गृहमन्त्रीको सम्बोधन र संसदबारे छलफल गर्न काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक अहिले बिहान ९ बजे बस्दैछ । सहकारीको बचत रकम अपचलनको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठनको माग गर्दै आएको काँग्रेसले अब संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा बनाउन सोमबार बिहान ९ बजे संघीय संसद् भवनमा बस्ने गरी दलको बैठक बोलाएको हो । 

बैठकअघि सभापति एवम् दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिमा छलफल गर्ने बताइएको छ । काँग्रेसले करिब एक महिनादेखि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएकोमा आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै आफूले सहकारीको रकम दुरुपयोग नगरेको दाबी गरेका थिए । 

कांग्रेसको आजको बैठकमा गृहमन्त्रीको सम्बोधन, अब सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्नेछ। गृहमन्त्रीको सम्बोधन लगत्तै आइतबार साँझ पत्रकार सम्मेलनका क्रममा महामन्त्री गगन थापाले भने संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताइसकेका छन् । 

संसदीय छानबिन समिति बनाउन विषयमा सत्तापक्ष र प्रतिपक्षबीच शनिवारै सैद्धान्तिक सहमति भइसकेको छ । तर आइतबारको समितिको कार्यक्षेत्रका विषयमा भने सहमति हुन सकेन । काँग्रेसले गृहमन्त्री लामिछानेलाई नै तोकेर समग्र सहकारीको छानबिन गर्नुपर्ने अडान लिएको छ भने सत्ता पक्षले व्यक्ति वा निश्चित संस्था नतोकीकन मुद्दा केन्द्रीति भएर सहकारीको छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ ।

राप्रपा केन्द्रीय कार्यालयमै कुटिए नेता मोहन श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यालयमा कुटाकुट भएको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा नेताहरु बैठकबाट बहिरिदै गर्दा कुटाकुट भएको भिडियो सार्वजनिक भएको छ । राप्रपाका नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट भएको हो ।पार्टी कार्यालय, धुम्बाराहीस्थित केन्द्रीय कार्यलयमा अध्यक्ष राजेन्द्र लिंदेनको कार्यकक्षबाट निस्कने क्रममा श्रेष्ठमाथि हातपात भएको हो । लिङ्देनको कार्यकक्षबाट बाहिर निस्किएका उनलाई केही युवाले पछ्याएका थिए । भागेर निस्किन खोजेका उनलाई ढोकामै कुटपिट भएको हो। कुटाकुटपछि अध्यक्षल गायतका नेताहरुबिच पार्टी कार्यालयमा छलफल सुरु भएको छ । राप्रपाको केन्द्रीय कार्यासम्पादन समितिको बैठक बसेको थियो ।

रचनात्मक प्रतिपक्षको भूमिकामा रहन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली काङ्ग्रेसले रचनात्मक रुपमा प्रतिपक्षको भूमिकामा रहन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।  बिहीबार बिहान बसेको संसदीय दलको बैठकले प्रभावकारी रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशन दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले बताए ।  बैठकपछि उनले भने –‘अब कांग्रेसले संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ । हाम्रा सांसदलाई रचनात्मक रुपमा भूमिका निर्वाह गर्न दलको बैठकले निर्देशन दिएको छ ।’ बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय पनि गरेको लेखकले जानकारी दिए । लेखकले आफुहरुमाथि विश्वासघात भएको दावी गर्दै यसलाई राजनीतिक बेइमानीका रुपमा लिएको टिप्पणी गरे । प्रधानमन्त्री प्रचण्डले एमालेसहितको नयाँ गठबन्धन बनाएपछि सोमबार नेपाली कांग्रेस सरकारबाट बाहिरिएको थियो । मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही निर्णयलाई संसदीय दलको बैठकले पनि निरन्तरता दिएको हो ।

आजको मौसम : यी स्थानमा हुनेछ हल्कादेखि मध्यम वर्षा

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशका केही भू–भागमा आज वर्षा हुनेछ । हिजोबाट पश्चिमी न्यूनचापीय प्रणाली पुनः सक्रिय भएको छ ।  यो समाचार तयार पार्दासम्म मौसमको अवस्था  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली,  बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक र देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली, बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश सहित गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज राती देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेश सहित बागमती प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ। आज दिउँसो ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ । बैठकमा विधान अधिवेसनका निष्कर्षलाई पूर्णता दिएर विधान ल्याउने, समसामयीक राजनीतिक लगायतकाविषयमा छलफल हुने नेताहरुले बताएका छन् ।  माओवादी केन्द्रले  विशेष रूपान्तरण अभियानअन्तर्गत राम्रो काम गर्नेलाई सम्मान र काममा नखटिएकाहरूलाई कारबाहीका साथै सम्मानित र कारबाहीमा परेका तीन तीनजनाको नाम सार्वजनिक गरिने बताइएको छ सो विषयमा पनि बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक दश गते बस्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको छ ।  पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायत विषयमा छलफल हुनेछ ।  

