फर्केर हेर्दा : दशवर्षे जनयुद्धमा महिला

जनयुद्ध शुरु हुनुभन्दा ८० वर्षअघि रुसको सफल क्रान्तिको नेतृत्व गर्ने साम्यवादी नेता लेनिनले क्रान्तिको सफलता उक्त क्रान्तिमा महिलाको कस्तो सहभागिता छ, त्यसले निर्धारण गर्छ भनेका थिए । लेनिनले भनेजस्तै नेपालको जनयुद्धको सफलताका पछाडि महिलाहरुको महत्वपूर्ण भूमिका थियो भन्ने यथार्थमा कसैको दुईमत हुन सक्दैन ।

अपमान र उत्पीडन

नेपालका महिला सदियौंदेखि दोश्रो दर्जाको नागरिकसरह बाँचिरहेका थिए÷छन् । ग्रामीण भेग र तराईमा त महिलाको स्थिति कहाली लाग्दो थियो र अभै पनि छ । नेपाली समाजमा महिलालाई अबला भनिन्थ्यो÷भनिंदैछ र धेरै नेपाली नारीको आफ्नो पहिचान नै थिएन÷छैन । उनीहरु सुरुमा बाबुको नामबाट, त्यसपछि श्रीमानको नामबाट र जीवनको उत्तरार्धमा छोराका नामबाट चिनिन बाध्य थिए÷छन् । विश्वका धेरै महिलाहरुजस्तै नेपालका महिलाहरु पनि अरु धेरै उत्पीडनका अलावा पितृसत्तात्मक समाजको उत्पीडन सहन बाध्य थिए÷छन् । ती अभाव, अपमान र आत्मसम्मानहीन जीवन बाँचिरहेका थिए । ती बोले पोथी बासेको भनिन्थ्यो, तिनले पढे पोइल जान्छन् भनिन्थ्यो, ती हाँसे बेश्या हुन्छन् भनिन्थ्यो नेपालमा महिला खासगरी ‘बुहारी’ बन्ने महिलालाई होच्याउने, खिज्याउने गरी बनाइएका कैयौं उखान छन् । छोरो नजन्मिए महिलालाई दोषी ठह¥याइन्छ जबकि त्यसमा पुरुष जिम्मेवार हुन्छ ।

त्यसका अलावा बाल, बहु र अनमेल विवाहबाट पनि पीडित हुने महिलाहरु नै हुन् । दाइजो, देउकी, झुमा, कुमारी, छाउपडी, वादी प्रथाहरुले नेपालमा महिलामा झन् उत्पीडन थपिदिएको थियो । नेपालका हजारौं युवतीहरुलाई बेश्यावृत्तिमा लगाउनका लागि दलालहरुले भारतका विभिन्न शहरमा रहेका बेश्याकोठीमा लगेर बेचिदिन्थे÷बेचिदिन्छन् । शहरीकरण बढ्दै जाँदा शहरहरु र सडक मार्गवरिपरि बेश्यावृत्ति गर्न धेरै यृवतीलाई बाध्य बनाइएको थियो÷छ । त्यसका अलावा विभिन्न सुन्दरी प्रतियोगिता, फेसन सो, मसाज केन्द्र, क्याविन रेष्टुरेन्टका आधुनिक आवरणमा महिलाहरु नै पीडित बनेका थिए÷छन् ।

त्यसो त नेपालका कैयन राष्ट्रवादी युद्ध एवम् राज्यसत्ताविरोधी विद्रोहमा महिलाहरुले आफ्नो साहसको प्रदर्शन गरेका छन् । अङ्ग्रेजविरुद्ध लडिएको नालापानीको मोर्चामा पुरुषसँगै महिला र केटाकेटीले पनि योगदान गरेका थिए । वि.सं. १९९८÷९९ तिर योगमायाले महिला विद्रोह उठान गर्न खोजेकी थिइन । २०३६को विद्रोह होस् वा २०४६को जनआन्दोलन महिलाहरु ठीक समयमा अगाडि आएका छन् ।

महिलामा समस्या र अधिकारको सही दृष्टिकोण

विश्व इतिहासमा महिलामाथिको उत्पीडन र त्यसबाट मुक्तिका बारेमा गम्भीर र वैज्ञानिक विश्लेषण साम्यवादका प्रवर्तक कार्ल माक्र्सले गरेका थिए । माक्र्स स्वयम्ले मजदुरहरुको अन्तर्राष्ट्रिय संघको गठन पहल गरेर सन् १८६४मा महिलाका समस्याहरु किटान गर्दै उनीहरुको अधिकारका लागि उद्घोष गरे । साम्यवादी घोषणापत्र लेखनमा माक्र्सका सहकर्मी फ्रेडरिक एंगेल्सले मातृसत्ताको पतन महिलाहरुको ऐतिहासिक पराजय भएको बताएका थिए । उनले त्यसपछि महिलालाई मनोरञ्जनको साधन, बच्चा जन्माउने मेसिन र पुरुषको दासको स्तरमा अवमूल्यन गरिएको विश्लेषण गरे । त्यसपछिका सबैजसो कम्युनिष्ट क्रािन्त एवम् तिनको नेतृत्वले महिला अधिकारको पक्षमा महत्वपूर्ण कदमहरु चालेका छन् । सन् १९१७मा रुसमा क्राति हुनेवित्तिकै महिलाहरुलाई पुरुष सरह अधिकार दिइएको थियो । भियतनामका कम्युनिष्ट नेता हो चि मिन्हले महिलालाई युद्धको ‘पावरहाउस’को रुपमा व्याख्या गरेका छन् । विश्वका सबै समाजवादी क्रान्तिहरुमा महिलाको सहभागिता उल्लेखनीय छ । हरेक वर्ष मार्च ८ मा मनाइने श्रमिक महिला दिवस समाजवादी महिला नेतृहरुको संघर्षको प्रतिफल हो ।

जनयुद्ध संघर्ष

कम्युनिष्ट पार्टीहरुले वि.सं ३०को दशकदेखि महिलाहरुलाई संगठित रुपमा सक्रिय गराउने हेतु भिन्नै मोर्चा बनाएर सक्रिए गराए । २०४६को परिवर्तनपछि महिलाहरुले आफ्नो अधिकारको संघर्षलाई थप व्यापक बनाए । त्यसका अरु धेरै मागहरुका अतिरिक्त पैतृक सम्पत्तिमा छोरासरह छोरीलाई अधिकार हुनपर्ने एउटा प्रमुख माग थियो । २०५२ पाmगुन १ गते जनयुद्ध शुरु गर्नुअघि तत्कालिन राज्यपक्षलाई नेकपा(माओवादी)ले बुझाएको मागपत्रको महिलासम्बन्धी बुँदामा यस्तो थियो – ‘महिलामाथिको पितृसत्तात्मक शोषणको अन्त्य गरिनु पर्छ । छोरीलाई छोरासरह पैतृक सम्पत्तिमाथि समान अधिकार दिइनुपर्छ ।’

