विद्युत प्राधिकरण तम्घास शाखा कार्यालयमा आगलागी
काठमाडौं । तम्घासमा रहेको विद्युत प्राधिकरणको शाखा कार्यालयमा आगलागी भएको छ ।विद्युत प्राधिकरणको सव स्टेसन र गोदाममा आगलागी भएको हो।
गुल्मी जिल्लाको तम्घास नजिकै रहेको सल्लाघारीको जंगलमा लागेको डडेलो विद्युत प्राधिकरणको जिल्ला कार्यायलमा पसेको हो । अहिलेसम्म क्षतीको विवरण आएको छैन्।
आगो भने भखर्रै निणन्त्रणमा आएको प्राधिकरणका कर्मचारी विष्णु न्यौपानेले जानकारी दिए।आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी लगायत स्थानीय समेत जुटेका थिए ।
प्रहरीको विकल्प सुधारिएको प्रहरीः गृहसचिव अर्याल
काठमाडौं । गृहसचिव एकनारायण अर्यालले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै प्रहरीलाई निर्देशन दिएका छन् । गृहसचिव एकनारायण अर्याललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए कार्यक्रममा गृहसचिव अर्यालले समाजमा शान्ति सुव्यवस्था कायम गर्ने, अपराध अनुसन्धान एवम् नियन्त्रणमा नेपाल प्रहरीले कुशलतापूर्वक कार्य गरिरहेको चर्चा गर्दै वर्तमान अवस्थामा देखिएका चुनौतिहरूको समाधानका लागि सबै प्रहरी कर्मचारीहरूको पूर्ण सहयोगको अपेक्षा रहेको बताए । नेपाल प्रहरीको विकल्प भनेको सुधारिएको नेपाल प्रहरी नै रहेको भन्दै गृहसचिव अर्यालले भने, “समग्र गृह प्रशासनलाई समसामाहिक हिसाबमा रूपान्तरण गर्नुपर्ने छ । अहिले भएका कार्यसम्पादनबाट हामी आफै पनि सन्तुष्टि छैनौं । जनताहरू पनि सन्तुष्टि भएका अवस्था छैनन् । हाम्रा कार्यशैलीमा परिवर्तन गर्नुपर्ने छ र अबका दिनहरूमा गृह प्रशासनमा नयाँ ढंगले काम गर्नुपर्छ भन्ने आफ्नो मन र मस्तिष्कमा राख्नुहोला ।” गृहसचिव अर्यालले मुलुकको आन्तिरक सुरक्षा र व्यवस्थालाई सबल र प्रभावकारी बनाएको खण्डमा नागरिकहरूले स्वतन्त्रता पूर्वक आफ्नो व्यक्तित्व निर्माण गर्नका लागि शान्तिपूर्ण वातावरण सिर्जना भई आम नागरिकमा सुरक्षाको अनुभूति हुने बताउँदै विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्नेमा जोड दिए । प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा तथा वृत्ति विकासमा सांगठनीक प्रणाली अन्तर्गत हुनुपर्ने उल्लेख गर्दै प्रहरी कर्मचारीहरूको पिरमर्का, गुनासोहरूको सम्बोधनको लागि सम्बन्धित कार्यालय प्रमुखहरू क्रियाशील हुनुपर्ने उनले बताए । नागरिकसँग सम्बन्धित ऐन, कानूनको अध्ययन गरी सेवाग्राहीलाई सोही अनुरूपमा सेवा प्रदान गर्नुपर्नेमा उनले जोड दिए । गृहसचिव अर्यालले शून्य सहनशिलताको नीतिलाई अबलम्बन गर्नुपर्ने, चेन अफ कामण्डको उचित कार्यान्वयन गर्नुपर्ने बताउँदै तस्करी नियन्त्रण एवम् राजश्व चुहावट नियन्त्रणमा अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै थप सक्रिय भएर कार्यसम्पादन गर्नुपर्ने बताए । नैतिकवान र प्रविधियुक्त प्रहरी आवश्यक रहेको चर्चा गर्दै उनले भने, “राम्रो काम गर्नलाई डराउनुपर्दैन । व्यावसायिक, उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुहोस् ।” कार्यक्रममा गृहसचिव एकनारायण अर्याल समक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको कार्ययोजना, २०८०, लागूऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना, २०८०र०८१, प्रहरी कर्मचारीको सरूवा सम्बन्धी मापदण्ड २०७९ (प्रथम संशोधन,२०८०), नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको संग्रह भाग १ र भौतिक सबुद संकलन र संरक्षण सम्बन्धी दिग्दर्शन पुस्तक प्रदान गरे । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यका प्रचलित ऐन कानूनको कार्यान्वयन, नागरिकको जीउ, धन र संवैधानिक हक अधिकारको संरक्षण र आम नागरिकमा कानुनको सर्वोच्चता र शान्ति सुरक्षाको प्रत्याभूति गराउँदै न्यायपूर्ण व्यवस्था कायम गर्न तालुक गृह मन्त्रालयको प्रत्यक्ष सुपरिवेक्षणमा रही समृद्ध, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणमा, समग्र नेपाल प्रहरी संगठन र आबद्ध सकल दर्जा कटिबद्ध रहेको बताए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
