नयाँ सरकार भ्रष्टाचार ढाकछोपका लागि : सांसद पाण्डे

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले नयाँ सरकार भ्रष्टाचार ढाकछोप गर्ने उदेश्यका साथ बनेको बताएका छन्। 

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकार गिरिबन्धु प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका प्रकरणहरू छोप्नका लागि बनेको बताए। संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने, कुरासँग गठबन्धन नरहेको आफूहरूको बुझाइ रहेको स्पष्ट पारे । प्रमुख प्रतिपक्षको जिम्मा पाएको राजनीतिक दल नै जिम्मेवारी छोडेर सरकारमा सहभागी हुनुले शंका उब्जिएको उल्लेख गरे। 
“गिरिबन्धुको छोप्नुपर्ने भयो, एकजना भाउजूको पनि छोप्नुपर्ने भयो। भुटानी शरणार्थी काण्डको छोप्नुपर्ने भयो । यस्ता कुरा भन्ने आइरहेको छ। त्यो नहोस्। त्यो उहाँहरूमाथि लागेको आरोप गलत ठहरियोस्। तर, आम रूपमा संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने, कुरासँग सम्बन्धित होइन। प्रमुख प्रतिपक्षको जिम्मै छोडेर सरकारमै बस्न पुगेपछि हाम्रो रक्षा कसले गर्दछ । प्रमुख प्रतिपक्षको जिम्मेवारी पाएको पार्टी नै सरकार सम्हाल्न हिँडेपछि। गलत कुरा छोप्न हो की भन्ने शंका सबैको छ,” उनले भने । 

सांसद पाण्डेले एमाले र कांग्रेस सरकारमा आफूहरू सम्मिलित हुनेकुरा नसोचेको र आफूहरूको आवश्यकता पनि दुई दललाई महसुस नभएको अनुभव आफूले गरेको बताए।

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

विराटनगर ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री भएका उनलाई हालसम्म दुवै  दलका सांसदले विश्वासको मत दिने देखिएको छ । यस्तै जसपा नेपालकी सांसद निर्मला लिम्बूले पनि विश्वासको मत दिने बताएकी छिन् । कोशी प्रदेश सभामा ९३ सांसद मध्ये बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ ।  यसैबीच मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने प्रदेशसभा बैठक बहिष्कार गर्ने कांग्रेसले तयारी गरेको छ । औपचारिक निर्णय गर्न कांग्रेसले बिहान ८ बजे संसदीय दलको बैठक बोलाएको छ। राप्रपाले पनि विश्वासको मत दिने या नदिने भन्ने विषयमा निर्णय गरिसकेको छैन। एकीकृत समाजवादीका सांसदहरू भने प्रदेशसभा बैठकमा अनुपस्थित रहने बताइएको छ । प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीका १३, राप्रपाका ६,  नेकपा (एकीकृत समाजवादी)का ४ र जसपा नेपालका १ सांसद रहेका छन् ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँं । टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।  अंकरास्थित राष्ट्रपति प्रासादमा बिहीबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको इस्लामावादस्थित नेपालको राजदूतावासले जनाएको छ । अधिकारी पाकिस्तानका निम्ति नेपालको आवासीय राजदूत हुन् ।  राष्ट्रपति एर्दोगानले राजदूत अधिकारीलाई टर्कीएको पनि कार्यभार सम्हालेकामा बधाई ज्ञापन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डप्रति शुभकामना व्यक्त गरे । उनले राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डका साथै नेपाली जनताको निरन्तर समृद्धिको कामना पनि गरे । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राष्ट्रपति एर्दोगानसँग भएको शिष्टाचार भेटमा राजदूत अधिकारीले राष्ट्रपति  पौडेल र प्रधानमन्त्री प्रचण्डका तर्फबाट टर्कीका राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै टर्कीका जनताको निरन्तर प्रगतिको कामना गरेका थिए ।  राजदूत अधिकारीले नेपाल र टर्कीबीचको सम्बन्ध आपसी विश्वास र सहयोगमा आधारित रहेको उल्लेख गर्दै दुवै देशले साझा चासोका विषयमा संयुक्त राष्ट्रसंघलगायत अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्दै आएका बताए । उनले टर्कीसँगको सम्बन्ध विस्तारका निम्ति इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेको उक्त दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका ४ जरुवा पानी नजिक रेल्वे ट्रयाकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। लालबन्दी २ स्थित पुर्नवासतर्फबाट जब्दीतर्फ गइरहेको ज ११ प ७५४८ नम्वरको मोटरसाइकल निर्माणाधीन रेल्वे ट्रयाकबाट तल खस्दा चालक लालबन्दी नगरपालिका ३ जब्दी घर भएका ५० वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो। बिहीबार राति मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको र चौधरी लडिरहेको देखेपछि स्थानीय अटो चालकले उनलाई लालबन्दी बजारस्थित मोडेल अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक हरिबोल केसीले जानकारी दिनुभयो । दुर्घटनामा परेको मोटरसाइकल प्रहरी नियन्त्रणमा छ ।

