यस्तो रहनेछन आजको मौसम
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।
अहिले सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान र उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।
आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।
आज सूर्योदय बिहान ६ बजेर १७ मिनेट तथा सूर्यास्त साँझ ६ बजेर १० मिनेटमा हुनेछ ।
सरकारलाई अप्ठेरोमा पार्ने एमालेको चाहना पूरा हुन सकेन
काठमाडौं । सत्तारुढ दलका केही सांसद नै आर्थिक वर्ष २०८०/ ०८१ को बजेटको विरोधमा उत्रिएपछि प्रमुख प्रतिपक्षी एमाले संसदबाट बजेट पारित हुँदैन कि भन्ने आशामा थियो। बजेटलाई लिएर सत्ता गठबन्धनभित्रै गडबडी उत्पन्न हुने बुझाइमा रहेको एमालेले बुधबार प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८० मत विभाजन प्रक्रियाबाट पारित गर्नुपर्ने माग राख्यो। उसकै मागअनुसार मत विभाजन प्रक्रिया अपनाइयो। बहुमतले विनियोजन विधेयक–२०८० पारित भयो। बजेट पास हुन नदिएर सरकारलाई अप्ठेरोमा पार्ने एमालेको चाहना पूरा हुन सकेन। विनियोजन विधेयक पारितका लागि राखिएको प्रस्तावको पक्षमा १ सय ४७ र विपक्षमा १ सय ८ मत पर्यो। मत दिन्न भन्नेमा कुनै पनि सांसद उभिएनन्। त्यसबेला प्रतिनिधिसभामा २ सय ५५ सांसद उपस्थित थिए। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँगै प्रस्तावको विपक्षमा उभियो। यो नागरिक दैनिकमा आज प्रकासित समाचार हो ।
एमडीएमएस प्रणाली आजदेखि लागु हुँदै
काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजदेखि लागु हुँदैछ । नेपालमा प्रयोग हुने मोबाइल सेटहरूलाई व्यवस्थित गर्न यो प्रणाली लागु गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेट यो प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको जनाएको छ । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू भने सम्बन्धित व्यक्ति स्वयंले दर्ता गर्नुपर्नेछ । नागरिकता वा राहदानी प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ । नेपालभित्र खरिद गर्दा सो मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएसमा दर्ता भए नभएको यकिन गरी मात्र किन्न आग्रह गरिएको छ । लामो समयको उतारचढावपछि एमडिएमएस कार्यान्वयनमा आउन लागेको हो। सरकारले गत आर्थिक वर्षको बजेटमार्फत नै २०७८ साउनदेखि यो लागु गर्ने घोषणा गरेको थियो तर सबै उपकरण नआएको कारण देखाउँदै प्राधिकरणले तोकिएको समयमा यसलाई सञ्चालनमा ल्याउन सकेको थिएन। दोस्रो पटक २०७९ पुस १५ गतेदेखि एमडिएमस लागु गर्ने प्राधिकरणले औपचारिक घोषणा गरे पनि सार्वजनिक विरोधपछि त्यसलाई तत्कालका लागि स्थगित गरेको थियो। खास गरी व्यक्तिगत प्रयोजनका लागि ल्याइने मोबाइलको भन्सारसँग सम्बन्धित नीति व्यावहारिक नभएको भन्दै भएको विरोधका कारण त्यससँग असम्बन्धित एमडिएमएस प्रणाली पनि त्यति बेला स्थगित हुन पुगेको थियो।
खराब प्रदर्शनः २ ओभर बाँकी छँदै १७८ रनमैं समेटियो नेपाल
काठमाडौ । क्रिकेट वर्ल्डकप लिग अन्तर्गत आज भएको खेलमा नेपालको खराब प्रदर्शन रहेको छ । टस हारेर ब्याटिंग गरेको नेपालका मध्यमक्रमका खेलाडी नचल्दा अमेरिकाले नेपाललाई सस्तैमा रोक्न सफल भएको हो । नेपालले ४८ ओभरको खेलमा १७४ रन मात्र बनाएको छ । आजको खेलमा कप्तान ज्ञानेन्द्र मल्लले भने कीर्तिमान कायम गरेका छन् । राष्ट्रिय टोलीमा डेब्यूट्यान्ट गुल्शन झासँग ५१ रनको साझृदारी गर्दै कप्तान मल्लले नेपालका लागि महत्त्वपूर्ण ५० रन पूरा गरे । ज्ञानेन्द्रले १०५ बलमा ३ चौकासहित ५५ रनको इनिङ खेलेका थिए ।एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकाविरुद्ध डेब्यू गरेका युवा क्रिकेटर गुल्सन झाले भने २८ रन बनाएका छन्। छैटौं नम्बरमा मैदानमा प्रवेश गरेका उनले ५२ बलमा एक छक्का र दुई चौकाको सहयोगमा २८ रन बनाएका हुन्। ओपनर कुशल भुर्तेल ४३ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाएर पेभेलियन फर्किँदा आशिफ शेख ३ रनमा आउट भए । त्यस्तै, रोहित पौडेल २ मा पेभेलियन फर्किँदा विनोद भण्डारीले १० रन मात्र जोडेर आउट भए । डेब्यूट्यान्ट गुल्शनले ५३ बलमा २ चौका र १ छक्कासहित २८ रनको योगदान गरे । त्यस्तै कुशल मल्ल, सोमपाल कामी २ र करण केसी १२ रन बनाएर पेभेलियन फर्केका थिए । त्यस्तै सन्दीप लामिछाने ११ रन जोडेर अन्तिम विकेटको रूपमा आउट हुँदा सुशन भारी २ रनमा अविजित रहे । अमेरिकाका लागि कप्तान सौरभ नेत्राभल्करले ४, काएल फिलिपले २ तथा करिमा गोर, एल्मोर हचिन्सन र नोस्ठुस केन्जिगेले १/१ विकेट लिए ।
के हो कोरोनरी रक्तनलीको रोग ?
