संकटमा अन्ध गल्छी : सडकका ढुंगा गल्छीमा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा अवस्थित विश्वकै सबैभन्दा गहिरो गल्छी ‘अन्धगल्छी’को चर्चा विश्वभरि हुन् ।

लोकसेवा आयोगको परीक्षा र हाजिरीजवाफमा पनि संसारकै गहिरो गल्छीको नाम के हो र यो कहाँ पर्छ भनेर सोधिन्छ यही गल्छीलाई । विश्वभर चासो र चर्चा हुने अन्धगल्छीको अवस्था भने दयनीय छ ।

सांसरकै गहिरो गल्छी बेनी–जोमसोम–कोरला सडक आयोजनाको स्तरोन्नतिका क्रममा मुख्य आकर्षक मानिएको गल्छीको आधा भाग पुरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने बेलामा दानाको काभ्रेमा सडक विस्तार गर्दा ठूला ढुंगा गल्छीमा खसाल्ने गरिएको छ । उत्तर–दक्षिण अन्तरदेशीय व्यापारिक महत्व तथा प्रदेश नं ४कै मुख्य मार्ग मानिएको सडकखण्डमा काम गरिरहेको शर्मा गजुरमुखी जेभीका मजदूरले सडकबाट गल्छीमा ढुंगा माटो खसाल्न थालेपछि गल्छीको अस्तित्व संकटमा परेको हो ।

“गल्छी हेर्न गएका पर्यटक निराश भएर फर्कछन् । सडकले गल्छी नै संकटमा परेको कसैलाई मतलव छैन”, अन्नपूर्ण–३ का वडासदस्य हस्तबहादुर पुनले भन्नुभयो ।

“साँघुरो गल्छी भएकाले खसालिएका ठूला ढुंगा बर्खाको समयमा समेत बगाउन मुस्किल हुने भएकाले समयमै संरक्षणका लागि पहल आवश्यक छ”, उहाँले जोड दिनुभयो । स्थानीयवासीले सीमित सरकारी बजेटमा लामो समयसम्म जनश्रमदान गरी रुप्से झरनाबाट अन्धगल्छीसम्म पुग्ने पूर्वाधार, प्रतीक्षालय, पदमार्ग बनाइए पनि बजेट अभावमा यसको मर्मत हुन सकेको छैन ।

विश्वभरबाट गल्छीको खोज तथा अनुसन्धानमा आउनेले अन्धगल्छीलाई संसारकै सुन्दर र लुकेको गल्छीका रूपमा समेत व्याख्या गर्ने गरेका छन् । छिमेकी देश चीनको तिब्बतबाट मुस्ताङका विभिन्न खोला मिसिएर बग्ने कालीगण्डकीको खोचलाई विश्वमै गहिरो मानिन्छ । “पूर्वाधारको अभावका कारण धेरै समस्या भइरहेको छ । अझै गल्छी नै संकटमा परेको अवस्थामा सबैको चासो पुग्नुपर्छ” धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले भन्नुभयो । उहाँले रुप्से झरना र अन्धगल्छी विश्वकै नमूना पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा उल्टो जलविद्युत् आयोजना बनाउने र सडक विस्तारका नाममा गल्छीको नाश गर्न खोजिएको आरोप लगाउनुभयो ।

पर्यटकीय गन्तव्य–भकिम्ली

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली गाउँदेखि केही माथि रहेको स्वर्गाश्रम मन्दिर र बेलढुंगामा सामान्य पूर्वाधार निर्माण र प्रचारप्रसार गर्न सक्ने हो भने भकिम्ली सदरमुकाम बेनीदेखि छोटो दूरीको सुन्दर पर्यटकीय गन्तव्य बन्न सक्ने सरोकारवालाले बताएका छन् ।

प्रदेश नं ४ का सांसद विनोद केसी, बेनी नगरपालिकाका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत सरोकारवालाहरुले हालै अवलोकन भ्रमणपछि सो कुरामा जोड दिएका हुन् ।
सांसद केसीले जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासमा ध्यान दिनुपर्ने र यहाँका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको दिगो विकास गरी आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन सकिने हुँदा यसका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले स्वर्गाश्रम तथा बेलढुंगाको विकासका लागि स्थानीय र जनप्रतिनिधिले ध्यान दिनुपर्ने र जिल्लामा रहेका पर्यटकीय र धार्मिक क्षेत्रको विकास गरी म्याग्दीलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्न सकिने बताउनुभयो ।

