‘नेसनल क्याडेट कर्प्स’ कार्यक्रम मित्रराष्ट्रका सैन्यबलसँग सम्बन्ध अभिवृद्धि गर्ने अवसर : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेसनल क्याडेट कर्प्स’ कार्यक्रमले नेपाली सेनालाई मित्रराष्ट्रहरूको सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको बताएका छन् ।
नेसनल क्याडेट कर्प्स (एनसिसी) कार्यक्रम अन्तर्गतको विभिन्न दक्षिण एसियाली देशका सैन्य अधिकृतबीचको तालिम आदानप्रदान कार्यक्रममा सहभागी सैन्य प्रशिक्षार्थीहरूसँग आज सिंहदरबारमा भएको भेटममा उनले एकअर्का देशको आर्थिक–सामाजिक एवं सांस्कृतिक अवस्थाबारे सचेतना र सम्मानमा विस्तार गर्ने विश्वास व्यक्त गरे।
“मलाई विश्वास छ, यो कार्यक्रमले देशहरूबीच रहेका अदृश्य सीमाहरू उजागर गर्ने र त्यसलाई न्यूनीकरण गर्नेछ” प्रधानमन्त्री प्रचण्डले भने, “यसले समग्र विश्व एक अन्तरआवद्ध समुदाय हो भन्ने कुराको सशक्त सन्देश प्रवाह गर्नेछ ।”
यस्ता कार्यक्रमले विभिन्न क्षेत्रका युवाहरूलाई देशप्रति समर्पित, अनुशासित जिम्मेवार भावी नेतृत्व र नागरिकका रूपमा विकास गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले प्रचण्डले राष्ट्रियता, नेतृत्व, आत्मविश्वास र देशका लागि स्वयंसेवा गर्ने प्रतिबद्धता गर्ने बताए।
कार्यक्रमले युवामा आत्मसम्मानको विकासमा मात्र नभई सामुदायिक विकास र आवश्यक परेका समयमा स्वयंसेवा गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले यसले ऊर्जाशील युवामा वहुआयामिक ज्ञानको विकास हुने बताए। युवा आदानप्रदान कार्यक्रमअन्तर्गत नेपाल, भारत, पाकिस्तान माल्दिभ्सलगायतका ‘नेसनल क्याडेट कप्र्स’को सहभागिता रहेको थियो।
आज ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस : देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदै
काठमाडौं । आज ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा आज सरकारले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको छ । विक्रम संवत् २००७ फागुन ७ गते जहानिया राणा शासन अन्त्य गरी नेपालमा प्रजातन्त्रको स्थापना भएको घोषणा गरिएको दिनलाई प्रजातन्त्र दिवस मनाउन थालिएको हो । सरकारले दिवसको अवसरमा फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने यसअघि नै निर्णय गरेको थियो । सातै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय ‘राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति’ र सबै स्थानीय तहमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति’ गठन गरी विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस भव्य रुपमा मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा आज नेपाली सेनाले सैनिक मञ्च, टुँडिखेलमा विगुल बजाउने तथा तोप र बन्दुकको बढाइँ गर्ने, सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अंकित ब्यानर चक्रपथ वारपार प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । दिवसको अवसरमा भोलिसम्म प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघसंस्थाका कार्यालयको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दीप प्रज्ज्वलन गरिनेछ ।
दुर्गाथलि गाउँपालिका अध्यक्षमा माओवादीका दिलबहादुर थापा विजयी
बझाङ । बझाङ जिल्लाको दुर्गाथलि गाउँपालिका अध्यक्षमा वाईसिएल नेपाल सुदुर पश्चिम इन्चार्ज रहेका दिलबहादुर थापा (तुफान) विजयी भएका छन् । सोमबार सार्वजनिक भएको मत परिणाम अनुसार उनी दुर्गाथलि गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।
कोभिड–१९ को नयाँ औषधिः के हो वास्तविकता ?