जनयुद्धको तयारीको क्रममा भएका देशब्यापी आसमभा, विभिन्न जागरण अभियानहरु र साँस्कृतिक कार्यक्रमहरुमा हज्जारौं महिलाहरु परिचालित भए । नेकपा (माओवादी)ले योजनावद्ध रुपमा महिलाहरुलाई आन्दोलनमा र युद्धमा परिचालन गर्ने योजना बनायो । २०५१ सालमा सो पार्टीको वैधानिक मोर्चा (संयुक्त जनमोर्चा)का अध्यक्ष पदमा महिला, पम्फा भुसाललाई मनोनित गरेर माओवादीले महिलाहरु पार्टी नै हाँक्न सक्षम भएको देखाइदियो । भुसाल सम्भवतः नेपालका कुनै राजनीतिक पार्टी (निर्वाचन आयोगमा संयुक्त जनमोर्चाका रुपमा दर्ता थियो)को प्रमुख बन्ने पहिलो महिला हुनुहुन्थ्यो । जनयुद्ध शुरु गर्नुअघि माओवादीले ‘महिलाहरुमाथि पैतृक सम्पत्तिलगायतका आर्थिक, राजनीतिक र सामाजिक जीवनका सबै क्षेत्रमा रहेका सामन्ती पितृृसत्तात्मक थिचोमिचो र भेदभाव एवं अन्धविश्वासका विरुद्ध समान अधिकार निमित्त संघर्षका नाराहरु तय गर्न दस्तावेजमै उल्लेख गरेको थियो ।

जनयुद्धको तयारीका लागि ग्रामीण भेगमा माओवादीले ‘वर्गसंघर्षको अभ्यास’ गर्न थालेपछि महिलाहरुले त्यसमा आफ्नो उपस्थिति देखाउन थालेका थिए । मध्यपश्चिम नेपालका विभिन्न जिल्लामा महिलाहरुले सैन्य तालिमहरुमा उत्साहपूर्वक भाग लिए र बन्दुक पड्काउने अभ्यास गरे । मध्यपूर्वकोे एउटा जिल्ला सिन्धुपाल्चोकको कुविण्डेमा एक जना शिक्षकलाई पक्रन गएका प्रहरीहरुलाई महिलाहरुले खेदिदिए र प्रतिरोधको एउटा इतिहास रचे । उक्त घटनापछि सो गाउँमा भएको व्यापक प्रहरी दमनमा महिला र केटाकेटीले सास्ती भोगे । दर्जनौं महिला महिनौं जेल परे तर एकजना पनि प्रहरी प्रशासनको अगाडि झुकेनन् । कुविण्डेमा महिलाको साहस र विभिन्न रुढीवादी संस्कारमा समेत परिवर्तन गर्न उनीहरुले देखाएको तत्परताका बारेमा एकजना कवि पुष्पकिरणले ‘कुविण्डे र महिला’ भन्ने शिर्षकमा लेखेको कविता यस्तो थियो –

सुनको सिक्री नपाएर अचेल रुँदैनन् महिलाहरु

अव सहनशीलताको प्रतिमूर्तिहरु हैनन् महिलाहरु

अब आँशु होइनन् महिलाहरु

मासु, मुस्कान र चुरापोते होइनन् महिलाहरु

महिला त क्रान्ति हुन, रणचण्डी र आगोका लप्का हुन्

स्वाधीन बन्ने चाहना

अब संग्राम हुन महिलाहरु

मैले जुगल हिमाललाई सोधें – को हुन महिलाहरु

जुगल मुस्कुराएर भन्छ –

प्यारा कमरेड हुन महिलाहरु

हेरन उ ‘सिन्धुपाल्चोक कुविण्डे ! ’

जनयुद्धमा सहभागिता

२०५२ मा जनयुद्धको घोषणा गर्ने क्रममा १९ जनाको केन्द्रीय समितिमा एक जना केन्द्रीय सदस्य महिला थिइन् र पूर्णकालीन भएका करिव एक सयजना अगुवा कार्यकर्ताहरुमा एक दर्जनजति महिला थिए । जनयुद्ध घोषणा गर्नै आयोजित विभिन्न प्रहरी चौकीहरुमा कारवाहीको क्रममै महिला सहभागिता भएको थियो ।

जनयुद्ध अघि बढ्दै जाँदा सरकारी दमन र माओवादीको योजना अनुसार महिलाहरु दिन प्रतिदिन जनयुद्धमा लामबद्ध हुँदै गए । खासगरी महिला र विद्यार्थी संगठनमा काम गरेका युवती पार्टीको योजनामा पूर्णकालीन हुन्थे । अन्य खासगरी पारिवारिक शोषणमा परेकाहरु थिए । कैयौं महिलाहरुले तिनका श्रीमान र परिवारविरुद्ध विद्रोह गरे र जनयुद्धको प्रक्रियामा हेलिए । प्रहरी वा सेनावाट हत्या गरिएका पुरुषका श्रीमति, अभिभावक वा दाजुभाइ गुमाएका महिला पनि आफ्ना मान्छेकाको हत्याको बदला लिन जनयुद्धमा सहभागी भए । यो अभियानमा राजनीतिक रुपमा सचेत महिलाहरु मात्र होइन सबैभन्दा उत्पीडित क्षेत्रका जस्तै थारु तथा मधेसी, दलित एवं जनजाति समुदायबाट पनि उल्लेख्य उत्साह र सहभागिता थियो ।

माओवादी जनयुद्ध यति व्यापक विस्तार हुन र महिलाहरुको सहभागिता सुनिश्चित हुनका लागि माओवादीको महिलाहरुप्रतिको वैज्ञानिक दृष्टिकोण, नीति र व्यवहार नै जिम्मेवार थियो । पुँजीवादीहरु जस्तो कम्युनिष्टहरु महिलालाई वस्तु र मनोरञ्जनको साधनका रुपमा व्यवहार गर्दैनन् बरु उनीहरुलाइै जीवनका सबै आयामहरुमा समान हिस्सेदार ठान्छन् । माओवादीको यस्तै नीति मन पराएर शिक्षा, सम्पत्ति र अवसरको मौका छोडेर ‘उत्पीडित जनताको मुक्ति’को उद्देश्य बोकी सयौं ‘हुनेखाने’ परिवार र वर्गका युवती पनि जनयुद्धमा होमिए ।


माओवादी जनयुद्धमा संलग्न भएका महिलाहरुमा अधिकांश किशोरीहरु तथा युवती थिए । यसो हुन किन पनि स्वभाविक थियो भने युवा नै बढी विद्रोही र परिवर्तनमुखी हुन्छन् । त्यसैगरी बिहेवारी गरेर ‘घर बसाइसकेका’ महिलालाई परिवार सन्तान छाडेर हिंड्न त्यति सजिलो कुरा हुँदैन जति अविवाहित युवती वा किशोरीहरुलाई हुन्छ । जनयुद्धमा सहादत प्राप्त गरेका महिलाहरुको जीवनी समेटेर अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले २०६२ चैत्रमा प्रकाशित गरेको ‘महिला सहिद गाथा’ नामक पुस्तक हेर्दा अधिकांश महिलाहरु वि.सं. ३०को दशकको उत्तरार्ध र ४०को पूर्वार्धमा जन्मिएका थिए जो १८ देखि २५ वर्षभित्रका थिए ।

