मकवानपुरमा बस दुर्घटना : २० जना घाइते

हेटौँडा। मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। शुक्रबार बिहान २ः४५ मिनेटको समयमा मनहरी–९ ज्यामिरेमा बस दुर्घटना हुँदा २० जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको ना.५ ख ५५१५ न.को यात्रुबाहक बसको अगाडिको पट्टा भाचिदा मनहरीमा बस अनियन्त्रित भइ दुर्घटना भएको हो।

बस सडकको दाहिने साइडको नालीमा पर्न गई कोल्टे हुँदा बसमा सवार मध्य ११ जना स्थानिय मेडिकलमा उपचार भइरहेको छ भने र नौ जनाको उपचारका लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ भने घटना स्थलबाट बस निकाल्ने प्रयास भइरहेको छ ।

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

काठमाडौँ।  राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका छन्।  ‘सक्षम कानुन व्यवसायी, मर्यादित बारः न्यायापालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नाराका साथ नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा आजदेखि सुरू भएको तीनदिने सम्मेलनको राष्ट्रपति पौडेलले उद्घाटन गरेका हुन् ।  उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको उपस्थिति रहेको छ ।  नेपाल बार एशोसिएशनका अनुसार जेठ ४ देखि ६ गतेसम्म चल्ने सम्मेलनमा देशभरका करिब सात हजार कानुन व्यवसायीको सहभागिता रहने छ । रासस

माधव नेपालले भने -'पार्टी विभाजन गर्ने हल्लाले आत्तियौँ'

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजन गर्न लागेको हल्ला चलेपछि आत्तिएको सुनाएका छन् । ललितपुरको बालकुमारीमा आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले जनता समाजवादी पार्टी विभाजनसँगै आफ्नो पार्टी पनि विभाजन गर्ने चर्चा चलेपछि आफु आत्तिएको बताएका हुन् । “हाम्रो पार्टीको पनि विभाजनको हल्ला चले। अर्को पार्टी खडा गर्नका लागि तयारी भइसकेको भन्ने चर्चा पनि चल्यो। ६ जना जाँदैछन् भन्ने हल्ला चले, चलाइए,” उनले भने, “हामी पनि आत्तियौँ । के हो वास्तविकता ? बसेर फेरि छलफल गर्यौं। छलफल गर्दा जति गणना गर्दा पनि देखिँदैन ।”  अध्यक्ष नेपालले पार्टीभित्र भ्रष्टिकरण र पदलोलुपताको प्रवृत्ति खतरनाक रुपमा देखापरेको बताए ।नेपालले पार्टीमा असन्तुष्टि भए छलफल गरेर टुंगो लगाउन सकिने समेत बताएका छन् ।

