एमालेलाई देउवाको प्रश्नः मदनको हत्यारा खोज्न कसले रोकेको छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउन एमालेलाई चुनौति दिएका छन् । उनले भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई गाली गर्नमात्र लागेको टिप्पणी समेत गरे ।

नेकपा एमालेको आयोजनामा जारी हीरक महोत्सव कार्यक्रममा विशेष सम्बोधन गर्न गोदावरीमा उपस्थित भएका पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आफू मदन भण्डारीको बारेमा राम्रै बोल्नेगरी आएपनि कार्यक्रमको बिचमै कांग्रेसलाई गाली गरेको भन्दै झोक्किन पुगे । 

देउवाले भने, ‘गाली गरेपछि जवाफ त दिनुपर्‍यो, मदन भण्डारी किन मरे भनेर किन भन्न सक्दैन एमाले ? मदन भण्डारीको रहस्यमय मृत्यु खोज्न कसले रोकेको छ ?’ 
पछि ड्राइभर पनि मारिएको भन्दै उनले मदन भण्डारीलाई आफूले राम्रो नेताका रूपमा चिन्ने बताए । 

उनले प्रश्न गरे ‘मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन ?’

उनले मदनको हत्यारा पत्ता लगाउन कांग्रेसले नरोकेको भन्दै प्रश्न गरे,  ‘कांग्रेसले रोकेको हो ? खोइ पत्ता लागेको हो ? मलाई विरोध र गाली गरेर केही हुँदैन । तपाईहरुले पत्ता लगाउनुपर्‍यो ।’

नेपालको लेखा प्रणाली उत्कृष्ट : विश्व बैंक उपाध्यक्ष

काठमाडौं । विश्व बैंकले नेपालको लेखा प्रणाली धेरै उत्कृष्ट रहेको बताएको छ । विश्व बैंककी उपाध्यक्ष एवं फाइनान्स र अकाउण्ट हेर्ने निर्देशक पामेला ओ कोनेलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँगको भेटमा नेपालको लेखा प्रणाली विश्वसनीय र व्यवस्थित रहेको बताएकी हुन् । पामेलाले भनिन्,'मैले केही दिनअघि महालेखा परीक्षकको कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको भ्रमण गरेकी थिएँ । नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट रहेको पाएँ ।’ लेखा प्रणालीमा अपनाइएको पेपरलेस पद्धतिले सुशासनका लागि प्रभावकारी काम गर्ने उनको भनाइ थियो । जवाफमा मन्त्री पुनले १२ वर्षअघि आफू पहिलोपटक अर्थमन्त्री भएका बेला राजश्व र लेखामा कम्प्युटरमा हिसाब राख्ने प्रविधि लागू गरेको स्मरण गर्दै परिवर्तित सन्दर्भमा थप प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने गरी सुधार गर्ने उल्लेख गरे । मन्त्री पुनले नेपालको खर्च गर्ने क्षमता बढाउनुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि जनशक्ति विकाससहित कार्यशैली सुधारका काम गर्ने कार्ययोजना मन्त्रालयले बनाएको जानकारी दिए । विकास आयोजनाका काम अघि बढाउने सिलसिलामा आउने समस्या समाधानका लागि अन्तर मन्त्रालय समन्वयका काममा पनि वर्तमान सरकार बनेयता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष ध्यान दिँदै आएको उनको भनाइ थियो ।

सङ्घीयता कार्यान्वयन सरकारको उच्च प्राथमिकताः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयन गर्न आवश्यक ऐन निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।  प्रतिनिधिसभाका सांसदहरूले सोधेका प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभाको विधायन समिति र सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले दिएको सुझाव कार्यान्वयन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताए । “निजामती कर्मचारीसँग सम्बन्धित ऐनलगायत कतिपय ऐनहरू मस्यौदा तयार भई सम्मानित सदनमा प्रवेश भइसकेका छन् र कतिपय मस्यौदाको चरणमा रहेका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपाल प्रहरीको सञ्चालन र व्यवस्थापनलाई समयानुकूल बनाउन र प्रहरी समायोजनलाई व्यवस्थित गर्न नेपाल प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गर्ने विधेयक, प्रहरी समायोजन ऐन, २०७६ लाई संशोधन गर्ने विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय० ऐन, २०७६ लाई संशोधन गर्ने विधेयक संसदको यसै अधिवेशनमा पेश गर्नेगरी तयार गरिएको छ ।”  प्रधानमन्त्री प्रचण्डले सदनबाट कानुन पारित भएलगत्तै प्रहरी समायोजनको काम तुरुन्त अघि बढाइने गरी समायोजनको तयारी कार्य भैरहेको स्पष्ट पारे ।

प्रतिनिधिसभा बैठकमा निजामती सेवा विधेयक प्रस्तुत गरिदै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ । बैठकमा सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक,२०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ । त्यस्तै ,संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक, २०८० र निर्माणमूखी सामाग्री ९व्यवस्थापन तथा नियमन० विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

गुम्यो नेपालको दोस्रो विकेट, कप्तान रोहित २५ रन बनाएर आउट

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपालले ९.२ ओभरमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको हो । रोहितले १९ बल खेल्दा तीन चौका र एक छक्कासहित २५ प्रहार गरे ।  जारी खेलको ९.२ ओभर समाप्त हुँदा नेपालले दुई विकेट गुमाएर ८२ रन बनाएको छ । त्यसअघि नेपालले कुशल भुर्तेललाई व्यक्तिगत २० रनमा गुमाएको थियो । ट्वान्टी–२० विश्वकपको तयारी स्वरुप आयोजित शृंखलामा नेपाल र नेदरल्यान्ड्ससँगै नामिबियाको सहभागिता थियो ।

