागरिकमा सुरक्षाको अनुभूति हुने बताउँदै विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्नेमा जोड दिए ।  प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा तथा वृत्ति विकासमा सांगठनीक प्रणाली अन्तर्गत हुनुपर्ने उल्लेख गर्दै प्रहरी कर्मचारीहरूको पिरमर्का, गुनासोहरूको सम्बोधनको लागि सम्बन्धित कार्यालय प्रमुखहरू क्रियाशील हुनुपर्ने उनले बताए । नागरिकसँग सम्बन्धित ऐन, कानूनको अध्ययन गरी सेवाग्राहीलाई सोही अनुरूपमा सेवा प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।  गृहसचिव अर्यालले शून्य सहनशिलताको नीतिलाई अबलम्बन गर्नुपर्ने, चेन अफ कामण्डको उचित कार्यान्वयन गर्नुपर्ने बताउँदै तस्करी नियन्त्रण एवम् राजश्व चुहावट नियन्त्रणमा अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै थप सक्रिय भएर कार्यसम्पादन गर्नुपर्ने बताए ।  नैतिकवान र प्रविधियुक्त प्रहरी आवश्यक रहेको चर्चा गर्दै उनले भने, “राम्रो काम गर्नलाई डराउनुपर्दैन । व्यावसायिक, उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुहोस् ।”  कार्यक्रममा गृहसचिव एकनारायण अर्याल समक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको कार्ययोजना, २०८०, लागूऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना, २०८०र०८१, प्रहरी कर्मचारीको सरूवा सम्बन्धी मापदण्ड २०७९ (प्रथम संशोधन,२०८०), नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको संग्रह भाग १ र भौतिक सबुद संकलन र संरक्षण सम्बन्धी दिग्दर्शन पुस्तक प्रदान गरे  ।  सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यका प्रचलित ऐन कानूनको कार्यान्वयन, नागरिकको जीउ, धन र संवैधानिक हक अधिकारको संरक्षण र आम नागरिकमा कानुनको सर्वोच्चता र शान्ति सुरक्षाको प्रत्याभूति गराउँदै न्यायपूर्ण व्यवस्था कायम गर्न तालुक गृह मन्त्रालयको प्रत्यक्ष सुपरिवेक्षणमा रही समृद्ध, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणमा, समग्र नेपाल प्रहरी संगठन र आबद्ध सकल दर्जा कटिबद्ध रहेको बताए ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।  

यौन चाहना र खानेकुराबीच कस्तो छ सम्बन्ध ?