बढ्यो सेयर बजार, ५ कम्पनीमा १० प्रतिशत वृद्धि
काठमाडौं । अघिल्ला ३ कारोबार दिनसम्म लगातार झरेको सेयर बजार सोमबार भने बढेको छ । आज अन्तिम ४० मिनेटपछि बजार सम्हालिएर बढेको हो । अघिल्लो दिन २०७० अंकमा बन्द भएको सेयर बजार सोमबार २०७३ अंकमा बन्द भयो । अघिल्लो दिनको तुलनामा सामान्य अंकले बजार बढ्दा कारोबार रकम भने खुम्चिएको छ । आइतबार ३ अर्ब ३८ करोडको कारोबार भएकोमा सोमबार २ अर्ब ८८ करोडमा खुम्चियो । कुल १४८ कम्पनीको मूल्य बढ्दा ८५ को घट्यो भने १० को स्थिर रह्यो । विकास बैंक समूह सबैभन्दा धेरै १.३ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स समूह १ प्रतिशत बढ्यो । ती बाहेकका समूह सामान्य दरले घटबढ भए । बैंकिङ ०.३७, लगानी ०.३५, उत्पादन ५७ तथा निर्जीवन बीमा ११ अंकले घटे । ब्यापार १४, अन्य ६, माइक्रोफाइनान्स २४, जीवन बीमा ६, हाइड्रोपावर ४, होटल तथा पर्यटन ४७, फाइनान्स २० र विकास बैंक समूह ५२ अंकले बढे । गोर्खाज फाइनान्स, सप्तकोशी विकास बैंक, पिपुल्स पावर, धौलागिरि लघुवित्त र पिपुल्स हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । मानुसी लघुवित्तको ५, एनएमबी बैंकको २.७, सिंगटी हाइड्रोको २.४, माण्डु हाइड्रोको २.३ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स, शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, माथिल्लो तामाकोशी र घोराही सिमेन्ट क्रमशः अगाडि रहे ।
सरकार र लघुवित्त पीडितका प्रतिनिधिहरूबीच वार्ता
काठमाडौं । सरकारी प्रतिनिधि र लघुवित्त पीडितहरुका प्रतिनिधिबीच अहिले बार्ता जारी छ। अर्थ मन्त्रालयमा भएको वार्तामा मन्त्रालयका प्रतिनिधिहरु र लघुवित्त पीडित संघर्ष समितिका प्रतिनिधिहरुबीच केहीबेर अघि शुरु भएको बार्ता अहिले पनि चलिरहेको छ । वार्तामा अर्थ मन्त्रालयका तर्फबाट सहसचिव नारायणप्रसाद रिसाल र लघुवित्त पीडितका तर्फबाट मणिराम ज्ञवालीले नेतृत्व गरेका छन् ।।
प्रधानमन्त्रीले लिखित सहमति गर्नुपर्ने एकीकृत समाजवादीको माग
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले आफ्नो पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेको छ । सोमवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले आफ्ना मागहरुमा लिखित सहमति जनाउन प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बताए । उनले राष्ट्रिय सभा अध्यक्ष तथा प्रधानमन्त्रीलाई विश्वासको मत दिनका लागि प्रधानमन्त्रीलाई लिखित सहमति जनाउन आग्रह गर्ने निर्णय गरिएको बताए । चौधरीले भने, ‘हामीले भनेको केही कुरामा उहाँले लिखित सहमति गर्नुभयो भने राष्ट्रिय सभामा भोट दिनसक्छौँ। र प्रतिनिधि सभामा उहाँले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौँ।’
सरकारले भन्यो -'सार्वजनिक जग्गा दुरुपयोग गर्नेलाई छाड्दैनौं, प्रमाण पाए जिप्रकामा जानकारी दिनू'
काठमाडौं । नेपाल सरकार गृहमन्त्रालयले सरकारी वा सार्वजनिक वा निश्चित प्रयोजनका लागि उपयोग गर्न दिइएका जग्गा गैरकानुनी वा अनधिकृत रुपमा दर्ता वा दाखिल खारेज गरी अतिक्रमण वा कब्जा गरेको एवं तोकिएको उद्देश्य भन्दा फरक प्रयोजनका लागि प्रयोग भएका विभिन्न घटनाबाट देखिएको भन्दै उक्त कार्य गैर कानुनी हुुने उल्लेख गरेको छ । सरकारले अतिक्रमण वा कब्जा भएका जग्गा फिर्ता ल्याउने तथा गैर कानुनी रुपमा जग्गा अतिक्रमण वा कब्जा गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने कार्यलाई सरकारले प्राथमिकता साथ अघि बढाएको समेत बताएको छ । गृहमन्त्रालयका प्रवक्ता सहसचिव नारायण प्रसाद भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै सरकारी वा सार्वजनिक जग्गा दुरुपयोग गरी दर्ता श्रेष्ता कायम गर्ने गरी निर्णय गरेको र सो को आधारमा दाखिल खारेज गरेको वा हक स्वामित्व कायम गरेको बा त्यसरी कायम भएको स्वामित्वबाट बिक्री वितरण गरेको, समय तोकी वा नतोकी भोगाधिकार सृजना गरेको, धितो बन्धक राखेको आदि जुनसुकै प्रकारको गैर कानुनी काम कारबाही सम्बन्धी आफूसँग भएको सूचना वा प्रमाण सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा जानकारी दिन सम्बन्धित सबैमा अनुरोध गरेका छन् । हेर्नुहोस विज्ञप्ति