राष्ट्रिय सुरक्षा र सेनाका विषयमा हल्का टिप्पणी नगर्न सुरक्षाविद्को सुझाव

काठमाडौं ।  जानकारहरूले राष्ट्रिय सुरक्षा र सेना जस्तो संवेदनशील विषयमा हल्का प्रतिक्रिया र पर्न सक्ने असरको आकलन नगरी टीकाटिप्पणी नगर्न सुझाव दिएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा ‘राष्ट्रिय सुरक्षासम्बन्धी नीति, मापदण्ड, सुरक्षा निकायबीचको समन्वय, व्यवस्थापनमा देखिएका प्रमुख सवाल, समस्या तथा चुनौती र भावी कार्यदिशा’ सम्बन्धी छलफलमा उनीहरूले यी दुवै संवेदनशील विषयमा उपयुक्त थलो र समयमा राष्ट्रिय सहमतिका आधारमा सम्बोधन गर्नु बुद्धिमानी हुने तर्क प्रस्तुत गरे। बैठकमा रक्षा मन्त्रालयका पूर्वसचिव देवेन्द्रप्रसाद सिटौलाले प्रत्यक्ष र अप्रत्यक्ष जिम्मेवारी बोकेको माथिल्लो अङ्गको रूपमा रहेको सेनाको मानमर्दन र भ्रम सिर्जना गर्ने काम कसैबाट हुन नहुने बताए । उनले भने, “गहन अध्ययन र अनुसन्धानका आधारमा उपयुक्त थलो र समयमा यसको तय हुन्छ । यो गम्भीर विषय हो । स्थिरता, शान्ति र समृद्धिका लागि राष्ट्रिय सुरक्षा सुदृढ हुनुपर्छ ।” राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले राष्ट्रिय सुरक्षालाई बलियो बनाउन सूचना प्राप्तिका आधारमा रणनीति तय गरेर जान उपयुक्त हुने धारणा राखे । “आतङ्कवाद, बहुपक्षीय सम्झौताका असर, नेपाललाई प्रभाव पार्ने विषय भएकाले सबैले त्यसप्रति चनाखो हुनुपर्छ । राष्ट्रिय सुरक्षाका बारेमा जानकार र प्रभावकारी व्यक्तिलाई विश्वासमा लिएर काम गर्नुपर्छ । त्यसो भएको खण्डमा राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन सहयोग पुग्छ”, उनले भने । द्वन्द्व समाधानसम्बन्धी विज्ञ डा विष्णुराज उप्रेतीले राष्ट्रिय सुरक्षाको विषयलाई केही व्यक्ति र संस्थाले गम्भीररूपमा नलिएको बताए । उनले भने, “राष्ट्रिय सुरक्षासम्बन्धी नीति, सम्झौतालगायतका महत्त्वपूर्ण दस्तावेजको सुरक्षा र संरक्षणमा राज्यले आवश्यक ध्यान पुर्याएको छैन ।” नेपाली सेनाका पूर्वसहायक रथी अजित थापाले समय, परिस्थिति र कालखण्डका आधारमा राज्यले आफ्नो प्राथमिकता तय गरी आधिकारिक निकायमा छलफल र बहसका आधारमा विषयवस्तुलाई टुङ्गोमा पुर्याउन सक्नुपर्ने बताए । “सुरक्षाकोे दृष्टिकोणबाट मौजुदा नीति र कानूनको सूक्ष्म मूल्याङ्कन तथा राष्ट्रिय सुरक्षाको आन्तरिक र बाह्य परिवेश विश्लेषण गरिनुपर्दछ”, उनले भने । सुरक्षासम्बन्धी जानकार गेजा शर्मा वाग्लेले राष्ट्रिय सुरक्षा नीति र विदेश नीतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताए । उनले भने, “राज्यका सबै अङ्गका विषयमा छलफल र बहस हुनपर्छ । सेना पनि राज्यको एउटा अङ्गको रूपमा रहेकाले यसका क्रियाकलापलाई पारदर्शी तुल्याउने सम्बन्धमा संसद्मा छलफल गरिनुपर्छ भन्ने आफ्नो मान्यता हो ।” समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सुरक्षासम्बन्धी महत्त्वपूर्ण विषयमा सार्थक बहस गरी औचित्यपूर्ण निर्देशन दिन विज्ञसँग छलफल गरेको बताए । यसअघि बैठकमा सदस्यहरूले मुलुकको समग्र राष्ट्रिय सुरक्षा र सेनाको सङ्ख्याका विषयमा उठेका प्रश्नबारे जिज्ञासा राख्दै अराजनीतिक संस्थाका रूपमा रहेको सेनाका बारेमा तथ्य, प्रमाण र अध्ययन, अनुसन्धानबिना धारणा राख्न उपयुक्त नहुने बताए। उनीहरूले राष्ट्रिय सुरक्षाका विषयमा दलबीच एकमत हुन आवश्यक रहेको भन्दै राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्नुपर्ने, प्राथमिकताका आधारमा कार्यदिशा तय गर्नुपर्ने र अनुसन्धानका आधारमा कानून बनाउनुपर्ने लगायतका विषय छलफलमा उठान गरेका थिए ।