प्राचिन कालमा स्वर्गाश्रम मन्दिरमा ऋषि एवं माताहरु आएर तपस्या गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । स्वर्गाश्रम र बेलढुंगाबाट म्याग्दीको पर्यटकीय तथा धार्मिक क्षेत्र, विभिन्न जिल्लाका साथै डाँडाकाँडा र धौलागिरि एवं अन्नपूर्ण रेञ्जका हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न पाइन्छ । रासस

चिनियाँ नेता छेन्ले भेटे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गांग नेतृत्वको प्रतिनिधिमण्डलले आज भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ । भेटमा प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिनपिडको नेतृत्वमा चीनमा गरिबीको अन्त्यसहित भएको चौतर्फी विकास असाधारण रहेको उल्लेख गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । चिनियाँ नेता छेन्‌ले नेपालका राजनीतिक दलले गरेका निर्णयमा आफूहरुको सम्मान रहने र भ्रमणका क्रममा आएका विषयवस्तु महासचिव सीलाई जानकारी गराउने बताउनुभयो। यसअघि छेन्‌ नेतृत्वको प्रतिनिधिमण्डलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै गरेको थियो ।

१९ निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखको छ । कार्यालयले आज एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि २ वर्ष सम्मका लागि कालोसूचीमा राखेको जनाएको छ । साथै कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा भाग लिन नसक्ने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित एवं मर्यादित बनाइन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी एवं कार्यसम्पादनमा आधारित बनाइने बताएका छन्।प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले नेपालको संविधान र परराष्ट्र नीतिले परिलक्षित गरेअनुसार राष्ट्रको सर्वोपरी हित हुनेगरी राजदूतहरूको नियुक्ति हुने स्पष्ट पारेका हुन् । “राष्ट्रको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखलाई परिचालन गर्न सरकार प्रतिबद्ध छ,” प्रधानमन्त्री प्रचण्डले भने, “राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ बमोजिम सरकारले आवश्यक ठानेमा राजदूतलाई पदावधि पूरा हुनु अगावै निर्णय गरी फिर्ता बोलाउन सक्ने प्रावधान छ।” उनले देशको हित र कूटनीतिलाई मजबुत बनाउन वस्तुगत आधारमा राजदूतहरूको मूल्याङ्कन गरी सोहीअनुरूप व्यवस्थापन गर्ने नीति सरकारले अवलम्बन गर्दै आएको स्पष्ट पारे।  त्यसैगरी नदीको प्रकृति र यसले पारिररहेको असरलाई दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने देखिएकोले उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घको परियोजना सेवामार्फत्  जलवायु परिवर्तनसँग अन्तरसम्बन्धित गरी प्रतिवेदन तयार गरिएको र कार्यान्वयमा ल्याउने प्रक्रिया अगाडि बढेको जानकारी दिए।  शुक्लाफाँटा राष्ट्रिय निकुन्जबाट प्रभावितहरूको समस्याका बारेमा सरकार गम्भीर रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विषयको संवेदनशीलतालाई आत्मसात गर्दै विभिन्न आयोगका सुझाव समेटी पीडित जनताका समस्या स्थायीरूपमा समाधान गर्न सरकार कटिबद्ध रहेको स्पष्ट पारे।

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भई आज स्वदेश फर्किँदै छन् । प्रधानमन्त्रीसहितको नेपाली टोली आज अपराह्न साढे ४ बजे नेपाल एयरलाइन्समार्फत स्वदेश फर्किने छ । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्रीसहितको टोली आइतबार दिउँसो नयाँदिल्ली गएको थियो ।टोलीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीकी छोरी गंगा दाहाललगायत सहभागी छन् । आइतबार साँझ मोदीले आफ्नो तेस्रो कार्यकालको शपथ लिएका थिए । शपथ समारोहमा नेपालसहित सार्क मुलुकका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखहरुको उपस्थिति थियो ।शपथ पछि प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच भेटवार्ता समेत भएको थियो ।भने प्रधानमन्त्री प्रचण्डले नेपालमा उत्पादित एकमुखे रुद्राक्ष भारतीय प्रधानमन्त्री मोदीलाई उपहार दिएका थिए । 