काठमाडौंः कोरोनली रक्तनलीको रोग भनेको यस्तो अवस्था हो जसमा मुटुमा आवश्यकता भन्दा कम मात्रामा रगत प्रवाह हुने गर्दछ। यसलाई इस्केमिक मुटुरोग पनि भनिन्छ। यो हृदयाघात हुनुको प्रमुख कारण हो। यो सामान्ततया मुटुको मांशपेशी रगत तथा अक्सिजन प्रवाह गर्ने कोरोनरी रक्तनलीहरु साँघुरो वा बन्द हुनाले लाग्ने गर्दछ। स्वास्थ्य खबरपत्रिकाबाट कोरोनरी रक्तनली रोगका लक्षण – छाती दुख्नेः प्रायःजसो देव्रेतिर – कहिलेकाहीँ बायाँ पाखुरा, घाँटी र पेटको माथिल्लो भाग दुख्ने -कारोनरी रक्तनलीका रोग भएका बिरामीले कुनै किसिकको दुखाइ महसुस नगर्न सक्छन्। तर उनीहरुलाई श्वास फेर्न गाह्रो हुने,वाकवाक लाग्ने र बेहोस हुने गर्दछन्। प्रायःजसो यस्ता लक्षणहरु बिरामीले बल लगाउने किमिमका काम जस्तै – हिँडाइ सकाए पश्चात् कम हुने गर्दछ। तथापि यदि आराम गरिरहेको समयमा पनि छाती दुख्न थालेमा वा सो दुखाई पर्याप्त आराम पश्चात् पनि यथावत् रहेमा हृदयघात (एक्युट मायोकार्डियल इन्फ्रक्शन) को लक्षण हुन सक्छ। सूर्तिजन्य पदार्थको सेवन, ध्रुमपान, उच्च रक्तचाप, मधुमेह, रगतमा बढी चिल्लोपना , मोटोपना, निस्कृय जीवनशैली यो रोगका प्रमुख कारक तत्व हुन्। यो रोग इलेक्ट्रोकार्डियोग्राम (इसिजी) मार्फत पत्ता लगाउन सकिन्छ। यसबाहेक रक्तनली बन्द भएको पुष्टि गर्न अभ्यास सहितको इ.सि.जी कारोनरी एन्जियोग्राफी र स्क्यान जस्ता अन्य थप जाँचहरु गर्न आवश्यक पर्न सक्छ। औषधिको सेवनले कारोनरी रक्रनलीको रोगका लक्षणहरुका साथै भविष्यमा मुटुलाई हुन सक्ने हानीलाई नियन्त्रण गर्न सकिन्छ। केही बिरामीहरुको बनद भएको रक्तनलीलाई सानो बेलुनको प्रयोग (एन्जियोप्लाष्टि) वा शल्यक्रिया गरेर खोल्नुपर्ने हुन सक्छ। पर्याप्त उपचार गर्न र जटिलताको रोगथामका लागि नियमित रेखदेख तथा जाँच गराउन जरुरी छ। कोरोनरी रक्तनली रोगको रोकथाम र व्यवस्थापन – आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुहोस्ः सन्तुलिन आहारमा बढी जोड दिने र आफ्नो स्वस्थ तौललाई कायम राख्ने नियमित रुपमा शारीरिक व्यायाम गर्ने धुम्रपान सेवान नगर्ने मानसिक तनाव हटाउने धेरै बोसोयुक्त खानेकुरा नखाने -जोखिमपूर्ण कारक तत्वहरुको समयभन्दा अगावै मूल्यांकन गर्न आफ्नो चिकित्सकसँग सम्र्पक गर्नुहोस् र यदि केही कारक तत्वहरुको विकास भइसकेको छ भने स्वास्थ्यको पूर्ण परीक्षण गराउनुहोस्। – ती जोखिमपूर्ण कारक तत्वहरुलाई चिकित्सकहरुले बोसो कम गर्ने औषधिको प्रयोग गरेर रगतमा भएको चिल्लोपन हटाउन सक्छन्। औषधिको प्रयोग गरेर रक्तचापलाई सामान्य बनाइराख्ने र डायटिसियनसँग सरसल्लाह गरेर खानपिन खानपिन सम्बन्धि सुझाव लिन सकिन्छ। – नियमित रुपमा दिनहुँ औषधि सेवन गर्नुहोस्। अन्यथा ती औषधिहरु लाभदायी हुँदैनन्। यस्ता आवश्यक औषधिहरु सधै बोक्ने गर्नुहोस्। – तपाइले सेवन गरिरहनु भएको औषधिहरुको प्रतिकूल असर बारे अनि यसबाट बच्ने विभिन्न उपायहरुबारे आफ्नो चिकित्सकसँग जानकारी लिनुहोस्। -चिकितस्कसँग समयसमयमा स्वास्थ्य जाँच गराउनुहोस् र परामर्श लिनुहोस्।
यी हुन् भुँडी घटाउने अचूक उपाय
काठमाडौंः प्रविधि तथा अन्य सुविधाका कारण मानिसहरुमा मोटोपनको समस्याले खुबै सताउन थालेको छ । भर्खरका युवाहरुको पनि अन्य सबै भाग फिट भएतापनि पेट भने पुत्लुक्क बाहिर निस्किएको हुन्छ । हुन त घरमा आमाबाबा छोरो या छोरी मोटाए भनेर खुशि हुँदाहुन् तर यसले बिभिन्न प्रकारका रोगलाई समेत निम्तो दिन्छ । त्यसैले पेट घटाउन धेरै मानिसहरु लागिपर्न थालेका छन् । बिहानै मर्निङ वाक गर्न होस् वा योग गर्न मानिसहरु दौडिहाल्छन् । युवापुस्तामाझ त जिम जाने चलन पनि ह्वात्तै बढेको छ । त्यसो त हामीले सामान्य कुरामा ध्यान दिने हो भने पनि पुत्लुक्क निस्कने पेटलाई नियन्त्रण गर्नसक्छौं । हामीले खाने खानामा केहि परिवर्तन गर्दा हामी फिट हुनसक्छौं । कागती पानीबाट गर्नुहोस् दिनको सुरुवात– दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न यो घरेलु उपाय प्रभावकारी हुन्छ । तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ । खैरो चामलको भात खानुहोस्– यदि तपाईं भात खानमा सोखिन हुनुहुन्छ भने सेतो चामलबाट टाढा रहनुहोस् र त्यसको स्थानमा खैरो चामलको भात खानुहोस् । यसका अलावा आफ्नो खानामा ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य पदार्थ सामेल गर्नुहोस् । खैरो चामलको भात भने नेपालको सन्दर्भमा त्यति सम्भव नहुन पनि सक्छ । गुलियोबाट टाढा रहनुहोस् यदि तपाईं पेटको बोसो कम होस् भन्ने चाहनुहुन्छ भने मिठाईबाट टाढा रहनुहोस् । मिठाई तथा तैलीय पदार्थबाट टाढा रहनुहोस्– यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् । पानी धेरै पिउनुहोस्– पेटको बोसो काम गर्न धेरै पानी पिउनुहोस् । यो निकै लाभदायी हुनेछ । नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ । यसबाट शरीर स्वस्थ रहन्छ । काँचो लसुन खानुहोस्– बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई निकै फाइदा पनि गर्छ । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दुइ गुनाले हुन्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ । मांसाहारबाट टाढै रहनुहोस्– मांसाहारी भोजनमा बोसोको मात्रा निकै हुन्छ । यो बोसो शरीरमा जम्मा हुन्छ, जसबाट स्वास्थ्यसम्बन्धी समस्याहरु उत्पन्न हुन्छन् । यदि वास्तवमै तपाईं तौल कम गर्न चाहनुहुन्छ भने मांसाहार छाडेर शाकाहारी भोजन गर्नुहोस् । धेरै सागसब्जी खानुहोस् खानामा फल र सागसब्जी सामेल गर्नुहोस् । बिहान बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाट तपाईंको पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, मिनरल्स र भिटामिन पनि प्राप्त हुन्छ । खाना पकाउने तरिका परिवर्तन गर्नुहोस्– खाना पकाउँदा तौल बढाउने खालका मसला पनि प्रयोग नगर्नुहोस् । दाल चीनी, अदुवा तथा मरिचको प्रयोग खानामा अनिवार्य रुपमा गर्नुहोस् । यी मसाला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ । बदामको प्रयोग गर्नुहोस्– बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन । यदि माथिका कुरालाई तपाइले प्रतिबद्ध भएर पालना गर्नुभयो भने, महिना दिनमै पेट घट्ने सहिद शुक्रराज तथा सरुवा रोग अस्पतालका जनरल फिजिसियन शेरवहादुर पुन बताउँछन् ।
भारत हुँदै तेस्रो मुलुक जाने नेपालीका लागि दूतावासको सिफारिस पत्र अनिवार्य
नयाँ दिल्ली, बैशाख ३१ । भारत स्थित नेपाली दूतावासले भारतको बाटो हुँदै तेस्रो मुलुक जाने नेपालीका लागि दूतावासको सिफारिसपत्र (एन व सि)पत्र बनाउन अनुरोध गरेको छ। दूतावासले मंग्लवार एक सूचना जारी गर्दै भारतको बिमानस्थल प्रयोग गरेर तेस्रो मुलुकमा जाने नेपालीको हकमा त्यहाँको अध्यागमन बिभागले यस्तो सिफारिस माग गरेकाले दूतावास मार्फत सिफारिस लिएर जान सूचित गरेको हो। सिफारिसका लागि भारत हुँदै तेस्रो मुलुक जानुपर्ने कारण सहितको हस्ताक्षरित निवेदन, यात्रा गर्ने ब्यक्तिको राहदानी र सो को प्रतिलिपी, गन्तव्य देशको भिसा र हवाई टिकटको प्रतिलिपी, रोजगार भिसामा बिदेश जाने ब्यक्तिले वैदेशिक रोजगार बिभाग वा अन्तगर्त बाट जारी श्रम स्वीकृतको प्रतिलिपी, अध्यन ब्यबसायको सिलसिलामा भारतमा रहेका नेपाली नागरिकको हकमा अध्यन ब्यबसाय संग सम्बन्धित परिचयपत्र तथा कागजातहरु आवश्यक पर्ने दूतावास द्वारा जारी सूचनामा उल्लेख छ। यस्तै सिफारिसका लागि अत्यन्तै जरुरी भै ब्यक्ति स्वयं उपस्थित हुन नसक्ने अबस्थामा दूतावासको इमेल ठेगाना मार्फत सिफारिसको लागि निवेदन दिन सकिने र सिफारिस गर्न सकिने अवस्था रहेमा दूतावासले इमेल मार्फत नै निजलाइ उपलब्ध गराउने समेत जनाएको छ। प्रतेक दिन भारतको बिमानस्थल प्रयोग गरि बिचलिया हरुले नेपाली महिला तथा पुरुष कामदारलाई नेपाल सरकारले बैधानिकता नदिएका मुलुकमा समेत लैजाने,बेच्ने र अलपत्र पार्ने गतिविधि बढेको अबस्थामा यस्तो नियमले गैरकानुनी रूपमा वैदेशिक रोजगारीमा जाने र लैजाने हरुलाइ रोक्न सकिने दूतावासको भनाइ छ।
किन चिलाउँछ यौनाङ्ग ? यस्ता छन् कारण र उपचार विधि
डा. खेम कार्की । प्रजनन अङ्गहरूमा प्राकृतिक रूपमा धेरै प्रकारका जीवाणुहरू हुन्छन् । विभिन्न कारणले शरीरमा रोगसंग लड्नसक्ने शक्ति कम भएको बेलामा जीवाणुहरूको अत्याधिक वृद्धिभई हुने सङ्क्रमणलाई प्रजनन अङ्गको सङ्क्रमण भनिन्छ । यी सङ्क्रमणहरू प्रजनन् अङ्गको सङ्क्रमण भएको व्यक्तिसग असुरक्षित यौन सम्पर्क राख्दा सर्ने सम्भावना हुन्छ । त्यसैले यसलाई यौन संक्रमित रोग भनिएको हो । भिरिङ्गी, सुजाक आदि यसका उदाहरणहरू हुन् । यौन संक्रमण भएको बेला असुरक्षित यौन सम्मर्क गर्दा एचआईभी पनि सर्न सक्छ । के यौन सम्पर्क नगर्दा पनि सङ्क्रमण हुन्छ ? यौनाङ्ग