कोशी सरकारको वैधानिकतामाथि आजबाट पूर्ण इजालासमा बहस हुने

काठमाडौं । कोशी प्रदेश सरकार गठनको वैधानिकतामाथि आजबाट सर्वोच्च अदालतको पूर्ण इजालासमा बहस हुने भएको छ । पूर्ण इजलास आज तोकिने छ । गत असार २१ गते कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन (हस्ताक्षर) पेश गरेर मुख्यमन्त्री बनेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो । मुख्यमन्त्री थापा, सभामुख गौतम र प्रदेश प्रमुख खापुङलाई विपक्षी बनाएर दिएको मुद्धामा सोमवार सुनवाई हुँदा न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सो रिट निवेदन पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो । एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सभामुखको समर्थनबाट सरकार गठन हुनु गैरकानुनी भन्दै रिट दायर गरेका थिए ।

नेपालमा रहेको लगानीको अवसरबाट फाइदा लिन विदेशी उद्योगी व्यवसायीलाई गृहमन्त्री श्रेष्ठको आग्रह

काठमाडौं । । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लगानी प्रणालीमा उल्लेख सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवम् संरक्षण गर्ने नीति लिएको बताएका छन् । चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटनसत्रलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले प्रत्यक्ष वैदेशिक लगानीलाई मध्यनजर गर्दै नेपालले व्यापार र लगानीमैत्री नीति अवलम्बन गरेको भन्दै लगानी गर्नआग्रह गरे । नेपालमा लगानीका अवसरबारे जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने “हाम्रो कर स्वल्याबहरू सबभन्दा कम छन्, व्यापारका लागि पनि उपयुक्त वातावरण छ । त्यसैले नेपालको जलविद्युत्, पर्यटन, कृषि, खनिज, खानीलगायतका क्षेत्रमा लगानीका अवसरहरू छन् ।” उनले नेपालको कानुनले लगानीबाट आर्जन गरेको आम्दानीलाई लगानीकर्ताको देशमा लैजानका लागि पूर्णरूपमा अनुमति दिएको पनि स्पष्ट पारे । वैदेशिक लगानीका सम्बन्धमा पछिल्लो समय नेपालले लिएको नीतिबारे जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, “नेपालमा दर्ता भएका विदेशी कम्पनीहरूले जग्गा खरिद, स्वामित्व लिन र बिक्री गर्न पनि सक्नेछन्, स्वदेशी र विदेशी लगानीलाई कुनै भेदभाव गरेको छैन । निजी उद्योगलाई राष्ट्रियकरण गर्ने नीति पनि छैन ।” पछिल्लो समय सुधार भएका कानुनले व्यवसाय प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास दिलाउँदै उनले श्रम कानुनलाई सुधारेर कम खर्चिलो जनशक्ति उपलब्ध गराउने नीति लिइएको जानकारी दिए । प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ) को सञ्चालनका लागि प्रक्रियामा सरलता कायम गर्नका लागि आफूहरू गम्भीर भएर लागिपरेको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, “एफडिआइको स्वचालित स्वीकृतिका लागि आवश्यक नियमहरू विकास गर्दछौँ ।” उनले चीनका साथै सम्मेलनमा सहभागी हुन छेन्दु आएका विदेशी उद्योगी व्यवसायीलाई नेपालमा रहेको लगानीको अवसरबाट फाइदा लिन पनि आह्वान गरे। पछिल्लो समय नेपालमा विकास भएका लोकतान्त्रिक पद्धतिको स्थायित्व र संस्थागत विकासका लागि पनि नेपालमा वैदेशिक लगानी आवश्यक भएको जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने “ऐतिहासिक शान्ति प्रक्रिया, लोकतान्त्रिक राजनीतिक परिवर्तन, गणतन्त्र र समाजवादोन्मुख समावेशी लोकतन्त्र स्थापनार्थ जारी संविधानको संस्थागत गर्न आर्थिक समृद्धि र विकास जरुरी छ, त्यसका लागि नेपाललाई एफडिआइसहित अन्तर्राष्ट्रिय सहयोगको आवश्यक छ ।” नेपाल–चीनबीचमा सताब्दीऔँदेखि उत्कृष्ट सम्बन्ध र मित्रता रहँदै आएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, दुई देश पहाड र नदीले जोडिएका छन्, हामी भौगोलिक निकटता र सांस्कृतिक आत्मीयताले गाँसिएका छौँ, हाम्रो असल मित्रता विश्वसनीय छन् ।” नेपाल–चीन एकअर्काको सार्वभौमसत्ता, भौलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको पक्षमा अडिग रहँदै आएको उल्लेख गर्दै उनले भने “नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ, आफ्नो भूमि चीन र अन्य छिमेकीको हितविरुद्ध प्रयोग हुन नदिनेमा सधैँ प्रतिबद्ध छ ।” नेपालको विकासमा चीनले महत्त्वपूर्ण सहयोग पुर्‍याउँदै आएको स्मरण गर्दै उनले भने, “हाम्रो खुसीका लागि चीनले उच्च गुणस्तरीय पूर्वाधार निर्माण, समृद्धिको लागि पहल, मानवता र प्रकृतिबीचको सद्भाव प्रवर्द्धन गर्ने र मानव उन्नति र विकासका नयाँ स्वरूप सिर्जनामा महत्त्व दिएको छ ।” उपप्रधानमन्त्री श्रेष्ठले नेपालजस्ता विकासोन्मुख देशहरूको क्षमता विकास र समृद्धिसहित आधुनिकीकरणमा चीनले पुर्‍याएको सहयोगको प्रशंसा गरे ।

