यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मूलुकमा हाल स्थानीय वायुको प्रभाव र पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेशमा साधारणतया बदली रहेको छ। कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
यस्तै देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो बागमती, मधेश, कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने छ।

कोशी, मधेस र बागमती प्रदेशका केही स्थान, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ रहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेशमा साधारणदेखि पूर्ण बदली, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

आज सूर्योदय बिहान ५ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५३ मिनेटमा हुनेछ ।

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक बिहान ९ः३० बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । जसपाका मन्त्रीहरुले सपथ लिएपछिको पहिलो बैठकले आज प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रम पारित गर्नेछ । सरकारले आज आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै। राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्नेछन् ।  

हेर्नुहोस् मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल जेठ १ गते मंगलबार सन् २०२४ मे १४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ८४ पैसा र बिक्री दर १४४ रुपैयाँ ४९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २३ पैसा र बिक्री दर १६७ रुपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

एक्यान गण्डकी प्रमुखमा अनिल, कास्की सभापतिमा विवेक

पोखरा । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ गण्डकी प्रमुखमा सिए अनिल लामिछाने चयन भएका छन्। संघको शनिबार गण्डकी प्रमुख र कास्की कार्यसमितिको अधिवेशन भएको हो। एकाउन्टेन्ट्स संघको गण्डकी प्रमुखमा अनिल निर्विरोध चयन भए भने विवेक श्रेष्ठको नेतृत्वमा जिल्ला कार्यसमिति कास्की बनेको छ। समितिको उपसभापतिमा दीपक भुर्तेल, सचिवमा सागर आचार्य र कोषाध्यक्षमा पुरोचन उदास चयन भए।    समितिको सदस्यमा समिप भर्ती थकाली, प्रकाश पौडेल, सरोज पराजुली, उभेककुमार श्रेष्ठ र सविना महर्जन छन्। नेपालभरिको चार्टर्ड एकाउन्टेन्ट्सहरुको अधिवेशन शनिबार भएको हो। २०३४ सालमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको ११ वटा जिल्ला समिति र उपात्यका विशेष प्रदेश समितिसहित ८ वटा प्रदेश समिति छन्। गण्डकीमा ७५ जना चार्टर्ड एकाउन्टेन्ट्स छन्।

प्रहरीका १९ जना डीएसपीहरुको पदस्थापन, कसको जिम्मेवारी कहाँ ?

काठमाडौँ । प्रहरीको जनपदतर्फ इन्स्पेक्टरबाट डीएसपीमा बढुवा नियुक्ति भएका १९ जनालाई पदस्थापन गरिएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले उनीहरूलाई पदस्थापन गर्ने निर्णय गरेका हुन् ।  पदस्थापन भएका जनार्दन घिमिरेलाई साइबर ब्युरोमा काज सरुवा गरिएको छ । भिषणबाबु राईलाई अख्तियार र रूपकबहादुर खड्कालाई प्रहरी प्रधान कार्यालय स्थित कानुन शाखामा काज सरुवा गरिएको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको  विद्युत व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

पाल्पा रिव्दीकोटमा किशोरीको शव फेला, हत्या भएको आशंका

तानसेन । पाल्पामा एक किशोरीको शव फेला परेको छ । जिल्लाको रिव्दीकोट–१, ख्याहास्थित लप्सीखोला नजिकै मङ्गलवार बेलुकी ५ बजेतिर किशोरीको शव फेला परेको हो ।  स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रा पदमा सुनारको शव फेला परेको स्थानीय बासिन्दा रामप्रसाद न्यौपानेले बताए । किशोरीको शव क्षतविक्षत अवस्थामा रहेको उहाँले बताउनुभयो । उनको हत्या भएको आशंका गरिएको छ ।  प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको जनाएको छ । घटनास्थल पुगेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

