राष्ट्रिय सभाको बैठक एक सातापछि बस्ने गरी स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक एक सातापछि बस्ने गरी स्थगित भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक यही चैत १५ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्ने तय भएको जानकारी दिए ।

बुधबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रिबजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका छन् ।

राष्ट्रिय सभाले अनुमगन तथा मुुल्यांकन सम्बन्धी विधेयकमा प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार पनि गरेको छ ।

राष्ट्रिय सभाले कार्यव्यवस्था परामर्श समितिमा रहने गरी सात जना सांसदको नाम मनोनयन पनि गरेको छ । मनोनयन हुने सदस्यहरुमा आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की (अछामी), तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंह छन् ।

माओवादी युद्धका सहयात्रीहरुलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको अपिल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरेका छन् । नेकपा (माओवादी केन्द्र) ले आयोजना गरेको २९ औँ जनयुद्ध दिवसको आज यहाँ उद्घाटपछि शुभकामना व्यक्त गर्दै परिवर्तनका लागि बलिदान गर्ने योद्धाहरुलाई आरोपित गर्ने अधिकार कसै पनि अधिकार नभएको उल्लेख गरे । सबै क्रान्तिकारी एकताबद्ध हुने राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, “एकै मोर्चा र केन्द्रमा एकता बद्ध गर्न आग्रह गर्दछु । ढिलो नगरी आनुहोस् बसौं, समीक्षा गरौं । नयाँ लहर सिर्जना गरौँ । माओवादी युद्धका सहयात्रीहरु आउनुहोस् । यो मोर्चालाई एकताबद्ध गरौँ ।” सामाजिक न्याय र सुशान कायम गरेर अगाडि बढ्ने अवसर भएको बताउँदै अध्यक्ष प्रचण्डले संकल्प गर्ने यस दिनमा सबै एकताबद्ध हुन अपिल गरे । जनयुद्ध नेपालको इतिहासको दूरगामी महत्त्वको रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरु अगाडि बढेको र सोहीअनुसार जनताले अभियानमा सहयोग प्रदान गरेको स्मरण गरे । जनयुद्धको दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनयुद्ध दिवस मनाउन बिदा दिएको भए पनि अदालतको निर्णयलाई स्वीकार गर्नुपरेको बताए। सरकारले बिदा नदिए पनि क्रान्तिकारीहरुले यस बिदालाई भब्यरुपमा मनाउने बताउँदै यस दिनलाई उच्च सम्मान गर्नुपर्ने बताए । “नेपालमा ऐतिहासिक परिवर्तनमा मुख्य र निर्णयक भूमिका कमरेड प्रचण्डको नेतृत्वमा सम्पन्न भएको जनयुद्ध नै थियो भन्ने कुरा कुनै विवाद छैन, विवाद पनि गर्न हुँदैन ।” उपाध्यक्ष श्रेष्ठले भने, “शान्ति प्रक्रिया अगाडि बढाउने क्रममा अध्यक्ष प्रचण्डकै नेतृत्वमा भएको र यसले नेपाली समाजलाई रुपान्तरण गरेको छ, उहाँ दूरदृष्टिअनुसार जनयुद्धले गणतन्त्र स्थापना भएको हो ।” संघीय लोकतान्त्रिक गणतन्त्रमा मात्र हाम्रो लक्ष्य नभएको उल्लेख गर्दै शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरेर समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्र दिशामा अगाडि बढ्नु पार्टीको मूल लक्ष्य हुनुपर्ने बताए । समाजवादको नयाँ आधार तयार पार्नका लागि सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय सार्वभौमिकता, प्राप्त उपलब्धीको रक्षा, सुशासनसहितको समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नु नै अबको कार्यभार भएको बताए ।

ग्यासभन्दा भान्सामा बिजुली सस्तो!