प्रधानमन्त्रीले अरुण तेस्रोको ब्रेक थ्रु गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (मंलगबार) संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु गर्दै छन् । प्रधानमन्त्री प्रचण्ड काठमाडौंबाट ब्रेक थ्रुमा सहभागी हुनका लागि आज ९ बजे संखुवासभा तर्फ प्रस्थान गर्ने छन् ।  मंगलबार(आज) प्रधानमन्त्रीले अरुण तेस्रोको एक समारोहबीच ब्रेक थ्रु गर्ने कार्यक्रम तय भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । अरुण तेस्रोको ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसँगै  भारत सरकारको तर्फबाट आउने उच्च पदाधिकारी समेत आउँने छन् । अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण भारतीय सतलज कम्पनी (एसजेबिएन)ले गरिरहेको छ । प्रधानमन्त्रीले अरुण तेस्रोको ड्यामसाइट र पावारहाउसको हेलिकोप्टरबाटै अनुगमनसमेत गर्ने कार्यक्रम छ । बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङ मकालु– ५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका– ३ दिदिङ पुखुवाको पावरहाउसमा निस्कने सुरुङको ब्रेक थ्रु गरिने भएको हो । फ्याक्सिन्दादेखि पुखुवा निस्कने मुख्य सुरुङको लम्बाइ ११.८३७ किलोमिटर छ । सो सुरुङ छिचिलोएकाले ब्रेक थ्रु गरिने भएको हो ।

सैनिकमञ्चमा गणतन्त्र दिवस समारोह(तस्बिर)

काठमाडौं । काठमाडौंको टुँडिखेलस्थित सैनिकमञ्चमा विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता थियो। कार्यक्रममा विभिन्न साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ ।जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूमा दीपावलीलगायत कार्यक्रमहरू गरेर गणतन्त्र दिवस मनाउने निर्णय सरकारले गरेको छ। ​​​​​​​

संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै छ । कार्यदल सदस्य तथा रास्वपा सांसद शिशिर खनालका अनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबारमा बैठक बस्न लागेको हो । उनका अनुसार अब केहीबेरमा बैठक सुरू हुनेछ । बैठकले संसदीय समितिको टीओआर तयार पार्ने बताइएको छ । सत्तारुढ दल र प्रतिपक्षी दलबीच शनिबार दिउँसो भएको पटक पटकको छलफलपछि संसदीय छानबिन समिति बनाउने सहमति जुटेको थियो । तर समिति कस्तो बन्ने, जिम्मेवारी के के हुने जस्ता विषयमा सहमति भइसकेको छैन । कार्यदलमा कानुनमन्त्री पदम गिरी, एमाले प्रमुख सचेतक बर्तौला, कांग्रेस सहमहामन्त्री जीवन परियार र रास्वपा सांसद खनाल छन् । कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध पार्दै आएको छ ।

भरतपुरमा पूर्वाधार विकाससँगै कृषि क्षेत्रमा पनि उल्लेखीय सुधार भएको छ :  प्रमुख रेनु दाहाल