लुम्बिनी बौद्ध दर्शनको उद्गमस्थल :  उपप्रधानमन्त्री श्रेष्ठ

लुम्बिनी । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल भएको बताएका छन् । अवैतनिक वाणिज्य दूतहरूको संस्था (एचसिसीएन) ले यहाँ आयोजना गरेको समृद्धिका लागि विश्व शान्ति सम्मेलनको बिहीबार उद्घाटन गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले बुद्ध र लुम्बिनीलाई बुद्धका शिक्षाले विश्वमा शान्ति स्थापनाका निम्ति सन्देश प्रवाह गरेका बताए। उनले विश्वशान्ति स्थापनामा जोड दिँदै संसारका विभिन्न देशमा बढेका द्वन्द्वले आर्थिक संकटसँगै अन्य समस्या पनि बढाइरहेको बताए। शान्ति र समृद्धिका विषयमा बहस गर्ने सबैभन्दा उत्तम स्थान लुम्बिनी भएको बताउँदै एचसिसीएनले यहाँ सम्मेलन आयोजना गरेकामा त्यसको सराहना गर्नुभयो । परराष्ट्रमन्त्री श्रेष्ठले चार महिनाअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले लुम्बिनी भ्रमण गरेको स्मरण गर्दै भगवान् बुद्धका शिक्षाको पालनाबाट विश्वशान्ति स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  सम्मेलनमा नेपालका लागि  अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मङ्गोलिया, इन्डोनेसिया, सेसेल्स्, तान्जानिया,  सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लाद्भिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन  रिपब्लिक रोमानियाका गैरआवासीय राजदूत सहभागी छन् ।  सम्मेलनमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवर्द्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायत विषयमा छलफल हुनेछ । 

अन्सारीप्रति शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाले सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको बैठकले सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरे सँगै प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।  शोक प्रस्ताव पारित गरेर स्थगित भएको प्रतिनिधि सभाको अर्को बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । ६० वर्षकी अन्सारीको आइतबार बिहान निधन भएको हो । उनको उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको थियो । उनी जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन् ।

अहिलेको गठबन्धनमा गोत्र मिलेको छ  : महिन्द्रराय यादव

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद महिन्द्रराय यादवले नेपाली कांग्रेस र माओवादीको गठबन्धन गोत्रै नमिल्ने गठबन्धन बनेको बताएका छन् । उनले धेरै लामो समयसम्म उक्त गठबन्धनमा बसेको भए माओवादी क्षयीकरणको बाटोमा जाने खतरा समेत समेत रहेको उनले बताए ।  बुधबारको प्रतिनिधिसभा बैठकमा रोस्ट्रममा उभिएर बोल्दै उनले अहिलेको गठबन्धनको गोत्र पनि मिलेको दाबी गरे । कांग्रेस यथास्थितिवादी पार्टी भएको र माओवादी अग्रगामी परिवर्तनकारी पार्टी भएको भन्दै उनले कांग्रेसका कारण माओवादीलाई नोक्सान भएको जिकिर गरे ।  “विगतको गठबन्धन अप्राकृतिक थियो । किनभने अहिले उहाँहरूको कुरा सुन्दा मंसिर ४ को कुरा आयो । त्यसबेला गठबन्धन बन्दा बीचमा कुनै लिखित दस्ताबेज, साझा घोषणा पत्र थिएन । विश्वासको आधारमा भएको हो । गठबन्धनले माओवादीलाई २० सिट कम भयो । नेपाली कांग्रेससँग गठबन्धन बनाउँदा माओवादीलाई ठूलो धोका भएको छ,” उनले भने ।  अहिलेको गठबन्धन संविधान संशोधन र देशमा भएका तमाम समस्या समाधान गर्न बनेको पनि उनले दाबी गरे । “गोत्रको कुरा छ नेपाली कांग्रेससँग मिलेको थिएन । यता मिलेको छ यो प्राकृतिक गोत्र बनेको छ,” उनले भने । कांग्रेससँग माओवादी नमिलेको भए ५२ सिट जित्ने दाबी उनले गरे ।

टी–२० आई सिरिज: फाइनलमा नेपाल र पपुवा न्युगिनी खेल्ने

काठमाडौं । हङकङ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई त्रिकोणात्मक सिरिजको उपाधिका लागि पपुवा न्यु गिनीसँग खेल्ने भएको छ। मंगलबार भएको दोस्रो खेलमा घरेलु टोली हङकङलाई १० विकेटले पराजित गर्दै पिएनजीले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। यसअघि आजै बिहान भएको पहिलो खेलमा नेपालले पिएजीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो। यसअघि सिरिजको पहिलो खेलमा वर्षाका कारण खेल रद्द भएपछि नेपाल र हङकङले १–१ अंक बाँडेका थिए। २ खेलबाट ३ अंक जोडेको नेपाल शीर्ष स्थानमा रहँदै फाइनल खेल्न लागेको हो । २ खेलबाट २ अंक बनाएको पिएनजी दोस्रो स्थानमा रहँदै नेपालसँगको उपाधि भिडन्तमा प्रतिस्पर्धा गर्ने भएको हो । समान खेलबाट १ अंक बनाएको घरेलु टोली हङकङ भने तेस्रो स्थानमा छ । सिरिजको तेस्रो खेलमा हङकङले दिएको १ सय २२ रनको लक्ष्य पिएनजीले १२.४ ओभरमा विना विकेटको क्षतिमा भेट्टाएको थियो। पहिलो विकेटका लागि ओपनर टोनी उरा र सेसे बाउले १ सय २४ रनको अविजित साझेदारी गरेपछि पिएनजीले सहजै लक्ष्य भेट्टायो । टोनी उराले ३३ बलमा ५ चौका र २ छक्का मद्धतमा ५१ रनमा नटआउट रहे । सेसे बाउले ४३ बलमा ६ चौका र १ छक्का मद्धतमा ६१ रनमा अविजित रहे। त्यसअघि हङकङको मोङ ककस्थित मिसन ग्राउण्डमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली १८.३ ओभरमा १ सय २१ रनमा अलआउट भयो। घरेलु टोलीले अब तेस्रो स्थानका लागि हङकङ कै ए टोलीसँग खेल्नेछ। सिरिजको फाइनल खेल भोली बुधबार हुनेछ।

मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढ्यो  : अर्थमन्त्री महत

काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन्।सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । अर्थमन्त्री महतले लगानी अनुकूल वातावरण सृजना गर्न गरिएको प्रक्रियागत सरलीकरण, निजी क्षेत्रसँगको निरन्तर संवाद, पुँजीगत खर्चको प्रभावकारिताका लागि गरिएको निरन्तर पहल, मौद्रिक नीतिमा पछिल्लो समय अपनाइएको केही लचकता एवम् वित्त नीति र मौद्रिक नीति बिचमा तालमेल गर्न गरिएको प्रयासबाट अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढ्न सफल भएको स्पष्ट पारे। उनले विद्युत उत्पादन र पर्यटक आगमन वृद्धि हुनुका साथै विदेशी लगानी बढ्नुले अर्थतन्त्रमा सकारात्मक योगदान पुगेको समेत उल्लेख गरे । अर्थमन्त्री महतले भने, ‘‘लगानी अनुकूल वातावरण सृजना गर्न गरिएको प्रक्रियागत सरलीकरण, निजी क्षेत्रसँगको निरन्तर संवाद, पुँजीगत खर्चको प्रभावकारिताका लागि गरिएको निरन्तर पहल, मौद्रिक नीतिमा पछिल्लो समय अपनाइएको केही लचकता एवम् वित्त नीति र मौद्रिक नीति बिचमा तालमेल गर्न गरिएको प्रयासबाट अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको छ ।’’ अर्थमन्त्री महतले बाह्य क्षेत्रतर्फ चालु खर्च सोधान्तर बचतको अवस्था र विदेशी विनिमयको पर्याप्त सञ्चितिले आर्थिक क्रियाकलापका लागि अनुकूल वातावरण सृजना गरेको बताए । राजश्व सङ्कलन लक्ष्य अनुरूप नभए पनि वृद्धिदर करिब १० प्रतिशत रहेको र आउने दिनमा थप वृद्धि हुने अनुमान रहेको उनले बताए । उनले भने, ‘‘विद्युत उत्पादनमा र पर्यटक आगमन वृद्धि हुनुका साथै विदेशी लगानी बढ्नुले अर्थतन्त्रमा सकारात्मक योगदान पुगेको छ । बैङ्किङ क्षेत्रतर्फ पर्याप्त तरलता, ब्याजदर एकल बिन्दुतर्फ झर्ने क्रममा रहेको तथा निक्षेप र कर्जा प्रवाहमा क्रमशः वृद्धि भएको छ । घरजग्गा कारोबार र पुँजी बजार सुधार उन्मुख छ । बाह्य क्षेत्रतर्फ चालु खर्च शोधान्तर बचतको अवस्था र विदेशी विनिमयको पर्याप्त सञ्चितिले आर्थिक क्रियाकलापका लागि अनुकूल वातावरण सृजना गरेको छ । राजश्व सङ्कलन लक्ष्य अनुरूप नभए पनि वृद्धिदर करिब १० प्रतिशत रहेको र आउने दिनमा थप वृद्धि हुने अनुमान रहेको छ ।’’ अर्थमन्त्री महतले बैङ्किङ क्षेत्रतर्फ पर्याप्त तरलता, ब्याजदर एकल बिन्दुतर्फ झर्ने क्रममा रहेको तथा निक्षेप र कर्जा प्रवाहमा क्रमशः वृद्धि भएको बताए ।

समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । सोनाम ल्होसारका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले विद्यमान चुनौती सम्बोधन गरी सुशासन र सामाजिक न्याय प्रत्याभूत गराउन सरकार दृढताका साथ अघि बढिरहको जानकारी दिएका छन् । संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सन्देशमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात् गरिएको बताएका छन् । उनले विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको उल्लेख गरे । “लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता राष्ट्रिय विशेषता र पहिचानसमेत हो”, प्रधानमन्त्री प्रचण्डद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ । श्रम संस्कृतिमा आधारित प्रकृतिपूजकको पर्वका रूपमा परिचित ल्होसारमा विभिन्न मिष्टान्न भोजनका साथै आफ्नो समुदायको मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्ष उल्लासका साथ मनाइने जनाउँदै उनले यस्ता पर्व सामाजिक एकता र धार्मिक सहिष्णुताको प्रेरकको रूपमा रहँदै आएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले यसप्रकारका पर्व कुनै खास जाति वा समुदाय विशेषका मात्र नभएर सिङ्गो राष्ट्रका साझा पर्व हुन् भनेका छन् । साथै, प्रधानमन्त्री प्रचण्डले सन्देशमा ल्होसारले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई प्रगाढ र सुदृढ बनाउँदै लगोस् भन्ने कामना गरेका छन् । उनले सामाजिक न्याय, सुशासन, दिगो विकास र समृद्धि हासिल गर्ने सरकारको लक्ष्य साकार पार्न ल्होसारले एकताबद्ध हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

गणतन्त्र, संघीयता, संविधान जनयुद्धका उपलब्धिहरु हुन्– प्रचण्ड (सम्बोधनको लाइभ)

काठमाडौं । जनयुद्ध दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) ले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रम गरी मनाएको छ। बिहान साढे ८ बजेदेखि शुरु भएको कार्यक्रममा अहिले माओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गर्दै हुनुहुन्छ। सम्बोधनका क्रममा माओवादी अध्यक्ष प्रचण्डले गणतन्त्र, संघीयता, नयाँ संविधान, धर्मनिरपेक्षता एवं समावेशी समानुपातिक प्रणाली जनयुद्धकै बलमा स्थापित भएको बताउनुभयो। उहाँले जनयुद्धका यी उपलब्धिहरुलाई जोगाउन जनयुद्धका सबै सारथीहरुको एकता अहिले पनि आवश्यक रहेकोमा जोड दिनुभयो। जनयुद्धकै कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र अहिलेको परिवर्तन सम्भव भएकोा भन्दै अध्यक्ष प्रचण्डले सबै प्रदेश सरकार र केन्द्र सरकारलाई पनि जनयुद्ध दिवस मनाउन अध्यक्ष अपील गर्नुभयो।

लागुऔषधसहित दुई भारतीय पक्राउ

महेन्द्रनगर । लागुऔषधसहित बेलौरी नगरपालिका–१० भुडास्थित ३३ नं सीमा स्तम्भ नजीक पैदल हिँडदै गरेका दुई भारतीय नागरिकलाई प्रहरीले आज लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश टाटरगन्ज तहसिल पुरनपुर थाना हजाराका २५ वर्षीय राजु भनिने राजेन्द्र सिंह र राजिस्थानका १६ वर्षीय कृष्ण सिंह रहेका छन् । दुवै जनाको साथबाट प्रहरीले १२ ग्राम ६३० मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बोकाको मूल्य साढे ४ लाख !

झापा, वैशाख २६ । धेरै नेपालीले बाख्रा पाल्छन् । बाख्राको मूल्य कति पर्छ भन्ने मोटामोटी अनुमान सबैलाई हुन्छ । तर, झापाको एक गाउँमा बाख्राको पाठाकै मूल्य पनि गाईभैँसी वा घोडाको भन्दा वढी छ भन्दा पत्याउन गोह्रो पर्छ । झापा हल्दिबारी गाउँपालिका–१ गोलधापका गणेश पराजुलीले एउटा बाख्राको पाठा ४ लाख रुपैयाँसम्ममा बिक्री गर्छन् । बोयर जातको बाख्रा पाल्दै आएका पराजुलीले ३ लाख देखि ४ लाख ६५ हजार रुपैयाँसम्ममा बाख्राको पाठा बिक्री गर्दै आएका छन् । ‘प्रगति बोयर बाख्रा फर्म’ सञ्चालक पराजुलीले अहिले बोयर जातका १६४ वटा बाख्रा पालेका छन्। सानाठूला सबै हिसाब गर्दा फर्ममा दुई करोड बढीका बाख्रा रहेको पराजुलीले बताए । पाँच वर्षअघिदेखि सञ्चालन गरिएको फर्ममा १ करोड ५५ लाख रुपैयाँ लगानी भएको पराजुलीकी श्रीमती कल्पनाले बताइन् । यो समाचार कारोबार दैनिकबाट लिइएको हो ।