जनसेना महिला

माओवादी जनयुद्धमा महिलाको सहभागिताको प्रभाव त्यसको सैन्य संगठनमा पनि पर्नु स्वभाविकै थियो । नेपालको पुरानै राज्यव्यवस्थाको सैन्य संरचनामा स्वास्थ्यकर्मी र कार्यालय सहयोगी बाहेक लड्ने मोर्चामा महिलालाई भर्ती लिइन्नथ्यो । त्यसकारण औपचारिक रुपमा महिलालाई सैन्य संरचनामा समावेश गर्ने नीति नेपालमा माओवादीले लियो । माथि उल्लेख गरिएजस्तै जनयुद्धअघिदेखि नै प्रतिरोध र सैन्य कारवाहीमा महिला सहभागी भए । पछि लडाकू दल र छापामार दलहरुमा महिला सदस्य तथा नेता हुँदै गए । माओवादी जनयुद्धभरि सैन्य क्षेत्रमा जिम्मेवारी निर्वाह गरेका जनसेनाका कमाण्डर नन्द किशोर पुन ‘पासाङ’द्वारा लिखित ‘इतिहासका रक्तिम पाइला’ पुस्तकमा केही प्रतिनिधिमूलक कारवाहीमा कति महिला सहभागी थिए भन्ने उल्लेख गरिएको छ ।

पासाङका अनुसार २०५६ को वैसाखमा रोल्पाको जेलवाङ गाविसमा रहेको दङ्गा प्रहरीको बेस क्याम्पमा आक्रमण गर्दा छ जना महिला एसल्टमा थिए भने रुकुमको तकसेरामा सोही सालको चैत्रमा कारवाही गर्दा २१ जना थिए । उता जाजरकोटको पाँचकटियमा आक्रमण गर्दा २५ जना महिला सहभागी थिए । २०५८ मंसिरमा दाङको सदरमुकाम घोराहीमा आक्रमण गर्दा ६८ जना महिला एसल्टमा खटिएका थिए ।
२०५८ कार्तिकमा माओवादीले देशभरिका छापामार प्रतिनिधिहरुको केन्द्रीय भेलाले आयोजना ग¥यो र औपचारिक रुपमा जनमुक्ति सेना, नेपाल गठन ग¥यो । सो केन्द्रीय भेलामा २० प्रतिशत जति महिला थिए । भेलापछि औपचारिक रुप्मा बनेको सैन्य संरचनामा केही महिलाहरुले प्लाटुन कमाण्डर र कमिसारको जिम्मेवारी पाए । विस्तारै महिलाहरु माथिल्लो ओहदामा पुग्दै गए । २०६२को उत्तरार्धतिर महिलाहरु बिग्रेड कमिसार र बिग्रेड भाइस कमाण्डरसम्म बन्न सफल भएका थिए । २०६३ मंसिर ५ मा काठमाडौंमा शान्ति सम्झौता हुँदै गर्दा देशभरिका जनसेना अस्थायी शिविरमा जम्मा भए । केही महिना पछि तिनको दर्ता हुँदा करिब ३० प्रतिशत महिला थिए । २०५८ पछि जनसेनामा महिलाहरुको अनुपात ३०–३५ प्रतिशतका बीचमा रहिरह्यो । २०६३ बैशाखमा शान्ति प्रक्रियामा आएपछि धेरै महिलाहरुको जनसेनाको जिम्मेवारीबाट राजनीतिक जिम्मेवारी लिए ।

साहस र कीर्तिमान

सामान्यतया महिलालाई कोमलता र अबलाका रुपमा लिने गरिन्छ । तर, माओवादी जनयुद्धमा यो सही होइन भन्ने पुष्टि भयो । जनयुद्धमा महिलाहरुको उल्लेखनीय सहभागिता नै आफैमा साहस थियो र कीर्तिमान पनि ।

अबला भनिएका महिलाहरु संघर्षको् मैदानमा जुटे, सैन्य कारवाहीहरुको अग्रमोर्चामा रहेर लडेर बलिदान दिए । जनयुद्धअघि सिन्धुपाल्चोकको कुविण्डेमा महिलाहरुले दखाएको साहसको जगमा जनयुद्ध अवधिभर कीर्तिमान थपिंदै गयो । जनयुद्धमा सबैभन्दा पहिलो माओवादीले कब्जा गर्न सफल बेथान प्रहरी चौकी आक्रमणका क्रममा मारिएका तीनजना माओवादी मध्ये एकजना महिला (दिलमाया तामाङ) थिइन । जनयुद्धको अवधिमा महिलाहरुले पुरुषभन्दा कम कायरता देखाए र हातमा गन्न मिल्नेले मात्र आत्मसमर्पण गरे । ग्रामीण भेगमा महिलाहरुले त अद्भुत साहस देखाए । ती झुक्दै झुकेनन् । तिनीहरुले बलात्कार सहे, यौन दुव्र्यवहार पचाउ र त्यसको बदला लिन युद्धमा हाम फाले वा युद्धलाई सघाए ।

२०५४ को चैत्रमा कालिकोटको मालकोट गाउँमा अपरेशनका लागि गएको प्रहरीको टोलीले महिलालाई दुव्र्यवहार गर्न थालेपछि महिलाहरुले त्यसको प्रतिकार गरे र प्रहरीलाई खेदे । महिलाको खेदाइमा केही प्रहरी भीरबाट लडेर मरे । महिलाले तिनका राइफल कब्जा गरे र माओवादीलाई बुझाइदिए । तर दुर्गम कालिकोटको उक्त अद्वितीय घटनाले त्यति राम्रो प्रचारप्रसार भने पाएन । त त्यो घटना नेपालका ग्रामीण भेग र दुर्गम क्षेत्रका महिलाहरुको साहसको परिचय थियो ।

माथि चर्चा गरिएजस्तै जनसेनामा लाबद्ध भएर २० हजारभन्दा बढी महिलाले युद्ध लडे । लडाईमा पनि अग्रमोर्चामा पुगेर तिनले प्रहरी र सेनालाई पराजित गरिदिए । यो आफैमा कीर्तिमान थियो । युद्धमा सबैभन्दा बढी पीडित महिला र केटाकेटी नै हुन्छन् । यो सार्वभौम यथार्थ हो । नेपालको जनयुद्ध त्यसको अपवाद हुन सक्दैन्थ्यो । जनयुद्धको क्रममा झण्डै चार हजार विधवा भए । हजारौं गिरफ्तार भए र सयौं अझै बेपत्ता छन् । जनयुद्धमा ज्यान गुमाउनेमध्ये नौजना माओवादीको भगिनी मोर्चा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय पदमा बहाल रहेकै अवस्थामा मारिएका थिए । जनयुद्ध अवधिभरमा झण्डै २५सय महिलाले आफ्नो जीवन गुमाए ।

महिलाका साहसका कथा यतिमै सकिंदैनन् । जनयुद्धको अवधिमा महिलाहरु संगठित रुपमा जेल तोडेर बाहिर निस्कन सफल भए । २०५७ सालमा गोरखा जिल्लाको सदरमुकाम गोरखा बजारमा रहेको कारागारमा बन्दी रहेका बेला उमा भुजेल, मीना मरहठ्ठा, कल्पना नहर्की, रिता विक, एञ्जिला विक र सञ्जु अर्यालले जेलभित्रबाट बाहिरसम्म निकास हुने गरी सुरङ खनेर स्वतःस्फूर्त रुपमा जेल तोडेर बाहिर निस्केका थिए । सम्भवतः संगठित रुपमा महिलाहरुले जेल तोडेको विश्वकै अति विरलाकोटी घटना हो यो । यसले जनयुद्धको अवधिमा महिलाको परिचयलाई बदल्न ठूलो भूमिका खेल्यो । जेल तोडेर निस्किएकामध्ये दुई जना मिना मरहठ्ठा र एञ्जिला विक पछि जनयुद्धको क्रममा सरकारी फौजबाट मारिए ।