मानिसहरूले यौन स्वास्थ्यलाई विशेष गम्भीरताका साथ लिने गरेका छन् । कुनै विशेष प्रकारको खाद्य पदार्थले कामेच्छामा सकारात्मक प्रभाव पार्छ भन्ने कुरा पप्रमाणित हुने हो भने त्यस्तो खाद्यवस्तु उच्च मूल्यमा तत्काल बिक्री हुनेछ । राम्रो यौन स्वास्थ्यका लागि सन्तुलित आहार, सक्रिय जीवनशैली र राम्रो मानसिक स्वास्थ्य आवश्यक पर्दछ । तर के यस्ता कुनै विशेष खाद्य पदार्थ छन् जसले प्राकृतिक रूपले यौन क्षमता बढाउन सकियोस ? मानव इतिहासमा लामो समयदेखि यौन क्षमता बढाउने कुरा चिकित्सकीय चासोको विषय रहिआएको छ । कतिपय समाजहरूमा चिशेष प्रकारका कह्द्य सामग्रीहरूलाई यौन स्वास्थ्यवर्धक भनेर बुझिने गरेको छ । बिबिसीमा पप्रकाशित यस आलेखमा केही खानेकुरा र तिनको यौन क्षमतामा प्रभावसम्बन्धी मान्यताको बारेमा चर्चा गरिएको छ । सी-फुडको प्रयोग र यौन स्वास्थ्य इतिहासमा क्यासानोभा भन्ने एकजना प्रेमीको चर्चा हुने गरेको छ । आफ्नो समय निकै प्रख्यात प्रेमीको रूपमा चिनिएका उनले खाजामा ५० सिपी खाने गरेको बताइन्छ । क्यासानोभा १८ औं शताब्दीका प्रख्यात इटालियन नाविक हुन् र उनको नाम उनका साहसपूर्ण समुद्री यात्राका साथै उनका प्रेम सम्बन्धका लागि समेत लिने गरिन्छ । धेरैले भन्ने गरे अनुसार उनले धेरै महिलाहरूसँग सम्बन्ध स्थापित गरेका थिए । यसो भनिने गरे तापनि सिपी नै खाएर यौन शक्ति बढ्ने कुनै प्रमाण भने छैन । चिकित्साशास्त्रमा यसको कुनै उल्लेख नै छैन । यसो हुँदाहुँदै पनि क्यासानोभाले सिपी खाने गरेको हल्ला चाँहि कसरी फैलियो त ? ग्रीसेली मान्यता अनुसार प्रेमकी ग्रीसेली देवी एफ्रोडाइटको उत्पत्ति समुद्रबाट भएको थियो । त्यसैले पनि समुद्री भोजनलाई यौन क्षमता बढाउने भोजनका रूपमा मान्ने गरिएको हुन सक्छ । सिपीमा जस्ता (जिङ्क) पाइन्छ । जस्ता टेस्टोस्टेरोन उत्पादनका लागि आवश्यक पोशाक तत्त्व पनि हो । एउटा शोधमा जस्ताले शुक्रकीटहरूको गुणवत्ता बढाउने भएकाले यसलाई पुरुषको बाँझोपनको उपचारमा प्रयोग गर्न सकिन्छ । त्यस्तै जस्ताक अन्य स्रोतमा सेलफिस, रातो मासु, फर्सी, तिल, काजु-बदाम, दूध, केराउ, पनीर र सिमी (राजमा) जस्ता खाद्य पदार्थ रहेका छन् । डार्क चकलेटको कस्तो छ प्रभाव? शोधकर्ताहरूले डार्क चकलेटले मानिसमा प्रेम गर्ने भावना उत्पन्न हुने बताएका छन् । यसमा फिनाइल इथेलामाइन (पीइए) नामक रसायन हुने गर्छ । यसलाई ‘लभ केमिकल’ पनि भन्ने गरिन्छ । पीइए मानव शरीरले प्रेम सम्बन्ध स्थापना भएको केही महिनामा उत्पादन गर्न थाल्दछ । यसले डोपामाइन जस्ता हार्मोनको उत्सर्जनमा मद्दत पुऱ्याउँछ र मानव मस्तिष्कभित्र आनन्द र खुसी नियन्त्रण गर्ने केन्द्रलाई उत्तेजित पर्ने गर्दछ । तर चकलेटमा पाइने पीइएको मात्रा निकै कम हुने भएकाले यो चकलेट खाइसकेपछि पनि सक्रिय रहिराख्छ भन्ने कुरामा भने शंका रहेको छ । यसका साथै धेरैले चकलेटको प्रमुख घटक कोकोओले शरीरमा रक्त प्रवाह बढाउने र खुसी बनाउने हार्मोन सेरोटोनिनको स्तरलाई बढाउने गर्दछ । चकलेट र यौनबीचको सम्बन्ध कति पुरानो ? स्पेनी खोजकर्ता एर्नान कोर्तेसलाई चकलेट पत्ता लगाउने पहिलो युरोपेली भन्ने गरिन्छ । उनले लामो समय अमेरिकी महाद्वीपका माया र एजटेक साम्राज्यमा बिताए । उनले स्पेनका राजा कार्लोस प्रथमलाई एउटा पत्र लेखेर मायामा पिउने गरेको कोकोआ चकलेटको बारेमा आफूले बुझिराखेको र यसमा ‘थकानसँग लड्ने तथा रोग प्रतिरोधात्मक क्षमता’ समेत भएको उल्लेख गरेका थिए । हुन सक्छ स्पेनीहरूलाई चकलेटका चिकित्सकीय फाइदाहरूबारे पत्यार लाग्यो होला । तर मायाका नागरिकहरूले भने यस्तो मान्ने गरेको प्रमाण भेटिएको छैन । साथै माया साम्राज्यमा चकलेटको प्रयोग यौन शक्ति बढाउन गर्ने गरिएको समेत कुनै प्रमाण भेटिएको छैन । चकलेटमा पाइने ट्रिप्टोफ्यानले तनाव र अवसादसँग लड्न सहयोग गर्ने गर्दछ । यसका अन्य स्रोतमा साल्मोन माछा, अण्डा, पालुंगो, बदाम र भट्मास पर्दछन् । के खुर्सानी यौन क्षमताबर्धक छ ? अध्ययनहरूले खुर्सानीमा क्यापसाइसिन हुने बताएका छन् । यसले शरीरमा एंडोर्फिनको मात्रा बढाउने बताइन्छ । यो मानिसलाई खुसी राख्ने एउटा अर्को हार्मोन हो । यसका अतिरिक्त यसले शरीरमा मेटाबोलिज्म दुरुस्त पार्दछ र शरीरको तापमान र हृदय गति समेत बढाउने गर्दछ । यस्तो अनुभव यौनक्रियाका क्रममा गर्ने गरिन्छ । यौन क्षमता र रक्सीको सम्बन्ध ? रक्सीले संकोच कम गरेर इच्छाहरूमा बढोत्तरी त गर्न सक्ला तर यसले यौन क्षमतामा सकारात्मक प्रभाव भने पार्दैन । धेरै रक्सी पिउने महिला तथा पुरुषमा बिस्तारै भावुकता कम हुने समेत शोधहरूका नतिजाले देखेका छन । साथै यसले यौन क्षमतामा ह्रास ल्याएर नपुंसकताको स्थिति ल्याउन सक्छ । कसरी कम गर्ने नपुंसकता ? केही शोधहरूले केही फ्लेभोनोइड्स (बोटबिरुवाबाट बनेका) युक्त समृद्ध खाद्य पदार्थले नपुंसकता कम गर्ने बताएका छन् । अध्ययनहरूमा ब्लुबेरी र त्यस्तै अन्य अमिलो फलफुलमा पाइने एंथोसायनिनमा नपुंसकता रोक्ने गुण हुने गर्दछ । फ्लेभोनोइड्सयुक्त खाद्य पदार्थ र नियमित व्यायामले नपुंसकताको समस्या २१ प्रतिशतसम्म कम गर्न सकिने अध्ययनमा देखिएको छ । केही शोधहरूले नपुंसकता रोक्न र सहज यौन क्रिया जारी राख्न सन्तुलित आहारको ठुलो भूमिका हुने बताएका छन् । यसमा अप्रशोधित अन्न, फलफुल, तरकारी, ओखर जस्ता तैलीय सुक्खा फल र जैतुनको तेल सामेल छन् । एंथोसायनिन नामक पदार्थको पनि यसमा ठुलो भूमिका हुन सक्छ । यसका अन्य स्रोतहरूमा चेरी, ब्ल्याकबेरी, क्र्यानबेरी, रास्पबेरी, अंगूर र रातो बन्दा रहेका छन् । यौन इच्छा बढाउने खाद्यसामग्रीलाई अंग्रेजीमा ‘एफ्रोडिजियेक्स’ भन्ने गरिन्छ । यो शब्दको उत्पत्ति ग्रीसेली देवी एफ्रोडाइटको नामबाट भएको हो । यौनलाईतीन श्रेणीमा राखिने गरेको छ: कामेच्छा, यौन सम्पर्क राख्न सक्ने शक्ति र यौन सुख । विश्वसनीयतामा प्रश्न  तर यस प्रकारका खाद्यपदार्थले मानिसमा काम गर्छन या गर्दैनन भन्ने कुरा वैज्ञानिक रूपमा प्रमाणित हुन् सकेको छैन । वास्तवमा, एक मात्र एफ्रोडिजिएक्स खानाले काम गर्ने गरेको पुष्टि हुन सकेको छ त्यो पाकेका र सडेका फलहरूको गन्ध हो । यौन स्वास्थ्यका विशेषज्ञ डा. क्रिकम्यान मानिसहरू कामोत्तेजक खाद्य पदार्थको सेवन गर्ने कारण तिनले काम गर्लान भन्ने विश्वास रहेको बताउँछन् । उनको सुझाव छ यदि कुनै खाद्यपदार्थले सकारात्मक नतिजा देखाउँछ भने यसले कसरी काम गर्दैछ भन्ने कुराले अर्थ राख्दैन । धेरै खालका कामोत्तेजक खाद्यपदार्थ छन् । कतिपयले विभिन्न वनस्पतिको चोप या अन्य त्यस्तै पदार्थ सेवन गर्ने सुझाव समेत दिने गर्छन् । तर यस्ता चीजले फाइदा या नोक्सान के गर्छन् भन्ने कुराको टुंगो नलागेसम्म यिनको सेवन नगर्नु नै बुद्धिमानी हुन्छ । यदि कुनै मानिसमा यौन चाहना या शक्तिको कमी छ भने यो विशुद्ध चिकित्सकीय समस्या हुन सक्छ र चिकित्सकको परामर्श अनुसार उपचारपश्चात टीक हुन सक्छ ।  