देशमा ठूलो सुरक्षा चुनौति छैन : प्रधानसेनापति शर्मा

काठमाडौं । प्रधान सेनापती प्रभुराम शर्माले देशमा ठूलो सुरक्षा चुनौति नरहेको बताएका छन् ।मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रधान सेनापती शर्माले देशमा ठूलो सुरक्षा चुनौति नरहेको बताएका हुन्। संवेदनशील भूराजनीतिक अवस्था, खुला सीमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौतीहरु देखापरेपनि समाधान नै गर्न नसक्ने प्रकारका कुनैपनि चुनौति नरहेको उनले स्पष्ट पारे। उनले कहिलेकाहीँ धार्मिक, सांस्कृतिक तथा जातिय पहिचानको आधारमा केही घटनाहरु हुने गरेपनि ति समस्याहरुलाई स्थानीय स्तरमै राजनीतिक दलहरुले मिलाउने गरेका बताउ। प्रधान सेनापती शर्माले देशको राजनीति तरल अवस्थामा रहने हुँदा नेपाली सेना यसप्रति सधैँ चनाखो भएर बस्ने गरेको बताए। उनले मंगोल नेशनल अर्गनाइजेस र पहिचानवादीहरु बेलाबेलामा आन्दोलित हुने गरेपनि राष्ट्रिय समस्याको रुपमा नरहेको स्पष्ट पारे। त्यस्तै दुर्गा प्रसाईं नेतृत्वको समूहले पनि बेलाबेलामा गतिविधि गरेको भन्दै ति गतिविधिले सुरक्षालाई कुनै असर नपु¥याएको उनको भनाई छ। प्रधान सेनापति शर्माले अफगानिस्तान र पाकिस्तानमा जारी अस्थिर राजनीतिक वातावरणले नेपालको क्षेत्रमा पनि केही न केही असर पारिरहेको बताए। उनले भारत र चीनबिच दक्षिण एशियाली क्षेत्रमा बढिरहेको प्रभाव बिस्तारको प्रतिष्पर्धा र भारतमा बढिरहेको धार्मिक र सांस्कृतिक राष्ट्रवादको भावना आदिले गर्दा क्षेत्रीय शक्ति सन्तुलन र स्थिरतामा प्रभाव पारिरहेको बताए। त्यसको असर अवश्य पनि हाम्रो जस्तो देशलाई पर्दछ । म्यान्मारको आन्तरिक द्वन्द्वका कारण नेपालमा रोहिङ्ग्या शरणार्थी आएर बसेका कारण तिनले सामाजिक, आर्थिक र धार्मिक समस्याहरु निम्त्याउन सक्ने सम्भावना रहेको उनको भनाई छ । प्रधान सेनापति शर्माले राष्ट्रिय सुरक्षाका लागि छिमेकी देशहरु भारत र चीनलाई कहिल्यै पनि चिढ्याउनु नहुने बताउनुभयो । यद्यपी उनीहरुले नचाहिँदो कुरा गरेमा त्यसको बिरोध गर्नुपर्ने उनको भनाई छ। नेपालमा युरोपियन युनियन र अमेरिकाको पनि चासो रहेको भन्दै उनले सबैलाई सन्तुलन मिलाएर लानुपर्ने बताइन्। देशको हितको लागि सबैसँग वार्ता गरेर अगाडी बढ्नुपर्नेमा उनको जोड छ । उनले नेपाललाई सबैको सहयोग चाहिने उल्लेख गर्दै सन्तुलन मिलाएर काम गर्न संवेदनशील भएर लागेको बताए।

भारतका प्रधानन्यायाधीश डा.चन्द्राच्युड नेपालमा

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधानन्यायाधीश डा.डीवाई चन्द्राच्युड नेपालको तीनदिने औपचारिक भ्रमणमा आएका छन् । भारतका प्रधानन्यायाधीश डा.चन्द्राच्युडसहितको प्रतिनिधिमण्डल शुक्रबार नेपाल आइपुगेको हो। भारतीय प्रधानन्यायाधीशलाई अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा. आनन्दमोहन भट्टराईले स्वागत गरे। भारतका प्रधानन्यायाधीश चन्द्राच्युडले केन्द्रीय बाल न्याय समितिले शनिबार आयोजना गर्न लागेको ‘बाल न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सम्बोधन’ गर्ने कार्यक्रम रहेको छ । शनिबार साँझ नेपालका प्रधानन्यायाधीश र भारतका प्रधानन्यायाधीशबीच मैत्रीपूर्ण भेटवार्ता हुने कार्यक्रम रहेको छ। नेपालका प्रधानन्यायाधीशले भारतको प्रधानन्यायाधीशको सम्मानमा शनिबार नै रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ। भ्रमण दलमा भारतका प्रधानन्यायाधीशसहित उनकी धर्मपत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोट मास्टर चेतन अरोरा छन् । भ्रमण दल आइतबार साँझ स्वदेश फिर्ता हुने कार्यक्रम रहेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए । रासस