चितवन। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा पूर्वाधार विकाससँगै कृषि क्षेत्रमा पनि त्यही अनुपातमा विकास भएको बताएकी छन् । बिहीबार भरतपुर ७ मा निर्मित प्रेमवस्ती दुग्ध उत्पादक सहकारी संस्थाको ३ तले भवन उद्घाटन कार्यक्रममा उहाँले कृषि क्षेत्रमा भएको विकासले यहाँको उत्पादनमा पनि क्रमशः वृद्धि हुँदै गइरहेको उल्लेख गरिन् । भरतपुर महानगरपालिकाले नेपालमै पहिलो पटक दूधमा अनुदान दिन सुरुवात गरेको भन्दै उनले कृषिका अन्य पूर्वाधार निर्माणमा महानगरपालिकाले चासो दिदै आइरहेको बताइन्। भरतपुरले दुग्ध कृषकलाई २५ पैसाबाट अनुदान सुरु सरी हाल ३ रुपैयाँ पुराएको छ। यसबाट १० हजार कृषक लाभान्वित भएका छन् ।‘भरतपुरमा दैनिक १ लाख लिटर दूध उत्पादन हुन्छ, उनले भनिन्,‘ ५० हजार लिटर दूध भरतपुरमै खपत हुन्छ। ५० हजार बाहिरी जिल्लामा निर्यात गर्ने गरेको तथ्याङ्क छ। भरतपुर दूधमा अत्मनिर्भर छ।’ महानगरपालिका प्रमुख दाहालले अबको नीति तथा कार्यक्रममा उत्पादनलाई जोड दिन लागेको उल्लेख गरिन्। उत्पादन भनेको कृषि हो, यो सँगै सौन्दर्यकरण, सरसफाईलाई जोड दिइएको छ–उनले भनिन्। प्रमुख दाहालले भरतपुर महानगरले कृषि साझेदारी कार्यक्रमलाई जोड दिदै कृषकलाई विभिन्न किसिमका यन्त्र उपकरणहरु प्रदान गरिएको बताइन्। साझेदारीमार्फत ट्याक्टर, मिल्क ऐनालाईजर,हार्भेस्टर लगायतका उपकरणमा महानगरले साझेदारी गरेको उनको भनाई छ । कृषि क्षेत्रलाई थप सुधार गर्न यस वर्षको नीति तथा कार्यक्रममा अघिल्लो वर्षमा छुटेका महत्वपूर्ण कार्यक्रमहरु ल्याइने उनको भनाई थियो।भरतपुरमा भूमिगत सिँचाईमार्फत ७ हजार विघामा सिंचित भइरहेको र नारायणी लिफ्ट सिँचाईलाई १२ महिना सञ्चालन गर्न महानगरले बजेट विनियोजन गरी काम अघि बढाउने उनको भनाई छ । प्रेमवस्ती कृषि सहकारीले दैनिक १ हजार लिटर दूध संकलन गर्दै आइरहेको छ भने आफ्नै फर्म सञ्चालन गर्दै आइरहेको छ । आगामी साउनदेखि दैनिक ५० हजार लिटरको विकास पाउडर दूध उद्योग सञ्चालन गर्ने लक्ष्य लिएको छ । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले, वडा नम्बर ८ का अध्यक्ष जीवनाथ कँडेल, बागमती प्रदेशका पूर्वमन्त्री घनश्याम दाहाल अविनासलगायतले धारणा राखेका थिए ।कार्यक्रममा संस्थाका अध्यक्ष आन्नद प्रसाद न्युरेको अध्यक्षतामा भएको थियो ।  

कर्लाली प्रदशेमा एकिकृत कर्णाली सिचाई कार्यक्रम सुरु गरिने

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले कर्लाली प्रदशेमा एकिकृत कर्णली सिचाई कार्यक्रम सुरु गरिने बताएका छन्। मङ्गलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति पौडेलले कर्णालीको कृषि विकासका लागि सिँचाई कार्यक्रम सुरु गरिने बताएका हुन्। 

व्यवस्तताका बाबजुत हुम्ला र मुगुका  ‘छोरी’हरूसँग फुटबल खेल्दै ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेका हुम्ला र मुगुका बालिकाहरु ओली निवास बालकोट आउजाउ गरिरहन्छन् ।  काठमाडौंमै पठनपाठनको व्यवस्था गरिएका उनीहरुलाई ओलीले ‘छोरी’ सम्बोधन गर्छन् भने व्यवस्त समयका बाजजुत उनीहरुलाई समय दिइरहन्छन् ।  यस्तैमा मुगु र हुम्लाका छोरीहरु आइतबार पनि उनलाई भेट्न बालकोट पुगेका थिए ।  ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत हुम्ला र मुगुका छोरीहरुसँग भेट भएको भन्दै एक तस्बिर प्रकाशित गरेका छन् । ओलीका अनुसार ती बालिकाहरु कोही कक्षा ६ मा, कोही ५ मा र कोही १ मा पढ्छन्।   ओलीले उनीहरूसँग एकछिन् घरकै आँगनमा फूटबल खेलिएको भन्दै रमाइलोसँग दिन बितेको जानकारी गराएका छन् । 

