सभामुखले संसदको अधिवेशन बोलाउन लागेका हुन ?, बोलाए समिति सभापति र सचेतकको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको दफावार छलफलका लागि विधेयक रहेका समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकसँगको बैठक सुरु भएको छ ।

सभामुखको सचिवालयका अनुसार बैठकमा सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन् ।

त्यस्तै दफावार छलफलका लागि विधेयक रहेका समितिहरूमा राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति र अर्थ समिति छन् ।

संसद्को‍ आगामी अधिवेशनमा बिजनेस अभाव हुन नदिन सभामुखले यो छलफल गर्न लागेको बताइएको  भएपनि आगामी अधिवेशन कहिले बोलाउने भन्ने बारे भने टुंग्गो छैन । अध्यादेश मार्फत साना पार्टी फुटाएर एमालेलाई पहिलो दल बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको योजनामा सत्तारुढ दलकै नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाधक बनेपछि सभामुखले यस किसिमको बैठक बोलाएका हुन् ।

विपक्षी दलहहरुले सरकारले अध्यादेश मार्फत दलहर विभाजनको प्रस्ताव ल्याउन लागेका कारण विशेष अधिवेसनको माग गर्ने बारे छलफल चलाएका बेला सभामुखले सो बैठक बोलाएका हुन् ।

आफ्नै प्रस्तावमा बनेको गठबन्धन भत्काउनुको कारण ओलीले प्रष्ट पार्नुपर्छ : सांसद दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले कांग्रेस–एमालेबीचको सहमतिलाई प्रतिगामीको संज्ञा दिएका छन्।  मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले संविधान संशोधनको एजेण्डासहित गरिएको भनिएको ७ बुँदेले देशलाई फाइदा नगर्ने उनले बताए ।   माओवादी युवा नेता दाहाललले एमाले अध्यक्ष केपी शर्मा ओलीकै प्रस्तावमा एमाले–माओवादी केन्द्रको समीकरण बनेको भएपनि बिना कारण समीकरण भत्काइएको बताए।  उनले समीकरण सुरू गर्नुको उद्देश्य र भत्काउनुको कारणका बारेमा ओलीले प्रष्ट पानुपर्ने बताए। ‘प्रश्न गर्नुपर्छ, केपी ओलीलाई। यहाँले जुन उद्देश्यसहित सहकार्य सुरु गर्नुभयो। अहिले कुन उद्देश्यसँग केन्द्रीत भएर यो सहकार्य तोड्नु भयो? जुन उद्देश्यसहित केन्द्रीत रहेर सत्ता सहकार्य सुरु गर्‍यौँ, जतिबेला हामीले सत्ता सहकार्य सुरु गरेका थियौँ प्रचण्डले लिनुभएको सुशासन, समृद्धि र सामाजिक न्यायको केन्द्रीय कार्यभार पूरा गर्ने सङ्कल्प पछि हटेको थिएन। उहाँलाई थाहा थियो,’ उनले भने, ‘पछिल्लो समय के कारणले हामी बिचको समीकरण तोडियो ? यो त जवाफ दिनैपर्छ। के कारणले सहकार्य सुरु गर्‍यौँ ? र के कारणले हाम्रा समीकरण भत्किए? चार महिनाको बीचमा प्रधानमन्त्रीको तर्फबाट के गर्नुपर्थ्यो र के गर्नु भएन ? भन्ने विषयमा पनि यहाँले जवाफ दिनैपर्छ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको कार्यभार पूरा गरिरहेको अवस्थामा समीकरण तोड्नुको कारण के हो ? भनी प्रश्न गरे।   धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति नर्गनाले वा बेचन झा र प्रतिक थापालाई पक्राउ गर्नाले समीकरण भत्काएको हो भनेर उनले प्रश्न समेत गरे।   चुनावी घोषणापत्रमा संविधान संशोधनको मुद्दा राखेको भएमात्रै संविधान संशोधन गर्न पाउने भन्दै सांसद दाहालले जनतालाई नझुक्याउन चेतावनी उनले दिए। ‘के धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्न सकिएन त्यसकारण सहकार्य टुट्यो? भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दै जाने क्रममा बेचन झा र प्रतिक थापाको गिरफ्तारी भयो। त्यही कारणले सहकार्य टुट्यो? जवाफ त दिनैपर्छ,’ उनले भने।