जनस्वास्थ्य विज्ञ डा.रविन्द्र पाण्डे । नेपाल, बंगलादेश, भारत लगायतका देशमा एलर्जी, दम, बाथ आदि रोगमा प्रयोग हुने तथा सुन्निएको अवस्थामा प्रयोग हुने लाइफ सेभिंग ड्रग डेक्सामेथासोनलाई बेलायतमा गम्भिर प्रकृतिका कोरोंना संक्रमित बिरामीमा प्रयोग गर्दा राम्रो परिणाम दिएको बिबिसीले जनाएको छ । यो औषधि नेपाल, भारतलगायतका देशमा उपयोग तथा दुरुपयोग भएको औषधि हो । यो स्टेरोइड एकदम सस्तो र छिटो काम गर्ने खालको भएकोले चिकित्सकले भन्दा अन्य प्राक्टिस गर्नेहरुले तुरुन्तै जस पाउनको लागि ब्यापक रुपमा चलाएको पाइन्छ । यो धेरै पुरानो स्टेरोइड हो । बेलायतको अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले अस्पतालमा भर्ना भएका २ हजार बिरामीलाई डेक्सामेथासोन दिएका थिए । अन्य ४ हजारलाई भने यो औषधी दिइएन । Dexamethaasone (Dexona) ले भेन्टिलेटरमा रहेका बिरामीहरुको मृत्युको जोखिम ४० % बाट २८ % मा झरेको तथा अक्सिजन चाहिएका बिरामीको मृत्युको जोखिम २५ % बाट २० प्रतिशतसम्म कम भएको जनाइएको छ । यो औषधिले भेन्टिलेटरमा रहेका बिरामीको मृत्युको जोखिमलाई १ तिहाइले कम गर्ने तथा अक्सिजन चाहिएका बिरामीहरुको मृत्युलाई १/५ ले कम गर्न सक्ने बताइएको छ । यो औषधि कोभिड १९ का सामान्य जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे । बिरामीलाई नभएर आइसीयु तथा भेन्टिलेटरमा राख्नुपर्ने वा राखेका बिरामीलाई प्रयोग गरिन्छ । यसको मूल्य नेपालमा प्रति ट्याब्लेट ३-४ रुपैया र इन्जेक्सनको मुल्य १६ रुपैया मात्र पर्दछ । यो एन्टिभाइरल औषधि हैन । यसले कोरोना भाइरसलाई नष्ट गर्ने औषधि पनि हैन । यो केवल जीवन बचाउनको लागि ट्रयाल गरिएको औषधि हो । यसको प्रभावकारीता हेर्न बाँकी नै छ । आशा गरौँ, यो औषधिले गम्भीर प्रकृतिका कोभिड १९ बिरामीको जीवन रक्षा गर्न उपयोगी हुनेछ ।
कांग्रेसमा अब रामचन्द्रले अवरोध गर्न सक्दैनन : चिनकाजी श्रेष्ठ
काठमाडौं, वैशाख १५ । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकमा आजबाट पदाधीकारहरुले आफ्नो धारणा राख्नेक्रम सुरु हुँदैछ । हिजो सम्म केन्द्रिय सदस्यहरुले बोल्नेक्म सकिएको र अब पदाधीकारीले जवाफ दिने र बैठकको निष्कर्ष निकाल्दै सकिने हो । आजको बैठकमा सभापति शेर बहादुर देउवाले संवोधन गर्ने तय भएको छ । महामन्त्रीले प्रस्तव प्रस्तुत गर्ने र त्यो प्रस्तावमाथी सामान्य छलफल गरि पारितको प्रयास पनि आजै हुनेछ । गएको निर्वाचनमा बेहोरेको हारको समिक्षा गर्न बोलाइएको केन्द्रिय समितिमा नेतृत्वको आलोचना र बचाउमै धेरै समय ब्यतित भए । बिभिन्न गुटका नेताहरुले गुटगत धारणा राखे भने लिखित प्रस्ताव पनि ओइरो नै लाग्यो । निर्वाचनमा भोग्नुपरेको पराजयको समीक्षा र भावी कार्ययोजना तय गर्न बसेको बैठक दुई पक्षबीच आरोप–प्रत्यारोपमै सीमित भैरहेको भन्दै कतिपयले यसको आलोचना पनि गरिरहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सभापति शेरबहादुर देउवामाथि खनिएको छ भने देउवा पक्ष आफ्नो बचाउमा केन्द्रित छ । पार्टी सभापति देउवाकै कारण चुनावमा पार्टी पराजित हुन