क्यानडा–११ विरुद्ध ब्याटिङ गर्दै नेपाल ‘ए’
काठमाडौं । क्यानडा–११ विरुद्ध एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपाल ‘ए’ ले ब्याटिङ गरिरहेको छ । काठमाडौँको मूलपानी क्रिकेट मैदानमा टस जितेर क्यानडाले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो । सिरिजको निर्णायक खेलमा आज जित निकाल्दै दुवै टोली नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् । यसअघिका दुई खेलमा नेपाल र क्यानडाले १–१ को बराबरी खेलेका छन् । पहिलो खेलमा क्यानडा चार विकेट विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले दुई विकेटको जित निकालेको थियो ।
बैंकिङ कर्जाको समस्या निराकण गर्न कानूनी र नीतिगत व्यवस्था गरेको छौं : प्रधानमन्त्री
काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै व्यक्ति वा समूह बैंक र व्यवसायी दुवै हुँदा आउनसक्ने समस्यालाई निराकरण गर्न सरकारले कानूनी र नीतिगत व्यवस्था गरेको बताएका छन् । उनले यस्ता दिशामा थप नीतिगत र कानूनी सुधारका कार्य भइरहेको जानकारी दिए । प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकमा प्राप्त स्रोत–साधन सीमित घरानामा अधिक केन्द्रित हुँदा त्यसबाट विभिन्न प्रकारका जोखिम सिर्जना हुने साथै सीमित समूहले मात्र प्रतिफल पाउने भएकाले यस्तो अवस्थाको निराकरण गर्न बैंकिङ क्षेत्रमा एक व्यक्ति वा समूहले लिन पाउने कुल कर्जा सीमा तोकिएको जानकारी दिए । उनले उद्योगी–व्यवसायी घरानाले विभिन्न क्षेत्रमा लगानी गर्दा देशभित्र उत्पादन र रोजगारी बढाउन साथै आवश्यक वस्तु तथा सेवाको आपूर्ति सहज बनाउन मद्दत पुग्ने उल्लेख गरे।
संघीय संसदका विभिन्न आठ समितिको बैठक बस्दै
काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको २४औँ बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा बस्नेछ । बैठकमा झापा, सुनसरी र मोरङमा गरिएको अनुगमन सम्बन्धी प्रतिवेदन– २०८० (मस्यौदा माथि) पेश तथा छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, आज महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा समितिको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ । यसैगरी, आज राज्य व्यवस्था तथा सुशासन समितिको २२औँ बैठक बस्दैछ । सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आजै बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा सुरक्षण मुद्रण विधेयकका सम्बन्धमा छलफल हुनेछ । यता, राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बोलाइएको छ । बैठकमा नागढुंगा सुरुङमार्ग निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा छलफल हुने बताइएको छ । यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा स्थानीय तहको कानून निर्माण प्रक्रियाको अध्ययनको मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ । राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दैछ । बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित प्रत्यायोजित विधायन र सरकारी कार्यान्वयन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठकमा खानेपानी मन्त्री महिन्द्र राय यादव र सचिव सुरेश आचार्यलाई आमन्त्रण गरिएको छ । यसैगरी, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा १६औँ पञ्चवर्षीय योजनामा दिगो विकास लक्ष्य तथा लैङ्गिक मैत्री दृष्टिकोणबाट निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरूको सम्बन्धमा छलफल हुनेछ ।
यौन चाहना र खानेकुराबीच कस्तो छ सम्बन्ध ?