कोरोना अपडेट : ६४ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६४ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा एक हजार १ सय ७० वटा नमुना परीक्षण गर्दा ६४ जनामा कोरोना पुष्टि भएको हो । हाल देशभर ३५७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितमध्ये १५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ।

सांसद साहमाथि सिके राउतका कार्यक्रर्ताको भेषमा एमालेले आक्रमण गरेको खुलासा , कडा कारबाही गर्न माग

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले आफ्ना पार्टीका नेता नेता प्रमोद साहमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । आज बिहान सर्लाही, ईश्वरपुर नगरपालिका बयलबास बजारमा बाटो निर्माणको सम्बन्धमा भएको विवादमा सांसद साहमाथि आक्रमण भएको थियो । आक्रमणमा परी उनी घाइते भएका छन् । जसपाले आज एक विज्ञप्ति जारी गरी एमालेका कार्यकर्ताहरूले पार्टीका केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक प्रमोद साहलाई साङ्घातिक हमला गरी गम्भीर घाइते बनाएको आरोप लगाएको छ । एमाले कार्यक्रर्ताले सांघातिक आक्रमण गरेर जनमत पार्टीका कार्यक्रर्ताले आक्रमन गरेको भन्दै प्रचार गरेको बताईएको छ । आक्रमणबाट सांसद साहको टाउकोमा गम्भिर चोट लागेको छ । पार्टी कामको सिलसिलामा गृह जिल्ला पुगेका साहमाथि सुनियोजित ढङ्गबाट आक्रमण गरी घटना गराएको र त्यसबाट साहलाई लगायत अन्य नेता तथा कार्यकर्ता घाइते भएको जसपाले दाबी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘एमालेले यस्ता घृणित र आपराधिक क्रियाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं एमाले हुनेछ ।’ घटनाका दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न जसपाले माग गरेको छ । साथै उनीहरूको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन पनि माग गरेको छ । यस्तो छ प्रेस विज्ञप्ति  

टर्की र ग्रीसको सीमा नजिकै चिसोले १९ आप्रवासीको मृत्यु, नेपाली पनि हुन सक्ने आशंका