काठमाडौंः ग्यासमा भन्दा विद्युतीय ऊर्जाको प्रयोग गरेर खाना पकाउँदा आर्थिक रूपमा सस्तो पर्ने अनुसन्धानले देखाएको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको ऊर्जा अध्ययन केन्द्रले गरेको अनुसन्धानबाट सो कुराको पुष्टि भएको हो । यसका अनुसन्धानकर्ता एवं केन्द्रका प्रा.डा. जगन्नाथ श्रेष्ठले भने, ‘एलपी ग्यासभन्दा इन्डक्सन चुलोमा खाना पकाउँदा समय र पैसा कम खर्च हुने देखियो । त्यसैले एलपी ग्यासको प्रयोग कम गर्दै लैजान सकिएमा मुलुकलाई आर्थिक रूपमा फाइदा हुनेछ ।’ केन्द्रले यही मङ्सिर ७ गते सो अनुसन्धान गर्दा नमुनाका रूपमा आधा केजी चामल लिएको थियो । त्यसमा आधा लिटर पानी प्रयोग गरिएको थियो । चामल र पानीको तौल २।७९ केजी भएको थियो । उनले विद्युतीय चुलो (इन्डक्सन) प्रयोग गर्दा फलाम ९स्टिल० को भाडोमा मात्र पाक्न सक्ने भएकाले ग्यास र इन्डक्सन चुलोमा यो अनुसन्धान गर्दा एउटै प्रेसर कुकर प्रयोग गरिएको बताए । कुकरले दुई सिट्टी दिँदा भात पाक्ने सिद्धान्तअनुरूप भात पकाइएको थियो । ऊर्जाविद् प्रा.डा. श्रेष्ठले ग्यास चुलोमा भात पकाउँदा ११ मिनेट ११ सेकेन्ड र इन्डक्सनमा पकाउँदा सात मिनेट ४९ सेकेन्ड समय लागेको जानकारी दिए । ‘इन्डक्सनमा पकाउँदा झण्डै तीन मिनेट छिटो पाक्ने रहेछ’ उनले भने । अनुसन्धानका क्रममा एक पटक भात पकाउँदा एलपी ग्यासको ऊर्जा २५ ग्राम खपत हुने र इन्डक्सनमा पकाउँदा शून्य दशमलव १४२ किलोवाट आवर खर्च हुने गरेको पत्ता लगाइएको थियो । ऊर्जा खपतका बारेमा थाहा पाउन विभिन्न उपकरणहरू प्रयोग गरिएको थियो । दुई सिट्टीमा भात पाकेपछि खर्च भएको ऊर्जाको गणना गर्दा दुई रुपियाँ ४६ पैसा बराबरको ग्यास र एक रुपियाँ ४२ पैसा बराबरको विद्युत् खर्च भएको पाइएको थियो । सो रकम प्रतिसिलिन्डर एक हजार चार सय रुपियाँको हिसाबका आधारमा निकालिएको थियो । विद्युतीय ऊर्जाको हिसाब १५ एम्पियरको मिटर जडान गरिएको आधारमा १० रुपियाँ प्रतियुनिटको दरले निकालिएको हो । सरकारले २०७५–२०८५ साललाई ऊर्जा दशकका रूपमा घोषणा गरेको छ । गत २०७५ साल वैशाख २५ मा जारी स्वेतपत्रमा हरेक घर ऊर्जा घर, हरेक घरमा एक विद्युतीय चुलो भनेर उल्लेख गरिएको छ । नेपालमा दैनिक करिब ७२ हजार सिलिन्डर एलपी ग्यास खपत हुँदै आएको छ । सो १० करोड रुपियाँभन्दा बढी हुन्छ । बर्सेनि ४२ अर्ब रुपियाँभन्दा बढीको एलपी ग्यास खरिद हुँदै आएको छ । काठमाडौँ उपत्यकामा मात्र दैनिक खपत हुने ऊर्जाको ६९ प्रतिशत खाना पकाउनमा प्रयोग हुने गरेको छ । आर्थिक सर्वेक्षणले गत आर्थिक वर्ष २०७५/७६ को मध्यसम्ममा चार हजार १०२ गिगावाट आवर विद्युतीय ऊर्जा उपयोग भएको थियो । एक गिगावाट बराबर एक अर्बबाट हुन्छ । ऊर्जाविद् प्रा।डा। श्रेष्ठले इन्डक्सन चुलोबाट खाना पकाएर आर्थिक बचत गर्न गुणस्तरीय र दुईमुखे चुलो हुनुपर्ने, विद्युत् प्रवाह नियमित हुनुपर्ने, कम्तीमा १५ एम्पियरको विद्युत् लाइन जडान हुनुपर्ने, विद्युत् महसुल हालको भन्दा बढाउन नहुने बताए । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

