राप्रपाले आज काठमाडौँमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज संवैधानिक राजतन्त्रको पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै काठमाडौँमा वृहत प्रदर्शन गर्ने भएको छ ।प्रदर्शनमा विभिन्न धार्मिक सङ्घ, सङ्गठनहरूको पनि सहभागिता रहने जनाइएको छ।

प्रदर्शन आज दिउँसो भृकुटीमण्डपबाट सुरु भएर काठमाडौँका विभिन्न स्थानको परिक्रमा गरी जनसभामा परिणत हुने राप्रपाले जनाएको छ । राप्रपाले आजको प्रदर्शनमा ५० हजार बढी मानिसलाई सडकमा उतार्ने दाबी गरेको छ ।

राप्रपाले प्रदर्शन शान्तिपूर्ण हुने भन्दै सुरक्षाको उचित प्रवन्धका लागि सरकारको ध्यानाकर्षण समेत गराइसकेको छ । यस्तै, राप्रपाले निषेधित क्षेत्र घोषणा गरेर प्रदर्शनमा अवरोध गर्न खोजे प्रतिवाद गर्ने चेतावनीसमेत दिएको छ ।

राप्रपाले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाएको थियो । जसमा संवैधानिक राजसंस्था पुर्नस्थापना हुनुपर्ने लगायतका माग रहेका छन् ।

संघीय संसदका दुई समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदका दुई समितिको बैठक आज बस्दैछ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र महिला तथा सामाजिक समितिको बैठक बस्दैछ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको स्वीकृति सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, महिला तथा सामाजिक समितिको बैठक मध्याह्न १२ बजे बस्दैछ । आजको बैठकमा बालसुधार गृहहरूको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा विभिन्न मन्त्रालयहरूले गरिरहेका काम कारबाहीका बारेमा छलफल गर्ने जनाइएको छ ।

एकै साथ ‘निर्बन्ध आकाश’ र ‘उन्मुक्त किनारा’ लिएर आए डा. घिमिरे

काठमाडौं, असोज २६ । पूर्वमुख्यसचिव तथा क्यानडाका लागि पूर्वनेपाली राजदूत डा. भोजराज घिमिरे एकै साथ दुईवटा गजलकृति लिएर आएका छन्। बिहीबार काठमाडौंमा उनका दुवै कृतिको वरिष्ठ गीतकार रत्नशमशेर थापाले विमोचन गरे। पछिल्लो समय नेपाली गजलमा व्यापक प्रयोग भइरहेको र अत्यन्तै विवादको कारण पनि बनिरहेको छन्द र बहरमै केन्द्रित रहेर लेखिएका २०१ गजलहरूको कृति हो ‘निर्बन्ध आकाश’ भने लोक र उच्चार्य सममात्रिक लयमा लेखिएको कृति हो ‘‘उन्मुक्त किनारा’ । नेपाली गजलको विकास, विस्तार र पिरस्कारका लागि क्रियाशील संस्थाहरू अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले आयोजना गरेको कार्यक्रममा ुउन्मुक्त किनारा’ पुस्तकमाथि टिप्पणी गर्दै समालोचक शैलेन्द्र अधिकारीले गजलको शास्त्रीयताले गजल छन्द र बहरमै हुनुपर्ने मान्यता राख्ने बताए। तर, नेपाली गजल साहित्यमा यहाँका लोकलय र समआक्षरिकरसममात्रिक लयको पनि प्रयोग हुँदै आएको उनको भनाइ थियो। अधिकारीले उन्मुक्त किनारामा सामाजिक र मानवीय जीवनका अनेक पक्ष विषय बनेर आएका बताए। उनले गजलमा लय, भाव वा शिल्पमध्ये एक पक्ष मात्र उत्कृष्ट भएर नहुने यी तीनै पक्षको उत्तम पालना हुनुपर्ने धारणा राखे। निर्बन्ध आकाशमाथि टिप्पणी गर्दै समालोचक प्रभाती किरणले छन्दरबहरमा लेख्नु चानचुने कुरा नभएको बताए। लेखक विज्ञान र अर्थशास्त्रका विद्यार्थी हुँदाहुँदै पनि छन्द र बहर जस्तो जटिल क्षेत्रमा अध्ययन गरेर सयौँ गजल, त्यसमा पनि एक सय बढी छन्दरबहरमा रचना गर्नु निकै महत्त्वपूर्ण उपलब्धि र प्राप्ति भएको उनले बताए। हरेक गजलको अन्त्यमा छन्दरबहरका सूत्र र विश्राम पनि दिइएकाले उक्त पुस्तक छन्द र बहरमा सिक्न चाहनेका लागि गुरु पुस्तक बन्नसक्ने समालोचक प्रभाती किरणको भनाइ थियो । अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले निर्बन्ध आकाशभित्रका गजलहरूमा छन्दरबहरको उचित पालना भएको र आगामी दिनमा अझ परिस्कृत गजलकृति घिमिरेबाट आउने अपेक्षा गरे। यसरी नै प्रा.डा. कृष्णहरि बरालले छन्द र बहरमा गजल लेखनले पछिल्लो समय तीब्रता पाइरहेको उल्लेख गर्दै छन्द र बहरमा गजल लेख्नु ठूलो साधना भएको बताए। छन्द, बहरमा बढी ध्यान दिँदा भाव र प्रभावमा चिप्लिनसक्ने खतरा हुने भन्दै उनले भोजराज घिमिरेका गजलमा त्यो समस्या कम भएको उल्लेख गरे। आफू गजलको विद्यार्थी भएको र सिकाइकै क्रममा चारवटा गजलकृति प्रकाशन गरेको सर्जक भोजराज घिमिरेको भनाइ थियो। पछिल्लो समय नेपाली गजलमा छन्दरबहरको व्यापक बहस र प्रयोग भएको देखेपछि आफूले पनि गजलको खास शास्त्रीयतालाई पछ्याउने कोसिस गरेको उनले बताए। पुस्तक बिक्रीबाट आएको रकम अनाममण्डलीलाई प्रदान गर्ने घोषणासमेत लेखकले गरे। गजलकार घिमिरेले एक दर्जन बढी नवछन्दको निर्माण गरेर लेखेका गजल पनि निर्बन्ध आकाशमा समावेश गरेका छन्। गजलकारहरू जय गौडेल र राधा कणेलले निर्बन्ध आकाश कृतिबाट गजलहरू वाचन गरेका थिए। पुस्तक कन्दरा पब्लिकेशनले प्रकाशन गरेको हो।