काठमाडौं । टर्की र ग्रीसको सीमानजिकै चिसोले कठ्यांग्रिएर मृत्यु हुने आप्रवासीको संख्या १९ पुगेको छ। टर्की सरकारका एक मन्त्रीले टर्कीबाट ग्रीसतर्फ प्रवेश गर्न खोजिरहेका आप्रवासीहरुको चिसोले कठ्यांग्रिएर मृत्यु भएको बताएका हुन्। टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयुलुले ट्वीटरमा मृतक कुन देशका हुन् भन्ने नखुलेको तर ग्रीसको सीमानजिकै चिसोले उनीहरुको मृत्यु भएको लेखेका छन्। चिसोले मरेका ती व्यक्तिहरुको बुधबार १२ जना र बिहीबार ७ जनाको शव भेटिएको टर्कीका अधिकारीहरुले बताएका छन्। कतिपय आप्रवासी जुत्ता/चप्पल नलगाएको र शरीरमा जाडो छल्ने कपडासमेत नभएको अवस्थामा भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अवैधानिक रूपमा युरोप जान खोज्ने आप्रवासी कामदार टर्की हुँदै ग्रीस प्रवेश गर्ने गरेको बताइन्छ। यस घटनापछि टर्कीका मन्त्री सोयुलुले युरोपेली युनियनले मानवीय व्यवहार नदेखाएको आरोप समेत लगाएका छन्। उता ग्रीसले भने आफ्ना कारण आप्रवासीको मृत्यु नभएको भन्दै उक्त आरोपको खण्डन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले लेखेका छन्। ग्रीसका आप्रवासन मन्त्री नोटिस मिटाराचीले ट्विटरमा भनेका छन्, ‘टर्कीनजिकै इप्साला सीमामा १२ आप्रवासीको मृत्यु भएको कुरा निकै दुःखद हो। उनीहरू ग्रीस छिर्न खोजेका थिएनन्।’ उनले टर्कीका आन्तरिक मामिलामन्त्रीको आरोप ‘प्रचारबाजी’ मात्र भएको पनि बताएका छन्। टर्कीका राष्ट्रपति रेचेप तय्यप एर्दोआनले पनि बिहीबार आप्रवासीलाई ग्रीसले जबरजस्ती फिर्ता पठाउने गरेको उल्लेख गर्दै उसको ‘वास्तविक तस्बिर’ उजागर गर्ने बताएका छन् । Tarih: 2.2 2022 Yer: İpsala Yunanistan Sınırı Ayakkabıları çıkarılmış, elbiseleri soyulmuş Yunan sınır birlikleri tarafından geri itilmiş 22 göçmenden 12’si dondu AB çaresiz, cılız ve insanlıktan yoksun. Yunan sınır birlikleri, mağdura cani, FETÖ’ye müşfik Allah rahmet eylesin pic.twitter.com/yBFObmdSxk — Süleyman Soylu (@suleymansoylu) February 2, 2022 पछिल्लो समय नेपालबाट पनि टर्की हुँदै अवैध तरिकाले युरोप जानेहरूको संख्या बढिरहेको छ। ग्रीसको राजधानी एथेन्सबाट ५ सय २ किलोमिटर पूर्वमा गत कात्तिक २५ मा भएको गाडी दुर्घटनामा चार नेपालीको मृत्युसमेत भएको थियो। पछिल्लो घटनामा नेपाली नागरिक परे/नपरेकोबारे बुझ्ने काम भइरहेको टर्की मामिलासमेत हेरिरहेका पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले बताए। टर्कीको राजधानी इस्तानबुलमा रहेका गैरआवासीय नेपाली संघका अध्यक्ष उज्ज्वल घिसिङले उक्त घटनामा नेपाली र बंगाली नागरिक पनि परेको हुन सक्ने बताएका छन्। एक जना नेपाली चार दिनदेखि ग्रीसको सीमा नजिकै पुगेपछि हराइरहेको भनेर नेपालबाट आफन्तले सन्देश पठाएको उल्लेख गर्दै घिसिङले घटनाका बारेमा बुझ्ने प्रयास गरिरहेको बताए। वैदेशिक रोजगारीका लागि टर्की पुगेका कञ्चनपुरको कृष्णपुर-२ बंकका ३० वर्षीय दिव्यदेव अवस्थी सम्पर्कविहीन भएपछि परिवारले सोधखोजका लागि हारगुहार गरेका छन्। इस्तानबुलबाट ग्रिसतर्फ जाने क्रममा सीमा क्षेत्रमा पुगेपछि हिमपातमा परेर सम्पर्कविहीन भएको उनका आफन्तले बताएका छन्।

प्रचण्डलाई प्रश्न गर्ने रायमाझीको हैसियत र नैतिकता के ?