वरिपरी राम्रोसग सरसफाइ नगर्नु त्यसको प्रमुख कारण हो । महिलाहरूमा रक्त अल्पता भएको छ भन रजस्वला हुदा प्रयोग गरिने प्याड (कपडा) र भित्र लगाउने कपडा पनि राम्रोसंग धोई घाममा सुकाएको छैन भने, विभिन्न संक्रमण हुन सक्छ । त्यस्तै, पुरुषहरूको लिङ्गको टुप्पो सफा गरेको छैन भने धेरै पटक एन्टिबायोटिक औषधिको प्रयोग गरिएको छ भने पनि यौन सम्पर्क नभईकन यौन संक्रमण हुनसक्छ । के यौन रोगहरू यौनाङ्गहरूको सम्पर्कबाट मात्रै सर्दछ ? यौनाङ्गहरूको सम्पर्कबाट मात्र सर्ने होइन । गुदद्वार मैथुन, मुख मैथुन, आदिबाट पनि यौन रोगहरू सर्न सक्दछ । कुनैकुनै यौन रोगहरू रगत तथा निर्मलीकरण नगरिएका सिरिन्जबाट पनि सर्दछन् । यदि हात सफा छ भने हस्तमैथुनबाट मात्रै यौन रोग सर्दैन । कसरी थाहा पाउने सङ्क्रमणका लक्षणहरू ? १. यौनाङ्ग वरिपरि चिलाउनु २. यौनाङ्गहरूका वरिपरि मसिना विमिराहरू आउनु र पोल्नु, ३. लिङ्ग तथा योनीबाट असामान्य रूपमा स्राव हुनु (जस्तै : पीप, सेतो पानी, गन्हाउने पानी, इत्यादि) ४. पिसाब गर्दा दुख्नु र पोल्नु, ५. अरु बेलाभन्दा धेरै पटक पिसाब लाग्नु, ६. घाउहरू आउनु वा सुन्निनु, ७. यौन सम्पर्क राख्दा दुख्नु, महिलाहरूमा रजस्वला चक्रको बीचबीच समयमा पनि रगत बग्नु, आदि भएमा यौन रोग लागेको हुनसक्छ । कसरी गर्ने उपचार ? यौन सङ्क्रमणको लक्षण देखिनासाथ स्वास्थ्यकर्मीहससंग सरसल्लाह लिइ उपचार गर्नुपर्छ । यसको उपचार कुनै पनि स्वास्थ्य निकायमा पाईन्छ । यौन रोग विशेषज्ञसंग परामर्श गर्न सकेमा झनै राम्रो हुन्छ । उपचार गर्दा पतिपत्नी दुबै वा यौन जोडी अरूपनि छन् भने उनीहरूलाई पनि खोजी खोजी गर्नुपर्छ । किनकि एक जोडीले मात्र उपचार गरेमा यो रोग फेरि पनि सर्न सक्दछ । यौन सङ्क्रमणको उपचार गरिरहेकाले यौन सम्पर्क नराख्दा नै राम्रो हुन्छ । उपचार गर्दा के-के कुरामा ध्यान दिनुपर्छ ? स्वास्थ्यकर्मीले दिएको सल्लाह अनुसार नै उपचार गर्नुपर्दछ र औषधि पूरा समयसम्म गर्नुपर्दछ । औषधिको प्रयोग पूरा समय नगर्दा रोग सुषुप्त अवस्थामा रहिरहेको हुन्छ र पछि फेरि बल्झिएर अरू जटिलताहरू निम्त्याउँछ । के यसबाट बच्ने तरीकाहरू पनि छन् ? यौन सङ्क्रमणबाट बच्ने धरै तरीकाहरू छन् । सानै उमेरमा यौनसम्पर्क नराख्ने किनभने उनीहरूमा यौन सम्पर्कलाई कसरी सुरक्षित बनाउने भन्ने नै थाहा हुदैन । हाम्रो समाजमा बाल विवाह गर्ने प्रचलन भएकोले महिलाहरू अझै धेरै जोखिममा छन् । यस्तो प्रचलन हटाउने अभियानमा लाग्नुपर्छ । यौन सम्पर्क विश्वासिलो साथीसंग मात्र राख्नु पर्छ । सामान्यतया हाम्रो सामाजिक संरचनामा महिलाको भन्दा बढी पुरुषहरूको यौन व्यवहार जिम्मेवारपूर्ण नहुनाले गर्दा महिलाहरूले एकै जना साथीसंग यौन सम्पर्क राख्दा पनि जोखिममा परेका छन् । सुईको प्रयोग गर्नुपरेमा निर्मलीकरण गरेको वा डिस्पोजेबल सुईको प्रयोग गर्नुपर्दछ । रगत लिदा सधै जाच गरिएको रगत मात्र लिनुपर्दछ ।एक जनाभन्दा बढी व्यक्तिसंग यौन सम्पर्क हुन्छ भने कन्डमको सही तरीकाले प्रयोग गर्नुपर्दछ र महिलाहरूमा पनि पुरुषलाई कन्डम प्रयोग गर्न प्रोत्साहन गर्ने क्षमताको विकास हुनु अति आवश्यक छ । हेल्थ टुडेबाट
‘भ्वाइस अफ नेपाल’ सिजन–२ को ‘डिजिटल अडिसन’ शुरु हुँदै
काठमाडौं, पुष १३ । सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ छिट्टै सुरु हुने भएको छ । सिजन–२ का लागि ‘द भ्वाइस अफ नेपाल’ले चाँडै डिजिटल अडिसन सुरु हुने जनाएको छ । “छिट्टै नै द भ्वाइस अफ नेपालको दोस्रो सिजनको डिजिटल अडिसन सुरु हुँदैछ । दूरदराजमा बस्ने आवाजका धनीहरुलाई डिजिटल अडिसनले मुलधारमा ल्याउने भूमिका खेलोस्,” ‘द भ्वाइस अफ नेपालले आफ्नो अफिसियल फेसबुक पेजमा लेखेको छ । सिजन वान सकिएको केही समयमै भ्वाइसले सिजन–२ सुरु हुन लागेको जनाएको हो । सिजन वानको विजेता पोखराका सिडी विजय अधिकारी भएका थिए । तर, कहिलेबाट डिजिटल अडिसन सुरु हुन्छ, त्यो भने स्पष्ट पारिएको छैन । भ्वाइसमा सुरुमा भ्वाइस रेकर्ड गरेर पठाएपछि उक्त भ्वाइसमा सम्भावना देखिएको खण्डमा ब्लाइन्ड अडिसनका लागि बोलाइन्छ । सिजन वानका १०८ जना ब्लाइन्ड अडिसनका लागि छनोट भएका थिए । देशको दूरदराजमा रहेका तथा विदेशमा बसोबास गर्ने प्रतिभालाई सहजै पहुँच प्राप्त होस् भनेर भ्वाइसले डिजिटल अडिसन लिने गरेको छ । सिजन वानमा भारतका विभिन्न ठाउँबाट नेपाली भाषी डिजिटल राउन्ड अडिसन हुँदै अघिल्ला चरणहरुमा पुगेका थिए । उज्यालो नेपालबाट