फर्केर हेर्दा : दशवर्षे जनयुद्धमा महिला

जनयुद्ध शुरु हुनुभन्दा ८० वर्षअघि रुसको सफल क्रान्तिको नेतृत्व गर्ने साम्यवादी नेता लेनिनले क्रान्तिको सफलता उक्त क्रान्तिमा महिलाको कस्तो सहभागिता छ, त्यसले निर्धारण गर्छ भनेका थिए । लेनिनले भनेजस्तै नेपालको जनयुद्धको सफलताका पछाडि महिलाहरुको महत्वपूर्ण भूमिका थियो भन्ने यथार्थमा कसैको दुईमत हुन सक्दैन । अपमान र उत्पीडन नेपालका महिला सदियौंदेखि दोश्रो दर्जाको नागरिकसरह बाँचिरहेका थिए÷छन् । ग्रामीण भेग र तराईमा त महिलाको स्थिति कहाली लाग्दो थियो र अभै पनि छ । नेपाली समाजमा महिलालाई अबला भनिन्थ्यो÷भनिंदैछ र धेरै नेपाली नारीको आफ्नो पहिचान नै थिएन÷छैन । उनीहरु सुरुमा बाबुको नामबाट, त्यसपछि श्रीमानको नामबाट र जीवनको उत्तरार्धमा छोराका नामबाट चिनिन बाध्य थिए÷छन् । विश्वका धेरै महिलाहरुजस्तै नेपालका महिलाहरु पनि अरु धेरै उत्पीडनका अलावा पितृसत्तात्मक समाजको उत्पीडन सहन बाध्य थिए÷छन् । ती अभाव, अपमान र आत्मसम्मानहीन जीवन बाँचिरहेका थिए । ती बोले पोथी बासेको भनिन्थ्यो, तिनले पढे पोइल जान्छन् भनिन्थ्यो, ती हाँसे बेश्या हुन्छन् भनिन्थ्यो नेपालमा महिला खासगरी ‘बुहारी’ बन्ने महिलालाई होच्याउने, खिज्याउने गरी बनाइएका कैयौं उखान छन् । छोरो नजन्मिए महिलालाई दोषी ठह¥याइन्छ जबकि त्यसमा पुरुष जिम्मेवार हुन्छ । त्यसका अलावा बाल, बहु र अनमेल विवाहबाट पनि पीडित हुने महिलाहरु नै हुन् । दाइजो, देउकी, झुमा, कुमारी, छाउपडी, वादी प्रथाहरुले नेपालमा महिलामा झन् उत्पीडन थपिदिएको थियो । नेपालका हजारौं युवतीहरुलाई बेश्यावृत्तिमा लगाउनका लागि दलालहरुले भारतका विभिन्न शहरमा रहेका बेश्याकोठीमा लगेर बेचिदिन्थे÷बेचिदिन्छन् । शहरीकरण बढ्दै जाँदा शहरहरु र सडक मार्गवरिपरि बेश्यावृत्ति गर्न धेरै यृवतीलाई बाध्य बनाइएको थियो÷छ । त्यसका अलावा विभिन्न सुन्दरी प्रतियोगिता, फेसन सो, मसाज केन्द्र, क्याविन रेष्टुरेन्टका आधुनिक आवरणमा महिलाहरु नै पीडित बनेका थिए÷छन् । त्यसो त नेपालका कैयन राष्ट्रवादी युद्ध एवम् राज्यसत्ताविरोधी विद्रोहमा महिलाहरुले आफ्नो साहसको प्रदर्शन गरेका छन् । अङ्ग्रेजविरुद्ध लडिएको नालापानीको मोर्चामा पुरुषसँगै महिला र केटाकेटीले पनि योगदान गरेका थिए । वि.सं. १९९८÷९९ तिर योगमायाले महिला विद्रोह उठान गर्न खोजेकी थिइन । २०३६को विद्रोह होस् वा २०४६को जनआन्दोलन महिलाहरु ठीक समयमा अगाडि आएका छन् । महिलामा समस्या र अधिकारको सही दृष्टिकोण विश्व इतिहासमा महिलामाथिको उत्पीडन र त्यसबाट मुक्तिका बारेमा गम्भीर र वैज्ञानिक विश्लेषण साम्यवादका प्रवर्तक कार्ल माक्र्सले गरेका थिए । माक्र्स स्वयम्ले मजदुरहरुको अन्तर्राष्ट्रिय संघको गठन पहल गरेर सन् १८६४मा महिलाका समस्याहरु किटान गर्दै उनीहरुको अधिकारका लागि उद्घोष गरे । साम्यवादी घोषणापत्र लेखनमा माक्र्सका सहकर्मी फ्रेडरिक एंगेल्सले मातृसत्ताको पतन महिलाहरुको ऐतिहासिक पराजय भएको बताएका थिए । उनले त्यसपछि महिलालाई मनोरञ्जनको साधन, बच्चा जन्माउने मेसिन र पुरुषको दासको स्तरमा अवमूल्यन गरिएको विश्लेषण गरे । त्यसपछिका सबैजसो कम्युनिष्ट क्रािन्त एवम् तिनको नेतृत्वले महिला अधिकारको पक्षमा महत्वपूर्ण कदमहरु चालेका छन् । सन् १९१७मा रुसमा क्राति हुनेवित्तिकै महिलाहरुलाई पुरुष सरह अधिकार दिइएको थियो । भियतनामका कम्युनिष्ट नेता हो चि मिन्हले महिलालाई युद्धको ‘पावरहाउस’को रुपमा व्याख्या गरेका छन् । विश्वका सबै समाजवादी क्रान्तिहरुमा महिलाको सहभागिता उल्लेखनीय छ । हरेक वर्ष मार्च ८ मा मनाइने श्रमिक महिला दिवस समाजवादी महिला नेतृहरुको संघर्षको प्रतिफल हो । जनयुद्ध संघर्ष कम्युनिष्ट पार्टीहरुले वि.सं ३०को दशकदेखि महिलाहरुलाई संगठित रुपमा सक्रिय गराउने हेतु भिन्नै मोर्चा बनाएर सक्रिए गराए । २०४६को परिवर्तनपछि महिलाहरुले आफ्नो अधिकारको संघर्षलाई थप व्यापक बनाए । त्यसका अरु धेरै मागहरुका अतिरिक्त पैतृक सम्पत्तिमा छोरासरह छोरीलाई अधिकार हुनपर्ने एउटा प्रमुख माग थियो । २०५२ पाmगुन १ गते जनयुद्ध शुरु गर्नुअघि तत्कालिन राज्यपक्षलाई नेकपा(माओवादी)ले बुझाएको मागपत्रको महिलासम्बन्धी बुँदामा यस्तो थियो – ‘महिलामाथिको पितृसत्तात्मक शोषणको अन्त्य गरिनु पर्छ । छोरीलाई छोरासरह पैतृक सम्पत्तिमाथि समान अधिकार दिइनुपर्छ ।’ जनयुद्धको तयारीको क्रममा भएका देशब्यापी आसमभा, विभिन्न जागरण अभियानहरु र साँस्कृतिक कार्यक्रमहरुमा हज्जारौं महिलाहरु परिचालित भए । नेकपा (माओवादी)ले योजनावद्ध रुपमा महिलाहरुलाई आन्दोलनमा र युद्धमा परिचालन गर्ने योजना बनायो । २०५१ सालमा सो पार्टीको वैधानिक मोर्चा (संयुक्त जनमोर्चा)का अध्यक्ष पदमा महिला, पम्फा भुसाललाई मनोनित गरेर माओवादीले महिलाहरु पार्टी नै हाँक्न सक्षम भएको देखाइदियो । भुसाल सम्भवतः नेपालका कुनै राजनीतिक पार्टी (निर्वाचन आयोगमा संयुक्त जनमोर्चाका रुपमा दर्ता थियो)को प्रमुख बन्ने पहिलो महिला हुनुहुन्थ्यो । जनयुद्ध शुरु गर्नुअघि माओवादीले ‘महिलाहरुमाथि पैतृक सम्पत्तिलगायतका आर्थिक, राजनीतिक र सामाजिक जीवनका सबै क्षेत्रमा रहेका सामन्ती पितृृसत्तात्मक थिचोमिचो र भेदभाव एवं अन्धविश्वासका विरुद्ध समान अधिकार निमित्त संघर्षका नाराहरु तय गर्न दस्तावेजमै उल्लेख गरेको थियो । जनयुद्धको तयारीका लागि ग्रामीण भेगमा माओवादीले ‘वर्गसंघर्षको अभ्यास’ गर्न थालेपछि महिलाहरुले त्यसमा आफ्नो उपस्थिति देखाउन थालेका थिए । मध्यपश्चिम नेपालका विभिन्न जिल्लामा महिलाहरुले सैन्य तालिमहरुमा उत्साहपूर्वक भाग लिए र बन्दुक पड्काउने अभ्यास गरे । मध्यपूर्वकोे एउटा जिल्ला सिन्धुपाल्चोकको कुविण्डेमा एक जना शिक्षकलाई पक्रन गएका प्रहरीहरुलाई महिलाहरुले खेदिदिए र प्रतिरोधको एउटा इतिहास रचे । उक्त घटनापछि सो गाउँमा भएको व्यापक प्रहरी दमनमा महिला र केटाकेटीले सास्ती भोगे । दर्जनौं महिला महिनौं जेल परे तर एकजना पनि प्रहरी प्रशासनको अगाडि झुकेनन् । कुविण्डेमा महिलाको साहस र विभिन्न रुढीवादी संस्कारमा समेत परिवर्तन गर्न उनीहरुले देखाएको तत्परताका बारेमा एकजना कवि पुष्पकिरणले ‘कुविण्डे र महिला’ भन्ने शिर्षकमा लेखेको कविता यस्तो थियो – सुनको सिक्री नपाएर अचेल रुँदैनन् महिलाहरु अव सहनशीलताको प्रतिमूर्तिहरु हैनन् महिलाहरु अब आँशु होइनन् महिलाहरु मासु, मुस्कान र चुरापोते होइनन् महिलाहरु महिला त क्रान्ति हुन, रणचण्डी र आगोका लप्का हुन् स्वाधीन बन्ने चाहना अब संग्राम हुन महिलाहरु मैले जुगल हिमाललाई सोधें – को हुन महिलाहरु जुगल मुस्कुराएर भन्छ – प्यारा कमरेड हुन महिलाहरु हेरन उ ‘सिन्धुपाल्चोक कुविण्डे ! ’ जनयुद्धमा सहभागिता २०५२ मा जनयुद्धको घोषणा गर्ने क्रममा १९ जनाको केन्द्रीय समितिमा एक जना केन्द्रीय सदस्य महिला थिइन् र पूर्णकालीन भएका करिव एक सयजना अगुवा कार्यकर्ताहरुमा एक दर्जनजति महिला थिए । जनयुद्ध घोषणा गर्नै आयोजित विभिन्न प्रहरी चौकीहरुमा कारवाहीको क्रममै महिला सहभागिता भएको थियो । जनयुद्ध अघि बढ्दै जाँदा सरकारी दमन र माओवादीको योजना अनुसार महिलाहरु दिन प्रतिदिन जनयुद्धमा लामबद्ध हुँदै गए । खासगरी महिला र विद्यार्थी संगठनमा काम गरेका युवती पार्टीको योजनामा पूर्णकालीन हुन्थे । अन्य खासगरी पारिवारिक शोषणमा परेकाहरु थिए । कैयौं महिलाहरुले तिनका श्रीमान र परिवारविरुद्ध विद्रोह गरे र जनयुद्धको प्रक्रियामा हेलिए । प्रहरी वा सेनावाट हत्या गरिएका पुरुषका श्रीमति, अभिभावक वा दाजुभाइ गुमाएका महिला पनि आफ्ना मान्छेकाको हत्याको बदला लिन जनयुद्धमा सहभागी भए । यो अभियानमा राजनीतिक रुपमा सचेत महिलाहरु मात्र होइन सबैभन्दा उत्पीडित क्षेत्रका जस्तै थारु तथा मधेसी, दलित एवं जनजाति समुदायबाट पनि उल्लेख्य उत्साह र सहभागिता थियो । माओवादी जनयुद्ध यति व्यापक विस्तार हुन र महिलाहरुको सहभागिता सुनिश्चित हुनका लागि माओवादीको महिलाहरुप्रतिको वैज्ञानिक दृष्टिकोण, नीति र व्यवहार नै जिम्मेवार थियो । पुँजीवादीहरु जस्तो कम्युनिष्टहरु महिलालाई वस्तु र मनोरञ्जनको साधनका रुपमा व्यवहार गर्दैनन् बरु उनीहरुलाइै जीवनका सबै आयामहरुमा समान हिस्सेदार ठान्छन् । माओवादीको यस्तै नीति मन पराएर शिक्षा, सम्पत्ति र अवसरको मौका छोडेर ‘उत्पीडित जनताको मुक्ति’को उद्देश्य बोकी सयौं ‘हुनेखाने’ परिवार र वर्गका युवती पनि जनयुद्धमा होमिए । माओवादी जनयुद्धमा संलग्न भएका महिलाहरुमा अधिकांश किशोरीहरु तथा युवती थिए । यसो हुन किन पनि स्वभाविक थियो भने युवा नै बढी विद्रोही र परिवर्तनमुखी हुन्छन् । त्यसैगरी बिहेवारी गरेर ‘घर बसाइसकेका’ महिलालाई परिवार सन्तान छाडेर हिंड्न त्यति सजिलो कुरा हुँदैन जति अविवाहित युवती वा किशोरीहरुलाई हुन्छ । जनयुद्धमा सहादत प्राप्त गरेका महिलाहरुको जीवनी समेटेर अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले २०६२ चैत्रमा प्रकाशित गरेको ‘महिला सहिद गाथा’ नामक पुस्तक हेर्दा अधिकांश महिलाहरु वि.