अब नक्खु कारागारमा पनि विपश्यना ध्यान केन्द्र

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागार कार्यालय नक्खुमा निर्मित विपश्यना केन्द्र धम्मासयुको आज उद्घाटन गरेका छन्। कारागार कार्यालय नक्खु र नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्ग काठमाडौंद्वारा आयोजित उद्घाटन कार्यक्रमसँगै यहाँ ४८ कैदीबन्दीहरूका लागि १२ दिनसम्म ध्यान शिविर संचालन हुनेछ। यससँगै नेपाल विपश्यना केन्द्रले देशभरी १९ वटा ध्यान केन्द्र निर्माण गरेको छ। नक्खु कारागार ध्यान केन्द्र तीन महिनाको तयारीपछि संचालनमा आएको हो। ध्यान केन्द्रको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले कानुनी र प्रशासनिक तवरबाट मात्रै नभएर आफ्नै महत्वबोध गराउने ध्यानबाट समेत सुशासन तथा सुधार  अगाडि बढाउन सकिने बताए। आफुलाई फेर्ने, स्वजागृत हुने र समाज रुपान्तरण गर्ने चिन्तन ध्यानबाटै प्राप्त हुने उनले बताए। अग्रज रुपचन्द्र बिष्टले आफुसँगको कुराकानीमा मानिसहरू सिद्दार्थ गौतम नबनी एकैचोटी बुद्ध बन्न खोजेको बताएको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले आफुलाई बदलेर मात्रै बुद्ध बन्न सकिने बताए। कानुन लागू गर्ने वा सेवा दिने मान्छे स्वयंमा असल हुनुपर्ने र ध्यानले मानिसलाई असल बन्न मद्दत गर्ने भएकोले आफुले गृह मन्त्रालय र अन्तर्गतका निकायमा ध्यान संस्कृति निर्माण गर्ने प्रयास गरेको उनले बताए। कैदी बन्दीहरूलाई सम्बोधन गर्दै उनले भने -'एकपटक गल्ती, अपराध गरे। ध्यानले अब म असल बन्छु, फेरिन्छु, बदलिन्छु भन्ने सोच तपाईंहरू आउनेछ।' कार्यक्रममा विपश्यना ध्यान केन्द्रका क्षेत्रीय आचार्य डा.रुप ज्योतिले मन शुद्ध भएमात्रै शरीर स्वस्थ हुने र विपश्यनाले मनलाई शुद्ध बनाउने बताए। केन्द्रले १६ देशका कारागारहरूमा शिविर संचालन गरिसकेको र उपप्रधानमन्त्री श्रेष्ठले ध्यानको महत्त्व बुझ्नुभएकैले नक्खु कारागारमा समेत केन्द्र र शिविर संचालन हुनसकेको बताए । गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुवँर,  राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, कारागार व्यवस्था विभागका महानिर्देशक काशिराज दाहाल, सशस्त्र प्रहरीका एआइजी नारायणदत्त पौडेल, विपश्यना ध्यान केन्द्रका आचार्यहरू तथा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको समेत उपस्थिति थियो।

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत आज दिउँसो १ बजे दिगो विकास तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार प्रवर्द्धन सम्बन्धमा प्रस्तुति र छलफल हुनेछ । नेपालमा निर्वाचन प्रणाली र सुशासन विषयमा छलफल समेत हुने कार्यसूची रहेको छ । त्यस्तै दिउँसो नै १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा विधायन सम्बन्धी विधेयक, २०८० को प्रतिवेदन मस्यौदामाथि छलफल हुनेछ ।

कर्नालीको मर्ममाथि सुर्खेतमा परिचर्चा

सुर्खेत । मध्यपश्चिम विश्व विद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले कर्नालीको वास्तविक इतिहास सच्याउन र समृद्ध कर्नाली बनाउनका लागि लेखकीय रुपमा पुर्नजागरण ल्याउन पर्ने बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा कर्नाली साहित्य समाजको आयोजना गरेको डा. दीपेन्द्र रोकायाद्धारा लिखित पुस्तक “कर्नालीको मर्म” माथि सुर्खेतमा प्राज्ञिक परिचर्चा कार्यक्रममा उनले उक्त विचार व्यक्त गरेका हुन् । डा. दीपेन्द्र रोकाया कर्नालीमा जन्मेको ‘जनयुद्धबाट आएको र कर्नालीकै योजना आयोगमा काम गरेकाले कर्नालीवाशीले कर्नालीकै मर्म पाउन सफल भएको बताउँदै उपकुलपति सिंहले भने, “कर्नालीको शीरबाट एउटा युवाको उदय भएको छ, कर्नालीले जोगाउन सक्नुपर्छ ।” कर्नालीको मर्ममा समेटिएका विषयबस्तुले कर्नालीको भूक्षेत्रमा जागरण ल्याउने विषय उठान गरेको बताउँदै उनले भने,“यहाँ कर्नालीको आत्मा बोलेको छ, सबै कर्नालीवासीले पढ्नु पर्छ ।” कर्नाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले कर्नालीको मर्म इतिहास, भाषा, साहित्य र विकासको महत्वपूर्ण दस्तावेज भएको बताए । उनले लेखक निरन्तर शोधरत रहने व्यक्ति भएकाले कर्नालीको कहिल्यै उजागर नभएका विषयवस्तु बाहिर आएकोसमेत जिकिर गरे । उपाध्यक्ष शाहीले डा.रोकायाको पुस्तकले कर्नालीमा पुर्नजागरणको समय ल्याउन सहयोग गर्ने ठोकुवा गरे । लेखक डा.नवराज के.सी.ले कर्नालीको मर्म जीवनको पाठाशालामा लेखिएको पुस्तक भएको बताउँदै भने, “यस पुस्तकले म उभिएको भन्दा म उम्रेको माटो महत्वपूर्ण हुन्छ, भन्ने पाठ सिकाएको छ ।” उनले समात्दा सानो लागे पनि वजनदार मूल्य भएको पुस्तक कर्नालीले पाएको जिकिर गरे । उनका अनुसार कर्नाली बुझ्न कर्नालीको मर्म पढ्नै पर्नेर्छ । यस कृतिलाई लेखक डा. दीपेन्द्र रोकायाले कर्नालीको गर्वलाग्दो इतिहासको उत्खनन्, वर्तमानको पैरवी र भविश्यको आँकलन गर्न उत्पेरणा मिलोस् भनी प्रकाशनमा ल्याएको बताए । सो पुस्तक कर्नालीको भूमिमा केही गर्न सकिन्छ भनी सोच्ने र काम गर्नेहरुको नाममा समर्पण गरिएको “कर्नालीको मर्म” भित्र कर्नालीको मुल, पहिलो आमा, शिव !, हिजोको कर्नाली, परिवर्तनको मूल्यबोध, बिम्ब फेर्न्या रैवार र गन्तव्य कर्नाली भनेर सात अध्यायमा लेखिएको छ । जनादेशका साप्ताहिकका पूर्व कार्यकारी सम्पादक समेत रहेका रोकायाले कर्नालीलाई केन्द्रीत गरेर पुस्तक प्रकाशनमा ल्याएका हुन् । कार्यक्रममा देउडा गायिका जानकी र शारदा रोकायाले पुस्तकभित्र लेखिएको “नुन पाइन्थ्यो सुन पनि पाइन्थ्यो कर्नालीको गाउँमा, लागेन पारिलो घाम राजनीतिको नाउँमा” भन्ने देउडा गीत प्रस्तुत गरिन् । यस्तै कर्नाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारी र शहीद यामबहादुर विसी प्रतिष्ठानका सचिव भगवती विसीले कर्नालीको मर्ममाथि चर्चा गरिन् ।