बोगटीको अभाव महशुस भइरहन्छ :  प्रचण्ड

काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको पार्टीमा सधै अभाव महशुस हुने गरेको बताएका छन् । शनिबार बिहान पेरिसडाँडामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षिक साधारण सभा तथा स्मृति दिवसमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताए। कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘‘पोष्टबहादुर बोगटी एक जना इमान्दार नेता हुनुहुन्थ्यो, यहाँको सम्पूर्ण जीवन त्याग र निष्ठाले भरिपूर्ण छ। उहाँ एक जना सहयोगी भावनाको, आफ्नो जिम्मेवारीप्रति प्रतिवद्ध, सक्षम र समन्वयकारी नेता हुनुहुन्थ्यो।’’ बैठकमा प्रधानमन्त्री प्रचण्डले बोगटीको निधनपछि पार्टीमा समन्वयको अभाव महशुस हुने गरेको स्मरण गरेका थिए। उहाँले भन्नुभयो, ‘‘अप्ठ्यारो परेको बेला उहाँले समन्वय गर्नुहुन्थ्यो। पार्टीमा उहाँको अभाव खड्किरहन्छ।’’

यी हुन् गृहमन्त्रीले विशेष सम्बोधनमा राखेका विषय (भिडियोसहित)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पोखराको सुर्यदर्शन र अन्य देशका सहकारीका बचतकर्ताको पैसा ब्याजसहित फिर्ता नगरेसम्म राजनीतिबाट विश्राम नलिने बताएका छन्।  शनिबार काठमाडौँमा पार्टीले आयोजना गरेको ‘विशेष सम्बोधन’मा बोल्दै उनले आफूमाथि नेपाली कांग्रेसले संसद्मा उठाएका प्रश्नको जवाफ दिन आफू तयार रहेको बताए। ‘जुन सहकारी सहकारी भनिएको छ। ती सहकारीमा क कसको अवैध पैसा राखिएको छ। त्यसको पनि हिसाब हुन्छ,’ लामिछानेले भने, ‘जसले कालो धन लुकाउनका लागि खाता पनि नभएको मान्छेलाई ठग भनिरहेको छ। दुधको दुध पानीको पानी निस्कन्छ। त्यो भन्दा पहिला त्यसमा र अन्य सहकारीमा बचतकर्ताको पैसा ब्याजसहित फिर्ता नगरेसम्म राजीनितिबाट विश्राम लिन्नँ।’सहकारी ठगेर देश–विदेश जहाँ पुगेको भए पनि सरकारले खोजेर ल्याउने उनले उद्घोष गरे।  ‘जो जहाँ लुकेको होस्, देशमा होस विदेशमा होस्, आकाशमा होस् पातालमा होस्। सरकारले खोजेर ल्याउँछ। सहकारी पीडितको पैसा सबैलाई असुल गरेर ल्याउँछ। समय कति लाग्छ थाहा छैन, तर हामी गर्छौं,’ सभापति लामिछानेले भने।  