कांग्रेस अब रचनात्मक प्रतिपक्षमा

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता समीकरण फेरिएसँगै आफ्नो पार्टी रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् । प्रतिनिधिसभाको बिहीबाको बैठकमा नेता लेखकले सो पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठकका निर्णयबारे जानकारी गराउँदै आफ्नो पार्टीले तत्कालीन गठनबन्धनप्रति इमानदारिता र सदासयता देखाउँदादेखाउँदै अकारण नयाँ गठबन्धन बनाइएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए। यही फागुन २१ गते सत्तागठबन्धनमा फेरबदल आएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पुनर्गठित सरकार संविधानको रक्षा, विद्यमान व्यवस्थाको सुदृढीकरण र मुलुकका दिगो शान्ति, सुशासन, समृद्धि र स्थिरता कायम गर्न सफल होस् भन्ने कामना गर्दै उनले विगतमा त्यही लक्ष्यका साथ आफूहरुसमेतले बनाएको गठबन्धन एकाएक टुटेको विषयमा आश्चर्य व्यक्त गरे । “हामीले नेताहरुका बिचमा मात्रै होइन जनताका माझमा कसम खाएर निर्वाचन जितेर आएका थियौँ । नेपाली कांग्रेसले गठबन्धनको संस्कृति र मूल्य, मान्यताअनुसार निष्ठा र मर्यादाका साथ सहयात्रा पालना गरिरहेको अवस्थामा पछिल्लो समयमा गठबन्धनप्रति अविश्वास हुने गरी प्रस्तुत हुने प्रवृत्ति बढ्यो”, प्रमुख सचेतक लेखकले भने, “सानातिना मुद्दा उछालेर प्रधानमन्त्री दाहालले एकपक्षीय ढङ्गले हामीसँगको गठबन्धन तोड्नुभयो ।” प्रतिपक्षमा रहेर रचनात्मक भई नमूनायोग्य काम गर्ने स्मरण गराउँदै उहाँले राम्रा कामको तारिफ गर्ने र कमजोरीका विषयमा रचनात्मकरुपमा विरोधी हुने बताए। नेता लेखकले संविधानमा मिश्रित निर्वाचन प्रणाली भएकाले कुनै पनि एक दलको बहुमत आउन नसक्ने र संविधानले गठबन्धनको संस्कृतिलाई आमन्त्रण गरेकाले गठबन्धन बन्ने र भत्कने क्रमलाई सामान्यरुपमा लिन सकिने भए पनि अहिले फेरिएको गठबन्धनको कारण र औचित्य पुष्टि हुन नसक्ने टिप्पणी गरे । उनले भने, “प्रधानमन्त्रीले कुनै मन्त्रीले काम गरेन वा काम गर्न दिएन भनेर भाग्न पाइँदैन । प्रधानमन्त्री देश र सरकारको नेता हो । समग्र कामको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ ।” रासस