सरकारमा नजाने भनेका छैनौँ : देवेन्द्र पौडेल

काठमाडौं, फागुन ४ । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले आफुहरुले सरकारमा नजाने नभनेको स्पष्ट गरेका छन् । उनले भने ‘हामीले नै सहमती दिएको पत्र लिएर केपी ओली प्रधानमन्त्रीको दावी पेश गर्न राष्ट्रपतिकोमा पुग्नुभएको हो, भने यस्ता बिषय आउनु त्यति ठिक होईन । ‘ अनि किँन हिजो ओलीको मन्त्रीपरिषदमा मन्त्री नपठाएको त माओवादी केन्द्रले भन्ने प्रश्नमा उनले भने ‘हामी सबै बिषय प्याकेजमै टुङ्ग्याउन प्रयत्न गरिरहेका छौँ , त्यहि भएर हो नत्र त ओली जी ले मन्त्रीको नाम दिन भन्नुभएको थियो तर हामीले त्यसो गरेनौँ । ‘ ती प्याकेज भित्र के के पर्छन भन्ने अर्को प्रश्नमा नेता पौडेलले भने ‘अब राष्ट्रपति उपराष्ट्रपति, सभामुख लगायतका बिषय छन् । पार्टी एकता पनि टुङ्ग्योमा पगिसकेको छैन् , केहि बिषय मिल बाँकी छन् । यी सबै बिषयलाई हल गरेर मात्रै सरकारमा सहभागी हुने भन्ने हो नत्र हामलिे ओलीजीलाई त सर्मथन गरेका छौँ । आत्तिनुपर्ने बिषय रहेन ।’ पार्टी एकतामा कहाँनेर कुरा नमिलेको भन्ने जिज्ञासामा नेता पौडेलले ‘थपे केहि बिषय मात्रै बाँकी हुन । कार्यदिशाका बिषयमा कसरी जाने, वैचारिक बिषयलाई कसरी हल गर्ने भन्ने छ ।’ तत्कालका लागि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने तर पार्टी एकतासहित समग्र प्याकेजमा सहमति नजुट्दासम्म सरकार बाहिरै रहने नीति अँगाल्ने संकेत माओवादीले गरेको हाे । जनताको बहुदलीय जनवाद (जबज) मा एमालेको अडानका कारण पार्टी एकता संयोजन समितिको बुधबारको छलफल नटुंगिएको अध्यक्ष पुष्पकमल दाहालले बिहीबार बिहान पार्टी नेतालाई ब्रिफिङ गर्दै बताएका थिए। दाहालले एकता सहितको समग्र प्याकेज नटुंगिएसम्म गठबन्धन सरकारलाई समर्थन जनाउने तर सरकारमा सहभागितालाई प्राथमिकता नदिने बताए । त्यही कारण माओवादीले ओलीलाई प्रधानमन्त्रीको दाबी प्रस्तुत गराउँदा समर्थन दिए पनि सरकारमा भने सहभागिता जनाएन। ओलीले पहिलो चरणमा मन्त्रिपरिषद् गठन गर्दा माओवादीका दुई जना नेता सिफारिस गर्न दाहाललाई आग्रह गरेका थिए। ओलीले पहिलो चरणमा एमालेका तर्फबाट आफूसहित तीन र माओवादीका दुई गरी पाँच सदस्यीय मन्त्रिपरिषद् बनाउने योजना बनाएका थिए। तर, माओवादीले तत्काललाई सरकारबाहिरैबाट समर्थन गर्ने सूचना पठाएपछि ओलीले एमालेका दुई नेतालाई मात्रै मन्त्री बनाए।