रवि ओड नेपाल आइडलको ‘टप ८’ मा पुग्न सफल
काठमाडौं, कार्तिक १६ । एपी वान एचडीबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन-२’ मा सुदूरपश्चिमबाट सहभागी भएका रवि ओड ‘टप ८’ मा पुग्न सफल भएका छन् । दर्शकको भोटका आधारमा उनी ‘टप ८’ मा पुग्न सफल भएका हुन् । आज आउट भएकी छन् । नेपाल आइडलमा सुदूरपश्चिमबाट एक मात्र प्रतिस्पर्धी रहेका रवि वडलाई कसरी गर्ने भोट ? यो प्रश्नको जवाफबारे धेरैलाई थाह नहोला । त्यसकारण हामी जानकारी गराउँदै छौं । रबिलाई भोट दिन मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ । भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।
प्रवासी नेपाली एकता मञ्च ओमनद्वारा आयोजित सांस्कृतिक कार्यक्रम सम्पन्न
ओमन,कार्तिक ३। प्रवासी नेपाली एकता मञ्च ओमनद्वारा आयोजित बृहत साँस्कृतिक कार्यक्रम ओमनको रुबि स्थिति अल मासा हलमा शुक्रबार भब्यताका साथ सम्पन्न भएको छ । बिजया दशमीको दिन आयोजना गरिएको उक्त कार्यक्रममा ओमनमा कार्यरत नेपाली हिन्दू धर्मावलम्बीहरुले एकआपसमा सुभकामना आदानप्रदान समेत गरेका थिए। प्रवासी नेपाली एकता मञ्च ओमनको कार्यदल सदस्य सोम कृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास ओमनकि महामहिम राजदुत सर्मिला ढकाल पराजुली रहेकी थिइन् भने अतिथिहरुमा नेपाल बाट आएका चर्चित कलाकारहरु गायक तिलक परियार, गायिका अमृता लामिछाने, नेपाली जनसम्पर्क समिति ओमनका उपसभापति सालिकराम चापागाईं, ओमान नेपाली एकता समाजका अध्यक्ष छबीलाल बस्नेत, बिवेकशील साझा पार्टीका सचीव राजेन्द्र सिलवालको सहभागिता थियो । यस्तै, नेपाली समाज ओमानकि पार्वती श्रेष्ठ, गैर आवाशीय नेपाली सोसल क्लब ओमनका महासचिव पुर्ण ब. श्रेष्ठ, म्याग्दी प्रवासी संघ मोना ओमनका उपाध्यक्ष गणेश चोखाल ,नेपाली महिला समूह ओमन कि अध्यक्ष उमा आचार्य ,तामाङ समाज ओमानका अध्यक्ष तेजबहादुर तामाङ, बुद्ध भिजन ओमन,तमु समाज ओमन,नेपाल मगर संघ ओमन, दलित एकता संजाल ओमान ,सगरमाथा समूह ओमन, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमान, बाग्लुङ सेवा समाज ओमन गुल्मी सेवा समाज ओमन , कृश्चिएन फिलोसोपि ओमन, पत्रकार, बुद्धिजीवी, व्यवसायीसमेतको पनि उपस्थिति थियो। उपस्तिथि अतिथिहरुलाई संस्थाका सदस्य सम्झना केसि, बिबि माँया तामाङ्गले ब्याच लगाई सम्मान गरेका थिए । कार्यक्रमको सुरुवात मैन बत्ती बालेर राष्ट्रिय गीत बजाई कार्यक्रमको उद्दाटन गरीएको थियो । ज्ञात अज्ञात सहिदहरु प्रति मौन धारण गर्दै, प्रवासी नेपाली एकता मञ्च ओमनका सांस्कृतिक बिभाग सह संयोजक रामहरी गिरिले स्वागत मन्तव्य राखेका थिए। संयोजक रन्जित आचार्यले बिहान उठन बित्तिकै हिमाल देख्न पाइयोस् । यी हातले सधै सधै नेपाल लेख्न पाइयोस् भन्ने गित बाट कार्यक्रममा उपस्थित अतिथीहरु लाई स्वागत गरेका थिए । प्रमुख अतिथी नेपाली राजदुतावास ओमनकि महामहिम राजदुत सर्मिला पराजुली ढकाल, कार्यदल सदस्य उमेश विश्वकर्मा लगायत ओमनमा रहेका विभिन्न संघ संस्थाहरुले दशैँको शुभकामना मन्तब्य राखेका थिए । मन्तव्य संगै महामहिम राजदुत सर्मिला ढकाल पराजुली संस्थाका सल्लाहकार समाज सेवि तोलाकान्ता भट्टराईले आशीर्वाद दिदै उपस्थित सबैलाई टीका जमरा लगाएका थिए भने विष्णु चौलागाईं , पुर्ण विश्वकर्मा (पहाडी ), सम्झना केसिले कार्यक्रम संचालन गरेका थिए । नेपाल बाट आएका कलाकार तिलक परियार, अमृता लामिछानेको गायन प्रस्तुति बाट हलमा रहेका दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए। साथमा ओमन स्थित विभिन्न संस्था बाट प्रतिनिधित्व गरेर आएका स्थानिय कलाकारहरुको गायन तथा नृत्य प्रस्तुति सहित सांस्कृतिक कार्यक्रमले थप रौनक थपेको थियो । संस्थाको निमन्त्रणालाई सहर्ष स्विकार्दै आएका कलाकारलाई मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रममा खाना पानी चिसो पियपदार्थको पनि व्यवस्था रहेको थियो। कार्यक्रमलाई डिसि नेपालका बिनेश खनाल, इरुप्से ड्ट्कमले फेसबुक मार्फत लाईभ प्रसारण गरेका थिए । कार्यक्रमको अन्त्यमा कार्यक्रम अध्यक्ष सोम कृष्ण श्रेष्ठले कार्यक्रम सफल पार्न नैतिक , भौतिक र आर्थिक सहयोग पुर्याउने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए । दशैको अवसरपारेर गरिएको यस्तो कार्यक्रम बाट ओमानमा कार्यरत नेपालीहरु बिच आत्मियता र भाइचाराको सम्बन्ध अझै प्रगाढ हुने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर गरिने पुर्ण विश्वकर्माले बताएका छन।