पुगेको आरोप लगाउँदै पौडेल पक्ष पराजयको जिम्मा सभापतिले नै लिनुपर्ने अडानमा छ । तर, सभापति देउवा पक्ष भने निर्वाचनमा भोगेको हारको जिम्मा लिने पक्षमा छैन । सभापति देउवा पक्ष टिकट वितरणलगायत हरेक कुरामा भाग खोज्ने तर दोष सभापतिलाईमात्र दिएर पौडेल पक्षले दोहोर चरित्र प्रस्तुत् गरेको भन्दै प्रतिवाद गरिरहेको छ । केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले चुनावी समीक्षा र आगामी रणनीति तय गर्न बसेको बैठक आरोप–प्रत्यारोपमा केन्द्रित हुनु पार्टीको हितमा नभएको बताए । यसअघि, गत फागुन १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा पनि वरिष्ठ नेता पौडेलले निर्वाचनमा नेतृत्वकै कारण पराजय भोग्नुपरेको जिकिर गर्दै सभापति देउवालाई लिखित पत्र दिएका थिए । समीक्षा बैठकमा आ–आफ्ना धारणा राख्नु स्वाभाविक भएको र जारी बैठकले पार्टीलाई पुर्नजीवन दिनेगरी ठोस कार्ययोजना आउने श्रेष्ठको विश्वास छ । गएको निर्वाचनमा पार्टीको मत नभएर सिट संख्या मात्रै घटेको अधिकांस नेताहरुको निष्कष आएको पनि नेता श्रेष्ठले बताए । उनले महामन्त्रीको राजनीतिक प्रतिवेदन पारित गर्दै बैठक सम्पन्न हुने पनि जानकारी दिए । महासमिति बैठक र जिल्ला सभापतिहरुको भेलाको मिति तोक्नुका साथै सरकारलाई हेर्ने दृष्टिकोण र पार्टी सुधारको अभियान समेत आज सार्वजनिक गर्ने तयारी छ । बैठकलगत्तै पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिने तयारी भइरहेको पनि जनाइएको छ । नेपालको संविधानले व्यवस्था गरेको राज्यको पुनःसंरचनाअनुसार पार्टीको संरचना बनाउन, मधेशी जनाधिकार लोकतान्त्रिक लोकतान्त्रिकका नेता कार्यकर्तालाई पार्टीमा समायोजन गर्ने लगायतका कारण काँग्रेसलाई पार्टीको विधान संशोधन गर्नुपर्ने बाध्यता छ । केन्द्रीय समितिको बैठकले महासमिति बैठकको मिति र स्थान तोक्नुका साथै केन्द्रीय समितिमा रिक्त पदाधिकारी र सदस्यको नियुक्ति समेतको निर्णय गर्ने बताइएको छ । पदाधिकारी र सदस्यको नियुक्ति बिषयले केन्द्रिय समितिमै एकाएक चर्चा पाएको भन्दै कतिपयले आश्चय व्यक्त गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले जम्बो पदाधिकारी मनोनित गर्ने तयारी गरिरहेका बेला बरिष्ठ नेता रामचन्द्र पौडेल समुहले आपत्ती नै जनाएको छ । तर यसको लागि अब बस्ने महासमिति बैठकबाट सभापतिले विधान संशोधन गर्नेसम्मको तयारी थालेका छन् । १ जना बरिष्ठ उपसभापतिसहित ४ उपभासपति राख्ने देउवाको आन्तरिक तयारी रहेको स्रोतले बतायो । उनले महामन्त्री पनि ४ जना राख्ने मनशाय बनाएका छन् । पदाधिकारीको लागि थुप्रै शीर्ष नेताहरु आकांक्षी देखिएपछि सभापति देउवाले उनीहरुको व्यवस्थापनका लागिपनि पदाधिकारी जम्बो बनाउन लागेका छन् । सह–महामन्त्री पनि ७ जना राख्नेगरि देउवाले आफू निकटका नेताहरुसँग छलफल चलाएका छन् । छरिएर रहेका लोकतान्त्रिक शक्तिसँग एकता गर्ने भन्दै देउवाले केन्द्रिय समितिको सदस्य संख्या पनि बढाउने भएका छन् । कांग्रेस केन्द्रिय सदस्य अब १५० सम्मको राखिनेछ । ‘त्यसको लागि अहिले छलफल भैरहेको छ । केन्द्रिय सदस्य संख्या किन बढाउनुपर्यो भनेर सोधिएको प्रश्नमा एक नेताले भने,‘पार्टीमा विजय गच्छदारजी आउनुभएको छ, उहाँका नेताहरुलाई पनि व्यवस्थापन त गर्नुपर्यो नि, मोटामोटी सहमति भैसकेको छ, उहाँको लागि २० जना सदस्य रहनेगरि संख्या छुट्याईएको छ।’ केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी गत चैत ९ गतेदेखि जारी बैठकमा बोल्ने दुई नेताले उपसभापतिमा दाबी गरेका छन्। पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा आज नेता विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठले आआफूले उपसभापति पाउनुपर्ने माग गरे। बैठकमा नेता गच्छदारले आफूलाई उपसभापति बनाउने आश्वासन निर्वाचनअघि नै सभापति शेरबहादुर देउवाले बताए। गच्छदारअघि बोलेका नेता श्रेष्ठले पनि उपसभापतिमा आफ्नो दावी पेश गरेका थिए। यी बिषयमा बरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रिय समिति मै विरोध गरेका थिए । तर त्यो विरोधको औचित्य नरहेको र सभापतिले प्रस्ताव ल्याए विरोध नहुने नेता चिनकाजी श्रेष्ठको दावी छ । उनले भने “कांग्रेसमा अब रामचन्द्र जी ले अवरोध गर्न सक्दैनन । “
उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज, चुनाव चिह्न दिइने
काठमाडौं । स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । त्यसअघि उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगको कार्यतालिका छ। दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । आज दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। मंसिर १६ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उम्मेदवारी परेको छ। ३५ महिला, ४८ पुरुष र एक अन्य छन् । गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २ सय ९३ पुरुष र एक अन्य गरी जम्मा ३ सय २३ जनाको उमेदवारी परेको छ।
कोटेश्वरबाट अपहरणमा परेकी महिलाको चाल्नाखेलबाट उद्धार
काठमाडौं । कोटेश्वरबाट दक्षिणकालीको चाल्नाखेल लगेर बन्धक बनाइएकी सिर्जना खत्रीको प्रहरीले उद्धार गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अजित लामाले खत्रीलाई काटेश्वरबाट चाल्नालेख लगेका थिए। खत्रीले उनकी प्रेमिका कविता नेपालीको कोठामा बन्धक बनाएर राखेको अवस्थामा प्रहरीले उद्धार गरेको हो। प्रहरीले लामा र नेपाली दुवैलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार वैदेशिक रोजगारमा लैजाने प्रलोभनमा खत्रीले लामासँग १६ लाख रुपैयाँ लिएकी थिइन्। तर, खत्रीले लामालाई न वैदेशिक रोजगारमा लैजान सकेकी थिइन्, न त रकम फिर्ता नै गरेकी थिइन्। पटक–पटक रकम माग्दा फिर्ता नदिएपछि लामाले खत्रीलाई चाल्नाखेल पुर्याएको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए। उनले भने, ‘खत्रीले लामासँग वैदेशिक रोजगारीमा लैजाने भन्दै १६ लाख रुपैयाँ लिएकी रहिछिन्। तर, उनले लामालाई भनेबमोजिम गर्न सकेकी रहिनछिन्। त्यसपछि लामाले रकम फिर्ता मागेका रहेछन्। तर, खत्रीले दिन सकिनछिन्। सोही विषयलाई लिएर लामाले खत्रीलाई चाल्नाखेल लगेको देखिन्छ।’ प्रहरीका अनुसार नेपाली लामाकी प्रेमिका हुन्। पटक–पटकको आग्रहपछि पनि रकम फिर्ता नभएपछि उनले खत्रीलाई चाल्नाखेलस्थित प्रेमिकाको कोठामा लगेका थिए।
सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रितः प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गर्नुभएको छ । आज विहान भएको पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । ‘सरकारको सय दिन पुगेको छ, सरकार गठनहुँदा नै हामीले जे आशंका गरेका थियौं, सय दिनको बीचमा त्यसलाई नै पुष्टि गर्ने काम गरेको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘विपक्षी दलहरुले मात्रै होइन, नागरिक समाजका अगुवा र स्वयं सत्तारुढ दलका नेताहरुले समेत असन्तुष्टि जनाइरहेका छन् । यसबाट सरकार गर्नुपर्ने काममा चुकेको र गर्न नहुने काममा मात्रै केन्द्रित भएको स्पष्ट हुन्छ ।’ उद्योगहरुको बक्यौता महसुस उठाउन खोज्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोज्ने, सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्नेदेखि पछिल्लो समय प्रधानमन्त्री स्वयंले नेतृत्व गरेको दलले विवादित व्यवसायीबाट जग्गा दान लिनेसम्मको अवस्थाले यो सरकार भ्रष्टाचारीको पक्षमा छ भन्ने पुष्टि भएको उहाँले बताउनुभयो । सरकारका गलत रवैया रोक्न र गर्नुपर्ने काममा ध्यान दिन आग्रह गर्दै पाँच विपक्षी दलहरुले ज्ञापनपत्र बुझाइसकेको उल्लेख गर्दै उहाँले राष्ट्रपतिलाई भेटेर पनि सरकारका क्रियाकलापको ध्यानाकर्षण गराउने बताउनुभयो । उहाँले अब आफ्नो पार्टीले सरकारका गलत क्रियाकलापको बिरोधमा सडकबाट समेत आवाज उठाउने तयारी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी कात्तिक १० गते पार्टीका बागमती, विशेष र समन्वय प्रदेश समितिको आयोजनामा काठमाडौंमा खबरदारी सभा गर्न थालिएको जानकारी दिनुभयो । उहाँले पार्टीको पक्षमा देशब्यापी राम्रो माहोल बन्दै गएको उल्लेख गर्दै बुद्धिजीवी संगठनलाई पनि सोहीअनुसार आफ्नो भूमिका बढाउन आग्रह गर्नुभयो ।
ट्वान्टी–२० शृंखला : अमेरिकाविरुद्ध नेपालको ‘क्लिन स्विप’
काठमाडौं । अमेरिकाविरुद्धको ट्वान्टी–२० शृंखलामा नेपालले ‘क्लिन स्विप’ गरेको छ । तीन खेलको शृंखलाअन्तर्गत सोमबार भएको अन्तिम खेलमा घरेलु टिमलाई आठ विकेटले हराउँदै नेपालले शृंखलामा ३–० को जीत हासिल गरेको हो। आज भएको खेलमा अमेरिकाले प्रस्तुत गरेको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा ओपनर आसिफ सेखले ५० रन बनाए । उनले ३९ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । कुशल मल्लले ३० बलमा चार चौका र एक छक्कासहित ४४ रन थपे । कुशल भुर्तेलले ४० रन जोड्दा अर्का ओपनर अनिल साहले १३ रन बनाए । अमेरिकाका जुनोय ड्राइसडेल र जसदीप सिंहले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको अमेरिकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५६ रनको योगफल खडा गरेको थियो । अमेरिकाका ओपनर साइतेजा मुक्कमल्लले ६८ रन बनाएका थिए । मिलिन्ड कुमारले ४३ रन थप्दा आरोन जोनसले १३ र हर्मीत सिंहले १० रन बनाए । नेपालका सोमपाल कामीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सोमपालले २७ रन खर्चिए । यस्तै, रिजन ढकाल र ललित राजवंशीले समान एक विकेट लिए । यसअघि शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टिमलाई १७ रन र दोस्रो खेलमा सुपरओभरमा हराएको थियो ।