देशभरी ४५ हजार सौर्य सडक बत्ती जडान गरिँदै, एघार सय किमी सडक उज्यालो हुने

अशोक घिमिरे काठमाडौँ, २० पुस । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लागत जनसहभागितामा आधारित रहेर हरेक नगरपालिकामा सडक सौर्य बत्ती जडान गर्न आवश्यक बजेट विनियोजन गरेको छ । मन्त्रालयले मुलुकभरका २१७ नगरपालिकामध्ये एक सय ४३ नगरपालिकालाई सौर्य सडक बत्ती जडान गर्न रु ५० करोड विनियोजन गरेको हो । मन्त्रालयले जनहसभागितामा आधारित रहेर सौर्य सडकबत्ती जडान गर्न दुई सय १७ नगरपालिकासँग प्रस्ताव आह्वान गरेको थियो भने तीमध्ये एक सय ४३ नगरपालिकाले मात्र आफ्ना नगर क्षेत्रमा सौर्य सडकबत्ती जडान गर्न प्रस्ताव पेस गरेका थिए । सौर्य सडकबत्ती जडानका लागि मन्त्रालयले विनियोजन गरेको कूल रु ५० करोड बजेटमध्ये पहिलो चरणमा विभिन्न नगरपालिकालाई रु ४७ करोड ७२ लाख ५३ हजार अनुदान रकम उपलब्ध गराएको मन्त्रालयले जनाएको छ । यस्तै दोस्रो चरणमा सौर्य सडकबत्ती जडान गर्न विभिन्न २१ वटा नगरपालिकाले प्रस्ताव पेस गरेका र तीन नगरपालिकालाई रु दुई करोड अनुदान निकासा गरिएको छ । मन्त्रालयअन्तर्गतको नगरपालिका शाखाका उपसचिव नरहरि शर्मा भण्डारीले एक सय ४३ नगरपालिकालाई कुल ४५ हजार ३०८ वटा सडकबत्ती जडान गर्न अनुदान उपलब्ध गराइएको बताउनुभयो । नगर क्षेत्रमा सौर्य सडकबत्ती जडान गर्न मन्त्रलालयले ६५ प्रतिशत अनुदान दिनेछ । त्यस्तै प्रत्येक नगरपालिकाले २० प्रतिशत र उपभोक्ता समितिले १५ प्रतिशत रकम व्यहोर्नुपर्ने हुन्छ । एघार सय किमी सडक उज्यालो हुँदै चालु आवमा करिब ४५ हजार ३०८ थान सौर्य सडकबत्ती जडान भएपछि नगर क्षेत्रका करिब एक हजार १०० किलोमिटर सडक उज्याला हुनेछन् । सरकार, स्थानीय निकाय र जनसहभागिताबाट सञ्चालन गरिने यस कार्यक्रममार्फत् चालु आवमा देशभरका करिब ५० हजार सडकबत्ती विस्थापन गरिने मन्त्रालयको योजना छ । सौर्य सडकबत्ती जडान गरिएपछि सडकबत्ती बालेबापत नेपाल विद्युत् प्राधिकरणलाई तिर्दै आएको महसुलमा कमी आई नगरपालिकालाई आर्थिक व्ययभार कम पर्नेछ । यसअघि सडकबत्ती बालेबापत महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाले अर्बौँ रकम विद्युत् प्राधिकरणलाई तिर्दै आएका छन् । त्यस्तै सौर्य सडकबत्ती जडानसँगै राष्ट्रिय रुपमा विद्युत् खपतमा कमी आउने र सरकारको विद्युत्भार कटौती अभियानलाई पनि महत्वपूर्ण सहयोग