सं. ३०को दशकको उत्तरार्ध र ४०को पूर्वार्धमा जन्मिएका थिए जो १८ देखि २५ वर्षभित्रका थिए । जनसेना महिला माओवादी जनयुद्धमा महिलाको सहभागिताको प्रभाव त्यसको सैन्य संगठनमा पनि पर्नु स्वभाविकै थियो । नेपालको पुरानै राज्यव्यवस्थाको सैन्य संरचनामा स्वास्थ्यकर्मी र कार्यालय सहयोगी बाहेक लड्ने मोर्चामा महिलालाई भर्ती लिइन्नथ्यो । त्यसकारण औपचारिक रुपमा महिलालाई सैन्य संरचनामा समावेश गर्ने नीति नेपालमा माओवादीले लियो । माथि उल्लेख गरिएजस्तै जनयुद्धअघिदेखि नै प्रतिरोध र सैन्य कारवाहीमा महिला सहभागी भए । पछि लडाकू दल र छापामार दलहरुमा महिला सदस्य तथा नेता हुँदै गए । माओवादी जनयुद्धभरि सैन्य क्षेत्रमा जिम्मेवारी निर्वाह गरेका जनसेनाका कमाण्डर नन्द किशोर पुन ‘पासाङ’द्वारा लिखित ‘इतिहासका रक्तिम पाइला’ पुस्तकमा केही प्रतिनिधिमूलक कारवाहीमा कति महिला सहभागी थिए भन्ने उल्लेख गरिएको छ । पासाङका अनुसार २०५६ को वैसाखमा रोल्पाको जेलवाङ गाविसमा रहेको दङ्गा प्रहरीको बेस क्याम्पमा आक्रमण गर्दा छ जना महिला एसल्टमा थिए भने रुकुमको तकसेरामा सोही सालको चैत्रमा कारवाही गर्दा २१ जना थिए । उता जाजरकोटको पाँचकटियमा आक्रमण गर्दा २५ जना महिला सहभागी थिए । २०५८ मंसिरमा दाङको सदरमुकाम घोराहीमा आक्रमण गर्दा ६८ जना महिला एसल्टमा खटिएका थिए । २०५८ कार्तिकमा माओवादीले देशभरिका छापामार प्रतिनिधिहरुको केन्द्रीय भेलाले आयोजना ग¥यो र औपचारिक रुपमा जनमुक्ति सेना, नेपाल गठन ग¥यो । सो केन्द्रीय भेलामा २० प्रतिशत जति महिला थिए । भेलापछि औपचारिक रुप्मा बनेको सैन्य संरचनामा केही महिलाहरुले प्लाटुन कमाण्डर र कमिसारको जिम्मेवारी पाए । विस्तारै महिलाहरु माथिल्लो ओहदामा पुग्दै गए । २०६२को उत्तरार्धतिर महिलाहरु बिग्रेड कमिसार र बिग्रेड भाइस कमाण्डरसम्म बन्न सफल भएका थिए । २०६३ मंसिर ५ मा काठमाडौंमा शान्ति सम्झौता हुँदै गर्दा देशभरिका जनसेना अस्थायी शिविरमा जम्मा भए । केही महिना पछि तिनको दर्ता हुँदा करिब ३० प्रतिशत महिला थिए । २०५८ पछि जनसेनामा महिलाहरुको अनुपात ३०–३५ प्रतिशतका बीचमा रहिरह्यो । २०६३ बैशाखमा शान्ति प्रक्रियामा आएपछि धेरै महिलाहरुको जनसेनाको जिम्मेवारीबाट राजनीतिक जिम्मेवारी लिए । साहस र कीर्तिमान सामान्यतया महिलालाई कोमलता र अबलाका रुपमा लिने गरिन्छ । तर, माओवादी जनयुद्धमा यो सही होइन भन्ने पुष्टि भयो । जनयुद्धमा महिलाहरुको उल्लेखनीय सहभागिता नै आफैमा साहस थियो र कीर्तिमान पनि । अबला भनिएका महिलाहरु संघर्षको् मैदानमा जुटे, सैन्य कारवाहीहरुको अग्रमोर्चामा रहेर लडेर बलिदान दिए । जनयुद्धअघि सिन्धुपाल्चोकको कुविण्डेमा महिलाहरुले दखाएको साहसको जगमा जनयुद्ध अवधिभर कीर्तिमान थपिंदै गयो । जनयुद्धमा सबैभन्दा पहिलो माओवादीले कब्जा गर्न सफल बेथान प्रहरी चौकी आक्रमणका क्रममा मारिएका तीनजना माओवादी मध्ये एकजना महिला (दिलमाया तामाङ) थिइन । जनयुद्धको अवधिमा महिलाहरुले पुरुषभन्दा कम कायरता देखाए र हातमा गन्न मिल्नेले मात्र आत्मसमर्पण गरे । ग्रामीण भेगमा महिलाहरुले त अद्भुत साहस देखाए । ती झुक्दै झुकेनन् । तिनीहरुले बलात्कार सहे, यौन दुव्र्यवहार पचाउ र त्यसको बदला लिन युद्धमा हाम फाले वा युद्धलाई सघाए । २०५४ को चैत्रमा कालिकोटको मालकोट गाउँमा अपरेशनका लागि गएको प्रहरीको टोलीले महिलालाई दुव्र्यवहार गर्न थालेपछि महिलाहरुले त्यसको प्रतिकार गरे र प्रहरीलाई खेदे । महिलाको खेदाइमा केही प्रहरी भीरबाट लडेर मरे । महिलाले तिनका राइफल कब्जा गरे र माओवादीलाई बुझाइदिए । तर दुर्गम कालिकोटको उक्त अद्वितीय घटनाले त्यति राम्रो प्रचारप्रसार भने पाएन । त त्यो घटना नेपालका ग्रामीण भेग र दुर्गम क्षेत्रका महिलाहरुको साहसको परिचय थियो । माथि चर्चा गरिएजस्तै जनसेनामा लाबद्ध भएर २० हजारभन्दा बढी महिलाले युद्ध लडे । लडाईमा पनि अग्रमोर्चामा पुगेर तिनले प्रहरी र सेनालाई पराजित गरिदिए । यो आफैमा कीर्तिमान थियो । युद्धमा सबैभन्दा बढी पीडित महिला र केटाकेटी नै हुन्छन् । यो सार्वभौम यथार्थ हो । नेपालको जनयुद्ध त्यसको अपवाद हुन सक्दैन्थ्यो । जनयुद्धको क्रममा झण्डै चार हजार विधवा भए । हजारौं गिरफ्तार भए र सयौं अझै बेपत्ता छन् । जनयुद्धमा ज्यान गुमाउनेमध्ये नौजना माओवादीको भगिनी मोर्चा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय पदमा बहाल रहेकै अवस्थामा मारिएका थिए । जनयुद्ध अवधिभरमा झण्डै २५सय महिलाले आफ्नो जीवन गुमाए । महिलाका साहसका कथा यतिमै सकिंदैनन् । जनयुद्धको अवधिमा महिलाहरु संगठित रुपमा जेल तोडेर बाहिर निस्कन सफल भए । २०५७ सालमा गोरखा जिल्लाको सदरमुकाम गोरखा बजारमा रहेको कारागारमा बन्दी