बसको ठक्करबाट चित्तल मृत्यु

दाङ, चैत ७ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको सतवरिया क्षेत्रमा एउटा चित्तल मरेको छ ।

लमही नगरपालिका–७ को सतवरिया र अर्जुन खोलाको बीचमा पर्ने हस्नापुर जाने प्रतीक्षालय नजिकै बसको ठक्करबाट आज बिहान एउटा चित्तल मरेको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय, लमहीका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँबाट जाजरकोटतर्फ जाँदै गरेको ना६ख ४०५ नंको बसले आज बिहान राजमार्गबाट बाटो काट्दै गरेको चित्तललाई ठक्कर दिँदा मृत्यु भएको हो । ठक्कर दिइने बसलाई बाँकेको कुसुम प्रहरीले पक्राउ गरेको छ।

बसको ठक्करबाट मृत्यु भएको चित्तल अन्दाजी ४० किलो तौल को पोथी रहेको छ । उक्त चित्तललाई सेक्टरवन कार्यालय गढुवाको टोलीलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । रासस

प्रधानमन्त्रीले ३ बजे सय दिनका उपलब्धि सार्वजनिक गर्ने

काठमाडौँ ।  सरकारको सय दिन पार गरेको अवसरमा बसेको सत्तारुढ दलको बैठक सकिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारको सय दिनका उपलब्धि सार्वजनिक गर्न र आगामी दिनमा गर्ने कामका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो तीन बजे सम्बोधन गर्ने निर्णय गर्नुभएको हो ।

सरकार सय दिनमा भ्रष्टाचारी बचाउन मात्रै केन्द्रितः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गर्नुभएको छ । आज विहान भएको पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । ‘सरकारको सय दिन पुगेको छ, सरकार गठनहुँदा नै हामीले जे आशंका गरेका थियौं, सय दिनको बीचमा त्यसलाई नै पुष्टि गर्ने काम गरेको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘विपक्षी दलहरुले मात्रै होइन, नागरिक समाजका अगुवा र स्वयं सत्तारुढ दलका नेताहरुले समेत असन्तुष्टि जनाइरहेका छन् । यसबाट सरकार गर्नुपर्ने काममा चुकेको र गर्न नहुने काममा मात्रै केन्द्रित भएको स्पष्ट हुन्छ ।’ उद्योगहरुको बक्यौता महसुस उठाउन खोज्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोज्ने, सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्नेदेखि पछिल्लो समय प्रधानमन्त्री स्वयंले नेतृत्व गरेको दलले विवादित व्यवसायीबाट जग्गा दान लिनेसम्मको अवस्थाले यो सरकार भ्रष्टाचारीको पक्षमा छ भन्ने पुष्टि भएको उहाँले बताउनुभयो । सरकारका गलत रवैया रोक्न र गर्नुपर्ने काममा ध्यान दिन आग्रह गर्दै पाँच विपक्षी दलहरुले ज्ञापनपत्र बुझाइसकेको उल्लेख गर्दै उहाँले राष्ट्रपतिलाई भेटेर पनि सरकारका क्रियाकलापको ध्यानाकर्षण गराउने बताउनुभयो । उहाँले अब आफ्नो पार्टीले सरकारका गलत क्रियाकलापको बिरोधमा सडकबाट समेत आवाज उठाउने तयारी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी कात्तिक १० गते पार्टीका बागमती, विशेष र समन्वय प्रदेश समितिको आयोजनामा काठमाडौंमा खबरदारी सभा गर्न थालिएको जानकारी दिनुभयो । उहाँले पार्टीको पक्षमा देशब्यापी राम्रो माहोल बन्दै गएको उल्लेख गर्दै बुद्धिजीवी संगठनलाई पनि सोहीअनुसार आफ्नो भूमिका बढाउन आग्रह गर्नुभयो ।