प्रहरी महानिरीक्षक र इन्डोनेसियन प्रहरीका डिभिजन प्रमुखबीच भेटवार्ता

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजिपी कृष्ण मुर्तीबीच बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ। भेटघाटको क्रममा उनीहरू बिच आपसी सहयोग, सूचनाको आदान प्रदान तथा समन्वय लगायतका विषयमा छलफल समेत भएको हो। यसअघि आइजिपी कृष्ण मुर्ती समेत ६ सदस्यीय टोलीको उपस्थितिमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको साङ्गठनिक परिचय, इतिहास, संरचना, काम कर्तव्य, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता एवम् अन्तर्राष्ट्रिय समन्वय तथा सहकार्यसम्बन्धी विषयमा प्रस्तुतीकरण गरेका थिए। सो अवसरमा आइजिपी कृष्ण मूर्तिले इन्डोनेसियन नेशनल प्रहरीको काम, कर्तव्य बारेमा विस्तृत रूपमा जानकारी दिँदै सूचना आदान प्रदान, अन्तरदेशीय अपराध, साइबर अपराध, संयुक्त राष्ट्र संघीय मिसनमा सहभागिता लगायतमा नेपाल प्रहरीसँग सहकार्य गरिने बताए। सो क्रममा इन्डोनेसियन नेशनल प्रहरीका वरिष्ठ उपरीक्षक लियो एण्डी गुनावानले संयुक्त राष्ट्र संघीय मिसनमा इन्डोनेसियन नेशनल प्रहरीको सहभागिताबारे प्रस्तुतीकरण गरेका थिए।

वान एक्स बेटिङ कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं । वान एक्स बेटिङ कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही मलंगवा नगरपालिका ९ बस्ने ३१ वर्षीय संञ्जय कुमार साह, १९ वर्षीय रामजी साह र सोही नगरपालिका १० बस्ने ३० वर्षीय राकेश चौधरी रहेका छन् ।  विश्वमा संचालन हुने विभिन्न खेलहरूमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एपलिकेसन वान एक्स बेट मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने, गराउने कार्य गर्ने, क्रिप्टो करेन्सी ट्रेड गर्ने सक्रिय एजेन्टहरू रहेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई सर्लाहीको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।  प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले विभिन्न मोबाइल नम्बरहरूबाट २१ वटा कनेक्ट आइपिएस एकाउन्ट खोली ९८ वटा बैंकका खाताहरू लिंकअप गरी हालसम्म ५७ करोड ४१ लाख ५७ हजार १ सय ४७ रूपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको छ ।  उनीहरूको साथबाट विभिन्न कम्पनीका मोबाइल सेट ९ थान, सिमकार्ड २१ थान, ल्यापटप २ थान, सिपियू १ थान, नगद ६२ हजार रूपैयाँ, विभिन्न सहकारीको पासबुक ११ थान, बैंकको चेकबुक १६ थान र डिपोजिट भौचर ११ थान समेत प्रहरीले बरामद गरेको छ ।  उनीहरूलाई उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ (सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता विरुद्धको कसुर) अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ । 

आज तराईमा होली पर्व मनाइँदै

काठमाडौं। फागु पूर्णिमा अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एक आपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर  मनाइँदै छ । आइतबार हिमाली एवं पहाडी जिल्लाहरूमा सो पर्व  मनाइयो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रूपमा  मनाउने प्रचलन रही आएको छ । 

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट प्रहरीले २१ जनालाई पक्राउ गरेको छ । देशका विभिन्न स्थानमा जुवातास खेल्दै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  काठमाडौंको टोखा नगरपालिका ९ लक्ष्मीनगरस्थित होटल रियात गेष्ट हाउसको छतमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक संखुवासभा धर्मदेवी नगरपालिका ६ घर भएका ५० वर्षीय तुलाराम निरौला समेत ५ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ८ सय ५० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।  यस्तै, झापाको शिवसताक्षी नगरपालिका १० स्थित रतुवामाई वृक्षारोपण आयोजनाको चौकिदार बस्ने भवनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय राजेन्द्र कुमार पदालुङ समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ८ सय ७५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरीको धरान उपमहानगरपालिका ४ देविथानस्थित न्यू देविथान होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा धनकुटा महालक्ष्मी नगरपालिका १ बस्ने ३३ वर्षीय गंगा बहादुर कटुवाल समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको   हो ।       यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका ५ हसनपुरस्थित रोहित होटलबाट जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही उपमहानगरपालिका ५ बस्ने ४१ वर्षीय कालुराम चौधरी समेत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको   छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार ५ सय ८५ रूपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