१० वर्षपछिको परिवर्तन

राजनीतिक आन्दोलन र क्रान्तिमा महिलाको उत्साहजनक सहभागिता आफैमा एउटा उपलब्धि हो । महिलाहरुले देखाएको रणकौशल, लगनशीलता, साहस बलिदान पनि एक उपलब्धि हो । महिलाहरुले उनीहरुमाथि लाग्दै आएको अबला र कायरको आरोपलार्ई असत्य सावित गरिदिए र महिलाको छुट्टै पहिचान बनाए । हुन त यो समयको पनि प्रभाव थियो, तर जनयुद्धमा महिलाको सहभागिताले कैयन अन्धविश्वासपूर्ण परम्पराको अन्त्य भयो । महिलाहरुको लवाइ खुवाइ, भेषभूषा, चुार, पोते एवम् अन्य अवैज्ञानिक परम्पराको परिवर्तन भयो । यसले खासगरी ग्रामीण भेगमा तीव्र उथलपुथल ल्याइदियो । उदाहरणका लागि ग्रामिण भेगका महिलाको भेषभूषाकै कुरा गर्दा पनि लुङ्गी, चोलो, फरियाजस्ता अप्ठ्यारा पहिरनहरुको सट्टा कुर्ता सलवार, सर्ट पाइण्ट नै लगाउन थाले जो सजिला र सुरक्षित थिए ।

साथसाथै उनीहरुको आत्मविश्वासमा पनि बढोत्तरी भयो । गाउँका महिलामा देखिएको आत्मविश्वास, राजनीतिक चेतना र साहस देखेर शहर एवम विदेशबाट गएका संचारकर्मी तथा बुद्धिजीविहरु दंग पर्थे । त्यसैगरी विभिन्न संस्कारहरुमा पनि परिवर्तन हुृँदै गइरहेको थियो । ग्रामीण भेगमा श्रीमान मारिएपछि जिन्दगीभर सेतो वस्त्र लगाएर बस्ने महिलाविरोधी परम्पराको अन्त्य हुँदै थियो । अमेरिकी पत्रकार ली अनेष्टोले २०५६ सालमा नेपालका माओवादी प्रभावित क्षेत्रहरुमा भ्रमण गर्दा देखेका महिलाको स्थितिलाई आफ्नो पुस्तक ‘डिस्प्याचेज फ्रम द पिपल्स वार इन नेपाल’मा यस्ताृे उल्लेख गरेकी छिन –

क्रान्तिले महिलाहरुमाथि उत्पीडन गर्ने थुपै्र परम्पराहरुलाई हाँक दिइरहेको छ । उदाहरणका लागि छोराहरुलाई अति महत्व दिने, महिनावारी हुँदा छुन नहुने जस्ता व्यवहार गरिने, विधुवाहरुले बाँक्ी जीवन पुरै शोकमा विताउनु पर्ने परम्परामाथि चुनौती दिँदैछ । मैले लोग्नेहरु जनयुद्धमा मारिएका धेरै महिलाहरुले रातो लुगा, चुार र पोते लगाएको देखेकी छु, जुन वस्तु लगाएर श्रृंगार गर्नु विधुवा महिलाहरुलाई समाजमा प्रतिबन्ध छ । क्रान्तिले कतिपय परम्परागत चाडर्वलाई पनि फेर्न कोशिस गर्दैछ ।

जनयुद्धको क्रममा महिलाहरुले छोरासरह छोरीले अधिकार पाउने प्रावधानलाई सुनिश्चित गराए । २०६० सालमा तत्कालीन माओवादी सत्ताअन्तर्गत सार्वजनिक कानुनी संग्रह–२०६०ले महिलालाई पुरुषसरह सम्पत्तिमाथि अधिकार सुनिश्चित गराइदियो । यसलाई महिला संगठनले व्यवहारमा लागू गर्न संघर्ष गरे । २०६१ मा माओवादीको स्थानीय सत्ता चलेका ठाउँहरुमा कयौं अभिभावकले आफ्ना छोरीहरुलाई छोरा सरह अंश दिने निर्णय गरे । त्यसको निरन्तरतामा शान्ति सम्झौता हुनुअघि २०६३ कार्तिक २२ गते भएको उच्चस्तरीय राजनीतिक सहमतिमा महिलाहरुले पुरुषसरह पैतृक सम्पत्तिमा अधिकार पाए जसको दुई महिनापछि अन्तरिम संविधानमा ग्यारेण्टी भयो ।

जनयुद्धका क्रममा जनसेनामा महिला जनसहभागिता भएपछि तत्कालीन शाही सेनाले २०६१ पछि महिलाहरुलाई पनि लड्न फौजका रुपमा भर्ती गर्न थाल्यो । कुनै दुविधाविना भन्न सकिन्छ, यो माओवादी जनयुद्धको नै देन थियो । तर यति लामो र तीव्र उथलपुथलकारी क्रान्तिमा नेतृत्व तहमा महिलाहरुको पहुँच असाध्यै न्यून हुन गयो । जनयुद्ध सुरु गर्नुअघि केन्द्रीय समितिमा एकजना केन्द्रीय सदस्य थिइन र शान्ति सम्झौता हुँदा झण्डै ११ वर्ष पछि माओवादी केन्द्रीय समितिमा एक जना थपिएर केवल दुई जना मात्र महिला भए । जनयुद्धमा महिलाको सहभागिताको अनुपातमा नेतृत्व विकास हुन नसक्नु सम्भवतः जनयुद्धको ठुलो कमजोरी हो ।

नेपालमा महिलाले बन्दुक छोएमा त्यो बन्दुक पड्किंदैन भन्ने अन्धविश्वास थियो । तर झण्डै ११ वर्ष लामो जनयुद्धको क्रममा महिलाहरुले बन्दुक पड्काए र उक्त अन्धविश्वासलाई च्यातच्युत पारिदिए । निःसन्देह नालापानी युद्धपछि लडाकूका रुपमा महिलाको उल्लेखनीय सहभागिता भएको माओवादी जनयुद्ध नै हो । यसरी महिलाले गरिव देशका नारीहरु राजनीतिक रुपमा सचेत हुन सक्छन् भनेर विश्वलाई प्नि देखाइदिए । उनीहरुले कीर्तिमान खडा गरे र इतिहास रचे ।

-दिपक सापकोटाद्वारा लिखित ‘उथलपुथलका दशवर्ष’ पुस्तकबाट

प्रधानमन्त्री ओलीले विश्वासघाती राजनीति गर्नुभयो : माधवकुमार नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासघाती राजनीति गरेको आरोप लगाएका छन्। प्रतिनिधि सभा बैठकमा आइतबार प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विगतमा ओलीले स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भनेर आश्वासन दिएपनि बिचबाटोबाटै छाडेर अर्को बाटो लागेको भन्दै नेपालले कटाक्ष गरे। अध्यक्ष नेपालले भने, ‘पाँच वर्ष सँगै जाने, स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भन्ने सुन्दै आनन्द लाग्ने कुरा थियो। तर आफू स्वगतिर गयो, अर्कोलाई लात्ती हिर्काएर नर्कतिर र्पुयायो ।’ ओलीले विगतका घटनामा आत्मसमीक्षा गर्नुपर्ने बताउँदै नेपालले तिनमा आत्मालोचना गर्नसमेत सुझाव दिए। नेपालले ओलीको विगत सम्झाउँदै २०७८ असार २८ को बर्हिगमन सम्झिन भनेका छन्। ‘ओली जी तपाई हुन दिन सत्ताबाट आउट हुनुभएको थियो । त्यही दिन दिन इन हुनु भएको छ। बोलेको कुरा पुरा गर्नुभएन । जनता उत्साहित छैनन्। विगतबारे समीक्षा गर्न सामान्य अनुरोध गर्छु । नेतामा विश्वसनीयता र इमानदारता हुनुपर्छ। अहिलेसम्मको अनुभवबाट तपाईँले कस्तो शिक्षा लिनुभएको छ’, उनले भने।

संसद्‌मा खेलकुदमन्त्री नआएपछि...