परिवर्तनकारीहरु एकै ठाउँमा गोलबन्द हुने बेला आएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरु एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताएका छन् । २९ औं जनयुद्ध दिवसको अवसर पारेर दाङ र बर्दियाबाट पार्टीमा समाहित हुने राजनीतिक सामाजिक क्षेत्रका अगुवाहरुलाई स्वागत गर्दै उहाँले परिवर्तनकारीहरुको सुदृढ एकताबाट मात्रै परिवर्तनका उपलब्धिको रक्षा र विकास गर्न सकिने बताएका हुन् । ‘अहिले मुलुकमा परिवर्तनको नेतृत्व गर्ने र यसलाई उल्ट्याउन खोज्ने दुई धार देखिएको छ’– प्रधानमन्त्री प्रचण्डले भने– ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित समाजावाद निर्माणको धारको नेतृत्वमा हामीले गरेका छौं भने यसलाई उल्ट्याउन खोज्नेहरु पनि झिनो स्वरमा अघि बढ्न खोजिरहेका छन्, बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्ध जोगाउन सबै परिवर्तनकारीहरु एक ठाउँमा आउने बेला भएको छ ।’ विगतमा माओवादी आन्दोलनमा रहेकाहरुबीच संस्थागतरुपमा पनि एकीकरणको पहल भइरहेको उल्लेख गर्दै उनले योसँगसँगै व्यक्तिगतरुपमा पनि क्रान्तिकारीहरु ध्रुवीकृत भइरहेको बताए । जनयुद्धबाट स्थापित उपलब्धिलाई संरक्षण गर्ने दायित्व माओवादी नेता कार्यकर्ताकै भएकाले यसमा सबै गम्भीर भएर ध्रवीकरणमा सामेल हुनुपर्नेमा पनि उनले जोड दिए । ऐतिहासिक दिनमा पार्टीमा समाहित भएकोमा धन्यवाद दिंदै अध्यक्ष प्रचण्डले राजनीतिक र सामाजिक क्षेत्रमा गरेको योगदानको सम्मान गर्दै पार्टीमा उचित स्थान दिइने प्रतिबद्धता पनि व्यक्त गरे । सो क्रममा उनले पार्टी विधान र दस्तावेजहरुमा पर्यावरण संरक्षणको सवाल र यससम्बन्धी मोर्चालाई व्यवस्थित गरेर लैजाने पनि स्पष्ट गरे। सो क्रममा लामो विप्लव नेकपाको नेतृत्वमा रहेका दाङका युवा नेता ईश्वरी पाण्डे, सोही पार्टीमा रहेका तुलसीपुर खानेपानी संस्थाका पूर्वअध्यक्ष खेमराज ओली, पर्यावरण अभियन्ता गिद्ध संरक्षण राष्ट्रिय सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावत, एमालेमा रहनुभएका अगुवा व्यवसायी युवराज केसी र शैक्षिक अभियन्ता हिमाल डाँगीलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरे। त्यस्तै बर्दियाका युवा नेता एवं व्यवसायी मोहनलाल चौधरी पनि माओवादी केन्द्रमा प्रवेश गरे । नयाँ शक्तिको जिल्ला अध्यक्षहुँदै नागरिक उन्मुक्ति पार्टीमा केन्द्रीय सदस्यको भूमिका निर्वाह गरिसकेका चौधरी होटल संघ बर्दियाका अध्यक्ष समेत हुन् । कार्यक्रममा पार्टी स्थायी समिति सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, नेताहरु पूर्णा सुवेदी, निर्मल आचार्य, हेमराज शर्मा, तिलकराम शर्मा, धनबहादुर मास्की, सुरेश पन्त, शेषुराम भण्डारीलगायतको उपस्थिति रहेको थियो

मनी लाउन्डरिङ विधेयक राष्ट्रियसभाबाट स्वीकृत

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा व्यावसायिक वातावरण प्रवर्धन विधेयक राष्ट्रियसभाबाट स्वीकृत भएको छ । प्रतिनिधिसभाले संशोधनसहित पारित गरेर पठाएको विधेयक राष्ट्रियसभामा सर्वसम्मतिबाट स्वीकृत भएको हो । राष्ट्रियसभाका सदस्यहरूले विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा स्रोत नखुलेको सम्पत्ति गैरकानुनी ठहर नभएमा वैध हुने दफा २८ को प्रावधानमा गम्भीर चासोसहित सरकारको ध्यानाकर्षण गराएका थिए । जवाफमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आपराधिक कर्मबाट नकमाएको सम्पत्ति वैधानिकता दिने प्रक्रिया नपुगेमा मात्र वैध हुने बताए । तर, त्यस्तो सम्पत्तिमा ५० प्रतिशत कर लाग्ने व्यवस्था सरकारले गरेको मन्त्री गुरुङको भनाइ छ । मन्त्रीको जवाफपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो ।

फिफा महिला विश्वकप फुटबलमा आज पनि तीन खेल हुँदै

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज पनि तीन खेल हुँदैछन् । आज समूह सीमा रहेको जापान र कोस्टारिका, स्पेन र जाम्बिया तथा समूह बीमा रहेका क्यानडा र आयरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । जापान र कोस्टारिकाबीचको खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे हुनेछ । जापान लगातार दोस्रो जितका लागि राउन्ड अफ सिक्सटिन नजिक पुग्ने लक्ष्यमा रहँदा कोस्टारिका भने पहिलो जितको खोजिमा हुनेछ । कोस्टारिका आफ्नो पहिलो खेलमा स्पेनसँग पराजित भएको थियो । जापानले भने जाम्बियामाथि फराकिलो जित निकालेको थियो । यो समूहमा जापान शीर्ष र स्पेन दोस्रो स्थानमा छन् । यस्तै आज दिउँसो सवा १ बजे स्पेन र जाम्बिया आमने सामने हुनेछन् । आजको खेलमा स्पेन विजयी भए राउन्डअफ सिक्सटीनको यात्रा पक्का गर्ने छ । जाम्बिाय भने पहिलो जितको खोजिमा हुनेछ । यसैगरी आज साँझ पौने ६ बजे हुने खेलमा क्यानडा र आयरल्याण्ड भिड्ने छन् । यी दुई टिम समूह बीमा रहेका छन् । आयरल्याण्ड र क्यानडा दुवै टिम पहिलो जितेको खोजिमा हुने छन् । आयरल्याण्ड अस्ट्रेलियासँग पराजित हुँदा क्यानडाले नाइजेरियासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।