त्रिकोणात्मक टि-२० सिरिज : पिएनजीविरुद्ध सुरुमा नेपालको ब्याटिङ

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टि-२० सिरिजको आजको खेलमा नेपालले पहिला ब्याटिङ गरिरहेको छ। टस जितेर पिएनजीले नेपाललाई ब्याटिङको निम्तो दियो। हङकङमा जारी त्रिकोणात्मक टि–२० सिरिज अन्तर्गत पिएनजीविरुद्ध नेपालका ओपनर कुसल भुर्तेलले अर्धशतक बनाएका छन्। ३३ बल खेल्दै उनले चार चौका र तीन छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् । १३ औं ओभरको समाप्तिमा नेपालले तीन विकेटको क्षतिमा ९७ रन बनाएको छ ।९.३ ओभरमा नेपालले तेस्रो विकेटको रुपमा आरिफ सेखलाई गुमाएको हो। उनले ७ बल खेल्दै सात रन मात्र जोडे। सुरुको पाँच ओभर राम्रो ब्याटिङ गरेको नेपालले पछिल्लो तीन ओभरमा तीन विकेट नै गुमाएको हो। ओपनर बिनोद भण्डारी २२ बलमा २७ रन बनाएर आउट भए भने कप्तान रोहित पौडेल एक रन बनाएर आउट भए। पौडेलले चार बल मात्र खेले। आइतबार भएको पहिलो खेल वर्षाले प्रभावित भएपछि नेपाल र हङकङले अंक बाँडेका छन्। आइतबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली हङकङले आठ ओभरमा दुई विकेको क्षतिमा ६५ रन बनाउँदा दोस्रो पटक पानी परेपछि खेल रद्द गरिएको थियो। खेल रद्द भएसँगै नेपाल र हङकङले एक एक अङ्क बाँडेका हुन्।  हङकङ भ्रमणमा पुगेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ।यो सिरिज बुधबारसम्म चल्नेछ।

कुशल मल्लले एकै ओभरमा लिए दुई विकेट, तोडे ८३ रनको साझेदारी

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपाललाई कुशल मल्लले एकै ओभरमा दुई विकेट लिएका छन् । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ‘डोडलाई कुशलले ८.१ ओभरमा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए ।  ओ‘डोडले डच टिमका लागि २२ रन बनाए । सोही ओभरको पाँचौँ बलमा विस्फोटक ब्याटिङ गरेका अर्का ओपनर माइकल लेभिटलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच गराए । लेभिटले २९ बलमा ६ चौका र तीन छक्कासहित ५४ रन बनाए ।  लेभिट र ओ‘डोडले पहिलो विकेटका लागि ८.५ ओभरमा ८३ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । जारी खेलको नौ ओभर समाप्त हुँदा नेदरल्यान्ड्सले दुई विकेट गुमाएर ८४ रन बनाएको छ ।  त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको थियो ।