शिवरात्रीमा ज्योति मगर जखेरा ताल आउँदै

उमेश बन्जाडे, लमही : लुम्बिनी प्रदेशको चर्चित पर्यटकीय क्षेत्र जखेरा तालमा महाशिवरात्री पर्वको अवसरमा भव्य सांस्कृतिक कार्यक्रम हुने भएको छ । लोक तथा दोहोरी गायिका ज्योति मगरको कार्यक्रममा बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । स्थानीय कला, संकृति र सम्पदाको संरक्षण गर्नका लागि कार्यक्रमको आयोजना गरिएको जखेरा शिवालय धार्मिक पर्यटन विकास प्रतिष्ठानका महासचिव लोकमणि बन्जाडेले जानकारी दिए । हरेक वर्ष शिवरात्री पर्वको अवसरमा जखेरा तालमा लाग्ने मेलाले स्थानीय तथा राष्ट्रिय कलाहरूको सम्बर्द्धन गर्दै लोक संस्कृतिलाई उचाइमा पुर्‍याउन टेवा दिइरहेको ताल संरक्षण समितिका सहअध्यक्ष रविध्वज थापाको भानाइ छ । फागुन २७ गते हुने सांस्कृतिक कार्यक्रममा ज्योती मगरसहित गायक दोषहरण चौधरी, गायिका वसन्ती चौधरी, कार्यक्रम प्रस्तोता अनुप बुढा मगर, मोडेल अभिमान चौधरी तथा डिक्र्यु डान्स ग्रुप र देउखुरी डान्सिङ एण्ड सिङ्गीङ स्टारको सम्पूर्ण टिमले सांस्कृतिक प्रस्तुति गर्ने आयोजकले जनाएको छ ।

‘प्रचण्ड जहाँ उभिन्छन्, त्यहीँबाट शुरू हुन्छ नेकपाको लाइन’