नेपाल वायुसेवा निगम ६७औँ वर्ष प्रवेश

काठमाडौँ। नेपाल वायुसेवा निगम ६७औँ वर्ष प्रवेश गरेको छ। नेपाल सरकार साझेदारी रहेको एक मात्र वायुसेवा कम्पनीले ६६ औँ वर्ष सफलतापूर्वक पार गरेको छ।  हवाई यातायात क्षेत्रको विकास र विस्तारमा योगदान पुऱ्याएको बताउँदै सेवा विस्तार र जनताको मन जित्ने गरीको कार्यशैली अगाडी बढाउन निगमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिएका छन्।  नेपाली जनताले उच्च मूल्याङ्कन गर्नेको सेवा विस्तार गर्नुपर्ने भन्दै वार्षिकोत्सव अवसरमा निगम परिवार र सम्बद्ध सबैमा हार्दिक शुभकामना दिएका हुन्। स्थापना दिवसको अवसरमा निगमले सोमबार बिहान पदयात्राको आयोजना गरिएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ सहित उच्चपदस्थ अधिकारीहरूको पदयात्रामा सहभागिता रहेको थियो ।  आफ्नो गौरवशाली र उदाहरणीय इतिहास सहित पर्यटन प्रवर्द्धन तथा आर्थिक सामाजिक क्षेत्रमा योगदान पुऱ्याउदै निगमले आफ्नो स्रोतसाधनको अधिकतम उपयोग गरी सेवा प्रदान गर्ने निगमले जनाएको छ ।  समयानुकूल प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु, परम्परागत कार्यशैलीको सट्टा समयसापेक्ष र नतिजामुखी कार्यशैली अवलम्बन गर्नु, कार्य सम्पादनमा पारदर्शिता कायम गर्नुजस्ता चुनौतीहरू देखिएका छन् । निगमसँग भएका जहाजले मात्र अन्तर्राष्ट्रिय र राष्ट्रिय गन्तव्य बिस्तार गर्न पर्याप्त नभएकोले जहाजको सङ्ख्या वृद्धि गर्दै सुरक्षित, सुलभ, सस्तो र भरपर्दो हवाई सेवा उपलब्ध गराउन जोड दिनु आवश्यक रहेको छ ।

साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विपरित धार्मिक तथा सामाजिक सदभाव विगार्ने र साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रणका लागि जस्तो सुकै उपाय अपनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले धार्मिक गतिविधिका नाममा साम्प्रदायिकता फैलाउन खोज्ने व्यक्ति तथा समूहलाई प्रचलित कानुन बमोजिम कानुनी कारबाही हुने स्पष्ट पारे। सरकारले गृह मन्त्रालय र मातहत स्थानीय प्रशासनमार्फत धार्मिक तथा सामाजिक सदभाव बढाउन केन्द्रीय स्तर तथा प्रादेशिकस्तरमा समेत छलफलका कार्यक्रम सञ्चालन गरिहेको प्रधानमन्त्रीले जानकारी दिए।  प्रधानमन्त्री प्रचण्डले भने, “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवरद्धन गर्न सरकार प्रतिबद्ध छ।”

प्रथम सहकारी रोजगार मेला भोलिदेखि

काठमाडौँ। प्रथम सहकारी रोजगार मेला–२०८१ भोलि (शुक्रबार)देखि हुने भएको छ । राष्ट्रिय सहकारी महासङ्घले बुधबार पत्रकार सम्मेलन गरी असार ७ देखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला सञ्चालन गरिने जानकारी दिएको हो । महासङ्घकी अध्यक्ष ओमदेवी मल्लले सहकारीमार्फत युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको जानकारी दिइन्। दिनप्रतिदिन युवाहरु विदेश जानुपर्ने परिस्थिति अन्त्य गरी मुलुकभित्रै सहकारीको माध्यमबाट रोजगार बनाउने उद्देश्यले मेला आयोजना गरिएको उनको भनाइ छ । उनले मेलाले मर्यादित रोजगारीका अवसर प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिन्। हाल नेपालमा ३१ हजार सहकारीमा एक लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको उहाँले जानकारी दिइन्। ‘मर्यादित सहकारी व्यवसायका लागि युवा सङ्लग्नता’ भन्ने नाराका साथ हुन लागेको मेलामा उत्पादन तथा सेवाका सहकारीहरु र अन्य जनशक्ति खोज्न सहजता प्रदान गर्ने आयोजकले जनाएको छ । मेलामा नवप्रवर्तन र साना व्यवसायमार्फत स्वरोजगार गर्न चाहनेको लागि नेटवर्किङको कार्यसमेत हुनेछ । 

संसद अवरोध रोक्न सभामुखद्धारा प्रधानमन्त्री र प्रमुख सचेतकसँग छलफल

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । प्रतिनिधि सभाको आज बस्ने बैठक सञ्चालनमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले अवरोध जारी राख्ने घोषणा गरेको सन्दर्भमा सभामुखले छलफल गरेका हुन् । सभामुखले प्रधानमन्त्री प्रचण्डसँग फोनमा कुरा गरेका थिए भने प्रमुख सचेतकहरुसँग सामूहिक छलफल गरेका हुन् । सभामुख सचिवालयका अनुसार, बैठक सहज बनाउन सभामुखले नेताहरुसँग पनि संवाद जारी राखेका छन् ।नेपाली काँग्रेस, एमाले, माओवादी देखि राप्रपासम्मका संसदमा रहेका दलका प्रमुख सचेतक सभामुखसँगको छलफलमा सहभागी थिए ।