भरतपुरमा उद्यमशिलता विकास गर्न केन्द्रित छु : प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको उद्यमशिलताको विकास गर्न आफु केन्द्रित रहेको बताएकी छिन् । भरतपुर २२ को नवनिर्मित भवन, १६ शैयाको अस्पताल र प्रदर्शनी केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा पूर्वाधार विकास प्रयाप्त भएकाले आगामी कार्यभार धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित रहेको बताइन्। महानगरपालिकामा विगत ७ वर्षमा पूर्वाधार विकासमा उल्लेखिय काम भइसकेकाले अब भने भरतपुरवासीलाई उद्यमशिलतामा लाग्ने उनको भनाई छ । ‘भरतपुरमा एकै वडामा ५० किमीभन्दा बढी कालोपत्रे सडक निर्माण भइसेका छन्,उनले भनिन्,‘शिक्षा, स्वास्थ्य, पर्यटयन र कृषिमा पनि धेरै काम भएका छन् । अब भरतपुरमा रोजगारी सिर्जना गर्ने प्रमुख एजेण्डा हाम्रो छ ।’ वडा नम्बर २२ को वडा कार्यालय निर्माण भएपछि व्यवस्थित ढङ्गबाट सेवा प्रवाह हुने अपेक्षा लिएको प्रमुख दाहालले बताइन् । वडा कार्यालयसँगै निर्माण भएको १६ शैयाको अस्पताललाई विषेशज्ञ सेवासहित नगरस्तरीय वा वडास्तरीय अस्पतालको रुपमा विकास गर्न सकिने प्रमुख दाहालको भनाइ थियो । २ तल वडा कार्यालय निर्माण गर्न रु १ करोड ३२ लाख खर्च भएको वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिए। यस्तै वागमती प्रदेश सरकारको रु १ करोड ५५ लाख सहयोगमा घरेलु प्रदर्शनी केन्द्र निर्माण भएको हो । केन्द्र सञ्चालनमा आएसँगै स्थानीय उत्पादनको प्रदर्शनी गर्न सहज हुने अपेक्षा लिइएको छ । एशियाली विकास बैंक/जेएएफपिआरको अनुदान सहयोगमा नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत कोभिड–१९ रेस्पोन्स आयोजनामार्फत रु १ करोड ६६ लाखको लागतमा १६ शैयाको अस्पताल निर्माण भएको हो । यसको स्वमित्व सोमबार नै भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतोले पटिहानी क्षेत्रमा विगत ७ वर्षको अवधिमा धेरै विकास निर्माणको काम भइसकेको उल्लेख गरे । भरतपुर वडा नम्बर २२ ले पर्यटन, खेलकुद, कृषिलगायतका क्षेत्रमा प्राथामिकताका साथ काम गरिरहेको बताए । भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पटिहानी क्षेत्रले विषेश कामहरु अगाडि बढाइरहेको उनको भनाई थियो । कार्यक्रममा महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेललयागतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रधानमन्त्रीसँग अमेरिकी नौसेनाध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्ष जोहन एक्विलिनोले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार अपराह्न भएको सो भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गरिएको थियो । त्यस अवसरमा प्रधानमन्त्रीले नेपाल–अमेरिका सम्बन्धलाई आफूले उच्च महत्त्व दिँदै आएको बताए । उनले नेपालको आर्थिक विकासका निम्ति अमेरिकाबाट प्राप्त सहयोग महत्त्वपूर्ण रहेको भन्दै त्यसप्रति कृतज्ञता व्यक्त गरे । नौसेनाध्यक्ष एक्विलिनोले विश्व शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघको नेतृत्वमा विभिन्न शान्ति ‘मिसन’मा नेपालले सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरेकामा बधाई ज्ञापन गरे । उनले शान्ति सेनामार्फत नेपालले निर्वाह गरेको भूमिकाको प्रशांसा पनि गरे । नौसेनाध्यक्ष एक्विलिनो यही फागुन ८ गतेदेखि यहाँ जारी ‘अभ्यास शान्ति प्रसास–४’ अवलोकनका निम्ति नेपाल भ्रमणमा छन् । त्यसक्रममा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.रुपक सापकोटा, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सन र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो । रासस

माया मेट्रो अस्पतालमा सिटिस्क्यान सेवा सुरु

कैलालीः जिल्लाको धनगढी उपमहानगरपालिका–३ चटकपुर स्थित माया मेट्रो अस्पताल प्रा.लिले सिटिस्क्यान सेवा सुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले उक्त सेवाको आज उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री भट्टले सिटिस्क्यान सेवाले यस क्षेत्रका बिरामीलाई उपचारमा सहज हुने विश्वाव व्यक्त गरे । उनले आर्थिक स्थिति कमजोर भएका यस क्षेत्रका बिरामीलाई सस्तो र सुलभ सेवादिन अस्पताल सञ्चालकलाई आग्रहसमेत गरे । झण्डै ३ करोडको लागतमा अस्पतालले ६४ स्लाइस सिटिस्क्यान सेवा सुरु गरेको अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले जानकारी दिए । अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर, धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वड लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा वरिष्ठ रेडियोलोजिष्ट डा.अशोक राजपन्तले मेसिनले दिने सेवाबारे जानकारी दिएका थिए ।