नेकपाका संस्थापक सदस्य कर्माचार्यको आज दशौँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदैँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक सदस्य नरबहादुर कर्माचार्यको आज दशौँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदैँछ । स्मृति दिवसका अवसरमा आज नेकपा (माओवादी केन्द्र) को पार्टी मुख्यालय पेरिसडाँडामा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले कर्माचार्यको पार्टी र सिद्धान्तप्रतिको निष्ठा सबैले अनुशरण गर्नुपर्ने बताए । उनले कम्युनिष्ट पार्टीले सिद्धान्त र व्यवहारलाई सँगसँगै मिलाएर लैजानुपर्नेमा कर्माचार्यले जोड दिने गरेको स्मरण गरे । आफू २०४८ सालमा सांसद हुँदा दिवगङ्त कर्माचार्यले देश र जनताको पक्षमा भूमिका खेल्न सजग गराएको स्मरण गर्दै उपाध्यक्ष महराले विभिन्न टुक्रामा विभाजित कम्युनिष्ट पार्टीको एकता कायम गर्ने पक्षमा कर्माचार्य रहेको बताए । माओवादी सचिव लीलामणि पोखरेलले कर्माचार्य सधैँ पार्टी एकताको हिमायती रहेको बताए। उनले भने, ‘कर्माचार्य जहिले पनि पार्टी विभाजनको विपक्षमा रहनुभयो, पार्टीको नीति निर्देशनलाई कडाइका साथ पालना गर्ने, विचारप्रति निष्ठावान् र सधैँ विचारमा अविचलित भइरहनुभयो ।’ विसं १९८१ कात्तिक १४ गते भाइटीकाको दिन ललितपुरको झपाटोलमा बुवा चन्द्रबहादुर र आमा श्रीकुमारीको कोखबाट जन्मिएका कर्माचार्यको २०७० साल साउन ९ गते काठमाडौँमा निधन भएको थियो । विसं २००६ मा भारतको कोलकातास्थित वडाबजारमा पुष्पलालको संयोजकत्वमा स्थापना भएको नेकपाको कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायणविलास जोशी सदस्य थिए । उनी विसं २००५ देखि प्रजातन्त्र सङ्घमा संलग्न भएर राणाविरोधी र मजदुर आन्दोलनमा सक्रिय सहभागी भएका थिए । आन्दोलनका क्रममा थुप्रैपटक कर्माचार्य जेल र निर्वासनमा समेत परेका थिए । तत्कालीन राष्ट्रिय कांग्रेसलाई मिलाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । कर्माचार्य चिनियाँ जनक्रान्ति र भारतको तेलङ्गाना किसान आन्दोलनबाट प्रभावित भएका थिए । पार्टी स्थापनापश्चात कर्माचार्य मजदुर सङ्गठनको संस्थापक अध्यक्ष भएका थिए । उनी २०१६ सालको निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुका साथै विसं २०१९ मा सम्पन्न तेस्रो महाधिवेशनबाट नेकपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । पार्टी टुटफुट र विभाजनपश्चात विभिन्न क्रान्तिकारी व्यक्ति र समूहलाई एकीकृत बनाउन उहाँले निरन्तर पहल गरिरहनुभएको थियो । यही क्रममा कर्माचार्य २०३१ सालमा नेकपा चौमको केन्द्रीय सदस्य, २०४८ मा विभिन्न चार पार्टीको एकतापश्चात एकता केन्द्र निर्माण र केन्द्रीय सदस्य तथा जीवनको अन्तिम समयसम्म नेपाल कम्युनिष्ट पार्टीको संरक्षक र सक्रिय भूमिका निर्वाह गरिरहे । उनी जीवनभर अविवाहित रहे । संस्थापक नेता कर्माचार्यलाई चरित्रवान, सामाजिक र लोकप्रिय व्यक्तित्व, विवादरहित, सादा जीवन र उच्च विचारका पर्यायका रूपमा लिइँदै आइएको छ ।