सहकारी ठगीविरुद्ध तरुण दलले आज प्रदर्शन गर्ने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय समिति माग गर्दै आएको नेपाली कांग्रेसका भ्रातृसंगठनहरु सडक आन्दोलनमा उत्रिएका छन्। कांग्रेसले संसदभित्र आन्दोलन गरिरहेका बेला भ्रातृसंगठनहरु हिजोदेखि सहकारीपीडितहरूको पक्षमा सडकमा उत्रिएका छन्।कांग्रेसका भ्रातृ संगठन नेपाल महिला संघले हिजो काठमाडौँमा प्रदर्शन गरेको थियो भने आज नेपाल तरुण दलले सहकारी पीडितको पक्षमा वृहत विरोध ¥याली निकाल्ने भएको छ। तरुण दलले सहकारी पीडितहरुको पक्ष र सहकारी ठगको विरुद्ध आज मध्याह्न १२ बजे माइतीघरदेखि नयाँबानेश्वरसम्म वृहत विरोध ¥याली गर्न लागेको हो। सहकारीका बचतकर्ताको बचत फिर्ता गराउन, सहकारी समस्यालाई दिगो रुपमा समाधान गर्न, सहकारीको रकम दुरुपयोग गरी अपचलन गर्ने सहकारी ठगहरुलाई छानबिनको दायरामा ल्याइ कानुनी कारबाही गर्न सरकारलाई दबाब दिन विरोध र्‍याली आयोजना गरिएको तरुण दलका अध्यक्ष विद्धान गुरुङले जानकारी दिए। उनले उपत्यकामा उपलब्ध केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको अनौपचारिक बैठकबाट विरोध प्रदर्शन गर्ने निर्णय गरिएको जानकारी दिए।

रोशी गाउँपालिकामा आगलागी, पन्ध्र घर नष्ट

धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ घर जलेका छन् । नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन् । आगलागीबाट १५ घर, १० गोठ र आठवटा शौचालय जलेका रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार महादेवटार सामुदायिक वनमा लागेको आगो सानोपोटा गाउँमा फैलिएको हो । नेपाली सेना, स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले आगो निभाएको थियो । वनको आगो भने अझै निभाउन नसकिएको स्थानीयले बताएका छन् । रासस 

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं । संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र महिला तथा सामाजिक मामिला समतिको बैठक बस्ने भएका हुन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ । यस्तै, दिउँसो साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको आगामी कार्यक्रमका बारेमा छलफल हुने संसद सचिवालयले जनाएको छ । यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानुन, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसंख्या तथा वृद्धाश्रम/ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्था सम्बन्धमा छलफल हुने संसद सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। अहिले कोशी बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो  देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ। राती भने देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज सूर्योदय बिहान ५ बजेर ३७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३० मिनेटमा हुनेछ।