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्नेछ ।  बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमाथि छलफल हुनेछ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगसम्बन्धी विनियोजन शिर्षकमाथि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

फलफूलका बिरुवा रोप्ने किसानलाई अनुदान

काठमाडौं। फलफूलको उत्पादन बढाउन नरहरिनाथ गाउँपालिकाले एउटै जातका २५ वटा फलफूलका बिरुवा रोप्ने किसानलाई रु ५० अनुदान दिने भएको छ। आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेटमा एउटै जातका २५ बिरुवा रोप्ने किसानलाई रु ५० अनुदान दिने व्यवस्था गरिएको हो । अनुदान पाउन किसानले न्यूनतम २५ फलफूलका बिरुवा हुर्काएको हुनैपर्ने गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले राससलाई जानकारी दिएका छन् । “किसानलाई कृषिमा प्रोत्साहन गर्नका लागि एउटै जातका २५ बिरुवा फलफूलका रोप्नेलाई अनुदानको व्यवस्था गरेका हौँ”, उनले भने, “यसले गाउँपालिकामा फलफूल उत्पादनमा वृद्धि हुने अपेक्षा गरेका छौँ ।” फलफूल बगैँचा स्थापना कार्यक्रमलाई अभियानका रुपमा लिइने र फलफूलको बगौचा स्थापना गर्ने कृषकलाई प्रतिबिरुवा रु ५० का दरले बिरुवा स्याहार खर्च (उत्पादनका आधारित प्रोत्साहन) उपलब्ध गराइने अध्यक्ष विष्टले बताएका छन् । “खाद्यान्न बालीमा आत्मनिर्भर बनाउन खाद्यान्न बालीको बिज वृद्धि कार्यक्रम सञ्चालन, कृषिउपजको बजारीकरण तथा सामूहिक खेतीलाई प्रोत्साहन गर्ने लक्ष्य छ”, उनले भने । कृषि तथा पशुपन्छीजन्य उत्पादनलाई प्रशोधन गरी कृषकलाई उच्च लाभ हासिल गर्न प्रशोधन केन्द्र स्थापना, उद्यमी, उद्यमी समूह र सहकारी संस्थालाई विशेष अनुदानको व्यवस्था गरिएको अध्यक्ष विष्टले जानकारी दिएका छन् ।

राष्ट्रपति पौडेलद्वारा स्वीट्जरल्याण्डको प्राचीन सहरको भ्रमण

जेनेभा । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डको प्राचीन सहर पुरानो जेनेभाको भ्रमण गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार सो सहरको अवलोकन भ्रमण गरेका हुन् । भ्रमणका क्रममा राष्ट्रपति पौडेलले त्यहाँस्थित  ऐतिहासिक स्थलको अवलोकन गरेका छन् ।  राष्ट्रपति पौडेललाई जेनेभा स्टेट काउन्सिलका प्रेसिडेन्ट नाथाली फोनटानेटले स्वागत गरेका उनको निजी सचिवालयले जनाएको छ । 