नेपाल साहित्यकारको उर्वर भूमि हो : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका छन् । शनिबार एमाले पार्टी कार्यालय च्यासलमा साहित्यकार नेत्र प्रसाद गौतमका तीनवटा कृतिहरू विमोचन गर्दै ओलीले भानुभक्त आचार्य, मोतिराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम लगायतका साहित्यकारहरू जन्मेको नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका हुन् । नेपालको भूमिका वनजंगल पानी पँधेरा लगायत स्थानमा गीत-संगीतको प्रचलनले पनि साहित्यको क्षेत्रमा निकै विकास भएको उनले बताए । उनले अहिले साहित्य केही माथि उठ्न खोजेको र कसरी माथि उठ्ने हो भन्ने बहस चल्न थालेको धारणा राखे । प्रधानमन्त्री ओलीले साहित्यकार गौतमका ‘नेत्रसरका तीन खण्डकाव्य, मेरो इतिवृत्ति र भूत पिसाच कृतिहरूको विमोचन गरेका हुन् ।
गृहमन्त्री लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनुपम भट्टराईले सोमबार महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्रीमाथि कुनै पनि मुद्दामा कुनै पनि अदालतमा अभियोजन नभएको भन्दै पत्र लेखेका थिए । रिटमा सो पत्र खारेजी गर्न माग गरिएको घिमिरेले बताए। साथै अनुसन्धान प्रक्रियामा गृहमन्त्रीले अनुचित प्रभाव पार्न सक्ने भन्दै अनुसन्धान प्रक्रिया चलिरहेका बेला उनलाई निलम्बन गर्न माग गरिएको छ । यो रिटमा जेठ १६ गतेका लागि पेशी तोकिएको छ ।
सदनमा कांग्रेसको अवरोध
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ। निर्धारित समयभन्दा दुई घण्टापछि बसेको बैठकमा कांग्रेसले अवरोध गरेको हो । बिहान ११ बजेका लागि तय भएको बैठक सूचना टाँस गरी अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको थियो । बैठक दुई घण्टापछि मात्रै बसेको हो । सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने माग कांग्रेसको छ । सत्तापक्ष लामिछानेलाई बोल्न दिएपछि मात्रै समिति बनाउने पक्षमा देखिएको छ । कांग्रेसका सांसदहरूले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग राख्दै सदनमा नाराबाजी गरेका छन् ।
प्रधानमन्त्री र कांग्रेस नेताहरुबीचको छलफल, यस्तो छ निष्कर्ष
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको कांग्रेससँगको छलफल सकिएको छ । आज बिहान बालुवाटारमा कांग्रेस नेता रमेश लेखक र गगन थापासँग भएको छलफल सकारात्मक रहेको बैठकमा सहभागी कांग्रेस नेताहरुले बताएका छन् । बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलबाट संसदमा प्रस्तुत हुने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अवरोध नगरिदिन नेपाली कांग्रेसका नेताहरुसँग प्रधानमन्त्रीले आग्रह गरेका छन् । बैठक पछि कांग्रेस मुख्य सचेतक लेखकले प्रधानमन्त्रीले समस्या समाधानका लागि प्रयासरत रहेको बताएको जानकारी दिए। लेखकले समस्या समाधानका लागि