पुग्ने उपसचिव भण्डारीको भनाइ छ । सौर्य सडकबत्ती जडान भएपछि नगरक्षेत्रमा हुने आपराधिक घटनामा कमी आउने र सुरक्षा व्यवस्था चुस्त राख्न सहयोग पुग्नुका साथै सडकमा रातिको समयमा हिँडडुल गर्न सहज हुने उहाँको भनाइ छ । उपत्यकामा १९ हजार सौर्य सडक बत्ती मन्त्रालयले उपत्यकाका २२ वटा नगरपालिकामध्ये १८ वटा नगरपालिकालाई सौर्य सडकबत्ती जडान गर्न अनुदान निकासा गरिसकेको छ । काठमाडौँ महानगरपालिकालाई चालु आवमा २५२ आयोजनाअन्तर्गत आठ हजार पाँच सय ४१ वटा सौर्य सडकबत्ती जडान गर्न रु पाँच करोड ९६ लाख ८६ हजार अनुदान उपलब्ध गराइएको छ । त्यस्तै ललितपुर उपमहानगरपालिकालाई दुई हजार एक सय ८८, गोकर्णेश्वर नगरपालिकालाई एक हजार पाँच सय ३२, मध्यपुर ठिमी नगरपालिकालाई एक हजार दुई सय ६३, कागेश्वरी नगरपालिकालाई सात सय ६९, भक्तपुर नगरपालिकालाई सात सय ५९ र कार्यविनायक नगरपालिकालाई ६६० वटा सौर्य सडकबत्ती जडान गर्न अनुदान उपलब्ध गराइएको छ । त्यस्तै तारकेश्वर नगरपालिकालाई ६४४, बूढानीलकण्ठ नगरपालिकालाई पाँच सय ५६, नागर्जुन नगरपालिकालाई चार सय ४६, चन्द्रागिरि नगरपालिकालाई तीन सय ९४, अनन्तलिङ्गेश्वर नगरपालिकालाई दुई सय ७५, महालक्ष्मी नगरपालिकालाई दुई सय ७०, कीर्तिपुर नगरपालिकालाई २०७, दक्षिणकाली नगरपालिकालाई एक सय ५५, नगरकोट नगरपालिकालाई ५०, शङ्खरापुर नगरपालिकालाई ३५ र सूर्यविनायक नगरपालिकालाई आठवटा सौर्य सडकबत्ती जडान गर्न अनुदान उपलब्ध गराइएको छ । यस्तै विराटनगर उपमहानगरपालिकाले दुई हजार ६४६, वीरगन्ज उपमहानगरपालिकाले एक हजार ५५०, भरतपुर उपमहानगरपालिकाले पाँच सय १५, बुटवल उपमहानगरपालिकाले ४६८, हेटौँडा उपमहानगरपालिकाले ३९४, इटहरी उपमहानगरपालिकाले तीन सय ३७, धरान उपमहानगरपालिकाले तीन सय ३६, धनगढी उपमहानगरपालिकाले २९९ र नेपालगन्ज उपमहानगरपालिकाले २०० वटा सौर्य सडकबत्ती जडान गर्न मन्त्रालयबाट अनुदान पाएका छन् । मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले तोकेको मापदण्ड अनुसार स्वीकृति प्राप्त सोलार कम्पनीबाट सौर्य सडकबत्ती जडान सकिने जनाएको छ । केन्द्रको मापदण्डमा सोलार प्यानलमा २० वर्ष, ब्याट्रीमा पाँच वर्ष र सौर्य बत्तीमा दुई वर्षको ग्यारेन्टी हुनुपर्ने व्यवस्था गरिएको छ । मन्त्रालयले यही पुस २५ गतेभित्र सबै नगरपालिकालाई बोलपत्र प्रक्रिया सकेर काम सुरु गर्न दिर्नेशन दिएको छ । रासस