अन्तरजातीय विवाह गर्ने दश जोडीलाई भरतपुर महानगरको सम्मान

चितवन। भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १० जोडीलाई सम्मान गरेको छ । आईतबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले संयुक्त रुपमा सम्मान गरेका हुन् । सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१९ का आशिष विक र शान्ति घर्ती, भरतपुर–१९ कै सुवन गहतराज र शान्ता श्रेष्ठ, भरतपुर–२३ का नविन विक र कमला श्रेष्ठ, भरतपुर–११ का विवेक सुनार र अमिबका कार्की, भरतपुर–१६ सुशिल परियार र सुस्मिता बुढाथोकीको जोडी रहेका छन् । यस्तै भरतपुर–२५ का अविनास सुनार र मिना भुजेल, भरतपुर १४ विवस महतो र प्रतिभा सुनार, भरतपुर १४ कै पदम बहादुर विक र फुलमायाँ लावती, भरतपुर १५ का विनोद परियार र अरुणा राई, भरतपुर ६ का सुवास विक र मायाँ कुमालको जोडी रहेका छन् ।   उनीहरूलाई महानगरले आईतबार एक कार्यक्रमकाबीच एक जोडीलाई नगद रु एक–एक लाखसहित सम्मान गरेको हो । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले विगत ४ वर्षदेखि सुरुवात भएको सम्मान कार्यक्रममा क्रमश जोडीको संख्या वृद्धि हुदै गएको बताइन्। भरतपुर महानगरपालिकालाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्यले यो अभियानको थालनी गरिएको बताइन् । जातीय विभेदलाई अन्त्य गराउन यस्ता कार्यक्रमलाई प्राथामिकतामा राखेको प्रमुख दाहालले उल्लेख गरिन् । हिजोको समान्तवादी सोच, चिन्तत र प्रवृति आज पनि देखिने गरेको उनको भनाई छ । संविधानले जातीय विवेदलाई अपराधजन्य कार्य भनेर ठहर गरेपनि सोचे जति परिवर्तन हुन नसकेको उनको भनाई थियो । जनयुद्धको समयभन्दा अगाडि मान्छेले मान्छेलाई पशुजन्य व्यवहार गर्ने गरेको घटना स्मरण गर्दै प्रमुख दाहालले पहिलाकाके अवस्था निकै काहाली लाग्दो रहेको बताइन्। जनयुद्धको जगमा पाएका अधिकारलाई कार्यान्वन गर्न निरन्तर खबरदारी र संर्घष जारी राख्नुपर्ने उनको भनाई थियो । भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका विषयमा फड्को मारेको र जात जातिमा हुने विवेद अन्त्यको लागि सम्मान कार्यक्रम गरिएको बताए। नेपालका ७५३ पालिका मध्ये भरतपुर महानगरले अन्तरजातीय जोडीलाई सम्मान गरी उदाहरणीय कार्य गरेको उपप्रमुख अधिकारीले बताए। कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले छुवाछुत समाजिक अन्धविश्वास रहेकाले यसको उन्मुलनको लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए। मानिसको दुई जात महिला र पुरुषमात्र भएकाले सबैले आत्मसम्मानसहित बाच्न पाउनुपर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए। महानगरले यसअघि १३ जोडीलाई सम्मान गरिसकेको छ । महानगरले हालसम्म अन्तरजातीय विवाह गर्ने २३ जनालाई सम्मान गरिसकेको छ ।

प्रकृति संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व वातावरण दिवसका अवसरमा प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न आह्वान गर्दै त्यसमा सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।  प्रधानमन्त्री दाहालले आज जारी गरेको शुभकामना सन्देशमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष जुन ५ तारिखमा मनाइने विश्व वातावरण दिवस, २०२४ को अवसरमा सम्बद्ध सबैमा शुभकामना व्यक्त गरेका छन् । ‘मरुभूमि करण र खडेरीबाट भूमिको पुनः स्थापना गरी पारिस्थितिक प्रणाली पुनः स्थापना गर्ने विषयमा केन्द्रित रहेको यस दिवसले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न तथा वर्तमान र भविष्यका पुस्ताका लागि दिगो र स्वच्छ वातावरण प्रत्याभूत गर्न थप उत्प्रेरित गर्ने विश्वास लिएको छु’, प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देशमा भनिभएको छ, ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकको प्रत्याभूति गरेको छ ।’ साथै, भूमिको उत्पादनशीलता, प्रकृति तथा वातावरणीय सन्तुलनको आधारमा वैज्ञानिक व्यवस्थापन र उपयोग गर्ने तथा पर्यावरणीय दिगो विकासको सिद्धान्त अवलम्बन गर्दै वातावरणीय सन्तुलन र दिगोपना कायम गर्ने गरी सरकारले नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देशमा उल्लेख छ । ‘विश्वव्यापीरूपमा भइरहेको जलवायु परिवर्तनको नकारात्मक असर र क्षतिका लागि भूमिका नगण्य भए पनि उल्लेख्य असर भने भोगिरहेका छौँ, नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्दै जलवायुजन्य क्षतिमा नेपालको अधिकारलाई सुनिश्चित गर्न सरकार क्रियाशील छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘सङ्घ, प्रदेश र स्थानीय सरकारको साथै निजी क्षेत्र, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालगायत सबै सरोकारवालाको सामूहिक प्रयासबाट मात्र वातावरण क्षेत्रका चुनौतीलाई सामना गर्न सम्भव छ।’ प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देशमा दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई तीनै तहका नीति तथा कार्यक्रममा प्राथमिकता दिन जरुरी रहेको उल्लेख छ । यस वर्ष विश्वव्यापीरूपमा तय भएको नारा  ‘हाम्रो भूमि स् हाम्रो भविष्य’ राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस देशव्यापीरूपमा मनाउन लागिएकामा सरोकारवाला निकाय, सङ्घसंस्था तथा आम नागरिकलाई राष्ट्रिय अभियानमा सरिक हुन प्रधानमन्त्री प्रचण्डले आह्वान गरेका छन् ।  साथै, सन्देशमा वातावरण संरक्षण तथा व्यवस्थापनमा योगदान पुर्‍याउने सबै निकाय र सरोकारवालाप्रति उनले धन्यवाद ज्ञापनसमेत गरेका छन्।