स्वास्थ्य अवस्थाका कारण महरालाई हाजिरी जमानीमा छाडियो   गृहमन्त्री लामिछानेले बिरामी भएकाले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडेको बताए ।अनुसन्धानका लागि उपस्थित गराउने सक्नेगरी हाजिरी जमानीमा छाडिएकाले त्यसलाई अतिरञ्जित नगर्न सबैलाई आग्रह गरे । उनले भने, ‘हो कहिलेकाँही मानवीय समवेदना र करुणाका कुरा छाउँछन्। कृष्णबहादुर महराका विषयमा कतिपय कुराहरु आइरहेका छन्। ८/१० वटा औषधी सेवन गरिरहनुभएको छ। अत्यन्त धेरै बिरामी हुनुहुन्छ। सम्मानित अदालतले पनि बिरामी हुनुभएको कुरालाई इंगित गरेको छ। कतिले उहाँलाई देखायो, छोड्यो भनेर तुरुन्तै निराशा जनाउनुभएको छ। राज्य निर्मम हुन्छ, कठोर पनि हुन्छ। तर राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ। त्यसैले अत्यन्त धेरै बिरामी, अत्यन्त नाजुक स्वास्थ्य अवस्था भएको मान्छेलाई कसैको हाजिरी जमानीमा छोडिएको कुरालाई अतिरञ्जित गरिरहनुपर्दैन। भनेको बेला, चाहेको बेलामा उपस्थित हुनेगरी हाजिरी जमानीमा उहाँ हुनुहुन्छ। अदालतले समेत भनिसकेको छ कि उहाँको स्वास्थ्य अवस्था कमजोर छ।’’  कांग्रेसलाई प्रश्न -'म जवाफ दिन म कहाँ आउँ ?' सो अवसरमा गृहमन्त्री लामिछानेले नेपाली कांग्रेसलाई जवाफ दिन आफू तयार रहेको बताए। सहकारी ठगीमा मुछिएको भन्दै कांग्रेसले मेरो राजिनामा माग्दै संसद अवरुद्ध गर्दै आएको छ त्यसबारे कांग्रेसलाई जवाफ दिन तयार छु उनले भनेका छन् ।  गृहमन्त्री लामिछानेले भने, ‘प्रधानमन्त्रीले जवाफ दिइसक्नु भयो। म आफैं संसदमै जवाफ दिन तयार छु। तर, कांग्रेस राजीनामा र संसदीय समिति भनिरहेको छ। सदनमा जवाफ दिन नपाए खुला ठाउँमा दिन तयार छु। जवाफ काठमाडौं क्षेत्र नम्बर–४ मा दिन पाए झनै राम्रो। कांग्रेस, जवाफ दिन म कहाँ आउँ ?’ साथै उनले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु राईलाई पनि जसरी हुन्छ पक्राउ गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘आकाशमा होस्, पातलमा होस्, जीवी राईलाई समातिन्छ। पीडितको बचत ब्याजसहित फिर्ता गराउँछौं। पीडितको बहानामा व्यक्तिको चरित्र हत्या र राजनीति गर्नेसँग मेरो संवाद हुन्न। तर, वास्तविक पीडितको पक्षमा काम गर्छौँ ।’ 