माध्यमिक र निम्न माध्यमिक तहमा ठूलो संख्यामा शिक्षक माग (विज्ञापनसहित)

काठमाडौं, असार २ । शिक्षक सेवा आयोगले माध्यमिक र निम्न माध्यमिक तहमा ठूलो संख्यामा स्थायी शिक्षकका लागि शनिबार आवेदन खुला गरेको छ । सामुदायिक विद्यालयको स्विकृतीमा रिक्त रहेका विभिन्न पदहरुमा खुला प्रतियोगित्मक लिखित परीक्षा अन्तर्गत स्थायी पदपूर्तिका लागि निम्न योग्यता भएका उम्मेदवारका लागि आवेदन खुलेको छ । बाँकी विवरण तलको तालिका हेर्नुहोस् पद : माध्यमिक तह, तृतीय श्रेणी पद : निम्न माध्यमिक तह, तृतीय श्रेणी

अखिल (क्रान्तिकारी) शैक्षिक आन्दोलनको एउटा व्राण्ड हो, धरै क्याम्पस जित्छौं-प्रवक्ता बस्नेत

सुरेन्द्र बस्नेत, अखिल क्रान्तिकारीका प्रवक्ता हुन् । त्रिभुवन विश्वविद्यालयले फागुन १८ गतेलाई स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) चुनावको मिति घोषणा गरेको छ । यसअघि फागुन १४ गतेलाई तोकिएको निर्वाचन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कांग्रेस निकट नेपाल विद्यार्थीसँगको आग्हपछि पाँच दिन सारिएको हो । स्ववियु चुनावकै सेरोफेरोमा रहेर प्रवक्ता बस्नेतसँग एभरेष्टदैनिक डटकमका लागि सागर न्यौपानेले गरेको कुराकानी स्ववियु चुनावको मुखैमा आउनुभयो, व्यापक दौडधुप छ जस्तो छ, कस्तो छ तयारी ? निश्चय नै, आठ वर्ष देखि हुन नसकेको स्ववियु चुनाव मुखमै आएको छ। दौडधुप व्यापक वढेकै छ। एकातिर निर्धारित मितिमा जसरी पनि चुनाव सम्पन्न गराउने चुनौति छ भने अर्कोतिर संगठनलाई अब्बल र सशक्त वनाउनुपर्ने दायित्व छ। त्यसैले स्वाभाविक रुपमा व्यस्तता वढेको छ । चुनावको मिति जति नजिक आउँदैछ, कतिपय क्याम्पसमा तनावपूर्ण स्थिति देखिन थालेको छ किन यस्तो भएको होला ? त्रिभुवन विश्वविद्यालयमा रहेको भागवण्डा प्रणालीका कारणले पनि यस्ता तनावहरु जन्मिने गर्दछन् । खासगरी एउटा अमुक पार्टीवाट अमुक सपथ खाएर आएका त्रिविका पदाधिकारी र क्याम्पस प्रमुखहरुले निष्पक्ष रुपमा कार्यसम्पादन नगर्नाले पनि झडपहरु निम्तिने गरेका छन् । निषेधको राजनीतिक संस्कार पनि हामी कहाँ छ । विचार भन्दा पनि वाहुवलको प्रयोग गर्ने प्रवृत्ति पनि विद्यमान छ।तर आज हाम्रो संगठनको पहलमा ल्याइएको २८ वर्षे उमेरहद सहितको मिश्रित प्रणालीले धेरै हदसम्म यस्ता समस्यालाई न्युनिकरण गर्ने अपेक्षा गरेका छौं ।  