संसदीय छानबिन समितिको बैठक बस्दै, कार्यादेश टुङ्गो लगाइने

काठमाडौं । सहकारी प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) को टुङ्गो लगाउन गठित कार्यदलको बैठक बस्दै आज पनि बस्दै छ।  समितिको कार्यादेश तय गर्न गठित कानुनमन्त्री पदम गिरी संयोजकत्वको कार्यदलको बैठक  आज बिहान साढे ८ बजे बस्दै छ।  हिजो बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भए पनि सहमति नजुटेकाले शीर्ष नेताहरूको परामर्शपछि आज बिहान पुनः बैठक बस्न लागेको हो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडान राखेको छ। 

भारतसँगका समस्या वार्ता र कूटनीतिबाट समाधान गर्नुपर्छ  : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारतबीचको विवाद ऐतिहासिक तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन्। उनले भारतसँगको  सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन नेपाल सरकार प्रतिबद्ध रहेको बताए। परराष्ट्र मन्त्रालयले पूर्वराजदूत तथा पूर्वपरराष्ट्र सचिव प्राध्यापक यदुनाथ खनालको सम्मानमा गरेको प्रवचनको तेस्रो शृङ्खलामा मंगलबार साँझ मन्तव्य दिँदै उनले नेपाल–भारत सम्बन्ध व्यापक, बहुआयामिक र अतुलनीय रहेको बताए। ‘दुई देशबीच इतिहासले छोडेका केही मुद्दा छन् जसलाई ऐतिहासिक तथ्यका आधारमा र असल छिमेकीको भावनाअनुरुप वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न आवश्यक छ’, उनले भने,‘यसले नेपाल(भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन मार्गप्रशस्त गर्नेछ। यसका लागि नेपाल सरकार प्रतिबद्ध छ।’ द्विदेशीय सम्बन्ध सार्वभौम समानता, शान्तिपूर्ण सहअस्तित्व, सद्भावना, पारस्परिक विश्वास, समझदारीमा आधारित रहेको दोहोर्याउँदै मन्त्री श्रेष्ठले उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट सम्बन्ध सुमधुर बनाउन र धेरै क्षेत्रमा साझेदारी बढाउन मद्दत पुगेको तर्क गरे। उनले द्विपक्षीय सम्बन्धका विविध क्षेत्रमा सहकार्य गर्न परामर्श संयन्त्र स्थापना गरिएको चर्चा गर्दै त्यस्ता संयन्त्रबाट आपसी सहयोग र साझेदारी बढाउन सहज भएको बताए। उनले दुवै देशले आपसी व्यापारलाई लाभदायक बनाउने उपाय खोज्नुपर्ने, नेपालको निर्यातको आधार सीमित भएकाले  व्यापार घाटा बढ्दै गएको  तथा भारत र अन्य देशसँगको व्यापार विस्तार गर्न उत्पादनशील क्षेत्रमा थप लगानी आवश्यक भएको धारणा राखे।

दीपेन्द्रको कप्तानीमा नेपाल, टस हारेर फिल्डिङ गर्दै

काठमाडौं । नेपालले तेस्रो टी २० खेलमा वेस्टइन्डिज ए विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर ब्याटिङ रोजेका हुन् । आजको खेलमा नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरेका छन् । नियमित कप्तान रोहित पौडेललाई आज विश्राम दिइएको छ ।