नर्मल र सिजेरियन डेलिभरी कुन राम्रो ?

सुत्केरी गराउने दुई विधि छन् । सामान्य डेलिभरी र सिजरियन सेक्सन । तर, दुवै विधिको मूल उदेश्य सहज रुपमा शिशुलाई संसार ल्याउनु हो । केही वर्ष अघिसम्म सामान्य अथवा नर्मल डेलिभरीबाट मात्रै सुत्केरी गराइन्थ्यो । यो विधिका कारण कतिपय अवस्थामा आमा र शिशुको स्वास्थ्यमै समेत खतरा पुग्ने गथ्र्यो । तर प्रविधिको विकाससँगै सुत्केरी गराउने विधि पनि परिर्वतन भएको छ । आमा र शिशु दुवैको स्वास्थ्यमा असर नपर्ने हुँदा धेरै गर्भवतीले सिजेरियना सेक्सनलाई जोड दिन थालेका छन् । तर यी दुवै विधिको आ–आफ्नै फाइदा र बेफाइदा छन् । डा. मञ्जलीकुमारी यादव नर्मल डेलिभरी प्राकृतिक र परम्परागत विधि हो । पृथ्वीको उत्पतिसँगै यो विधिको सुरुवात भएको हो । यो विधि अनुसार शरीरले सुत्केरी हुने अवश्यक वातावरण सृजना गर्दै पाठेघर खुल्ने र बच्चा जन्मिदाको पीडा आमामा महशुस गराउँछ । नर्मल डेलिभरी हुँदा अस्पतालमा धेरै समय बस्नु पर्दैन । कृत्रिम घाउ नहुँदैन । आमा बन्ने क्रममा प्रसब पीडा भए पनि प्रसब पछि पीडा कम हुन्छ । नर्मल डेलिभरी भएपछि आमाले बच्चालाई लगत्तै आफ्नो दुध खुवाउन सक्छन् । जुन बच्चाको लागि अमृत सरह हुन्छ । आमा र बच्चाबीचको सम्बन्ध झन घनिष्ठ गराउँछ । तुरुन्तै एकले अर्काको श्पर्स पाउँछन् । नर्मल डेलिभरीमा थोरै रगत (५ सय एमएल) मात्रै जान्छ । यसमा कुनै भित्रि अङमा क्षति पुग्ने डर हुँदैन । तर, अपवातका रुपमा धेरै रगत जाने सम्भावना पनि हुन्छ । जसलाई पोष्टपार्टम ह्युमीरेज (पीपीएच) भनिन्छ । कहिलेकाहि बच्चा च्यापिएर अक्सिजनको कमी हुने बच्चालाई ब्रुजेल लाग्ने डर हुन्छ । जस्तो शरीर सुनिने आदी । नर्मल डेलिभरीमा पछि गएर आंङ खस्ने समस्या पनि देखिनसक्छ । कहिलेकाही जबरजस्ती साल तान्दा पाठेघर फर्कीन पनि सक्छ । यस्तो अवस्थामा आमाको ज्यानै जाने सम्भावना पनि हुन्छ । सिजेरियनका फाइदा र बेफाइदा सिजेरियन सेक्सन पनि दुई प्रकारका छन् । आकस्मिक र ऐच्छिक । ऐच्छिकमा बच्चा जन्मिनु अघि तर समय पुगि सकेको अवस्थामा आमाको पेट चिरेर बच्चा निकालिन्छ । यसो गर्दा आमामा तनाव र पीडा कम हुन्छ । आमालाई सबै कुराको तयारी गर्न र मानसिक रुपमा तयारी हुन प्रर्याप्त समय पनि हुन्छ । अर्काे आकास्मिक सिजेरिय विधि हो । यो विधिको प्रयोग गर्भमा भएको शिशुलाई अप्ठयारो परेको खण्डमा या आमालाई अप्ठ्यारो परेको खण्डमा गरिन्छ । शिशुको मुटुको धड्कन कम वा बढी हुँदा, तौल धेरै हुँदा, प्रसवको समय चाहिने भन्दा बढी भएमा, आमालाई गाह्रो पर्दा वा कुनै जटिल रोग हुँदा गरिन्छ । आकस्मिक सिजेरियन गर्दा आमालाई बेहोश बनाइन्छ । पूर्णत बेहोस नगराई पेटदेखि तल्लो भाग मात्रै बेहोश बनाउने गरिन्छ । आमाले बच्चा निस्केको हेर्न सक्छिन । सिजेरियन वा शल्यक्रिया गरी शिशु निकाल्दा संक्रमण हुने, धेरै रगत जाने, औषधिको एलर्जी हुने, भित्रि अंगमा चोट लाग्ने र बेहोश बनाउँदा समस्या देखिन सक्छ । एसटीडी, एचआइभी र एचपीआर भएका आमाबाट बच्चामा सर्ने रोगको न्युनिकरण गर्न सकिन्छ । जुन नर्मल डेलिभरीमा बढी