तर चुनावकै मुखमा अराजक गतिविधि बढनुको कारण राजनीतिक भागवण्डाका कारण मात्रै होला र ? उमेरका हिसावले विद्यार्थी रगत अलि तातो त हुनेनै भयो । तर विद्यार्थी जगत उतिकै विवेकशील पनि हुन जरुरी छ। विगत वर्षहरु भन्दा त यसपालि धेरै नै कम तनाव देखिन्छ । अहिले ल्याइएको निर्वाचन आचारसंहिताले पनि तनाव न्युनिकरण गरेको छ। यति हुँदाहुँदै पनि छिटपुट अराजकता देखिएको छ । तपाईँहरु प्रचण्ड निकट अखिल क्रान्तिकारीले क्याम्पसहरुमा जित्ने संभावना कत्तिको छ ? आसन्न स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी)पहिलो संगठन वन्नेछ। ऐजेण्डा र विचारका हिसाबले हाम्रो संगठन सदैव अग्रणी छ । हामीले ‘जसको नीति उसको नेतृत्व,नयाँ स्ववियुमा क्रान्तिकारी वर्चस्व’ भन्ने नारा नै दिएका छौं । जसरी राष्ट्रिय राजनीति हामी निकटको माओवादी केन्द्रको ऐजेण्डामा हिडेको छ ठिक त्यसैगरी विद्यार्थी आन्दोलन र स्ववियु पनि हाम्रै ऐजेण्डामा अघि वढेको छ। हाम्रो संगठन अखिल क्रान्तिकारी विद्यार्थी आन्दोलनमा एउटा अलग विचार, विद्रोह र वलिदानको धारा हो । यो शैक्षिक आन्दोलनको एउटा व्राण्ड नै हो। तपाईँहरुकै संगठनभित्र कुरा मिलेको छैन कसरी जित्नुहुन्छ अधिकांश क्याम्पस ? गलत कुरा हो यतिबेला हामी भित्र अभुतपुर्व एकता छ । कुनै विवाद छैन । हामीले एकतावद्ध रुपमा डेढ महिने क्रान्तिकारी जागरण अभियान देभभर चलायौं । एकतावद्ध भएर नै स्ववियु निर्वाचन अभियानको नेतृत्व गर्यौं । एकतावद्ध भएर नै अरु संगठन भन्दा धेरै अगाडि नै सर्वसम्मत रुपमा देशैभरका उम्मेदवार टुङ्गो लगाएका छौं । अन्य संगठनले उम्मेदवार अझै टुंगो लगाएका छैनन् । एउटा मिसन र अभियानमा हिडेपछि अरु सवै कुरा विर्सिएर मिसन पूरा गर्न अहोरात्र खट्नु वास्तवमा क्रान्तिकारीहरुको विशेषता जस्तै भएको छ । उम्मेदवार सर्वसम्मत गरिएको त भन्नुभयो तर, कतिपय क्याम्पसमा तपाईँहरुकै संगठनबीच तनावपूर्ण अबस्था देखिएको छ भन्छन ! एउटा जिवन्त राजनीतिक र वैचारिक संगठनमा अन्तरविरोध त अवश्य हुन्छन् । अन्तरविरोध विनाका संगठनहरु त मृतप्राय हुन्छन्। तर यतिबेला हामी जुन मिसनमा जुटिरहेका छौं , त्यसमा कुनै अन्तरविरोध छैन। निर्णय पुर्व छलफलमा ब्यापकता र निर्णय पश्चात् कार्यान्वयनमा एकरुपता अखिल (क्रान्तिकारी)को मौलिक विशेषता नै हो । २८ वर्षे उमेरहदले तपाईँहरुभित्र उम्मेदवारनै छैनन् भन्ने कुरा साँचो हो ? यो सांचो कुरा हैन । ९५ प्रतिशत भन्दा वढि विद्यार्थी २८ वर्षभन्दा मुनिका हुन्छन् । अनि उम्मेदवार नपाउने भन्ने त प्रश्नै भएन नी । हामीले विद्यार्थीका बीचबाट नै विद्यार्थीको नेता छान्ने प्रणाली स्थापित गर्न लागि यो उमेरहदको