समाचार टिप्पणी .नेकपा माओवादी केन्द्रले पार्टीको निर्णयविरुद्ध लागेका चार जना संसदहरुलाई पार्टीबाट निष्काशन गरेको भन्दै संसद सचिवालयमा सूचित ग¥यो । संसदमा सभामुखले चार जना संसदलाई संसदीय दलबाट निष्काशित गरेको निवेदनको जानकारी गराउँदै उनीहरुलाई पदमुक्त भएको घोषणा गरे । लगत्तै एकजना संसद तथा केपी ओली सरकारका मन्त्रीले प्रश्न गरे– “मलाई हटाउने प्रचण्डको हैसियत के ?” सामाजिक सञ्जालमा माझीलाई प्रश्नको ओइरो लाग्यो– प्रचण्डको हैसियत सोध्ने तपाई को हो ? उनको हैसियत सोधाईबारे कतिपयले रमाइलो टिप्पणी पनि गरे र भनेँ –पोइल गइसकेकी महिलाले पुरानै लोग्नेलाई किन घरबाट निस्कि जा भनेर प्रश्न सोध्ने ? साँच्चिकै प्रचण्डको हैसियत सोध्ने सामथ्र्य राख्छन् त माझीले ? माझीको भनाईमा उनीलाई पद हैन, पार्टी चाहिन्छ रे ? जनता चाहिन्छ रे । पदका लागि मरिहत्ते गर्ने त प्रचण्ड हुन ? रायमाझीलाई नचिन्नेहरुका लागि उनले भनेको कुरा ठीकै हो पर्न सक्ला । तर इतिहासका कतिपय घटनाक्रमहरुले रायमाझीको यो निर्लज्ज अभिव्यक्ति मात्रै रहेको पुष्टि गर्दछ । रायमाझीलाई नजिकबाट चिन्नेहरु र अझ माओवादी आन्दोलनमा उनीसँग संगत गरेकाहरुका लागि उनको परिचय ‘अवसरवादी’को हो । अर्थात् उनले खुला राजनीतिमा आइसकेपछि जहिल्यै पनि पद र पैसाको बार्गेनिङ गरे । बाबुराम भट्टराईले माओवादी केन्द्र विभाजन गरे । टोपबहादुर बाबुरामका प्रिय मानिस थिए । टोपबहादुर पनि बाबुरामसँगै जान्छन् भन्ने कतिपयलाई पर्यो । त्यो दिनभरी टोपबहादुर सम्पर्कमा देखिएनन् । भोलीपल्ट उनले प्रचण्डसँगै बस्ने निर्णय गरे । त्यतिखेर उनले प्रचण्डको हैसियत के हो भनेर सोधेनन् । किनभने उनले मन्त्री पदको बार्गेनिङ गरेका थिए । र, त्यो पद सुनिश्चित गर्ने प्रतिबद्धतापछि उनले आफू बाबुरामसँग नजाने भनेर घोषणा गरे । जबकि त्यसअघि उनले बाबुरामसँग नयाँशक्ति निर्माणका लागि दर्जनौपटक छलफल गरेको नयाँ शक्तिमा लागेका नेताहरु बारम्बार चर्चा गर्दछन् । यसपाली नेकपाभित्रको अन्तर्संघर्ष हुँदा टोपबहादुरले बालुवाटार र खुमलटार निकै धाए । उनी बिहान खुमलटार जान्थे, दिउँसो र साँझ उनको संगत लेखराज भट्ट र ओली निकटका व्यक्तिहरुसँग हुन्थ्यो । उनलाई एकातिर मन्त्रीपदको लोभ देखाइएको थियो, अर्कोतर्फ आफ्ना कार्यकर्ता र हिजो सपना देखाएका जनताहरुले के भन्लान भन्ने सकसक थियो । तर अन्तिममा उनले र मणि थापाले मन्त्री पद ठूलो देखे । र, अहिले मन्त्रीपदबाट फुस्किएपछि उनले प्रचण्डलाई हैसियत सोध्ने हिम्मत गरे । प्रचण्ड पदलोलुप होइनन् भनेर यिनै माझीले बेलाबखत भाषण गरेको अहिले पनि भेटिएला । किनभने प्रचण्डले उनको पदलोलुपतालाई कतिपय संगठनात्मक बाध्यताका कारण मलजल अवश्य नै गरेका थिए । तर उनले पद नपाउने बेला भने प्रचण्डमाथि नै प्रश्न गरे । मानौं टोपबहादुर भनेका क्रान्तिकारी हुन र प्रचण्ड भनेका पद नपाएर छटपटिएका हुन । टोपबहादुर जी (तपाईलाई कमरेड भन्न पनि लाज लाग्छ), आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको अवस्थामा पनि ‘तपाई नै ५ वर्षका लागि प्रधानमन्त्री बन्नुस्, मलाई पार्टीमा कार्यकारी भूमिका भए पुग्छ’ भन्ने यिनै प्रचण्ड होइनन् । त्यतिखेर तपाईले किन भन्नुसक्नुभएन– सजिलै पाएको प्रधानमन्त्री पद देशलाई अस्थिरता र अराजकताबाट जोगाउन छोडेने प्रचण्डको हैसियत के हो भनेर ? प्रचण्डको हैसियत त्यही हो । प्रचण्डको हैसियत त्याग र सहमतिका लागि अधिकतम लचकता हो । तर तपाई हैसियत नि ? तपाईको हैसियत पद र पैसाका लागि नैतिकता पनि ताकमा राख्ने होइन र ? जनयुद्धको कठीन कालखण्डलाई सहजतापूर्वक अवतरण गरेर जनताका मुद्दाहरु स्थापित गर्न अहम रभूमिका निर्वाह गर्ने हैसियत हो प्रचण्डको, सामन्तचवादको नाइकेलाई परास्त गरेर बाँकी अवेशस अन्त्य गर्न सधै गतिशील हैसियत हो प्रचण्डको । राष्टिय स्वाधिनता र स्वभामिनका पक्षमा निरन्तर खबरदारी गर्ने हैसियतको प्रचण्डको । अनि तपाईको हैसियत सम्झिनुस त ? संघीयताको मुद्दामा पार्टीको निर्णयविपरित हिडने तपाईको हैसियत के हो ? माओवादी पार्टी छँदा संशोधनवादी लाइनमा उभिने तपाईको हैसियत के हो ? अहिले अग्रगमन र प्रतिगमनको लडाइे बेला प्रतिगमनको मतियार बन्नु पुग्ने तपाईको हैसियत के हो ? तपाईका मतदातालाई जसरी सपना बाँडनु भयो तर ती सपनाहरुलाई मन्त्री पदसँग साटनुभयो, आम जनताका आँखामा तपाईको हैसियत के हो भन्ने कुरा तपाईले अर्घाखाँचीमा तपाई ओली कित्तामा गइसकेपछि पाएको रेस्पोन्सले पुष्टि गर्दैन र ? राजनीतिमा हैसियत सोध्ने सामथ्र्य हैसियतवालाको मात्रै हुन्छ, कि जनताको हुन्छ । तपाईले प्रचण्डलाई हैसियत सोध्दै गर्दा अस्तिमात्रै जिल्ला भ्रमणको बेला तपाईको हैसियत सोधेका जनतालाई जवाफ दिन नसकि फर्किनु परेको होइन तपाई ? अनि तपाईले अरुलाई हैसियत सोध्ने ? राजनीतिमा इमानको पनि अर्थ हुन्छ टोपबहादुर जी । असहमति भयो भन्दैमा मुख छोडेर बोल्नु राजनीतिक नैतिकताभित्र पर्दैन । प्रचण्ड नहुन्थे भने तपाई पनि हुनुहुन्थेन ।  