उत्सवै उत्सवको वर्ष : भरतपुर भ्रमण वर्ष

चितवन । सन् २०२४ भरतपुर महानगरपालिकाका लागि उत्सवै उत्सवको वर्ष बनेको छ । भ्रमण  वर्षको उद्घाटनसँगै महानगरपालिकाभित्र छोटो समयको अवधिमा एक दर्जन बढी कार्यक्रम सम्पन्न भएका छन् । भ्रमण वर्षको अवसरमा रैथाने फुड फेष्टिवल, पशुपन्छी तथा औषधि व्यवसायी संघको केन्द्रीय महाधिवेशन, होटल व्यवसायी संघको केन्द्रीय बैठक, साईकल जंगल राईड, साईकल ¥याली, म्याराथन, लायन्स क्लब ३२५ आरको अधिवेशन, फर्म एक्पो भएका छन् । यस्तै वन्यजन्तु उद्धार केन्द्र उद्घाटन, गडियाल गोहीलाई प्राकृतिक बासस्थानमा स्थान्तरण, पर्यटन तथा होटल व्यवसायी प्रतिष्ठान (नाथम)द्धारा अन्तरक्रिया कार्यक्रम, महिला उद्यमी कृषि प्रर्दशनी, नेत्रज्योति संघको  महाधिवेशन, एकीकृत अखिल नेपाल शिक्षक संघ महिला विभागको तेस्रो राष्ट्रिय सम्मेलन, रिटर्नी नेपालको प्रथम महाधिवेशन, आदिवासी जनजाति महोत्सव तथा व्यपार मेला, अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता, विषेश साँस्कृतिक कार्यक्रमसहित नयाँ वर्ष उत्सवलगायतका कार्यक्रम भइसकेका छन् ।    मार्च १ गते नारायणी नदी किनारमा देशका शिर्ष नेतृत्व र विशाल जनसागरकोे उपस्थितिमा भ्रमण वर्षको शुभारम्भ गरिएको थियो । महानगरपालिकाले दिएको तथ्याङ्क अनुसार उद्घाटन समारोहमा एक लाख बढी व्यक्तिको सहभागिता रहेको थियो। भरतपुर भ्रमण वर्षको अवसरमा महानगरको कार्यपालिका बैठकबाट विभिन्न ५१ वटा कार्यक्रमहरु तय भएका छन् । जसमा भ्रमण वर्षको उद्घाटन तथा समापन कार्यक्रम २ वटा, मेला महोत्सव तथा प्रर्दशनी १० वटा, सेमिनार तथा गोष्ठी ६ वटा, पर्यापर्यटनका कार्यक्रम ५ वटा, ¥याली, म्याराथन, खेलकुद, साहित्यिक कार्यक्रम, राष्ट्रिय अधिवेशन ३/३ वटा, राष्ट्रिय सम्मेलन ४ वटा, धार्मिक पर्यटनका कार्यक्रम ४ वटा, फुड फेष्टिवल ६ वटा रहेका छन् । महानगरपालिकाको भ्रमण वर्ष सफल बनाउन ५१ बाहेक विभिन्न संघ संस्थाले पनि कार्यक्रम गर्दै आइरहेका छन् । कार्यक्रमहरु १ दिनेदेखि ११ दिनसम्म हुने भएकाले महानगरमा अधिकांश समय कुनै न कुनै कार्यक्रम जारी रहने भरतपुर महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीले जानकारी दिए। फुड फेष्टिवल तथा मेला महोत्सवहरुमा विषेश साँस्कृति कार्यक्रम पनि समावेश गरेकाले भ्रमण वर्ष थप उत्सवमय देखिने पर्यटन विज्ञ सुवेदीले बताए। भरतपुरका होटलहरु भरिभराउ हुनुले यहाँको पर्यटन गतिविधि पनि बढ्दै गएको संकेत देखिएको छ । कोरनाकालपछि पहिलो पटक यहाँका होटल भरिभराउ भएको व्यवसायीहरु बताउछन् । स्वदेश तथा विदेशबाट भरतपुर घुम्न जानुपर्छ भन्ने लहर पनि देखिएको छ ।  भरतपुर महानगरपालिकाले भ्रमण वर्षको अवसरमा नेपाल सरकारको मन्त्रिपरिषदको बैठक भरतपुरमा बसाउनको लागि पत्राचार पनि गरेको छ । यसैबीचमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार, धर्मगुरु पनि भरतपुरमा आउने कार्यक्रम छ ।महानगरपालिकाले विदेशी पर्यटकलाई भरतपुर भित्रयाउने लक्ष्यसहित राजदूतहरुको सम्मेलन पनि हुँदैछ । भ्रमण वर्षको लागि पर्यटन बोर्डबाट रु ७० लाख विनियोजन भएको छ भने असारसम्म हुने कार्यक्रम सञ्चालन गर्न रु ३ करोड विनियोजन गरिएको छ । आर्थिक मन्दी र आम जनतामा भएको निराशालाई हटाउन निजी क्षेत्रको सहकार्य र भरतपुर महानगरको आयोजना गरिएको भरतपुर भ्रमण वर्ष २०२४ उत्सवै उत्सवको वर्ष बनेको हो । यहाँ आउने पर्यटकलाई लक्ष्ति गरी होटल तथा रेष्टुरेष्टहरुले ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् । भरतपुरमा प्याराग्लाईडिङ–बोटिङ, जंगल सफारीदेखि होमस्टेसम्मको मज्जा लिन सकिन्छ ।महानगरपालिकाले मुख्य ७ पर्यटकीय गन्तव्यसहित विभिन्न ४० वटा गन्तव्यको पहिचान पनि गरिसकेको छ ।  

यस्तो रहनेछ आजको मौसम

काठमाडौं ।नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको हो।  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।  विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।  कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।  उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।  विभागका अनुसार राति कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा  रहनेछ ।  कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