दिलनिशानी मगर फिल्मको नाम याद भएन तर हिन्दी फिल्ममा एउटा रोचक दृश्य छ । कुनै सरकारी अड्डामा सेवाग्राहीहरू लाइन बसिरहेका हुन्छन् । लाइन निकै लामो हुन्छ । यसैबीच हतारहतार दौडेर आएका एक जना नायक लाइनको बीचमा पुगेर उभिन्छन् र अझै अगाडि बढ्न खोज्छन् । यत्तिकैमा त्यहाँ लामो समयदेखि गर्मीमा लाइन बसिरहेका सेवाग्राहीको विरोध शुरू हुन्छ । एक जनाले लाइन यहाँ हैन, ‘तिमी पछाडि जाऊ’ भनेर सिकाउँछन् । सोही बखतमा ती नायक आवेगमा झर्कँदै बोल्छन्, ‘तिनीहरू चुप बस, म जहाँ उभिन्छु लाइन त्यहीँबाट शुरू हुन्छ ।’ अनि सबै जना मुखामुख गरेर चुप बस्छन् । नेपाली राजनीतिका शीर्ष व्यक्तित्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिन्दी फिल्मका नायक त होइनन् तर नेपाली राजनीतिका नायक भने पक्कै हुन् । हिजो एकात्मक केन्द्रीकृत सामन्ती राज्यसत्ताविरुद्ध, राजतन्त्र अन्त्यका निम्ति युद्ध सञ्चालन गर्नुपर्छ भन्दा ‘हुन्न हुन्न’ भन्नेहरू धेरै थिए । धेरै जना ‘मरिन्छ कि’ भनेर डराएका थिए । मोहनविक्रम सिंहहरूसँग सल्लाह गर्दा खिस्सी गरेका थिए । चित्रबहादुरहरू प्रचण्डसँग छलफल गर्नुभन्दा घाम तापेर बस्दा फाइदा हुन्छ भन्ने तर्क गर्ने गर्थे तर प्रचण्ड हतियार सहितको राजनीतिक संघर्षको लाइनमा खडा भए । अनि त्यहीँ लाइनदेखि शुरू भयो महान् जनयुद्धको नयाँ लाइन, जसलाई प्रचण्डपथका रुपमा परिभाषित गरियो । जनयुद्ध जारी थियो । तात्कालिक शाही नेपाली सेना र जनमुक्ति सेनाबीच लडाइँ जारी थियो । कांग्रेस, तत्कालीन एमाले र एक हदसम्म दरबारसँग वार्ता जारी थियो । पक्कै पनि यी वार्तामा दिल्ली साक्षी बसिरहेको थियो वा दिल्ली भूराजनीतिक दृष्टिकोणले चनाखो थियो । अचानक प्रचण्डले शान्ति प्रक्रियाको मोडल ल्याए । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मुहारचित्र कोरे । धेरैले यसको विरोध गरे । धेरै पाखा लागे । तत्कालीन एमाले नेता केपी ओलीले खिस्सी गरे । जंगलीदेखि लिएर गुलेलीसम्मका उखानहरू सुनिए तर नरम धारका मानिएका माधवकुमार नेपाल, वामदेव गौतम लगायतको प्रयास तथा स्व. गिरिजाप्रसाद कोइरालाको त्यागका कारण देश प्रचण्डको उभिएको लाइनमा गयो । ती दिनहरूमा प्रचण्ड उभिएको लाइनमा केपी ओली उभिन सकेका थिएनन् । हिजो उभिन नसकेका ओलीलाई अहिले उभिन लाज लागेको पनि हुनसक्छ । त्यसयता प्रचण्डले पछाडि फर्केर हेरेका छैनन् । उनी जहाँ उभिन्छन्, त्यहीबाट चिजको विकास भएको छ, चिजको निर्माण भएको छ । एउटै पार्टीमा बसिरहनु, पार्टी नफुट्नु, ठूलो पार्टी मात्र भइरहनु खासै मुख्य कुरा होइन, मुख्य कुरा विचार र परिवर्तन साँचो अर्थमा आयो कि आएन भन्ने हो । यहाँ जुलुस त दरबारको पक्षमा पनि निस्किन्छन्, पञ्चायती शासनको पक्षमा पनि निस्कनसक्छ तर मुख्य कुरा त्यो जनताको हितमा छ कि छैन भन्ने कुरा प्रधान हो । केपी ओली आफू बालुवाटारमा प्रधानमन्त्रीको कुर्चीमा बसेर सडकमा २०–४० जना केटाहरू नचाउनु कत्तिको जायज हो ? यदि जायज हो भने ओली सरकारका समर्थकभन्दा तेब्बर बढी संख्यामा जनताहरू विरोधमा दिनहुँ जस्तो सडकमा निस्किएका छन् । केपी ओली किन राजीनामा दिँदैनन् त ? किन दिँदैनन् भने केपी ओली निकै जब्बर छन् । हिजो नेपालमा गणतन्त्र सम्भव नै छैन भनेर हालका प्रधानमन्त्री केपी ओली समेतले प्रचण्डको खिस्सी गरे र गणतन्त्रको सपनालाई बलयगाढा चढेर अमेरिका जाने सपनासँग तुलना गरे तर प्रचण्ड गणतन्त्रकै पक्षमा उभिए । प्रचण्ड जहाँ उभिए, त्यहीँबाट शुरू भयो गणतन्त्रको बीजारोपण । हिजो अन्तिमसम्म र अझै पनि राजतन्त्रलाई स्पेस दिन सकिन्छ कि भनेर बेबी किङको चर्चाहरू गरिए, प्रयासहरू भए तर ती सबै प्रयासलाई प्रचण्डले निस्तेज पार्दै आए । यसरी संघीयता होस् वा समावेशी नेपाल होस् वा राजतन्त्रको अन्त्य नै किन नहोस्, प्रचण्ड जहाँ उभिए त्यहीँबाट शुरू भए परिवर्तनका यात्राहरू । यदि साधारण गाउँको जनताको छोरी हुन् भने यो कुरा त राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि थाहा हुनुपर्ने हो । आज धेरैलाई भ्रम छ प्रचण्ड सकिएको थियो, एमालेले साथ दियो, एमाले नभएको भए प्रचण्ड हुने थिएनन् । यस्तै सोचका कारण केपी ओलीमा अहंकार पलाएको प्रस्ट छ तर उनीहरूलाई के थाहा छैन भने पार्टी हुनका लागि विचार हुनुपर्छ, पार्टी हुनका लागि एउटा उद्देश्य हुनुपर्छ । आजको मितिमा केपी ओलीको उद्देश्य के हो ? उनको राजनीतिक विचारधारा के हो ? केपी ओलीको राजनीतिक विचार नै छैन । न उनी समाजवादी हुन्, न उनी मार्क्सवादी र साम्यवादी । उनी त केही पनि हैनन् । त्यही एउटा गुट छ, ओली गुट, जुन निकै बलियो छ । बलियो पनि कसरी भएको भने ओलीले मौकामा आफ्ना भारदारहरूमाथि राम्रै लगानी गरेका छन् । उनले हाससालै गरेका राजनीतिक नियुक्तिहरू