काठमाडौं । प्रतिनिधिसभा बैठकमा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको खोजीको भएको छ । मंगलबारको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफल गर्ने कार्यतालिकामा उल्लेख छ । सोहीअनुरुप सांसदहरुले मन्त्रालयगत खर्च कटौती प्रस्ताव पेस गरिरहेका थिए ।  सोही क्रममा कांग्रेस सांसद रामहरि खतिवडाले खेलकुदमन्त्रीको खोजी गरे । उनले मन्त्रालयगत बजेटमा उठेको प्रश्नको जवाफ मन्त्रीले दिनैपर्ने भन्दै अनिवार्य उपस्थितिबिना बैठकअघि बढ्न नसक्ने बताए ।  उनले बैठक स्थगन गरेर मन्त्री आएपछि बैठक अघि बढाइनुपर्ने माग राखे । त्यसपछि सभामुख देवराज घिमिरेले खेलकुद मन्त्रालयसम्बन्धी छलफल कार्यसूचीबाट हटाए ।

बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय  : प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताएका छन् । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै उनले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेको बताए।  प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमा नेपाली भूमिमा जन्म लिनुभएका बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको सङ्कल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधिज्ञान प्राप्त गरेको प्रसङ्ग महत्वपूर्ण रहेको उल्लेख गरे।  गौतम बुद्धले देखाउनुभएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ भन्दै प्रधानमन्त्रीले बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा राष्ट्रिय एकता, सहिष्णुता र आपसी सद्भावले उचाइ हासिल प्राप्त गर्ने विश्वास व्यक्त गरे ।  सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफूले आमनेपाली जनताको सकारात्मक भूमिकाको अपेक्षा गरेको उहाँले बताउनुभयो । “आजका सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुन जान्छ”, शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले भने ।  प्रधानमन्त्रीले बुद्ध जयन्तीले बुद्ध दर्शन र धर्मको अहिंसात्मक शान्ति सन्देश तथा भ्रातृत्व भावनालाई आत्मसात् गर्दै मिलेर अगाडि बढ्ने प्रेरणा मिलोस् भनी कामनासमेत गरेका छन्। उनले बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बौद्ध धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।  वैशाख शुक्लपक्षको पूर्णिमा तिथिका दिन बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले यस तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीद्वारा बुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ।     

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्छ  : अध्यक्ष ओली

काठमाडौँ, जेठ ३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको संवर्द्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । मदन(आश्रितको ३१ औँ स्मृति दिवसमा सो पार्टीद्वारा आज मदननगर, बल्खुमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले सबै खालका आक्रमणलाई पराजित गर्दै एमाले अपराजेय शक्तिका रूपमा स्थापित हुँदै आएको बताए। आफूहरूले अगाडि बढाएको आन्दोलनलाई जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)ले निर्देशित गरिरहेको र आन्दोलनले सफलता प्राप्त गरिरहेको बताउँदै अध्यक्ष ओलीले अब २०८४ मा हुने निर्वाचनबाट नेपालको राजनीतिले नयाँ मोड लिनुपर्ने विचार व्यक्त गरे। अध्यक्ष ओलीले भने, “त्यो मोड प्रतिगामी होइन, अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउने हुनुपर्छ, जसबाट राष्ट्रिय हित संवर्द्धन, सुशासन र तीव्र विकास अगाडि बढाउन सकियोस् । समाज कल्याण, मानवतावाद र लोककल्याणकारी राज्यको अवधारणा कार्यान्वयन गर्नाका साथै गरिबी अन्त्य गर्न सकियोस् ।’’ सामाजिक न्याय र समानतासहितको मानव समृद्धिका लागि समाजवाद दिवङ्गत नेताहरूको गन्तव्य रहेको स्पष्ट गर्दै अध्यक्ष ओलीले आगामी २०८४ को निर्वाचनमा सफलता प्राप्त गरी त्यस दिशामा अगाडि बढ्न सकिए मदन(आश्रितका सपना थप पूरा हुने आशा व्यक्त गरे। आफूलाई कम्युनिष्ट नेता भन्नेहरू नै आन्दोलनलाई सिद्ध्याउन लागि परेका र राष्ट्रिय शक्तिको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन पछि लागेकाले विगत स्मरण गर्दै अध्यक्ष ओलीले उनीहरूको पत्याउनै नसकिने खालको गतिविधि गरेको आरोप लगाए। उनले भने, “हाम्राविरुद्ध एकपछि अर्को पासो थापियो । ती सबै पराजित गरियो । अब दिगो र सुदृढ विजयको दिशामा अगाडि बढ्नु परेको छ ।’’ देशमा प्रतिगमन हुँदा वा नाकाबन्दीको अप्ठ्यारो परिस्थितिमा पनि आफूहरूले घुँडा नटेकेको स्मरण गर्दै उनले आफू प्रधानमन्त्री रहेको समयमा भएको नाकाबन्दीविरुद्धको लडाइमा जनताको साथ र सहयोग पाएको भन्दै सम्मान प्रकट गरे। कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत नेताहरू र आश्रितकी धर्मपत्नी माया ज्ञवालीको उपस्थिति थियो । रासस 

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ गरेको छ ।  कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त म्याग्दी साविक कुहु गाविस ५ घर भएका ४७ वर्षीय समर बहादुर सार्कीलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।   काठमाडौं तौथलीस्थित कुष्टरोग आरोग्य आश्रमको शौचालयभित्र म्याग्दी स्थायी वतन भएकी २३ वर्षीया सुनमाया किसान (सार्की) को २०७१ कात्तिक १ गते हत्या गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चान्लाखेलबाट पक्राउ गरेको हो ।      उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ ।

रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका ७ घर भई काठमाडौं महानगरपालिका ९ सम्भूमार्ग बस्ने २७ वर्षीय पवन केसी, मुगु खत्याड गाउँपालिका ८ घर भई काठमाडौं कोटेश्वर बस्ने २३ वर्षीय नमराज रावत र भोजपुर टम्केमैयङ गाउँपालिका ३ घर भई ललितपुर ताल्छीखेल बस्ने २६ वर्षीय सङघर्ष राई रहेका छन् ।  पक्राउमध्ये पवनले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ९० हजार रूपैयाँ ठगी गरेको, नमराजले रसिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको र सङघर्षले युरोपका देशहरू पठाईदिन्छु भन्दै १३ जना पीडितहरूबाट ७४ लाख ९५ हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पवनलाई काठमाडौं सम्भूमार्गबाट, नमराजलाई काठमाडौं नयाँ बानेश्वरबाट र सङघर्षलाई काठमाडौं बालाजुबाट पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