मानिसहरूले यौन स्वास्थ्यलाई विशेष गम्भीरताका साथ लिने गरेका छन् । कुनै विशेष प्रकारको खाद्य पदार्थले कामेच्छामा सकारात्मक प्रभाव पार्छ भन्ने कुरा पप्रमाणित हुने हो भने त्यस्तो खाद्यवस्तु उच्च मूल्यमा तत्काल बिक्री हुनेछ । राम्रो यौन स्वास्थ्यका लागि सन्तुलित आहार, सक्रिय जीवनशैली र राम्रो मानसिक स्वास्थ्य आवश्यक पर्दछ । तर के यस्ता कुनै विशेष खाद्य पदार्थ छन् जसले प्राकृतिक रूपले यौन क्षमता बढाउन सकियोस ? मानव इतिहासमा लामो समयदेखि यौन क्षमता बढाउने कुरा चिकित्सकीय चासोको विषय रहिआएको छ । कतिपय समाजहरूमा चिशेष प्रकारका कह्द्य सामग्रीहरूलाई यौन स्वास्थ्यवर्धक भनेर बुझिने गरेको छ । बिबिसीमा पप्रकाशित यस आलेखमा केही खानेकुरा र तिनको यौन क्षमतामा प्रभावसम्बन्धी मान्यताको बारेमा चर्चा गरिएको छ । सी-फुडको प्रयोग र यौन स्वास्थ्य इतिहासमा क्यासानोभा भन्ने एकजना प्रेमीको चर्चा हुने गरेको छ । आफ्नो समय निकै प्रख्यात प्रेमीको रूपमा चिनिएका उनले खाजामा ५० सिपी खाने गरेको बताइन्छ । क्यासानोभा १८ औं शताब्दीका प्रख्यात इटालियन नाविक हुन् र उनको नाम उनका साहसपूर्ण समुद्री यात्राका साथै उनका प्रेम सम्बन्धका लागि समेत लिने गरिन्छ । धेरैले भन्ने गरे अनुसार उनले धेरै महिलाहरूसँग सम्बन्ध स्थापित गरेका थिए । यसो भनिने गरे तापनि सिपी नै खाएर यौन शक्ति बढ्ने कुनै प्रमाण भने छैन । चिकित्साशास्त्रमा यसको कुनै उल्लेख नै छैन । यसो हुँदाहुँदै पनि क्यासानोभाले सिपी खाने गरेको हल्ला चाँहि कसरी फैलियो त ? ग्रीसेली मान्यता अनुसार प्रेमकी ग्रीसेली देवी एफ्रोडाइटको उत्पत्ति समुद्रबाट भएको थियो । त्यसैले पनि समुद्री भोजनलाई यौन क्षमता बढाउने भोजनका रूपमा मान्ने गरिएको हुन सक्छ । सिपीमा जस्ता (जिङ्क) पाइन्छ । जस्ता टेस्टोस्टेरोन उत्पादनका लागि आवश्यक पोशाक तत्त्व पनि हो । एउटा शोधमा जस्ताले शुक्रकीटहरूको गुणवत्ता बढाउने भएकाले यसलाई पुरुषको बाँझोपनको उपचारमा प्रयोग गर्न सकिन्छ । त्यस्तै जस्ताक अन्य स्रोतमा सेलफिस, रातो मासु, फर्सी, तिल, काजु-बदाम, दूध, केराउ, पनीर र सिमी (राजमा) जस्ता खाद्य पदार्थ रहेका छन् । डार्क चकलेटको कस्तो छ प्रभाव? शोधकर्ताहरूले डार्क चकलेटले मानिसमा प्रेम गर्ने भावना उत्पन्न हुने बताएका छन् । यसमा फिनाइल इथेलामाइन (पीइए) नामक रसायन हुने गर्छ । यसलाई ‘लभ केमिकल’ पनि भन्ने गरिन्छ । पीइए मानव शरीरले प्रेम सम्बन्ध स्थापना भएको केही महिनामा उत्पादन गर्न थाल्दछ । यसले डोपामाइन जस्ता हार्मोनको उत्सर्जनमा मद्दत पुऱ्याउँछ र मानव मस्तिष्कभित्र आनन्द र खुसी नियन्त्रण गर्ने केन्द्रलाई उत्तेजित पर्ने गर्दछ । तर चकलेटमा पाइने पीइएको मात्रा निकै कम हुने भएकाले यो चकलेट खाइसकेपछि पनि सक्रिय रहिराख्छ भन्ने कुरामा भने शंका रहेको छ । यसका साथै धेरैले चकलेटको प्रमुख घटक कोकोओले शरीरमा रक्त प्रवाह बढाउने र खुसी बनाउने हार्मोन सेरोटोनिनको स्तरलाई बढाउने गर्दछ । चकलेट र यौनबीचको सम्बन्ध कति पुरानो ? स्पेनी खोजकर्ता एर्नान कोर्तेसलाई चकलेट पत्ता लगाउने पहिलो युरोपेली भन्ने गरिन्छ । उनले लामो समय अमेरिकी महाद्वीपका माया र एजटेक साम्राज्यमा बिताए । उनले स्पेनका राजा कार्लोस प्रथमलाई एउटा पत्र लेखेर मायामा पिउने गरेको कोकोआ चकलेटको बारेमा आफूले बुझिराखेको र यसमा ‘थकानसँग लड्ने तथा रोग प्रतिरोधात्मक क्षमता’ समेत भएको उल्लेख गरेका थिए । हुन सक्छ स्पेनीहरूलाई चकलेटका चिकित्सकीय फाइदाहरूबारे पत्यार लाग्यो होला । तर