रहेका बेला उमा भुजेल, मीना मरहठ्ठा, कल्पना नहर्की, रिता विक, एञ्जिला विक र सञ्जु अर्यालले जेलभित्रबाट बाहिरसम्म निकास हुने गरी सुरङ खनेर स्वतःस्फूर्त रुपमा जेल तोडेर बाहिर निस्केका थिए । सम्भवतः संगठित रुपमा महिलाहरुले जेल तोडेको विश्वकै अति विरलाकोटी घटना हो यो । यसले जनयुद्धको अवधिमा महिलाको परिचयलाई बदल्न ठूलो भूमिका खेल्यो । जेल तोडेर निस्किएकामध्ये दुई जना मिना मरहठ्ठा र एञ्जिला विक पछि जनयुद्धको क्रममा सरकारी फौजबाट मारिए । १० वर्षपछिको परिवर्तन राजनीतिक आन्दोलन र क्रान्तिमा महिलाको उत्साहजनक सहभागिता आफैमा एउटा उपलब्धि हो । महिलाहरुले देखाएको रणकौशल, लगनशीलता, साहस बलिदान पनि एक उपलब्धि हो । महिलाहरुले उनीहरुमाथि लाग्दै आएको अबला र कायरको आरोपलार्ई असत्य सावित गरिदिए र महिलाको छुट्टै पहिचान बनाए । हुन त यो समयको पनि प्रभाव थियो, तर जनयुद्धमा महिलाको सहभागिताले कैयन अन्धविश्वासपूर्ण परम्पराको अन्त्य भयो । महिलाहरुको लवाइ खुवाइ, भेषभूषा, चुार, पोते एवम् अन्य अवैज्ञानिक परम्पराको परिवर्तन भयो । यसले खासगरी ग्रामीण भेगमा तीव्र उथलपुथल ल्याइदियो । उदाहरणका लागि ग्रामिण भेगका महिलाको भेषभूषाकै कुरा गर्दा पनि लुङ्गी, चोलो, फरियाजस्ता अप्ठ्यारा पहिरनहरुको सट्टा कुर्ता सलवार, सर्ट पाइण्ट नै लगाउन थाले जो सजिला र सुरक्षित थिए । साथसाथै उनीहरुको आत्मविश्वासमा पनि बढोत्तरी भयो । गाउँका महिलामा देखिएको आत्मविश्वास, राजनीतिक चेतना र साहस देखेर शहर एवम विदेशबाट गएका संचारकर्मी तथा बुद्धिजीविहरु दंग पर्थे । त्यसैगरी विभिन्न संस्कारहरुमा पनि परिवर्तन हुृँदै गइरहेको थियो । ग्रामीण भेगमा श्रीमान मारिएपछि जिन्दगीभर सेतो वस्त्र लगाएर बस्ने महिलाविरोधी परम्पराको अन्त्य हुँदै थियो । अमेरिकी पत्रकार ली अनेष्टोले २०५६ सालमा नेपालका माओवादी प्रभावित क्षेत्रहरुमा भ्रमण गर्दा देखेका महिलाको स्थितिलाई आफ्नो पुस्तक ‘डिस्प्याचेज फ्रम द पिपल्स वार इन नेपाल’मा यस्ताृे उल्लेख गरेकी छिन – क्रान्तिले महिलाहरुमाथि उत्पीडन गर्ने थुपै्र परम्पराहरुलाई हाँक दिइरहेको छ । उदाहरणका लागि छोराहरुलाई अति महत्व दिने, महिनावारी हुँदा छुन नहुने जस्ता व्यवहार गरिने, विधुवाहरुले बाँक्ी जीवन पुरै शोकमा विताउनु पर्ने परम्परामाथि चुनौती दिँदैछ । मैले लोग्नेहरु जनयुद्धमा मारिएका धेरै महिलाहरुले रातो लुगा, चुार र पोते लगाएको देखेकी छु, जुन वस्तु लगाएर श्रृंगार गर्नु विधुवा महिलाहरुलाई समाजमा प्रतिबन्ध छ । क्रान्तिले कतिपय परम्परागत चाडर्वलाई पनि फेर्न कोशिस गर्दैछ । जनयुद्धको क्रममा महिलाहरुले छोरासरह छोरीले अधिकार पाउने प्रावधानलाई सुनिश्चित गराए । २०६० सालमा तत्कालीन माओवादी सत्ताअन्तर्गत सार्वजनिक कानुनी संग्रह–२०६०ले महिलालाई पुरुषसरह सम्पत्तिमाथि अधिकार सुनिश्चित गराइदियो । यसलाई महिला संगठनले व्यवहारमा लागू गर्न संघर्ष गरे । २०६१ मा माओवादीको स्थानीय सत्ता चलेका ठाउँहरुमा कयौं अभिभावकले आफ्ना छोरीहरुलाई छोरा सरह अंश दिने निर्णय गरे । त्यसको निरन्तरतामा शान्ति सम्झौता हुनुअघि २०६३ कार्तिक २२ गते भएको उच्चस्तरीय राजनीतिक सहमतिमा महिलाहरुले पुरुषसरह पैतृक सम्पत्तिमा अधिकार पाए जसको दुई महिनापछि अन्तरिम संविधानमा ग्यारेण्टी भयो । जनयुद्धका क्रममा जनसेनामा महिला जनसहभागिता भएपछि तत्कालीन शाही सेनाले २०६१ पछि महिलाहरुलाई पनि लड्न फौजका रुपमा भर्ती गर्न थाल्यो । कुनै दुविधाविना भन्न सकिन्छ, यो माओवादी जनयुद्धको नै देन थियो । तर यति लामो र तीव्र उथलपुथलकारी क्रान्तिमा नेतृत्व तहमा महिलाहरुको पहुँच असाध्यै न्यून हुन गयो । जनयुद्ध सुरु गर्नुअघि केन्द्रीय समितिमा एकजना केन्द्रीय सदस्य थिइन र शान्ति सम्झौता हुँदा झण्डै ११ वर्ष पछि माओवादी केन्द्रीय समितिमा एक जना थपिएर केवल दुई जना मात्र महिला भए । जनयुद्धमा महिलाको सहभागिताको अनुपातमा नेतृत्व विकास हुन नसक्नु सम्भवतः जनयुद्धको ठुलो कमजोरी हो । नेपालमा महिलाले बन्दुक छोएमा त्यो बन्दुक पड्किंदैन भन्ने अन्धविश्वास थियो । तर झण्डै ११ वर्ष लामो जनयुद्धको क्रममा महिलाहरुले बन्दुक पड्काए र उक्त अन्धविश्वासलाई च्यातच्युत पारिदिए । निःसन्देह नालापानी युद्धपछि लडाकूका रुपमा महिलाको उल्लेखनीय सहभागिता भएको माओवादी जनयुद्ध नै हो । यसरी महिलाले गरिव देशका नारीहरु राजनीतिक रुपमा सचेत हुन सक्छन् भनेर विश्वलाई प्नि देखाइदिए । उनीहरुले कीर्तिमान खडा गरे र इतिहास रचे । -दिपक सापकोटाद्वारा लिखित ‘उथलपुथलका दशवर्ष’ पुस्तकबाट