हुन्छ । पेनिक फ्लोरको चोट पनि कम हुन्छ । नर्मलमा भन्दा बढी सयम अस्पताल बस्नुपर्ने हुन्छ । शल्यक्रिया गरेको घाउ निको हुन समय लाग्छ । गर्भवतीले प्रसव पीडाका डरले सिजेरियन गर्ने प्रचलन बढ्दो छ । जुन गलत हो । कतिपयमा नर्मल डेलिभरी गर्दा यौन आनन्दमा असर गर्छ भन्ने भ्रम पनि छ । त्यो कथाचित सत्य होइन । बच्चा जन्मे पछि केहि समयमा यौनाङ पूर्णत पहिलेकै रुपमा आउँछ । त्यो भ्रमले अपे्रसन गराउनु राम्रो हुँदैन । तर अवश्यकता अनुसार शल्यक्रिया भने गर्नुपर्छ । नत्र आमा र शिशु दुवैको ज्यान जोखिममा पर्न सक्छ । शल्यक्रियापछि सोही अनुरुपको खानपानले आमालाई छिट्टै सन्चो बनाउँछ । (स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा यादव टाइम्स हस्पिटल, रंगेली, मोरङ्गमा कार्यरत छिन् ।) 

रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषद्को राष्ट्रिय भेला सुरु भएको छ । आज र भोलि काठमाडौँको प्रज्ञाभवन कमलादीमा हुने भेलामा देशभरबाट एक हजार ५०० प्रतिनिधि सहभागी हुने रास्वपाले जनाएको छ । राष्ट्रिय भेलाको शुभारम्भ पार्टी सभापति रवि लामिछानेले गर्नुभएको छ। आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ । आज पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेस गरिनेछ । आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ ।  भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुनेछ । भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपराह्न सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।  सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला भोलि नै सकिने छ । 

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न एक बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसअघि अर्थमन्त्री पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘विधायन व्यवस्थापन, २०८१ लाई पारित गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसअघि कानुनमन्त्री चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विधायन विधेयक, २०८० माथि छलफल गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आव २०७९÷८०’ पेश गर्ने र सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो । यस्तै राष्ट्रियसभाको बैठक पनि आज दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको उत्तर दिने सम्भावित कार्यसूची छ । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुनेछ। बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘विकास आर्थिक मामिला तथा सुशासन समितिको आव २०८०/८१ को वार्षिक प्रतिवेदन’ र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आव २०८०/८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेश गर्नुहुनेछ। यस्तै राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पाण्डेयले जानकारी दिनुभयो। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस’ र ‘प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