संवैधानिक परिषद्को बैठक बालुवाटारमा जारी

काठमाडौं । संवैधानिक परिषदको बैठक जारी छ । बैठक परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बालुवाटारमा बसिरहेको हो ।  आजको बैठकमा रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने विषयमा छलफल हुने बताइएको थियो । प्रधानमन्त्री प्रचण्डले यस विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पटक पटक छलफल गरेका थिए। संवैधानिक परिषद्‌को बैठकमा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सहभागी छन् ।

सभ्य र मर्यादित भएर होली खेल्न केपी ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभ्य र मर्यादित भएर होली खेल्न आग्रह गरेका छन्। शनिबार एमाले मधेश सम्पर्क कमिटीको होली विशेष कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले रंगहरूको पर्व होलीलाई उच्छृङखल गतिविधिबिना सभ्य भएर मनाउन आग्रह गरेका हुन्। अध्यक्ष ओलीले होली मनाउँदा अरुको स्वतन्त्रतामाथि खलल नपर्नेगरी आफ्नो स्वतन्त्रता प्रयोग गर्नुपर्ने उल्लेख गरे। 'होली खेल्दा विचार गरेर खेल्नुपर्ने हुन्छ। अरुमाथि आघात पुर्‍याउनु हुँदैन। सामाजिक मित्रतामाथि ध्यान दिनुपर्छ। बलजफ्ती रंग लगाउनुहुँदैन। त्यहँ ठूलो अप्रियता हुनसक्छ। अरुको स्वतन्त्रतामाथि खलल नपर्ने गरी आफ्नो स्वतन्त्रता प्रयोग गर्नुपर्छ। रंग दल्दिँदैमा रमाइलो हुँदैन। दलिमाग्ने मान्छेले पनि रमाइलो मान्नुपर्छ। इच्छाविपरित रमाइलो हुँदैन। इच्छामा मात्रै रमाइलो हुन्छ,' उनले भने, 'लोला हाल्ने र गोला फाल्ने त गर्न नै हुँदैन।' होली सबै पर्वभन्दा पुरानो पर्व बताउँदै अध्यक्ष ओलीले यो पर्वमा रंग लगाउँदा वा गीत गाउँदा छुट्टै खालको उमंग मिल्ने बताए। हरेक चाडपर्वहरू समाज विकाससँग जोडिएको भन्दै देखापरेका विकृति विसंगतिहरूलाई हटाउँदै लैजानुपर्नेमा उनले जोड दिए। 

फिफा विश्वकप–२०२६ छनोट : नेपाल र बहराइनबीच प्रतिस्प्रर्धा हुँदै

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणको खेलमा आज नेपाली राष्ट्रिय टिम र बहराइनबीच प्रतिस्प्रर्धा हुँदैछ। पहिलो चरणको खेलमा लाओसलाई १–० ले हराएर नेपालले दोस्रो चरणमा स्थान बनाएको हो। दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा छ। दोस्रो चरणमा दुई खेल खेलिसके पनि नेपाल अझै अंकविहीन छ। यसैकारण बहराइनसँग पहिलो लेग खेल्दा भिन्चेन्सो अल्बर्टो एनेसको प्रशिक्षणमा रहेको नेपाली टिम आज पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ। बहराइनलसँगको पहिलो लेग घरेलु मैदानमा हुने तालिका थियो । तर, अन्तर्राष्ट्रिय स्तरको एकमात्र दथरथ रंगशालाको स्तर खेल्नलायक नभएपछि पहिलो र दोस्रो दुवै लेग बहराइनमा हुने भएको हो। बहराइनको बहराइन राष्ट्रिय रंगशालामा हुने पहिलो लेग राति १२ः४५ बजेदेखि सुरु हुनेछ । तालिकाको पुछारमा रहेको नेपाल अंकविहीन छ। यो समूहमा नेपालसँगै बहराइन, यमन र युनाइटेड अरब इमिरेट्स (यूएई) छन्। नेपालले यसअघि पहिलो खेलमा यूएईसँग ४–० को र दोस्रो खेलमा यमनसँग २–० को हार व्यहोरेको थियो। यता, बहराइनले पनि यसअघि दुई खेल खेल्दा एकमा जित र अर्कोमा हार बेहोरेको छ। तीन अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको बहराइनले यसअघि यूएईसँग २–० को हार व्यहोर्दा दोस्रो खेलमा यमनलाई २–० ले हराएको थियो।