अाजको सुनचाँदी मूल्य यस्तो छ !

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिर रहेको छ । आइतबार सुनको मूल्य ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार पनि सुनको मूल्य बढेर ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य भने स्थिर नै रहेको छ । साताको लगातार चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमै कारोबार भइरहेको छ ।

उमेरअनुसार यौनसम्पर्क कति पटकसम्म गर्दा राम्रो मानिन्छ त ?

कति पटक यौनसम्पर्क राख्ने भन्ने कुराको कुनै नियम छैन । यो पूर्ण रुपले तपाईंको खुशीमा भरपर्छ । तर, यो विषयमा भएको एक अध्ययनमा केही निश्कर्ष निकालिएको छ की उमेरअनुसार मानिसले कति पटकसम्म सेक्स गर्नुपर्छ भनेर । किन्जी इन्स्टिच्यूट अफ रिसर्च इन सेक्स, रिप्रोक्डशन एन्ड जेन्डरले गरेको अध्ययन अनुसार वर्षभरिमा कति पटक सेक्स गर्नु उपयुक्त हुन्छ भनेर सार्वजनिक गरेको छ । परिणाम निकै रोचक छ । अध्ययनमा १८ देखि २९ वर्षसम्म मानिसले वर्षमा औसत ११२ पटकसम्म यौन सम्पर्क राख्छन् । यस्तै ३० देखि ३९ वर्ष उमेर समूहका मानिसले वर्षमा औसत ८६ पटक सेक्स गर्ने गरेको पाइयो भने ४० देखि ४९ वर्ष उमेर समूहका मानिसले वर्षमा ६९ पटक सेक्स गरेको पाइयो ।विवाहपछिको नतिजा अचम्मको कुरा यो थियो की १३ प्रतिशत नवविवाहिता जोडी यस्ता थिए जसले वर्षभरिमै सेक्स गर्न कम गरिसकेका थिए । त्यस्तै ४५ प्रतिशत दम्पतीले महिनामा कहिलेकाही मात्रै सेक्स गर्ने गरेका थिए । फ्रिक्वेन्सी कम हुनुको कारण विवाहपछि सेक्सको ‘फ्रिक्वेन्सी’ कम हुनुको कारण जिम्मेवारी बढ्नु पनि हो। जस्तैः हेक्टिक वर्क सेड्युल, घरको काम आदि । एक्सर्ट्सका अनुसार उमेर बढ्नुको साथै मानिसमा रोगले पनि आक्रमण गर्न थाल्छ जसले सेक्सप्रतिको इच्छा कम हुँदै जान्छ । के भन्छ अरु तथ्यांकले ३४ प्रतिशत मानिसले सातामा दुईदेखि तीन पटकसम्म सेक्स गरेको स्विकारे । सात प्रतिशतले सातामा चारदेखि पाँच पटकसम्म सेक्स गर्न रुचाउँथे । याद राखौँ माथि दिइएको तथ्यांकबाट आफ्नो सेक्स लाइफको तुलना गर्नु भन्दा पहिले लामो सास लिनुस् र यो ध्यान राख्नुस की सेक्सको अर्थ मिल्ने साथीसँग राम्रो समय बिताउनु पनि हो । जबसम्म तपाईं र तपाईंको पार्टनर सेक्सबाट सन्तुष्ट बन्छन त्यसले फरक पार्दैन की कति समयसम्म सेक्स गर्नुपर्छ भनेर । एजेन्सीको सहयोगमा

नेप्से ३२ अंकले बढ्यो, कारोबार रकम घट्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से ३२ अंकले बढेको छ । नेप्से १.२६ प्रतिशतले बढेर २५६८।११ को विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम बुधबारको तुलनामा दुई अर्ब सात करोडले कम हो । बिहीबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ । ९६ कम्पनीको सेयर मूल्य घट्दा तीन कम्पनीको स्थिर छ । साताको अन्तिम कारोबार दिन तीन करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर किनबेच भएको छ । चार उपसमूहको समूहगत परिसूचक घटेको छ भने, बाँकी ९ वटाको परिसूचक बढेको छ ।  सबैभन्दा धेरै कमाउनेमा उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् । यस कम्पनीको सेयर मूल्य दश प्रतिशतले बढेको छ । यस्तै, मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ७.६५ अंकले घटेको छ ।

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरो खस्दा पृथ्वी राजमार्ग  अवरुद्ध भएको छ । अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन केही समय लाग्ने उनको भनाइ छ । अहिले गन्तव्यमा हिँडेका सवारी साधन सडकमा नै रोकिएका छन् । सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा सुरु भएसँगै पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।

आजदेखि सरकारी खाता एक हप्ता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन

काठमाडौं । आज मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय ९प्रलेनिका० र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिए।  ‘सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली(सिगास) एक हप्ताका लागि बन्द हुनेछन्’, रिजालले भने, ‘कानुनमै उल्लेख भएको विषय भएकाले मलेनिकाले यसवर्ष प्रलेनिका र कोलेनिकालाई खाता बन्द गर्न परिपत्र गरेको छैन। तर आज रातिदेखि बजेट भुक्तानी हुँदैन।’  सङ्घ, प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका सबै खाता एक हप्ताका लागि बन्द भएकाले आज सम्ममा चालु आर्थिक वर्ष २०८०–८१ को बजेट भुक्तानी दायित्व फरफारक गरिसक्नुपर्ने पनि उनले जानकारी दिए।  आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ। विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकको बाहेक अन्य रकम भुक्तानी गर्न पाइँदैन।  यद्यपि, अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि भने मलेनिकाको सहमतिमा भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा छ।