एनसेलको अनुमतिपत्र पाँच वर्षका लागि नवीकरण

काठमाडौं । नेपाल सरकारको निर्णयबमोजिम नियामक नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको अनुमतिपत्र पाँच वर्षका लागि नवीकरण भएको जनाएको छ । भदौ १३ को मन्त्रिपरिषद् बैठकले आइतबारदेखि समाप्त हुने क्रममा रहेको एनसेलको मोबाइल सेवाको अनुमतिपत्र सर्तसहित नवीकरण गर्न दिने निर्णय गरेको थियो । सरकारले एनसेलको मागबमोजिम किस्ताबन्दी सुविधा उपलब्ध गराएको थियो । सोही निर्णयअनुसार नवीकरण गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो । एनसेलले पहिलो किस्ताबापत पाँच अर्ब रुपैयाँ बुझाएपछि नवीकरण गरिएको पौडेलको भनाइ छ । दूरसञ्चार नियमावली २०५४ को प्रावधानअनुसार अनुमतिपत्रको अवधि सकिनुभन्दा तीन महिनाअघि गत जेठ १४ मै एनसेलले ४ अर्ब दस्तुरसहित प्राधिकरणसमक्ष निवेदन दिएको थियो । आइतबार थप १ अर्ब रुपैयाँ दाखिला गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । अनुमतिपत्र नवीकरणसम्बन्धी अन्य व्यवस्था मन्त्रिपरिषद्को फागुन ६ को निर्णयबमोजिम हुने छ । तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एनसेलको अनुमतिपत्रको २५ वर्षको अवधि समाप्त भएपछि तेस्रो नवीकरण गर्दाकै बखत सेवा प्रदायक कम्पनीको साविकमा कायम रहेको सेयर स्वामित्वको संरचनामा कुनै फेरबदल नगर्ने सर्त समावेश गरी अनुमतिपत्र नवीकरण गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।  

माओवादीको प्रश्न – ‘मध्यरातमा भएको छलछामको सहमति के हो ?’

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले एमाले र कांग्रेसबिच भएको सहमति सार्वजनिक गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा उनले दुई दलबिच छलछामको सहमति भएको बताए ।  सांसद पाण्डेले भने, ‘मध्यरातको छलछामपूर्ण सहमति थियो भन्ने देखिएको छ । त्यो आजसम्म पनि सार्वजनिक गरिएको छैन । के थियो त्यो सहमति ? कहाँ गयो त्यो ? छलछाम गरेर राष्ट्रिय सहमति हुन सक्दैन । सहमतिमा के भएको छ, त्यो जनताले हेर्न नपाउने ? सांसदले सुन्न पनि नपाउने ?’

बस्दै छ चार संसदीय समितिको बैठक, हुनेछ यी ऐजेण्डामा छलफल

काठमाडौँ । संघीय संसद्अन्तर्गतका चार वटा संसदीय समितिहरूको बैठक आज बस्न लागेको छ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।  त्यस्तै,राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे नै बस्दैछ । सो बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सिफारिस सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ । त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १ बजे बस्दैछ । सो बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासनको कार्यान्वयन अवस्था र स्थलगत अध्ययन अवलोकन अनुगमनबाट देखिएका विषयहरूका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।  संघीय संसद् सचिवालयका अनुसार आजै बिहान साढे १० बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको पनि बैठक बस्दैछ । बैठकमा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असर एवं असर न्यूनीकरणका उपायहरू तथा सगरमाथा क्षेत्रमा देखिएका समस्या,चुनौती र अवसरबारे छलफल हुनेछ ।

आर्थिक विकास केन्द्रित कूटनीति अगाडि बढ्दैछ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक विकास केन्द्रित कूटनीति अगाडि बढाउने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री श्रेष्ठले आर्थिक विकास केन्द्रित कूटनीति अगाडि बढ्दै गरेको बताएका हुन्। उनले आफू परराष्ट्र मन्त्रालयमा आएसँगै बन्द रहेका चीन सँगका १४ वटा परम्परागत व्यापारिक नाकाहरु खुला भएको बताउनुभयो। त्यस्तै नेपालीहरु चीन जान भिसा निःशुल्क भएको पनि उनले उल्लेख गरे । उनले भने, ‘‘कोभिड अगाडिदेखि नै बन्द रहेका १४ वटा परम्परागत व्यापारिक नाका खुला भए। त्यस्तै नेपालीहरुलाई चीन जान भिसा निःशुल्क भएको छ। अरु पनि थुप्रै काम भएको छ। अरु देशहरुसँग पनि अब हाम्रो आर्थिक विकास केन्द्रित कूटनीति अगाडि बढ्दैछ।’ उनले आफूले परराष्ट्र मन्त्रीको रुपमा गर्नुपर्ने कामहरु अगाडि बढाइरहेको बताए।   