मायाका नागरिकहरूले भने यस्तो मान्ने गरेको प्रमाण भेटिएको छैन । साथै माया साम्राज्यमा चकलेटको प्रयोग यौन शक्ति बढाउन गर्ने गरिएको समेत कुनै प्रमाण भेटिएको छैन । चकलेटमा पाइने ट्रिप्टोफ्यानले तनाव र अवसादसँग लड्न सहयोग गर्ने गर्दछ । यसका अन्य स्रोतमा साल्मोन माछा, अण्डा, पालुंगो, बदाम र भट्मास पर्दछन् । के खुर्सानी यौन क्षमताबर्धक छ ? अध्ययनहरूले खुर्सानीमा क्यापसाइसिन हुने बताएका छन् । यसले शरीरमा एंडोर्फिनको मात्रा बढाउने बताइन्छ । यो मानिसलाई खुसी राख्ने एउटा अर्को हार्मोन हो । यसका अतिरिक्त यसले शरीरमा मेटाबोलिज्म दुरुस्त पार्दछ र शरीरको तापमान र हृदय गति समेत बढाउने गर्दछ । यस्तो अनुभव यौनक्रियाका क्रममा गर्ने गरिन्छ । यौन क्षमता र रक्सीको सम्बन्ध ? रक्सीले संकोच कम गरेर इच्छाहरूमा बढोत्तरी त गर्न सक्ला तर यसले यौन क्षमतामा सकारात्मक प्रभाव भने पार्दैन । धेरै रक्सी पिउने महिला तथा पुरुषमा बिस्तारै भावुकता कम हुने समेत शोधहरूका नतिजाले देखेका छन । साथै यसले यौन क्षमतामा ह्रास ल्याएर नपुंसकताको स्थिति ल्याउन सक्छ । कसरी कम गर्ने नपुंसकता ? केही शोधहरूले केही फ्लेभोनोइड्स (बोटबिरुवाबाट बनेका) युक्त समृद्ध खाद्य पदार्थले नपुंसकता कम गर्ने बताएका छन् । अध्ययनहरूमा ब्लुबेरी र त्यस्तै अन्य अमिलो फलफुलमा पाइने एंथोसायनिनमा नपुंसकता रोक्ने गुण हुने गर्दछ । फ्लेभोनोइड्सयुक्त खाद्य पदार्थ र नियमित व्यायामले नपुंसकताको समस्या २१ प्रतिशतसम्म कम गर्न सकिने अध्ययनमा देखिएको छ । केही शोधहरूले नपुंसकता रोक्न र सहज यौन क्रिया जारी राख्न सन्तुलित आहारको ठुलो भूमिका हुने बताएका छन् । यसमा अप्रशोधित अन्न, फलफुल, तरकारी, ओखर जस्ता तैलीय सुक्खा फल र जैतुनको तेल सामेल छन् । एंथोसायनिन नामक पदार्थको पनि यसमा ठुलो भूमिका हुन सक्छ । यसका अन्य स्रोतहरूमा चेरी, ब्ल्याकबेरी, क्र्यानबेरी, रास्पबेरी, अंगूर र रातो बन्दा रहेका छन् । यौन इच्छा बढाउने खाद्यसामग्रीलाई अंग्रेजीमा ‘एफ्रोडिजियेक्स’ भन्ने गरिन्छ । यो शब्दको उत्पत्ति ग्रीसेली देवी एफ्रोडाइटको नामबाट भएको हो । यौनलाईतीन श्रेणीमा राखिने गरेको छ: कामेच्छा, यौन सम्पर्क राख्न सक्ने शक्ति र यौन सुख । विश्वसनीयतामा प्रश्न तर यस प्रकारका खाद्यपदार्थले मानिसमा काम गर्छन या गर्दैनन भन्ने कुरा वैज्ञानिक रूपमा प्रमाणित हुन् सकेको छैन । वास्तवमा, एक मात्र एफ्रोडिजिएक्स खानाले काम गर्ने गरेको पुष्टि हुन सकेको छ त्यो पाकेका र सडेका फलहरूको गन्ध हो । यौन स्वास्थ्यका विशेषज्ञ डा. क्रिकम्यान मानिसहरू कामोत्तेजक खाद्य पदार्थको सेवन गर्ने कारण तिनले काम गर्लान भन्ने विश्वास रहेको बताउँछन् । उनको सुझाव छ यदि कुनै खाद्यपदार्थले सकारात्मक नतिजा देखाउँछ भने यसले कसरी काम गर्दैछ भन्ने कुराले अर्थ राख्दैन । धेरै खालका कामोत्तेजक खाद्यपदार्थ छन् । कतिपयले विभिन्न वनस्पतिको चोप या अन्य त्यस्तै पदार्थ सेवन गर्ने सुझाव समेत दिने गर्छन् । तर यस्ता चीजले फाइदा या नोक्सान के गर्छन् भन्ने कुराको टुंगो नलागेसम्म यिनको सेवन नगर्नु नै बुद्धिमानी हुन्छ । यदि कुनै मानिसमा यौन चाहना या शक्तिको कमी छ भने यो विशुद्ध चिकित्सकीय समस्या हुन सक्छ र चिकित्सकको परामर्श अनुसार उपचारपश्चात टीक हुन सक्छ ।
वडा अध्यक्षलाई ज्यान मार्ने धम्की दिने व्यक्तिको खोजी गरी कारबाही गर्न निर्देशन