चर्चित फुटबल खेलाडी रोनाल्डिनो पक्राउ

एजेन्सी: ब्राजिलको राष्ट्रिय टिमका पूर्वफुटबल खेलाडी रोनाल्डिनो पक्राउ परेका छन्। बुधबार राति पाराग्वेको एक रिसोर्टबाट रोनाल्डिनो र उनका भाइ रोबेर्टोलाई पक्राउ परेको गोल डटकमले जनाएको छ। नक्कली कागजात बनाई दक्षिण अमेरिका छिरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको पाराग्वेको गृह मन्त्रालयले बताएको छ। प्रहरीले होटलबाट रोनाल्डिनो र रोबेर्टोको नाममा पाराग्वेको पासपोर्ट भेटाएको थियो। एक क्यासिनोका मालिक नेल्सन बिलोटीको निमन्त्रणामा रोनाल्डिनो र रोबेर्टो पाराग्वे पुगेका थिए। रोनाल्डिनोसँग गत २०१८ देखि ब्राजिलको पासपोर्ट थिएन। सन्२०१८मा वातावरणीय क्षतिको जरिवाना तिर्न नसक्दा उनको पासपोर्ट कब्जा गरिएको थियो। सन् २०१५मा लाइसेन्सबिना नै पोखरीमा माछाको जाल बनाएपछि उनलाई ८.५ मिलियन डलर तिर्न लगाएको थियो।

के हो कोरोनरी रक्तनलीको रोग ?