१६ गतेदेखि २१ गतेसम्म यी क्षेत्रमा हुनेछ विद्युत अवरुद्ध

काठमाडौं ।नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृ‌ढीकरण गर्न लागेको छ। उपत्यका पश्चिम वितरण प्रणाली सुदृ‌ढीकरण योजनाले वैशाख १६ गतेदेखि २१ गतेसम्म विभिन्न स्थानमा विद्युत लाइन अवरुद्ध हुने सूचना निकालेको छ ।  नेपाल विद्युत प्राधिकरण, कुलेश्वर वितरण केन्द्र अन्तर्गतको विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि ती स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ः०० बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ । हेनुृहोस् यस्तो छ सूचना 

बालाजु बाइसधारा मेला, मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गर्दा जस्तै पुण्य मिल्ने विश्वास

काठमाडौं । काठमाडौँको बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म जारी रहने छ । बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले बालाजु बाइसधारा मेला भर्नका लागि बिहानैदेखि बालाजु भक्तजनको घुईँचो लागेको बताए। बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ । भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको छ । मेलामा दुई लाख ३० हजार सहभागी हुने आयोजकको अपेक्षा छ ।मेला भर्नेहरुको घुइँचोका कारण सवारी साधन डाइभर्सन गर्नुपरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

छिन्नमस्तामा डिजिटल एग्रीकल्चर रूम स्थापना गरिने

राजविराज । कृषिलाई आधुनिकीकरण गरि उत्पादन बढाउने उदेश्यले छिन्नमस्ता गाउँपालिकाले कृषि सुचना तथा प्रशिक्षण केन्द्रको सहकार्यमा पालिकामा डिजिटल एग्रीकल्चर रूम स्थापना गर्ने भएको छ ।  कृषकहरूको समस्या समाधानको लागि डिजिटल भिलेज इन्टिएटिभ कार्यक्रम अन्तर्गत पालिकामा डिजिटल एग्रीकल्चर रुमको स्थापना गर्न लागेको पालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।  ’यस रूममा पालिकाको कृषि विज्ञ, पशु विज्ञ तथा कार्यक्रम विज्ञ रहने छन्, उनीहरूले कृषकको बालीमा आइपरेको रोग, समस्याको समाधान गर्नेछन्,’ अध्यक्ष चौधरीले भने ।  यस कार्यक्रम अन्तर्गत किसानहरूको मोबाइल फोनमा टेली प्वाइन्ट डाक्टर नामको एप राखिने उनले बताए ।  ’कृषकहरूको मोबाइलमा यो एप राखिनेछ, जसबाट उनीहरूले आफ्नो बालीको फोटो खिचेर त्यसमा कुन किरा लागेको, के रोग हो थाहा पाउँछन् र त्यसको समाधान पाउँछन्, यो चौबिसै घण्टा प्रयोग गर्न सकिन्छ,’ अध्यक्ष चौधरीले भने, ’फोटो खिचेर एग्रीकल्चर रूममा रहेको विज्ञसँग समेत समाधान पाउन सक्छन् ।’ उनले पालिकामा कृषकहरुको सूचिकरण गरिने तथा सोलार वाटर पम्प समेत जडान गर्ने बताए । यसले कृषिमा कम लागतमा उत्पादन बढ्ने विश्वास व्यक्त गरे ।  त्यस्तै यसअघि पालिकाले डिजिटिल सोइल म्यापिङ्ग (कम्प्युटरमा आधारित माटो नक्सांकन) कार्यक्रम गर्न लागेको छ । जसले जग्गाहरूको फोसफोरस, पोटास, नाइट्रोजन, ओरगेनिङ्ग मेटर, टेक्सटल, जमिनहरुको किसिम लगायतको विषयबस्तुको डाटा पाउनेछन् ।  यसले जग्गाको अवस्था, जग्गामा मल खाद्यको लागि रणनिती बनाउन मदत गर्नेछ । जसले संतुलित मलखाद्यको प्रयोग र कृषि उत्पादन बढाउन तथा विषादीरहित उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास पालिकाले लिएको छ ।