नेकपा एसमा ८४ पोलिटब्यूरो सदस्य चयन (नामावलीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले ८४ सदस्यीय पोलिटब्यूरो कमिटी चयन गरेको छ । आज बिहान सम्पन्न मत परिणामअनुसार पोलिटब्यूरो सदस्यमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रमा आलेमगर, रामकुमारी झाँक्री, रामचन्द्र झा, कल्याणीकुमारी खड्का, डा। विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, रामकुमार ज्ञवाली, डा। वंशीधर मिश्र विजयी हुनुभएको छ । यस्तै, विजय सुब्बा, उर्वादत्त पन्त, निरादेवी जैरु, नागेन्द्रप्रसाद चौधरी, अम्मरबहादुर थापा, बलराम प्रसाद बास्कोटा, शत्रुधन महतो, दिलकुमारी पन्त, सुदेश पराजुली, साध्यबहादुर भण्डारी, लगायत  पनि निर्वाचित हुनुभएको छ । एकीकृत समाजवादीले बुधबार पदाधिकारीको निर्वाचनमार्फत टुंगो लगाएको थियो । एकीकृत समाजवादीमा पदाधिकारी २१ र पोलिटब्यूरो १०५ सदस्यीय (पदाधिकारीसहित) रहेको छ ।

आयुक्तमा प्रस्तावित प्रधानको संसदीय सुनुवाइ आज

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ आज हुने भएको छ । प्रधानको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।  असार २ गते बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । 

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक २०८१ असार १९ गते बुधबार बिहान ९ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन्। बैठक पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने भएको छ। बैठकमा नेकपा एमालेसँग गरिएको सहमतिको विषयमा छलफल हुने बताइएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।

यी प्रदेशमा छ वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय र पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। राति, कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

दलित सशक्तीकरण कार्यक्रम बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छुवाछूत तथा जातीय विभेदजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुनबमोजिम दण्डनीय हुने व्यवस्था भइसकेकाले राज्यका सबै जिम्मेवार तह र निकायले यसलाई प्रभावकारी कार्यान्वयन गर्न अपिल गरेका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले छुवाछूतमुक्त राष्ट्र घोषणाको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकारले जिम्मेवार हुनुपर्ने बताए । ‘तीनै तहका सरकारले आफ्नो नीति, कार्यक्रम र बजेटमा कार्यक्रम निर्माण गर्न, दलित सशक्तीकरण कार्यक्रम बनाउन, छुवाछूत विरूद्धको ऐन प्रभावकारी कार्यान्वयन गर्न सबैमा विशेष अपील गर्दछु’, सन्देशमा भनिएको छ । दलित समुदायलाई छुवाछूत र विभेदबाट मुक्त गर्दै बृहत्तर विकास र उन्नतिका लागि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र समानताका निम्ति राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार प्रदान गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले सकारात्मक विभेदको प्रक्रियाबाट मात्रै विगतको राज्य संयन्त्रले गरेको अन्यायको परिपूरण र समानताको आधारशिला खडा गर्न सकिने र त्यसका लागि राज्यका सबै संयन्त्र गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याए । दलित समुदायको समग्र विकासको लागि दलित विकास प्राधिकरण गठन गर्ने नीति र कार्यक्रम ल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सन्देशमा भनेका छन्– ‘सरकारले यसलाई कानुन नै बनाएर संस्थागत गर्नेछ, यसमा दलित आन्दोलनले पनि निरन्तर सङ्घर्ष र खबरदारी गरिराख्नुपर्दछ ।’ उनले छुवाछूतको समूल नष्ट गर्न राज्यका तीनै तहमा छुवाछूत निगरानी तथा अनुगमन संयन्त्र आवश्यक रहेको र आफूले यस विषयलाई गम्भीररूपमा लिएको बताए ।