कुरा अघि सारेका हौं । हामीसँग एकसेएक उम्मेदवार छन्। विद्यार्थीका नाममा उल्टो विद्यार्थीलाई नै शोषण गरेर वर्षौसम्म कलेजका गेट ढुकेर बस्ने खालका उम्मेदवार चाहिँ अब नपाइने भए। यस्ता उम्मेदवार त नपाइएकै राम्रो हो । नयाँ प्रणालीसँगै अब ठेकेदार मार्काका उम्मेदवार भने अवश्य पाइने छैनन्। विद्यार्थीको नेतृत्व माथिवाट थोपरिने विषय हैन, विद्यार्थीले आफैं छान्ने विषय हो । तपाईँहरुको संगठनलाई एजेण्डा क्रान्तिकारी बोक्ने तर, आफ्नै एजेण्डा बेच्न नसक्ने पनि भन्दा रहेछन् नी साँचो हो ? एजेण्डा वेच्ने नै भन्ने त भएन । तथापि तँपाईको प्रश्नको मर्मसँग म एकहद सम्म सहमत नै छु । शायद तँपाईले भन्न खोजेको कुरा हामीले हाम्रा ऐजेण्डा कतिपय सन्दर्भमा स्थापित गर्न र त्यसको अपनत्व लिन सकेनौं कि भन्ने तर्फ लक्षित भएजस्तो लाग्यो। यो पुर्ण सत्य त अवश्य हैन। तर एकहद सम्म यसमा सत्यताको केही अंश पनि नभएको हैन। उदाहरणका लागि पछिल्लोपटकको शैक्षिक लोनको विषयलाई लिन सकिन्छ । यो विषय हामीले २०६९ साल मंसिर २४ गते तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई बुझाएको मागपत्रको वुँदा नं.५ मा नै छ । त्यसपछि पनि यसको निरन्तर उठान र वहस पैरवी गर्यौं । पछि शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई उक्त मागबारे प्रमुखताका साथ ज्ञापनपत्र सहित राख्यौं । उहाँले आफ्नो १८ बुँदे शैक्षिक सुधारको घोषणापत्रमा त्यो विषय राख्नुभयो । र हाम्रो निरन्तरको दवाव र ध्यानाकर्षण सँगै सरकारले त्यस मुद्दालाई सम्बोधन गर्यो। यसरी एउटा लामो श्रृङखलामा शैक्षिक लोनको विषय आएको हो । तर यहाँ एउटा विद्यार्थी संगठनले भोलिपल्ट त्यो विषय संयुक्त सरकारवाट सम्बोधन हुँदै गरेको थाहा पाएपछि अघिल्लो दिन ज्ञापनपत्र पेश गरेकोे नाटक गर्यो । मिडियामा अतिरञ्जनापुर्ण होहल्ला गर्यो। यस्ता कुरा प्रचारमा ल्याउनमा हाम्रो पनि केही कमी भएको साँचो हो राम्रा एजेण्डा उठाएर पनि हामी प्रचार गर्न सक्तैनौं । वास्तवमा मुलुकमा नयाँ संविधान बनाएर शिक्षा ,स्वास्थ्य र रोजगारलाई नागरिकको मौलिक हकको रुपमा ग्यारेन्टी गराउने अभियान पनि हामीले नै चलाएको हो । अरु संगठनहरु नयाँ संविधानको पक्षमा कहिल्यै थिएनन् । अहिले स्ववियुमा २८ वर्षे उमेरहद सहितको मिश्रित निर्वाचन प्रणाली पनि हाम्रै ऐजेण्डा हो । स्ववियु निर्वाचनको क्रममा हामीले ‘सरकार विद्यार्थीको सर्टिफिकेट लेऊ,शैक्षिक लोन र पार्टटाइम जब देऊ’ भन्ने ऐजेण्डालाई प्रमुखताका साथ उठाएका छौं ।