विदेशी सहयोगले राज्य चलाउने सोच अन्त्य गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र रेमिट्यान्स, राजश्व र विदेशी सहयोगका आधारमा चलाउने सोच सरकारले राख्न नहुने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७३ औँ वार्षिक साधारणसभालाई मंगलबार काठमाडौंमा सम्बोधनका क्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र रेमिट्यान्स, भन्सार राजश्व र विदेशी सहयोगका आधारमा चलाउने सोचले सरकार चल्यो भने मुलुकमा आर्थिक समृद्धि हुन नसक्ने बताएका हुन् । पुँजी बृद्धि, पुँजीगत खर्च कार्यान्वयन क्षमतामा बृद्धि र निर्यात प्रवर्धनसहित व्यापार घाटा कम गर्नुपर्ने अहिलेको आवश्यकता भएको श्रेष्ठको दाबी थियो । ‘पुँजी बृद्धि समस्या, पुँजीगत खर्च कार्यान्वयन गर्ने क्षमता विकासको समस्या र व्यापार घाटा कम गर्ने विषयलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने आवश्यकता छ । त्यसको लागि आर्थिक क्रियाकलापलाई असाधरण रुपले तीव्र बनाउनु, उत्पादन र रोजगारी बृद्धि गर्नु, आयात प्रतिस्थापन गर्ने र निर्यात प्रबर्धन गर्नुपर्ने आवश्यकता छ,' श्रेष्ठले भने, 'यो काम गर्नको लागि सरकारको नीति योजना र बजेट त्यही अनुसार हुनु पर्ने आवश्यकता हुन्छ । सरकारले परम्परागत रुपमा सोच्दै आएको ढंगले अर्थतन्त्रलाई गती दिन नसक्ने अवस्था हुन्छ । त्यसको लागि हामीले तीन वटा कुराबाट राज्य चलाउने विषयको अन्त्य गर्नुपर्छ । एउटा रेमिट्यान्सको आधारमा अर्थतन्त्र चलाउने सोच, भन्सार राजश्वको आधार मान्ने सोच र विदेशी सहयोगलाई केन्द्रबिन्दुमा राखेर देश चलाउँछु भन्ने सोच गलत हुन्छ ।’ श्रेष्ठले निजी क्षेत्र र सरकारपक्ष बसेर खुला छलफल र बहस गर्नुपर्ने बताए । उनले आर्थिक क्रियाकलापलाई गति दिन आवश्यक रहेको बताए । त्यसो नगरीमा कहिल्यै विकास हुन नसक्ने नसक्ने उनको भनाइ थियो ।  

एक महिनामा भित्रिए १ लाख २८ हजार पर्यटक

काठमाडौं । एक महिनामा १ लाख २८ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले मार्च २०२४ मा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल आएको जानकारी दिएको छ । चिनियाँ बढ्न थालेको र भारतीयको आगमन यथावत रहँदा पर्यटक आगमन उत्साहजनक देखिएको बोर्डको तथ्यांक छ । सन् २०२३ मार्चमा ९९ हजार ४ सय २६ पर्यटक आएकोमा यस वर्ष गत वर्षको तुलनामा २८.९ प्रतिशतले पर्यटक आगमन बढेको हो । नेपालमा पर्यटकीय याम फेब्रुअरीबाट सुरु हुने तथा  मार्च र अप्रिलमा बढ्ने गर्दछ । त्यसपछि वर्षायाम सुरु हुन्छ भने आगमनमा केही कम हुने गर्छ । बोर्डले भारतबाट मार्चमा ३० हजार ६ सय ९८ आएको जानकारी दिएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा १८.५ प्रतिशत बढी हो । चिनियाँ आगमन १२ हजार ९२ पुगेको तथ्याङ्क छ । यो गत वर्ष सोही अवधिको दाँजोमा ३ सय ५८ प्रतिशत बढि हो । अघिल्लो वर्षमा २ हजार ६ सय ३५ चिनियाँ पर्यटक आएका थिए । तेस्रो स्थानमा अमेरिकाबाट १० हजार ७ सय ६३ जना आएका छन् । यस्तै, बेलायतबाट ७ हजार २ सय ४१ आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।  यसै गरि श्रीलंकाबाट ५ हजार ७ सय ४१, जर्मनी ५ हजार २ सय ५५, थाइल्यान्डबाट ४ हजार ५ सय ६७, अस्ट्रेलिया ३ हजार २ सय ४० र म्यानमारबाट ३ हजार ३१ पर्यटक आएका छन् ।

सडक बत्तीको बक्यौता तत्काल तिर्न प्राधिकरणको आग्रह

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ। देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै प्राधिकरणले तत्काल उक्त रकम तिर्न भनेको हो ।   प्राधिकरणबाट स्वीकृति नलिई सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ (संशोधनसहित)को दफा २ को खण्ड (ङ १) बमोजिम गैरकानुनी रहेको प्राधिकरणले स्पष्ट पारेको छ ।  अनधिकृत तवरले विद्युत् सेवा उपभोग गरेमा सोही ऐनको दफा २३ बमोजिम विद्युत् लाइन काट्न सकिने व्यवस्था रहेको प्राधिकरणले चेतावनी दिएको छ ।  “देशभरका विभिन्न स्थानीय तहहरूले सडक बत्ती प्रयोग गरे बापत करिब ६ अर्बभन्दा बढीको विद्युत् महसुल नेपाल विद्युत् प्राधिकरणलाई तिर्नरबुझाउन बाँकी रहेको छ,” प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “पत्राचारमार्फत् जानकारी गराइँदै आएको व्यहोरा अवगत नै छ । बक्यौता महसुल नतिर्ने र बिनामिटर जडान गरिएका सडक बत्ती नेपाल विद्युत् प्राधिकरणबाट हटाइने भएकाले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी रीतपूर्वक ग्राहक बनी मिटरमार्फत् सडक बत्ती जडान गराउन आग्रह गरिन्छ ।” 

राष्ट्रपतिलाई रनिङ सिल्डको निमन्त्रणा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुने १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरिएको छ। राखेपका सदस्य सचिव टंकलाल घिसिङले शितल निवासमा राष्ट्रपति पौडेललाई निमन्त्रणा पत्र प्रदान गरे। सो अवसरमा राखेपका उपाध्यक्ष शिव कोइराला, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा र आर्थिक प्रशासन शाखाका प्रमुख ऋखिराम पोख्रेलको उपस्थिति रहेको थियो । राष्ट्रपति रनिङ सिल्ड बैशाख ४ गतेदेखि ६ गतेसम्म काठमाडौँमा हुने तय भइसकेको छ। उद्घाटन त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसु गरी ६ खेलको प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सातै प्रदेशबाट आठ सय पाँच खेलाडीको सहभागिता रहने छ । जसमा ५० स्वर्ण, ५० रजत र ६६ कांस्य गरी जम्मा एक सय ६६ पदकका लागि प्रतिस्पर्धा हुनेछ । लुम्बिनी प्रदेश गत संस्करणमा पनि टिम च्याम्पियन बन्दै लगातार तेश्रोपटक उपाधि जित्न सफल भएको थियो ।

गृहमन्त्री लामिछाने र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । मंगलबार गृह मन्त्रालयमा भएको शिष्टाचार भेटमा दुई देशबीचको ऐतिहासिक तथा भौगोलिक सम्बन्धका विविध आयामबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ । दुई देशका सुरक्षा संयन्त्रबीच प्रभावकारी समन्वय गरेर सीमापार अपराध नियन्त्रणमा दुवै पक्ष सहमत भएका छन् । राजदूत श्रीवास्तवले सीमावर्ती क्षेत्रमा हुने अपराध र मानव ओसारपसार नियन्त्रणका लागि थप नीतिगत प्रबन्ध गर्नुपर्नेमा जोड दिएका थिए । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पुनःनिर्माणका लागि सहायता प्रदान, राष्ट्रिय प्रहरी प्रतिष्ठानको निर्माण समयमै सक्न र प्रहरीका लागि विशिष्ठकृत तालिम उपलब्ध गराउने स्रोतका लागि भारत तयार रहेको राजदूतको भनाइ थियो ।