सत्तापक्ष र प्रतिपक्ष राखेर कार्यादेश टुंग्याउने प्रयासमा प्रधानमन्त्री

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश निर्धारण गर्न गठित कार्यदल बैठक सहमति नजिक पुगेको छ । कार्यदलमा जुटेको सहमतिलाई अन्तिम रुप दिन प्रधानमन्त्रीले सत्तापक्ष र प्रतिपक्षी दुबैसँग बालुवाटारमा छलफल गरिरहेका छन्। कार्यादेश निर्धारण गर्न गठित कार्यदल बैठक कानून मन्त्रालयमा बसेको थियो तर विषयको टुग्गो लगाउन प्रधानमन्त्रीले कांग्रेस र सत्ता पक्षका शीर्ष नेतासँग बालुवाटारमा छलफल गरिरहेको कानून मन्त्री पदम गिरीले बताए । कार्यदलको बैठकमा सहकारी र कम्पनीको नाम उल्लेख गर्ने, तर गृहमन्त्री रवि लामिछाने व्यक्तिमा नजानेगरी छलफललाई निष्कर्षमा पुर्याउन लागिएको हो। यसका सहमति नजुटेपछि शीर्ष नेताहरूबिच छलफल गरेर सहमति जुटाउन प्रधानमन्त्रीले पहल गरेको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ । प्रधानमन्त्रीसँगको बैठकमा कार्यदलका कानूनमन्त्री गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार, संसद् ज्ञानेन्द्रबहादुर कार्की, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपाबाट शिशिर खनाल पिन सहिभाग छन् । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता कृष्ण सिटौला सहभागी छन् । यस्तै सत्ता पक्षबाट एमालेबाट उपप्रधान तथा भौतिक पूर्वधानमन्त्री रघुवीर महासेठ,सांसद विष्णु पौडेल सहभागी छन् ।  यस्तै, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे  सहभागी छन् । बैठकमा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी छैनन् । देउवालाई सन्चो नभएको बताइएको छ भने ओलीले पौडेल र महासेठलगायतलाई पठाएका छन् ।