काठमाडौंः कोरोनली रक्तनलीको रोग भनेको यस्तो अवस्था हो जसमा मुटुमा आवश्यकता भन्दा कम मात्रामा रगत प्रवाह हुने गर्दछ। यसलाई इस्केमिक मुटुरोग पनि भनिन्छ। यो हृदयाघात हुनुको प्रमुख कारण हो। यो सामान्ततया मुटुको मांशपेशी रगत तथा अक्सिजन प्रवाह गर्ने कोरोनरी रक्तनलीहरु साँघुरो वा बन्द हुनाले लाग्ने गर्दछ। स्वास्थ्य खबरपत्रिकाबाट कोरोनरी रक्तनली रोगका लक्षण – छाती दुख्नेः प्रायःजसो देव्रेतिर – कहिलेकाहीँ बायाँ पाखुरा, घाँटी र पेटको माथिल्लो भाग दुख्ने -कारोनरी रक्तनलीका रोग भएका बिरामीले कुनै किसिकको दुखाइ महसुस नगर्न सक्छन्। तर उनीहरुलाई श्वास फेर्न गाह्रो हुने,वाकवाक लाग्ने र बेहोस हुने गर्दछन्। प्रायःजसो यस्ता लक्षणहरु बिरामीले बल लगाउने किमिमका काम जस्तै – हिँडाइ सकाए पश्चात् कम हुने गर्दछ। तथापि यदि आराम गरिरहेको समयमा पनि छाती दुख्न थालेमा वा सो दुखाई पर्याप्त आराम पश्चात् पनि यथावत् रहेमा हृदयघात (एक्युट मायोकार्डियल इन्फ्रक्शन) को लक्षण हुन सक्छ। सूर्तिजन्य पदार्थको सेवन, ध्रुमपान, उच्च रक्तचाप, मधुमेह, रगतमा बढी चिल्लोपना , मोटोपना, निस्कृय जीवनशैली यो रोगका प्रमुख कारक तत्व हुन्। यो रोग इलेक्ट्रोकार्डियोग्राम (इसिजी) मार्फत पत्ता लगाउन सकिन्छ। यसबाहेक रक्तनली बन्द भएको पुष्टि गर्न अभ्यास सहितको इ.सि.जी कारोनरी एन्जियोग्राफी र स्क्यान जस्ता अन्य थप जाँचहरु गर्न आवश्यक पर्न सक्छ। औषधिको सेवनले कारोनरी रक्रनलीको रोगका लक्षणहरुका साथै भविष्यमा मुटुलाई हुन सक्ने हानीलाई नियन्त्रण गर्न सकिन्छ। केही बिरामीहरुको बनद भएको रक्तनलीलाई सानो बेलुनको प्रयोग (एन्जियोप्लाष्टि) वा शल्यक्रिया गरेर खोल्नुपर्ने हुन सक्छ। पर्याप्त उपचार गर्न र जटिलताको रोगथामका लागि नियमित रेखदेख तथा जाँच गराउन जरुरी छ। कोरोनरी रक्तनली रोगको रोकथाम र व्यवस्थापन – आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुहोस्ः सन्तुलिन आहारमा बढी जोड दिने र आफ्नो स्वस्थ तौललाई कायम राख्ने नियमित रुपमा शारीरिक व्यायाम गर्ने धुम्रपान सेवान नगर्ने मानसिक तनाव हटाउने धेरै बोसोयुक्त खानेकुरा नखाने -जोखिमपूर्ण कारक तत्वहरुको समयभन्दा अगावै मूल्यांकन गर्न आफ्नो चिकित्सकसँग सम्र्पक गर्नुहोस् र यदि केही कारक तत्वहरुको विकास भइसकेको छ भने स्वास्थ्यको पूर्ण परीक्षण गराउनुहोस्। – ती जोखिमपूर्ण कारक तत्वहरुलाई चिकित्सकहरुले बोसो कम गर्ने औषधिको प्रयोग गरेर रगतमा भएको चिल्लोपन हटाउन सक्छन्। औषधिको प्रयोग गरेर रक्तचापलाई सामान्य बनाइराख्ने र डायटिसियनसँग सरसल्लाह गरेर खानपिन खानपिन सम्बन्धि सुझाव लिन सकिन्छ। – नियमित रुपमा दिनहुँ औषधि सेवन गर्नुहोस्। अन्यथा ती औषधिहरु लाभदायी हुँदैनन्। यस्ता आवश्यक औषधिहरु सधै बोक्ने गर्नुहोस्। – तपाइले सेवन गरिरहनु भएको औषधिहरुको प्रतिकूल असर बारे अनि यसबाट बच्ने विभिन्न उपायहरुबारे आफ्नो चिकित्सकसँग जानकारी लिनुहोस्। -चिकितस्कसँग समयसमयमा स्वास्थ्य जाँच गराउनुहोस् र परामर्श लिनुहोस्।

होली पर्वले सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस्ः राष्ट्रपति

काठमाडौं, चैत ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा (होली) पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना गरेकी छन् । आज फागु पूर्णिमा (होली) का अवसरमा राष्ट्रपति भण्डारीले जारी गरेको शुभकामना सन्देशमा सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना व्यक्त गर्दै यस पर्वले सबैमा नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेकी हुन् । सन्देशमा नेपालको मौलिक पहिचान स्थापित गराउँदै राष्ट्रपतिले सांस्कृतिक पर्यटनमार्फत मुलुकको आर्थिक समृद्धि हासिल गर्न टेवा पुग्ने बताएकी छन् । होलीजस्ता पर्वले अमूल्य संस्कृतिहरुको संरक्षण र प्रवद्र्धनमा सकारात्मक भूमिका निर्वाह गर्न सबैमा आग्रहसमेत उहाँले शुभकामना सन्देशमा व्यक्त गरेकी छन् । सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो मुलुकमा खुशी र हर्षोल्लासपूर्वक रङ्गमा रमाएर होली पर्व मनाउने प्रचलन रहेको सन्देशमा उल्लेख गरिएको छ । होली पर्व यही बुधबार र बिहीबार नेपालभर मनाइँदैछ ।