हेर्नुहोस्, चिज क्लियर छ । यो बीचमा केपी ओलीले आफूलाई निकै ठूलो राष्ट्रवादी नेताका रुपमा पुष्टि गर्न खोजे तर महाकाली नदीको श्राप उनले बिर्सनु हुँदैन । नयाँ नक्सा जारी भएको उनको कारण मात्र होइन । समाजवादी दलको समेत समर्थन छ यो कुरामा । ‘एक्सिडेन्टल हिरो’ भएको जस्तै ‘एक्सिडेन्टल राष्ट्रवादी’ हुन जति सजिलो छ, त्यति सजिलो छैन त्यसलाई पुष्टि गर्न । ओलीले आफूलाई श्रीपेचविनाको राजाको रुपमा लिए । राष्ट्रपतिलाई समेत विवादमा ल्याए । गलत सूचना विश्वास गरेर उनले संकटकालै लगाएको भए पनि के गर्न सक्थे र ? प्रचण्डलाई जेलमा थुन्थे ? नारायणहिटी दरबार र रुक्माङ्गत कटवालले थुन्न नसकेको प्रचण्डलाई झापा जिल्लाका नागरिक केपी ओलीले थुन्न सक्लान् र ? संघीय लोकतान्त्रिक गणतन्त्र केपी ओलीलाई खासै मन नपरेको सत्य हो । उनलाई प्रचण्ड मनपर्ने त कुनै कारण नै छैन । पद र कुर्चीका लागि पार्टी जुटाए र फुटाउलान् । बिरामी शरीर, विभिन्न औषधिको ‘साइड इफेक्ट’का कारण होला केपी ओलीले आफूलाई गणतन्त्र नेपालको प्रधानमन्त्री हुँ भन्ने कुरा बिर्सेका छन् । हुन त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालसँग उनको कुनै साइनो छैन । समावेशी नेपालका निम्ति यिनको योगदान पनि छैन । अरुले ठिक्क पारेको खीर कपाकप खान सजिलो छ । अरूले जतनका साथ निर्माण गरेको बगैँचामा गएर सुगन्ध लिन पनि सजिलो छ तर गाह्रो छ भैसी पाल्न, फूलहरू उमार्न । हिजो नारायणहिटी दरबारको गेटमा असिना र पसिना हुँदै टीका थाप्न बिहान ७ बजेदेखि लाइनमा बस्नेहरूले आज शितल निवासमा ब्रेकफास्ट खाने पहुँच पाएका छन् । यो कुरा केपी ओलीइतरका मानिसहरूले बुझ्नुपर्छ । जनतामा केपी ओली सरकार कति अलोकप्रिय छ । त्यो केटाकेटीलाई पनि थाहा छ । नयाँ संविधानले प्रत्याभूत गरेको संघीय व्यवस्थालाई कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी पाएको ओली सरकारले त्यसलाई प्रभावकारी ढंगले निभाउन नसक्दा धेरै खाले जटिलता उत्पन्न भए । भूकम्पपछिको पुनर्निर्माणले गति नलिनु, ३३ किलो सुन तस्करी काण्डका मुख्य दोषी र सुन पत्ता नलाग्नु, मूल्यवृद्धि र व्यापार घाटा बढ्नु, नेपाल वायुसेवा निगमको जहाज खरिदमा अनियमितताको आरोप लाग्नु ओली सरकारको चिनारी नै बन्यो । ओम्नीदेखि के–के अनेकौं काण्डहरू भए । बिमस्टेकको संयुक्त सैन्य अभ्यास सम्बन्धी विवादमा ओली सरकार फस्यो र एसिया प्यासिफिक समिटमा सहभागी भएपछि त कूटनीतिक रूपले थप विवादित बन्न पुग्यो । यस्ता सयौँ उदाहरण छन्, जो केपी ओलीले देशको अहित हुने गरी गरे तर पनि केपी ओलीलाई यो सबै कमजोरी हुनुमा आफ्नोभन्दा पनि प्रचण्डको हात रहेको अनुभूति हुने गर्छ र सरकारलाई असफल गराउन आफ्नै पार्टी लागेको भनेर उनी भाषण गर्छन् । एक उदाहरण पेश गरूँ ? सर्वहारा वर्गका महान् नेता एवं मार्क्सवादका प्रवर्तक कार्ल मार्क्सको निधन सन् १८८३ मार्च १४ मा भएको थियो । मार्क्सको निधनपछि १७ मार्चमा उनको अन्त्येष्टि गरिएको थियो । अन्त्येष्टिका क्रममा अनन्य मित्र फ्रेडरिक एंगेल्सले कार्ल मार्क्सका योगदानबारे गहन मन्तव्य प्रस्तुत गरेका थिए । उनले भनेका थिए, ‘मार्क्स आफ्नो समयमा सर्वाधिक घृणित र छोडिएको मानिस थिए । निरंकुश र गणतान्त्रिक दुवै सत्ताले, उनलाई आफ्नो क्षेत्रमा निर्वासित गरेको थियो । उहाँमाथि निरन्तर हमलाको दौरान कन्जरभेटिभ र अतिजनवादी बुर्जुवा सहयोद्धा बने । उहाँले यो कुराको कहिल्यै पर्वाह गर्नु भएन र यसलाई निरर्थक सम्झिँदै नजरअन्दाज गर्नु हुन्थ्यो । अत्यावश्यक पर्दा मात्र जवाफ दिन उचित ठान्नुहुन्थ्यो ।’ आज प्रचण्ड जीवितै छन् तर उनलाई कार्ल मार्क्सलाई भन्दा धेरै ठूला आरोपहरू लगाइन्छन्, लगाइने पनि छन् तर ती सबै कन्जरभेटिभ र अतिजनवादी बुर्जुवा तत्वहरू छन् । जस्तो कि केपी ओली गुट । यिनीहरू निरंकुशतालाई प्रेम गर्छन् । यिनीहरू गणतन्त्रको लागि सुहाउने पात्र होइनन् । यसर्थ पार्टी फुटिहाल्यो भने पनि प्रचण्ड जहाँ उभिन्छन्, त्यहीँबाट शुरू हुन्छ गणतन्त्रको लाइन, विचार र सिद्धान्तको लाइन अनि विपरीततर्फ हुनेछ केवल भ्रम, अहंकार र निरंकुशताको लाइन । राजनीतिक रस्साकस्सीबीच शनिबार साँझ मन्त्री तथा राज्यमन्त्रीलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले आफू र राष्ट्रपतिलाई हटाउने षड्यन्त्र भइरहेको ब्रिफिङ गरेका थिए । उनले राष्ट्रपतिजस्तो सम्मानित संस्थालाई विवादमा ल्याउन खोजेका थिए । राष्ट्रपति समेत भ्रममा पर्ने गरेर बालुवाटार जे–जे भन्छ, शितलनिवास त्यही–त्यही गर्दै थियो । यो सही थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र आफूलाई हटाउने षड्यन्त्र भइरहेको बताएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिवाद गरेका थिए । उनले ‘हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो, यो गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतानौँ’ भनेर प्रधानमन्त्रीको भ्रमको निवारण गरेका थिए । प्रचण्ड र माधवकुमार नेपाल समेत शितलनिवास पुगेका थिए । यसरी बालुवाटार भ्रमको खेतीमा कसरी रमाएको छ त्यो प्रतीत हुन्छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग नयाँ सरकार गठनबारे शेरबहादुर देउवासँग कुराकानी अगाडि बढाइसकेका थिए । एकदमै आक्रमक रुपमा अगाडि बढेका थिए ओली । केपी शर्मा ओली संसदमा विचाराधीन अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई पारित गर्ने पक्षमा देखिएका छन् । एमसीसी सम्झौता अध्ययन गरेका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले पनि ‘संशोधन विना सम्झौता लागू गर्न हुन्न’ भन्ने प्रतिवेदन पाएका ओली खनालसँग पनि रुष्ट छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा अमेरिकासँग २०७४ भदौमा पूर्वाधार विकासमा खर्च गर्ने गरी एमसीसी सम्झौता भएको थियो । यही एमसीसी पास गर्नका लागि पनि केपी ओली र देउवाको गठजोड भएको हुनसक्छ । अमेरिकाको चलखेल पनि देखिएको छ । एमसीसी कार्यान्वयनमा आउन संसदबाट अनुमोदन हुनुपर्छ । यो रकम ट्रान्समिसन लाइन र सडक मर्मत–सम्भारमा खर्च गर्ने सहमति छ । हिजो महाकाली नदी बेच्ने बेलामा पनि केपी शर्मा ओली र शेरबहादुर देउवा एकमतका साथ मिलेर अगाडि बढेका थिए । अहिले यति हतारोका साथ देउवाको साथ खोज्नुमा अर्थमन्त्री युवराज खतिवडाले होल्डमा राखेको एमसीसी संसदबाट पास गर्न त होइन भन्ने शंका उत्पन्न भएको छ । देउवासँग सहकार्य गर्ने ओलीको इच्छा र प्रचण्ड, माधवसँग टाढिने रणनीति केपी ओलीको नयाँ होइन । जनताको भावना विपरीत पार्टी फुटाउन मिल्ने गरी केपी ओलीले कसैसँग सल्लाह नै नगरी अध्यादेश ल्याए । राष्ट्रपति दाहिना भइन् । प्रधानमन्त्रीले आफ्नो पार्टीसँग सल्लाह गर्नुपर्ने आवश्यकता महसूस नै गरेनन् तर चौतर्फी विरोधपछि सरकारले अत्यावश्यक भन्दै आएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन अध्यादेश २०७७) र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ खारेजका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गर्‍यो । पूर्व आईजीपी र सांसदहरू लगाएर संसद नै अपहरणको आरोपलाई ओलीले ‘डिफेन्स’ गर्न सकेनन् । हालसालै फेरि त्यस्तै अलोकप्रिय कदम चालिएको छ । सत्तारुढ दलका प्रमुख नेता र सभामुख समेतलाई जानकारी नदिई अचानक संघीय संसदको छैठौं अधिवेशन अन्त्य भयो । संसदको कामकारबाही बन्द गरियो । भनियो कि राष्ट्रपतिलाई महाअभियोग लगाइँदैछ । के राष्ट्रपतिलाई महाअभियोगबाट बचाउने काम सरकारको हो ? यसरी निरंकुश ढंगले संसदको कारबाही बन्द हुँदा संसद सचिवालयमा दर्ता भएका १३ वटा प्रस्ताव औचित्यहीन बन्न पुगेका छन् तर भूमिमन्त्री पदमा अर्यालले ‘बिजनेस’ नहुँदा अधिवेशन अन्त्य भएको भन्दै ‘संसदलाई रत्यौली खेल्ने थलो’ बनाउन नहुने सार्वजनिक लज्जास्पद टिप्पणी गरिन् । साँचो कुरा त के हो भने संसद सचिवालयका अनुसार २६ वैशाखदेखि १८ असारसम्म चलेको अधिवेशनमा दर्ता भएका २ वटा सार्वजनिक महत्त्वका प्रस्ताव, २ वटा ध्यानाकर्षण प्रस्ताव र ९ वटा संकल्प प्रस्तावमाथि छलफल हुन बाँकी थियो । संघीय संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार हाल संसदमा ५३ वटा विधेयक छन् । यीमध्ये १९ वटा छैठौं अधिवेशनमै दर्ता भएका हुन् । संसदमा प्रस्तुत भएर संसदीय विषयगत समितिमा छलफलमा रहेका विधेयकको संख्या २० वटा छ । संसदमा दर्ता भएर पनि संसदमा टेबुल हुन बाँकी विधेयकको संख्या १३ वटा छ । कतिपय विधेयक समितिबाट पारित भएर संसदमा प्रस्तुत हुन बाँकी छन् । यो कुरा केपी ओलीलाई कसले बुझाइदिने ? आफ्नै अलोकप्रिय कदमका कारण सत्ता छाड्न दबाब बढेपछि ओलीले राष्ट्रपतिलाई संकटकाल घोषणा गर्न लगाउने, मध्यावधि चुनाव घोषणा गर्ने, नेकपा विघटनको निर्णय लिएर नेकपा एमाले ब्युँताउनेसम्मको विकल्पबारे छलफल बढाएको रहस्य खुलेको छ । यी विकल्पमध्येमै जाने तयारीका साथ निर्वाचन आयोगमा सन्ध्या तिवारीमार्फत् ओलीले नेकपा एमाले पार्टी दर्ता गर्न प्रक्रिया अघि बढाएको वामदेव गौतमले खुलासा गरिसकेका छन् । पार्टीको निर्णय थियो – अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अब सरकारको काम मात्र हेर्नेछन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सम्पूर्ण काम हेर्नेछन् तर केपी ओलीले कहिल्यै सल्लाह गरेनन् । दुवै अध्यक्षको वरियताक्रम यथावत रहने तर आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्न, प्रतिनिधि सभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी ओलीले गर्ने र त्यसले राजनीतिक