एमालेले जनयुद्ध स्विकार गरिसक्यो, एकतामा समस्या छैन् – झलनाथ खनाल

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पटक पटक वान टु वान वार्तामा बसिरहेका छन् तर पार्टी एकता घोषणाको मिति जुराउन सकेका छैनन । ओली र प्रचण्डबीच पछिल्लाे तीन दिनदेखि लगातार ‘वान टु वान’ वार्तामा हुँदा पनि आज कम्युनिष्ट स्थापना दिवस मनाउँदै पार्टी एक भएकाे घाेषणा हुँदैछैन । आम नेता तथा कार्यक्रतामा उत्साहको संचार हुने वातावरण बनेको छैन्, तर नेताहरु निराश नहुन भनिरहेका छन् । आज कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी एकता संयोजन समितिले संयुक्त कार्यक्रम राखिएको छ । कार्यक्रममा ओली र प्रचण्ड दुबैले सम्बोधन गर्नेछन् । तर, छिट्टै पार्टी एकता गर्ने बाहेकका कुनै ठोस सहमति नआउने भएको छ । यो त प्रश्नै भएन, एमालेले जनयुद्ध स्विकार गरिसक्यो, मात्र भाषा के राख्ने भन्ने मात्र हो । माओवादी जन्मिएकै जनयुद्धबाट हो त उसलाई यस बिषयमा माईनस गरेर एमालेले एकता प्रक्रियामा आउन भन्न सक्छ त ? जनयुद्ध एमालेले स्विकार गरेन भन्नेहरुलाई मेरो पनि प्रश्न छ , यसअघि दुई दलले सुरूमा ९ वैशाख अर्थात अाजकाे मितिमै पार्टी एकता गर्ने योजना बताएका थिए । तर, ओली र प्रचण्डबीच सहमति हुन नसकेपछि एकता प्रक्रिया लम्बिएको छ । ओली र प्रचण्डबीच सहमति नभएसम्म एकता कहिले गर्ने भन्न सकिने अवस्था छैन । शीर्ष नेताहरु रहेको दुई अलगअलग कार्यदलले अन्तरिम विधान र अन्तरिम राजीतिक प्रतिवेदन पनि बुझाइसकेको छ तर, जनयुद्ध, चुनाव चिन्ह, केन्द्रीय समितिको भागवण्डाका विषय मिलेका छैनन् । यसै सन्दर्भमा नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालसंग रघुनाथ बजगाँईले गरेको कुराकानी : आज एमाले – माओवादीबीच पार्टी एकताको औपचारिक घोषणा हुन्छ भनिए थ्यो कहाँ पुग्यो ? पार्टी एकताको प्रकृया लगभग टुङ्गिएको छ । केहि स–साना प्रावधिक बिषयहरु छन् । कम्युनिष्ट स्थापना दिवसमा एक भएको औपचारिक घोषणा गर्ने कि भन्ने थियो, तर सकिएन । नभए हामी चुनाव अघि नै एक भैसकेका हौँ नि, चुनाव संगै लडेका हौँ, सरकार संगै चलाउँदै छौँ । ल अब दुई पार्टी एक भयो है भन्ने न हो । त्यसका लागि शीर्ष नेताहरु रहेको दुई अलगअलग कार्यदलले अन्तरिम विधान र अन्तरिम राजीतिक प्रतिवेदन पनि बुझाइसकेका छन् । प्रतिवेदनमाथीको छलफल चलिरहेको छ ।  दुबै प्रतिवेदनले सुझाएका बिषयमा खासै बिमत्ती पनि छैन् । यसकारण एकता प्रक्रिया लगभग टुङ्गियाे,  केहि दिनमै ब्रेक हुन्छ । हामी अहिले बिहानदेखि पनि केहि गर्न सकिन्छ कि भनेर लागिरहेका छौँ । मध्यान्न १२ बजेसम्म कुर्नुस । जनयुद्ध, चुनाव चिन्ह, केन्द्रीय समितिको भागवण्डाका विषयमा एक भैसकेको भनिएको दुबै पार्टीको अा-अाफ्ना  अडानले सकस पार्यो नी हैन ? मिल्न बाँकी र विवादित भन्ने बिषय नै छैन् । कसैले कहिँपनि कुनै प्रकारको अडान राखेको छैन् । माओवादीका साथीहरुले पनि अडान राख्नुभएको छैन् । एमालेले पनि कुनै प्रकारको अडान राखेर जनताले दिएको जनादेश विपरित पार्टी एकतालाई लम्ब्याउने काम गरेको छैन् । बाहिर कसले के अडान राख्यो, कसले के माग गर्यो भन्ने जस्ता बिषय प्रचार भएका छन् । ५०-५० को बिषयलाई मिडियाहरुले नै बढि उचालेका छन् । शिर्ष तहको छलफलमा यस्ता अडान नै आएका छैनन र आउँदैनन पनि । सम्मानजनक एकता गछौँ । कसैले आफु अपमानित भएको महसुस गर्नुपर्ने हुँदैन । त्यसमा कुनै सत्यता छैन् । शिर्ष तहमा भैरहेको छलफलबारे तपाँईलाई भनौँ हामीबीचमा अहिले छलफलमा रहेको बिषय भनेको दुबै पार्टीका आ–आफ्नै संगठन छन् । त्यसलाई कसरी मिलाउने, जिम्मेवारी दिँदा अपनाउने मापदण्ड लगायतका बिषयमा छलफल चलिरहेका हुन् । योग्य र जिम्मेवारी पाउनुपर्ने व्यक्तिले अवशर पाउनुपर्छ , जसले कम्युनिष्ट आन्दोलन र जनताको आकांक्षालाई संवोधन गरेर जान सक्छ, उसलाई जिम्मेवारी दिनुपर्छ भन्ने दुबै पार्टीको साझा धारणा छ । केन्द्रिय समिति कति सदस्यीय बनाउने, अन्य कमिटिहरु कत्रो आकारको बनाउने भन्नेमा हामी छलफलमा भएकले यस्ता बिषय आएका हुन् । बाहिर प्रचार भएजस्तो केहि पनि छैन । म प्रष्ट पार्न चाहन्छु । जनयुद्धबारे एमालेको बुझाई फरक हुँदा पनि यो एकता प्रक्रियामा ढिलाई भएको कुरा त स्विकार्नु हुन्छ होला ? यो त प्रश्नै भएन । एमालेले जनयुद्ध स्विकार गरिसक्यो, मात्र भाषा के राख्ने भन्ने मात्र हो । माओवादी जन्मिएकै जनयुद्धबाट हो त उसलाई यस बिषयमा माईनस गरेर एमालेले एकता प्रक्रियामा आउन भन्न सक्छ त ? जनयुद्ध एमालेले स्विकार गरेन भन्नेहरुलाई मेरो पनि प्रश्न छ , त्यसो होईन एमालेले भनेको के मात्र हो भने, तत्कालिन माओवादीले सञ्चालन गरेको जनयुद्ध जस्ता शब्द राखौँ, ताकि एमाले पनि जनयुद्धमा सामेल थियो भन्ने त भ्रम पार्नु भएन नी । यसो भनेको बिषयलाई लिएर अनेकन टिप्पणी भएका छन् । यसको पछि लाग्नु नै पर्ने म देख्दिन । जनयुद्धलाई बुझ्ने सवालमा दुबै पार्टीका बीचमा एक खालको सहमती भैसकेको छ । खासै समस्या छैन् । माओवादीले समान हैसियतमा मात्र एकता हुनुपर्छ भनेकोले समस्या भएको अर्काथरीको टिप्पणी छ । अनि एमालेले ५०-५० असम्भव भनेको चाँही सत्य हो कि झुट त उसो भए ? म मान्छु बाहिर यि बिषयहरु आएका छन् । छलफलमा रहेका बिषय बाहिर आउनु स्वभाविक पनि हो तर छलफल हुनु के बिबाद हुनु हो र ! होईन नी । तपाँईले भने जस्तो ५०-५० को बिषयलाई मिडियाहरुले नै बढि उचालेका छन् । शिर्ष तहको छलफलमा यस्ता अडान नै आएका छैनन र आउँदैनन पनि । सम्मानजनक एकता गछौँ । कसैले आफु अपमानित भएको महसुस गर्नुपर्ने हुँदैन । माओवादीका साथीहरु, एमालेका साथीहरु कसैले पनि आफ्नो क्षमता अनुसारको जिम्मेवारी  पाउनुहुन्छ । सम्मानजनक एकता भनेपछि बिचारमा समानता, संगठनमा समानता हुनु स्वभाविक छ र आवश्यक पनि हुन्छ । निरपेक्ष ५०-५० कसैले भनेको छैन् । भन्ने बिषय पनि होईन । नेतृत्वको व्यवस्थापन कसरी हुँदैछ त ? केहि दिन पर्खनुस हामी सबै सार्वजनिक गर्छौ । आज एकताको ठोस सन्देश दिने तयारी पनि छँदैछ । यो बीचमा केहि सुखद घटनाहरु पनि हुनसक्छन् । नेतृत्वको व्यवस्थापनको बिषयमा हामी छलफलमै छौँ । मिल्न बाँकी र विवादित भन्ने बिषय नै छैन् । कसैले कहिँपनि कुनै प्रकारको अडान राखेको छैन् ।  एक खालको सहमती पनि भैसकेको छ । भएको सहमतीमा पनि केहि साथीहरुले पुन एकपटक छलफल गरौँ भनेकाले एक्ता प्रक्रिया लम्बिएको हो । यो पनि एकता महाधिवेशन सम्मका लागि त हो । महाधिवेशनले यि बिषयलाई लोकतान्त्रिक विधि अनुसार टुङ्ग्याईहाल्छ । नेतृत्व व्यवस्थापनका बिषयमा बाहिर आएका असन्तुष्टी भनेर फेरी भन्नुहोला म फेरी भन्छु नेतृत्व व्यवस्थापनको बिषष पेचिलो हो तर हामी एक खालको सहमतीमा पुगिसकेका छौँ । दुबै पार्टीका अध्यक्षले त्यसलाई अनुमोदन गरेर एकता संयोजन समितिमा पेश गरेपछि पार्टी एकताको औपचारिक घोषणा हुन्छ ।