कञ्चनपुर, चैत्र २९ । शुक्लाफाँटा नगरपालिकाको बिहीवार बसेको आकस्मिक बैठकले वडा नं ८ का वडा अध्यक्ष बहादुरसिंह महरालाई पटक–पटक फोन मार्फत ज्यान मार्ने धम्की दिने व्यक्तिको तत्काल खोजी गरी कारबाहीका लागि प्रहरीलाई निर्देशन दिने निर्णय गरेको छ । अध्यक्ष महरा लाई पटक पटक फरक फरक मोवाईल बाट फोन गरी धमक्याउने कार्य हुन थालेपछि भरपर्दो शुरक्षा दिने निर्णय गरिएको नगरपालीकाका उप प्रमुख तुलसी हमालले बताईन । नगरप्रमुख दिल बहादुर ऐरको अध्यक्षतामा बसेको बैठकमा नगर उप प्रमुख तुलसीदेवी हमाल, वडा अध्यक्ष, इप्रका झलारीका प्रहरी नायव निरिक्षक रविन्द्र धनुषे, जिल्ला वन अधिकृत शिवप्रसाद शर्मा, शुक्लाफाँटा निकुञ्जका पूर्वि सेक्टर अर्जुनीका रेन्जर ज्ञानेन्द्र शाह लगायतको उपस्थीतीमा सो निर्णय गरिएको बताइएको छ । वडा अध्यक्ष महरालाई अज्ञात व्यक्तिले पटक पटक मोवाईल मार्फत ज्यान मार्ने धम्की दिदै आएको छ । तीन दिन अघि धारापानीको उत्तरी क्षेत्रमा अबैध रुपमा जंगली जनावरको शिकारमा संलग्न रहेका तीन जनालाई दुई नाल भरुवा बन्दुक र बन्दोबस्तीका समान सहित पक्राउ गरि सेक्टर बन कार्यालय बाणिमा बुझाए पछि उहाँलाई धम्की आउन थालेको हो । यसैबीच, अखिल क्रान्तिकारी जिल्ला कार्यसमिति कञ्चनपुरले बिहीबार विज्ञप्ति जारी गरी वडा अध्यक्ष महरालाई बारम्बार फोन मार्फत धम्की दिने व्यक्तिको खोजी गरी तत्काल कारबाही गर्न माग गरिएको छ । प्रहरी प्रशासनले तत्काल दोषिमाथि कारबाही गर्न विज्ञप्तीमा भनिएको छ । महरा बैजनाथ सामुदायिक वनका अध्यक्षसमेत हुन । वन संरक्षणमा उल्लेख्य कार्य गरेवाफत उनलाई उत्कृष्ट पुरुस्कारबाट समेत वन विभागले सम्मानित गरि सकिएको छ । वन संरक्षणणकर्मीका रुपमा उनी जिल्लामा परिचित छन् ।
चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् आह्वान
काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक आह्वान गर्नुभएको हो बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणलगायतका विषयमा छलफल हुनेछ । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाने तालिका छ । प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि आज परराष्ट्रमन्त्री आरजु राणा चीन जाँदै हुनुहुन्छ ।
माओवादी केन्द्रको परामर्श बैठकः सुदूरपश्चिम प्रदेशका ६३ नेताले दिए सुझाव
धनगढी। नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदशस्तरीय दुई दिने परामर्श बैठक आज सकिएको छ । हिजोदेखि सुरु भएको बैठकमा यस प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरू गरी ६३ जनाले पार्टी निर्माणका लागि सुझाव दिएका छन् । सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डासहित सुदृढ जनसंगठन निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिंदै प्रदेशका नेताहरुले आगामी केन्द्रीय समिति बैठकबाट ठोस कार्ययोजना ल्याउन नेतृत्वलाई आग्रह गरे । बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीहरुले पनि सम्बोधन गर्नुभएको थियो । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत माओवादी केन्द्रले परामर्श बैठक सुरु गरिएको जनाएको छ । जसअनुसार सदूरपश्चिमसहित बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश र गण्डकी प्रदेश गरी पाँच प्रदेशको परामर्श बैठक सम्पन्न भइसकेको छ । भोलिबाट कर्णालीको प्रदेशस्तरीय परामर्श बैठक सुर्खेतमा तय गरिएको छ । प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गर्नुभएको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरुपमा जनतामा जाने माओवादीको तयारी छ।
पहिचानको खोजीमा महाउत समुदाय