कोसिस गरिरहेकाले राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रममा अवरोध नगरिदिन प्रधानमन्त्रीले आग्रह गरेको बताए । प्रधानमन्त्रीले कांग्रेसले उठाइरहेको माग सम्बोधनको विषय रहेकाले समस्याको समाधान गर्ने प्रतिबद्धता जाहेर गरेको उनको भनाइ छ। उनले भने, ‘प्रधानमन्त्रीले पहिलो कुरा राष्ट्रपतिको सम्बोधनलाई अवरोध नगरिदिन आग्रह गर्नुभयो भने अर्को कुरा सहकारी प्रकरणको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भयो। हामी यो व्यवहारमा देख्न चाहान्छौं ।’ प्रधानमन्त्रीले सहकारी ठगी प्रकरणमा समस्या समाधानको लागि पहल गरिरहेको आश्वासन दिएपछि कांग्रेस केही लचिलो देखिएको छ। लेखकले संसद अवरुद्ध खुलाउने विषयमा संसदीय दलको बैठकपछि निस्कर्षमा पुग्ने बताए । कांग्रेस संसदीय दलको बैठक केहीबेरमा बस्दैछ।
त्रिभुवन विमानस्थलबाट पाँच किलो सुनसहित २ व्यक्ति पक्राउ
काठमाडौं । पाँच किलो एक सय ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेका छन्। उनीहरु भारतीय नागरिक हुन् । गएराति विमानस्थल प्रहरीले चेक गर्ने क्रममा उनीहरुलाई सुनसहित पक्राउ गरिएको हो।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङको शपथ आज
काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन्।सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिने छन्। गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम २ बाट २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका थिए।
प्रधानमन्त्री कार्यालयको प्रतिबद्धतापछि रूसी सेनाका परिवारद्धारा अनसन स्थगन
काठमाडौं । रुसी सेनामा आवद्ध नेपालीहरू परिवाजन र अभियान्ताहरुले १७ दिन देखि जारी राखेको अनसन स्थगन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सक्रियता र पहलमा लामो समयदेखि जारी अनसन स्थगित भएको हो । विगत १७ दिन देखि ३ जनाको आमरणअनसन र अन्य रिले अनसनमा बसेका थिए । रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ भन्दै बसेको अभियान्ता तथा परिवारको अनसन/मागबारे सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका जनसंपर्क विज्ञ बुद्धि जिसी सक्रिय थिए। त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डेले एक विज्ञप्ति जारी गर्दै रुसी सेनामा आवद्ध नेपालीहरूको उद्धार, लगायतका विषयमा अभियान्ता तथा आफन्तजनहरूले उठाएका मागहरूबारे नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । साथै, आफन्त तथा अभियान्तका मागहरूप्रति सरकारले कुटनीतिक पहल गरिरहेको र उक्त पहललाई सार्थक निष्कर्षमा पुऱ्याउन थप पहल गर्ने प्रतिबद्धता जनाउँदै उक्त विज्ञप्तिमार्फत अनसन स्थगित गर्न आग्रह समेत गरिएको थियो । प्रधानमन्त्री कार्यालयले उद्धार, लगायतका विषयमा भैरहेको पहललाई सार्थक निष्कर्षमा पुऱ्याउन थप पहल गर्ने प्रतिबद्धता गरेपछि अनसन हाललाई स्थगित भएको प्रधानमन्त्रीका जनसंपर्क विज्ञ जिसीले जानकारी दिए ।लामो समयदेखि अनसनरत अभियान्तालाई प्रधानमन्त्री कार्यालयका सचिव पाण्डेले जुस खुवाएर अनसन तोडाएका हुन् ।