११औं गणतन्त्र दिवसमा वीरता जेसीजद्वारा तीन बिरामीलाई आर्थिक सहयोग
बिर्तामोड । झापाको बिर्तामोडस्थित वीरता जेसीजले ११औं गणतन्त्र दिवसको अवसर पारी आज मंगलबार आर्थिक अभाव झेलिरहेका फोक्सो रोग, मृगौला रोग र दुर्घटनाबाट घाइते तीन बिरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ । वीरता जेसीजको सचिवालयमा आयोजित समारोहकाबीच अध्यक्ष एकराज गिरी, कार्यक्रम संयोजक वीरता जेसीजका सदस्य एजाज अहमद अन्सारीले तीन जना विरामीलाई आर्थिक सहयोग प्रदान गरेका हुन् । वीरता जेसीजको तर्फबाट बाह्रदशी गाउँपालिका–२ का ६१ वर्षीय फोक्सो रोगबाट पीडित महम्मद हाकिम मियालाई २० हजार रुपैयाँ उपचार खर्च सहयोग प्रदान गरिएको हो । आर्थिक अवस्था अत्यन्त न्यून भएका उनी तत्कालीन राजगढ गाविसका निर्वाचित जनप्रतिनिधि समेत हुन् । उनी ०४५ सालमा जनप्रतिनिधि थिए । त्यस्तै दुबै मृगौला खरब भई हाल कोसी अञ्चल अस्पतालमा उपचाररत् बिर्तामोड–३ का २३ वर्षीय कमल भट्टराईलाई पाँच हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । द्वन्द्वकालमा बुबा बेपत्ता भएका भट्टराईको मृगौला प्रत्यारोपणका लागि समिति नै गठन गरी आर्थिक संकलन भइरहेको छ । भट्टराईको उपचारका लागि गठित समितिको सदस्यमा वीरता जेसीज समेत रहेको छ । भट्टराईकी माता कमला भट्टराईलाई उक्त रकम हस्तान्तरण गरिएको थियो । त्यस्तै दुर्घटनबाट घाइते बिर्तामोड–१ निवासी ३२ वर्षीय जफिर आलमलाई पाँच हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । गत माघ ४ गते दुर्घटनामा घाइते उनको उपचारमा नौ लाख बढी खर्च भइसकेको छ । कवाडीका सामान संकलन गर्ने मजदुरीबाट परिवारको गुजारा चलाउँदै आएका उनको उपचार बीएण्डसी हस्पिटल बिर्तामोड भइरहेको छ । कार्यक्रम संयोजक एजाज अहमद अन्सारीको अगुवाईमा रकम जुटाएर तीन जना विरामीलाई वीरता जेसीजको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष तथा वीरता जेसीज सन् २०१८ कि अध्यक्ष सल्लाहकार राधा सुब्बाले जेसीजले मानवताको सेवामा अनुकरणीय काम गरेको भन्दै अरु संस्था र दाताले पनि जेसीजले जस्तै उपचारका लागि आर्थिक अभाव भोगिरहेका विरामीलाई सहयोग गर्नुपर्ने बताइन् । अध्यक्ष गिरीको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा कार्यक्रम संयोजक अन्सारीले गणतन्त्र दिवस र रमदानको अवसर पारी पवित्र कर्म स्वरुप कार्यक्रम गरिएको बताए । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने जेसीज आस्थालाई आत्मसाथ गरी वीरता जेसीजले आयोजना गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव कमलप्रसाद पाण्डे विनोदले गरेका थिए ।
खुल्ला दिसामुक्तको नाममा अनियमितता, छानविनको माग
लहान, चैत २० । खुल्ला दिसामुक्त अभियानको नाममा सप्तरीमा व्यापक अनियमितता र लापरवाही भएको भन्दै सत्यतथ्य छानविन गरी सम्बद्ध सबैलाई कानूनी दायरामा ल्याउनुपर्ने माग उठ्न थालेको छ । शौचालय निर्माण र प्रयोग व्यवस्थित नहुँदै सप्तरीलाई हतारहतार खुल्ला दिसामुक्त घोषणा गर्न खोजेको भन्दै व्यापक आलोचना भएपछि जिल्ला स्तरीय सरसफाइ स्वच्छता समन्वय समितिले कानूनी बाटो अख्तिायार गर्ने प्रयास गरेको छ । घरघरमा शौचालय निर्माण गराई खुल्ला दिसामुक्त बनाउने बताएपनि जिल्लाका अधिकांश स्थानीय तहमा ४० प्रतिशत घरधुरीमा शौचालय निर्माण नै नभएपनि हचुवाको भरमा धमाधम खुल्ला दिसामुक्त घोषणा गरिएको छ । अधिकांश घरमा शौचालय नबनेका स्थानीय तहलाई समेत हतारहतार खुल्ला दिसामुक्त घोषणा गरिएको भन्दै सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा व्यापक आलोचना भइरहेको छ । खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने नाममा उत्तेजक नृत्यको प्रर्दशन, सम्मान कार्यक्रम र बेलुकी राजमार्ग क्षेत्रदेखि सदरमुकामसम्म मदिरापानमै कार्यक्रम सीमित रहन पुगेको दलीलसहित त्यसको पनि छानबिन गर्न माग गरिएको छ । सप्तरीमा पूर्ण रुपमा चर्पी निर्माण नै नभएपनि धमाधम खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने नाममा स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायहरु कामै नगरी