विश्वदीपले छाडे बाबुराम

काठमाडौँ । युवा नेता विश्वदीप पाण्डेले पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) परित्यागको घोषणा गरेका छन् । पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईसँग लामो समय निकट रहेर काम गरेका पाण्डेले पार्टीको प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पाण्डेले पार्टी छाडेको घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘आजको मितिदेखि लागू हुने गरी मैले नेपाल समाजवादी पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको छु ।’

आज आयरल्यान्ड वुल्भ्ससँग खेल्दै नेपाल ‘ए’

काठमाडौं । घरेलु मैदानमा आयोजित ट्वान्टी–२० शृंखलामा नेपाल ‘ए’ले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध खेल्दै छ । हिजो पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको हो ।  त्रिवि क्रिकेट मैदानमा आज यी दुई टोलीबीच दोस्रो खेल हुन लागेको हो ।  हिजोको खेलमा आयरल्यान्ड वुल्भ्ससँग नेपाल ‘ए’ २१ रनले पराजित भएको थियो । वुल्भ्सले प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९,३ ओभरमा सबै विकेट गुमाएर २०१ रनमा समेटिएको थियो ।  वुल्भ्सले नेपाल ‘ए’ सँग तीन ट्वान्टी–२० र एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । यसअघि नेपाल ‘ए’ र वुल्भ्सबीचको ट्वान्टी–२० शृंखला बिहीबारदेखि सुरु हुने तालिका थियो । तर, पहिलो खेल वर्षा कारण सम्भव नभएपछि नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ तालिका निकालेको हो । नयाँ तालिकामा क्यानले वुल्भ्ससँगको तीन खेलको ट्वान्टी–२० शृंखलालाई निरन्तरता दिएको छ । तालिकाअनुसार, नेपाल र वुल्भ्सले आज दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् । ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् । एकदिवसीय शृंखला बुधबारदेखि सुरु हुनेछ । एकदिवसीय शृंखलाको पहिलो खेल बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ ।

मन्त्री अर्याले गराए रसियाका लागि श्रम स्वीकृति दिने निर्णय

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्री डोल प्रसाद अर्यालले रुस (रसिया) मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय गराएका छन् । युक्रेनसँग लडिरहेको सुरक्षा संवेदनशील मुलुक रसियाबाट बिदामा आएका नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय भएको वैदेशिक रोजगार विभागले विज्ञप्तिमार्फत जानकारी गराएको हो । विभागका अनुसार गत पुस १९ देखि रसियामा पठाउने श्रम स्वीकृति रोकिएकामा फागुन ९ गते पुनः श्रम स्वीकृति र चैत १६ गतेदेखि संस्थागत श्रम स्वीकृति दिने निर्णय सार्वजनिक भएको छ ।  ‘श्रम स्वीकृति रोकिएका कारण रसियामा विभिन्न पेसा व्यवसाय गरी नेपालमा बिदामा आएका श्रमिकको मागलाई सम्बोधन गरी नेपाल सरकार (सचिवस्तर) मिति २०८०/११/९ को निर्णयले पुनः श्रम स्वीकृति सुचारु गरिएको’ विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  साथै, रसियाको ब्लगोभेचेन्सेक सहरमा सिनोपी इन्जिनियरिङ रसिया एलएलसी कम्पनीमा श्रमिक पठाउने छनोट भई अन्तिम श्रम स्वीकृति लिन बाँकी रहेका श्रमिकको हकमा सचिवस्तरबाट फागुन १६ गते संस्थागत श्रम स्वीकृति दिने निर्णय भएको विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।  रसियामा धेरै नेपाली युवा गैरकानुनी बाटोबाट पुगेर त्यहाँको सेनामा भर्ना भई मृत्यु भइरहेको र सम्पर्कविहीन भइरहेका बेला सरकारले रसियाका लागि श्रम स्वीकृति रोकेको थियो । तर श्रम मन्त्रालयले सचिव स्तरिय  निर्णय गर्दै फेरि औपचारिक रूपमा श्रमिक पठाउने निर्णय गरेको छ ।जुन निर्णय गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई जानकारी समेत दिइएको देखिदैन । मन्त्रालयले पूर्वश्रममन्त्री शरत्सिंह भण्डारीकै समयमा फागुन ९ र १६ गते नै सो विषयमा निर्णय गरेको थियो । सो निर्णयलाई चैत १४ गते विभागको विज्ञप्तिमार्फत सार्वजनिक गरेकाे हाे ।