कांग्रेस सम्हालिनुपर्छ : अध्यक्ष ओली

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सम्हालिनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले यस्तो बताएका हुन् ।  ‘कांग्रेसले आफूलाई समालेर लोकतान्त्रिक अभ्यास, मूल्य, मान्यतामा आउनु पर्छ,’ ओलीले भने । उनले कांग्रेस नमिलेको खण्डमा पनि सरकारले पेलेरै आगामी आर्थिक वर्षको बजेट ल्याउन सक्ने सङ्केत गरे । ‘अहिलेसम्म कसरी बजेट पारित भएको छ ? घेराउ भएको छैन ? हामीले १२ पटक घेराउ गर्दागर्दै नारा लाउँदा लाउँदै पास भएको देख्नु भएको छैन ?,’ सञ्चारकर्मीले अब बजेट कसरी ल्याउनु हुन्छ भनेर सोधेको प्रश्नमा उनले जवाफ दिँदै भने, ‘त्यसबेला त प्रतिपक्षले यसरी हल्ला गर्नु नै हुँदैन भन्नुहुन्थ्यो नि त ।’ आफूहरूले कांग्रेसलाई पेलेर जाने नभनेको तर गत जेठ ५ गते बेलुकाको सहमति ६ गते कांग्रेसले नै उल्ट्याएर अहिलेको परिस्थिति बनेको उनको भनाइ छ । ‘पेलेर जाने होइन । अघिल्ला दिन ५ गते बेलुका सहमति हुन्छ ६ गते तोड्छ । यो कसले तोडेको ? सत्ता पक्षले अर्घेल्याई गरेको हो र ? त्यस्तो इस्यु भए अदालत गए भयो । कांग्रेसले आफूले जे भन्यो त्यही हुनुपर्छ भन्छ । अनि कांग्रेसले आफ्नो तर्फ आफ्नो मतियार भएर आफ्ना निम्ति काम गरेन भने जसलाई पनि मुख छाड्छ, गाली गर्छ, बेइज्जत गर्छ । इज्जत कसैको राख्दैन,’ ओलीले भने, ‘संसदीय छानबिन समिति जेठ ५ गते बेलुका गरेको सहमति अनुसार हो भने बन्छ ।’ उनले अहिलेको देशमा धेरै समस्याहरू देखिएको अवस्थामा एकताबद्ध हुनुपर्नेमा कांग्रेसले सत्ताबाहेक केही कुरा नदेखेको आरोप लगाए । ‘अहिले देशमा धेरै जटिल समस्याहरू छन् । साम्प्रदायिकताको कुरा छ, प्रतिगामी शक्तिहरू हौसिएका छन् । बाह्य हस्तक्षेप बढ्दो छ । यस्ता कुरालाई ध्यानमा राखेर राष्ट्रलाई एक ठाउँमा उभ्याउने, आधारभूत कुरालाई एक ठाउँमा राखेर स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । त्यो कुरा नेपाली कांग्रेसले बुझ्नै सकेन । उ नबुझी बुढो भयो,’ ओलीले भने, ‘एकछिन सरकारमा नहुँदा बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा एकछिन सत्तामा नहुँदा छटपटिनु र पानीबाट निकालेको बगरको माछा जस्तो भट्याक भट्याक गर्नु । माछाले त गाली, बेइज्जती गर्न जान्दैन । कांग्रेसले त यता भेटे यतै टोक्छ, उता भेट्यो उतै टोक्छ । जता फर्कियो जसलाई देख्यो त्यसैलाई टोक्छ । अचम्मको स्थिति बनाएको छ ।’ कांग्रेस र एमाले मिलेर अगाडि बढ्दा हुँदैन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘संविधान बनाउन्जेल सहमति गरेर सुशील कोइराला प्रधानमन्त्री बन्नुभयो। त्यसपछि कांग्रेसले एमालेलाई दिने भनेको प्रधानमन्त्री दिएन। त्यसपछि कांग्रेसले राजनीतिमा बेइमानी सुरु गर्‍यो। चलिरहेको सहकार्य, संविधान जारी गरेपछि त्यसलाई स्थिरता र स्थायित्वमा लानका लागि संरचना थिएन, कानुन थिएन। त्यो सहकार्यको आवश्यकता थियो। त्यो हामीले पनि भन्यौँ। हामीले त्यो प्रयास गर्‍यौँ। कांग्रेसले त्यो बाटो नै छोड्यो ।’ कांग्रेससँग मिल्न के का लागि भन्ने प्रश्न रहेको भन्दै उनले थप भने, ‘के का लागि मिल्ने, कसका लागि मिल्ने । स्थिरता भनेको सोचहरूको एकता हो, प्रतिबद्धताको एकता हो। लोकतान्त्रिक मूल्य, मान्यतामा अडिने कुरामा एकता हो। तर, कांग्रेसमा सत्ता, सत्ता र सत्ता भन्दा केहीमा ध्यान छैन । कांग्रेसले अरूको इज्जतमाथि बाहिर बाहिर घुमाई घुमाई हमला गर्छ । हामी बेलमा हुँदा हुँदै दर्जनौँ पटक प्रस्तावहरू पारित भएका छन् । तर, अहिले प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रमलाई पनि रोक्न लाग्नु भयो । त्यसकारण उहाँहरूमा सहमति, सहकार्य, स्थिरता विकास तिर रुचि छैन ।’ ओलीले बेलुका रातभरि डेढ वर्षलाई प्रधानमन्त्री भन्ने त्यो मानेपछि भोलिपल्ट बिहान भ्रष्टाचारी भन्ने तरिका ठिक नभएको बताए ।