प्रभु बैंकका डेपुटी सीईओसहित १० जना हाजिर जमानीमा थुनामुक्त

काठमाडौं । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना हाजिर जमानी छुटेका छन् ।  धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए ।  सरकारी वकिलको कार्यालयसँगको समन्वयमा उनीहरूलाई हाजिर जमानीमा छोडिएको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।  उनका अनुसार उनीहरूमाथि प्रारम्भिक अनुसन्धान सकिएको छ । बाँकी अनुसन्धान बाहिर नै राखेर हुने उनको भनाइ छ ।फागुन १५ गते तत्कालीन सेन्चुरी बैंकका कर्मचारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो । सीआईबीले प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित तुलसीराम गौतम, सविन घिमिरे, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, दिलीप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठलाई पक्राउ गरेको थियो । उनीहरूमाथि तत्कालीन सेन्चुरी कमर्सियल बैंकमा हुँदा धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको आरोप लागेको छ ।

प्रतिनिधि सभा बैठक जारी (प्रत्यक्ष प्रसारण)

काठमाडौं । प्रतिनिधिसभा बैठक जारी छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११  बजे देखि बसिरहेको हो । बैठकमा सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक,२०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ । त्यस्तै ,संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक, २०८० र निर्माणमूखी सामाग्री ९व्यवस्थापन तथा नियमन० विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।  

शिवरात्री : माउन्टेन फ्लाइटबाट भारतीय पर्यटकलाई कैलाश–मानसरोवर दर्शन

काठमाडौं । नेपालगन्जबाट माउन्टेन फ्लाइटमार्फत भारतीय पर्यटकलाई महाशिवरात्रीको अवसरमा चीनको तिब्बतमा रहेको कैलाश मानसरोवरको र्दशन गराइएको छ । उनीहरूलाई जहाजमार्फत हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको आकाशबाट दर्शन गराइएको हो । नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ‘ट्रिप टु टेम्पल्स’सँगको समन्वयमा नेपालगन्जबाट १५० जना भारतीय तिर्थयात्रीलाई कैलाश मानसरोवरको दर्शन गराएको हो । माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै रावणले तपस्या गरेको राक्षस ताल, अपि र सैपाल हिमाललगायतको आकर्षक दृश्यावलोकन गर्न पाइन्छ । कोभिडअघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगन्ज रुटबाट मानसरोवर पुग्ने गरेका थिए । कोभिडपछि भारतीय पर्यटकलाई चीनले भिषा नदिँदा यो रुट सुनसान बनेको छ । जसको सिधा असर सो रुटको पर्यटन ब्यवसायमा परेको छ ।  

जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाकः विप्लव

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको टिप्पणी गरेका छन् ।   सोमबार काठमाडौंमा आयोजित शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक वृहत् अन्तरक्रियामा महासचिव विप्लवले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको बताए ।  उनले संघीय लोकतान्त्रिक गणतन्त्र जनयुद्ध, जनआन्दोलन र नेपालका सम्पूर्ण विद्रोहबाट जन्मिएको सन्तान भएको बताए । उनले देशमा नायकहरूलाई अपराधीजस्तो र अपराधीहरूलाई नायकजस्तो बनाउने परिस्थिति रहेको पनि बताए । उनले जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन भएको दावी गरे । उनले जनयुद्धको प्रतिफल नै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताए । उनले भने,‘जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन हो र त्यसको प्रतिफलको रुपमा नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । त्यसमा जनआन्दोलनको पनि भूमिका छ । तर जो मान्छेहरूले जनयुद्धलाई नकारेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्वामित्व लिन्छौँ भन्ने सपना देख्छन् नि तिनीहरू सुखानीकै जंगलमा जसरी सुखानीका सहिदहरुलाई समाप्त पार्छु भन्दाखेरी सिद्धिएका थिए नि, ती मान्छेपनि त्यसरी नै समाप्त हुन लायक हुन्छन् । अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने ठूलो होड छ । दलाल पुँजीवादले कब्जा गर्ने प्रयत्न गर्दैछ । माओवादीहरु, क्रान्तिकारीहरु, कम्युनिस्टहरु, समाजवादीले त्यसलाई स्याहार सम्भार गर्दै हुर्काउने लडाइँमा नेपाल सहभागी छ ।’ महासचिव विप्लवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने ठूलो होड चलेको भन्दै त्यो सम्भव नहुने बताए । आफूहरूको लक्ष्य मुलुकलाई साम्यवादसम्म पुर्‍याउने भएपनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि यत्तिकै सडकमा छोडेर जान नसकिने उनको भनाई छ ।