कामिरिताले तोडे आफ्नै रेकर्ड,  चुमे २९औँ पटक सगरमाथाको चुचुरो

काठमाडौं । कामीरिता शेर्पा २९औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन्।  सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुगेको आफ्नै रेकर्ड तोड्दै शेर्पा आज बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको  आधारशिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए।  उनले  गत वर्ष एउटै सिजनमा दुई पटक सगरमाथाको शिखर पुगेका थिए। सोलुखुम्बुको थामे गाउँका कामीरिताले सन् १९९२ बाट सगरमाथा आरोहणको यात्रा थालेका थिए। ५४  वर्षीय शेर्पाले सगरमाथाका साथै माउन्ट केटु, चोयु, ल्होत्सेलगायतका हिमालसमेत आरोहण गरिसकेका छन्। 

इजरायलमा निगमको जहाजको इन्जिन मर्मतमा ढिलाइ, छानबिन गर्न उपसमिति गठन

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो ‘नाइन एन–एकेएक्स’ जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन गर्न उपसमिति गठन गरेको छ । निगमले शुक्रबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । “नेपाल वायुसेवा निगमको नाइन एन–एकेएक्स जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा २०८१ वैशाख २३ गते निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको छ ।” विज्ञप्तिमा भनिएको छ ।   उक्त समितिलाई निगमको जहाजको इन्जिन इजरायल एरोस्पेस इन्टस्ट्री (आईएआई)मा मर्मत सम्भार गर्न पठाएकोमा समयमा नआएको र भाडाको इन्जिन समयमा नदिएको सम्बन्धमा छानबिन एवम् अध्ययन गरी १५ दिनभित्र उपयुक्त राय सिफारिससहित प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ। यसभन्दा अगाडि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल वायुसेवा निगम र आईएआर्यबीच भएको सम्झौताबमोजिम कार्य गर्न र ढिलाइ भएकोमा क्षतिपूर्ति समेत दाबी गर्न गत फागुन २२ गते निर्देशन दिएका थिए।

संघीय संसद्को बजेट अधिवेशन आजदेखि

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरूप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो। नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले यसअघि नै सार्वजनिक सूचना जारी गरेर अनुरोध गरिसकेको छ। आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) जेठ १५ मा संसद्मा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक गर्ने तयारी सरकारको छ । अधिवेशनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गरेका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरिसकेका छन्।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तासाझेदार दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार करिब दुई घण्टा भेटवार्ता भएको हो। भेटवार्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गरिएको बताए। संसद्को बजेट अधिवेशन बोलाउने विषय संसद् र सरकार सम्बन्धित भएको उनले उल्लेख गरे। छिट्टै अधिवेशन बोलाइने उनले बताए । 

मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाएपछि

गुल्मी । पछिल्लो २४ घण्टामा अत्यधिक आगलागी भैरहेको गुल्मीमा एक व्यक्तिले मादध पदार्थ सेवान गरी आफ्नै घरमा आगो लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्लाको धुर्कोट गाउँपालिका–६ रजस्थलका ५९ वर्षका रेखबहादुर परियारलाई आफ्नै घरमा आगो लगाएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले परियारले आइतबार राति मादक पदार्थ सेवन गरेर आफ्नै घरमा आगो लगाएको पाइएको बताए ।  परियारले आफ्नो घरमा आगो लगाएपछि छिमेकीको घरमा पनि आगो लगाइदिने धम्की दिएको प्रहरीको भनाई छ । आगलागीबाट परियारको घरभित्र रहेको अन्नपात, लत्ताकपडा, समेत जली घर पूर्ण रुपमा क्षति भएको छ । गुल्मीमा पछिल्लो एक सातामा आगलागीबाट झण्डै १०० घरगोठ जलेर नष्ट भएको छ भने त्यत्तिकै संख्यामा पशु चौपाया मरेका छन् । आगलागीको पूर्ण क्षतिको विवरण आइसकेको छैन ।