संसद् बैठक सुरु, कांग्रेसको विरोध जारी (प्रत्यक्ष प्रशारण)

काठमाडौं । संसद् बैठक सुरु भएको छ । बैठकमा कांग्रेसले विरोध जारी राखेको छ ।

कार्यदलको बैठक लम्बिँदा प्रतिनिधिसभा बैठकमा ढिलाइ

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक लम्बिँदा प्रतिनिधि सभाको बैठक शुरु हुन ढिलाइ भएको छ । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको बैठक बसिरहेको हो । सिंहदरबारमा कार्यदलको बैठक बसिरहँदा नयाँ बानेश्वरस्थित संसद् भवनमा विपक्षी दलहरूको बैठक बसेको थियो । उक्त बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जवाफ संसद्‌मा सुन्ने निर्णय गरिसकेको छ । कार्यदलले संसदीय समितिको कार्यादेश टुंगो लगाए संसद् कार्यसूचीमा प्रवेश गर्न सक्ने नेताहरू बताएका छन् । शनिबार सत्ता र प्रतिपक्ष दलहरूबीच सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । कार्यादेश टुंगो लगाउन एमालेका नेता एवं कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ। उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् । सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार छानबिन समिति गठनसम्बन्धी कार्यदलको टीओआरमा सहमति नभएसम्म बैठक नचलाउन विपक्षी दलहरूले आग्रह गरेका छन् ।

स्व.नेता गुरुङको सम्मानमा पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वमन्त्री सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। बैठकले नेता गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। साथै दिवङ्गत आत्माको चीरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। कांग्रेसले स्व गुरुङप्रति सम्मान प्रकट गर्दै बैठकले शोक कार्यक्रमअन्तर्गत वैशाख २७, २८ र २९ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।

पार्टी विभाजनबारे पत्रकार सम्मेलन गर्दै जसपा नेपाल, अदालत जाने तयारी

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपां) नेपाल आज पार्टी विभाजनविरुद्ध अदालत जाने तयारी गरेको छ।पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णय गर्न आज केन्द्रीय कार्यकारिणी बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्ने बैठकले बैठकले सो बार् निर्णय लिनेछ। अशोक राईको नेतृत्वमा ७ सांसद र ३० केन्द्रीय सदस्यको माग अनुसार नयाँ दल दर्ता गराएको विषयमा अदालत जाने तयारी गरेको प्रवक्ता मनिष सुमनले बताए । पार्टी विभाजनको विषयमा आज पत्रकार सम्मेलन गरेर जानकारी गराउन लागेको प्रवक्ता सुमनले बताए । उनका अनुसार आज बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा पत्रकार सम्मेलन राखिएको छ।दल विभाजन सम्बन्धी कानूननै नभएको बेलामा निर्वाचन आयोगले पार्टी विभाजनलाई मान्यता दिएको भन्दै अदालत जानलेको हो । अध्यक्ष यादव अमेरिका भ्रमणमा भएको बेलामा राईको नेतृत्वमा आइतबार निवेदन दिए लगत्तै आयोगले सोमबार नयाँ दलको मान्यता दिएको थियो। हिजो बसेको बैठकले पार्टी विभाजनबारे कानूनी उपचार खोज्ने निष्कर्ष निकालेको थियो।

माधव नेपालले संसदीय दलको बैठक बोलाए

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदीय दलको बैठक बोलाएका छन्। एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले संसदीय दलको बैठक आज दिउँसो १ बजे संसद भवनको शंकर हलमा बस्ने जानकारी दिए। जनता समाजवादी पार्टी (जसपा) विभाजनपछि विकसित घटनाक्रमबारे छलफल गर्न नेपालले दलको बैठक बोलाएका हुन्। बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने चौधरीले जानकारी दिए। उनले भने,  ‘परिस्थिति बदलिएको छ, त्यसबारे छलफल तथा निर्देशन हुन्छ।’