माओवादीको विधान अधिवेशन: आज समूहगत धारणा प्रस्तुत गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन आज पनि जारी रहनेछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गरेको अधिवेशनमा आज २० वटा समुहले आआफ्नो धारणा प्रस्तुत गर्ने छन् । महासचिव देव गुरुङले हिजो गठन गरिएका २० वटा समूहले प्रस्तावित विधानमा छलफल गरिसकेपछि आज प्रस्तुतिकरण हुन लागेको जानकारी दिए । अध्यक्ष प्रचण्डले आज दिउँसो १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्न समयसीमा तोकेका छन् । भोलिसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइने माओवादीले जनाएको छ ।

झ्याप्लेखोलामा पुरिएका दुई बस निकालिदै, अर्को बस पनि भेटियो

काठमाडौं । धादिङको धुनिबेशि नगरपालिका-९ झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा अर्को पनि बस फेला परेको छ। पुरिएरका दुईवटा बस निकालेर बाटो सफा गर्ने क्रममा अर्को पनि बस पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। स्काभेटरले खन्ने क्रममा अहिलेसम्म बसको थोरै भागमात्रै देखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए। ‘बसको पूरै भाग नदेखिएकोले कहाँको लागि छुटेको बस हो भन्ने पत्ता लागेको छैन,’  सिलवालले भने। यसअघि शुक्रबार गोरखाको लापुबेँसीबाट काठमाडौँका लागि छुटेको एउटा बस खानीखाेलाबाट सम्पर्कविहीन भएको थियो। लापुबेँसीबाट शुक्रबार बिहान छुटेको ना ४ ख२२७० नम्बरको बस हराएको हो। बसमा रहेका यात्रुका आफन्तले खोजबिन गरिदिन आग्रह गरिरहेका छन्। बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि बस पहिरोमा परेको हुन सक्ने आशङ्का गरिएको छ। यद्यपि पहिरोले पुरिएको बस त्यही हो अथवा अरु नै हो भन्ने बिषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। पहिरो पन्छाएर बस निकाल्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

नरैनापुरमा पहिलोपटक सरकारी टोलीले गर्यो बजार अनुगमन

बाँके । बाँकेकोे नरैनापुर गाँउपालिकामा पहिलो पटक  सरकारी टोलीबाट बजार अनुगमन गरिएको छ । बिहिबार नरैनापुर १ सुइयाबाट बजार अनुगमन सुरु गरिएको संयोजक मुकद्दर अली मुकेरीले जानकारी दिनु भयो । गाँउपालिकाले बजार अनुगमन समिति बनाए पनि नियमित रुपमा अनुगमन हुन सकेको थिएन् तर आजबाट चाड पर्वलाई लक्षित गरी अनुगमन सुरु गरिएको संयोजक मुकेरीले बताउनु भयो । नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले किराना पसल, व्यवसाय, विक्रि स्थल, गोदाम, उद्योग लगायतमा अनुगमन निरिक्षणमा १६ वटा बुँदाहरु समेटिएको विवरण भए नभएको बारेमा जानकारी लिन अनुगमन समितिलाई निर्देशन दिएको बताउनु भयो । उहाँले भन्नुभयो सो अनुसार नभएको खण्डमा पहिलो चरणमा सचेत गराउने दोस्रो पटक पनि गल्ती पाइए जरिवानाका लागि सिफारीस गर्न सुझाव दिनु भयो । नरैनापुरमा दर्ता नभएको, दर्ता भएपनि नविकरण नभएको र साइन बोर्ड नभएको, मुल्य सूची नराखिएको, लेबल नभएको, नाप तौलको प्रमाण लगायत नभएको भेटिएको अनुगमन टोलीका सदस्य पशु शाखाका प्रमुख जगतराम यादवले बताउनु भयो । नरैनापुर १ सुईयामा रहेको रियासत दुध खरीद बिक्री केन्द्र सहित दुई दर्जन पसलहरुमा अनुगमन गरिएको बजार अनुगमन टोलीका संयोजक मुकेरीले जानकारी दिनु भयो  । अनुगमनका क्रममा नरैनापुरका जगतराम यादव, नरैनापुर गाँउपालिकाका प्रेस बिज्ञ आलम खान, सुजीत तिवारी,हरी पाण्डे,रियाज खान र प्रहरी नयाब निरिक्षक प्रेम अधिकारी, प्रहरी हवल्दार जितेन्द्र केवटको सहभागिता रहेको थियो ।