स्थायित्वको सन्देश दिने, पार्टी र सरकार सञ्चालन २ अध्यक्षबीचको आपसी सल्लाहमा गरिने । पार्टी सञ्चालनका क्रममा वैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तर हुन सकेन । बरु जानाजान कुर्ची नै फरक–फरक स्थानमा राखेर प्रचण्डको अपमान गर्ने काम भइरह्यो । प्रचण्डलाई कुर्चीसँग कुनै सरोकार थिएन, छैन तर गणतन्त्र नै खतरामा पार्ने गरी जसरी सरकारले दिनप्रतिदिन आफ्नो नुर गिराइरहेको छ, त्यो प्रचण्डको सरोकारको विषय थियो र छ । पार्टी भन्ने कुरा त त्यस्तै हो । कतिपयले प्रचण्डलाई तनाव छ भन्छन्, पद पाएन त्यही भएर ओलीको विरोध गर्छ भन्छन् तर त्यसो होइन । प्रचण्डलाई व्यक्तिगत लाभका लागि कुनै तनाव छैन । विक्रम संवत् २०५८ सालमा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहनुभएका प्रचण्ड २०६३ असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी भूमिगत जीवनबाट काठमाडौंमा सार्वजनिक भएका थिए । २०६५ साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । त्यतिखेर पनि प्रचण्ड न तनावमा थिए, न चरम खुशीमा । बरु प्रचण्ड गणतन्त्र नेपालको रक्षाका निम्ति गम्भीर थिए । प्रचण्डको राजनीतिक जीवन अनवरत रुपमा चलिरहेको छ । कहिले एकता त कहिले विघटन तर उनले जे जस्ता निर्णयहरू चालेका छन्, ती परिवर्तनका निम्ति चालेका छन् । २०४६ सालको जनआन्दोलनपछि तत्कालीन ४ कम्युनिस्ट पार्टीहरू ‘मशाल’, चौथो महाधिवेशन, सर्वहारावादी श्रमिक संगठन र विद्रोही मसाल मिलेर बनेको एकता केन्द्रको समेत प्रचण्ड महामन्त्री भए । त्यसपछि २०५१ सालमा फेरि एकता केन्द्र छुट्टिएर २ चिरा भएपछि प्रचण्ड समूह चाहिँ नेकपा माओवादीका रूपमा देखापर्‍यो, जसले १ वर्षपछि सशस्त्र विद्रोह थाल्यो । २०४६ सालको जनआन्दोलन हुनु केही समयअघि प्रचण्डले गोरखाको सिरूबारीको तिरानचोकमा १६ जनालाई पहिलोपटक हतियार चलाउने तालिम दिएका थिए । २०४५ सालमा पार्टीका सैन्य दस्तावेज, लेखराज भट्टले पार्टीलाई उपलब्ध गराएको एउटा पेस्तोल र १० गोला जिलेटिन शरीरमा लुकाएर बादलसहित बसबाट गोरखा जाँदै गर्दा मुग्लिनको पुल तरेपछि तनहुँको डीएसपी र सीडीओद्वारा भएको खानतलासीमा बाँचियो । त्यो समूहका प्रायः सदस्यहरू अहिले केन्द्रीय समितिमा छन् । त्यसपछि २०५२ सालमा ‘जनयुद्ध’ थाल्नुभन्दा केही समयअघि गोरखाकै गाईपुरमा अर्को तालिम दिए प्रचण्डले । अहिले पनि प्रचण्डको संघर्ष जारी नै छ । पार्टी फरक होला तर विचार र चिन्ता उहीँ छ । हामी प्रचण्डको लिगेसी हेरौं । विक्रम संवत् २०६५ असारमा प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बने । प्रधानमन्त्री बनेपछि उनको ध्यान स्वाधिनताको रक्षार्थ बित्यो । चुनौतिपूर्ण छ भन्ने जान्दाजान्दै प्रचण्डले स्वाभिमानका पक्षमा उभिने निर्णय लिए । पशुपतिमा नेपाली पुजारी र सेनापति प्रकरणमा दिल्लीको जुन दबाबको सामना गरे, त्यो स्वाधीनताकै लडाइँ थियो । उनको पहिलो प्रधानमन्त्रीकालमा देशको स्वाधिनतामा आँच आउने कुनै निर्णय वा सम्झौता भएनन् । बरु, ‘प्रभुसामु नझुक्ने’ संकल्पसहित उनले स्वेच्छाले प्रधानमन्त्री पद त्यागिदिए । शान्ति प्रक्रिया, संविधान निर्माण, समावेशी, समानुपातिक राज्य, संघीयता, गणतन्त्र नेपाल यी सबै प्रचण्डको निर्णयबाट सम्भव थियो । लोडसेडिङ अन्त्य गर्ने प्रचण्ड । भारतलाई सुम्पेको फास्ट ट्रयाक सेनालाई बनाउन दिने निर्णय गर्ने प्रचण्ड । स्थानिय चुनाब गराउने निर्णय गर्ने प्रचण्ड । चीनसँग ‘वान बेल्ट वान रोड’ समझदारीमा हस्ताक्षर गर्ने प्रचण्ड । भारत र चीनसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्ने प्रचण्ड । मधेशीलाई सहमतिमा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रचण्ड । आर्थिक वृद्धिदर इतिहासकै उच्च ७.५ प्रतिशत पुर्‍याउने प्रचण्ड । यसकारण गतिशील प्रचण्ड जहाँ उभिन्छन्, त्यहीँबाट शुरू हुन्छ गणतन्त्रको जग अनि नेकपाको लाइन । यसरी दक्षिण एसियामा नै प्रचण्डको राजनीतिक प्रभाव र पृष्ठभूमि एकप्रकारको उदाहरणीय छ । विदेशीहरूले पत्याउने नेपालको एक मात्र नेता प्रचण्ड नै हुन् भन्ने कुरा आम जनता, वुद्धिजीवी वर्ग, पत्रकार, नागरिक समाजले स्वीकार गरेको कुरा हो । जस्तोसुकै जोखिमयुक्त परिस्थितिमा पनि निरन्तरता, क्रमभंगता गर्दै, फुट्दै फेरि जुट्दै प्रचण्डको राजनीति यहाँसम्म आइपुगेको छ । प्रचण्डको नक्कल गर्न खोज्नेहरू सखाप वा पलायन भइसकेका छन् । प्रचण्ड आज पनि प्रचण्ड गर्जनका साथ नेपाली राजनीतिमा उपस्थित छन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जननीका रुपमा प्रचण्ड परिचित छन् । केपी ओलीहरूले यो कुरा राम्रोसँग बुझ्नुपर्छ कि प्रचण्ड जहाँ उभिन्छन्, त्यहीँबाट शुरू हुन्छ नेकपाको लाइन । लोकान्तर डटकमबाट साभार