कांग्रेस संसदीय दलको बैठक शुक्रबार

काठमाडौँ ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक यही असार ७ गते शुक्रबार बस्ने भएको छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वर, ल्होत्से हल नयाँ बानेश्वरमा अपराह्न ३ः०० बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु

सिन्धुली । सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । अर्का एक प्रहरी घाइते भएका छन् । फिक्कल गाउँपालिका वडा नम्बर–५ झगडेँबेसी स्थित भित्री कच्ची सडकखण्डको सोल्पाडाँडाबाट गस्ती गर्दै चौकी तर्फ फर्कने क्रममा दुई प्रहरी सवार ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो। मोटरसाइकलमा सवार धनुषाको कमला नगरपालिका–९ घर भई प्रहरी चौकी रत्नावतिमा कार्यरत प्रहरी सहायक निरीक्षक रविन्द्र कुमार ठाकुरको मृत्यु भएको हो। उनको खुर्कोटस्थित सामुदायिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए। यसैगरी तनहुँको भिमाद नगरपालिका–७ घर भई सोही चौकीमा कार्यरत प्रहरी सहायक हबलदार सूर्य कुमार श्रेष्ठ गम्भीर घाइते भएका छन्।

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको पार्टी फुटविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको छ। यादवले अशोक राई नेतृत्वको समूहलाई दलको मान्यता नदिन मागसहित दायर गरेको रिट सोमबार प्रधान्यायाधी विश्वम्भरप्रासाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको थियो। यसअघि जेठ ८ मा न्यायाधीश मुसलमानले नै सुनुवाइ गर्दै यादवले दायर गरेका दुईवटा रिटको सुनुवाइ एकै ठाउँ राख्न आदेश दिएका थिए। सोमबार यादवले दायर गरेका दुवै रिट सुनुवाइका लागि २६ औँ र २७ औँ नम्बरमा पेशी चढाइएको थियो।इजलासको अन्तिम नम्बरमा रहेको रिट हेर्न नभ्याइनेमा परेको हो।

भारतमा लोकसभा : जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द

धनुषा। भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ। भारतमा लोकसभा चुनावका लागि नेपाल–भारत सीमा सिल हुने भएका कारण यही वैशाख २३ देखि २५ गतेसम्म रेल सेवा बन्द रहने भएको छ। नेपाल रेल्वे कम्पनीका प्रबन्ध निरञ्जन झाले शनिबार एक सूचना जारी गर्दै आइतबारदेखि मङ्गलबारसम्म भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा पूर्णरुपमा बन्द रहने जानकारी दिएका हुन्। इण्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारत दुवै पक्षतर्फको बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेल सेवा तीन दिन बन्द रहने सूचनामा उल्लेख गरिएको छ। भारत मधुवनी जिल्लाको भन्झारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोक सभा चुनाव हुँदैछ ।

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ गरेको छ ।  कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त म्याग्दी साविक कुहु गाविस ५ घर भएका ४७ वर्षीय समर बहादुर सार्कीलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।   काठमाडौं तौथलीस्थित कुष्टरोग आरोग्य आश्रमको शौचालयभित्र म्याग्दी स्थायी वतन भएकी २३ वर्षीया सुनमाया किसान (सार्की) को २०७१ कात्तिक १ गते हत्या गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चान्लाखेलबाट पक्राउ गरेको हो ।      उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ ।

मोहन बैद्यको पार्टी फेरि चोइटियो

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालमा गम्भीर वैचारिक, राजनीतिक, आर्थिक, सांगठनिक तथा सांस्कृतिक समस्या देखापरेको भन्दै गत वर्ष बैशाख १८ गते भएको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र तत्कालिन नेकपा (क्रान्तकारी माओवादी) बीचको एकता भङ्गको घोषणा भएको छ ।  सचिवालय सदस्य समरजङले उक्त एकता घोषणा भङ्ग भएको बताएका हुन् ।  रिपोर्टर्स क्लब नेपालमा आज (सोमबार) पत्रकार सम्मेनलको आयोजना गरेर समरजङले अब सच्चा क्रान्तिकारी कम्युष्निटहरु एकजुट हुन आवश्यक रहेको बताए । उनले वैज्ञानिक समाजवादी जनक्रान्तिको कार्यदिशामा गोलबन्द हुन सबैमा अपिल समेत गरेका छन् । पार्टीमा असहमति पत्र बुझाउनेहरुमा भने समरजंग, विप्लव, खलिल, हरि श्रेष्ठ, विनोद थापा, शम्भु फुयाँल, नवराज भट्ट, युगान्त लगायत रहेका छन् ।  पार्टीभित्र देखापरेका सबैखाले समस्या हल गर्नको लागि पटक पटक अध्यक्ष मोहन बैद्यसँग छलफल भएको भएपनि निकास निकाल्ने र आन्दोलनलाई गति दिने विषयमा कुनै ठोस पहल नभएकोले आफूहरु अलग हुने निश्कर्षमा पुगेको उनीहरुको भनाई छ । उनीहरुले अध्यक्ष बैद्यमाथि जनवादी केन्द्रीयताको उल्लंघन गरेको र पार्टी एकताको नाममा केन्द्रीय कमिटीलाई पङ्गु बनाईएको, गुट तथा निहित आर्थिक स्वार्थको बन्दी बनाईएको गम्भीर आरोप लगाएका छन् ।  उनीहरुले अध्यक्ष बैद्यमा रुढीवाद हाबी रहेको निश्कर्षसहित अब त्यो विचारले नयाँ क्रान्तिको नेतृत्व गर्न नसक्ने ठोकुवा गरेका छन् । समरजङ्ले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘विश्वसाम्राज्यवादले सच्चा कम्युष्निटहरुमाथि चौतर्फी हलमा गरिरहेको सन्दर्भमा सर्वशक्तिमान विचारको उच्चतम चरण माओवादलाई लत्याउँदै महान जनयुद्धलाई ‘सामाजिक फाँसीवाद’, र उग्रवामपन्थी भड्कावको मिथ्या आरोप लगाउँदै जनयुद्धकालमा प्रतिकारमा संलग्न गुटहरुसँग गरिएको कथित पार्टी एकता हाम्रा लागि अस्विकार्य छ । परन्तु हामी विगतका सम्पूर्ण न्यायपूर्ण आन्दोलनका उपलब्धिहरुको रक्षा, समिक्षा र सच्चा क्रान्तिकारीहरुसँग सहकार्य, कार्यगत एकता र एकताको ढोका बन्द गर्ने पक्षमा भने छैनौं ।’  उनीहरुले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निरंकुश एवम् घोर सामन्तवादी प्रवृत्तिबाट ग्रस्त रहेको आरोप पनि लगाएका छन् ।