शर्माको स्मृतिमा श्रद्धाञ्जलीसभा

दाङ । दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको सातौं दिनको पुण्यतिथि पारेर जिल्लाका आठ बढी साहित्यिक संस्थाहरुले संयुक्त रुपमा घोराही–१८ मसिनामा श्रद्धाञ्जलीसभा गरेका छन्। राप्ती साहित्य परिषद् केन्द्र तथा जिल्ला समिति, सर्वोदय पुस्तकालय तथा वाचनालय, प्रगतिशील लेखक संघ, लेखक संघ, नेपाली लेखक संघ, विश्व नेपाली साहित्य प्रतिष्ठान दाङ शाखा र सिस्नोपानी नेपाल दाङ शाखालगायतका संस्थाहरुले दिवंगत शर्माप्रति श्रद्धाञ्जली दिन कार्यक्रम आयोजना गरेका हुन् । राप्ती साहित्य परिषद् केन्द्रीय समितिका अध्यक्ष टीकाराम उदासीको अध्यक्षता तथा संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने सबैजसो वक्ताहरुले स्वर्गीय गिरिराज शर्माको व्यक्तित्व, कृतित्व तथा उहाँसँगका व्यक्तिगत अनुभूति सुनाएका थिए । श्रद्धाञ्जलीसभामा गिरिराज शर्मासँगको २०१० सालदेखिको सामिप्यताबारे बोल्दै प्रमुख अतिथि शर्माले सरल र सबैसँग मिल्ने स्वभाव, सिर्जनशीलता तथा चोखो मनका धनीजस्ता उहाँका राम्रा कुराको अनुसरण गर्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राख्नुभयो । कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल, परिवारका तर्फबाट छोरी रेखा शर्मा, सर्वोदय पुस्तकालय तथा वाचनालयका कार्यवाहक अध्यक्ष चन्द्रराज पन्त, प्रगतिशील लेखक संघ केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, सञ्चारकर्मीका तर्फबाट प्रेस काउन्सिल सदस्य शरद अधिकारी, राप्ती साहित्य परिषद् जिल्ला अध्यक्ष यम रेग्मी, लेखक संघका जिल्ला अध्यक्ष खगराज न्यौपाने, सिस्नोपानी नेपालका जिल्ला अध्यक्ष लोकराज पराजुलीले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । सभाको सहजीकरण राप्ती साहित्य परिषद्का केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटाले गर्नुभएको थियो ।

गण्डकी त्रिभूज परियोजनाबारे प्रधानमन्त्री नकारात्मक, भने - 'के कति आवश्यक हो हेरिने छ'