प्लस २ पास गरेकालाई एक कम्पनीले माग्यो कर्मचारी

काठमाठौं पुस २२ । एक प्रतिष्ठित कम्पनीले +2 पास गरेकाहरुलको लागि नयाँ अवसर प्रदान गरिने भएको छ । Position Title: Division Manager & Assistant Manager No. of Vacancy: Male 10/Female 12) Qualification: +2 Above any Faculty can apply) Income: During Training (7,000-15,000) After Training 30,000 Above इच्छ्क रोजगारदाताहरुले समयमै सम्पर्क गरी आफूले खोजेको पद रोजिहालौं । तलको यस नम्बरमा सम्पर्क गर्न सकिने छ । टेलिफोन नं: 071–५४०२३८,  ९८१९४२३४३२, ९८१५४८३९०४  

संसद् बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दै छन् । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रचण्डले सम्बोधन गर्नेछन् ।  बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने बताइएको छ ।  सरकारमा रहेका एमालेलगायत दलले समर्थन फिर्ता लिँदै मन्त्री फिर्ता बोलाएपछि प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेका हुन् । 

मकवानपुरमा बस दुर्घटना : २० जना घाइते

हेटौँडा। मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। शुक्रबार बिहान २ः४५ मिनेटको समयमा मनहरी–९ ज्यामिरेमा बस दुर्घटना हुँदा २० जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको ना.५ ख ५५१५ न.को यात्रुबाहक बसको अगाडिको पट्टा भाचिदा मनहरीमा बस अनियन्त्रित भइ दुर्घटना भएको हो। बस सडकको दाहिने साइडको नालीमा पर्न गई कोल्टे हुँदा बसमा सवार मध्य ११ जना स्थानिय मेडिकलमा उपचार भइरहेको छ भने र नौ जनाको उपचारका लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ भने घटना स्थलबाट बस निकाल्ने प्रयास भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । सरकारले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानवपाइला टेकेको दिन मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाउने गरिएको छ । सन् १९५३ मे २९ तारिखका दिन नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको चुचुरोमा पहिलो पटक पाइला टेकेका थिए । सगरमाथाको चुचुरोमा मानव पाइला टेकिएको आज ७१ वर्ष पूरा भएको छ । नेपालमा सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रुपमा मनाउन थालिएको हो । सगरमाथा दिवसको यस वर्षको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव’ भन्ने तय गरेको छ ।

शीर्ष नेताको बैठक बस्दै, कार्यादेश टुंग्याउने तयारी

काठमाडौं । सहकारीको बचत अपचलन प्रकरण छानबिनका निम्ति गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक बस्दै छ । बैठक आज बिहान बस्न लागिएको हो । शनिबार उक्त विषयमा टुंगोमा नपुगेकाले बैठक आज बस्ने तय गरिएको हो ।  

दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सिफारिस

काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सिफारिस गरिएको छ । बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले बुधबार ६ जनाको नाम सिफारिस गरेको हो ।  कार्यकारी निर्देशकका लागि पेस भएका आवेदकहरुको स्वीकृत नामावली वर्णानुक्रम अनुसार सिफारिस गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उल्लेख गरेको छ । एक नम्बरमा झापाका दुवागढीका–४ का निराज भट्टराई, दोस्रोमा सप्तरीको सम्भुनाथ नगरपालिका ३ का बालक चौधरी, तेस्रोमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० का डा। मोगल प्रसाद साह, चोथौमा सप्तरीका बर्नेनिर्या –७ का डा। राजेन्द्र प्रसाद यादव, पाँचौँमा काठमाडौँ महानगरपालिका–२९ घट्टेकुलोका राम प्रसाद पौडेल र गोरखाको जोवारी–६ का डा। सितलकाजी श्रेष्ठको नाम सिफारिस गरिएको हो ।