जश कमाउने दाउमा मात्र सक्रिय देखिएका छन् । जिल्लाका अधिकांश स्थानीय तहहरु निर्धारित अवधिमा खुल्ला दिसामुक्त हुन नसकेपछि कागजमै भए पनि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेर जश कमाउन सरोकारवाला निकायदेखि जनप्रतिनिधिहरु समेत सक्रिय भएको देखिएको छ । सप्तरी जिल्ला मुलुकमै सबैभन्दा बढी दलित बसोबास भएको जिल्ला हो । यहाँका अधिकांश दलित परिवार न्यून भूमिवाला र अधिकांश भूमिहीन छन् । सन् २००४ मा विभिन्न अन्तर्राष्ट्रिय संघसंगठनले गरेको सर्वेक्षणअनुसार सप्तरीमा करिब ३६ हजार भूमिहीन र सुकुम्बासी परिवारको बसोबास छ । खासगरी सप्तरीका अधिकांश गरीब, पिछडिएका र उच्च जोखिमयुक्त वर्गका नागरिक सरसफाइको मूल प्रवाहबाट अझै बाहिर छन् । साँझ–बिहानको छाक टार्ने चिन्तामा रहेका यी भूमिहीन दलित समुदायसँग चर्पी निर्माण गर्ने ठाउँसमेत छैन । उनीहरु प्रायः सुकुम्बासीको रुपमा सार्वजनिक स्थल र झोपडपट्टीमा बस्छन् जहाँ चर्पी निर्माणलाई कानूनी मान्यता पनि छैन । बसोबासको प्रत्याभूतिसमेत नभएका कारण थप आर्थिक भार बनेको शौचालय निर्माण उनीहरुको प्राथमिकतामा पर्न सकेको छैन । दलित बस्तीहरुमा अझै शौचालयको पहुँच पुग्न नसकेपनि कागजी मिलानबाटै स्थानीय तह खुल्ला दिसामुक्त घोषणा गरिएको पाइएपछि स्थानीय बासिन्दाले समेत आपति जनाएका छन् । “अधिकांश दलित बस्तीमा शौचालय बन्न सकेको छैन,” मधेशी दलित महासंघका अध्यक्ष समेत रहनुभएका राजविराज निवासी विशेश्वर रजक भन्नुहुन्छ – “सरकारी कामका लागि सिफारिश र सामाजिक सुरक्षा भत्ता रोक्ने, खुला ठाउँमा शौच गर्न जाँदा सिट्ठी बजाएर लखेट्ने, फोटो खिचेर सामाजिक सञ्जालमा हालेर अपमान गर्ने जस्ता काम गरी शौचालय निर्माणमा बाध्य पारिएका कारण कतिपय दलित बस्तीमा शौचालयको निर्माण गरिए पनि त्यसको प्रयोग व्यवस्थित ढंगबाट भएको छैन ।” फलतः यसअघिसम्म खोला किनार र बाँसघारीमा हुने फोहर अब घरमै छताछुल्ल हुने अवस्था आएको उहाँको भनाइ छ । प्रायः अधिकांश वडाका थुप्रै घरमा शौचालय नभएपनि बोदे बर्साइन नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरिएको भन्दै खुल्ला दिसामुक्त घोषणा कार्यक्रममा सहभागीहरुले गुनासो गरेका थिए । राजमार्गलाई छुने रुपनी गाउँपालिकाका अधिकांशको घरमा चर्पी नभएको र भएकाहरुसमेत खुल्ला क्षेत्रमा दिशा गर्ने गरेको स्थानीयवासी नै बताउँछन । रुपनी सदरमुकाम राजविराज प्रवेश गर्ने प्रवेश मार्ग पनि हो । त्यहाँ रहेको एक मात्र र्सावजनिक शौचालयको हालत पनि बेहाल छ । तर, उक्त गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरिएको छ । रुपनी गाउँपालिकासँगै जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने छिन्नमस्ता गाउँपालिकासमेत खुल्ला दिसामुक्त घोषणा भएको छ । त्यहाँ प्रसिद्ध शक्तिपीठ रहेको छ । तर, त्यहाँ पनि सार्वजनिक शौचालयको अभाव छ । साताको प्रत्येक शनिबार र दशैँ अवधिभर नेपाल र भारतका दर्शनार्थीको घुइँचो लाग्ने छिन्नमस्ता मन्दिरको वरपर नै दिसापिसाव गर्न दर्शनार्थीहरु बाध्य हुन्छन् । यसैगरी, राजविराज नगरपालिकालाई पनि मापदण्ड पूरा नै नगरी खुल्ला दिसामुक्त घोषणा गरिएको छ । मधेसी चेतना समाजका अध्यक्ष तेजकान्त झाले एक प्रेस विज्ञप्ति जारी गरी जिल्लामा अहिलेसम्म ६० प्रतिशत पनि शौचालय निर्माण नभएको दाबी गर्नुभएको छ । चालीस प्रतिशत घरमा शौचालय नै निर्माण नगरी खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने सम्बद्ध सबैलाई कानुनी दायरामा ल्याउन समेत विज्ञप्तिमा माग गरिएको छ । अध्यक्ष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ – “खुल्ला दिसामुक्त अभियानका नाममा भएका क्रियाकलाप, सम्बन्धित गैरसरकारी संस्था र अनुगमनमा संलग्न पक्षलाई पनि छानबिनको दायरामा ल्याउन जरुरी छ ।” हचुवाको भरमा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न सभा आयोजना गर्ने र त्यस्ता कार्यक्रममा जनप्रतिनिधिसमेत सहभागी भएर वैधानिकता दिने काम भइरहेको भन्दै समाजको विज्ञप्तिमा त्यस्ता कार्य रोक्न माग गरिएको छ । जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने हतारोमा गत बुधबार मात्रै पाँच नगरपालिका र दुई गाउँपालिकालाई एकैसाथ खुल्ला दिसामुक्त र पूर्ण खोपयुक्त घोषणा गरिएपछि आलोचना अरु चुलिएको हो । यसरी खुल्ला दिसामुक्त घोषणा अभियानको