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघिको सरकारले ल्याएको गण्डकी आर्थिक त्रिभूज परियोजनाको आवश्यकता र औचित्यबारे अध्ययन गरिने बताएका छन् ।सोमबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सो परियोजना अन्र्तगत बुटवल–पोखरा सडकलाई डेडिकेटेड दुई लेनमा विस्तार गरिने कार्य कहिलेसम्म सकिने भन्ने प्रश्नको उत्तर दिने क्रममा सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले गण्डकी आर्थिक त्रिभूज परियोजना अन्र्तगतको बुटवल–पोखरा सडकलाई डेडिकेटेड दुई लेनमा विस्तार गर्ने समयको बारेमा भने उनले आफ्नो स्पष्ट धारणा राखेनन् । प्रधानमन्त्री ओलीले सांसदको प्रश्नमा प्रतिप्रश्न गर्दै भने -'गण्डकी आर्थिक त्रिभूज परियोजना के कति प्रयाप्त अध्ययन र विष्लेशण गरेर ल्याइएको हो? त्यो हेरिने छ  तर विकास निर्माणको परियोजनाको रुपमा ल्याइएको हुनाले त्यसको आवश्यकता हेरेर अगाडि बढाइने छ ।' यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको थियो।  सरकारले एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर, बुटवल र पोखरालाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गरिने बताएको थियो । प्रचण्ड सरकारले परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम’ निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिने बताएको थियो । गण्डकी त्रिभूजमा पर्ने निर्माणाधीन नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकखण्डको दुई लेनमा विस्तार कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी बजेट विनियोजन गरेको थियो । बुटवल–पोखरा सडकलाई डेडिकेटेड दुई लेनमा विस्तार गरिने सरकारको योजना थियो। त्रिभूजका तीन वटै करिडोरमा औद्योगिक विकासका लागि आवश्यक यातायात सञ्जाल विकास गरिने प्रचण्ड नेतृत्वको सरकारले योजना अगाडि बढाएको थियो। त्रिभूज परियोजनाअन्तर्गत नारायणगढ–बुटवल खण्डलाई निर्माण सामग्री तथा हेभी उद्योगको केन्द्र, मुग्लिन–पोखरा खण्डलाई कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र र पोखरा–बुटवल खण्डलाई विद्युतीय उपकरण, जुत्ता, लत्ताकपडा, कार्पेट तथा घरायसी प्रयोगका वस्तु तथा सेवा सम्बद्ध उद्योगको केन्द्रका रूपमा विकास गरिने बताइएको थियो। परियोजना कार्यान्वयनका लागि भरतपुर कोणमा पर्यापर्यटन सेवा, जलयात्रा र विशिष्टकृत स्वास्थ्य सेवा, पोखरा कोणमा साहसिक मनोविनोद पर्यापर्यटन सेवा तथा अनुसन्धानमूलक उच्चशिक्षा र बुटवल–भैरहवा कोणमा धार्मिक पर्यटन, डाटा सेन्टर तथा सूचना प्रविधिसम्बन्धी संस्था विकासका लागि निजी क्षेत्रको सहकार्यमा आवश्यक पूर्वाधार निर्माण गरिने उल्लेख छ ।

प्रचण्डलाई स्वागत गर्न झाँकीसहित खुमलटार निवासमा नेता तथा कार्यकर्ता भेला हुँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्न निजी निवास खुमलटारमा झाँकीसहित नेता तथा कार्यकर्ता तयारी अवस्थामा रहेका छन्। डेढ वर्ष सत्ताको नेतृत्व गरेका उनी संसदमा राखेको विश्वासको मतको नतिजा आएपछि केन्द्रीय कार्यालय पेरिसडाँडा जाने कार्यक्रम रहेको छ।  केन्द्रीय कार्यालयमा रहेका सहिद स्तम्भमाथि माल्यार्पण गरेपछि नेता तथा कार्यकर्तासँग आफ्ना कुरा राख्ने र त्यसपछि सिँधै निजी निवास खुमलटार जाने कार्यक्रम रहेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डको ३ बजे जाने कार्यक्रम भएपनि संसदमा विश्वासको मतसम्बन्धी छलफल लम्बिएकाले अपराह्न ५ बजेसम्म आइपुग्न सक्ने उपाध्यायले जानकारी दिए।