नेपालगञ्ज । बाँके । बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ता टोलका केलाराम महाउत रोजगारीको खोजीमा नेपालगञ्जमा भौंतारिन थालेको तीन वर्ष भयो । शहरमा कुनै रोजगार नमिल्दा उहाँको मन खिन्न छ । ‘मागेर खाने भएकाले यो समुदायलाई मगन्ता भनिन्थ्यो, मागेर खाने पुख्र्यौली पेशा छोडेसँगै अहिले नयाँ पेशा र पहिचानका लागि कष्टकर जीवनयापन गर्नुपरेको छ’– केलारामले भन्नुभयो– ‘महाउत समुदाय अहिले गरिबी, अभाव र संकटबाट गुज्रिएको छ, पेशा र पहिचानबिना जीवन चलाउन कठिन भएको छ ।’ समुदायबाटै पहिलोपटक एसएलसी पास गर्नुभएका केलाराम कृषक समूह गठन गरेर खेती किसानीको काम गर्दै आउनुभएको छ । पढेलेखेर पनि बेरोजगार बस्नु पर्दा महाउत समुदायमा पढेर पनि केही नहुने गलत धारणाको विकास भएको उहाँको बुझाइ छ । ‘महाउत बस्तीमा गरिबी र अशिक्षाको चरम रुप छ । बालबालिकालाई विद्यालय पठाउन सम्झाइबुझाइ गर्दा पनि अभिभावकहरू मान्दैनन्’– केलारामले भन्नुभयो– ‘जसोतसो विद्यालयमा भर्ना गराइदिए पनि बीचबाटै विद्यालय छोड्ने समस्या छ ।’ महाउत समुदायका अधिकांश बालबालिका शिक्षाबाट बञ्चित छन्, महिलाको स्वास्थ्य अवस्था नाजुक छ । डरलाग्दो बालविवाहको समस्या मात्र होइन, सिंगो समुदाय प्रत्येक दिन छाक टार्ने समस्याबाट माथि उठ्न सकेको छैन । मागेर खाने पुख्र्यौली पेशा छोडेसँगै मगन्ताबाट महाउत बनेको यो समुदायलाई यतिबेला नयाँ पेशा र पहिचान नपाउँदा जीवन चलाउन कठिन भएको केलारामको बुझाइ छ । बाँकेको हिरमिनियालगायत विभिन्न ठाउँमा दुई सय घरपरिवारको करिब एक हजार जनसंख्या छ । महाउत समुदायका युवा पुस्ताले अब मागेर हुँदैन, काम गर्ने र त्यसअनुसारको ज्याला लिनुपर्छ भन्ने बुझेका छन् । मागेर जीवन निर्वाह गर्ने भएकाले समुदायलाई नै मगन्ता जातिको परिचय दिइए पनि अहिले युवाहरूलाई आफ्नो नामको पछाडि झुन्डिने मगन्ता शब्द मन परेको छैन । त्यसैले महाउत लेख्ने गरेको युवा विशाल महाउतले बताउनुभयो । एक पुस्ता अघिसम्म यो समुदायका मानिसको नागरिकतामा नामको पछाडि मगन्ता थर लेख्ने गरे पनि अहिले त्यसलाई परिवर्तन गरेर महाउत लेख्ने गरिएको छ । पुर्खाहरूले नाममा मगन्ता नै लेखाए तर अहिले युवाहरूले नामको पछाडि महाउत लेख्न थालेपछि केही आत्मसम्मान मिलेको विशालको अनुभव छ । अल्पसंख्यक र सीमान्तकृत समुदाय भए पनि सूचीकृत भइनसकेकाले यो समुदायले कुनै विशेष सुविधा पाउन सकेको छैन । राज्यले आफूहरूलाई अल्पसंख्यक समुदायमा सूचीकृत गरी पेशा गर्ने व्यवस्थाको माग उनीहरूले गर्दै आएका छन् । खेती गर्नका लागि आफ्नै जग्गा जमिन, रोजगारीका लागि सीप र व्यापार–व्यवसायका लागि पुँजी नभएका कारण महाउत समुदायमा अधिकांश परिवार साँझ के खाउँ, बिहान के खाउँ भन्ने समस्या खेप्न विवश रहेको स्थानीय अमृता महाउतले बताउनुभयो । मगन्ता समुदायको बस्तीमा शुद्ध पिउने पानी छैन, बस्तीमा सडक बनेको छैन । स्थानीय सरकारले मगन्ता समुदायको विकासका लागि छुट्याएको बजेट कहाँ, कसरी, कसले खर्चिन्छ, उनीहरूले थाहा पाउन सकेका छैनन् । अन्य लोपोन्मुख तथा सीमान्तकृत समुदाय राजनीतिक पहुँचका लागि राज्यसँग लडिरहेको समय आफूहरूले भने आफ्नो पहिचान समेत कायम गर्न नसकेको अमृताको भनाइ छ । ‘महाउत समुदायको पुख्र्यौली पेशा तथा काम भनेको मागेर खाने हो’– महाउत समुदायकी अगुवा एवं डुडुवा गाउँपालिका कार्यपालिका सदस्य जवन्ती महाउतले भन्नुभयो– ‘अहिले खेती किसानी र मजदुरी गरेर जसोतसो जीविकोपार्जन गर्दै आए पनि महाउत समुदाय सबै क्षेत्र र अवसरबाट पिछडिएको छ ।’ महाउत समुदायकै एक्ली जनप्रतिनिधि बाँकेमा अल्पसंख्यक महाउत समुदायकी एक्ली जनप्रतिनिधि जवन्ती महाउतले विभिन्न चुनौती चिर्दै समुदाय र टोल बस्तीको विकासमा खटिनुभएको छ । महाउत समुदायको उत्थान र वडाको समग्र बस्ती विकासका लागि काम गर्ने आफूमा हुट्हुटी भए पनि राजनीतिक खिचातानीले सोचेजस्तो काम गर्न नपाएको उहाँको अनुभव छ । स्थानीय तह निर्वाचन २०७९ मा जवन्ती बाँकेको डुडुवा गाउँपालिका–६ बाट महिला सदस्यमा निर्वाचित हुनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट वडा सदस्य जित्नुभएकी जवन्तीलाई उक्त पार्टीले कार्यपालिका सदस्य बनाएको थियो । कार्यपालिका सदस्य बनेपछि थुप्रै चुनौतीका बीच जवन्तीले काम गर्दै आउनुभएको छ । ‘हाम्रो समुदायलाई लोपोन्मुख अल्पसंख्यक जातिमा सूचीकृत गर्नुपर्नेछ, मगन्ता वस्तीलगायत वडाका समग्र टोलको विकास गर्नुछ’– जवन्तीले भन्नुभयो– ‘कार्यपालिका बैठकमा पटक–पटक हाम्रो समुदाय र वस्तीको कुरा उठाएकी छु तर अहिलेसम्म सम्बोधन भएको छैन ।” बालबालिका विद्यालय बाहिरै अल्पसंख्यक महाउत समुदायका बालबालिका आर्थिक अभावमा विद्यालय जानबाट बञ्चित हुँदै आएका छन् । विद्यालय उमेर समूहका अधिकांश बालबालिका मजदूरी गर्ने ठाउँमा भेटिन्छन् । ‘गाउँमा धेरै पढेको कोही छैन, मैले तीन कक्षासम्म पढेर छोडिदिएँ’– विद्यालय उमेर समूहका नौकुश महाउतले भन्नुभयो– ‘स्कुल जान कापी किताब, झोला र पोशाक चाहिन्छ, घरमा कसैले दिदैन । त्यसैले अहिले मजदुरी गर्न थालेको छु ।’ काशी महाउतका विद्यालय उमेर समूहका चार छोरा र एक छोरी छन् तर कोही पनि विद्यालय जाँदैनन् । साना बालबालिका बाख्रा, बङ्गुर चराउन जाने र अलि ठूलो भएपछि मजदुरीमा जाने गरेको काशीले बताउनुभयो । ‘पढे लेखेर के हुन्छ, कसैले केही काम पाएका छैनन्, त्यही भएर हाम्रा छोराछोरी स्कूल जाँदैनन्’– काशीले भन्नुभयो– ‘घरमा खान बस्नकै समस्या छ, विद्यालय पठाउन कापी किताब, झोला र पोशाक कहाँबाट ल्याउने ?’
सात वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूचि
काठमाडौं । आज एकै पटक सात वटा संसदीय समितिको बैठक बस्दैछ ।जसअनुसार बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक सुरु हुँदेछ । बैठकमा नेपाल सरकारले पछिल्लो समय छिमेकी मित्र राष्ट्रहरुसँग गरेको सन्धि सम्झौताहरुको विवरण र हालसम्मको कार्यप्रगति र मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयहरुमाथि छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ । बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिमा प्राप्त विधेयकहरुका सम्बन्धमा छलफल हुनेछ। त्यसैगरि बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरीहरुमा छलफल हुनेछ भने बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ । त्यस्तै संसदीय सुनुवाइ संयुक्त समितिको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा निर्वाचन आयुक्त पदमा प्रश्तावित व्यक्तिको सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।
नयाँ सरकारसँग काम गर्न तत्पर छौँ : अमेरिकी राजदूत
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले नयाँ सरकारसँग काम गर्न अमेरिका तत्पर रहेको बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रधानमन्त्रीको शपथ लिएपछि राजदूत थम्पसनले सामाजिक सञ्जाल एक्समार्फत उक्त कुरा बताएका हुन्। नेपालको प्रधानमन्त्री भएकोमा ओलीलाई बधाई दिँदै राजदूतले लेखेका छन्, “७७ वर्षदेखिको साझेदारीलाई थप मजबुत बनाउन हामी नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तत्पर छौँ।”