व्यापक आलोचनापछि चैत १६ गते जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने पूर्वनिर्धारित कार्यक्रमलाई समितिले कानूनी प्रक्रिया पूरा गर्न फागुन २१ गतेका लागि घोषणा सभा सार्ने काम भएको छ । जिल्लालाई खुला दिसामुक्त घोषणा गरेरै छाड्ने योजनाअनुरुप समितिले गत शुक्रवार तीनदिने सूचना प्रकाशित गरेको थियो । सूचनामा कुनै समुदायमा शौचालय निर्माण नभएको वा खुलारुपमा दिसा गर्ने गरेको भए जानकारी दिन र त्यस्तो जानकारी प्राप्त नभए जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न बाधा नपर्ने उल्लेख गरिएको छ । समितिले जारी गरेको सूचना अर्थपूर्ण भएको जानकारहरुले बताएका छन् । शौचालय निर्माण र प्रयोगमा सम्बन्धित निकाय असफल भएको भन्दै आलोचना बढेपछि भविष्यमा आउन सक्ने अप्ठ्यारा रोक्न पहिले नै कागजी प्रक्रिया मिलाउन खोजिएको स्थानीय बासिन्दाको भनाइ छ । जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति सप्तरीका सदस्य–सचिव तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीका प्रमुख लोकेन्द्र यादवले भने कागजी प्रक्रियाका लागि कार्यक्रम नसारिएको दाबी गर्नुभएको छ । कूल एक लाख १९ हजार ६८२ घरधुरीमा शौचालय निर्माण सम्पन्न गरी चैत १६ मा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने योजना रहेपनि कार्यक्रमको प्रमुख अतिथि कसलाई बनाउने विषयमा टुङ्गो नलागेकाले कार्यक्रम सारिएको प्रमुख यादवको भनाइ छ । राष्ट्रिय गौरवका कार्यक्रमहरु समयमै पूरा गर्नु राम्रो पक्ष भएपनि कामै नगरी जश लिन खोज्नु गलत रहेको सप्तरीका बुद्धिजीवीहरु बताउँछन् ।
सल्यानमा उपभोक्तालाई निशुल्क ग्यास चुलो वितरण
सल्यान, चैत ७ । वन संरक्षणका लागि दुवेरी चौर सामुदायिक वन समितिले उपभोक्तालाई निःशुल्क ग्यास चुलो वितरण गरेको छ शिद्ध कुमाख गाँउपालिका–३ ढोरचौरको सो समितिले गरिब, विपन्न, पिछडिएका ११५ घरधुरीलाई ग्यास चुलो वितरण गरेको हो । वन समितिका अध्यक्ष चेतकान्त न्यौपानेले उपभोक्ताका घरमा एक थान ग्यास चुलो र एक वटा भरिएको ग्यास सिलिन्डर उपलब्ध गराइएको बताउनुभयो । “यस अभियानले वन जंगल जोगाउन केही मात्रामा भए पनि भूमिका खेल्ने छ”–अध्यक्ष न्यौपानेले भन्नुभयो ।
रक्सी खाएर विद्यालय जाने हेडमास्टर प्रहरी खोरमा
इलाम, भदौ २८ । रक्सी खाएर विद्यालय जाने गरेका इलामका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रोङ गाउँपालिका वडा नम्बर ६, सलकपुरस्थित मोतीराम माध्यमिक विद्यालयका प्रधानाध्यापक लालबहादुर श्रेष्ठलाई रक्सी खाएर विद्यालय आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । हरेक समय मादक पदार्थ सेवन गर्ने प्रधानाध्यापकलाई पटक–पटक चेतावनी दिँदासमेत नसुध्र्रिएपछि बुधबार उनलाई मादक पदार्थ मातेर विद्यालयमा आएको समयमा प्रहरीले नियन्त्रणमा लिएको हो । रक्सीले मातेर लरबरिँदै विद्यालय आएपछि प्रहरीले श्रेष्ठलाई प्रहरीको जिम्मा लगाइएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
क्यान्सर पीडित तामाङलार्इ कतारबाट आर्थिक सहयोग
कतार, साउन १७। ‘सेवा नै धर्म हो, जहाँ मन हुन्छ त्यहाँ आत्मियता उत्पन्न हुन्छ र त्यसैबाट कसैले जिवन दान पाउछ’ त्यस्तै एक नमुना काम गरेको छ काभ्रेपलान्चोक सेवा समाज कतारले । काभ्रेको तिमाल गाउँपालिका वार्ड–१ निवासी ३८ वर्षीय बुद्दिलाल तामाङ केही समयदेखी ब्लड क्यान्सरका कारण उपचारार्थ तिनकुनेस्थित एक अस्पतालमा भर्ना भइ उपचाररत छन । बिरामीको पारिवारिक अवस्था नाजुक भएको र उनलाई उपचारमा अति समस्या भएको भन्ने मिडियामा आएपछि काभ्रे पलान्चोक सेवा समाज कतारको पहलमा आर्थिक सहयोग अभियान सन्चालन गरिएको थियो । उक्त अभियानबाट संकलित रकम संस्थाका सल्लाहकार श्री भरत बडाल र सस्थाका सस्थापक सदस्य सुर्य भण्डारीले अस्पतालमा गएर बुद्दिलाल तामाङ बचाऊ अभियान का संयोजक इन्द्रबहादुर तामाङ र सह–संयोजक ज्ञानबहादुर तमाङ्ग को रोहवर मा पीडित बुद्दिलाल तामाङलार्इ ६२,४६५ रुपैयाँ हस्तान्तरण गरेको आर्थिक संकल अभियानका अभियन्ता तथा समाजका बरिस्ट उपाअधक्ष्य नारायण बिष्टले जानकारी दिए । बिष्टले पीडितलाइ आर्थिक रुपमा सहयोग गरि उनको उपचारमा टेवा पुर्याउनु हुने सम्पुर्ण सहयोगी मनहरु प्रति कृतज्ञतत प्रकट गर्दै काभ्रे पलान्चोक सेवा समाज कतारको तर्फ बाट हार्दिक आभार ब्यक्त गरे ।