पश्चिम नेपालको बदलीले काठमाडौँसम्म असर

काठमाडौं । अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले  कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको छ । बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ ।  कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।  नेपालको पश्चिमी भूभागमा अबको केही दिन पुनः चिसो बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका आइतबारदेखि पश्चिम नेपाल विशेषगरी कर्णाली क्षेत्रमा यसको केही असर देखिने छ । सोमबार भने अझै बढ्ने देखिएको उनले बताइन् । त्यसको असर लुम्बिनी प्रदेशसम्म नै पर्ने र केही असर काठमाडौँसम्म आइपुग्ने उनले बताइन् । यसअघि यही मङ्सिर २९ गते यो वर्षकै अत्यधिक  चिसो भएको थियो । त्यस दिन काठमाडौँको तापक्रम दुई डिग्रीमा झरेको थियो भने जुम्लाको तापक्रम माइनस ७ दशमलव दुईमा झरेको थियो ।

डेंगुबाट देशभर १९ हजार संक्रमित

काठमाडौं । देशभर डेङ्गी सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गी सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेङ्गी सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गी सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेङ्गी सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् । यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । यस्तै तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामा तीन सय ३५ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन भन्छन्,'पोस्ट मनसुन सुरु हुँदा डेङ्गीको जोखिम बढ्ने सम्भावना हुन्छ । दसैँ लगत्तै अस्पताल आउने डेङ्गीका बिरामी बढिरहेका छन् । समुदायमा डेङ्गी सङ्क्रमण फैलिएको देखिन्छ ।' विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेङ्गी सङ्क्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो । डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ । डेङ्गी सङ्क्रमणबाट बच्न मुख्यतः लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ । डा. पुन भन्छन्, 'झूलको प्रयोग गर्नु राम्रो हुन्छ । जटिल लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।'

शर्माको स्मृतिमा श्रद्धाञ्जलीसभा

दाङ । दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको सातौं दिनको पुण्यतिथि पारेर जिल्लाका आठ बढी साहित्यिक संस्थाहरुले संयुक्त रुपमा घोराही–१८ मसिनामा श्रद्धाञ्जलीसभा गरेका छन्। राप्ती साहित्य परिषद् केन्द्र तथा जिल्ला समिति, सर्वोदय पुस्तकालय तथा वाचनालय, प्रगतिशील लेखक संघ, लेखक संघ, नेपाली लेखक संघ, विश्व नेपाली साहित्य प्रतिष्ठान दाङ शाखा र सिस्नोपानी नेपाल दाङ शाखालगायतका संस्थाहरुले दिवंगत शर्माप्रति श्रद्धाञ्जली दिन कार्यक्रम आयोजना गरेका हुन् । राप्ती साहित्य परिषद् केन्द्रीय समितिका अध्यक्ष टीकाराम उदासीको अध्यक्षता तथा संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने सबैजसो वक्ताहरुले स्वर्गीय गिरिराज शर्माको व्यक्तित्व, कृतित्व तथा उहाँसँगका व्यक्तिगत अनुभूति सुनाएका थिए । श्रद्धाञ्जलीसभामा गिरिराज शर्मासँगको २०१० सालदेखिको सामिप्यताबारे बोल्दै प्रमुख अतिथि शर्माले सरल र सबैसँग मिल्ने स्वभाव, सिर्जनशीलता तथा चोखो मनका धनीजस्ता उहाँका राम्रा कुराको अनुसरण गर्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राख्नुभयो । कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल, परिवारका तर्फबाट छोरी रेखा शर्मा, सर्वोदय पुस्तकालय तथा वाचनालयका कार्यवाहक अध्यक्ष चन्द्रराज पन्त, प्रगतिशील लेखक संघ केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, सञ्चारकर्मीका तर्फबाट प्रेस काउन्सिल सदस्य शरद अधिकारी, राप्ती साहित्य परिषद् जिल्ला अध्यक्ष यम रेग्मी, लेखक संघका जिल्ला अध्यक्ष खगराज न्यौपाने, सिस्नोपानी नेपालका जिल्ला अध्यक्ष लोकराज पराजुलीले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । सभाको सहजीकरण राप्ती साहित्य परिषद्का केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटाले गर्नुभएको थियो ।